राष्ट्रिय महिला फुटबललाई युनिलिभरको २५ लाख प्रायोजन
काठमाडाैं | साउन २, २०८०
काठमाडौं: नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई युनिलिभर नेपाल लिमिटेडले २५ लाख रुपियाँ प्रायोजन सहयोग गरेको छ । युनिलिभरले नेपालमा महिला फुटबल खेलको विकास र विस्तारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई प्रायोजन गरेको हो ।
प्रायोजनसम्बन्धी सम्झौता पत्रमा मङ्गलबार युनिलिभर नेपालका कार्यकारी निर्देशक आमलाल मुखर्जी र एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङले हस्ताक्षर गरे । सम्झौता एक वर्षको लागि गरिएको हो । सम्झौता अनुसार युनिलिभरले एन्फामार्फ महिला फुटबल टोलीलाई आर्थिक सहयोग प्रदान गर्ने र एन्फाले युनिलिभरको बजार प्रवर्द्धनमा सहयोग गर्नेछ ।
दुई पक्षबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको उपस्थितिमा सम्झौता भएको हो । सम्झौता कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री लिम्बूले युनिलिभरले महिला फुटबलमा गरेको सहयोगको लागि उच्च सम्मान रहेको बताए ।
‘‘महिला खेलाडीले सीमित स्रोत साधनबीच देशको नाम उच्च बनाउन कडा मिहेनत गरेका छन् । सरकारले खेलाडीलाई पर्याप्त सहयोग गर्न सकिरहेको अवस्था छैन । खेलकुदको विकासका लागि सरकारसँगै निजी क्षेत्रको पनि सहयोगको आवश्यकता छ । युनिलिभर जस्तै निजी क्षेत्रको सहयोगले खेलकुद माथि जाने हो । खेलकुदको सुधार र विकासका लागि सरकारले खेलाडीको बीमा, भौतिक संरचना निर्माण र चुस्त व्यवस्थापन जस्ता कार्यमा विशेष ध्यान दिनेछ,’’ मन्त्री लिम्बूले भने ।
यस्तै राष्ट्रिय टोलीकी कप्तान एञ्जीला तुम्बापो सुब्बाले युनिलिभरको सहयोगले महिला फुटबल खेलाडीमा उत्साह थपेको बताए । उनले यस्तो सहयोगले महिला सशक्तीकरण र भविष्यमा फुटबल खेल्न चाहने नयाँ महिला खेलाडीलाई पनि प्रेरणा मिल्ने बताईन् ।
एन्फाका अध्यक्ष नेम्बाङले युनिलिभरको सहयोग नेपाली महिला फुटबलका लागि ऐतिहासिक क्षण भएको बताए । उनले महिला विश्वकप अगाडि गरिएको सहयोगले महिला टोलीमा नयाँ जोस थपेको बताए । उनले भने , ‘‘ एन्फाले नेपाली महिला फुटबलले सकेसम्म सन् २०२७ को विश्वकप र नसके २०३१ को विश्वकप खेल्ने गरी योजना बनाएको छ । यस सहयोगले महिला टोलीले विश्वकप खेल्ने लक्ष्यमा सहयोग गर्नेछ ।’’
युनिलिभरका कार्यकारी निर्देशक मुखर्जीले नेपाली महिला फुटबल टोलीसँग जोडिन पाउनु खुसीको क्षण भएको बताए । उनले यस सहयोगले महिला टोलीको प्रदर्शनमा सुधार आउने विश्वास समेत गरे।
नेपालले सन् १९८० मा पहिलो पटक महिला टोली तयार गरेको थियो । सन् १९८६ मा हङकङसँग पहिलो पटक खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेको नेपाली टोली अहिले चीनमा आयोजना हुन लागेको १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेको छ ।
एसियाड तयारीकै लागि महिला टोलीले हालैमात्र बङ्गलादेशसँग दुई खेलको मैत्रीपूर्ण सिरिज खेलेर स्वदेश फर्किएको छ । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई टाइब्रेकरमा ४–२ गोलले हराएको थियो ।
पोखरा: कास्कीको पर्यटकीय स्थान माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा माछापुच्छ्रे गा...
काठमाडौं: शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्ग सङ्गठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउनुभएको छ। आइतबार ‘जानकारी तथा ध्यानाकर्षण गरा...
मनाङ: यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२ वर्षका जिग्नेस कुमार लल्लुभाई पटेल र १७ वर्षकी प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको छ । ...

