चितवन: दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले रु १० करोडको सर्वसाधारणका लागि ‘शेयर’ (आइपिओ) जारी गर्ने भएको छ । फार्म स्थापनापछिको सातौँ र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले रु १० करोडको आईपिओ जारी गर्ने निर्णय गरेको हो । नवलपरासी (सुस्ता–त्रिवेणी पूर्व) विनयीत्रिवेणी गाउँपालिका–३ को सर्दीमा करिब ११ बिघा जग्गामा फैलिएको ‘एग्रो फार्म’मा सो कम्पनीको अहिले चार लाख कुखुरा रहेका छन् । कम्पनीले निकट भविष्यमै छ लाख कुखुरा पुर्याउने लक्ष्य लिएको अध्यक्ष रघुनाथ भट्टले जानकारी दिनुभयो । कुखुरापालन क्षेत्रमा आइपिओ जारी गर्ने ‘एग्रो फार्म’ पहिलो भएको कम्पनीले दाबी गरेको छ । कम्पनीको साधारणसभाले रघुनाथ भट्टको अध्यक्षतामा सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिका सञ्चालक सदस्यहरुमा विनोद पोखरेल, विपिन पोखरेल, हेमराज बडाल र हिमालय पौडेल रहनु प्रबन्ध सञ्चालक विनोद पोखरेलले जानकारी दिनुभयो । विसं २०७४ मा स्थापना भएको यस कम्पनीमा सुरुआतमा एक लाख कुखुरापालन गरिएको थियो । कम्पनीका प्रबन्ध सञ्चालक पोखरेलका अनुसार फार्ममा हाल दैनिक तीन लाख ५० हजारभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ । उत्पादित अण्डामध्ये केहीलाई ‘दाउन्ने ह्याप्पी एग’को ब्रान्डमा ब्रान्डिङ गरी १५ वटा र ३० वटाका दरले क्रेट बनाएर बजारमा पठाउने गरिएको प्रबन्ध सञ्चालक पोखरेलले जानकारी दिनुभयो । यहाँ उत्पादित अण्डा देशका प्रमुख सहरहरुसँगै ग्रामीण क्षेत्रमा समेत पठाइने गरिएको छ । प्रबन्ध सञ्चालक पोखरेलका अनुसार दाउन्नेको फार्ममा जर्मन र मलेसियाबाट आयात गरिएका स्वचालित एवं अत्याधुनिक उपकरण जडान गरिएका छन् । उहाँले भन्नुभयो, “अत्याधुनिक तवरबाट कुखुरापालन गरिएकाले अण्डा तथा मासुको उत्पादन राम्रो छ, अहिलेलाई बजारको समस्या छैन, यसलाई अझ विस्तार गरी देशकै उत्कृष्ट एवं व्यावसायिक एग्रो फार्मका रुपमा स्थापित गर्ने लक्ष्य लिएका छौँ, सात वर्षको हाम्रो अनुभव र परिणामबाट सफल हुने विश्वास लिएका छौँ ।” नेपालमा लामो समयसम्म कुखुरापालन क्षेत्रमा अनुभव सँगालेका कृषक तथा व्यवसायीहरुको लगानीमा यो कम्पनी स्थापना भएको अध्यक्ष भट्टले जानकारी दिनुभयो । यहाँका लगानीकर्ताहरुको पोल्ट्रीसँग सम्बन्धित विभिन्न उद्योगहरुमा समेत लगानी रहेको छ । जसका कारण लागत मूल्य घटाउन र गुणस्तरीय अण्डा उत्पादन गर्न सफल भएको अध्यक्ष भट्ट बताउनुहुन्छ । नेपालमा तुलनात्मक रुपमा ठूलो सङ्ख्यामा कुखुरापालन गर्ने ‘एग्रो फार्म’ पहिलो कम्पनी भएको र शेयर निष्कासनका लागि सिटिजन्स क्यापिटलसँग कम्पनीले सम्झौता गरिसकेको प्रबन्ध सञ्चालक पोखरेलले बताउनभयो ।
काठमाडौँ: नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला रू दुई हजार बढेको हो । बिहीबार प्रतितोला रू एक लाख ५१ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख ५३ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू २० बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला रू एक हजार आठ सय १० मा कारोबार हुनेछ ।
इलाम: इलामको रोङ गाउँपालिकाका किसान तितेकरेलाको खेतीतर्फ आकर्षित भएका छन् । किसानले उत्पादन गरेका तितेकरेलालाई गाउँपालिकाले ‘ब्रान्डिङ’ गरेर बिक्री गरिदिन थालेपछि यहाँका किसान यसतर्फ आकर्षित भएका हुन् । रोङ–४ का रघुनाथ अर्यालका अनुसार गत वर्षसम्म बजारको पहुँच नहुँदा घरमा उपभोग गर्नका लागि मात्र तितेकरेला लगाउने गरिएकामा पालिकाले बजारीकरण गर्न थालेपछि व्यावसायिक उत्पादन सुरु गरिएको हो । “अहिले पालिकाले सुकाएर करेलाको ब्रान्डिङ सुरु गरेको छ । बजारको चिन्ता केही नभएपछि व्यावसायिक उत्पादन सुरु गरेका छौँ”, उहाँले भन्नुभयो । अर्यालले यसवर्ष पाखाबारीमा करेलाको एक हजार बिरुवा रोपेको जानकारी दिनुभयो । “तरकारीका रूपमा बिक्री नभए पनि स्थानीय सरकारले किनिदिने भएपछि ढुक्कसँग खेती थालेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार गाउँपालिकाका सबै वडाका अधिकांश किसान यो खेतीतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले करेलालाई सुकाएर सुकुटीका रूपमा प्रशोधन गरी बिक्री सुरु गरेको हो । “यस वर्ष बिक्रीका लागि दुई सय किलो सुख्खा तितेकरेला तयार छ”, गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले भन्नुभयो, “यहाँका अधिकांश किसानले व्यावसायिक खेती सुरु गर्नुभएकाले अर्को वर्ष धेरै उत्पादन हुनेछ । एक पटकमा ५० हजार किलो काँचो करेला प्रशोधन गर्न सक्ने उद्योग निर्माण भइरहेको छ ।” गाउँपालिकाका अध्यक्ष स्याङ्बोले बेमौसममा पनि उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर तितेकरेलालाई सुकाएर प्याकेजिङ गरी बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । करेलाको अध्ययन, अनुसन्धान गर्दा सफल भएपछि पालिकाले बजारीकरण थालेको उहाँको भनाइ छ । तितेकरेलालाई गुन्द्रुकसँग मोलेर अचारका रूपमा पनि खान सकिन्छ । प्याकेजिङ भएको तितेकरेलालाई तातोपानीमा पाँच(१० मिनेट भिजाएर पुरानै स्वरूप तथा स्वादमा विभिन्न तरिकाले पकाएर खान सकिने किसान बताउँछन् । रोङ गाउँपालिकाका सबै स्थानमा उत्पादन गर्न सकिने करेला पालिकाले प्रशोधन गरेर बजारीकरणमा लागेपछि यसको खेतीमा किसानको उत्साह बढेको करेला खेती गर्दै आएका रोङ–३ प्यूरेका लल्मी लाप्चाले बताउनुभयो । गाउँपालिकाले यसअघि रोङमा गुन्द्रुक, सिस्नो, बेसार, मह, चिया, कुचोलगायत कृषिजन्य वस्तुको ब्रान्डिङ गरी बजारीकरण गरिरहेको गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया भुजेलले बताउनुभयो । रोङको गुन्द्रुक र महको माग बजारमा बढी भएकाले माग अनुसार आपूर्ति गर्न कठिन भइरहेको उहाँको भनाइ छ ।
बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब रु ११ करोड बढीको धान बिक्री गरेका छन् । गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयले पुस १६ गतेसम्म यहाँका किसानलाई रु ११ करोड ८२ लाख भुक्तानी गरी ३१ हजार ६ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरिसकेको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिए । “धान बिक्री गर्न ६ सय ७३ किसानले स्थानीय तहको सिफारिस दर्ता गरेकामा अहिलेसम्म पाँच सय ६७ किसानसँग धान खरिद गरिसकेका छौँ”, कार्यालय प्रमुख लामिछानेले भने, “स्थानीय तहको सिफारिसका आधारमा एक किसानसँग ८० क्विन्टलसम्म धान खरिद गर्ने गरेका छौँ ।” धान खरिद गर्नुअघि किसानले स्थानीय तहको सिफारिस दर्ता गर्नुपर्ने र त्यसपछि कार्यालयबाट समय तोकिएको दिनमा किसान आएर धान बिक्री गर्ने गरेको कार्यालय प्रमुख लामिछाने बताए । “पहिला किसानहरु १५ दिनसम्म यहाँ आएर लाइन लागेर बस्नुपर्ने बाध्यता थियो, अहिले धान ल्याउनुपूर्व नै स्थानीय तहको सिफारिस ल्याएर दर्ता गर्ने र हामीले दिएको समयमा उहाँहरु आएर धान बिक्री गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने । मध्यम धान खरिदको कोटा पूरा गरिसकेको कार्यालयले मोटा धान भने लक्ष्यभन्दा निकै कम खरिद गरेको छ । धान बिक्री गर्ने धेरै किसानहरु आइसकेको हुँदा अब केही मात्रामा धान बिक्री गर्न किसान आउन सक्ने कार्यालयले जनाएको छ । गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगञ्ज कार्यालयले जम्मा आठ हजार क्विन्टल धान खरिद गरेको थियो । गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले यस वर्ष ३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जका प्रमुख लामिछानेले बताए । “गत वर्षभन्दा यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्यमा पनि वृद्धि गरेको छ, गत वर्षभन्दा यस वर्ष धान खरिद पनि १५ दिनअघि सुरु गरेकाले लक्ष्यमा पुग्न सकिन्छ भन्ने अपेक्षा गरेका थियौँ”, लामिछानेले भने, “गत वर्ष मङ्सिर ६ गतेदेखि धान खरिद सुरु गरेका थियौँ, यस वर्ष भने १५ दिन अगावै कात्तिक २० गतेदेखि नै सुरु गरेका छौँ, यस वर्ष बजारको मूल्यभन्दा सरकारले खरिद मूल्य बढी दिएको हुँदा धेरै मात्रामा धान खरिद गर्न सकेका छौँ ।” पुस १६ गतेसम्म मोटा धान सात हजार चार सय ४९ दशमलव ०४ क्विन्टल र मध्यम धान २४ हजार दुई सय ४१ दशमलव ९४ गरी ३१ हजार छ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताए । उनका अनुसार, यो वर्ष मोटा धानको तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जले किसानसँग धान खरिद गरिरहेको छ ।
स्याङ्जा: यस वर्ष स्याङ्जाबाट रु एक अर्ब १२ करोडभन्दाको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष २० हजार ८४ दशमलव दुई मेट्रिक टन सुन्तला उत्पादन भएको हो । उत्पादिमध्ये ९० प्रतिशत बिक्री भएको उहाँले बताउनुभयो । उत्पादित सुन्लता थोक मूल्यमा प्रतिकेजी रु ५६ का दरले बिक्री भएको हो । चालु आर्थिक वर्षमा स्याङ्जामा सुन्तला बगैँचाको क्षेत्रफल दुई हजार दुई सय ८० हेक्टरमा विस्तार भएको छ चालु आवमा प्रतिहेक्टरमा सुन्तलाको उत्पादकत्व १४.६६ टन भएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिनुभयो । गत आवमा दुई हजार एक सय हेक्टरमा सुन्तला बगैँचा कायम थियो । गत वर्ष एक हजार नौ सय ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको उहाँले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष ५० हेक्टर उत्पादनशील क्षेत्रफल वृद्धि भएको हो । स्याङ्जाका सुपरजोन घोषणा हुनुपूर्व आठ सय ८७ हेक्टरमा फैलिएको सुन्तला बगैँचा सुपरजोन भएसँगै हालसम्म दुई हजार दुई सय ८० हेक्टरमा सुन्तला बगैँचा विस्तार भएको उहाँले बताउनुभयो । विसं २०७३÷७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरिएको थियो । आव २०७५÷७६ को सुरुवातसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको थियो । सुन्तलाका क्षेत्रमा सुपरजोन घोषणा भई कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका सुन्तला सुपरजोन सञ्चालक समिति स्याङ्जाका अध्यक्ष बोधराज अर्यालले बताउनुभयो । स्याङ्जामा साउनदेखि फागुनसम्म विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा रहेको त्रिपुत्र बागवानी कृषि फार्मले यस वर्षमात्र रु पाँच करोडका सुन्तलाको कारोबार गरेको छ । फार्मले भाटभटेनी सुपरमार्केटलगायत व्यावसायिक सङ्घसंस्थालाई भारी मात्रामा सुन्तला बिक्री गर्दै आएको छ । फार्मले यस वर्ष प्रतिकेजी न्यूनतम रु २५ देखि अधिकतम रु ८५ सम्मका दरले सुन्तला बिक्री गरिरहेको छ । फार्मका सञ्चालक फणिनारायण अर्यालका अनुसार सुन्तलाको न्यूनतम मूल्य प्रतिकेजी रु २५ देखि अधिकतम रु ८५ सम्म कायम भएको छ । तुलनात्मक रुपमा गत वर्षभन्दा यस वर्ष सुन्तलाको बिक्री मूल्य घटेको उहाँले बताउनुभयो । उहाँ जिल्लाकै अगुवा सुन्तला किसान हुनुहुन्छ । उहाँ एक्लैले सुन्तला बेचेर गरेर वार्षिक रु ६० देखि ७० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । स्याङ्जामा सुन्तला व्यवसायलाई मुख्य आम्दानीको सोतका रूपमा विकास गर्ने पद्धतिको विकास हुँदै गएको छ । जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तलाखेती विस्तार भएको छ । पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदिखोला, बिरुवा, हरिनास, अर्जुनचौपारी गाउँपालिका सुन्तलाका पकेट क्षेत्र हुन् ।
काठमाडौं: आज सुनको मूल्य प्रतितोला रु एक हजार चार सय बढेको छ । चाँदीको मूल्य भने स्थिर देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मङ्गलबारको भन्दा आजको मूल्य बढेको हो । मङ्गलबार प्रतितोला रु एक लाख ४९ हजार छ सय कायम भएको सुनको मूल्य आज बढेर प्रतितोला रु एक लाख ५१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । आज चाँदी प्रतितोला रु एक हजार सात सय ६५ मा किनबेच हुँदैछ ।
काठमाडौं: अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । सोमबारको तुलनामा आज सुन र चाँदीको मूल्यमा केही गिरावट भएको छ । आज सुन प्रतितोलामा रू एक हजारले घटेर रू एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा पनि प्रतितोला रू ३० ले गिरावट भएको छ । आज प्रतितोला चाँदी रू एक हजार सात सय ६५ मा कारोबार भएको छ । सोही परिमाणको चाँदी सोमबार रू एक हजार सात सय ९५ मा कारोबार भएको थियो ।
झापा: मेचीनगर नगरपालिका–७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर फर्केपछि साथीहरुसँग क्रिक्रेट खेल्न नेपाल र भारतको दशगजामा पुग्छिन् । उनको घर नजिकै सीमा क्षेत्रमा ९०/२ पिपी ५० नम्बरको सीमा स्तम्भ उभिएको छ । त्यही सीमा स्तम्भलाई आड लगाएर उनीहरुले चौका र छक्का हानेको क्रिक्रेट बल कहिले नेपालतिर र कहिले भारतीय भूमिको पहेँलपुर तोरीबारीमा पुग्ने गर्छ । चार वर्षअघि नेपाल र भारत दुवै मुलुकले दशगजा क्षेत्र खाली राख्ने निर्णय गरेसँगै गैरीगाउँको दशगजा क्षेत्र बालबालिकाका लागि खेलमैदान जस्तै भएको छभने स्थानीयवासीको गाईबाख्रा चराउने चरन बनेको छ । तीन दशकअघि सीमा अद्यावधिक गर्ने क्रममा ९०/२ पिपी ५० नम्बरको सीमा स्तम्भ गाडिएको थियो । गैरीगाउँको माझमा गाडिएको सो सीमा स्तम्भले स्थानीय बासिन्दालाई दुई देशको फरक भूगोलमा बाँडिदियो । अहिले गाउँको आधा भाग भारततिर परेको छ । स्थानीय कुलप्रसाद तिवारीको डेढ बिगाहा जग्गा त्यही बेलादेखि सीमा पारि भारतमा प¥यो । नेपाल र भारत दुवैतिर उहाँको खेतीपाती चलिरहेको छ । सीमा अद्यावधिक हुनुअघि दुवैतिरको जग्गाको उहाँसँग नेपाली धनीपुर्जा थियो । उसबेला तिवारीले सरकारी मालपोत नेपालमै बुझाउनु हुन्थ्यो । तर गैरीगाउँको माझमा सीमा स्तम्भ ठडिएपछि उहाँको जस्तै दर्जनौँ बासिन्दाले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा भारतीय भूभाग ठहरियो । तिवारीको जग्गामा यतिबेला तोरी फुलेर पहेँलपुर भएको छ । तोरीबारीको माझमा रहेको दशगजामा स्थानीय बालबालिका विद्यालय छुट्टी हुनासाथ क्रिक्रेट, फुटबल, भलिबल र कबड्डी खेल्न दिनहुँ झुत्तिन्छन् । “खेल्दाखेल्दै कहिलेकाहीँ भारततिरका एसएसबी (भारतीय सशस्त्र सीमा सुरक्षा बल)का अङ्कलहरु आउनुहुन्छ, कहिले नेपालका सशस्त्रको अङ्कलहरु आउनुहुन्छ,” काँकडभिट्टा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत ठकुरी भन्छिन्, “दशगजा होस् कि बीसगजा होस्, हामीलाई खेल्न पाए भयो । अङ्कलहरुले राम्ररी खेल्नु भनेर हौस्याउनुहुन्छ । हामीलाई त उहाँहरुसँग केही डर लाग्दैन ।” गैरीगाउँमा नेपाली धनीपुर्जा भएको पचासौँ बिगाहा जग्गा सीमा अद्यावधिकका कारण भारतीय भूमिमा परेको विवादास्पद प्रसङ्गले बेलाबेला सञ्चारमाध्यममा चर्चा पाउने गरेको छ । तर गाउँमा भने विवाद र भयको कुनै छनक छैन । नेपाली नागरिकता, जग्गा धनीपुर्जा र बिजुलीका मिटर रहेका दर्जनभन्दा बढी स्थानीयवासीको घर अहिले पनि भारतीय भूमिमा छ । “चार वर्ष अघिसम्म दशगजा क्षेत्रमा यतिबेला तोरीको फूलले पिल्लर नै छोपिएला जस्तो हुन्थ्यो,” गैरीगाउँको दशगजामै आँगन जोडिएका ५१ वर्षीय श्याम बाँतर भन्नुहुन्छ, “अहिले दशगजा खाली गराइएको छ । मेरो घरको आँगन नै दशगजामा परेको छ । मानिसहरुले दशगजामा खेतीपाती गर्न छाडेका छन् ।” गैरीगाउँमा ३० वर्षदेखि बसोबास गर्दै आउनुभएका उहाँले रिक्सा चलाएर आर्जेको पैसाले जोडेको १० धुर जग्गामध्ये अढाई धुर दशगजामा परेको बताउनुभयो । दशगजाको दुवैतर्फ ३०÷३० फिट जग्गा खाली गराउने दुवै देशबीच सहमति भएको छ । सरकारी अधिकारीहरुले दशगजामा परेको आँगन पनि खाली गरिदिन आग्रह गरिरहेको उहाँको भनाइ छ । भारततिरबाट एसएसबीको गस्ती नियमित रुपमा दशगजा क्षेत्रमा आउने गरेको र घर कसको भनेर सोध्ने गरेको उहाँले जानकारी दिनुभयो । दशगजामा आँगन जोडिएको बाँतर परिवारलाई सीमाको बसोबास शान्त नै लागेको छ । कहिलेकाहीँ वारिपारि धन्धा गर्नेहरुसँग नेपाली सुरक्षाकर्मीहरुको घम्साघम्सी पर्नेबाहेक सीमावर्ती गैरीगाउँका बासिन्दाले अन्तरदेशीय भूगोलका कारण कुनै सकस अनुभव गरेका छैनन् । गैरीगाउँका ३१ वर्षीय टीका चौधरी हजुरबुबाको पालादेखि नै नेपालमा बसोबास गर्दै आए तापनि सीमा स्तम्भको अद्यावधिकपछि आफूहरुको घर खेत सबै भारततिर परेको बताउनुहुन्छ । भारतीय भूमिमा परेको गैरीगाउँका बासिन्दाका बालबालिका पढ्नका लागि काँकडभिट्टाको सरकारी र निजी विद्यालय नै धाउने गर्छन् । चौधरी दिनहुँ दशगजा पार गरेर मेची भन्सार कार्यालयमा ‘लोड अनलोड’को मजदुरी गर्न आउने गर्नुहुन्छ । भारततिर घर र जग्गा परे तापनि नेपालकै विद्युत् र पानी प्रयोग गरिरहेको चौधरीले बताउनुभयो । दश वर्षअघि झापाको दक्षिणी गाउँ पृथ्वीनगरबाट सस्तोमा घडेरी खोज्दै गैरीगाउँमा सपरिवार बसोबास गर्न आउनुभएकी देवी पाण्डेले भारतीय सुरक्षा बल एसएसबीको गस्ती दशगजा नाघेर कहिल्यै पनि नेपालतिर नआएको बताउनुभयो । पाण्डेको घर दशगजामै जोडिएको छ । “एसएसबीहरु दशगजा पारि नै डुल्छन्, प्यास लाग्यो भने सीमापारिबाटै पानी माग्छन्”, उहाँले भन्नुभयो, “बोतलमा पानी भरेर लगिदिन्छौँ । नराम्रो कहिल्यै गरेका छैनन् ।” नेपाली सीमाको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको एउटा टोलीले उहाँको घर छेउमै टहरा बनाएर रातोदिन पहरा दिने गरेको छ । सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले रातदिन पहरा दिएका कारण गैरीगाउँका बासिन्दाले सुरक्षित अनुभूति गरेको पाण्डेले बताउनुभयो । उहाँका तीन छोराछोरी काँकडभिट्टा माध्यमिक विद्यालयमा पढ्ने गर्छन् । उहाँका पति भाडाको सवारी साधन चलाउने गर्नुहुन्छ । “बसाइँ सरेर आएको बेला दशगजा भन्ने नै थाहा थिएन,” उहाँले भन्नुभयो, “घडेरीको पूर्वी सीमामा बडेमानको पिल्लर ठडिएको देख्दा सुरुमा निकै डर लागेको थियो । घडेरी त भारतमा प¥योे कि भनेर सोध्न जाँदा दशगजाबाट पश्चिमतिर नेपाल नै हो भनेर छिमेकीले मलाई आश्वस्त बनाएका थिएँ ।” दशगजामै घर जोडिएको गैरीगाउँकी ६५ वर्षीया होमादेवी खनालले गाउँका बासिन्दा भारत र नेपाल जतातिर घरजग्गा परे तापनि मिलेर बसिरहेको बताउनुभयो । “हिँड्ने बाटो र सौदा किन्ने बजार एउटै छ,” उहाँले भन्नुभयो, “भारततिर घर भएकासँग ऐँचोपैँचो चलिरहेकै छ । आउजाउमा कुनै अप्ठेरो छैन । खेतीपाती दुवैतिरकाले जता गएर पनि गरिरहेकै छन् । कुन भारत, कुन नेपाल भन्ने सीमा पिल्लरले मात्रै छुट्याएको छ ।” गैरीगाउँका अधिकांश बासिन्दा खेतीपाती र मजदुरी गर्छन् । नेपालतिर बसोबास गर्दै आउनुभएको ७७ वर्षीय टङ्कबहादुर राई दिनहुँ दशगजा पार गरेर भारतीय भूमितिर परेको आफ्नो जग्गामा तरकारीखेती गोडमेल गर्न जानुहुन्छ । उहाँले नेपाली धनीपुर्जा भएको आफ्नो १२ कट्ठा नम्बरी जग्गामध्ये सात कट्ठा मात्र दशगजा वारि रहेको र पाँच कट्ठा भारतीय भूमिमा परेको बताउनुभयो । भारतीय भूमिमा रहेको जग्गामा उहाँले अहिले टमाटर र सिमी रोप्नु भएको छ । मेचीको बगरमा रहेको उहाँको वर्षौंदेखिको भोगचलनको आठ कट्ठा बगरखेत समेत भारततिरै परेको छ । उक्त बगरखेतमा धानखेती हुँदै आएको छ । “जग्गाको धनीपुर्जा नेपालकै थियो, माझमा पिल्लर गाडिएपछि एकै रातमा सिमाना बदलिएर मेरो जग्गा भारततिर प¥यो,” उहाँले भन्नुभयो, “अहिलेसम्म खनजोत गरेर खाइरहेकै छु । कसैले केही भनेको छैन । एकपटक एसएसबीहरु खेतमा आएर एउटा टमाटर खान प¥यो भनेका थिए । मैले एउटा मात्र किन दुई चारवटै खानुहोस् भनेको थिएँ ।” सीमा क्षेत्रमा उत्पन्न हुने समस्याहरुको निराकरणका लागि सशस्त्र प्रहरी बलले स्थानीय वडाध्यक्षहरुको संयोजकत्वमा सीमा सहजीकरण समिति गठन गर्दै आएको छ । स्थानीयवासीले आफ्ना गुनासा र समस्याहरु समितिमार्फत सशस्त्र प्रहरी बलमा पु¥याउने गरेको मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओली बताउनुहुन्छ । झापामा भारतसँग सीमा जोडिएका २३ वटा वडाहरु छन् । बेलाबेलामा सशस्त्र प्रहरी बलको २ नं गण चन्द्रगढीले वडाध्यक्षहरुलाई सीमाका गुनासाहरुको सम्बोधन गर्नका लागि अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आएको छ । “झापाको कचनकवल जस्ता केही सीमा क्षेत्रमा खेतीपाती गर्ने र बाली उठाउने विषयमा वारिपारिका बासिन्दाबीच विवाद हुने गरेको सुनेका छौँ,” वडाध्यक्ष ओलीले भन्नुभयो, “तर, हाम्रो गैरीगाउँमा खेतीपातीका विषयमा भारततिरबाट समस्या आएको गुनासो सुनिएको छैन । त्यस्तो कुनै समस्या आइहालेछ भने पनि हामी सशस्त्र प्रहरी बलसँग मिलेर समाधानका लागि तत्कालै सहजीकरण गर्छौं ।”
दाङ: धानले झुल्ने खेत यतिबेला लटररम्म कागतीदाना पहेंलै भएका छन् । बिरुवाले रोपेको २ वर्षमा फल दिन थालेपछि किसानको मुहारमा खुसी छाएको छ । घोराही उपमहानगरपालिका–६ बचाहाका भीमप्रसाद खनालले व्यावसायिक रुपमा कागतीखेती गर्नुभएको छ । विष्णुदेवी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्मको नामको फाम दर्ता गरेर व्यावसायिक कागती खेती गरेको उहाँले बताउनुभयो ।उहाँले आफ्नो १२ कट्ठा जमिनमा ५ वर्ष अघि रोपेका सुन कागतीले रोपेको दोस्रो वर्षदेखि फल दिन थालेका छन् ।उहाँको फार्म रहेको जमिनमा तारजाली लगाउनु भएको छ । बिरुवा र तारबार गर्दा ८ लाख लगानी लागेको बताउनुभयो ।“सिँचाइ सुविधा नभएकाले धानखेती गर्न साह्रै गाह्रो भयो, मेहनतअनुसारको उत्पादन भएन, उहाँले भन्नुभयो, “त्यसैले धानखेत मासेर कागती लगाएको हुँ ।” उहाँको बारीमा अहिले लटरम्म कागती फलेर पाकेका छन् । कागतीलाई बजारको समस्या छैन, समयमा बीउमल नपाइएला कि भन्ने पनि छैन, उहाँले भन्नुभयो, “कम मेहनत र थोरै लगानीमा बजार पनि राम्रो छ ।” उहाँले दुई सय ६५ कागतीका बोटबाट वार्षिक पाँच लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो । बाँकी खेतमा तिहारका लागि रोपेको फूल बिक्री गरेर ७० हजार आम्दानी गरेको उहाँले बताउनुभयो । उत्पादन भएको कागती घोराही वजारमा बिक्री हुने गरेको छ । फुटकर किलोमा एक सय रुपैयाँ र थोकमा चार सय रुपैयाँमा पाँच किलो बिक्री हुने गरेको उहाँले बताउनुभयो । दैनिक ५० किलो बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।कागती फलेको समयमा सस्तो मूल्यमा बिक्री गर्नेुपर्ने बाध्यता रहेकाले कागती भण्डारणका लागि चिस्यान केन्द्र भएमा सजिलो हुने उहाँँको भनाइ छ । स्थानीय, प्रदेश सरकारले चिस्यान केन्द्रका लागि सहयोग गर्न पनि आग्रह गनुभएको छ । पाकेको कागती लामो समयसम्म घरमा राख्न नसकिने र नजिकमा चिस्यान केन्द्र नहुँदा व्यापारीले भनेको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्र दाङका अनुसार दाङमा व्यावसायिक रुपमा कागतीखेती गर्ने किसानको संख्या बर्सेनि बढ्दै गएको छ । कुनैबेला घरायसी प्रयोजनका लागि २ ÷४ बोट लगाउनेहरुले अहिले व्यावसायिक रुपमा कागतीखेती गर्न थालेका छन् । ३ वर्षअघि ५० हेक्टर क्षेत्रफलमा कागतीखेती गरिँदै आएको थियो, अहिले २९१ हेक्टरमा कागतीखेती हुने गरेको छ ।ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार अहिले ११० हेक्टरमा वार्षिक ५६० मेट्रिकटन कागती उत्पादन भइरहेको छ । सुन कागतीले रोपेको २ वर्षभित्रमा आम्दानी दिन थालेपछि व्यावसायिीक रुपमा खेती गर्नेको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो ।बजारमा कागतीको माग दैनिक बढ्दै गएपछि पछिल्लो समय जिल्लामा कागती खेतीलाई नगदेबालीका रूपमा समेत किसानले लिन थालेका छन् । पछिल्लो समय धेरै किसान व्यावसायिक कागती खेतीमा लागेको उहाँ बताउनुहुन्छ । सूचना अधिकारी लामिछानेले भन्नुभयो, “अन्य बालीको तुलनामा कम लगानी र मेहनतबाटै राम्रो आम्दानी लिन सकिने र बिक्रीका लागि बजारको पनि समस्या नहुँदा धेरै जना किसान कागतीखेतीप्रति आकर्षण बढेको छ ।