काठमाडौं: स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५६ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५६ हजार आठ सय निर्धारण भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस्तै चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार नौ सय निर्धारण भएको छ ।
कैलाली: कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित हाट बजारमा बिक्री गर्न ल्याइएको गोलभेँडा(टमाटर)मा अत्यधिक विषादीको मात्रा भेटिएको छ । तरकारी हाट बजारमा रहेको विषादीको अवशेष द्रुत विश्लेषण एकाइले गोलभेँडामा गरेको परीक्षणका क्रममा अत्यधिक विषादीको मात्रा भेटिएको हो । विषादी अवशेष द्रुत विश्लेषण एकाइका अनुसार रोल्पामा रहेको मिलन ट्रेड एन्ड सप्लायर्सबाट आयात गरि हाट बजारमा ल्याइएको गोलभेँडामा ४८ दशमलव ४७ प्रतिशत अर्गानोफस्फेट भेटिएको हो । हाट बजारमा ल्याइएको सो गोलभेँडा प्रयोगशालामा परीक्षण गर्दा ४८ दशमलव ४७ प्रतिशत अर्गानोफस्फेट भेटिएको विषादी अवशेष द्रुत विश्लेषण एकाइका प्राविधिक राजेन्द्रप्रसाद भट्टले बताउनुयो । परीक्षणका क्रममा अत्यधिक विषादी भेटिएको उक्त गोलभेँडा खान अयोग्य भएकाले एक क्विन्टल गोलभेँडा नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले प्रयोगशालामा ३५ प्रतिशतभन्दा कम अर्गानोफस्फोटको रोकावट दर भेटिएमा खान योग्य हुने ३५ देखि ४४ प्रतिशत रोकावट दर भेटिए केही दिन पर्खिएर खान मिल्ने बताउँदै ४५ भन्दा माथि रोकावट दर भेटिए नष्ट गर्ने गरिएको बताउनुभयो । विषादी अवशेष द्रुत विश्लेषण एकाइले अत्तरियामा सञ्चालित हाट बजारमा दैनिक तरकारी र फलफूलको नमूनाको विषादी परीक्षण गर्दै आएको जनाएको छ । अत्तरियामा डेढ दशकदेखि सञ्चालनमा रहेको सो हाट बजार क्षेत्रिय हाट बजार हो । सो हाट बजारमा सुदूरपश्चिमभरका किसानले उत्पादन गर्दै आएका कृषिजन्य वस्तु सङ्कलन गरी विक्री वितरण गर्दै आएको हाट बजार व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल भट्टले बताउनुभयो ।
जुम्ला: व्यावसायिक रुपमा पालिएका मौरी मर्न थालेपछि ललितपुरस्थित मौरी विकास केन्द्रको टोली यहाँ आएर अनुसन्धान गरेको छ । किसानका घार, मौरी पालन गरिएको स्थानको वस्तुस्थिति र मर्नुको कारणबारे अनुसन्धान गरी मौरीपालन किसान, केन्द्रका विज्ञको समूह र जिल्लाका सरोकार भएका निकायबीच आज भएको अन्तरक्रिया कार्यक्रममा परिजीवी, विषादी, कुपोषणलगायत समस्या देखिएकाले मौरी मरेका केन्द्रका प्रमुख एवं मौरीविज्ञ तीर्थकुमार श्रेष्ठले बताउनुभयो । उहाँले जुम्लामा पालन गरिएका मौरी पोलाको माथिलो भागमा हुनुपर्ने जति मह नभएकाले मरेका जानकारी दिनुभयो । मौरीपालक किसानका घार हेर्दा पोलाको माथिलो भागमा हुनुपर्ने जति मह नभएपछि मौरी मरेको हो । “कुटमा पोषण हुन्छ, कुट नै नभएकाले मौरी मरेका हुन्”, श्रेष्ठले भन्नुभयो । पोला कमजोर हुने बित्तिकै मौरी नासिने अवस्थामा पुग्ने भएकाले पोला बलियो बनाएर पोषणयुक्त बनाउन किसानले विशेष ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो । मौरी विज्ञ श्रेष्ठले मौरीमा देखिएको सङ्क्रमण, परिजीवी, विषादी र कुपोषणका कारणले यो समस्या देखिएको बताउनुभयो । “अध्ययनका क्रममा यहाँका मौरीपालनको व्यवस्थापकीय पक्ष राम्रो देखिएको छ । घार पनि व्यवस्थित रुपमा राखिएका छन्”, उहाँले भन्नुभयो, “कुपोषण, मौरी चरण क्षेत्रमा विषादीको प्रयोगलगायत करणले पोषणको कमी भई मौरी मरेका हुन् ।” मरेका मौरीको नमूनाको थप अध्ययन गर्न नेपाल कृषि अनुसन्धान केन्द्रको किट तथा नेपाल बाहिर पठाएर रोगको पहिचान गरिने मौरी विज्ञ श्रेष्ठले जानकारी दिनुभयो । “कतिपय स्थानमा सुलसुले रोगले गर्दा पनि मौरी मरेका देखिएको छ । यसबारे विस्तृत विवरण थप अध्ययन । परीक्षणबाट थाहा हुन्छ”, उहाँले भन्नुभयो । तीन वर्षदेखि मौरीमा देखिएका विभिन्न रोगबारे अध्ययन गर्न मौरी विकास केन्द्रका विज्ञ श्रेष्ठको टोली विभिन्न स्थान पुगेर अनुसन्धान गरिरहेको छ । श्रेष्ठको टोलीसँग किट विकास महाशाखाका सुनिलकुमार जैसवाल र जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले अध्ययनसम्बन्धी जानकारी, समस्या समाधानका उपायलगायत पक्षका बारेमा छलफल गर्नुभएको थियो । जिल्लाका मौरीपालक किसानले सेराना जातको मौरी पाल्दै आएका छन् । पातारासी गाउँपालिका–१ पेरे, गुठिचौर गाउँपालिकाको गुठिगाउँ, तातोपानी र चन्दननाथ नगरपालिकामा रहेका घार, वरपरको वातावरण, रोग÷किरासम्बन्धी टोलीले अध्ययन गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
काठमाडौं: स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु तीन हजारले वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५६ हजार तीन सय निर्धारण भएको छ । यो हालसम्मकै उच्च बिन्दु हो । यस्तै, चाँदीको मूल्य प्रतितोला रु ६५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ६० निर्धारण भएको छ ।
हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गर्नुभएको छ । विसं २०७४ मा वडासदस्य भएर जनताको सेवा गर्नुभएका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गर्नुभएको हो । परम्परागत रूपमा बाबुबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर आधुनिक बाख्रापालन गर्ने सोचसहित क्षेत्रीले बाख्रा र खोरमा रु ८५ हजार लगानी गरेर व्यवसाय सुरु गरेको बताउनुभयो । “घरमा भएका खरी जातका आठवटा पाठापाठी र खरिद गरेर ल्याएका बोयर जातका एक–एकवटा माउ र बाख्राबाट व्यवसाय सुरु गरेको थिएँ”, उहाँले भन्नुभयो, “अहिले फार्ममा ७३ वटा बाख्रा छन् ।” किसान क्षेत्रीले बाख्रापालन व्यवसायबाट वार्षिक रूपमा रु तीन लाख ५० हजार आम्दानी गर्दै आएको बताउनुभयो । उहाँले १६ रोपनी जग्गामा केराखेती पनि गर्नुभएको छ । “केराखेतीबाट वार्षिक रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएको छु । यो वर्ष दुई सय ९२ केराका बोट हावाले ढाल्यो”, उहाँले भन्नुभयो । अरूलाई यो गर्नुपर्छ भन्नुभन्दा आफैँले गरेर देखाउनुपर्छ भन्ने सोचसहित बाख्रा पालेको उहाँले बताउनुभयो । उहाँको फार्ममा खोर निर्माण, घाँस रोपण, चरन क्षेत्र व्यवस्थापनलगायत संरचनामा अहिलेसम्म रु १५ लाख लगानी भएको छ । उहाँको फार्ममा ८५ प्रतिशतका बोयर बाख्रा छन् । “अहिले व्यवसाय राम्रो हुँदै गएको छ । उत्पादन गर्न सके बजारको समस्या छैन । खसीबोका पोखरा पठाउँछु”, किसान क्षेत्रीले भन्नुभयो । चरन क्षेत्रको समस्या छैन । ” यहाँका प्रत्येक घरमा १० देखि २५ वटासम्म बाख्रा छन् । एक घरको गोठालो जान नपाउँदा अर्को घरकाले सहयोग गर्ने चलन छ । “व्यवसायबाट सन्तुष्ट छु । बाख्रापालन र केराखेतीबाट मासिक रु एक लाख ५० हजार सम्म आम्दानी हुने गरेको छ ”, उहाँले भन्नुभयो, “मालिक बन्छु भन्ने सोच राखियो भने प्रगति हुँदैन । आफू सक्रिय भएर व्यवसाय थाल्ने हो भने सफल बन्न सकिन्छ, विदेश जानुपर्दैन ।” सरकारबाट अनुदान नलिएको उहाँले बताउनुभयो । नगद नभई दानापानीमा अनुदान दिनुपर्नेमा उहाँको जोड छ । क्षेत्रीले बाख्रा र केरा बेचर बुटवल, सुनवल, चितवन, मिर्दी भिमाद सडकमा घडेरी किनेको बताउनुभयो । उहाँले गाउँमा गाह्रोसाह्रो पर्नेलाई दिएको रु ७५ लाखसम्म पुगेको बताउनुभयो । गाउँपालिकाका कृषि अधिकृत हरिप्रसाद गैह्रेले पालिकाले किसानलाई नि:शुल्क उपचार तथा औषधि वितरण, परामर्श, घाँसका बीउ वितरणलगायत सहयोग गर्दै आएको बताउनुभयो । गत वर्ष दुईवटा बाख्रा पकेट क्षेत्र कार्यक्रम सञ्चालन थिए । त्यतिबेला २८ वटा शुद्ध बोयर बीउ बोका वितरण गरियो । तीन सयभन्दा धेरै कुखुराका चल्ला पनि वितरण गरियो । यो वर्ष पनि किसानका मागका आधारमा काम गर्छौँ ।”
काठमाडौं: लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ७८ दशमलव १७ अङ्कले उकालो लागेर दुई हजार छ सय ८८ दशमलव ३८ मा पुगेको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३ दशमलव ४० अङ्कले उकालो लागेर चार सय ७८ दशमलव ४८ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा एउटा उपसमूहको शेयर मूल्य भने घटेको छ । कूल एक करोड ९४ लाख ३३ हजार एक सय ५४ कित्ता शेयर रु आठ अर्ब १६ करोड ९२ लाख ७४ हजार छ सय १२ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार विन नेपाल लघुवित्त, ग्रीन भेञ्चर्स लिमिटेड, इस्टन हाइड्रोपावर, रावा इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एशियन हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ९९ प्रतिशतले कमाएका छन् । थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्म्क सर्किट लागेको छ । सानिमा लार्ज क्याप फण्ड आठ दशमलव ४९, आरबिबी म्युचुअल फण्ड दोस्रो चार दशमलव शुन्य एक, सनराइज फस्ट म्युचुअल फण्ड तीन दशमलव ७१ र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले तीन दशमलव ६५ प्रतिशतले गुमाएका छन् ।
कैलाली: कालिकोटकी हंशिला बमलाई हिजोआज यहाँ स्याउ बेच्न व्यस्त हुनुहुन्छ । माइतीघर जुम्ला भएकी हंशिला त्यहाँका स्याउ यहाँ बेच्नुहुन्छ । तेह्र वर्षदेखि यामअनुसार फलफूलको व्यापार गर्दै आउनुभएकी उहाँलाई व्यापार सुरु गरेपछि पछाडि फर्केर हेर्नुपरेको छैन । त्यही व्यापारबाट उहाँले कैलालीमा घर र जग्गा जोड्नुभएको छभने घरको सबै खर्च धान्ने माध्यम पनि फलफूल व्यापार नै बनेको छ । “श्रीमान् गुमाएपछिको अभाव र समाजभित्रको असहज परिस्थितिको मैले बुझेकी छु । छोराछोरीको पढाइलेखाइका लागि मैले केही गर्नुपर्ने थियो”, उहाँ भन्नुहुन्छ, “मैले जुम्लामा उत्पादन लिएर व्यापार सुरु गरेँ । व्यापारले मेरा आवश्यकता पूरा गर्यो ।” यो वर्ष उहाँले जुम्लाबाट पाँच ट्रक स्याउ कैलाली ल्याएको बताउनुभयो । मागका आधारमा देशका अन्य जिल्लामा उहाँले स्याउलगायत जुम्लाका उत्पादन आपूर्ति गरिरहनुभएको छ । जुम्लामा उत्पादित स्याउ प्रतिकेजी रु ७० मा खरिद गरेर तराई पुर्याएपछि प्रतिकेजी रु एक सयदेखि एक सय २० मा बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । “एक ट्रक स्याउ ल्याउन रु एक लाखभन्दा बढी खर्च हुन्छ”, हंशिला भन्नुहुन्छ, “ जुम्लाका किसानले स्याउको मूल्य पाएका छैनन् । ढुवानी खर्च अधिक छ” उहाँले स्याउसँगै हिउँदयाममा सिमी, मकै, आलुलगायत उत्पादन पनि बेच्ने गर्नुभएको छ । उहाँका भाइ र बहिनीले हंशिलालाई साथ दिएका छन् । हंशिला मात्र होइन कयौँले स्याउको व्यापारबाट मनग्ये आम्दानी गरेका छन् । कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन भएका स्याउ कालिकोटका रामु न्यौपानेले पनि तराई ल्याउने गर्नुभएको छ । चार महिनादेखि स्याउको व्यापारमा लाग्नुभएका उहाँ हरेक साता जुम्ला पुग्नेगरेको बताउनुहुन्छ । “चार महिनादेखि घर गएको छैन, स्याउ ढुवानी दैनिकी बनेको छ”, उहाँ भन्नुहुन्छ, “मसँग आफ्नै गाडी छ । आफैँ गाडी चलाउँछु । जुम्ली उत्पादन खरिद गर्न त्यता गइरहन्छु ।” उहाँले सडक सञ्जाल नभएका कारण वगैचामा नै स्याउ कुहिने गुनासो गर्नुभयो । कालिकोटको पलाता गाउँपालिकामा अझै सवारीसाधन पुगेको छैन । त्यहाँ रामुले दुई हजार भन्दा बढी स्याउका बोट रोप्नुभएको छ । “मेरो गाउँमा मात्र सयौँ क्विन्टल स्याउ उत्पादन भएको छ । बजार पु¥याउन यातायातको सुविधा छैन । भरियालाई बोकाउँदा बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन”, उहाँ भन्नुहुन्छ, “कर्णालीमा सुन भएर के गर्ने त्यसको महत्व राज्यले अझै बुझेको छैन ।”
काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । गत साताको बुधबार ९० दशमलव ७३ र बिहीबार १२ दशमलव १० अङ्कले घटेको नेप्से परिसूचक यो साता कारोबारको पहिला दिन हिजो २५ दशमलव ४६ अङ्कले घटेको थियो । पुँजीबजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ५५ दशमलव ८६ अङ्कले घटेर दुई हजार छ सय ४६ दशमलव ०३ को बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ०६ प्रतिशतको गिरावट हो । नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट देखिएको छ । कारोबार रकम गत असार मसान्तको हाराहारीमा खुम्चिएको छ । आज तीन सय २७ कम्पनीको दुई करोड १० लाख ४८ हजार नौ सय ११ कित्ता शेयर एक लाख ११ हजार नौ सय ८६ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ४३ करोड ९१ लाख छ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह दुई दशमलव ६७, जीवन बीमा दुई दशमलव ४९, निर्जीवन बीमा दुई दशमलव ४५, लघुवित्त दुई दशमलव ३३, बैंकिङ दुई दशमलव २८ र वित्त समूह दुई दशमलव २७ प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंक एक दशमलव ८७, जलविद्युत् दुई दशमलव ४४, लगानी शून्य दशमलव ३४, उत्पादन तथा प्रशोधन एक दशमलव २५, म्युचुअल फन्ड शून्य दशमलव ९४, व्यापार शून्य दशमलव ३५ र अन्य समूह एक दशमलव ८३ प्रतिशतले घटेको छ । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ७८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु ३७ करोड पाँच लाख ५७ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हाईड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर १३ लाख ८२ हजार नौ सय छ कित्ता शेयर किनबेच भएको छ ।
काठमाडौँ: स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५२ हजार एक सय निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य तोलामा रु ४५ ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ५० निर्धारण भएको छ ।