काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

मुस्ताङ:   मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलका छन् । घरपझोङ–२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका  विभिन्न प्रजातिका फलफूल बोटहरु यतिखेर फूल फुलेर सेताम्मे भएका हुन् । विगतका वर्षहरुमा भन्दा यसवर्ष केही हप्ता ढिलो गरी शीतोष्ण फूलहरु फुल्न थालेको हुन्   ।       मुख्य रुपमा मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारीको उत्पादन, बीउ तथा बिरुवा उत्पादन गर्ने कार्य गर्दै आइरहेको छ ।  जिल्लामा स्याउखेतीको विकास समेत यही केन्द्रले सुरुआत गरेको थियो । मुस्ताङको त्यही केन्द्र हो, जसले यहाँ विभिन्न जातजातका फलफूलको बीउ तथा बिरुवा उत्पादनका साथै फलफूल उत्पादनमा समेत जोड दिइरहेको छ ।  मुस्ताङका कृषकहरुको आर्थिक विकासमा टेवा पु¥याउन र फलफूल तथा तरकारीखेतीको विकास गरी यहाँका किसानको जीवनस्तर सुधार गर्न केन्द्रले दिँदै आइरहेको योगदान अतुलनीय छ ।       वसन्त ऋतुको आगमनको सुरुआतसँगै यहाँका शीतोष्ण फलफूलका बोट झपक्कै फूल फुल्न थालेका हुन् । केन्द्रले उत्पादन गर्ने हाईचिलिङ जात अर्थात् अत्यधिक चिस्यानको आवश्यकता पर्ने कागजी बदाम, आरु, आरुबखडा र खुर्पानीलगायतका फलफूल बोटमा विस्तारै फूल फुलेर मुस्कुराउन थालेका छन् ।  यसरी बढी मात्रामा अत्यधिक चिस्यान चाहिने फलफूलका बोटमा फूल फुलेर धपक्कै हुँदा केन्द्रमा पुगेर अवलोकन गर्ने पर्यटक मोहित हुने गरेका छन् । तर, यहाँका स्याउ बोटहरुमा चैत्र महिनाको अन्तिम वा वैशाख महिनामा मात्रै फूल फुल्ने क्रम सुरु हुने केन्द्रले जनाएको छ । जिल्लाको बागवानी विकास केन्द्र र अन्य किसानले उत्पादन गर्ने यसप्रकारको अधिकांश जातका फूल फुल्ने  चरणमा रहेको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो ।  केन्द्रमा उत्पादन हुने अधिकांश जातहरु हाईचिलिङअर्थात् अत्यधिक चिस्यानको आवश्यकता पर्ने फलफूलहरु रहेको उहाँले भनाइ छ । उहाँले यसप्रकारका हाईचिलिङ जातका फलफूल बोटलाई आठ सयदेखि एक हजार घण्टासम्म चिस्यानको आवश्यक पर्ने बताउँनुभयो ।       केन्द्रमा उत्पादन हुने मुख्य फलफूल जातहरुमा कागजी बदाम ने प्लस अल्ट्रा जातको फलफूलअन्तर्गत पर्दछ । यी मुख्य फलफूलअन्तर्गत आरु फलफूलमा एक अर्ली रेड जात र अर्को ओराइन जातअन्तर्गत पर्दछ । आरुबखडा, मिथ्ले र सान्तारोजा जातमा पर्छ । खुर्पानी सक्करपारा जातमा पर्दछ । केन्द्र प्रमुख आत्रेयले केन्द्रमा मुख्यगरी पाइने यसप्रकारको जात महत्वपूर्ण जातको रुपमा रहेको जानकारी दिनुभयो । समुद्री सतहदेखि एक हजार आठ सय मिटर उचाइदेखि करिब तीन हजार मिटरसम्मको उच्च भूगोलमा उत्पादन हुने यसप्रकारका फलफूलमा पछिल्लो समय जलवायु परिवर्तनको असरले प्रतिकूल बनाउन थालेको केन्द्र प्रमुख आत्रेयले खलाउनुभयो ।  “जलवायु प्रभावले जमिनको तापमान वृद्धि भइरहेकाले फूल फुल्ने क्रम केही छिटो होकी भन्ने अनुभूति गरेका छौ”, केन्द्र प्रमुख आत्रेयले थप्नुभयो, “बर्सेनि मुस्ताङको तल्लो क्षेत्रमा उत्पादन हुने यसप्रकारका फूलफूल जातहरु माथि माथि सर्दै जान थालेको छ ।”  उहाँले अनुकूल समयमा एकदुई फेरि आंशिक हिउँ पर्ने र तुषारोका कारण घरपझोङको मार्फा र जोमसोम क्षेत्रमा यसको असर पर्न थालेको बताउनुभयो । केन्द्रले बर्सेनि गुणस्तरीय बिरुवा उत्पादन गर्ने र यसप्रकारका जातलाई प्रशोधित वस्तु तयार गरी बिक्री वितरण गर्ने काम गदैआइरहेको जानकारी दिनुभयो ।       केन्द्रले  खुर्पानीको फलबाट प्रशोधित गरी ब्रान्डी, जाम र सुकुटी तयार गर्ने गरेको छ । यसैगरी आरुबखडाको वाइन बनाउने गरिएको छ । आरुको ताजा फल बिक्री गर्ने र कागजी बदामको बिरुवा उत्पादन गर्ने काम केन्द्रले गर्दैआइरहेको केन्द्र प्रमुख आत्रेयले उल्लेख गर्नुभयो ।

पाल्पाका किसानहरू यतिबेला खेतबारीमा आलु खन्ने काममा व्यस्त छन् । आलु खन्ने र उत्पादित आलु घरघरमा थन्क्याउने कार्य भइरहेका छन् ।   व्यावसायिक उत्पादनका लागि आलु लगाएका किसानले खेताला लगाएर आलु खन्ने काम गरिरहेका छन् ।   एकै पटक आलु उत्पादन भएपछि दिनभर खेताला लगाएर आलु खन्ने कार्य भएको पाल्पा रामपुरका युवा सुशील ढुङ्गाना बताउँछन् । उनले रामपुर–५ सानीअमराई बहखोला खेतमा करिब आठ रोपनी खेतमा आलु लगाएका छन्।   “शनिबार र आइतबार दुई दिनसम्म १६/१७ जनाले आलु खन्ने काम भएको छ”, उनले भने, “एकै पटक उत्पादन हुने हुनाले परिवारले मात्रै खनेर नसकिने भएपछि खेताला खोजेर आलु खनिएको छ ।” उनले यस पटक चार क्विन्टल आलु लगाएका छन् ।   उत्पादन राम्रै भएकाले आलुखेतीबाट उत्साहित छन् । यो वर्ष करिब ५० क्विन्टल आलु उत्पादन हुने उनको अनुमान छ । रामपुर बेझाड बजारमा व्यवसाय सञ्चालन गरेका ढुङ्गानाले घरमा कृषि कार्यमा जोड दिँदै आएका छन् । शनिबार पसल बन्दको समय पारेर खेताला खोजेर आलु खन्न सुरु गरेको उनले बताए ।   “आलु खन्ने काम भएको छ, फल राम्रो लागेकाले उत्पादन राम्रो छ, खेतमा दिनभर खेतालाबाट आलु खन्ने र साँझमा घरमा थन्क्याउने कार्यले एउटा आलु उत्सवजस्तै लागेको छ, घरका कोठाहरु अहिले आलुले भरिएका छन्, यो देख्दा रमाइलो लागेको छ, पसलमा काम नभएको समयलाई सदुपयोग गर्दै घरमा कृषि कार्य तथा पशुबस्तुको स्याहारमा व्यस्त हुन्छु, फुर्सदको समय मैले खेर फालेको छैन”, उनले भने ।   उनले खुमलटार रातो जातको आलु लगाउनुभएको छ । बाउबाजेको पालादेखि नै आलुखेती गर्दै आएको उनी बताउँछन् । पहिलापहिला घरायसी प्रयोजनका लागि मात्रै आलु लगाउने गर्थे । हिजोआज भने बिक्रीका लागि उन्नत जातका आलु लगाउन थालेका छन् ।   रामपुर नगरपालिकाले शीतभण्डार निर्माण गरेपछि उनले व्यावसायिक उत्पादनमा जोड दिएका हुन् । भण्डारण गर्न अन्यत्र लैजानु नपर्ने, आफ्नै गाउँ ठाउँमा भण्डारणको राम्रो सुविधा भएपछि व्यावसायिक ढङ्गबाट खेती गर्न थालेको ढुङ्गानाले बताए ।   आलु खनेर सकेपछि शीतभण्डारणमा राख्ने र पछि बेमौसमीयाममा महँगो मूल्यमा बिक्री गर्ने लक्ष्यसहित योजनाबद्ध तरिकाले आलु लगाउने गरेको उनको भनाइ छ । अहिले सबैका घरघरमा आलु उत्पादन हुने हुँदा कम मूल्यमा   आलु बिक्री गर्नुभन्दा बेमौसमी समयमा बिक्री गर्दा धेरै मूल्य पाइने भएपछि घरमा उत्पादन भएका सबै आलु शीतभण्डारणमा किसानले राख्ने गरेका छन् ।   यहाँका किसानलाई शीतभण्डारणको सुविधाले आलु भण्डारणका लागि अन्यत्र लैजानुपर्ने समस्या टरेको छ । पछिल्लो समय किसानले आलु उत्पादनमा जोड दिन थालेका छन् । रामपुर नगरपालिकाले स्थानीय उत्पादनलाई सुरक्षित साथ भण्डारण गरेर राख्नका लागि तीन सय मेट्रिक टन क्षमताको सुविधा सम्पन्न शीतभण्डारण तयार पारेर सञ्चालनमा ल्याएको छ ।   रामपुर- ६ स्थित कौवा बस्ने सीता देवकोटाले शीतभण्डारणमा आलु राख्ने तयारी गरिरहेकी छन् । उनले आलु खनेर सकेपछि घरमा ग्रेडिङ गरेर भण्डारणका लागि शीतभण्डारणमा राख्न आलु तयार पारेर राखेकी छन् ।   रामपुर नगरपालिकाका किसानले आलुखेतीलाई व्यावसायिक खेतीमा जोड दिँदै आएका छन् । जिल्लाकै आलु उत्पादनका लागि राम्रो पकेट क्षेत्र रहेको हुँदा आलुबाट राम्रो आयआर्जन गर्न किसान सफल बनेका छन् ।   रामपुर नगरपालिका कार्यालय तथा वडा कार्यालयले अनुदान उन्नत जातका बीउ उपलब्ध, किसानलाई खेतबारीमै प्राविधिक सेवा, शीतभण्डारणको सुविधाजस्ता विविध कार्यक्रम सञ्चालन गरेपछि पछिल्लो समय यहाँका किसान आलुखेतीमा हौसिएका छन् ।

तनहुँ:  समाजसेवा र राजनीतिसँगै व्यावसायिक कृषि कर्ममा पनि सफल हुनुभएको छ तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित । व्यावसाय र राजनितिक क्षेत्रमा सफल मानिने नगर प्रमुख पण्डित व्यावसायिक कृषि कर्ममा लाग्नुभएको छ ।       उहाँले म्याग्दे गाउँपालिका–४ मा १० रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा कागती खेती गरिरहनुभएको छ । चाहना र समय व्यवस्थापन गर्न सके हरेक क्षेत्रबाट उत्पादन तथा आम्दानी लिन सकिने उहाँको बुझाई छ ।  उहाँ हरेक बिहान कागती गोडमेल र रेखदेखका लागि केही समय छुट्याएर बारीमा पुग्ने गर्नुहुन्छ । स्वास्थ्यका लागि समेत बिहान सबेरै उठेर बिरुवाको गोडमेल गर्न उपयुक्त हुने उहा बताउँनुहुन्छ ।       उहाँ भन्नुहुन्छ, “हाल एक हजारभन्दा बढी कागतीका बोटले फल दिन सुरु गरेको छ ।” घरायसी प्रयोगका लागि प्रशस्तै पुग्ने भएपनि आगामी वर्षबाट व्यावसायिक रुपमा उत्पादन हुने उहाँ बताउनुहुन्छ ।  “आगामी वर्षबाट बजार पठाउने कागती उत्पादन हुनेछ”, उहाँ भन्नुहुन्छ, “एक सिजनमा १५–२० हजार किलो कागती उत्पादन हुन्छ ।” भुगोल र माटो सुहाउदो खेती गरेकाले बादर लगायतका जङ्गली जनावरले समेत क्षति पु¥याउन नसक्ने र बाँझिएको जमिनको उपयोग हुने नगर प्रमुख पण्डित बताउनुहुन्छ ।        पृथ्वी राजमार्गबाट छोटो दुरीमा रहेको जमिनमा सामाजिक व्यक्तित्वले कृषि खेती गर्दा युवालाई कृषितर्फ प्रोत्साहन गर्न सकिने उहाँको बुझाइ छ । सामाजिक व्यक्तित्वले कागजी खेती गरेपछि अन्यलाई समेत यस प्रतिको प्रेरणा मिलेको छ । सामान्यतया कोदो, मकै लगायतका खाद्यान्न लगाउदाँ जङ्गली जनावरले क्षति पु¥याएको भनेर बाँझिदै गएको जमिनमा कागती खेती गरिएको हो ।       कोदो, मकै, भटमासलगायतका खेती गर्दा बाँदरलगायतका जङ्गली जनावरले क्षति पु¥याएपछि बाँझो बनेको जमिनमा सामाजिक व्यक्तित्वले कृषि खेती गर्दा अन्यले समेत कागती खेतीतर्फ आकर्षित भएका स्थानीय हेमकुमार कायस्थ बताउनुहुन्छ । समाजको नेतृत्व गरिरहनु भएका व्यक्तिले कृषिमा चासो दिएर संलग्न हुने गरेमा उपेक्षित बन्दै गएको कृषि पेशाप्रतिको दृष्टिकोण नै सम्मानित बन्ने उहाँ बताउनुहुन्छ ।       नेपाली काँग्रेसकै नेता बालकृष्ण पौडेल पण्डितको जस्तै अन्य जनप्रतिनिधिको देखिने गरि कुनै पेशा व्यावसाय हुनुपर्ने धारणा राख्नुहुन्छ । कृषि पेशा नै उपेक्षित र खेती गर्ने संस्कृति लोप हुँदै जान थालेको अवस्थामा नगर प्रमुखको कृषिप्रतिको लगाव उदाहरणीय भएको उहाँको भनाइ छ ।      उहाँ भन्नुहुन्छ, “गाउँघरमा बाँझो रहेका छन्, उहाँको लगावले युवालाई प्रोत्साहन गर्ने गरेको छ, गाउँघरका बाँझिएका जमिनमा केही गर्न सकिन्छ है भन्ने आशा मेयरको प्रयासले जगाएको छ ।” जनप्रतिनिधीहरु समाजका मार्गदर्शक हुन् । समाजलाई परिवर्तन गर्न सक्ने गरी हौसला दिन सक्ने हुनुपर्ने गुण उहाँमा देखिएकोले सर्वसाधारणलाई उत्साहित गराउन सहयोग पुग्ने उहाँको भनाइ छ ।       बजार माग उच्च रहेको कागजी खेतीसँग अब पुख्र्यौली जमिनमा व्यावसायिक रुपमा मेवा खेती गर्ने नगर प्रमुख पण्डितको तयारी छ । उहाँ आम्दानीसँगै कृषिको विकास, स्थानीयलाई रोजगारीको अवसर र बाँझिएका जमिनको उपयोगमा सहयोग पुग्ने सोचका साथ कृषि क्षेत्रमा आवद्ध भएको बताउनुहुन्छ । भारतबाट ल्याउनुपर्ने कागती समेत यहीँ उत्पादन बृद्धि भएसँगै खपत हुनेछ ।       अम्लिय फलफूलको व्यावसायिक खेतीले बाँदरलगायतका जङ्गली जनावरले क्षति पु¥याउन सक्ने छैन । कृषि ज्ञान केन्द्रले बाँदरको बढी आतङ्क रहेका स्थानमा अम्लिय फलफूल खेतीलाई प्रोत्साहन गर्दै आएको छ । अम्लिय पदार्थलाई बाँदर कम क्षति पु¥याउने गरेको पाइएको केन्द्रले जनाएको छ ।       यहीँ उत्पादन बढाउन सकिएमा कागतीलगायतका तरकारी तथा अम्लिए फलको आयात घटाउन समेत सहयोग पुग्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।  तरकारी तथा फलफूल आयातमा न्यनीकरण गर्नका लागि स्थानीय रुपमा नै जमिन बाँझो बनाउनुभन्दा उपयोगलाई नेतृत्वमा आवद्ध व्यक्तिको भूमिका महत्वपूर्ण हुनेछ । यहीँ उत्पादन गर्न सकिएमा खपत हुनेछ भने आयस्तर नै परिवर्तन हुनुका साथै आत्मनिर्भर हुनेछ । 

काठमाडौं: सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय रुपैयाँ ६९ पैसा तोक्ने निर्णय गरेको छ ।       सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आज सञ्चार मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै भन्नुभयो, “१८ प्रतिशतभन्दा चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल एक हजार दुई सय ग्रामका दरले हुन आउने तौल घटाइ कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ ।”      यही फागुन २१ गतेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उहाँले आगामी चैत २६ देखि २७ गतेसम्म अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने ‘एन्टी करप्सन ग्लोबल फोरम’मा सहभागी हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दलाई स्वीकृति प्रदान गर्ने निर्णय जानकारी दिनुभयो ।       बैठकले थाइल्यान्डको बैङ्ककमा यही  फागुन १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने एसिया प्यासिफिक रिजनल प्रिप्रेटरी मिटिङ फर द सेकेन्ड युनाइटेड नेसन्स फूड सिस्टमस् समिट स्टकटेकिङ मोमेन्ट (युएनएफएसएस–४) कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, प्रधानमन्त्रीको मानव अधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकारमा अग्निप्रसाद खरेललाई नियुक्त गर्ने, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक सङ्घीय संसद्बाट अध्यादेश स्वीकृत भएपश्चात् पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।       साथै आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक सङ्घीय संसद्बाट अध्यादेश स्वीकृत भएपश्चात् पेस गर्न स्वीकृति प्रदान गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्ने विधेयक सङ्घीय संसद्बाट अध्यादेश स्वीकृत भएपश्चात् पेस गर्न स्वीकृति प्रदान गर्ने, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक सङ्घीय संसद्बाट अध्यादेश स्वीकृत भएपश्चात् पेस गर्न स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको छ ।      आगामी चैत ५ देखि ६ सम्म जर्मनीको बर्लिन आयोजना हुने ११औँ ‘एडिसन अफ द बर्लिन इनर्जी ट्रान्जिसन डाइलग’ मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिने, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको सर्त तथा सुविधासम्बन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड (क) बमोजिम नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट किन नहटाउने ? भनी सोही विनियमावलीको विनियम २३ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष तीन दिनभित्र सफाइ पेस गर्न मौका दिने निर्णय गरेको छ ।       नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायब महानिरीक्षक जनक भट्टराईलाई यही फागुन १८ गतेदेखि लागू हुने गरी बढुवा नियुक्त गरी नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक सङ्घीय संसद्बाट अध्यादेश स्वीकृत भएपश्चात् पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।       यही फागुन २६ गतेदेखि चैत ८ गतेसम्म न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय महिलाको स्थितिसम्बन्धी आयोग (सिएसडब्लु) को ६९औँ सम्मेलनमा सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीको नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने, यही फागुन २९ मा बेलायतको लन्डनमा आयोजना हुने मिनिस्ट्रियल राउन्ड टेबल इभेन्ट अन टेकिङ वाटर सेक्युरिटी एक्रस द क्लाइमेट–नेचुरल–डेभलपमेन्ट नेक्सस् कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गर्ने, सहसचिव वीरेन्द्रकुमार यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशको प्रमुख सचिव पदमा कायममुकायम मुकरर गर्ने पनि निर्णय गरेको छ ।       साथै बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (शासकीय मामिला),  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य तथा आपूर्ति), महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको विभिन्न देशमा हुने वैदेशिक भ्रमण स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको छ ।      त्यस्तै, नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा मधेस प्रदेशका कायममुकायम प्रमुख सचिव मदन भुजेललाई बढुवा गरी मधेस प्रदेशमा पदस्थापन गर्ने, नेपाल स्वास्थ्य सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा अधिकृत बाह्रौँ तहका डा विकास देवकोटालाई बढुवा गर्ने, राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृतहरु सचिव सुमन अर्याल राष्ट्रिय योजना आयोग र सचिव लोकनाथ पौड्याललाई उपराष्ट्रपति कार्यालयमा सरुवा गर्ने मन्त्रिरिषद्को निर्णय छ ।

तनहुँ:  जिल्लाको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । हाल ५० रोपनी जमिनमा खेती गरिरहनुभएको उहाँले वार्षिक रु १५ लाखसम्म आम्दानी हुने गरेको सुनाउनुभयो ।       बाइस वर्षअघि कास्कीबाट यहाँ बसाइँसराइ गर्दा ढकालले अरूको मेलापात गरेर जीविकोपार्जन गर्नुपर्ने अवस्था थियो । केही वर्ष गाउँमै मेलापात गरेपछि उहाँ कामका लागि भारत जानुभयो ।  त्यहाँ १० वर्षजति बिताएपछि फेरि आफ्नै गाउँ फर्किनुभयो । त्यसपछि कहिल्यै गाउँ छोड्न मन लागेन । अनि सुरु भयो, गाउँमै तरकारीखेती । निरन्तर प्रयास गरे के हुँदैन ! त्यसैको उदाहरण बन्नुभएको छ ढकाल । सुरुमा दुई–तीन रोपनीमा खेती गरेका उहाँले हाल ५० रोपनीमा विस्तार गर्नुभएको छ ।         “पहिले पहिले अरूको मेलापर्म गरेर जीविकोपार्जन गरिन्थ्यो । कामका लागि भारत पनि गइयो तर त्यहाँबाट फर्केपछि भने आफ्नै देशमा केही गर्नुपर्छ भनेर खेती सुरु गरेँ । राम्रै भयो, यदि काम गर्ने इच्छा शक्ति छभने देशमै धेरै अवसर रहेछन् भन्ने कुरा धेरैपछि थाहा पाए तर त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन । मेहनत गरेर विगतमा बाँझो रहेको जग्गाबाटै हाल लाखौँ कमाई गरिरहेको छु”, ढकालले भन्नुभयो ।      उहाँले बाह्रैमास तरकारीखेती गर्नुहुन्छ । टनेलमा बाह्रैमास गोलभेँडा, मौसमअनुसारका तरकारी । केराउ, काउली, फर्सी, करेला, घिरौँला, खुर्सानी र बेमौसमी तरकारीले सधैँ फल्छन् उहाँको बारीमा ।  पछिल्लो समय तरकारीका साथै बिरुवासमेत उत्पादन गरेर बिक्री गर्ने गरेको ढकालले जानकारी दिनुभयो । करिब चार रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी र फलफूलका बिरुवा उत्पादन गर्ने गरेको उहाँले बताउनुभयो ।       तरकारीखेती गरिरहेको सबै जग्गा भने उहाँको आफ्नै होइन । वार्षिक रु दुई लाख तिर्ने गरी ५० रोपनी जग्गा भाँडामा लिनुभएको छ । ढकालले उत्पादनको राम्रो खपत हुन थालेपछि थप १० रोपनी जग्गामा व्यवसाय विस्तारको योजना बनाउनुभएको छ ।  उहाँले भन्नुभयो, “उत्पादन गरेका तरकारी बन्दीपुर, डुम्रे, दमौलीलगायत बजारमा बिक्री गर्दै आएको छु । पोखराबाट समेत व्यापारीहरू तरकारी लिन आउने गरेका छन् । यो सबै गरी वार्षिक रु ८० लाखसम्म कारोबार हुने गरेको छ । त्यसमा सबै खर्च कटाएर रु १५ लाख बचत हुने गरेको छ । अब थप व्यवसाय विस्तारको योजना बनाइरहेको छु ।”       विगतमा अर्कोको बनिबुतो गरेर खाने ढकालले यसै व्यवसायबाट परिवारको लालनपालन र छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिनुभएको छ ।  “तरकारीखेतीबाट राम्रो आम्दानी भएकाले छोराछोरीलाई स्नातक तहसम्म पढाउन सफल भए ।  अर्काको देशमा नोकरी गरेर बसेको भए खै ! यो सम्भव हुन्थ्यो या हुन्थेन, समयमै आफ्नै स्वदेशमा कृषि पेसा गरेकाले अहिले सबै राम्रो भइरहेको छ । आम्दानी र सन्तुष्टि दुवै”, ढकालको भनाइ छ ।       हाल उहाँकी एक छोरी विदेश र छोरा शिक्षक हुनुहुन्छ । रु ३० लाख खर्चेर बस्न लायक घर बनाउनुभएको छ । आफ्नै नाममा दुई रोपनी जग्गा जोड्नुभएको छ । तरकारीको बजारीकरणका लागि बोलेरो जिप, मोटरसाइकल र स्कुटर किन्नुभएको छ । आफ्नो व्यवसाय विकासका लागि बन्दीपुर गाउँपालिका र कृषि ज्ञान केन्द्रले पनि सहयोग गरेको ढकालले जानकारी दिनुभयो । तीन वर्षसम्म टनेल प्रविधिमा सहयोग पाएको उहाँले बताउनुभयो ।  “कृषि व्यवसाय विस्तारका लागि हालसम्म रु १० लाख बराबरको अनुदान प्राप्त गरेँ । कृषि विषयमा अध्ययन अनुसन्धान गर्न कृषि ज्ञान केन्द्रले भारत भ्रमणमा समेत पठाएको छ । कामको खोजीमा जानुभन्दा र व्यवसायीका रूपमा भारत भ्रमणमा जानुको आनन्द नै बेग्लै हुँदो रहेछ”, उहाँले खुसी साट्नुभयो ।         व्यवसायी ढकालले बजारको मागअनुसार उत्पादन र त्यसअनुसार व्यवस्थापनको काममा निरन्तर लागिरहेको बताउनुभयो ।  “कृषिकर्म नै हो नेपालको समृद्धिको आधार । हामीसँग भएको यो उर्वरभूमिमा लगनका साथ पसिना चुहाउने हो भने रोजगारीका लागि विदेश नै जानुपर्दैन । त्यसको उदाहरण म आफैँ हो”, उहाँको कथन छ, “यदि म निराश भएको भए आजको यो अवस्था हुन्थे । विदेशै भए पनि आफ्नै देशमा घर, परिवार, समाज र आफन्त, साथीभाइसँग बसेजस्तो आनन्द र सन्तुष्टि हुन्थेन । यो सबैले बुझ्न जुरुरी छ ।” 

काठमाडौं:   स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । आज प्रतितोला सुनको मूल्य रु नौ सय र चाँदीको मूल्य रु १० ले बढेको हो ।      मङ्गलबार प्रतितोला रु एक लाख ६९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ७० हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।       त्यस्तै, आज चाँदी प्रतितोला रु एक हजार नौ सय ५० मा किनबेच हुँदैछ ।  अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ११ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

नवलपरासी:  नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते(हिउँदे) धान लगाउन व्यस्त छन्  । दुईबाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ भएको छ ।   मकै भन्दा धान राम्रो उत्पादन हुने र दुईबाली धान लगाउँदा एक बालीको धान बिक्री गरेर आम्दानी गर्न सकिने, हुँदा किसान यसतर्फ आकर्षित भएका हुन् ।  विगत चार वर्षदेखि जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकामा चैते धान खेतीको ब्लक क्षेत्र छुट्ट्याएर खेती लगाइएको कृषि ज्ञान केन्द्र नवलपरासी९बर्दघाट सुस्तापूर्व०का प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो ।   “जिल्लाको कावासोती नगरपालिका–८ देखि १७, गैँडाकोट नगरपालिका–१०, ११, १२ र १३, देवचुली नगरपालिका–१७, मध्यविन्दु नगरपालिका–२ र ३,  विनयी त्रिवेणी गाउँपालिका–१ र ५, बुलिङटार गाउँपालिका–३ र बौदीकाली गाउँपालिका–४ मा हिउँदे धान खेती हुने गरेको छ”,उहाँले भन्नुभयो ।         कृषि ज्ञान केन्द्रले चैते धान उत्पादन हुने सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गरी किसानलाई प्रोत्साहन गर्दै आएको छ । पकेट क्षेत्र लागूभएका स्थानमा किसानको लागत सहभागितामा सिँचाइ, बीउ, यान्त्रिकिकरण लगायतमा ७५ प्रतिशत अनुदान दिने गरेको प्रमुख तिवारीले जानकारी दिनुभयो ।   चैते धान प्रवद्र्धनका लागि चालु आवमा कृषि ज्ञान केन्द्रमार्फत रु एक करोड १० लाख बजेट विनियोजन गरी कार्यक्रम गरिएको छ । बर्खे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भएकाले पनि चैते धानतर्फ किसानको आकर्षण बढेको प्रमुख तिवारीले बताउनुभयो ।    “गत वर्ष जिल्लामा एक हजार ५३ हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदा छ हजार दुई सय ४५ मेट्रिक टन धान उत्पादन भएको थियो”,उहाँले भन्नुभयो,“यो वर्ष थप ४० हेक्टरमा विस्तार हुने अनुमान गरेका छौँ ।”बर्खे धान प्रतिहेक्टर तीन टनभन्दा बढी उत्पादन हुनेमा चैते धान प्रतिहेक्टर तीनदेखि चार टनसम्म उत्पादन हुने प्रमुख तिवारीले जानकारी दिनुभयो ।   “चैते धानमा रोग तथा कीरा पनि कम लाग्ने भएकाले किसानका लागि यो राम्रो मानिन्छ ”,उहाँले भन्नुभयो,“जिल्लामा विशेष गरी चैते–५ र हर्दिनाथ–१ जातको चैते धान रोप्ने गरिन्छ ।” 

चितवन:  दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन् । भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो ।  निजी डेरीहरुले कम मूल्यमा दूध लैजाने गरेको उनीहरुको भनाइ छ । विकल्प नहुँदा सस्तोमा दूध बिक्री गर्न बाध्य भएको किसान बताउँछन् ।  चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालले राज्यले चार फ्याट र आठ एसएनएफ भएको दूधलाई कार्यालय सञ्चलान मूल्य बाहेक रु ६५ प्रतिलिटर तोकेकोमा उनीहरुले यस मूल्यमा रु ३ कम गरेर लैजाने गरेको  जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो “दूधको आयात नरोकिँदा उनीहरुले दूध नलैजाने धम्की दिँदै  मूल्य घटाउने गरेका हुन ।” अहिले दूध र दुग्धजन्य पदार्थ आयात हुँदा सस्तोमा पाउने भएकाले नेपाली किसान मर्कामा परेका हुन । जिल्लामा रहेका एकसय १५ वटा दुग्ध उत्पादक सहकारी संस्थाबाट देशका ४० भन्दा बढी ठूला दुग्ध उत्पादक कम्पनीले दूध लाने गरेको भए पनि राज्यले तोकेको मूल्य भन्दा कममा दूध बेच्न बाध्य भएको उहाँले बताउनुभयो ।  जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिरका उद्योगले खपत गर्ने गरेका छन् ।  विगत ६ महिनादेखिको दूधको भुक्तानी नपाएका किसानलाई आफूले भनेको मूल्यामा दूध नपाए भोलिबाट दूध लिन आउँदिन भन्ने गरेको उहाँले बताउनुभयो । भुक्तानी माग्दा दूध लिन नआउने डरमा किसान रहेको उहाँको भनाइ छ । अहिले जिल्लाका किसानले रु ८० करोड भन्दा बढी  भुक्तानी पाउन सकेका छैनन् ।  भदौ देखियता दुग्ध विकास संस्थान र निजी कम्पनीबाट दुग्ध उत्पादक किसानले भुक्तानी नपाएका हुन । संस्थानको रु ३५ करोड भुक्तानी हुन बाँकी रहेको उहाँले बताउनुभयो । जिल्लामा अहिले ४० हजार बढी दुग्ध उत्पादक किसान रहेका छन् । उनीहरुको समस्या समाधानका लागि राज्यले चासो नदेखाउँदा किसान चिन्तित बनेका छन् ।  

पर्सा:  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ ।  गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा यो नाका हुँदै रु चार अर्ब ९१ करोड मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलोग्राम धान आयात भएको थियो ।  वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको सात महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताउनुभयो । “गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धान–चामलको आयात बढेको देखिन्छ ।”  कृषिप्रधान मुलुक नेपालमा धान मात्र नभएर चामल पनि विदेशी मुलुकबाट आयात हुँदै आइरहेको छ । चालु आवको सात महिनामा यो नाका हुँदै रु एक अर्ब ३५ करोड मूल्यको  एक करोड ३३ लाख ७४ हजार आठ सय २६ किलोग्राम चामल आयात भएको छ ।   जबकि गत आवको सोही अवधिमा भने रु एक अर्ब छ करोडको ८१ लाख १७ हजार एक सय ३० किलोग्राम चामल आयात भएको थियो ।  चालु आवको सात महिनामा रु दुई अर्ब ९६ करोड मूल्यको पाँच करोड ७७ लाख १४ हजार पाँच सय ८३ किलोग्राम मकै आयात भएको छ ।  जबकि गत आवको सोही अवधिमा भने रु दुई अर्ब ९७ करोड मूल्य पर्ने छ करोड ६० लाख ४९ हजार नौ सय ७२ किलोग्राम मकै आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयातमा भने सामान्य गिरावट देखिएको छ ।