दमौली: ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ । गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाले स्ट्रबेरीखेती सुरु गरेको हो । गाउँपालिकाका कृषि प्राविधिक प्रवेश पण्डितका अनुसार स्ट्रबेरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा दुई हजार दुई सय ५०स्ट्रबेरीका बिरुवा रोपिएका छन् । परीक्षणका रूपमा खेती गरिएको हो । तीन प्रजातिका बिरुवा रोपिएको छ । केहीमा रासायनिक र केहीमा जैविक मल हालेर बिरुवा रोपिएको बताउँदै उहाँले भन्नुभयो, “कुनचाहिँ राम्रो हुन्छ परीक्षण गर्छौँ र त्यसैअनुरुप खेती विस्तार गर्नेछौँ ।”ऋषिङको हावापानी स्ट्रबेरीका लागि सुहाउँदो भएकाले प्रतिफल पनि राम्रो हुने प्राविधिक पण्डितको विश्वास छ । अपेक्षाअनुसार उत्पादन भएमा खेती विस्तार गरिने उहाँले बताउनुभयो ।
काठमाडौं: सरकारले आमउपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ६३ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । दसैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल ल्याइएको कम्पनीले जनाएको छ । काठमाडौँ उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालित छन् । अनलाइनमार्फत अर्डर लिएर उपभोक्ताको भान्छासम्म उपभोग्य सामग्री पु¥याइने कम्पनीले जनाएको छ । सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो रु पाँच, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी÷गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो रु सात छुट पाउनेछन् । त्यस्तै, जिउँदो खसीबोका तथा च्याङ्ग्रा र दुग्ध विकास संस्थानको घ्यूमा प्रतिकिलो रु १० छुट दिइने कम्पनीले जनाएको छ । पर्वोत्सव सहुलियत पसलमा करिब ५० हजार क्विन्टल खाद्यन्न बिक्री गर्ने लक्ष्य लिइएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले राससलाई जानकारी दिनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ २३ गते चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । सुपथ पसल सञ्चालनका लागि सरकारले रु तीन करोड बजेट व्यवस्थापन गरेको छ । कम्पनीले एक हजार पाँच सय खसीबोका तथा तीन सय च्याङ्ग्रा काठमाडाँै ल्याएर थापाथलीबाट बिक्री गरिने जनाएको छ । मकवानपुर, तुलसीपुर, मुस्ताङलायत उपत्यका आसपासका क्षेत्रबाट खसीबोका तथा च्याङ्ग्रा ल्याइने सूचना अधिकारी सुवेदीले बताउनुभयो । उहाँका अनुसार घटस्थापनादेखि नवमीको दिनसम्म खसीबोका तथा च्याङ्ग्रा बिकी गरिनेछ । नेपालीको प्रमुख चाड दसैँ, तिहार र छठका समयमा दैनिक उपभोग्य वस्तुको माग अत्यधिक हुने र सो समयमा गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउने वातावण तयार गर्ने उद्देश्यले सहुलियत पसल सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । सहुलियत पसल सञ्चालनसँगै चाडपर्वका समयमा अस्वाभाविक बजार मूल्य नियन्त्रणमा सघाउ पुग्ने सरकारको विश्सास छ ।
काठमाडौं: उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला रु आठ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५६ हजार चार सयमा कारोबार भएको छापवाला सुनको मूल्य आजका लागि रु एक लाख ५५ हजार छ सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार आठ सय ८० निर्धारण भएको छ ।
पर्वत: बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ । महाशिला गाउँपालिकामा पहिलोपटक ओखरखेती थालिएको हो । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत गाउँपालिकाका छवटै वडामा ओखरखेती सुरु गरिएको छ । गाउँमा बाँझो रहेको जमिन सदुपयोग तथा बाँदरबाट हुने क्षति न्यूनीकरणका लागि ओखरखेती थालिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताउनुभयो । गण्डकी प्रदेश सरकारबाट १० हजार बिरुवा प्राप्त भएका थिएभने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ बागलुङमार्फत चक्लाबन्दीमा आधारित खेती कार्यक्रमअन्तर्गत एक हजार पाँच सय बिरुवा थप गरी ११ हजार पाँच सय बिरुवा रोपिएको छ । पालिकाका दुई सय जना किसानले व्यावसायिक रूपमा ओखर रोपेका छन् । ओखर रोपेको तीन वर्षदेखि पाँच वर्षभित्रमा फल लाग्छ । दश वर्षमा पूर्ण रूपमा फल लाग्ने अध्यक्ष भुसालले बताउनुभयो । एउटा बोटले दश वर्ष पुगेपछि चार हजार दुई सयभन्दा बढी दाना उत्पादन दिने अनुमान छ । गाउँपालिकाले प्रतिबिरुवा रु चार सय ४५ का दरले खरिद गरेर किसानलाई वितरण गरेको हो । बिरुवामात्र नभई खाडल खन्न र रोप्नका लागि पनि पालिकाले अनुदान पनि उपलब्ध गराएको थियो । रोपेका सबै बोट हुर्किएर फल लागेमा अबको केही वर्षमा किसानले प्रतिफल पाउने छन् । जनशक्ति अभाव र बाँदर आतङ्कले बर्सेनि बाँझो जमिनमा ओखरका बिरुवा रोपिएका पालिकाले जनाएको छ । पालिकाले आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेश सरकारसँग बाँझो जमिन सदुपयोग कार्यक्रमअन्तर्गत रु एक करोडको सम्झौता गरी ओखरखेती सुरु गरेको हो । बाँदर नियन्त्रणका लागि रु ३० लाख खर्चेर बाँदर निकुञ्जमा लगेर छाड्ने अभियान थाले पनि नियन्त्रण हुन नसकेपछि पालिकाका किसानलाई कम क्षति हुने बाली लगाउनतर्फ उत्प्रेरित गर्न थालिएको छ । यसअघि गत वर्षदेखि व्यावसायिक तरुलखेती सुरु गरेको पालिकाले यस वर्षदेखि व्यावसायिक कागती र सुन्तलाखेती विस्तार गरेको छ । कागतीका १० हजार र सुन्तलाका १० हजार बिरुवा किसानलाई वितरण गरिएको थियो । त्यसैगरी यस वर्षदेखि मेडाडेमियानट खेती समेत थालिएको छ । जापानिज कटुसको नामले चिनिने मेकाडेमिया नटखेती यस वर्षदेखि परीक्षणका रूपमा लगाइएको छ । झण्डै सात हजार बिरुवा लगाइएको महाशिला गाउँपालिकाका अध्यक्ष भुसालले बताउनुभयो । यसअघि धान, मकै, कोदोलगायत बाली लगाउन छाडेर बाँझिएको अधिंकाश जमिन फलफूलखेती विस्तार अभियानले सदुपयोग भएको उहाँले बताउनुभयो ।
भोजपुर: पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ । खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो । जिल्लामा उत्पादन भएको खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन । यसको माग तराईदेखि काठमाडाँैसम्म पनि उत्तिकै छ । अकबरेको व्यावसायिक खेती गर्दै आउनुभएका भोजपुर नगरपालिका–५ का कृषक फवीन्द्र प्रधानले मेहनत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयका दरले खुर्सानी बिक्री हँुदै आएको छ । मैले करिब २० रोपनी क्षेत्रफलमा व्यावसायिक कृषि गर्दै आइरहेको छु ।” खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर यसको खेती गर्नेहरु पनि छन् । पौवादुङमा गाउँपालिकाका धु्रवकुमार राईले त्यसैमध्येको एक हुनुहुन्छ । दश वर्षभन्दा बढी वैदशिक रोजगारीमा बिताउनुभएका उहाँ पछिल्लो पाँच वर्षदेखि व्यावसायिक खुर्सानी खेतीमा रमाउनुभएको छ । राईले गाउँमै धु्रव कृषि तथा पशुपालम फर्म खोलेर व्यावसायिक रुपमा कृषि कर्म गर्दै आउनुभएको हो । “वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान लाग्ने खर्चको सही सदुपयोग गर्न सकिएमा स्वदेशमै पनि केही गर्न सकिने रहेछ”, राईले भन्नुभयो । रु दुई लाख खर्च गरेर दुई हजार पाँच सय विरुवा अकबरे लगाउन सके मात्रै राम्रो आम्दानी लिन सकिने राईको अनुभव छ । यसअघि मकै, कोदो, आलुलगायतको खेती गनेउहरु प्नि यतिबेला अकबरे लगाउन थालेको स्थानीय सीताराम प्रधानको भनाइ छ । पौवादुङमा गाउँपालिकामा व्यावसायिक अकबरे खुर्सानी सुरु गर्नुभएका मन्दिरा विश्वकर्माले यसबाट मनग्गे आम्दानी भएको बताउनुभयो । जिल्लाका षडानन्द, अरुण, भोजपुर, टेम्के मैयुङलगायत गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती भइरहेको छ । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार नेपालका प्रायः सबै भू–भागमा अकबरे खुर्सानीको खेती हुने भए पनि पहाडी जिल्लामा राम्रो उत्पादन हुने गरेको छ । प्रदेशका पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुुवासभा, भोजपुर लगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गरेको छ ।
काठमाडौं: स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोलामा रु छ सयले घटेको छ । सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला रु एक लाख ५७ हजार तीन सयमा कारोबार भएकामा सोही परिमाणको पहेँलो धातुको मोल आजका लागि रु एक लाख ५६ हजार सात सय निर्धारण भएको छ । यसैगरी, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार नौ सय १५ मा खरिदबिक्री भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय पाँच निर्धारण भएको छ ।
चितवन: यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको हो । पूर्वी चितवनको कालिका –६ खोलेसिमल बजारमा पौडेलले आफूले उत्पादन गरेको महलाई ब्रण्डिङ गरी महघरमार्फत बिक्री सुरु गरेका जानकारी दिनुभयो । उहाँले वार्षिक छ टन मह उत्पादन गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “महले बजार नपाएर घर थन्किने अवस्था भयो । यसलाई व्यावसायिक बनाएर अघि बढ्न लागेको हुँ ।” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको सहयोगमा ब्राण्डिङको काम सुरु गरिएको उहाँले बताउनुभयो । नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएका पौडेलले जिल्लामा हाल ३० हजार बढी मौरीका घार रहेको जानकारी दिनुभयो । यसबाट वार्षिक आठ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । उत्पादित महमध्ये अहिले पाँच सय मेट्रिक टन मह बिक्री हुन नसकेर किसानको घरमा थन्किएको उहाँले बताउनुभयो । उहाँ भन्नुभयो, “फेरि मह निकाल्ने समय भयो । पुरानो मह बिक्री नहुँदा किसान चिन्तित छन् ।” गत वैशाखदेखि राज्यले मह आयात रोक्दा केही सहज भएको भए पनि पुनः आयात खुलाउन व्यवसायी लाग्दा किसान समस्यामा पर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नेपालमा उत्पादित महले बजार धान्न नसके आयात गर्न सकिन्छ । बाहिरबाट आयातित महलाई ६० प्रतिशत भन्सार लगाउन जरुरी छ ।” यहाँ हाल सेरेना र मेरिफेरा नामक मौरी पालिँदै आएको छ । यसबाट वार्षिक चार हजार नौ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको निवर्तमान अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सेरेनाबाट एक हजार दुई सय मेट्रिक टन र मेरिफेराबाट तीन हजार सात सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । उत्पादित महमध्ये तीन हजार एक सय ४५ मेट्रिक टन मह बिक्री नहुँदा किसानको घरमा राख्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । अहिले सरकारले आयात रोक्दा केही राहत महसुस भएको उहाँको भनाइ छ ।
काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु पाँच सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ । महसङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ५७ हजार तीन सय निर्धारण भएको छ जबकी आइतबार प्रतितोला रु एक लाख ५६ हजार आठ सयमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय १५ निर्धारण भएको छ ।
घोराही: दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो । राप्ती गाउँपालिका–७ सिसहनिया निवासी विद्याबहादुर चौधरी विगत चार वर्षदेखि केराखेती गर्दै आउनुभएको छ । तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केराखेतीमा लाग्नुभएका उहाँले वार्षिक रु १३/१४ लाख बराबरको केरा बिक्री गर्दै आएको बताउनुहुन्छ । केराखेतीबाट राम्रो आम्दानी लिँदै आउनुभएका किसान चौधरी भन्नुहुन्छ, “अन्य कृषि व्यवसायको तुलनामा केराखेतीले राम्रै आम्दानी दिने गरेको छ । खासै मेहनत पनि गर्न पर्दैन ।” रोपेपछि समय–समयमा गोडमेलसँगै पानी र मलको व्यवस्था गर्नुपर्ने भए पनि अन्य बालीजस्तो मेहनत गर्न नपर्ने उहाँ बताउनुहुन्छ । उहाँ अन्य कृषिबालीजस्तो जोखिम नहुने र परिवारसँग घरमा बसेर राम्रो आम्दानी गर्न सकिने भएकाले केराखेतीबाट सन्तुष्ट रहेको र आगामी दिनमा खेतीलाई बढाउँदै लैजाने तयारीमा रहेको बताउनुहुन्छ । किसान चौधरीले भन्नुभयो, “उत्पादन भएको केरा बिक्रीमा समस्या छैन, अहिलेसम्म उत्पादन भएको केरा व्यवसायीले बारीबाटै लग्ने गरेका छन् ।” भारतबाट आउने केराले स्थानीय व्यवसायीलाई असर गर्ने गरे पनि जिल्लामा थोरै उत्पादन हुने गरेकाले अझै त्यो खालको समस्या बेहोर्नु नपरेको उहाँ बताउनुहुन्छ । उहाँजस्तै सोही ठाउँका रणप्रसाद सुवेदीले पनि छ बिघा जमिनमा व्यावसायिक केराखेती गर्दै आउनुभएको छ । अन्य कृषि बालीको तुलनामा कम मेहनतमै राम्रो आम्दानी लिन सकिने भएकाले विगत तीन वर्षदेखि व्यावसायिक केराखेतीमा जोडिनुभएको हो । केराखेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नदेखिएकाले धानखेती हुने जमिन मासेर केराखेतीमा लागेको बताउनुभयो । थोरै लगानीमा एक्लै गर्न सकिने र रोपेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले केराखेतीमा लागेको बताउनुहुन्छ । उत्पादन भएको केरा अहिले बिक्रीको समस्या नभएको भन्दै सुवेदीले भन्नुभयो, “केराको बिक्रीमा पनि समस्या छैन । उत्पादन भएको केरा राम्रै मूल्यमा बिक्री हुने गर्छ ।” कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार जिल्लामा छ सय ७० हेक्टर जमिनमा व्यावसायिक केराखेती हुने गरेको छ । त्यसमध्ये पाँच सय ३० हेक्टरमा रोपेको केराले वार्षिक चार हजार पाँच सय ३५ मेट्रिक टन उत्पादन दिने गरेको छ । यो उत्पादनले अन्य समयमा बजारको करिब ६० प्रतिशत माग धान्ने गरे पनि चाडपर्वमा बाहिरी जिल्लाकै भर पर्नुपर्ने अवस्था रहेको कृषि अर्थविज्ञ लामिछाने बताउनुहुन्छ । जिल्लामा देउखुरीको राप्ती, गढवा गाउँपालिकासँगै घोराही उपमहानगरपालिका, शान्ति नगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक केराखेती हुने गरेको छ ।