नवलपुर: नवलपुरको कावासोती नागरपालिकामा कक्षा ५ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने सहमतिपछि नगरपालिकामा लगाइएको ताला खुलेको छ । विभिन्न शैक्षिक माग राख्दै नेपाल विद्यार्थी सङ्घ कावासोतीले कावासोती नगरपालिकामा १० दिनदेखि ताला लगाइएको थियो । नेपाल विद्यार्थी सङ्घ र कावासोती नगरपालिकाको वार्ता टोलिबीच भएको वार्तामा आगामी आर्थिक वर्ष २०८०/८१ मा नगरभित्रका सामुदायिक विद्यालयमा कक्षा ५ सम्म कुनै प्रकारको शुल्क नलिने गरी कार्यक्रम र बजेट व्यवस्था गरिने तथा शैक्षिकसत्र २०८१ देखि लागू गर्नेगरी सहमति बनेको छ । सहमतिपछि ताला खोलिएको नेविसंघ नवलपुरका अध्यक्ष हरि सुवेदीले बताए । त्यसैगरी माध्यमिक तहसम्म अध्ययनरत गरिब तथा विपन्नजस्ता लक्षित वर्गलाई निःशुल्क शिक्षा प्रदान गर्न कार्यविधि बनाई यही शैक्षिक वर्षबाट कार्यान्वयन गरिने सहमति भएका नेविसंघ कावासोतीका नगर संयोजक कुमार क्षेत्रीले जानकारी दिए । नेविसंघ सङ्घ कावासोती नगरसमितिले १५ दिनदेखि माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने माग गर्दै आन्दोलन गर्दैआएको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. १३ भित्र सञ्चालित संस्थागत विद्यालयले छात्रावृत्तिको विवरण बुझाएका छन् । पोखरा महानगरपालिका १३ नं. वडाभित्र सञ्चालित संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकहरुले संस्थागत विद्यालयले विगतमा विद्यार्थीहरूलाई उपलब्ध गराउँदै आएका मिहिनेती र जेहेन्दार छात्रावृत्तिको विवरण बुझाएका हुन् । विद्यालयले छात्रावृत्तिलाई निरन्तरता दिने प्रतिवद्धता समेत गरेका छन् । वडा अध्यक्ष किरण बरालले १३ नम्बर वडाभित्र शिक्षा क्षेत्रमा लगानी गरेर योगदान दिई शैक्षिकस्तर माथि उकास्न मद्धत गर्दै छात्रावृत्ति विवरण पारदर्शी गरेकोमा संस्थागत विद्यालय सञ्चालकलाई धन्यवाद ज्ञापन गरेका थिए । बरालले वडाभित्रका विपन्न समुदायका विद्यार्थीलाई निरन्तर छात्रावृत्रि उपलब्ध गराइदिन पनि अनुरोध गरे । उनले निवर्तमान वडा अध्यक्ष दर्शन लामालाई मार्गदर्शन, सल्लाह र प्रेरणाका लागि स्मरण गर्दै भौतिका पूर्वाधारसँगै शिक्षा क्षेत्रको विकास पनि आवश्यक रहेको बताए । छात्रावृत्ति उपलब्ध गराउने बालकल्याण हाइ स्कलु, अक्सफोर्ड स्कुल, इडेन्स एकेडेमी, ताराकुञ्ज सेकेन्डरी स्कुल र चिल्डे«न एकेडेमीले १० प्रतिशत छात्रावृत्तिको विवरण वडा कार्यालयमा पेश गरेका थिए । अन्तरक्रिया कार्यक्रममा सामुदायिक र निजी विद्यालयबिच आपसमा सहकार्य गरी अगाडि बढ्ने सहमति पनि भएको छ । वडामा रहेका सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार २ सय ६५ विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरेको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारले ‘सामुदायिक क्याम्पससँग प्रदेश सरकार’ कार्यक्रम अन्र्तगत प्रदेशमा रहेका सबै सामुदायिक क्याम्पसलाई क्षमता तथा कार्यसम्पादनका आधारणमा अनुदान दिने व्यवस्था मिलाउने भएको छ । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यस्तो बताएका हुन् । उनले बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षा सम्बन्धी अधिकार सुनिश्चिताका लागि संघ सरकार र स्थानीय तहसँगको साझेदारीमा सुविधा सम्पन्न आवासीय विद्यालय निर्माण एव सञ्चालन ल्याउने बताएका छन् ।