काठमाडौँः स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु २ हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु १ लाख ६४ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ६६ हजार ५ सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । बिहीबार प्रतितोला रु १ हजार ९ सय ६० मा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार नौ सय ८० निर्धारण भएको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा रहेकोमा शुक्रबारका लागि यस मुद्राको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा कायम भएको छ । साथै शुक्रबारका लागि युरो (युरोपियन युरो) एकको खरिदर एक सय ४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५९ पैसा कायम भएको छ । बिहीबार यस मुद्राको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ८६ पैसा रहेको थियो । त्यसैगरी युके पाउण्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ६५ पैसा रहेको छ । स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ३७ पैसा रहेको छ । त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७२ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४० पैसा रहेको छ । बैंकका अनुसार सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०२ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ ९५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १२ रुपैयाँ ५३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ९० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ३० पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ८९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
रामेछापः वर्षमा २ पटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय जिल्लाका अधिकांश पालिकाका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन् । सुख्खा ठाउँमा खेती गर्न सकिने, खेती गरिएको जमिनभित्र अग्ला नहुने विभिन्न जातका फलफूल, अदुवा बेसार, लसुन प्याजलगायत सागसब्जी पनि उत्पादन गर्न सकिने भएकाले दोहोरो फाइदा हुने देखेपछि यहाँका किसान ड्रागन फ्रुटखेतीतर्फ आकर्षित भएका हुन् । जिल्लाको रामेछाप र मन्थली नगरपालिका तथा खाडादेवी गोकुलगङ्गा र लिखु तामाकोसी गाउँपालिकासहित अधिकांश पालिकामा यसको व्यावसायिक खेती विस्तार हुँदै गएको जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ । पहिला ड्रागनका फाइदासहित यसकाबारेमा जानकरी नहुँदा खेतीप्रति आकर्षण नभएको बताउँदै पछिल्लो समय सामाजिक सञ्जाल युट्युब हेरेर जानकारी पाएपछि व्यावसायिक खेती विस्तार गरेको रामेछाप–८ का शिवराम श्रेष्ठले जानकारी दिनुभयो । “सुरुमा खेती गर्दा गाउँलेले ‘यो सिउँडी जस्तो के खेती गरेको” भनेर आलोचना पनि गर्नुभयो । पहिलो उत्पादन गाउँलेलाई चखाएपछि उहाँहरुले पनि खेतीप्रति चासो देखाउन थाल्नुभयो”, उहाँले भन्नुभयो । रामेछाप बजार नजिक १ रोपनी जग्गामा खेती गरेको जनाउँदै श्रेष्ठले बजारमा ड्रागनको माग बढी भएकाले बजारीकरणको समस्या नरहेको बताउनुभयो । ६० वर्षीय शिवाराम पेसाले किराना तथा हार्डवेयर व्यवसायी हुनुहुन्छ । पसलका साथै कृषि कर्ममा रमाउने उहाँ पछिल्ला केहीवर्षयता व्यावसायिक ड्रागन खेतीमा रमाइरहनुभएको छ । मन्थली नगरपालिका–५ का रामबहादुर शाही र वडा नं ७ का दिलबहादुर सार्कीले पनि ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गर्नुभएको छ । वर्षमा २ पटक उत्पादन दिने यो फल स्वादिलो हुनुका साथै पर्याप्त पौष्टिक तत्व पनि पाइने भएकाले अन्तर्राष्ट्रिय बजारबाट यसको माग बढी आउने गरेको रामबहादुरले बताउनुभयो । यो फल बिरामीका लागि उपयुक्त हुने चिकित्सकहरुले बताएका भन्दै प्रशस्त उत्पादन भए बजारीकरणको समस्या नआउने उहाँको भनाइ छ । यो फल १ पटक लगाइसकेपछि ५०औँ वर्षसम्म ढुक्क हुने र यसलाई धेरै मेहनत नगरिकन आम्दानी लिन सकिने भएकाले आफू खेतीतर्फ आकर्षित भएको रामबहादुरले बताउनुभयो । वनमारा उमे्रेको पाखो बारी फँडानी गरेर करिब ३ रोपनी जग्गामा ड्रागनका बिरुवा लगाएको उहाँले जानकारी दिनुभयो । यसको खेती गरिएको जमिनभित्र सयपत्री फूलको पनि खेती गरिरहेको रामबहादुरले उल्लेख गर्नुभयो । यस वर्षको तिहारमा सयपत्रीको फूल र माला बिक्री गरी रु १ लाख आम्दानी भएको उहाँले जानकारी दिनुभयो । ड्रागन खेती गरिरहेका कतिपय किसानले सयपत्री, गोदावरी, मखमलीलगायत फूल लगाएका छन् भने कतिपय लसुन प्याज, काउली, बेसारलगायत खेती पनि गरिरहेका छन् । खेती गर्न सहज हुनुका साथै नगदेबाली लगाएर आम्दानी गर्न सकिने भएकाले जिल्लामा ड्रागन खेती गर्ने किसान बढ्दै गएका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ । अहिले बगैँचाबाट रु ३ देखि रु ३ सय ५० सम्ममा फल बिक्री हुने गरेको मन्थली–७ का किसान दिलबहादुर सार्कीले जानकारी दिनुभयो । “पाखो तथा सुख्खा बारीमा यसअघि मकै तथा अन्य अन्नबाली रोप्ने गरेको थिएँ । उत्पादन कम हुने र मूल्य पनि नपाउने समस्या थियो । अहिले परीक्षणका रुपमा ड्रागन खेती थालेकामा एक वर्षमा नै उत्पादन दिन थालेको छ”, उहाँले बताउनुभयो । सार्की पेसाले शिक्षक हुनुहुन्छ । पठनपाठनका साथै उहाँले खेती पनि गरिरहेको उल्लेख गर्नुभयो ।किसानले स्थानीय तथा सङ्घीय सरकारले ड्रागन खेती विस्तार गरी जिल्लालाई ‘ड्रागन फ्रुट जोन’ का रुपमा विकास गर्नुपर्ने माग गरेका छन् । जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खेती विस्तरका लागि कार्यलयसँग रकम अभाव भएकाले कार्यक्रम सञ्चालन गर्न नसकिएको जनाएको छ । परियोजना कार्यालयका प्रमुख थिरलाल गैरेले अन्य कार्यक्रमबाट मिलाएर ड्रागन खेती गर्ने किसानलाई सम्बोधन गर्न सकिने बताउनुभयो । उहाँले नेपालमा यसको व्यावसायिक खेती सुरु भएको धेरै वर्ष नभएको भन्दै किसानलाई यसका सकारात्मक पक्षका बारेमा जानकारी गराउँदै यसको खेतीतर्फ थप आकर्षित गराउन सकिने धारणा राख्नुभयो । आन्तर्राट्रिय बजारमा ड्रागनको माग बढी भएकाले पनि बजार अभाव नहुने भन्दै प्रमुख गैरेले किसानले खेती विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो । “परियोजनामार्फत अन्य कार्यक्रमलाई परिमार्जन गरी ड्रागन खेती गर्ने किसानलाई सम्बोधन गर्न सकिन्छ । यसबारे सरोकार भएका निकायसँग छलफल गर्नेछौँ”, उहाँले भन्नुभयो । ड्रागन फ्रुटको खेती विकास र विस्तर गरी स्थानीय र सङ्घीय सरकारअन्तर्गतका कृषि विकास कार्यालय, प्रधानमन्त्री आधुनिकीकरण परियोजनालगायत सरोकार भएका निकायले किसानलाई अनुदान दिएर सहयोग गर्नुपर्ने स्थानीय समाजसेवी बिपीन भट्टराईले बताउनुभयो । किसानलाई प्रोत्साहन गर्न आवश्यक तालिम, प्राविधिक ज्ञानलगायत सहयोग उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
काठमाडौं: चलचित्र क्षेत्रमा महानायकका रूपमा परिचय बनाउनुभएका राजेश हमालले बुढानीलकण्ठ–३ रुद्रेश्वर चोकमा स्थापना भएको ‘दी कफी क्लब’ को आज उद्घाटन गर्नुभएको छ । क्लबमा समय समयमा साहित्यिक कार्यक्रमका साथै दैनिकजसो स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, समाजसेवी, नागरिक समाजका अगुवालगायत स्थानीयसँग स्थानीय तथा राष्ट्रिय विषयमा अन्तरक्रिया गरिने क्लबका सञ्चालक केशव पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न विषयसँग सम्बन्धित व्यक्तित्वसँग ‘पोडकास्ट’ पनि सञ्चालन गरिनेछ । सो अवसरमा क्लबमा खोलिएको लघु पुस्तकालयका लागि पत्रकार तथा साहित्यकार श्याम रिमाल र धर्तीचन्द्र यात्रीले आ–आफ्ना पुस्तक अभिनेता हमालमार्फत सञ्चालक पाठकलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, साहित्यकार, पत्रकारलगायत व्यक्तित्वको सहभागिता थियो ।
स्याङ्जाः यहाँका एक किसानले दसैँ तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट रु ५ लाख आम्दानी गर्नुभएको छ । स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट ५ लाख बढी आम्दानी गर्न सफल हुनुभएको हो । उहाँले दसैँ तथा तिहारका अवधिमा माला १ हजार ८ सय ४५ गोटा र फूल १ हजार ३ सय ७६ केजी बिक्री गर्नुभएको हो । फूल बिक्रीबाट ३ लाख ४४ हजार र माला बिक्रीबाट १ लाख ४७ हजार ६०० गरी कूल ४ लाख ९१ हजार ६०० आम्दानी गरेको उहाँले बताउनुभयो । भण्डारीले फूलका थुङ्गा प्रतिकेजी रु २ सय ५० देखि ३ सय र माला प्रतिगोटा रु १ सय ५० सम्म बिक्री गर्नुभएको हो । यहाँ उत्पादन भएको फूल तथा माला भैरहवा, नारायणगढ, बर्दघाटलगायतका बजार तथा स्थानीयस्तरमा पनि खपत भएको उहाँले बताउनुभयो । “माग भएअनुसार माला तथा फूल उपलब्ध गराउन सकेनौंँ” उहाँले भन्नुभयो, “सयपत्रीको व्यावसायिक उत्पादन तथा बजारीकरणमा सहज भयो, बजार राम्रो पायौंँ ।” बोटमा फूल फूल्ने क्रम जारी रहेको र मङ्सिरको महिनाभर उत्पादन लिन सकिने उहाँले बताउनुभयो । यहाँ उत्पादन भएको फूलको माग भैरहवाबाट आएकाले केही दिनमै पठाउने तयारी भएको ब्यवसायी भण्डारीका छोरा रामचन्द्र भण्डारीले बताउनुभयो । पेसाले कृषि प्राविधिक अध्ययन गर्नुभएका रामचन्द्रले फूलमा प्राविधिक पक्ष र बजारीकरणमा बुवालाई सघाउँदै आउनुभएको छ । “फूलका बोटबाट अझै उत्पादन लिन सकिन्छ” रामचन्द्रले भन्नुभयो, “अब उत्पादन हुनेमध्येको केही फूलको माग भईआएको र केही स्थानीयस्तरमा हुने विवाह, व्रतबन्ध, पूजाआजालगायतका धार्मिक तथा मेला महोत्सवहरुमा खपत हुने छ ।” दसैँ तिहारको अवधिमा फूलको ब्यापारबाट झण्डै रु ५ लाख आम्दानी भएको र अब बिक्री हुने फूलबाट झण्डै २ लाख आम्दानी लिन सकिने दाबी रामचन्द्रको छ । बाँदरले अन्नबाली नष्ट गरिदिएपछि भण्डारीले विकल्पकोरुपमा फूलखेती थाल्नुभएको हो । खेतबारीमा लगाएको अन्नबाली बाँदरले सखाप पारेपछि विकल्पकोरुपमा फूल खेती गर्नुभएका भण्डारीले यसवर्षदेखि सयपत्री फूलको ब्यावसायिक उत्पादन थाल्नुभएको हो । “विगतमा मकै, गेडागुडी, मौसमी तथा बेमौसमी तरकारीसहितका अन्नबाली उत्पादन गर्दै आएका थियौँ” उहाँले भन्नुभयो, “पछिल्ला वर्षमा बाँदरले अन्नबाली सखापै पार्न थालेपछि अन्नबाली लगाउन छाडेर विकल्पकोरुपमा फूल खेती थालेका हौंँ ।” दसैँ, तिहारलाई लक्षित गरेर २ हजार बिरुवा सयपत्री फूल रोप्नुभएको थियो । स्थानीय जलपादेवी आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका भण्डारीले विकल्पकोरुपमा प्रयोग गरेको फूलखेतीमा बाँदरले क्षति नपु¥याएकालेआगामी वर्षदेखि अझै ठूलो परिमाणमा फूलको ब्यावसायिक उत्पादन गर्ने तयारीमा रहनुभएको छ ।
रौतहटः जिल्लाका विभिन्न गाउँमा जङ्गली हात्ती पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । जङ्गली हात्ती गाउँ छिरेपछि अहिले जिल्लाको गुजरा, वृन्दावन र चन्द्रपुर नगरपालिकाका स्थानीय त्रसित बनेका हुन् । हात्तीले भित्र्याउने बेलाको धान नष्ट गर्न थालेपछि किसान चिन्तित छन् । गत आइतबार मात्रै रौतहटको गुजरा नगरपालिका–२ को चोचा, मैरालगायत गाउँमा हात्तीले भित्र्याउने बेला भएको धानबाली नष्ट गरेको थियो । करिब ५ बिघाभन्दा बढी खेतमा लगाइएको धानबाली हात्तीले नष्ट गरेको गुजरा–२ का वडाध्यक्ष अशोककुमार चौधरीले जानकारी दिनुभयो । हात्तीले लक्ष्मी चौधरी, रामविश्वास चौधरी, जगदीश माझी, खहेरु साहलगायत स्थानीयको धान नष्ट गरेको उहाँले बताउनुभयो । केहीदिनअघि मात्रै चन्द्रपुर नगरपालिका–२ वनटोलमा जङ्गली हात्ती पसेर धान तथा उखुबाली नष्ट गरेको थियो । बिहानै धानबारीमा हात्ती देखेपछि स्थानीय त्रसित भएका थिए । हात्तीले वनटोलको धान तथा उखुबाली पूर्ण रुपमा नष्ट गरेको स्थानीय बाबुराम घिसिङले जानकारी दिनुभयो । चन्द्रपुर–३ गैँडाटारमा हात्तीले केराखेतीमा क्षति गरेको छ । गाछी टोलमा दर्जनाँै हात्ती केरा बारीमा प्रवेश गरी क्षति पु¥याएको स्थानीय गोपाल फुँयालले जानकारी दिनुभयो । सो गाउँको एक बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेती हात्तीले नष्ट गरेको उहाँले बताउनुभयो । त्यसैगरी वृन्दावन नगरपालिका–१ बलेरी क्षेत्रमा पनि जङ्गली हात्तीको आतङ्कले स्थानीय त्रसित बनेका छन् । साँझ पर्ने वित्तिकै सधैँ गाउँ आउने जङ्गली हात्तीको समूहले किसानको धानबालीमा क्षति पु¥याउन थालेपछि स्थानीय चिन्तित बनेका हुन् । स्थानीय सुरेन्द्र पटेलका अनुसार श्री भगवान् ठाकुर, ठाकुर राउतसहित दर्जनौँ किसानका खेतमा लगाइएको धान हात्तीले नष्ट गरेको छ । उक्त गाउँका बासिन्दा हात्तीका कारण रातभरि जाग्रम बस्न बाध्य छन् । गत साता मात्रै फतुवा विजयपुर–११ बुटुवा राँगीमा हात्तीको आक्रमणबाट पातलीमाया तामाङको ज्यान गएको थियो । गत शुक्रबार बिहानै फतुवा विजयपुर–११ राँगीमा बस्ने ७० वर्षीया तामाङको हात्तीको आक्रमणबाट ज्यान गएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा तामाङको ज्यान गएको थियो । जङ्गली हात्तीले एक्कासि घरमाथि आक्रमण गर्दा मृतकका श्रीमान् भागेर ज्यान बचाउन सफल भएका थिए । धान पाक्ने बेला भएपछि पर्सा राष्ट्रिय निकुन्जबाट बर्सेनि हात्ती रौतहटको गैँडाटार, जुडिबेला, पौराई, चन्द्रनिगाहपुर, गुजराको चोचा, मैरा, जङ्गलसहिया गाउँ, वृन्दावनको बलरी, फतुवा विजयपुर नपाको राँगी बुटुवालगायत गाउँमा पस्ने गर्दछन् । हात्तीले खासगरी उखु, धान, केराखेतीमा क्षति पु¥याउँदै आएका छन् । गतवर्ष मात्रै हात्तीको आक्रमणबाट चन्द्रपुरमा घाँसदाउँरा गर्न गएका दुईजना महिलाले ज्यान गुमाएका थिए । हात्ती आतङ्कले गर्दा यहाँका नागरिक घाँसदाउँरा गर्न जङ्गल जानसमेत छाडेका छन् । हात्तीले क्षति पु¥याएकाको परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्ति दिने निर्णय गरेको छ । डिभिजन वन कार्यालयमा हात्तीले क्षति पु¥याएका पीडितपरिवारले राहतका लागि निवेदन दिएका छन् । हालसम्म करिब २० जनाले राहतका लागि निवेदन दिनुभएको डिभिजन वन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो । हात्तीको आक्रमणबाट ज्यान गुमाएका, घाइते भएका, घर भत्किाएका, बाली क्षति भएकाको यकिन विवरण सङ्कलन गरेर क्षतिपूर्ति दिने प्रावधान रहेको उहाँले उल्लेख गर्नुभयो । कानुन अनुसार पीडित परिवारलाई क्षतिपूर्ति दिइने भन्दै क्षतिको विवरण सङ्कलन भइरहेको साहले जानकारी दिनुभयो । हात्तीको आक्रमणबाट बच्न जङ्गलको छेउछाउमा बस्ने स्थानीयलाई डिभिजन वन कार्यालयले सचेत गराउँदै आएको बताउँदै उहाँले सर्वसाधारण आफैँ पनि सचेत र चनाखो भएर बस्नुपर्नेमा जोड दिनुभयो ।
दार्चुलाः प्रविधिको विकाससँगै दार्चुलाका पहाडी ग्रामीण क्षेत्रमा अहिले परम्परागत रुपमा गोरूको प्रयोग गरी खेत जोत्ने चलन विस्तारै हराउन थालेको छ । तराईमा मात्र प्रयोग हुँदै आएको ट्याक्टर पछिल्ला केहीवर्ष यता पहाडी ग्रामीण बस्तीमा पनि पुग्न थालेसँगै यसको प्रयोग बढ्न थालेको हो । २ वर्ष अघिसम्म अपिहिमाल गाउँपालिका–४ का प्रकाश कार्कीले गोरूको सहायताले महिनौँ लगाएर खेतबारी जोत्नुहुन्थ्यो । यहाँका अधिकांशको घरमा कम्तिमा १ हलगोरू, हलो र जुवा हुन्थ्यो । अहिले प्रकाशको घरमा गोरू, हलो र जुवा केही छैनन् । खेतबारी खन्न ट्याक्टरको प्रयोग बढेसँगै प्रकाशलाई खेतीकिसानी गर्न सजिलो भएको छ । महिनौँ लगाएर खन्नुपर्ने खेतबारी ट्याक्टरले २ दिनमा खन्न थालेपछि काममा सहज हुनुका साथै समयको बचत भएको कार्कीले बताउनुभयो । गाउँमा अहिले गहुँ छर्ने बेला भएको भन्दै आफ्नो खेतको काम सकेर अरुकोमा पनि काम भ्याइने उहाँले उल्लेख गर्नुभयो । ट्याक्टरको प्रयोग बढेसँगै खेतीबाली लगाउन, माटो धुल्याउन निकै सजिलो भएको अपिहिमाल–४ का किसान बताउँछन् । यसअघि भनेको समयमा गोरू नपाउने, कामदारको अभावलगायत समस्या भोगिरहेका यहाँका किसानलाई ट्याक्टरको प्रयोग बढ्न थालेपछि काममा सहज भएको छ । ट्याक्टरको प्रयोग गरी काम गर्दा समयको बचत हुनुका साथै जमिन बाँझो राख्नुपर्ने बाध्यता अन्त्य भएको विनोद अट्यालले बताउनुभयो । खेत जोत्न ट्याक्टरको प्रयोग गर्न थालेपछि गोरू र खेताला खोज्नुपर्ने झन्झट हटेको उहाँको भनाइ छ । कम जनशक्ति र समयमा पनि धेरै काम गर्न सकिने भएकाले ट्याक्टरको प्रयोग उपलब्धिमूलक बनेको उहाँले बताउनुभयो । काममा सजिलो हुने भएपछि अहिले गाउँमा सामूहिक रुपमा ट्याक्टर खरिद गरेर भित्र्याउने चलन बढेको छ । सडक नपुगेको अपिहिमालका अधिकांश बस्तीसम्म अहिले ट्याक्टरको पहुँच पुगेको अपिहिमाल–४ का कल्यानसिंह बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमा डिजेल रु २ सय ३० प्रतिलिटरमा पुगेको भन्दै महँगो भए पनि किसानले ट्याक्टरको प्रयोग गरेर खेतीपाती गर्न थालेका छन् । “पाखा र भिरालो बारीमा मकै, गहुँ, जौ, धानलगायत अन्न छर्न अहिले खेत जोत्ने काम गोरूले नगरी मिनिटिलर (हाते ट्याक्टर)बाट हुन थालेको छ । गाउँमा अधिकांशले गोरू पाल्न छोडिसकेका छन्”, बोहराले भन्नुभयो, “अहिले खेती गर्न प्रविधिको प्रयोग बढ्दै गएकाले हामीले पनि हाते ट्याक्टरको प्रयोग गर्न थालेका हौँ ।” अपिहिमाल–२ का डब्बलसिंह कार्कीले गाउँमा थोरै परिवारले मात्रै अहिले गोरू पाल्ने गरेका सुनाउनुभयो । “५–६ वर्ष अघिसम्म गाउँका हरेक घरमा एक हलगोरू हुन्थ्यो । अहिले गाउँमा एकाधबाहेक गोरू नै छैनन्”, उहाँले भन्नुभयो, “दुई–तीन परिवारको खेतमा एउटै व्यक्तिको गोरू प्रयोग हुने गरेको छ । अधिकांशले हाते ट्याक्टर प्रयोग गर्छन् ।” किसान वसन्तसिंह लोथ्यालले शिक्षा तथा रोजगारीको खोजीमा युवाले गाउँ छोड्दै जाँदा गाउँमा गोरूको विकल्पमा ट्याक्टरको प्रयोग बढ्न थालेको बताउनुभयो । “काम गर्ने युवा गाउँमा नभएपछि गोरू पाल्ने चलन पनि हराउँदै गएको छ । गोरू चराउने, घाँसपानी गर्ने कोही नभएपछि विस्तारै गाउँलेले गोरू पाल्न छोडेका हुन्”, उहाँले भन्नुभयो ।
बेनीः म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरेले तरकारी खेतीबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ । गाउँकै माटोमा तरकारी खेतीमार्फत खुसी र समृद्धि आर्जन गरेका घिमिरे रोजगारीको खोजीमा विदेश भौतारिने युवाहरुका लागि प्रेरणाको स्रोत बन्नुभएको हो। आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले ९ वर्ष साउदी अरबको बसाइलाई बिट मारेर स्वदेश फर्केका रोहोटेका ५० वर्षीय घिमिरेले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल हुनुभएको छ । “जहाँ भएपनि काम नगरी सुःख पाइदैन,” उहाँले भन्नुभयो “बिचौलियालाई लाखौ पैसा दिएर आफैलाई बेचेर विदेशमा पुगेर अर्काको नोकर बन्नुभन्दा आफ्नै खेतबारीमा नङग्रा खियाउँदा सन्तुष्टी मिल्दो रहेछ् ।” ५ हाइटेक प्रविधिको टनेलमा तरकारी खेती गर्नुभएका घिमिरेको बारीमा अहिले मौसमी र बेमौसमी तरकारीहरु लटरम्मै झुलिरहेका छन् । काउली, बन्दा, मटरकोसा, गोलभेँडा, मूला, साग, धनियाँदेखि लिएर काँक्रा र तीतेकरेलाजस्ता बेमौसमी तरकारी फलाएर घिमिरेले १ याममा रु ४ लाखभन्दा बढी कमाई हुने बताउनुभयो । अमृता कृषि फार्म सञ्चालन गरेका घिमिरेले आफ्नै ठाउँमा गरे के हुँदो रहेनछ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । उहाँले गोलभेडा, काउली, बन्दा, आलु, साग, मौसमी तरकारी र बेमौसमी तरकारीको उत्पादन गरेर बेनी बजारमा बिक्री गर्दै आउनुभएको छ । घिमिरेको कृषि फार्ममा श्रीमती र छोराले पनि साथ दिनुभएको छ । छोरालाई उच्च शिक्षा पढाउन र घरब्यवहार चलाउन तरकारी खेतिले सहज भएको घिमिरेले बताउनुभयो । कृषि ज्ञान केन्द्रले हाइटेक प्रबिधिको टनेल स्थापना गर्न सहयोग गरेको छ । केन्द्रका प्रमुख सञ्जिब बास्तोला चन्द्रबहादुर मेहनती, परिश्रमी, संघर्षशिल र सफल अगुवा कृषकको पहिचान बनाउन सफल भएका बताउनुहुन्छ । बेनी नजिकै रहेको र सडक यातायातको सुविधाका कारण बजारको समस्या नभएपछि छिमेकीको जग्गाका हुर्कदै गरेका रुखको ओसेप घिमिरेको ब्यवसायिक तरकारी खेतीका लागि चुनौति बनेको छ ।
धरानः बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाउनुभएको थियो । तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उहाँ कृषि क्षेत्रमा सक्रिय हुनुभयो । अहिले उहाँलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको छ । तत्कालीन समयदेखि भुइँकटहर खेतीकोमा लाग्नुभएका उहाँले यसैबाट मनग्गे आम्दानी गरिरहुनभएको छ । हाल उहाँले एक विघामा भुइँकटहर लगाउनुभएको छ । यसबाट वार्षिक रु १५ लाख आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । वार्षिक रु एक लाख खर्च खर्च कटाउँदा रु १४ लाखसम्म सजिलै बचाउन सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, भुइँकटहरको माग राम्रो छ बजारमा भनेको मूल्य पनि पाइन्छ । गत वर्षभन्दा अझ केही विरुवा थप गरेको छु अर्को वर्ष आम्दानीमा अझै बढ्छ ।” उहाँका अनुसार भुइँकटहरको खेतीमा वर्षपिच्छे ठूलो मेहनत पनि चाहिन्न । वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ । उहाँले भुइँकटहर प्रतिगोटा रु १ सयदेखि रु १ सय ५० सम्म बिक्री गर्दै आउनुभएको छ । भुइँकटहर लिन कतिपय व्यापारीहरु फर्ममै आइपुग्ने उहाँको भनाइ छ । अहिले सुनसरीको बराहक्षेत्रमा भुइकटरको खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीका लागि समस्या नभएको उहाँले सुनाउनुभयो । उहाँका अनुसार विरुवा बिक्रीबाट मात्रै वार्षिक रु १ लाख ५० हजारसम्म आम्दानी हुने गरेको छ । उहाँले एउटा विरुवालाई रु १० देखि रु २० सम्ममा बिक्री गर्दै आउनुभएको छ । उहाँको व्यावसायिक भुइँकटहरका लागि नगरपालिकाले अनुदान स्वरुप रु ७७ हजार उपलब्ध गराइसकेको छ ।