म्याग्दी: रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन् । म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आउनुभएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीको भेडाबाख्राको सुरक्षा कुकुरले गरेका छन् । ५४ वर्षदेखि भेडापालन गर्दै आउनुभएका ६८ वर्षीय भण्डारीले भेडाबाख्रा र आफ्नो सुरक्षाका लागि सातवटा ‘भोटे कुकुर’ पालेको बताउनुभयो । घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने किसानका उदाहरण हुनुहुन्छ ढोरपाटनका रनबहादुर र भगवतीका नन्दबहादुर । कुकुर नभएका भेडाबाख्रा, च्याङ्ग्रा, चौँरी, गाईभैँसीको गोठ नै हुँदैनन् । महिनौँसम्म एक्लै जङ्गलमा बस्ने गोठालाको साथी बनेका कुकुरले चितुवा, ब्याँसो, भालु, स्याललगायत जङ्गली जनावरको आक्रमणबाट बचाएर भेडाबाख्राको सुरक्षा गर्छन् । राति, साँझ र बिहान गोठको वरपर रुगेर पहरा दिने कुकुरले जङ्गली जनावर र चोर आएको थाहा पाएपछि चर्को स्वरमा भुकेर सङ्केत गर्र्ने, लखेट्ने तथा भिडेर किसानलाई सहयोग गर्ने अन्नपूर्ण गाउँपालिका–१ दोवाका नेत्रप्रसाद राम्जालीले बताउनुभयो । “कुकुरबिनाको गोठालाको कल्पना नै गर्न सकिँदैन,” ३२ वर्षदेखि गोठाला गर्दै आएका ७२ वर्षीय रनबहादुरले भन्नुभयो, “पशुहरु जङ्गलमा चराउन लैजाँदा उनीहरुको पछिपछि डुल्ने कुकुरले अप्ठ्यारो भिरमा जान दिँदैनन् । साँझ पर्न लाग्यो भने खेदेर गोठमा फर्काउँछ । चितुवा, ब्वाँसो, स्याल देखेपछि भुकेर सूचना दिन्छ । आक्रमण गर्न आउन जङ्गली जनावरलाई भगाउँछन् ।” कुकुरको सहयोगविना गोठाला एक्लैले सयौँको सङ्ख्यामा रहेका गाई, भैँसी, भेडाबाख्रा, च्याङ्ग्राको रेखदेख गर्न नसक्ने भएकाले कुकुरलाई गोठालाको बफादार सहयोगी मान्ने गरिएको रनबहादुरले बताउनुभयो । म्याग्दी, मुस्ताङ र ढोरपाटनका गोठालाहरुले तीस किलोग्रामभन्दा बढी तौल हुने, अग्ला र ठूला शरीर भएका देख्दै डरलाग्दा कम्तीमा दुईवटा भोटे कुकुर पालेका हुन्छन् । यस्ता कुकुरको छाउरालाई नै प्रतिगोटा रु १० हजारभन्दा बढी मूल्य पर्छ । आफ्ना मालिकलाई माया गर्ने, जङ्गली जनावरको चाल छिटो सुन्ने र सुँघेर पत्ता लगाउने विशेषता भएका कुकुरले गोठालाको दैनिकीलाई सजिलो र सुरक्षति बनाएको कृषक राम्जालीले बताउनुभयो । बिहान र बेलुका पीठोको खोलेका साथै भेडाको दूध र मासु पनि गोठमा पालिने कुकुरका खाना हुन् । एक ठाउँमा दशदेखि १५ दिन गोठ राखेर वरपरका खर्क र जङ्गलको घाँस खुवाएपछि अर्को ठाउँमा सार्ने चलन छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार जिल्लाभर दुई सयभन्दा बढी गोठमा २० हजारको सङ्ख्यामा बरुवाल र भ्याङलुङ जातका भेडा पालिएको छ ।
कञ्चनपुरः कृष्णपुर नगरपालिकाको कार्यालय परिसरमै तरकारी बारी बनाइएको छ । तरकारी बारीमा काउली, बन्दागोभी, गोलभेँडा, खुर्सानी लगायतका तरकारी रोपिएको छ । केही तरकारी क्यारी बनाएर रोपिएका छन् ।केही तरकारी परिसर छेउमै बनाइएको पोलिहाउसभित्र रोपिएका छन् । उन्नत बढी मह उत्पादन गर्ने एपिस मेलिफेरा जातको मौरीका घार कार्यालय परिसरमै लस्करै राखिएका छन् । घारमा मौरीपालन गरिएको छ । बारीमा लगाइएका बोटबिरुवामा मल राख्नका लागि गड्यौँलापालनको कार्य पनि गरिएको छ । नगरपालिकाको कृषि विकास शाखाका कर्मचारीले कार्यालय परिसरमा बारी तयार गर्ने, बीउ रोप्ने, गोडमेल गर्ने, आवश्यकताका आधारमा मल राख्ने, सिँचाइ गर्ने लगायतका कार्य गर्दै आएका छन् । व्यावसायिक तरकारीखेती गर्न आउने किसानलाई बारीमै लगेर खेती गर्ने तरिका सिकाउनका लागि करेसाबारी तयार गरिएको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताउनुभयो । “करेसाबारीसँगै पोलिहाउसमा उन्नत जातका तरकारीका बिरुवा रोपिएका छन्”, उहाँले भन्नुभयो, “किसानलाई उन्नत जातको बीउ छनोट गर्ने तरिका, उन्नत बीउको प्रयोग गरे कुन तरिकाले बढी उत्पादन लिन सकिन्छ भन्ने कुरा बारीमै लगेर सिकाउँछौँ, त्यसैका लागि यो बारी तयार गरेका छौँ ।” पोलिहाउसभित्र कसरी तरकारीखेती गर्ने भन्नेबारे पनि किसानलाई सिकाउने कार्य हुँदै आएको उहाँको भनाइ छ । रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भई दीर्घकालीन रोग देखापर्न थालेको उल्लेख गर्दै शाखा प्रमुख धामीले जैविक विधिको प्रयोग गरी मल तयार गर्नका लागि गड्यौँलापालन कसरी गर्ने, त्यसबाट उत्पादित मल खेतबारीमा कसरी हाल्ने भन्नेबारे किसानलाई जानकारी दिने गरेको बताउनुभयो । मेलिफेरालाई उन्नत जातको मौरीका रुपमा चिनिन्छ । यस मौरीको एक घारबाट वर्षमा ६० किलो बढी मह उत्पादन गर्न सकिन्छ । मौरीपालनमा लागेका किसानलाई उन्नत जातको मौरीपालन गरी बढी आम्दानी लिन सकिन्छ भन्ने जानकारी दिनका लागि घार राखेर मौरीपालन गरिएको शाखा प्रमुख धामीको भनाइ रहेको छ । कार्यालय परिसरमा बनाइएको बारी किसानको आकर्षणको केन्द्र बनेको छ । बारीको अवलोकनका लागि दैनिक कृषि विषय पढ्ने विद्यार्थीसँगै किसान अवलोकनका लागि पुग्ने गरेका छन् । किसानलाई सैद्धान्तिक ज्ञानसँगै प्रत्यक्ष रुपमा अवलोकन गराइने गरिएको छ ।
नवलपुरः नवलपरासी ९बर्दघाट–सूस्तापूर्वको गैँडाकोट नगरपालिकाभित्र यसवर्ष सयपत्री फूलखेती फस्टाएको छ । यहाँ उत्पादित सयपत्री फूल स्थानीय बजारका साथै गरी छिमेकी जिल्लामासमेत पठाउने गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । नगरपालिकाले फूलको बीउमा अनुदान तथा प्राविधिक सहयोग गरेपछि फूलको उत्पादन वृद्धि भएको हो । यसवर्ष स्थानीय फूलको माला प्रवर्द्धन गर्न नगरपालिकाले प्लास्टिकका मालाको आयात बन्द गरेपछि किसानले उत्पादन गरेका फूल बढी खपत भएको गैँडाकोट–१ की पुष्प व्यवसायी मीना केसीले बताउनुभयो । विगतको वर्षको तुलनामा यसवर्ष फूलको उत्पादन बढी भएकाले स्थानीय बजारका साथै जिल्ला बाहिरबाट समेत माग आएको उहाँले उल्लेख गर्नुभयो । “बारीमा ढकमक्क फूल फुलेको छ, तिहार भर्खरै सुरु भएको छ”, उहाँले भन्नुभयो, “तिहारको अवधिमा यहाँको सबै फूल खपत हुनेमा विश्वस्त छौँ ।” एक्लो प्रयासमा तीन कठ्ठा क्षेत्रफलमा फूलखेती गरेको भन्दै केसीले बीउमा अनुदान तथा फूलमा रोगकीरा लागेमा सोको व्यवस्थापनका लागि नगरपालिकाले प्राविधिक सहयोग गरिरहेको बताउनुभयो । फूलखेती गर्न मेहनत धेरै गर्नुपर्ने भए पनि फूल बिक्री हुँदा नोक्सानी नहुने केसीले बताउनुभयो । गैँडाकोटमा उत्पादन भएको सयपत्री फूलको माला प्रतिगोटा रु ६० देखि रु एक सयसम्म तथा फूल प्रतिकिलो रु तीन सय ५० देखि रु पाँच सयसम्ममा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । फूल आवश्यक पर्ने व्यक्ति तथा संस्थाले आफूहरुलाई सम्पर्क गरेर माग गर्ने गरेका भन्दै आजदेखि भने आमउपभोक्तालाई लक्षित गरी फूल टिप्न सुरु गरिएको केसीले बताउनुभयो । “तिहारका लागि फूलको माग आइरहेको छ”, उहाँले भन्नुभयो, “आजदेखि फूल टिपेर सर्वसाधारणका लागि पनि बिक्री वितरण गर्ने गरी तयारी गरेका छौँ ।” गैँडाकोटमा सयपत्री फूलको उत्पादन राम्रो हुने भएकाले किसानलाई फूलखेतीमा आकर्षण गर्न अनुदान दिन सुरु गरिएको नगरपालिका कार्यालयले जनाएको छ । नगरपालिकाका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले सयपत्रीको उन्नत जातको बीउ लगाउँदा यस वर्ष राम्रो उत्पादन भएको बताउनुभयो । “हामीले सयपत्री फूलको बीउमा बिलको आधारमा ५० प्रतिशत अनुदान दिएका छौँ”, उहाँले भन्नुभयो, “फूलखेतीको नियमित हेरचाह र रोगकीराको सङ्क्रमण देखिँदा किसानलाई प्राविधिक सहयोग समेत गर्दै आएका छौँ ।” कृषि विकास शाखा प्रमुख शर्माकाअनुसार यसवर्ष गैँडाकोट नगरपालिकाभित्र मात्रै ४१ जना किसानले एक कठ्ठादेखि एक बिघा जमिनमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन् । “व्यावसायिक रुपमा खेती गरेका किसानले पाँच बिघा भन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको खेती गरेका छन्”, उहाँले भन्नुभयो, “व्यक्तिगत प्रयोजनका लागि समेत यहाँ फूलखेती गरिने हुँदा नगरपालिकाभित्र करिब आठ बिघा क्षेत्रफलमा फूलखेती भएको छ ।” यहाँ उत्पादन भएको फूल स्थानीय बजारमा पर्याप्त भएर नारायणगढ, कावासोती, काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा पठाउन पालिकाले समन्वय गरिरहेको शर्माले जानकारी दिनुभयो । नगरपालिकाले तीन वर्ष अघि व्यावसायिक रुपमा फूलखेती गर्न किसानलाई आकर्षित गरेको उल्लेख गर्दै उहाँले त्यसपछिका वर्षमा किसानलाई तालिम, बीउ र बिरुवामा अनुदान, प्राविधिक सहयोग नियमित गर्दै आएको बताउनुभयो । गैँडाकोटमा फूलखेतीका लागि उपयुक्त माटो र हावापानी भएकाले आगामी वर्षमा उत्पादनसँगै क्षेत्रफल बढाउन किसान लक्षित विभिन्न कार्यक्रम ल्याउने योजना रहेको कृषि विकास शाखा प्रमुख शर्माले जानकारी दिनुभयो । यहाँ व्यक्ति तथा समूहले व्यावसायिक रुपमा सयपत्री फूलखेती गर्दै आएका छन् ।
तनहुँः आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री दोहा पठाइएको हो । कृषि प्राविधिकले ग्रेडिङ गरेपछि फूल निर्यात गरिएको याञ्चोकटार महिलाहरुलाई फूल टिप्न व्यस्त छन् । समूहकी अध्यक्ष सुन्तली गुरुङसहित समूहमा आबद्ध ७० जना महिला माला गाँस्न व्यस्त हुनुहुन्छ । समूहले गतवर्षदेखि सयपत्री कतार निकासी गर्न थालेको हो । गतवर्ष दुई लाख पचास बराबरको सयपत्री निकासी गरिएको जानकारी दिँदै अध्यक्ष गुरुङले यो वर्ष रु ८ लाख बराबरको फूल निर्यात गर्ने लक्ष्य रहेको बताउनुभयो । आँधीमूल महिला समूह र याञ्चोक महिला समूह एकआपसमा गाभिएर फूलखेती प्रारम्भ भएको हो । गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा बीउ उपलब्ध गराए पछि महिलाहरु व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएका आँबुखैरेनी गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । समूहले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा गाउँपालिका कार्यालयले सहजीकरण गर्दै आएको छ । “आज र भोलि आँबुखैरेनी गाउँपालिकाभित्रका १२ स्थानमा बिक्री स्थल बनाइनेछ”, महिला सशक्तीकरण पालिकाको प्राथमिकता भएको बताउँदै उहाँले भन्नुभयो “केही माला तयार गरी कोल्डस्टोरमा राखिएको छ ।” फूलखेतीबाट समूहमा आबद्ध महिला आर्थिक रूपमा पनि सक्षम भएका छन् ।
ढोरपाटन: १ दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा पुग्दा खेतबारी जोत्न हल गोरु नै प्रयोग गरिन्थ्यो । खेतबारी जोत्ने हली पनि प्रशस्त हुन्थे । तर हिजोआज जनशक्ति अभावमा खेतबारी बाँझोमा परिणत हुँदै गएका छन् । सीमित खेतबारीमा मात्रै किसानले खेती गर्ने छन् । पहिले हल गोरुको काम अहिले मिनिटेलर (आधुनिक हलो)बाटै हुन थालेको छ । बजार क्षेत्रमा एक दशक अगाडिदेखि नै आधुनिकको प्रयोग गरेर खेतबारी खनजोत गरिए गाउँमा त्यो सुविधा थिएन । अहिले यो सुविधा गाउँगाउँ र टोलटोलसम्मै पुगेपछि हल गोरु पाल्न छोडिएको हो । अहिले ग्रामीण क्षेत्रका किसानले अगाल्दै आएको परम्परागत खेती प्रणाली फेरिँदै गएपछि गाउँमा अचेल हल गोरु पाउन मुस्किल हुन्छ । जिल्लाको ढोरपाटन, गलकोट, जैमिनी नगरपालिका, निसीखोला, तमानखोला, ताराखोला गाउँपालिकाका एउटै परिवारले दस हलसम्म गोरु पाल्ने गरेको पाइन्थ्यो तर अहिले त्यो अवस्था छैन । अहिले बारी खनजोत र बाली लगाउने तथा भित्र्याउने कामका लागि अर्मपर्म गर्ने चलन पनि हटेको छ । पछिल्लो समय खनजोतका लागि मिनिटेलर हलो बढी प्रयोगमा आएपछि गोरुले दुई दिनमा सक्ने काम मिनिटेलरले दुई घण्टामै सकिदिन्छ । त्यसले गर्दा किसानको आधुनिक हलोप्रति आकर्षण बढेको गलकोट नगरपालिका–५ का कृष्णबहादुर खत्रीले बताउनुभयो । मिनिटेलर हलोले छिटोछिटो जोत्दा समयको बचत हुने र खर्च पनि कम हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पाँच÷सात वर्ष पहिला गाउँमा धेरै मान्छे थिए, वरपरका छरछिमेकी भएर अर्मपर्म गथ्र्यौ, गोरु नपाल्ने कोही हुन्थेन, अहिले त युवा जति विदेश गए, हामी बुढाबुढी भयौँ, गोरु पाल्न सक्ने अवस्था छैन, बजारमा गएर हलो किनेर ल्यायो, गोरुले दिन भरि लगाउने काम एकै छिनमा सकिन्छ ।” निसीखोला गाउँपालिका–४ का मनप्रसाद पौडेलले गोरुले खेतबारी जोत्दा समय लाग्ने भए उत्पादन राम्रो हुने तर मिनिटेलरले छिटो भए उत्पादनमा ह्रास आउने बताउनुभयो । मिनिटेलरले बारी गहिरो गरी नजोत्दा मकै, धान धल्ने गरेको सुनाउँदै पहाडी क्षेत्रमा हल गोरु नै ठीक हुने उहाँको अनुभव छ । “अहिले गाउँमा गोरु पाल्ने किसान निकै कम छन्, पहिले प्रत्येकको घरमा एक हल गोरु हुन्थे, अहिले मिनिटेलर हलो छ, गोरुले जोत्दा खेतीपाती सप्रिन्थ्यो, उत्पादन राम्रो हुन्थ्यो, तर अहिले धान, गहुँ, मकै कम उब्जनी हुन्छ”, उहाँले भन्नुभयो, “सुरुसुरुमा गाउँमा मिनिटेलर आउँदा प्रयोग गरियो, तर उत्पादन घटेपछि अहिले त ओल्लोपल्लो गाउँमा गएर भए गोरु खोजेरै जोत्ने गरेको छु ।” बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएपछि बागलुङ नगरपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न थालेको छ । अघिल्लो वर्षदेखि नै किसानले रु पाँच हजारका दिन थालेको हो । गत वर्ष नगरपालिकाले ८१ किसानलाई प्रोत्साहन रकम प्रदान गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । हाते ट्रयाक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको गोरुले जोत्ने परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका लागि हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गरिएको उहाँको भनाइ छ । नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “आधुनिकीकरणको नाममा हाम्रो परम्परागत खेती प्रणालीलाई अन्त्य गर्नुहुँदैन, आवश्यकताको आधारमा हेरेर आधुनिकीकरण गर्ने हो, व्यावसायिक खेती गर्न परम्परागत खेती गर्नका लागि हल गोरु नै राम्रो हुन्छ, नगरपालिकाले प्रोत्साहन गर्न थालेपछि किसान पनि खुसी हुनु भएको छ ।”
तेह्रथुमः जिल्लाको लालीगुराँस नगरपालिका–१ की किसान दीपा पौडेलको बारी र बगैँचामा मौसमी तथा बेमौसमी सागसब्जी बाह्रै महिना हेर्न पाइन्छ । आफूले लगाउने सागसब्जीमा उहाँ रासायनिक मल र विषादीको साटो कम्पोष्ट मल र जैविक विषादी प्रयोग गर्नुहुन्छ । १० रोपनी जग्गामा जैविक सागसब्जी उमार्दै आउनुभएकी उहाँले सागसब्जी बिक्रीबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएको बताउनुभयो । स्थानीय तीनजुरे महिला किसान समूहकी सचिव दीपा त्यस क्षेत्रकी जैविक सागसब्जी उत्पादक किसान हुनुहुन्छ । लालीगुराँस नगरपालिका–७ ओखरबोटे महिला किसान समूहकी अध्यक्ष मेनुका पोख्रेलले पनि उहाँजस्तै सागसब्जीमा रासायनिक मल र विषादीको प्रयोग गर्नुहुन्न । यसैगरी लालीगुराँस नगरपालिका–३ की किसान गीता राईले पनि विगत पाँच वर्षदेखि रासायनिक मलबिना सागसब्जी फलाउँदै आउनुभएको छ । रासायनिक मल प्रयोग नगर्दा उत्पादन केही कम भए पनि उपभोक्ताका लागि स्वस्थकर हुने भएकाले त्यसतर्फ बढी ध्यान दिएको कृषक गीता बताउनुहुन्छ । दीपा र गीतामात्र होइन लालीगुराँस नगरपालिकाको वडा नम्बर १, ३ र ७ प्रयोग गरी सागसब्जी उत्पादन आएका छन् । रासायनिक मल प्रयोगकर्ता उहाँहरूलाई पाँच वर्षअघि तेह्रथुममा क्रियाशील गैरसरकारी संस्था दलित सचेतना समाज (ड्यास)ले त्यसको प्रयोग बिना पनि खेती गर्न सकिने यथेष्ट जानकारीसँगै तालिम दिएपछि उहाँहरू गाईभैँसीको गोबर र पत्करबाट बनेको मल प्रयोग गरी सागसब्जी उत्पादनतर्फ आकर्षित हुनुभएको हो । ड्यासले सञ्चालन गरेको तालिममा सहभागी भएपछि रासायनिक मलको प्रयोगबाट उत्पादित सागसब्जीले मानव स्वास्थ्यमा पार्ने असरबारे थाहा पाएको लालीगुराँस नगरपालिका–३ चित्रेकी किसान सुशीला राईले बताउनुभयो । तालिममार्फत रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने, माटो बिग्रिने र सागसब्जीमा पनि रोग निम्तिने जानकारी पाएपछि जैविक खेतीमा लागेको उहाँले बताउनुभयो । “पहिले सागसब्जीमा विषादी छर्किँदा दुई–तीन दिन बिरामी नै परिन्थ्यो, हातखुट्टा झम्झमाउने, दुख्ने हुन्थ्यो”, लालीगुराँस नगरपालिका–१ की गीता पौडेलले भन्नुभयो, “त्यो विषादीले असर गरेको रहेछ ।” ड्यासको तालिम पाएपछि पाँच वर्षदेखि रासायनिक मल र विषादीको प्रयोग बन्द गरेको उहाँले बताउनुभयो । पाँच वर्षदेखि कम्पोष्ट मलमात्र प्रयोग गर्न थालेपछि बल्ल माटोमा सुधार आउन थालेको उहाँले बताउनुभयो । तालिममा कम्पोष्ट मल बनाउने तरिका सिक्यौँ र अहिले छ–छ महिनामा समूहमा मिलेर वाष्पीकरण विधिबाट मल बनाउँछौँ, समूहका सबै सदस्यले एक–एकथरि मल बनाउने झारपात ल्याएर सामूहिक रूपमा मल बनाएर आपसमा बाड्छौँ किसान गीताले जानकारी दिनुभयो । यसबाट हाम्रो धेरै बचत भएको छ र सीप पनि सिक्न पाएका छौँ उहाँहरू भन्नुहुन्छ । जैविक मल प्रयोग भएको सागसब्जी छिट्टै नकुहिने र स्वाद पनि बेजोड हुने स्थानीय उपभोक्ता भूमि राईले बताउनुभयो । चिनी मलको अत्यधिक प्रयोग हुने सो क्षेत्रमा त्यसको प्रयोग शून्य बनाउन निकै गाह्रो भएको अनुभव ओखरबोटे महिला किसान समुहकी अध्यक्ष मेनुका पोख्रेलले सुनाउनुभयो । चिनीमल नहालेको सुरुको वर्ष अन्य वर्षको तुलनामा चार भागको एक भाग पनि सागसब्जी उत्पादन नभएको उहाँले बताउनुभयो । नगरपालिकाको भकारो र गोठ सुधार कार्यक्रमले कम्पोष्ट मल बनाउने तरिका सिकाएको उहाँको बताउनुभयो । मललाई छाना लगाएर राखिने गाईवस्तुको पिसाब ट्याङ्कीमा जम्मा गरी सागसब्जीमा लगाउँदा चिनीमलको जस्तै काम गर्छ भन्ने थाहा पाएपछि आफूहरूले त्यसै गरेको किसानहरूले सुनाउनुभयो । आर्थिक वर्ष २०७५÷७६ देखि ड्यासले सो क्षेत्रमा जैविक खेतीसम्बन्धी जनचेतनामूलक तालिम सञ्चालन गरेको थियो । तालिम लिएपछि २०७६ सालमै ड्यासको नै समन्वयमा तीनवटा वडामा ३७ वटा महिला किसान समूह गठन गरिएको ड्यासका कार्यक्रमका संयोजक कुमार विशङ्खेले बताउनुभयो । “अधिकांश घरका पुरुष रोजगारीका सिलसिलामा विदेशमा छन्, घरमा भएका महिला नै कृषि उत्पादन कार्यमा संलग्न छन्, त्यसैले हामीले महिला किसान समूह गठन गरी चरणबद्ध रूपमा जैविक उत्पादनका लागि कार्यक्रम गरेका छौँ”, उहाँले भन्नुभयो । लालीगुराँस नगरपालिकाको वडा नम्बर १, ३ र ७ मा नगरपालिकासँगको सहकार्यमा ड्यासले भकारो सुधार, गोठ सुधार कार्यक्रम, मल बनाउने तालिम सञ्चालन गरेको थियो । अहिले पनि ड्यासले रासायनिक मलको प्रयोगलाई कम गर्ने र जैविक मलको मात्रालाई बढाउँदै लाने विषयमा सचेतनामूलक कार्यक्रम गरिरहेको पाइएको छ । त्यसैगरी नगरपालिकासँगको सहकार्यमा जैविक खेतीका लागि किसानकै खेतबारीमा गएर ब्याड नर्सरीदेखि उत्पादनसम्म गरिने जैविक प्रक्रिया ९किसान पाठशाला० पनि सञ्चालन गरिएको थियो । गाईवस्तुको भकारो सुधार, भकारोमा छाना लगाउने अभियान, विभिन्न विद्यालयका आठ सय बढी बालबालिकाका लागि जैविकखेतीको विषयमा कक्षा सञ्चालन, जैविकखेतीको महत्वका विषयमा वक्तृत्वकला प्रतियोगिताजस्ता कार्यक्रम ड्यासले सञ्चालन गरेको थियो । जैविकखेती गर्न चाहने विपन्न लक्षित महिलाहरूलाई अनुदान, जैविक सागसब्जी बिक्री केन्द्र, जैविक सागसब्जी सङ्कलन केन्द्र स्थापना, लालीगुराँस जैविक सहकारी संस्था स्थापना गरी त्यसमार्फत जैविक सागसब्जी मेलाजस्ता कार्यक्रम सञ्चालन गरिएको ड्यासले जनाएको छ । अधिक मात्रामा चिनीमल प्रयोग हुने सो क्षेत्र हाल जैविक सागसब्जीको केन्द्रका रूपमा विकास भएको छ ।
पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूलका गुच्छाको आयात तथा विक्री वितरण गर्न रोक लगाएको छ । महानगरपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा पोखराका प्लाष्टिकजन्य फूलका माला र फूलका गुच्छा विक्री गर्ने ८ वटा पसलहरुमा अनुगमन गरेको हो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्र्तगत वातावरण विभागले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात, विक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरेको छ । वि.स. २०७९ साउन १२ गतेबाट राजपत्रमा सुचना प्रकाशन गरी सोही मितिदेखि प्लाष्टिकजन्य फूलगुुच्छाको उत्पादन, आयात र विक्री वितरणमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्दै पोखरा महानगरले विगत तीन वर्षदेखि पोखरामा प्लाष्टिकजन्य फूलगुुच्छा,माला विक्री वितरणमा रोक लगाएको हो । नेपालीहरुको दोश्रो ठूलो चाड तिहारमा प्लाष्टिकका पूूmल र माला बढी आयात हुने र विक्री वितरण हुने भएकाले अनुगमन गरिएको पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखा प्रमुख एवं अनुगमन समितिका सदस्यसचिव अनिल कार्कीले जानकारी दिए । ८ वटा पसलबाट प्लाष्टिकजन्य फूलका समाग्री जफत अनुगमनका क्रममा ८ पसलबाट ३० हजार मुल्य बराबरको प्लाष्टिकजन्य फूलका गुच्छा र माला जफत गरिएको छ भने, संचालकहरुलाई एक साताभित्र पोखरा महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ । पोखरा ९ मा रहेको पुष्पराज प्लावर एण्ड ब्याडिङ्ग सप, सृष्टि फ्लावर, गढीमाई टेण्ट हाउस, पोखरा ४ मा रहेको एनएस फोटो फ्रेम एण्ड गिफ्ट कलेक्सन, गणेश पुजा सामग्री भण्डार, महाकाली पुर्जा सामग्री भण्डार र पोखरा ८ को एभरग्रिन फलावर सपमा अनुगमन गरिएको सहकारी उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए । के हुन्छ कारबाही ? वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट रु १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था ऐनमा रहेको छ । महानगरले गत वर्ष १ लाख ९ हजार ९ सय १० रुपैयाँ बराबरको फूलका माला जफत गरिएको सहकारी उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए । अनुगमनमा पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, महानगरका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारी, पोखरा महानगर सहकारी तथा उद्योग शाखा प्रमुख अनिल कार्की, सहकारी तथा उद्योग शाखा अधिकृत ऋषिराम सापकोटा, सहकारी तथा उद्योग शाखाका राजु सुवेदी, राष्ट्रिय उपभोक्ता मञ्च पोखरा महानगरस्तरीय समितिका उपाध्यक्ष हुमनाथ अधिकारी, नगर प्रहरी लगायतको सहभागीता थियो ।
दाङः घोराही उपमहानगरपालिका–१३ डुम्बरगाउँमा बस्दै आउनुभएकी रानीलाक बुढा हिजोआज सिन्कामारी रोटी बेच्नमा व्यस्त हुनुहुन्छ । उहाँले विगत दुई वर्षदेखि तिहार लक्षित सिन्कामारी रोटी बिक्री गर्दै आउनुभएको छ । विशेषगरी तिहारमा खाइने सिन्कामारी रोटी हिजोआज घोराही बजारसँगै नजिकका गाउँमा समेत बिक्री हुने गरेको छ । उहाँ रोटी डोकोमा बोकेर बिक्री गर्दै हिँड्नुहुन्छ । “खाली समय बसेरै खेर फाल्नुभन्दा व्यवसाय पनि भएको छ, अनि समयको सदुपयोग पनि”, उहाँले भन्नुभयो, “तिहारलाई लक्षित यो व्यवसायबाट हुने आम्दानीले सन्तुष्ट छु ।” गत वर्षको तिहारमा मात्र तीन दिदीबहिनी मिलेर रु दुई लाख बढीको रोटी बिक्री गरेको बुढाले बताउनुभयो । यो वर्ष अझ धेरै आम्दानी गर्ने उहाँको लक्ष्य छ । केही दिनयता दैनिक रु सातदेखि आठ हजार सम्मको रोटी बिक्री गर्दै आउनुभएको छ । हेर्दा आकर्षक, खानलाई स्वादिलो, सजिलो तथा तयारी खाजाका रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा सिन्कामारी रोटीको धेरै खपत हुनेगर्छ । यो रोटी चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर बनाउने गरिन्छ । बनाउन झन्झटिलो भए पनि सिन्कामारीको व्यापार राम्रो रहेको उहाँको अनुभव छ । कतिपय ग्राहक घरमै किन्न आउने भएकाले बजारको समस्या नभएको उहाँको भनाइ छ । उहाँले एक दर्जन रोटी रु दुई सय ५० का दरले बिक्री गर्दै आउनुभएको छ । उहाँसँगै जिल्लामा तिहार लक्षित सिन्कामारी रोटी बनाएर बिक्री गर्नेको सङ्ख्या बढ्दै गएको छ ।
ढोरपाटन: जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ व्र्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आउनुभएको छ । मौरीपालनबाट उहाँले वार्षिक रु १२ देखि रु १५ लाखसम्म आम्दनी गरिरहनुभएको छ । घर्कंदो उमेरमा पनि उहाँ हट्टाकट्टा देखिनुहुन्छ । काम गर्ने जोस जाँगर पनि उहाँमा युवाको जत्तिकै छ । उपाध्यायको घरका बार्दली र बारीका छेउ मौरीका घारैघारले भरिएका छन् । मौरीको घुनुघुनु आवाजसँगै सुरु हुने उपाध्यायको दैनिकी बारीमा काम गरेर बित्ने गरेको छ । उपाध्यायका अनुसार बार्दली र बारीमा गरी हाल दुई सय बढी घरमा मौरी छन् । वैदेशिक रोजगारीमा जान असफल भएपछि उहाँले विसं २०५० देखि व्यावसायिक रुपमा मौरीपालन गर्न थाल्नुभएको हो । तीन दशक मौरीपालन गर्नुभएका उपाध्यायले हाल सुन्तला, ड्रागन र कागतीखेती समेत गर्न थालेको बताउनुभयो । उहाँको बारीमा पुग्दा फलफूलसँगै अदुवा, लटरम्म फलेका गोलभेँडा र तरकारी फलेका देख्न सकिन्छ । उहाँले सुन्तलका तीन सय र कागतीका एक सय ५० बोट लगाउनुभएको छ । ती बिरुवाले विस्तारै फल दिन थालेको उहाँले बताउनुभयो । जैमिनी क्षेत्रमा अगुवा मौरीपालक कृषकका रुपमा परिचित उपाध्यायले फलफूल र तरकारी बिक्री गरी लाखौँ आम्दानी गर्दै आउनुभएको छ । उहाँ अगुवा कृषकमात्र नभई कृषकका प्रशिक्षक पनि हुनुहुन्छ । आफूले जानेको ज्ञान सीपलाई किसानमाझ पु¥याउँदा उनीहरुलाई सहयोग पुग्ने उपाध्यायले विश्वास व्यक्त गर्नुभयो । वर्षमा १२ क्विन्टल मह बिक्री गर्ने बताउँदै उहाँले सबै खर्च कटाएर रु १२ देखि रु १५ लाखसम्म आम्दानी हुँदै आएको जानकारी दिनुभयो । “विदेश जानका लागि धेरै प्रयास गरेँ, सफल हुन सकेन, त्यसपछि मौरीपालनतर्फ लागेँ”, उपाध्यायले भन्नुभयो, “मैले मौरी पाल्नका लागि तालिम पनि लिएको छु, धेरै ज्ञान बटुलेको छु, २७ वटा समूहलाई तालिम पनि दिइसकेको छु । कैयौँ किसानले फोनबाट पनि सोधपुछ गर्नुहुन्छ ।” मह प्रतिकेजी रु एक हजार तीन सयमा बिक्री हुने भन्दै घरबाटै बिक्री हुने भएकाले बजारीकरणको समस्या नभएको उहाँले बताउनुभयो । महको माग निकै बढेको हुँदा पु¥याउन नसकेको उपाध्यायको भनाइ छ । कहिलेकाहीँ रोग लाग्ने, आहारको कमी हुनेलगायत समस्या हुने उहाँको भोगाइ छ । मौरीपालनका लागि धेरै शारीरिक श्रम नचाहिने भएकाले सजिलो पेसा मन्ने उहाँले पहाडी क्षेत्र मौरीपालनका उपयुक्त हुने धारणा राख्नुभयो । उपाध्यायले भन्नुभयो, “विसं २०४८ तिर मौरीपालनसम्बन्धी तालिम लिएँ, त्यसपछि व्यावसायिक रुपमा पाल्न थालेको हुँ अहिलेसम्म पाल्दै आएको छु । महको माग बढी भएकाले पु¥याउन सकिरहेका छैनौँ ।” युवा विदेश जानुभन्दा स्थानीय सरकारको सहयोगमा स्वरोजगारमूलक काममा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गाउँमा बसेर व्यावसायिक कृषि गर्ने किसानलाई नगरपालिकाले प्रोहोत्सान गर्ने कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । किसानलाई आवश्यक अनुदान, मल, बीउ, तालिम र प्राविधिक सहयोग गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । पछिल्लो समय गाउँमै व्यवसाय गर्नतर्फ धेरैले चासो देखाएको भन्दै नगरपालिकाले कृषकमुखी कार्यक्रम ल्याउने योजना बनाइरहेको उपप्रमुख शर्माले बताउनुभयो ।