ढोरपाटन:  सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्र...

मुस्ताङ:    मुस्ताङको प्रमुख कृषि उपज स्याउ टिप्ने समय तालिका बनाइएको छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ यही भदौ १० गते, रिङरोट जातको स्याउ भदौ १५ र स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ आगामी असोज १ गतेदेखि टिप्ने समय तालिका बनाइएको हो ।         जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङको अध्यक्षतामा आज जोमसोममा बसेको कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका जनप्रतिनिधि र कृषकको बैठकले स्याउ टिप्ने समय तालिका बनाएको कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो ।       “जात र गुणको आधारमा छिटो पाक्ने जातलाई पहिले र ढिलो पाक्ने जातलाई पछि टिपेर बजार पठाउने तालिका बनाइएको छ”, उहाँले भन्नुभयो, “स्याउ पाक्ने बित्तिकै टिपेपछि बजारको समस्या हुँदैन र किसानले मूल्य पाउँछन ।”       अघिल्ला वर्षमा मुस्ताङमा असोज १ गतेदेखि स्याउ टिप्ने गरिएको थियो । कृषक कर्म गुरुङले तापक्रम वृद्धिका कारण यसपाली स्याउमा छिटो गुलियो पसेकाले टिप्ने समय अघि सारिएको बताउनुभयो ।       अनुकूल मौसम, बगैँचा व्यवस्थापन, रोग कीराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढ्ने कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताउनुभयो । गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।       मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर क्षेत्रफल जमिनमा इटालीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती भएको छ । गत वर्ष चार हजार नौ सय ७५ मेट्रिक्टन स्याउ उत्पादन भएको र रु ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।       म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायतका सहरका व्यापारी बगैँचामा नपाग्दै अग्रीम पैसा दिएर ठेक्कामा स्याउ खरिद गर्दछन् । मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोशेलीको रुपमा स्याउ किनेर लैजाने गर्छन् । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुुकुटी बनाउन प्रयोग हुन्छ ।

काठमाडौँ:    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ ।   नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव शून्य एक अङ्कले उकालो लागेर दुई हजार नौ सय ७४ दशमलव ४६ मा पुगेको छ ।   कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्य भने बढेको छ ।   ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव ७५ अङ्कले उकालो लागेर पाँच सय ३३ दशमलव ८६ मा पुगेको छ ।   कूल चार करोड नौ लाख ५१ हजार सात सय २० कित्ता शेयर रु १९ अर्ब १६ करोड छ लाख ५२ हजार ८५ मूल्यमा खरिद बिक्री भएका छन् ।   नेप्सेका अनुसार तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।   त्यस्तै, एसबिएल डिवेञ्चर १०, एनबिबिएल डिवेञ्चर तीन दशमलव ९५, बोटलर्स नेपाल बालाजु तीन दशमलव ९२, राष्ट्रिय बीमा कम्पनी तीन दशमलव ७३ र सगरमाथा जलविद्युत् कम्पनीका लगानीकर्ताले तीन दशमलव ७३ प्रतिशतले गुमाएका छन् ।

काठमाडौं:     स्थानीय बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला रु एक लाख ५३ हजार कायम भएको छ ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला रु एक लाख ५३ हजारमा कारोबार हुने गरी निर्धारण भएको छ । मङ्गलबार प्रतितोला रु एक लाख ५२ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आज रु आठ सयले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो ।      यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । मङ्गलबार प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ३५ निर्धारण भएको छ । 

दाङ:     मकैबाट पनि चटपटे बनाइन्छ भन्दा आश्चर्य लाग्नसक्छ । देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चनाचटपटे मकैबाट पनि तयार गर्नसकिन्छ भन्ने सबैलाई थाहा छैन ।  तर, दाङको देउखुरी क्षेत्रमा व्यावसायिक रूपमा मकैखेती हुने भएकाले सारती अधिकारी मकै चटपटे बेच्दै आउनुभएको छ । राप्ती गाउँपालिका–३ मसुरिया निवासी अधिकारी मकैको चटपटेबाट आम्दानी पनि प्रशस्त गर्दै आउनुभएको छ । सुरुमा आफूले पनि भुजा, चाउचाउको चनाचटपटे बनाउने गरेको तर पछि यसमा प्रयोग हुने मेसिन र तालिम गाउँपालिकाबाट निःशुल्क पाएपछि नयाँकाम सुरु गरेकोे बताउनुभयो ।  “घरमा त्यसै बस्नुभन्दा व्यवसायमा जोडिएपछि दुई–चार पैसा आवश्यक परेका बेला अरुसँग माग्नुपर्ने बाध्यता अन्त्य भएको छ”, उहाँले भन्नुभयो । चटपटे बनाउन प्रयोग गरिने मेसिन निःशुल्क पाएपछि अझ सहज भएको उहाँ बताउनुहुन्छ ।  मेसिन मकै उसिन्ने, अचार बनाउनेलगायत काममा प्रयोग हुने गरेको छ । अन्यको भन्दा मकैको चटपटे सबैले मन पराएर खाइदिने हुँदा व्यवसाय गर्ने हौसला पनि उहाँमा बढ्दै गएको छ । २८ वर्षीया सारती सोही वडाको खुरुरिया पुलनिर विगत चार वर्षदेखि चटपटेसँगै पानीपुरीको व्यवसाय पनि गर्दै आउनुभएको छ । यो व्यवसायबाट दैनिक रु एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने भएकाले मासिक रु २०–२५ हजार बढीको कारोबार गर्दै आएको उहाँले बताउनुभयो ।  “ मासिक रु १०–१२ हजार बचत हुने गरेको छ”, उहाँले भन्नुभयो । अघिपछिको तुलनामा शनिबार अझ अलि बढी व्यापार हुने उहाँले बताउनुभयो । 

म्याग्दी:     चालु आर्थिक वर्ष २०८०/८१ मा यहाँका किसानलाई अनुदान वितरण गर्न रु नौ करोड छ लाख बजेट प्राप्त भएको छ ।  गण्डकी प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्रमार्फत रु तीन करोड ३३ लाख २५ हजार, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट रु दुई करोड ५२ लाख २१ हजार र सङ्घीय सरकार अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइबाट रु तीन करोड २१ लाख ६८ हजार बजेट प्राप्त भएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटबाट छिमेकी जिल्ला मुस्ताङ, पर्वत र बागलुङका किसानले पनि सुविधा पाउनेछन् । कूल लागतको ५० देखि ८५ प्रतिशत अनुदान प्राप्त हुने कार्यक्रमका लागि तीन वटै कार्यालयले सार्वजनिक सूचनामार्फत प्रस्ताव आह्वान गरेका छन् ।     खाद्यान्न, फलफूल, सागसब्जी, तेलहन, दलहन उत्पादन गरी जिल्लालाई आत्मनिर्भर बनाउनुका साथै निर्यात गरी किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले चालु आवमा कृषि र पशुपालनमा बजेट केन्द्रित गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलले बताउनुभयो ।        खायन आलु उत्पादन तथा प्रवद्र्धन कार्यक्रमलाई रु एक करोड २० लाख छ हजार, फलफूल बाली विकास र रैथाने बाली प्रवद्र्धन आयोजनाका लागि रु २१÷२१ लाख, तरकारीबाली प्रवद्र्धन आयोजनाका लागि रु १५ लाख पचास हजार, पोषण सुरक्षण कार्यक्रमका लागि रु २० लाख, सुन्तला जात फलफूल विकास आयोजनालाई रु ६७ लाख विनियोजन भएको छ ।    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा भरत रेग्मीले मासु, दूध, अण्डा उत्पादन वृद्धि गरी जिल्लालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने कार्यक्रम आएको बताउनुभयो । पशुलाई पूर्ण खोप कार्यक्रमका लागि सबैभन्दा बढी रु ८० लाख बजेट प्राप्त भएको छ ।  यसैगरी बृहत्तर पशु विकास प्रवद्र्धन कार्यक्रमलाई रु २० लाख, दूध उत्पादक किसानलाई अनुदानका लागि रु १० लाख, कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका पाडापाडी हुर्काउने किसानका लागि रु तीन लाख, घुम्ती गोठ संरक्षणका लागि रु चार लाख, बाँझो जग्गामा घाँसखेती गर्नेलाई रु पाँच लाख, कृषि ऋणमा ब्याज अनुदान रु एक लाख, मत्स्य पोखरी निर्माण तथा क्षेत्र विस्तारका लागि रु तीन लाख बजेट प्राप्त भएको छ ।   प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले म्याग्दी, बागलुङ र पर्वतमा सञ्चालन भएको सुन्तला तथा मुस्ताङको स्याउ जोन क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि रु ६० लाख विनियोजन भएको जानकारी दिनुभयो ।  बङ्गुरपालक किसानका लागि नश्ल सुधार तथा उत्पादन वृद्धि, यान्त्रिकरण र मासु पसल सुधारका लागि रु १८ लाख, सुन्तला जोन कार्यक्रममार्फत सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि रु १६ लाख, कृषि उपज सङ्कलन केन्द्रलाई रु आठ लाख, बजारीकरणका लागि रु १५ लाख र यान्त्रिकरणका लागि रु दश लाख बजेट प्राप्त भएको छ ।  पूर्वाधार निर्माणसम्बन्धी कार्यक्रममा अधिकतम ८५ प्रतिशत, यन्त्र उपकरण, पाइप तथा ड्रम, बीउ, बेर्ना, विषादीलगायत सामग्री खरिदमा अधिकतम ५० प्रतिशत अनुदान सहयोग हुने कृषि अधिकृत बस्यालले बताउनुभयो । 

बागलुङ (बलेवा):    बागलुङको वर्षे आलु उत्पादन  अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले घटेको छ ।  गत वर्षको कात्तिकदेखि वैशाखसम्मको खडेरीले वर्षे आलु उत्पादन पाँच प्रतिशत घटेको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले बताउनुभयो ।  विशेषगरी ताराखोला र ढोरपाटनमा लगाइएको आलुमा  कमी आएको हो । बागलुङको ताराखोला र ढोरपाटनमा हिउँदमा लगाएर बर्खामा आलु खन्ने गरिन्छ । कात्तिकमा लगाएर फागुन–चैतमा खन्ने आलुमा भने खासै असर परेको छैन । ताराखोले आलुको स्वाद र तत्कालै नबिग्रने हुँदा धेरैको रोजाइमा पर्ने गरेको अधिकृत पुन बताउनुहुन्छ । गाउँपालिकाका कृषि शाखा प्रमुख सञ्जीव थापाका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा ताराखोलाभित्र तीन हजार दुई सय ९७ मेट्रिक टन आलु फलेको छ ।  कुल एक सय ८४ हेक्टरमा किसानले आलु लगाएको शाखाको तथ्याङ्क छ । रासायनिक मल प्रयोग नगरेकाले उपभोक्ताले पनि ताराखोलाको आलु भनेपछि खोजीखोजी खाने गरेका हुन् । खडेरीकै कारण उत्पादन भने कमी भएको थापाले बताउनुभयो । ताराखोला–२ अर्गलका किसान अमृत घर्तीले आलुलाई उपयुक्त वातावरण भएकाले मिठो भए पनि यस वर्ष उत्पादनमा समस्या आएको बताउनुभयो । विकासे आलु प्रयोग नगर्ने, रासायनिक मल नहाल्ने र जैविक मल प्रयोग गर्दा आलुको स्वाद मिठो भएको घर्तीको अनुभव छ । यसका कारण किसानले आलुको बजार खोज्नै नपरेको हो । तर खडेरीलगायत समस्यामा राज्यले साथ दिनुपर्ने उहाँले बताउनुभयो ।  घर्तीका छिमेकीले पनि आलु फलाएर जिप र ट्रयाक्टरमा बजार पठाउने गरेका छन् । बागलुङ बजारका ठूला र होलसेल व्यापारीले ताराखोलाको आलु भनेपछि गाडी पठाएर ल्याउने गर्छन् ।  कृषि ज्ञान केन्द्रले पनि ताराखोला, काठेखोला र ढोरपाटन क्षेत्र आलुका लागि विशेष क्षेत्र मानेर उत्पादनमा सहयोग गर्दै आएको छ । तर खडेरी, अतिवृष्टि र असिनाको क्षतिमा न्यूनीकरण गर्न नसकेको हो ।    “असिनाले क्षति भएमा केही राहत दिने कार्यक्रम भए पनि रोक्ने वा उत्पादन जस्ताको त्यस्तै बनाउने काम भने गर्न सकिएको छैन”, पुन भन्नुहुन्छ, “व्यवस्थापन गर्न सके हालको उत्पादनबाट २० प्रतिशतसम्म आलु बढाउन सकिन्छ ।” केन्द्रको तथ्याङ्कमा पनि हरेक वर्ष बागलुङमा ४० हजार मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको छ ।  बागलुङमा हिउँदमा २३ हजार नौ सय मेट्रिक टन र बर्खामा ११ हजार छ सय ९४ मेट्रिक टन गरी ३५ हजार मेट्रिक टन आलु बजारमा आउने गरेको हो ।  त्यसबाहेक घरघरमा खाने र गाउँमै बिक्री हुने आलुको तथ्याङ्क छैन । यो वर्ष खडेरी धेरै परेको र वैशाखमा असिना पर्दा आलुमा समस्या आउँदा उत्पादन घटेकाले आयात बढ्ने निश्चित छ ।  जिल्लामा उत्पादित आलुले वर्षको नौ महिनासम्म थेग्ने गरे पनि तीन महिनाका लागि आयात गर्नुपर्छ । त्यसका लागि भण्डारण क्षमता बढाउनुपर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले बताउनुभयो ।

काठमाडौं:     स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु नौ सयले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४९ हजार छ सय निर्धारण भएको छ ।  त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार सात सय ६० निर्धारण भएको छ । 

ललितपुर:     नेदरल्यान्डको वाइनिगन विश्वविद्यालय, एसियन डेभलपमेन्ट बैंक र काठमाडौँ विश्वविद्यालयको सहयोगमा पाँचजना विद्यार्थीले कालो सैनिक झिँगाको अनुसन्धानबाट मल तथा दाना उत्पादन गर्न सकिने प्रमाणित गरेका छन् ।  अहिले विश्व जलवायु परिवर्तनका कारण अनेक समस्याहरूसँग जुधिरहेको बेला कालो सैनिक झिँगालाई वातावरणको हिसाबले २५ देखि ४० डिग्री सेल्सियससम्ममा उत्पादन गर्न सकिने हुँदा यसबाट व्यावसायिक रुपमा मल उत्पादन गर्न सकिने ती विद्यार्थीहरुको भनाइ छ ।       कुहिएको हरियो तरकारी, फलफूल, अन्न, हार्ड नभएको मासु, सागपातलाई झिँगाको लार्भा र प्यूपालाई खुवाएर सस्तोमा प्रोटिनयुक्त मल तथा दाना उत्पादन गर्न सकिन्छ र यसले गर्दा वातावरण पनि स्वच्छ रहने अनुसन्धानबाट पुष्टि भएको छ ।  ललितपुर गोदावरी नगरपालिका–१ मा जस्ता पाताको घर बनाइ विश्वविद्यालयका पाँचजना विद्यार्थीहरू यतिबेला कालो सैनिक झिँगाको अनुसन्धानमा व्यस्त छन् ।  काठमाडौँ फरेस्ट्री कलेजका स्नातक तहमा अध्ययनरत छात्रछात्रा क्रमशः आर्शिवादराज झा र कोहिनुर श्रेष्ठ हुनुहुन्छ भने कृषि विज्ञान क्याम्पस स्नातक तहका छात्र अभिनव थापा तथा काठमाडौँ विश्वविद्यालय स्नातक तहका छात्र दिनेश प्रजापति र सन्दिप शाक्यमा संलग्न हुनुहुन्छ ।       उहाँहरुले परियोजनाको नाम ‘इको ग्रव समूह’ राख्नु भएको छ । नेदरल्यान्डको वाइनिगन विश्वविद्यालयबाट ‘फुड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’  गर्नका लागि विश्वका नौ देशबाट १८ समूहले सहभागिता गरेको थियो । त्यसमध्ये एशियाबाट नेपाल मात्र ‘इको ग्रव समूह’ ले जितेको थियो । यसका लागि फुड सिस्टम इनोभेसन च्यालेन्ज २०२४ को संयोजक नेपालबाट उमाशङ्कर पाँडे रहेका छन् । उहाँ काठमाडौँ विश्वविद्यालयमा सहायक प्रधानाध्यापक हुनुहुन्छ ।      उहाँका अनुसार, नेदरल्यान्डका वाइनिगन विश्वविद्यालय, एसियन डेभलपमेन्ट बैंक र काठमाडौँ विश्वविद्यालयको आर्थिक सहयोगमा ‘इको ग्रव समूह’का पाँच विद्यार्थीले कालो सैनिक झिँगाको अनुसन्धान गर्दैछन् । यस अनुसन्धानमा राम्रो गर्ने विद्यार्थीमध्ये काठमाडौँ फरेस्ट्री कलेजका आर्शिवादराज झालाई केही दिनका लागि नेदरल्यान्डका वाइनिगन विश्वविद्यालयमा थप अध्ययन गर्नका लागि पठाइनेछ ।        विद्यार्थी झाका अनुसार यस झिँगाबाट लार्भा उत्पादन गरी मल र दाना बनाइन्छन् । यो आर्गनिक दाना र मल घरपालुवा पशुपक्षी कुखुरा, बङ्गुर, माछा, भैँसी, बाख्रा, आदिका लागि उच्च प्रोटिनयुक्त आहारा बन्नेछ भने खेत र करेसाबारीमा मलिलो माटो बनाउन सकिन्छ ।  कुहिएको हरियो सागसब्जी, फलफूल, अन्न, मासु वा कुहिने फोहर व्यवस्थापनका लागि तिनै तहका सरकारले झिँगाको खेती गर्न र गराउनमा ध्यान दिएमा किसान प्रत्यक्ष राहात मिल्ने तथा देशमै मल तथा दाना उत्पादन गरी आम्दानीको स्रोत र रोजगारको अवसर सिर्जना गर्न सकिने उहाँको भनाइ छ ।       यस झिँगालाई अङ्ग्रेजीमा ब्ल्याक सोल्जर फ्लाई (बिएसएफ) भनिन्छ । यसको वैज्ञानिक नाम “हेर्मेटिया इल्युसेन्स’ हो । यसमा प्रोटिन, अमिनो एसिडले भरपूर फाइबर भिटामिन पाइन्छ । झिँगाको खेती नेपालमा एकदम कम गरिएको पाइन्छ । यो आर्गनिक मल तथा दाना व्यवसाय गर्नका लागि २०औँ शताब्दीदेखि विश्वमा यसको खेती सुरु भएको बताइएको छ ।  झाका अनुसार बीएसएफ’ को जीवनचक्र ४५ देखि ७० दिनसम्मको हुन्छ ।  यसबाट उत्सर्जित दिसाबाट राम्रो प्राङ्गारिक दाना तथा मल उत्पादन हुन्छ । यो खानाले पशुपक्षीहरूलाई वृद्धि तथा बढ्नमा छिटो सहयोग गर्छ । यस दानामा कुनै रासायनिक पदार्थहरू मिसाएको नहुने भएकाले मानिसहरुले खाँदा पनि स्वस्थ्यकर हुन्छ ।           कालो सैनिक झिँगा राख्नका लागि सानो घर बनाएर खेती गर्न सकिन्छ भने कुनै डिब्बा, काठको ट्रे, प्लास्टिकको ट्रे आदिमा राखेर पनि उत्पादन गर्न सकिन्छ । घाम लाग्ने ठाउँ नभएमा बत्तीको व्यवस्था गर्नुपर्छ ।  २५ देखि ४० डिग्री सेल्सियस तापक्रममा कालो सैनिक झिँगाको खेती गर्नको लागि उपयुक्त मानिन्छ । त्यस्तो नभएमा हिटरको व्यवस्था गरी ताप दिनुुपर्छ । आफूलाई झिँगा तथा लार्भा कति चाहिन्छ ठाउँ अनुसारको सामग्री तयार गर्नुपर्छ ।  झिँगा उड्ने भएकाले यसलाई झुल अर्थात जालीभित्र राख्नुपर्छ । झुलभित्र नै अण्डा पार्नका लागि राख्नुपर्छ । बाँस वा काठ १० देखि २० इन्चको लम्बाइ, मोटाइ दुई देखि तीन इन्च र चौडाइ तीनदेखि पाँच इन्चको हुनुपर्छ । त्यस टुक्रालाई दुई दुईवटा खप्टाएर ट्रेरेमाथि झुलभित्र नै राख्नुपर्छ । झुलभित्र भएमा झिँगालाई काठभित्र अण्डा पार्न सजिलो हुन्छ ।      झिँगालाई खानाको आवश्यकता पर्दैन थोरै मात्रामा पानी भएहुन्छ । झुलकोमाथि भागमा पानीको स्प्रे गर्नुपर्छ वा झिँगालाई पानी खानको लागि फोम भिजाएर एक छेउमा राखिदिन सकिन्छ । काठको कप्टेरोको मसिनो भागमा गएर अण्डा पारेकालाई एक वा दुई दिनमा पिन र सिन्काको सहायताले अण्डा निकाल्नुपर्छ । झिँगाको आयु जम्मा सात दिनको हुन्छ ।      झिँगाबाट मल तथा दाना उत्पादन गर्नका लागि पाँच प्रकारको चरण अण्डा, लार्भा, पूर्वप्युपा, प्युपा हुन्छन् । अण्डालाई एउटा पारदर्शी प्लास्टिकको ट्रे, काठबाट बनाएको ट्रे वा हावा छिर्ने डिब्बामा राख्नुपर्छ ।  मुखमा जाली वा झुलले बाँधेर जालीमाथि यी अण्डा राख्नुपर्छ र फेरि अर्को जालीले छोप्नुपर्छ । यस्तो अवस्थामा पानी र खाना केही दिनुहुँदैन । अण्डा फुट्ने डर हुन्छ । धेरैजसो अण्डा चारदेखि पाँच दिनमै अण्डाबाट लार्भा निस्किन् थाल्छ । यसको लम्बाई १.० मिलिमिटरदेखि ०.०४ इन्चको हुन्छ भने तौल ०.२२ ग्रामदेखि ३.४ ग्रामको हुन्छ ।      अण्डालाई लार्भा अवस्थामा आउन एक हप्ता लाग्छ भने लर्भाको चरण औसत १४ देखि १७ दिनसम्मको हुन्छ । अण्डाबाट लार्भा अवस्थामा आउने वित्तिकै यसलाई अर्को ट्रेमा राख्नुपर्छ । यसलाई पनि २५ देखि ४० डिग्रीको बीचको तापक्रममा राख्नुपर्छ ।        गिलो वा धेरै पानी भएको खाना खान दिनुहुँदैन। यसको खाना कुहिएको हरियो तरकारी फलफुल हड्डी नभएको मासु र अन्नहरू दिनुपर्छ । यसलाई धेरै सुक्खामा पनि राख्नु हुँदैन । कम्तीमा ६० देखि ९० प्रतिशतको बीचमा चिसोपन अर्थात् गिलो खान दिनुपर्छ । त्यहीँ अनुसारको बासस्थान पनि बनाउनुपर्छ । यसलाई दिनको दुई वा तीनपटक खाना लार्भा कति छ त्यस अनुसारले दिनुपर्छ ।  लार्भा १५ दिनको भएपछि उसको मुखको आकारको भाग चुच्चो हुन थाल्छ । सेतो रङको लार्वाको रङ विस्तारै परिणत हुन्छ । यसलाई लार्भाभन्दा अलि सुखा बनाएर राख्नुपर्छ । लार्भाको ट्रेबाट अर्को ट्रेमा सार्नुपर्छ । यसलाई धेरै उज्यालोको आवश्यकता पर्दैन । यस चरणमा धेरै चिसो र धेरै तातो भएमा पूर्व प्यूपा मर्छन् । उपयुक्त वातावरणमा आइसकेपछि पूर्वप्युपापमा परिणत हुन जान्छ । अब यो हिँडडुुल गर्न छोड्छ । कालो र सेतो धर्का भएको रङ्मा बदलिन थाल्छ । झिँगा उड्ने प्रक्रियामा आउन दुईदेखि तीन हप्ताको समय लाग्छ ।     प्यूपा झिँगामा परिणत हुने अवस्थामा अर्को जाली भएको ठाउँमा ट्रेमा राख्नुपर्छ । झिँगा उड्ने बेलादेखि एक हप्ता मात्र बाँच्छन् । यस अवस्थामा उनीहरू आफ्नो साथी खोज्न थाल्छन् ।  पोथी झिँगाले फेरि पहिलो चरणको कुरा दोहो¥याउँछ त्यहाँ काठबाट बनाएको ठाउँमा अण्डा दिन सुरु गर्छ । यस्तो बेलामा सूर्यको प्रकाश र तातोपन भएमा झिँगा छिटो जीवनचक्रमा अग्रसर हुन थाल्छन् । झिँगाको लम्बाइ दुईदेखि पाँच सेन्टिमिटरको हुन्छ । यसरी ४५ देखि ७० दिनसम्मको झिँगाको जीवन चक्र हुन्छ । एउटा झिँगाले आफ्नो जीवनकालमा ३०० देखि ५०० सयसम्म अण्डा दिन्छन् । कालो सैनिक झिँगाको खेती गर्दा बस्तीभन्दा बाहिर खुल्ला ठाउँमा गर्नुपर्दछ ।        गोदावरी नगरपालिकाका रामु महर्जन झिँगाको खेती गर्न धेरै खर्च नलाग्ने र राम्रो आम्दानी गर्न सकिने बताउनुहुन्छ । कुखुरा व्यवसाय गर्दै आउनु भएका उहाँ ‘इको ग्रव समूह’बाट तालिम लिएर कालो सैनिक झिँगाको उत्पादनमा लाग्नु भएको छ ।  उहाँ भन्नुहुन्छ, ‘‘दुई महिनामै मल तथा दानाबाट राम्रो आम्दानी गर्न सक्छौँ । यसमा पटक–पटक लगानी गर्नुपर्दैन यसको अण्डाबाट व्यवसाय बढाउन सकिन्छ । लार्भालाई भुटेर वा काँचो नै कुखुरा, माछा, खसी, बङ्गुर अर्थात् कुनै पनि पशुपक्षीलाई दिँदा लाभदायक हुन्छ ।’’      लार्भा र प्यूपाले आफ्नो चक्र पूरा गर्ने बेलामा निस्केको काइटिनलाई खेत वा गमलामा राख्दा निकै उपयोगी हुन्छ । विदेशमा काइटिन र लार्भाबाट बनाएका बिस्कुटहरू पशुपक्षीहरूका खानको लागि बनाएका हुन्छन् । दाना र मलबाट वातावरणलाई स्वच्छ राख्न सहयोग पुग्ने विज्ञहरुको भनाइ छ । यसलाई व्यावसायिक रुपमा उत्पादन गर्न सकिए बजारमा पाउने कुखुराको दानाभन्दा सस्तोमा पाउन सकिन्छ । 

बागलुङ (ढोरपाटन):    बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला उद्यमीले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, आलु चिप्सलगायतका उत्पादनले बजार नपाएपछि निराश बनेका छन् ।  रुद्रताल सामाजिक महिला सहकारी संस्थामार्फत गत वर्षदेखि उत्पादन सुरु गरेका महिलाहरुको उत्पादित सामग्रीले बजार नपाएपछि उनीहरु निराश भएका हुन् ।  गाउँको उत्पादनलाई ‘प्याकेजिङ र ब्राण्डिङ’ गरी उद्यममा लागेका महिलाहरु अहिले उद्योग सञ्चालन गर्ने वा बन्द गर्ने दोधारमा छन् । विभिन्न सरकारी सङ्घ संस्थाबाट अनुदान पाएर उत्साहित भएका उनीहरु बजार नपाएपछि अन्योलमा परेका हुन् ।  सहकारीमार्फत महिलालाई आयआर्जनसँग जोड्न जैमिनी नगरपालिकाले रु १० लाख, प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले रु छ लाख, कृषि ज्ञान केन्द्रले रु दुई लाख ५७ हजार र गण्डकी प्रदेश सरकारले रु एक लाख अनुदान दिएको थियो । अनुदान पाएपछि उत्साहित भइ उत्पादनमा लागेका महिलालाई अहिले बजारको चिन्ताले पिरोलेको छ । सहकारीकै भवनमा उद्योग सञ्चालन गरेका महिलाले बाँको, सिस्नो प्रशोधन गर्दै आएका छन् । रुद्रताल सामाजिक महिला सहकारीका कोषाध्यक्ष तारादेवी पुनका अनुसार पाँच सय ५० जना महिला आबद्ध भइ सहकारीमार्फत उत्पादनमा जुटेका थिए ।    सुरुमा उत्पादनले राम्रो बजार पाएको थियो । अहिले बजार नपाउँदा कुहिने समस्या भएको पुनले बताउनुभयो । सिस्नोको पाउडर एक वर्षसम्म नबिग्रिए पनि आलु चिप्स एक महिनामै खान नमिल्ने हुँदा घाटा भएको उहाँको भनाइ छ ।  नगरपालिका तथा अन्य निकायले बजारको व्यवस्थापन गरी दिए गाउँका सयौँ महिला स्वरोजगार बन्ने उहाँ बताउनुहुन्छ । मेला महोत्सव लाग्दा महिलाहरुले सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक तथा अन्य स्थानीय उत्पादन ‘स्टल’मै राखेर बिक्री गरिएको थियो ।  “गाउँमै केही गरौँ भनेर दिदीबहिनी मिलेर घरेलु उद्योग सञ्चालन गरेर स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न थाल्यौँ, सुरु–सुरुमा राम्रो पनि भयो, तर अहिले हाम्रो उत्पादनले बजार पाउन सकेको छैन”, पुनले भन्नुभयो, “बजार पाएन भने बिग्रिने र म्याद सकिने हुन्छ, अहिले हामीहरुले उत्पादन गर्नै छोडेका छौँ ।”  महिलाहरुले रु २० लाख लगानीमा उद्योग सुरु गरेका थिए । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले महिला उद्यमीलाई लेबलिङ, प्याकेजिङ र ब्राण्डिङ गरेर बजारीकरणमा सहजीकरण गरिरहेको बताउनुभयो ।  अहिले बर्खामा ग्रामीण सडक अवरुद्ध हुँदा बजारीकरणमा समस्या भएको र नगरपालिकाले यसै वर्षदेखि कृषि एम्बुलेन्स खरिद गरी उत्पादित वस्तु बजारमा पु¥याउन सहयोग गर्ने उपप्रमुख शर्माले बताउनुभयो ।