पोखरा र लेखनाथबीच दूरी बढ्दै, छुट्टिने अभियानमा हस्ताक्षर संकलन
पाेखरा | असार १८, २०८०

पोखराः लेखनाथ नगरपालिकाको नामबाट चिनिएको लेखनाथ क्षेत्र पोखरामा गाभिएपछि महानगर त बन्यो तर विकास, बजेट र कार्यक्रममा पछि परेपछि अब छुट्टिने अभियानमा रहेको छ ।
०७३ फागुन फागुन २७ गते देशकै ठूलो पोखरा महानगरपालिका भएपछि पोखराजस्तै हुने आशमा बसेका लेखनाथवासी अहिले आएर ठगिएको महशुस गर्दैछन् । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयको भनाइलाई आधार मान्ने हो भने लेखनाथवासीसँग पोखराले गरेको उपेक्षाका चाङमात्र छन् ।
‘पहिलो कुरा त लेखनाथवासीलाई पोखरा पायक परेन, अर्काे विषय हामीलाई महानगरले बेवास्ता गर्दा अभिभावकविहीन भयौं’ आत्रेय भन्छन् ‘लेखनाथको भौतिक पूर्वाधार, जनसंख्याअनुसार बजेन र कार्यक्रम भएन ।’
आत्रेयसँगै केही स्थानीयसँग गरिएको कुराकानीमा उनीहरुले ‘सौतेलो’ व्यवहार गरेको गुनासो सुनाए । बुढीबजार निवासी एक स्थानीय भन्छिन् ‘बिहानै उठेर यतै धाउनु परेपछि हामीलाई के काम ।’
आत्रेयकै बोलीमा समर्थन जनाउँदै उनी भन्छन् ‘पहिले नगरपालिकामा व्यवसाय दर्ता गर्दा २५ सय रुपैयाँले हुन्थ्यो, अहिले ७५ सय तिर्नुपरेको छ ।’ शूल्क नै ३ गुणा बढी बुझाएपनि त्यसको प्रतिफल नपाएको उनले सुनाइन् ।
महानगरमा केही काम लिएर जाँदा त्यहाँका पदाधिकारीले भागै खोस्न आएजस्तो व्यवहार देखाउने गरेको तीतो पोख्छन् अध्यक्ष आत्रेय । ‘हाम्रो कुरा सुन्ने, हामीलाई बुझ्ने फुर्सद मेयर साबलाई छैन’ आत्रेयले भने ‘हाम्रो भूगोल र जनसंख्या अनुसारको कुनैपनि कार्यक्रम ल्याइएन न त पोखरासम्म हाम्रो पहुँच नै पुग्यो ।’
‘छुट्टिनु नै विकल्प हो त ?’ भन्ने प्रश्नमा आत्रेय थप्छन् ‘म वा कुनै व्यक्तिको स्वार्थ पुरा गर्न छुट्टिने सोंच बनाएको हैन, यो लेखनाथवासीको पहिल्यैदेखिको धारणा हो ।’
उनका अनुसार पोखरा महानगरमा गाँभिनेबेला लेखनाथवासीमा जुन उत्साह थियो त्यो घट्दो क्रममा छ । ‘हामी छुट्टिने भन्दा पनि हामीलाई गरिएको व्यवहारले हामी केही स्वायत्त हुन खोजेको भने हो ।’
पोखराबाट छुट्टिन लेखनाथमा हस्ताक्षर अभियान चलाइँदैछ भन्ने विषयमा भने उनले स्वयं वा उद्योग वाणिज्य संघको कार्यक्रम नभएको स्पष्ट पारे । ‘तरपनि आजित भएपछि स्थानीयवासीले त्यस्तो अभियान चलाउने सुनेको छु, त्यसमा समर्थन त रहन्छ नै’ आत्रेयले जनाए ।
लेखनाथप्रति पोखराको यस्तै रवैया रहे कुनैनकुनै स्वरुपमा आन्दोलन हुने उनको भनाई छ ।
सामाजिक सञ्जाल र लेखनाथ क्षेत्रमा यतिबेला पोखराबाट छुट्टिन दबाबस्वरुप हस्ताक्षर अभियानको तयारी छ । यस अभियानको कोही पनि संयोजक छैनन् । यसबारे जानकारी दिँदै पत्रकार एवं स्थानीयवासी कमल सुवेदीले आगामी २० गतेदेखि हस्ताक्षर अभियान चल्ने जानकारी दिए ।
‘यस अभियानको नेतृत्व कसैले पनि लिएको छैन, स्थानीयले स्वस्फूर्तरुपमा दबाबस्वरुप हस्ताक्षर अभियान चलाउँदै छन्’ सुवेदीले जानकारी दिए । यद्यपि, ३० जना स्थानीय जागरुक युवा भेला भई अभियान चलाउन लगोको उनले बताए ।
हस्ताक्षर अभियान समयको माग भएको बताउँदै सुवेदीले पोखराप्रति अपनत्व महशुस हुन नसकेको टिप्पणी गरे । ‘लेखनाथवासीलाई महानगरमा समावेश गर्न १० सडक सञ्जाल, ८ ताललाई प्रवद्र्धन गर्न पूर्वाधार साथै बसपार्क र रंगशाला निर्माणको आश देखाइएको थियो’ सुवेदीकाे प्रश्न छ ‘खोई ती आयोजनामा कार्यक्रममा र बजेट ?’
बजेटको समानुपातिक वितरण नहुनु र विकासका कार्यक्रममा छिमेकको रुपा गाउँपालिकामाभन्दा कम महत्व दिइनुले लेखनाथवासी स्वतः छुट्टिने अभियानमा लागिरहेको उनको भनाई छ । ‘लेखनाथ बाहिरबाट हेर्दा शान्त भएपनि भुसको आगोजस्तै भित्रभित्रै जलिरहेको छ’ उनले उल्लेख गरे ।
सुवेदीका अनुसार लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिकराम पौडेलले तयार पारेको गुरुयोजनामात्रै सफल भएपनि स्थानीयले आर्थिक र दीगो विकासमा फड्को मार्ने थिए तर महानगरले लेखनाथलाई कुहिरोको कागजस्तै रनभुल्ल पारिदियो ।
करिब १ महिना अघि पनि लेखनाथवासीहरुले स्वायत्त हुन जरुरी रहेको भन्दै भेलाको आयोजना गरेको थियो । हालै बजेट आएपछि आफ्नो क्षेत्रलाई झनै तिरस्कार गरिएको भन्दै अचेल लेखनाथवासी दिनहूँ जसो पोखराबाट छुट्टिने आशयका विमर्श गरिरहेका छन् ।
लेखनाथमा समूहगत योजना र धारणा बनिरहे पनि छुट्टिइहाल्ने सम्भावना भने नभएको पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सीना बताउँछन् ।
‘पहिलो कुरा त संघीय नीतिअनुसार यस संरचनालाई २० वर्षसम्म चलाउँन मिल्दैन’ प्रवक्ता तिम्सीना भन्छन् ‘दोस्रो कुरा लेखनाथमा अब थुप्रै योजना र कार्यक्रम जाँदैछन् ।’
महानगरमा पछि गाभिएका लेखनाथ र ग्रामीण क्षेत्रमा ‘विशेष योजना’ लैजान कार्यक्रम तर्जुमा भइरहेको उनले बताए । शहरी योजनाको कार्यालयसँगै आगामी दिनमा शिक्षा, पर्यटन, कृषि र स्वास्थ्यका विशेष कार्यक्रममार्फत लेखनाथवासीलाई लाभान्वित बनाउने योजनामा महानगर काम गरिरहेको तिम्सीना बताउँछन् ।
‘मैलेपनि लेखनाथवासीहरुको असन्तुष्टी चाल पाएको छु, महानगर र मेयरमा यसबारे जानकारी गराएको छु’ तिम्सीनाले भने ।
लेखनाथमा रहेका वडाध्यक्षहरुले भने यस विषयमा प्रतिक्रिया दिन चाहेनन् । साविकको लेखनाथबाट पोखरा महानगरमा गाभिएका ८ वडा छन् ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...
काठमाडौं: देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देव...