तनहुँ: देवघाट गाउँपालिका–३ का विभिन्न स्थानमा सुन्तलाका बगैचामा लटरम्म फल लागेका छन् तर तिनमा रोग लागेकाले किसान चिन्तित छन् । उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो । सुन्तला बगैँचा लगाउनुभएका भीमबहादुर थापाले जरा कुहिने र बोक्रा सुक्दै जाने तथा बेमौसममा पहेँलो भएर झर्ने रोग सुन्तलामा लागेको बताउनुभयो । रोगको अनुसन्धान गरी निदान पहिल्याउन स्थानीय सरकारले सघाउनुपर्ने उहाँको माग छ । आफ्नो बगैँचामा पनि लटरम्म सुन्तला फलेका तर रोगव्याध लागेकाले गर्जो टार्ने चिन्ताले भरतसिंह मगरलाई सताएको छ । सुन्तला बेचेर घरखर्च टार्ने र घरव्यवहार मिलाउने आफ्ना योजना भताभुङ्ग भएको दुखेसो उहाँले गर्नुभयो । तनहुँको लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरामा उत्पादित सुन्तला स्थानीय तहमा मात्र नभई काठमाडौँ उपत्यकामा पनि खपत हुने गरेको छ । गत वर्ष लुङग्रिङ गाउँबाट रु तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
धनगढी: धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रु ३८ लाख मूल्य बराबरको चामल बिक्री गरेको छ । यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो । सुदूरपश्चिमका डोटी, डडेल्धुराका एक–एक र कैलालीका दुई स्थानमा सञ्चालित सुपथ मूल्य पसलबाट तीनथरीका पाँच सय ४० क्विन्टल चामल बिक्री भएको कार्यालयका निमित्त प्रमख कल्पना बिष्टले जानकारी दिनुभयो । डडेल्धुरास्थित गोदामबाट एक सय ५६ क्विन्टल, डोटीको सिलगढीस्थित गोदामबाट दुई सय २६ क्विन्टल, कैलालीको धनगढीस्थित बिक्री कक्षबाट एक सय सात क्विन्टल र धनगढीको मोहनपुर गोदामबाट ४९ क्विन्टल चामल बिक्री भएको उहाँले जानकारी दिनुभयो । कम्पनीले सबै प्रकारका चामलमा प्रतिकिलो रु पाँच छुट दिएर बिक्री गरिरहेको उहाँले बताउनुभयो । सुपथ मूल्य पसल आगामी माघ २ गतेसम्म सञ्चालनमा रहने तथा दुई हजार क्विन्टल उहाँले जानकारी दिनुभयो ।
म्याग्दी: यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार पाँच सय भेडा (च्यालुक) र सात हजार पाँच सय च्याङग्रा बिक्री भएको हो । “मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा रु २८ हजारदेखि ३८ हजारका दरले च्याङग्रा बेचेका छन्”, उहाँले भन्नुभयो, “सरदर मूल्यअनुुसार रु १६ बराबरको च्याङग्रा बिक्री भएका छन् ।” गत वर्ष सात हजार भेडाच्याङग्रा बिक्री भएको थियो । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायतका जिल्ला तथा सहरमा मुुस्ताङका भेडाच्याङग्रा बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेकाका कारण यसपाली भेडाच्याङग्राको व्यापार राम्रो भएको व्यापारीहरुले बताएका छन् । जडीवुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ भएकाले दसैँ तिहारमा हिमाली च्याङग्राको मासुुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताउनुभयो । तीन वर्ष पूरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । बजारमा गत वर्षको तुलनामा प्रतिगोटा च्याङग्रा रु १० हजार कम मूूल्यमा बिक्री भएको छ । मुस्ताङको घरपझोङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएको छ । यहाँका किसानको मुख्य आयस्रोत च्याङग्रापालन हो ।
कैलाली: विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो । टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन् । हरेक वर्ष गरेर १० तोला सुन जोडेकी उहाँले आजभोलि खासै गहना लगाउनुहुँदैन । “विगतमा सबैले लगाउँथे, जसले धेरै गहना लगायो उसको इज्जत बढेको जस्तो लाग्यो”, उहाँले भन्नुभयो, “तर आजभोलि त्यस्तो छैन, गहना भएका र नभएका दिदीबहिनी उस्तै देखिन्छन् ।” घरमा सुरक्षा नभएर भएका गहना पनि अधिकांश महिलाले बैंकको लकरमा गहना राखेका छन् । अधिकांश महिला बजारमा पाइने नक्कली गहनामा सजिने गरेका छन् । एकपटक लगाएको गहना तथा पहिरन फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा हालिसकेपछि पुनःलगाउन लगाउन नचाहेर पनि गहना मोह घटेको हुनसक्ने बताइन्छ । जोशीपुरकी सविना श्रेष्ठलाई गहना लगाउन असाध्यै मनपर्छ । हरेक पर्वमा गहनामा सजिन मन पराउने सविनालाई आजभोलि सामाजिक सञ्जालले गाह्रो भएको छ । एकपटक लगाएको गहनाको फोटो खिचिसकेको र फेसबुक, टिकटकमा हालिसकेपछि अर्को पटक लगाउन मन लाग्दैन । “गहना जस्तो कुरा पटकपटक किन्न सकिन्न, सुनको मूल्य डेढ लाख बढी पुगेको छ”, उहाँले भन्नुभयो, “त्यसैले बजारमा पाइने नक्कली गहना किन्यो, लगायो सहज भएको छ ।” गहना धेरै लगाउँदा सुरक्षा जोखिमसँगै नहुने महिलाले असमानता महसुस गर्छन् । सबै समान देखिएमा समाजमा पनि शान्ति स्थापना हुन्छ । शिक्षक रुपा साउँद गहना सम्पत्ति भए पनि गहनाले सुरक्षा चुनौती बढाउने बताउनुहुन्छ । “गहना धेरै लगाउनु खासै राम्रो पनि होइन, महिलाले सामान्य एकसरो गहना लगाएको राम्रो देखिन्छ, त्यसले अन्यलाई समस्या पनि हुँदैन”, उहाँ भन्नुहुन्छ, “तडकभडक नगरेको राम्रो हो । तर पछिल्लो समय हरेक पर्व नयाँ पहिरन लगाउने चलनले पनि खर्च बढाएको छ । खर्च कसरी कम गर्ने भन्नेबारेमा ध्यान दिनुपर्छ ।” सुनचाँदी व्यवसायी प्रविण साहु विगतमा जस्तो सुनचादीको कारोबार नरहेको बताउनुहुन्छ । “सुनको मूल्य बढेकाले पनि व्यवसायमा असर परेको छ । अर्कोतर्फ गहना अत्यावश्यक भएकाले मात्र लगाउने गर्नाले मर्मतको काम पनि घटेको छ”, उहाँले भन्नुभयो, “सुनचाँदी व्यवसायमा ५० प्रतिशत गिरावट आएको छ ।”
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएकामा आज खरिददर एक सय ३४ रुपैयाँ पाँच पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । साथै हिजो युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा रहेकामा आजका लागि भने खरिददर एक सय ४७ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २८ पैसा र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ छ पैसा र बिक्रीदर नौ रुपैयाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ एक पैसा र बिक्रीदर १९ रुपैयाँ नौ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ एक पैसा र बिक्रीदर चार रुपैयाँ तीन पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९५ पैसा र बिक्रीदर १० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २४ पैसा र बिक्रीदर १७ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ३६ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
यसपालीको दसैँ पर्वका लागि मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा बाहिरिएका छन् । मुस्ताङका कृषकले पालेका चार हजार आठ सय, डोल्पा र मुगुबाट ल्याइएका तीन हजार दुई सय भेडाच्याङ्ग्रा विभिन्न जिल्ला तथा सहरमा बिक्री भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख पशु चिकित्सक लालमणी अर्यालले उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यसपाली भेडाच्याङ्ग्राको बिक्री बढेको बताउनुभयो । “घटस्थापनाको दिनदेखि शुरु भएको स्वास्थ्य परीक्षण गरेर च्याङ्ग्रा बजार पठाउने काम मङ्गलबार सकिएको छ,” उहाँले भन्नुभयो, “कृषकले तौलअनुसार प्रतिगोटा रु २८ हजारदेखि ३७ हजारका दरले च्याङ्ग्रा बिक्री गरेका छन् ।” सरदर मूल्यअनुसार मुस्ताङ, डोल्पा र मुगुका कृषकले रु २६ करोड ४० लाख मूल्य बराबरको भेडाच्याङ्ग्रा बिक्री गरेका केन्द्रका प्रमुख अर्यालले बताउनुभयो । पाँच सय भेडा (च्यालु) र सात हजार पाँच सय च्याङ्ग्रा बिक्री भएको हो । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत सहरमा मुस्ताङी भेडाच्याङ्ग्रा बिक्री भइरहेका छन् । जडिबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिने भएकाले दसैँतिहारमा हिमाली च्याङ्ग्राको मासुुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताउनुभयो । तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुनेगर्छ । यसपाली गत वर्षको तुलनामा मूल्य सस्तीएकाले च्याङ्ग्राको बिक्री बढेको व्यापारी टसी छेवाङ गुरुङले बताउनुभयो । “गत वर्ष खोरमै प्रतिगोटा रु ४० हजारभन्दा बढी मूल्य तिरेर च्याङ्ग्रा खरिद गरेका थियौँ, यसपाली ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेर ल्याएका छौँ,” उहाँले भन्नुभयो “ठाउँअनुसार पाँचदेखि १० हजार कम मूल्यमा च्याङ्ग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटेको हो ।” गत वर्ष काठमाडौँ पोखरामा प्रतिगोटा रु ५५ हजारसम्म परेको च्याङ्ग्राको मूल्य यसपाली रु ४५ हजारभन्दा कम मूल्यमा बिक्री भएको छ । गत वर्ष बजारमा ल्याएको च्याङ्ग्रा महँगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान ब्यहोरेको गुनासो गरेका थिए । मुुस्ताङको बारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङ्ग्रा पालिएका छन् । उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङ्ग्रापालन भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका कृषक डिण्डुप गुरुङले बताउनुभयो । विसं २०८० मा सात हजार, २०७९ मा छ हजार आठ सय, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको सङ्ख्यामा मुुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।
बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले बागलुङमा १०४ वटा च्याङ्ग्रा ल्याउनुभयो । तीन दिनअघि बागलुङका च्याङ्ग्रा व्यापारी महेन्द्र केसीले ७४ च्याङ्ग्रा भित्र्याउनुभएको थियो । मुस्ताङी च्याङ्ग्राको मूल्यमा गिरावट आएपछि माग बढेको हो । एक सय चार वटा च्याङ्ग्रामध्ये ५० च्याङ्ग्रा बागलुङ आइपुग्दै बिक्री भइसकेको छ्याङ्तो गुरुङले बताउनुभयो । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरबाट ११ दिन लगाएर बागलुङमा च्याङ्ग्रा ल्याएको गुरुङको भनाइ छ । गत वर्ष रोज्जा च्याङ्ग्रालाई रु ५५ हजारमा बिक्री गरेको बताउँदै यो वर्ष रु ४५ हजारमा बिक्री गरिरहेको बताउनुभयो । “छोसेरबाट हिँडेर ११ दिनमा बागलुङ आइयो, बाटोमै ५० च्याङ्गा बिक्री भइसके, अझै ५४ च्याङ्ग्रा रहेका छन्, अहिले च्याङ्ग्राको भाउ सस्तिएका कारण व्यापार फष्टाएको छ”, गुरुङले भन्नुभयो, “परम्परागतरुपमा पाल्दै आएको च्याङ्ग्रा बिक्रीका लागि आफैँ बिक्री गर्दै आएको छु, आफैँ च्याङ्ग्रा उत्पादन र आफैँ बिक्री गर्दा नाफा धेरै हुन्छ ।” कोसेलीका लागि र दसैँमा च्याङ्ग्राको मासु खाने चलनका कारण मुस्ताङको च्याङ्ग्रा बिक्रीका लागि म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरासम्म पुग्ने गरेको छ । च्याङ्ग्राको मूल्यमा १० देखि १५ हजारसम्म घटेकाका कारण चाँडो व्यापार भएको च्याङ्ग्रा व्यापारी छेक्तेन गुरुङले जानकारी दिनुभयो । बागलुङमा महेन्द्र केसीले भित्र्याउनुभएको ७४ च्याङ्ग्रामा १६ वटा बिक्री भइसकेको बताउनुभयो । गत वर्ष च्याङ्ग्राको व्यापार घट्दा यस वर्ष बागलुङका थोरै च्याङ्ग्रा व्यापारी बागलुङबाट मुस्ताङ पुगेर च्याङ्ग्रा खरिद गरेको केसीले जानकारी दिनुभयो । च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा भाउ महङ्गो भएपछि यस वर्ष केही सस्तो भएको हो । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्राय: उपभोक्ताले दसैँमा भेडाच्याङ्ग्रा खोज्ने केसीले जनाए ।
काठमाडौं: “रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्” न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहनुभएको छ । तर ग्राहकको सङ्ख्या भने पातलो छ । दसैँ र तिहार जस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ । तर यसपटक भने राम्रो व्यापार नभएको उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ, “दुई÷चार रुपैयाँ कमै नाफा खाएर सामान कटाउने योजना हो तर यसपाली व्यापार कम छ ।” पर्वको मुखैमा प्राकृतिक विपत्को असर बजारमा देखिएको उहाँको भनाइ छ । यद्यपि फुलपाती सुरु भएपछि व्यापार बढ्छ की भन्ने उहाँको झिनो आशा छ । दसैँमा किनमेलका लागि न्युरोडमा भेटिनुभएकी नुवाकोटकी सुनिता छिनाललाई आफ्नो भन्दा छोराछोरीको खुसी महत्वपूर्ण लाग्छ । चिसो मौसम सुरु भएकाले दसैँमा छुटको मौका छोपेर बालबच्चाका लागि लुगाफाटा किन्ने गर्नुहुन्छ । “आफ्नो भन्दा छोराछोरीलाई दसैँमा खुसी पार्न पाए हुन्थ्यो भन्ने लाग्छ”, उहाँले भन्नुभयो । ठमेलमा किनमेल गर्न पुग्नुभएका गोपाल बुढाथोकीले यस पाली मुल घर सर्लाही नजाने बताउनुभयो । बाढीपहिरोका कारण बाटो राम्रो नभएकाले आफू घर नजाने उहाँले बताउनुभयो । “काठमाडौँमा जे जति परिवारका सदस्य छन्, सबै मिलेर यतै दसैँ मनाउने सोचमा छौँ”, उहाँले भन्नुभयो, “किनमेल पनि भर्खरै सुुरु हुँदैछ ।” उहाँले जाडोको लुगा भने दशैंको पर्व छोपेर खरिद गर्ने गरेको बताउनुभयो । पर्वमा भारी छुट पाउने हुँदा उहाँलाई आवश्यक सामग्री किन मनपर्ने सुनाउनुभयो । काभ्रेपलाञ्चोककी रोशनी तामाङले यो दसैँमा किनमेलमा खासै जोड नदिएको बताउनुभयो । ठमेल कालापत्थरमा जाडोमा लगाउने ज्याकेट खरिद गर्न आउनुभएकी उहाँले सामान्य खर्चमा दसैँ टार्ने योजना रहेको सुनाउनुभयो । गाँउ बाढीका कारण तहसनहस भएपछि उहाँलाई यसपालीको दसैँ मनाउने जाँगर चलेको छैन । दसैँ पनि काठमाडौँमै मनाउने योजना रहेको सुनाउनुभयो । “आफन्ती सबै दुःखमा छन्, दसैँ मनाउनु कसरी ?”, उहाँले भन्नुभयो । भृकुटीमण्डका व्यापारी जीवन राईले विगतको तुलनामा व्यापार आधा घटेको बताउनुभयो । कोभिडको बेलामा जुन खाले आर्थिक मर्का परेको थियो त्यस्तै, असर बजारमा फेरि देखा परेको उहाँको अनुभव छ । “मान्छेहरुको चहलपहल त छ, तर व्यापार सोचे जस्तो छैन”, उहाँले भन्नुभयो ।
बाँके: जिल्लाको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर भित्राउने याजनामा रहेका किसान गएरातिको वर्षाले क्षति पुर्याएपछि चिन्तित बनेका हुन् । काटेर भित्राउने बेलाको बाली कहिले हावहुरीले कहिले वर्षाले क्षति गराइरहेको राप्तीसोनारी–३ की बजारी थारुले बताउनुभयो । “पानीले भिजेर धान खेतमा जमरा झै उम्रेको छ, अझै पानी आयो भने वर्षभरि खाने अन्न नष्ट हुन्छ”, उहाँले भन्नुभयो । करिब छ कट्ठा जमिनमा लगाएको महेन्द्र छ सय छ जातको धान भिजेको बताउँदै थारुले अहिले घाम देखिन थालेकामा खुशी व्यक्त गर्नुभयो । यस बाहेक गाउँका करिब ११ परिवारको धानबालीमा गएरातिको वर्षाले क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो । राप्तीसोनारीका किसान रणबहादुर थारुले आफ्नो सबै धानबालीमा वर्षाले क्षति पुगेको बताउनुभयो । काटेर राखेको करिब १० कट्ठामा लगाएको बाली पानीले भिजाएको उल्लेख गर्दै उहाँले धान उम्रिने अवस्थामा पुगेको बताउनुभयो । “मौसम सफा भए बाली भित्राउन पकिन्थ्यो किरु घाम नलागे सबै धान जमिनमै नष्ट हुन्छ । वर्षभरि खाने अन्न नष्ट भए के खानेरु”, उहाँले प्रश्न गर्नुभयो । स्थानीय पत्रकार विमला चौधरीले करिब २ घण्टा परेको वर्षाले किसानको धानबालीमा क्षति पुर्याएको उल्लेख गर्दै भिजेको धान सबै उम्रन थालेको उल्लेख गर्नुभयो । राप्तीसोनारी–३ का वडाध्यक्ष मिनराज खड्काले वर्षाका कारण काटेर राखिएका र ढलेका धानमा केही क्षति पुगेको बताउनुभयो । वडाध्यक्ष खड्काले वडा कार्यालयबाट क्षतिको विवरण सङ्कलन गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार राप्तीसोनारी–३ र ४ का करिब ११ परिवारका किसानको धानबालीमा क्षति भएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ ।