पर्वतः जिल्लाका विभिन्न क्षेत्रमा सोमबार दिउँसो परेको बेमौसमी वर्षाका कारण थन्क्याउने तयारी भएको धानबाली र परालमा क्षति पुगेको छ । सोमबार दिउँसो परेको वर्षाले खेतमा लटरम्म पाकेको धान झारेको छभने काटेर सुकाएको निहिन र पराल पूरै डुबाएको किसानले गुनासो गरेका छन् । जिल्लाको फलेवास, महाशिला, विहादी, जलजला, मोदी र पैैयूँ गाउँपालिकाका अधिकांश स्थानका किसानले तिहार सकिएलगत्तै धान भित्र्याउने तयारी गरेका थिए । कतिपयको तिहार अघिदेखि काटेर सुकाएको र कतिपयको सोमबार बिहान काटेको धान नष्ट गरेको मोदी गाउँपालिका–२ देउपुरका प्रकाश चापागाईँले जानकारी दिनुभयो । धान थन्क्याइसकेका किसानले दाइँ हालेर टौवा बनाउने तयारी गरेका बेला पराल रुझेको गुनासो गरेका छन् । रुझेको पराल कुहिएमा गाईभैँसीले नखाने भएकाले केही दिन लगातार सुकाउनुपर्ने समस्या भएको ठुलीपोखरीका किसान रामप्रसाद सापकोटाले बताउनुभयो । कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत शङ्कर पौडेलले जिल्लाका सबैजसो पालिकामा थन्क्याउने तयारी गरेको धानमा वर्षाले नोक्सानी पुर्याएको बताउनुभयो । यसअघि यही कात्तिक ६ गते पनि असिनापानी पर्दा क्षति भएको थियो । त्यतिबेला बचेको धान अहिले थन्क्याउने बेलामा फेरि असर गरेको उहाँको भनाइ छ । क्षतिको यकिन विवरण सङ्कलनको काम भइरहेको उहाँले बताउनुभयो । धान पर्वतको मुख्य बाली हो । पटकपटक आएको असिना र भारी वर्षाले धानबालीमा क्षति पुर्याएपछि यसपटक उत्पादनमा पनि कम हुने भएको छ । रोप्ने बेलामा मौसम अनुकूल परेका कारण यस वर्ष उत्पादन बढ्ने आकलन गरिएको भए पनि अहिले क्षति पुगेको कार्यालयले जनाएको छ ।
यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोज १० देखि १२ गतेसम्म मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षाले पनि धान खेतीलाई उत्तिकै असर गरेको जानकारी दिएको छ । केही दिनयता धानका लागि मौसम अनुकूल देखिएको छ । मुलुकका विभिन्न स्थानमा परेको हल्कादेखि मध्यमसम्मको वर्षाका कारण धानलाई केही असर गरेको मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष धान भित्र्याउने समयमा मौसम अनुकूलन नहुँदा धान उत्पादन घट्न सक्ने जानकारी दिनुभयो । “गत असोजमा आएको बाढी तथा डुबानका कारण मधेस प्रदेश तथा बागमती प्रदेशलाई सबैभन्दा बढी असर गर्यो, पाकेको बाली पनि बगायो, कति स्थानमा काटेको बाली नै पानीको भेलले नष्ट गरायो”, उहाँले भन्नुभयो, “मधेस प्रदेशमा ५७ हजार हेक्टर धान खेतमा क्षति भएको छ, वास्तविक क्षतिको विवरण आउन अझै बाँकी छ । सिरहा, सप्तरीमा जग्गा कटानी भएको र बालुवा थुप्रिएर धान क्षति भको छ जसले गर्दा दुई प्रतिशतसम्म धान उत्पादनमा ह्रास आउँछ कि भन्ने हाम्रो अनुमान छ ।” राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा मथुरा यादवले गत असोजमा परेको भारी वर्षाका कारण कोशी, मधेस र बागमती प्रदेशमा धान उत्पादनमा असर परेको बताउनुभयो । “मौसमसम्बन्धी पूर्वसूचना किसानमा पुग्न सकेमा धान कति बेला काट्न हुने या नहुने विषयमा जानकारी हुन्छ र कम क्षति पुग्छ”, उहाँले भन्नुभयो । क्षतिको आँकलन गरिँदै मन्त्रालयले मनसुनजन्य विपद्का कारण धान खेतमा भएको क्षतिसम्बन्धी विस्तृत आँकलन निकाल्न आगामी मङ्सिर अन्तिम साता प्रदेशिक गोष्ठी गर्ने भएको छ । मन्त्रालयका सूचना अधिकृत जोशीका अनुसार सबै प्रदेशबाट सङ्कलित डाटालाई समेटेर क्षतिको यकिन तथ्याङ्क निकाल्न गोष्ठी आयोजना गर्न लागिएको छ । गोष्ठीमा सबै प्रदेशकासम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहने उहाँको भनाइ छ । रोपाइँमा मात्रै अनुकूल रह्यो मनसुन यस वर्ष धान रोपाइँका लागि मात्रै मनसुन अनुकूल रहेको थियो । अधिकांश रोपाइँ आकाशे पानीकै भरमा सम्पन्न हुने गरेकोमा यस वर्ष धेरै पानी पर्दा रोपाइँका लागि मनसुन सुखद् रहेको मन्त्रालयले विश्लेषण गरेको थियो । मन्त्रालयको अनुसार ९८ दशमलव पाँच प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार अघिल्लो वर्ष ९४ दशमलव ६ प्रतिशतमा रोपाइँ सम्पन्न भएकोमा यस वर्ष झण्डै चार प्रतिशत रोपाइँ बढेको थियो । मुलुकभर १३ लाख ९८ हजार नौ सय ८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने क्षेत्रमध्ये १३ लाख ७८ हजार छ सय ११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । मन्त्रालयका अनुसार कोशी प्रदेशमा ९९ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । कोशी प्रदेशमा करिब दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर रोपाइँ हुने क्षेत्रफल रहेकामा हालसम्म दुई लाख ७५ हजार दुई सय ६७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्ष भदौ ७ गतेसम्म कोशी प्रदेशमा ९७ दशमलव सात र मधेस प्रदेशमा ९७ दशमलव तीन प्रतिशतमा रोपाइँ सम्पन्न भएको थियो । बागमती प्रदेशमा यस वर्ष ९९ दशमलव दुई, गण्डकी प्रदेशमा भने ९७ दशमलव आठ, लुम्बिनी प्रदेशमा ९८ दशमलव तीन, कर्णाली प्रदेशमा यस वर्ष ९९ दशमलव दुई र सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत नै रोपाइँ सम्पन्न भएको थियो । गत वर्ष करिब ५७ लाख मेट्रिकटनसम्म धान उत्पादन भएको थियो । यस वर्ष बढी रोपाइँ हुँदा धान उत्पादन सात प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ । तर भित्र्याउने बेलामा खराब मौसमका कारण उल्टो गत वर्षको तुलनामा घट्ने अनुमान गरिएको छ । कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले धान भित्र्याउने समयमा मौसम अनुकूल नरहँदा उत्पादनमा ह्रास आउने सम्भावना रहेको बताउनुभयो । “यस वर्ष धान रोपाइँ राम्रो भएको थियो, धानका लागि वर्षा पनि राम्रो भयो”, उहाँले भन्नुभयो, “तसर्थ ७ प्रतिशतसम्म धान उत्पादन बढ्ने अपेक्षा थियो, भित्र्याउने बेलामा मौसम अनुकूलन नहुँदा अब उत्पादन घट्ने भयो ।” यस वर्ष रासायनिक मलको सहज उपलब्धता र किसानका लागि मनसुन सुखद रहेको कारण झण्डै चार प्रतिशतले रोपाइँ बढेको थियो । अधिकांश स्थानमा रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपर्ने अवस्था रहेको र वर्षा राम्रो भएकाले रोपाइँ समयमा नै सकिएको जोशीले जानकारी दिनुभयो । “अधिकांश सिँचाइ सुविधा पुगेका क्षेत्रमा मात्रै धान रोपाइँ समयमा नै हुनेगर्छ, नत्र आकाशे पानीकै भर पर्नुपर्छ”, उहाँले भन्नुभयो, “रोपाइँलाई सहज थियो मौसम, अहिले भएन ।” वर्षाको थप असर गत असोजको मात्रै होइन केही दिनयता परेको वर्षाको कारण धान खेतलाई असर गरेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाको अनुसार केही दिनयता मुलुकको अधिकांश पहाडि भेगमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । यसले काटेर थुपारिको धानको पाँजा (निहिन) लाई असर पार्ने देखिएको छ । मङ्गलबारदेखि मौसम सफा हुने महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार केही दिनयता मुलुकको विभिन्न पहाडी क्षेत्रमा भइरहेको वर्षा आज रातिसम्म रहने छ । “हामी तीन दिने मौसमी पूर्वानुमान गर्ने छौँ, मङ्गलबार दिउँसोदेखि मौसम सफा रहने छ”, उहाँले भन्नुभयो, “तीन दिनसम्म वर्षा हुने सम्भावना छैन, पछिको अवस्था कस्तो रहन्छ भन्ने अनुमान अहिल्यै गर्न सकिने छैन ।” उहाँका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आयात बढ्ने सक्ने मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा रु ८८ करोड ६५ लाख मूल्य बराबरको धानको बीउ आयात भएको छ । यसैगरी, करिब रु ११ अर्ब ५५ करोड मूल्य बराबरको धान आयात भएको छ । मन्त्रालयका अनुसार यस अवधिमा रु आठ अर्ब ६९ करोड मूल्य बराबरको चामल आयात भएको छ । करिब रु नौ लाख २० हजार मूल्य बराबरको कनिका आयात भएको छ । यस वर्ष धान उत्पादन कम भएसँगै आयात पनि बढ्न सक्ने मन्त्रालयको अनुमान गरिएको छ । यस्तो छ, धान उत्पादनको अवस्था कृषि मन्त्रालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा धानको कूल उत्पादन गत आवभन्दा ४ दशमलव ३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिकटन पुगेको थियो । जुन विगत चार वर्षको औषत उत्पादनको तुलनामा ५ दशमलव ०८ प्रतिशतले बढी हो । कूल धानबाली भित्र्याइएको क्षेत्रफल आव २०७९/८० को तुलनामा शून्य दशमलव ६१ अर्थात् आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम हुन पुगेको छ । यो क्षेत्रफल अघिल्लो चार आवका औसत क्षेत्रफलको तुलनामा एक दशमलव ७३ प्रतिशतले कम हो । धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा चार दशमलव ९७ प्रतिशतले वृद्धि भई तीन दशमलव ९८ मेट्रिकटन प्रतिहेक्टर पुगेको छ जुन गत चार वर्षको औषत उत्पादकत्वभन्दा छ दशमलव ९२ प्रतिशतले बढी हो । गत आवमा धानको उत्पादन कोशी प्रदेशमा उच्च रहेको छ भने कर्णाली प्रदेशमा न्यून रहेको छ । गत आवमा उत्पादकत्वतर्फ कोशी प्रदेश चार दशमलव ४३ मेट्रिकटन प्रतिहेक्टरसहित अग्रस्थानमा रहन गर्यो भने मधेस प्रदेश तीन दशमलव ४९ मेट्रिकटन प्रतिहेक्टर मेट्रिकटनमा सीमित भई न्यून स्थानमा रहन पुग्यो । मुख्य धानको तुलनामा विगतका आवमा जस्तै चैते धानको उत्पादकत्व उच्च कायम रहेको छ ।
पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर रु दुई लाख बढीको आम्दानी भएको छ । तिहार अर्थात् भाइटीकाका अवसरमा सयपत्री फूल तथा माला बिक्री गरेर ‘हाम्रो आधुनिक कृषि फार्म’ले उक्त आम्दानी गरेको हो । फार्मका सञ्चालक दिलबहादुर थापाले सयपत्री फूलले राम्रो बजार पाएको र यसबाट मनग्य आय आर्जन भएपछि व्यवसायमा उत्साह थपिएको बताउनुभयो । तीन दिनको अवधिमा बारीमा लगाएको सबै फूल बिक्री भएको उहाँले बताउनुभयो । बुटवल, तानसेन, पोखरालगायत बजारबाट माग आएको भए पनि बाहिर पठाउन नसकिएको अर्का सञ्चालक लालबहादुर थापा बताउनुहुन्छ । बारी भरि लगाइएको फूल सकिँदा पनि माग उत्तिकै आएको उहाँको भनाइ छ । फूलबाट पर्याप्त आम्दानी भएपछि पाँच वर्षदेखि यसको खेती गर्दैआएको थापाको भनाइ छ । प्रतिकिलो फूल रु पाँच सय र प्रतिमाला रु एक सय ५० मा बिक्री भएको थापाले बताउनुभयो । हरेक वर्ष तिहारमा फूलमाला माग अनुसार पुर्याउन नसकिएको उहाँको भनाइ छ । यस वर्ष करिब चार रोपनी जग्गामा लगाएको फूल सबै बिक्री भएको छ । स्थानीयस्तरमा नै फूलले राम्रो व्यापार पाएको छ । गाउँघरमा पनि विद्यालय, विभिन्न सङ्घसंस्थाको आयोजनामा लक्ष्मीपूजा तथा दीपावली मनाइने चलन पछिल्लो समय बढ्दो रहेकाले फूलमालाको खपत राम्रो हुने गर्दछ । भाइटीकाका दिन लगाउन मात्र नभई तिहार पर्व सुरु भएदेखि नै घर, विद्यालय तथा सङ्घसंस्थामा सजाउन, पूजाआजा गर्न सयपत्री फूल खोज्ने भएकाले हिजोआज फार्ममा फूल खरिद गर्न ग्राहक बढेका छन् । यहाँ हरेक वर्ष रु दुई लाखदेखि रुतीन लाख बराबरको फूलको माला बिक्री हुँदै आएको सञ्चालक थापाले बताउनुभयो ।
नहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित कृषि सहकारी संस्थाले यहाँ कफीको नर्सरी स्थापना गरेको हो । शुक्लागण्डकी नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँगको सहकार्यमा दश हजार कफीको बिरुवा उत्पादन भइरहेको सहकारीका अध्यक्ष मनराज गुरुङले राससलाई जानकारी दिनुभयो । युवापुस्तामा कफीप्रति अत्यधिक आकर्षण रहेकाले बजारको माग सम्बोधनका लागि यहाँ कफी उत्पादन गर्ने लक्ष्य राखिएको गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “युवा पुस्तामा कफीको आकर्षण बढ्दो छ । आफ्नै माटोमा जीवन देख्नुपर्छ भन्ने सोच बोकेका कृषकलाई कफीका बिरुवा वितरण गर्छौं ।” किसानले उत्पादन गरेको कफी बिक्रीका लागि बजारीकरणको व्यवस्थासमेत सहकारीले गरिदिने उहाँको भनाइ छ । “हामी कफीका बिरुवा मात्रै वितरण गर्दैनौँ, कफी उत्पादन भएपछि बिक्रीको जिम्मा समेत लिन्छौँ,” उहाँले भन्नुभयो, “एक किलो होस् वा एक सय किलो बिक्री भएपछि बजारको चिन्ता लिनु पर्दैन ।” गुरुङले सबैभन्दा चाँडो उत्पादन लिन सकिने र बाँदरबाट कम क्षति हुने कफीखेतीलाई प्रोत्साहन गरिएको बताउनुभयो । शुक्लागण्डकी नगरपालिकाभित्र बाँझो रहेका जमिनको सदुपयोग गर्न र बसाइसराइँ रोक्दै आयआर्जनमा जोड्ने उद्देश्यसहित कफीखेती अभियान थालिएको शुक्लागण्डकी नगरपालिकाका कृषि शाखा प्रमुख नवराज पण्डितले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँ उत्पादन हुने कफीले युवाहरुको कफीप्रतिको मोहलाई सम्बोधन गर्न सक्नेछ ।” नगरपालिकाले गत वर्ष पाँच हजार कफीका बिरुवा वितरण गरेको थियो । यस वर्ष दश हजार बिरुवा वितरण गरिनेछ । बाँझो जमिनको उपयोग गर्दै उत्पादनसँग जोड्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिकाको चालु आर्थिक वर्षमा रहेको युवासँग उपप्रमुख कार्यक्रममार्फत शुक्लागण्डकीमा उत्पादन केन्द्रित अभियान सञ्चालन गरिएको हो ।
नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ५३ र बिक्रीदर एक सय ७४ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २० पैसा र बिक्रीदर ९६ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक एक रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ७७ पैसा र बिक्रीदर आठ रुपैयाँ ८१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर ३ रुपैयाँ ९७ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २६ पैसा र बिक्रीदर १७ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ २ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा विक्री भएको छ । म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा यही कात्तिक महिना सुरुभएदेखि चार हजार ४० भेडा/च्याङग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार यसपालीको दशै पर्वका लागि आठ हजार भेडाच्याङग्रा बिक्री भएको थियो । पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेर स्वस्थ्य भेडाच्याङग्रा मात्र बजार पठाउने गरिएको छ । दसै र तिहार पर्वका लागि मुस्ताङको बाटो भएर जिल्लाका कृषकले पालेका सहित डोल्पा र मुगुबाट ल्याइएका भेडाच्याङग्रा बजारमा बिक्री भएको हो । “उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यसपालीको दसैँ तिहारमा भेडाच्याङग्राको ब्यापार बढी भएको छ,” केन्द्र प्रमुख अर्यालले भन्नुभयो, “कृषकले तौल अनुसार प्रतिगोटा २८ हजार देखि ३७ हजारका दरले च्याङग्रा बिक्री गरेका छन् ।” जडिवुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । तीन वर्ष पुरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । गत वर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका ब्यापारीले यसपाली प्रतिगोटा ३० हजारदेखि ३३ हजारमा किसानहरुबाट खरिद गरेका छन् । गत वर्ष काठमाडौ पोखरामा प्रतिगोटा रु. ५५ हजारसम्म परेको च्याङग्राको मूल्य यसपाली रु. ४५ हजार भन्दा कम मूल्यमा बिक्री भएको छ । गत वर्ष बजारमा ल्याएको च्याङग्रा महँगी हुँदा बिक्री नभएर ब्यापारीले नोक्सान ब्यहोरेको गुनासो गरेका थिए ।
‘नेपालमै उत्पादित फूलको माला लगाऔँ, नेपाली हुनुको गौरव बढाऔँ’ भन्ने नाराका साथ धनगढीका चोक तथा गल्लीमा यसपटक सयपत्री फूलको व्यापार गर्नेहरूलाई भ्याइ नभ्याइ छ । पछिल्ला वर्षमा सयपत्रीको उत्पादन बढेसँगै यसको मालाको कारोबार गर्न पनि व्यापारीलाई भ्याइ नभ्याइ हुने गरको छ । यसपटक माला बिक्रीका लागि भइरहेको प्रतिस्पर्धाले गत वर्षभन्दा मूल्य पनि सस्तो भएको छ । धनगढी क्षेत्रमा घरायसी प्रयोजनका लागि मात्रै फूल रोप्ने चलन रहेकामा पछिल्ला वर्षमा व्यावसायिक रूपमा पुष्पखेती गर्नेहरू बढ्दै गएका छन् । धनगढी उपमहानगरपालिकाको मोतिचोकस्थित सनराइज मल्टी एग्रो प्रालिका इन्द्रबहादुर सेठी पुष्पखेती गर्ने किसान बढे पनि यसबाट अपेक्षित आम्दानी गर्न नसकिएको बताउनुहुन्छ । “जति माग हुनुपर्ने हो, त्यति भइरहेको छैन । स्थानीय उत्पादनलाई प्रयोग गर्नुपर्छ भन्ने चेतनाको विकास अझैँ भइसकेको छैन, त्यसैले पुष्पखेतीमा लागेकाहरूले उचित मूल्य पाउन सकेका छैनौँ”, उहाँले भन्नभुयो । व्यापारीसँग ग्राहकले सयपत्रीका मालाको मोलमोलाइ गरिरहँदा प्रतिमाला रु ६० सम्म पाउने गरेको माला खरिद गरेको भेटिनुभएका धनगढी उपमहानगरपालिका—४का हेमराज भट्टले बताउनुभयो । सयपत्री फूलका माला सहज रूपमा पाउन थालेसँगै विगतका वर्षमा जस्तो तिहारका समयमा बाहिरबाट आयात हुने कृत्रिम फूलमाला प्रयोग गर्नुपर्ने बाध्यता भने हटेको उहाँको भनाइ छ । “विगतमा तिहार नआउँदै धनगढीलगायत क्षेत्र भारतबाट आयातित कृत्रिम फूलले सिङ्गारेर झकिझकाउ देखिन्थे । भाइटीका, घरदैलोको सजावट, पूजाआजालगायत कामका लागि कृत्रिम फूलको कारोबार बढी हुने गरेको थियो । यसपटक भने कृत्रिम फूलको आयात भएको देखिएन । त्यसले स्थानीय उत्पादनले बनार पाएको छ”, भट्टले भन्नुभयो । धनगढीको हावापानीमा कर्मा ट्रिपल प्रजातिको सयपत्रीको खेती निकै फस्टाएको छ । टिपेको पाँच÷छ दिनसम्म पनि नबिग्रिने भएकाले धेरैले यसैको खेती रोजेका पुष्प व्यवसायीले बताउने गरेका छन् । पुष्पखेतीसँगै फूल टिप्ने र माला उन्ने काममा रोजगारीको अवसर पनि प्राप्त भएको छ । धनगढी क्षेत्रमा पुष्पखेती गर्ने किसानहरूको सङ्ख्या करिब ३५ पुगेको बताइएको छ । धनगढी उपमहानगरपालिका कार्यालयले बाहिरबाट हुने फूलको आयातलाई रोक्न स्थानीय किसानलाई पुष्पखेती व्यवसायतर्फ उत्प्रेरित गरेपछि पनि यसतर्फ आकर्षण बढेको हो । उपमहानले पुष्पखेती प्रवर्द्धनमा जोड दिदै नगर क्षेत्रमा सयपत्री, मखमली जस्ता फूलको खेती गर्न चाहने २६ किसानलाई गतवर्ष तालिमका साथै अन्य प्राविधिक सहयोग गरेको थियो । धनगढीलाई प्राकृतिक फूल सङ्कलनको ‘हब’बनाउने लक्ष्यअनुरूप उपमहानगरले प्राकृतिक फूलको प्रवर्द्धनमा जोड दिएको र बाहिरबाट भित्रिने प्लाष्टिजन्य कृत्रिम फूलमालाको कारोबारमा रोक लगाएको जनाएको छ । स्थानीय बजारमा बिक्रीका लागि ल्याउने गरिएको सयपत्री फूलमाला प्रतिगोटा कम्तीमा रु ६० देखि रु सयसम्म बिक्री वितरण भइरहेको छ ।
राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा रु दुई करोड बढी राजस्व सङ्कलन गरेको छ । सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१/८२ को साउनदेखि असोजसम्ममा रु दुई करोड १४ लाख छ हजार एक सय २० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताउनुभयो । सवारीसाधन करबाट रु एक करोड ३६ लाख पाँच हजार पाँच सय २५, यातायात क्षेत्रको आम्दनीबाट रु ६५ हजार नौ सय १० र सवारी दर्ता किताबापत रु २५ लाख ४३ हजार एक सय ८५ राजस्व सङ्कलन भएको छ । सवारी चालक अनुमतिपत्र बापत रु ९१ लाख ९१ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०/८१ मा रु १३ करोड ८५ लाख ५८ हजार एक सय ५१ राजस्व सङ्कलन भएको थियोभने २०७९/८० मा रु सात करोड ५६ लाख २५ हजार चार सय ७५सङ्कलन भएको थियो ।
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.२५ र डिजेलमा रु १.०४ ले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।