ढोरपाटन:  सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्र...

काठमाडौं:    चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात भएको छ ।  भन्सार विभागको तथ्याङ्कअनुसार रु छ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरको चार लाख ५४ हजार नौ सय ५८ थान स्मार्टफोन आयात भएको हो । यस अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । विभागका अनुसार रु ११ अर्ब छ करोड ५२ लाख चार हजार बराबरको पेट्रोल आयात भएको छ भने रु १३ अर्ब ६४ करोड ५२ लाख ५० करोड बराबरको डिजेल आयात भएको छ ।  त्यस्तै, एलपी ग्यास रु नौ अर्ब ४२ करोड ५६ लाख ८५ हजार बराबरको आयात भएको छ । उक्त अवधिमा सवारी साधनको आयात पनि उच्च देखिएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार रु दुई अर्ब ९४ करोड बराबरको मोटरसाइकल र रु दुई अर्ब ४३ करोड २१ लाख २६ हजार बराबरको विद्युतीय सवारी आयात भएको छ । नेपालबाट बढी निर्यात हुनेमा कार्पेट, चिया, जुट, धागोलगायतका वस्तु छन् । विभागका अनुसार साउन र भदौ महिनामा सबैभन्दा धेरै रु एक अर्ब ९९ करोड ९६ लाख सात हजार बराबरको कार्पेट निर्यात भएको छ ।  त्यस्तै रु एक अर्ब १४ करोड २४ लाख ३२ हजार बराबरको चिया निर्यात भएको छ । जुट, धागो, जुसलगायतका वस्तु बढी निर्यात हुनेमा रहेका छन् ।  चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा कूल रु दुई खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार बराबरको वैदेशिक व्यापारमा नेपालले रु दुई खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख २३ हजार बराबर व्यापार घाटा व्यहोरेको छ ।  साउन र भदौ महिनामा रु दुई खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार बराबरको आयात हुँदा रु २५ अर्ब नौ करोड ३१ लाख तीन हजार बराबरको मात्रै निर्यात भएको छ ।

काठमाडौं:    सरकारले उखु र दूध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहलमा अर्थ मन्त्रालयले आज उखु किसानका लागि रु एक अर्ब ४५ करोड ३२ लाख र दुध किसानको भुक्तानीलगायतका लागि रु ६० करोड निकासा गरेको मन्त्रालयले जनाएको छ ।  यसअघि पनि कृषि मन्त्रालयको पहलमा मन्त्रिपरिषद्को बैठकले दूध किसानको रकम भुक्तानीका लागि दुग्ध विकास संस्थान ९डिडिसी० लाई उक्त रकम ऋण दिने निर्णय गरेको थियो ।     मन्त्रालयका अनुसार आठ जिल्लाका उखु किसानको गतवर्षको रकम भुक्तानीका लागि जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यलयमार्फत किसानकै बैक खातामा रकम जाने व्यवस्था गरिएको छ ।  कञ्चनपुर, नवलपरासी पश्चिम, सुनसरी, सिराहा, सर्लाही, महोत्तरी, रौतहट र बाराका उखु किसानले अब सरकारले उपलब्ध गराउँदै आएको गतवर्षको अनुदान रकम पाउने भएका हुन् ।       त्यस्तै लामो समयदेखि दूध बिक्री गरे वापतको रकम पाउन नसकेका दूध किसानलाई पनि सरकारले प्रदान गरको ऋणमार्फत रकम प्रदान गरिने दुग्ध विकास संस्थानका महाप्रबन्धक सूर्यप्रसाद पौडेलले बताउनुभयो । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीकै पहलमा सरकारले डिडिसीलाई ऋण उपलब्ध गराउने निर्णय गरको  हो । उहाँले उखु किसानको अनुदान रकम भुक्तानीलाई पनि ताकेता गर्नुभएको  थियो  ।  मन्त्री अधिकारीले दसैँ अघिनै किसानको रकम भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको  थियो । 

काठमाडौँ:  लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।   तोलामा रु पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ ।   अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ६० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६१ हजार दुई सय निर्धारण भएको छ ।   चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु एक हजार नौ सय ५५ मूल्य निर्धारण गरेको छ ।

भोजपुर:     दिनानुदिन बाँदरको उप्रदो बढ्न थालेपछि यहाँका किसान समस्यामा परेका छन् । बाँदरका कारण जिल्लाका तल्लो भेग तथा वन जंगल आसपासका बस्तीका किसान समस्यामा परेका हुन् । बाँदरले खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि बस्ती नै छाड्नुपर्ने अवस्था रहेको किसानहरुको भनाइ छ ।        बाँदरका कारण जिल्लाका अधिकांश भू–भागका स्थानीयले समस्या भोग्दै आएका छन् । धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदासमेत बाँदरले दुःख दिने गरेको स्थानीयको भनाइ छ ।  बाँदरको उप्रदो बढ्न थालेपछि किसानले बस्ती नै छाड्न थालेका छन् । बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेको स्थानीयको भनाइ छ ।      बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसाद राई गाउँपालिका दलगाउँका स्थानीय दलबहादुर मगरले बताउनुभयो । बाँदरको आतङ्क बढ्दा बस्ती नै खाली हुने अवस्था आएको उहाँको भनाइ छ ।  “किसानको मुख्य शत्रु नै बाँदर बनेको छ”, उहाँले भन्नुभयो, “बाँदरका कारण उर्वर जमिन बाँझिएका छन्, बाली लगाएर पनि बाँदरबाट बचाएर खाने अवस्था छैन, छिनभरमा वर्षदिनका मेहनत नष्ट पार्छन् ।”      बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका छन् । बाँदरले वस्तीमा पसेर दुुःख दिन थालेपछि यहाँ दशभन्दा बढी घर स्थानीयले गाउँ नै छाडेका उहाँले बताउनुभयो ।  दश÷बाह्र वर्षसम्म कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरि नै बाँदरको आतंक बढेको टेम्केमैयुङका स्थानीय महेन्द्र राईले बताउनुभयो । बाँदरका कारण गाउँबस्तीमा बस्न नसक्ने अवस्था आएको उहाँको भनाइ छ ।      “बाँदरबाट बचाएर अन्नबाली खाने अवस्था छैन”, उहाँले भन्नुभयो, “बाँदरले अन्नबाली पाक्न दिँदैन, कटेरा बनाएर हेरचाह गरेर पनि सम्भव छैन ।” बाँदर मकैको थाग्रा, धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् ।  स्थानीयले स–साना ठहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन् । बाँदर हेरचाह गर्नका लागि परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको किसान राईको भनाइ छ । बाँदरलाई यन्त्र उपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समय टेर्न छाडेको उहाँको भनाइ छ ।       “बाँदर धपाउने यन्त्र पड्काएर तर्साउँदा पनि भाग्न छाडेको अवस्था छ”, उहाँले भन्नुभयो, “दशदेखि १५ मिनेट मात्र बालीमा पस्दा सखाप नै पार्छन्, बाँदरले हैरान बनाएको छ ।” बाँदर आतङ्कले धेरै स्थानीय गाउँ छाड्न बाध्य रहेको टेम्केमैयुङ गाउँपालिका–६ कोटका वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । यहाँका १८ भन्दा बढी घर परिवार बाँदरका कारण विस्तापित भएको वडाध्यक्ष नेपालको भनाइ छ ।      “बाँदरका कारण किसानलाई चुनौती थपिएको अवस्था छ”, वडाध्यक्ष नेपालले भन्नुभयो, “बाँदरको उपद्रो बढ्दा बर्सेनि उर्वरभूमि बाँझो बन्दै गएका छन्, दिनानुदिन बाँदरको सङ्ख्या बढ्दो छ, बाँदरले धेरै दुःख दिएपछि स्थानीयले बस्ती नै छाडेको अवस्था छ ।”  बाँदरको व्यवस्थापनका लागि राज्यले उचित खालको कार्यक्रम ल्याउनुपर्ने वडाध्यक्ष नेपालको भनाइ छ । स्थानीयस्तरबाट मात्र गरिएको कोसिसले बाँदरको व्यवस्थापन गर्न नसकिने उहाँले बताउनुभयो । बाँदर समस्या अन्त्यका लागि राज्यले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

कञ्चनपुर:   मौसममा आएको परिवर्तनका कारण बाढीजन्य जोखिमका घटना बढ्न सक्ने संभावनालाई मध्यजनगर गरी कञ्चनपुरका स्थानीय तहले सर्वसाधारणलाई सचेत पार्ने कार्य अगाडी बढाएका छन ।  बाढीको उच्च जोखिम रहेका क्षेत्रमा नगर प्रहरी परिचालन गरी सर्वसाधारणलाई सचेत पार्ने कार्य हुन थालेको हो ।        जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण यही असोज १२ गते सम्म सामान्यदेखि भारी वर्षा हुने अनुमान सहितको सूचना जारी गरिए पछि स्थानीय तहहरुले नदी तटीय क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण,विपदमा खटिने विषयगत शाखाहरु,स्थानिय विपद व्यवस्थापन समिति, वडा कार्यालय, वडा व्यवस्थापन समिति, सामुदायिक विपद व्यवस्थापन समितिलाई सतर्क अवस्थामा राखेको छ ।        वर्षाले विशेष गरी कृषिमा बढी प्रभाव पार्ने भएकाले सो अवधिमा धानबाली नकाट्नका लागि जानकारी दिन नगर प्रहरीलाई परिचालन गरिएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले बताउनु भयो ।   “किसानको धानबालीमा वर्षाले प्रभाव पार्ने भएकाले सचेत गर्ने कार्य गरि रहेका छौं” उहाँले भन्नुभयो, “यो संगै थारु बाहुल्य क्षेत्रमा नदीनाला र पानी जम्मा हुने ठाउमा माछा मार्ने कार्य गरिने हुदा वर्षा भैरहेका बेला चटयाङ पर्ने  संभावना हुने भएकाले त्यस बारे पनि सचेत पार्दै छौं ।”       बाढी, डुवान र कटानको जोखिम देखिएमा सम्बन्धीत वडा कार्यालय, सुरक्षा निकायमा खवर गर्नका लागि आग्रह गरिएको उहाँले उल्लेख गर्नु भयो । भारी वर्षा भएमा बस्ती नजिक बाढी र डुवानको जोखिमलाई मध्यनजर गरी वडा कार्यालय र सम्बन्धीत सरोकारवालाहरुको समन्वयमा सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाईएको उहाँको भनाइ रहेको छ ।       विपद्को समयमा जेष्ठ नागरिक, अपाङगता भएका व्यक्ति, गर्भवती,बालबालिकाको विशेष ध्यान राख्नका लागि सर्वसाधारणमा आग्रह गरिएको अधिकृत बिष्टले बताउनु भयो ।  तत्काल खोज, उद्धार, प्राथमिक उपचार र राहतका लागि स्थानीय तहले आपतकालीन केन्द्रका सम्पर्क व्यक्ति र सुरक्षा निकायका सम्पर्क फोन नम्बरहरु जारी गरेका छन । बाढीजन्य जोखिमलाई मध्यनजर गरी भीमदत्त नगरपालिकाले नगर प्रहरी परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहनका लागि आग्रह गर्ने कार्य शुरुआत गरेको छ । 

काठमाडौं:    अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो ।      तोलामा रु तीन सयले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।  बुधबार प्रतितोला रु एक लाख ६० हजार ४०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६० हजार ७०० निर्धारण भएको छ ।      त्यस्तै चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला रु एक हजार ९५५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि पनि समान नै निर्धारण भएको छ । 

मुस्ताङ:    मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५०  च्याङग्रा छन् । घुम्ती गोठमा पालेको च्याङग्रा बेचेर उहाँले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउदै आउनुभएको छ ।       “वर्षमा ४०  जति च्याङग्रा बिक्री हुन्छ,” उहाँले भन्नुभयो “घरव्यवहार चलाउने र छोराछोरी पढाउने खर्च च्याङग्रा पालनबाटै जुटाउने गरेको छु ।” ३५ वर्षीय डिण्डुपले विदेश नगई पुर्खाले गर्दै आएको च्याङग्रापालनलाई निरन्तरता दिनुभएको हो ।       याराका डिण्डुपले जस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको प्रायजसो घरमा च्याङग्रा पालेका छन् । दशै तिहारमा पोखरा, काठमाडौ लगायत देशका विभिन्न जिल्लामा मासुका लागि मुस्ताङका किसानले पालेका च्याङग्राको उच्च माग हुन्छ ।       सडक यातायात र बजारको सुबिधासँगै च्याङग्रा पाल्ने पेशा व्यवसायिक बन्न थालेको लोघेकर दामोदरकुण्ड –४ घाराका पेमा छिरिङ गुरुङले बताउनुभयो ।  “पहिले दशै तिहारका लागि एक महिना पहिलेनै च्याङग्रा हिडाएर म्याग्दी, पर्वत, बागलुङ, कास्कीका गाउँबस्ती र पोखरामा लैजाने गरिन्थ्यो,” उहाँले भन्नुभयो “अहिले गाउँबाटै प्रतिगोटा रु ३३ देखि ३५ हजारमा च्याङग्रा बिक्री भइरहेको छ ।”      तीन वर्ष पुरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । जडिवुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । दशैँ तिहारमा हिमाली च्याङग्राको मासुुको खपत बढी हुुने गर्छ । बर्खामा समुन्द्रि सतहदेखि छ हजार मिटर उचाईको हिमालको फेदमा पुग्ने च्याङग्रा गोठहरु असोज लागेपछि बेशीतर्फ झार्ने गर्छन् ।       तीन÷चार वटा घरले वार्षिक रुपमा रु। एक लाख पचास हजार ज्याला दिएर च्याङग्रा हेर्न गोठाला राखेका छन् । स्थानीयका साथै म्याग्दी, बागलुङ, रुकुम, रोल्पा, धादिङबाट कामको खोजीमा मुस्ताङ पुग्नेहरु च्याङग्रा गोठाला बस्ने गर्छन् ।       भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार मुस्ताङमा १२ वटा मिश्रित ठूला च्याङग्रा फार्म छन् । २० देखि ५० वटाको संख्यामा च्याङग्रा पाल्ने कृषकहरुको संख्या धेरै रहेको केन्द्रका प्रमुख पशु चिकित्सक डा लालमणी अर्यालले बताउनुभयो ।       उहाँका अनुसार मुस्ताङमा हाल ५० हजार च्याङग्रा पालिएको छ । थासाङ बाहेक, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा व्यवसायिक च्याङग्रापालन भएको छ । यसवर्षको दशै तिहारका लागि मुस्ताङबाट च्याङग्रा निकासी हुन थालेको छ ।       बुधबारसम्म तीन सय ९७  च्याङग्रा निकासी गर्न स्वास्थ्य परीक्षण गरि सिफारिस दिएको केन्द्रका प्रमुख अर्यालले बताउनुभयो । स्वास्थ्य परिक्षण गरेर निरोगी पशुु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ ।       स्थानीय व्यापारीले गाउँका किसानहरुबाट खरिद गरेर जोमसोममा च्याङग्रा ल्याउन थालेका छन् । देशका विभिन्न ठाउँका ब्यापारीहरुले जोमसोममा खरिद गरेका च्याङग्रा हिडाएर म्याग्दीको बेनीसम्म ल्याउँछन् ।       बेनी देखि ट्रकमा राखेर देशका विभिन्न बजारमा च्याङग्रा लैजाने गर्छन् । मुस्ताङबाट गत वर्ष रु। २० करोड भन्दा बढी मूल्य बराबरको सात हजार च्याङग्रा निकासी भएको थियो । यसपालीको दशै तिहारका लागि १० देखि ११ हजार च्याङग्रा निकासी हुने अनुमान गरिएको केन्द्रका प्रमुख अर्यालले बताउनुभयो । मुगु र डोल्पाको च्याङग्रा पनि मुस्ताङ हुदै बजार पठाउने गर्छन् ।       भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङग्रा जोन र स्थानीय तहका पशु सेवा शाखाहरुले मुस्ताङमा च्याङग्रापालन विस्तार र प्रर्वद्धन सम्बन्धी कार्यक्रममा जोड दिएका छन् ।       पिपिआर रोग विरुद्धको निःशुल्क खोप लगाउने ब्यवस्था मिलाएको भेटेरीनरी अस्पतालले च्याङग्राको नश्ल सुधार गर्न स्रोत केन्द्र स्थापना गर्ने, घुम्ती गोठ सुधार र घुम्ति पशु स्वास्थ्य शिविर सञ्चालन गरेको प्रमुख अर्यालले बताउनुभयो ।       प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङग्रा जोन कार्यक्रमले परम्परागत रुपमा हुदै आएको च्याङग्रापालनलाई व्यवस्थित र व्यवसायिक बनाई गुणस्तरीय मासु, ऊन र पश्मिना उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ चार वर्षअघिदेखि लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा विभिन्न गतिबिधी गर्दै आएको छ ।       च्याङग्राको पाठापाठी उत्पादनका लागि स्रोत केन्द्र स्थापना गर्नुका साथै च्याङग्रालाई बन्यजन्तुको आक्रमण र हिउँद याममा चिसोबाट बचाउन खोर सुधार गर्न जोड दिइएको परियोजनाका प्रमुख नेत्र भट्टले बताउनुभयो ।  हिमचितुवाको आक्रमणबाट च्याङग्रा मर्ने समस्या र हिउँदको समयमा आहराको ब्यवस्थापन मुस्ताङको च्याङग्रापालनमा चुनौतिका रुपमा देखिएको किसान तथा कृषि प्राविधिकहरुले बताएका छन् ।

दाङ:    दाङको राप्ती गाउँपालिकाले धान उत्पादक कृषकमध्ये बढी धान उत्पादन गर्नेलाई पुरस्कृत गर्ने भएको छ ।  गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सबैभन्दा बढी धान उत्पादनमा प्रोत्साहनका लािग पुरस्कृत गरिने गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।  धान उत्पादन वृद्धि गर्ने उद्देश्यले यस्तो योजना अगाडि सारिएको र यसरी प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १२ हजार, रु १० हजार र रु आठ हजार पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।  “कार्यक्रम कार्यान्वयका लागि बुधबार नै मापदण्डबमोजिम पुरस्कार प्राप्तिका लागि निवेदन दिन कृषकलाई आह्वानसमेत गरिसकेका छौँ । यसरी पन्ध्र दिनभित्र आवेदन दिइ मापदण्डबमोजिम छनोट भएकालाई पुरस्कृत गर्छौं”, अध्यक्ष विष्टले भन्नुभयो । कृषि शाखा प्रमुख बरसाती गडरियाकानुसार पुरस्कृत हुनका लागि कम्तीमा पाँच कठ्ठामा धानखेती गरेको हुनुपर्ने, खेती गरेको कित्ता नम्बर खुल्ने गरी १० वर्गमिटर नमूना लिनका लागि राख्नुपर्ने, काट्ने, दाउने तथा झार्ने समयमा गाउँपालिकाको कृषि विकास शाखालाई खबर गरी शाखाको रोहबरमा धानको तौल लिइने छ । आवेदनका लागि तोकिए बमोजिमको निवेदन, आवश्यक विवरण, आधिकारीक व्यक्तिको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी र जग्गाको लालपूर्जा वा भाडाको जग्गा भए सम्झौता पत्रको प्रतिलिपी र विवाह दर्ताको हकमा वडाको सिफारिस आवश्यक पर्ने जनाइएको छ ।

बाँके:    बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले यस वर्षको दसैँलाई लक्षित गरेर २५० खसीबोका बिक्रीका लागि तयार गरेका छन् ।    गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत महिला खसीबोका बिक्री गरेर यो वर्षको दसैँतिहार मनाउने योजनामा रहेका छन् । यहाँका किसान महिलाले प्रत्येक वर्ष दसैँतिहारमा ठूलो मात्रामा खसीबोका बिक्री गर्ने गरेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक दिव्या गुरुङले बताउनुभयो ।      “महिला दिदीबहिनीले हुर्काएका खसीबोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री वितरण गर्ने गरेका छाँै”, व्यवस्थापक गुरुङले भन्नुभयो, “यो वर्षको दसैँतिहारमा २५० खसीबोका बिक्री गर्ने लक्ष्य रहेको छ ।”  विगतमा बाँकेको कचनापुर, महादेवपुरी, फत्तेपुरलगायतका गाउँमा महिलाले उत्पादन गरेका खसीबोका सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेमार्फत काठमाडौँलगायत बाहिरी जिल्लामा बिक्री वितरण हुँदै आए पनि अहिले फत्तेपुरस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाका खसीबोका बिक्री हुँदै आएका छन् ।       व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका महिलाले तौल गरेर खसी बिक्री गर्दै आएका छन् । महिलाले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको व्यवस्थापक गुरुङको भनाइ छ । महिलाले वर्षमा अहिले १० देखि १२ सम्म खसी बिक्री गर्न थालेको उहाँले जानकारी दिनुभयो ।       पहिले फाटफुट खसीबोका बिक्री गर्ने महिला अहिले थोकमा बिक्री गर्न थालेका छन् । गाउँमा महिला समूहमा आबद्ध महिलाले घरमा उत्पादन गरेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी सहकारीले गर्न थालेपछि बजार र ठगिने झन्झटबाट दिदीबहिनी मुक्त भएको गुरुङले बताउनुभयो ।        प्रबन्धक गुरुङका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा उक्त सहकारीमार्फत किसान महिलाका ३१ हजार सात सय १० किलोग्राम तौल बराबरका एक हजार १७ खसीबोका बिक्री भएका थिए ।  अन्य समयमा भन्दा दसैँतिहारको समयमा खसीबोकाको माग बढी हुने र यही समयमा नै बढी बिक्री हुने गरेको गुरुङले बताउनुभयो । हाल सहकारी आबद्ध किसानसँग रु पाँच सय २५ प्रतिकिलोका दरले खसीबोका खरिद गर्ने र रु १० देखि १५ प्रतिकिलो बढाएर व्यापारीलाई बिक्री गर्ने गरेको उहाँको भनाइ छ ।      सहकारीमार्फत गठन गरिएका ५९ समूहमा एक हजार किसान महिला सदस्य रहेका छन् । तीमध्ये हाल करिब ६०० किसान महिलाले व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । सहकारीबाट खसीबोका तथा बाख्रापालनका लागि ऋणसमेत उपलब्ध गराउँदै आएको प्रबन्धक गुरुङले बताउनुभयो ।