ढोरपाटन: बागलुङको गलकोट क्षेत्रबाट दिनदिनै विदेश जानेको सङ्ख्या बढ्दो छ । युवा जनशक्ति विदेश पलायन भएपछि यहाँका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन् भने विद्यालय रित्तिदै गएका छन् । सुनसान गाउँका विद्यालयमा रित्तिन थालेपछि गलकोट नगरपालिकाले विद्यालय समायोजन तथा तह मिलान गरिरहेको छ । हाँस्दै, खेल्दै र रमाउँदै नजिकको विद्यालय जाने बालबालिका अहिले टाढा जान बाध्य भएका छन् । तह मिलान र विद्यालय समायोजनपछि नगरपालिकाले विद्यार्थीलाई यातायातको सुविधा दिएको छ । यातायातको सुविधा पाएपछि आजाभोलि विद्यार्थी लिन गाडी घर–घरमा पुग्छन् । गाडी आफूलाई घरमै लिन आएपछि विद्यार्थी पनि उत्साहित भएका छन् । दैनिक घण्टौँ लगाएर विद्यालय पुग्ने विद्यार्थी अहिले छोटो समयमा नै पुग्छन् भने समयमै घरमा फर्किने गरेका छन् । गलकोट नगरपालिकाको सबैभन्दा टाढाको बस्ती झिर्का र टोकरी गाउँ हुन् । यी गाउँबाट आधारभूत र माध्यमिक तह अध्ययन गर्न जनहित माध्यमिक विद्यालय मल्लमा झनुपथ्र्यो । विद्यालय झर्दा ओरालो पर्ने हुँदा एकै घण्टामा पुग्ने गरे पनि घर फर्किंदा दुई घण्टा बढी लाग्थ्यो । अहिले नगरपालिकाले पिकअप जीपमा विद्यार्थी ओसारपसार गर्न थालेपछि समयमै घरमा पुग्न थालेका छन् । हिउँदमा भन्दा बर्खाको समयमा बढी समस्या भोगेको जनहित माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी निकिता थापाले बताउनुभयो । थापाले ११ कक्षा पढ्नसम्म पढ्दासम्म निकै समस्या भोगेको सुनाउँदै केही दिनदेखि गाडी घरमै लिन आउने गरेको बताउनुभयो । “बिहान ८ नबज्दै स्कुल हिँड्नुपथ्र्यो, ४ बजे बिदा भएर घरमा आउँदा झमक्कै रात परिसक्थ्यो, अझ बर्खाको समयमा रुझ्दै भिज्दै हिँड्नुपथ्र्यो, अहिले त जति पानी परे पनि समस्या हुँदैन”, थापाले भन्नुभयो, “घरमा आएर समयमै गृहकार्य गर्न पाइन्छ, बिहान स्कुल जान हतार गर्नु पनि पर्दैन, सानासाना भाइबहिनी पनि गाडी आउन थालेपछि स्कुल जान खोज्छन्, रमाइलो पनि हुन्छ, सजिलो पनि भएको छ, अब घर पुग्दा रात पर्ने चिन्ता, स्कुल जाँदा ढिलो होला भन्ने पीर हरायो ।” नगरपालिकाले टाढाका विद्यार्थीलाई यातायातको सुविधा दिएपछि बालबालिकामा विद्यालय जाने रुचि बढेको स्थानीय विष्णु थापाले बताउनुभयो । उहाँले गाडी सञ्चालनमा आउनुपूर्व बिहान विद्यालय पुर्याउन जाने र साँझ ल्याउन जाँदा आफ्नो काम धन्दा छुट्ने गरेको भन्दै अहिले गाडीले लैजाने र ल्याइ दिने भएपछि धेरै सहज भएको बताउनुभयो । आफ्नो छोराछोरीले घर नजिकैको विद्यालयमा पढ्दै आएकोमा यस वर्षदेखि तह मिलानका कारण टाढाको विद्यालय जानुपर्नेस्थित आएको उहाँको भनाइ छ । टाढा जान परे पनि गाडी सुविधाले कुनै समस्या नहुने उहाँ बताउनुहुन्छ । “पहिला छोराछोरीलाई एक्लै स्कुल पठाउन डर लाग्थ्यो, अप्ठेरो बाटो कतै लडेकी, चोटपटक लगाएकी भन्ने डर हुन्थ्यो, बिहान लैजान र साँझ ल्याउन जानुपर्ने बाध्यता थियो, अहिले बिहान सरसफाइ गरेर खाना दिएपछि गाडी ल्याउन आउँछ, साँझ आफैँले ल्याई दिने हुँदा ढुक्क भएका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाले दुर्गम गाउँका बालबालिकाका लागि ठूलो काम गर्यो, यहाँका बालबालिकाको समस्या बुझेकोमा धन्यवाद दिनुपर्छ, केटाकेटीको पढाइ पनि राम्रो हुनेछ अब ।” गलकोट नगरपालिकाले यस वर्ष पाँच वटा विद्यालय तह मिलान र छ वटा विद्यालय समायोजन गरेको छ । तह मिलान तथा विद्यालय समायोजन कार्यविधि २०७९ नगर सभाबाट पारित गरेर कार्यान्वयन गर्न थालेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी (हेमन्त)ले जानकारी दिनुभयो । गलकोट भौगोलिक हिसाबले छरिएको र बसाइँसराइ तथा विदेश जानेको सङ्ख्या बढेपछि विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदा तह मिलान तथा विद्यालय समायोजन गरेको उहाँको भनाइ छ । वडा नम्बर ७ स्थित मल्मको देउराली आधारभूत विद्यालय, नेटा आधारभूत विद्यालयलगायतका विद्यालयको तह मिलान गर्दा दूरीले टाढा पर्ने विद्यार्थीलाई यातायात सुविधा दिएको उहाँको भनाइ छ । विद्यार्थीलाई यातायातको सुविधा दिनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरेको प्रवक्ता भण्डारीले बताउनुभयो । भण्डारीले भन्नुभयो, “यस वर्षदेखि टाढाका विद्यार्थीलाई गाडी उपलब्ध गराएका छौँ, हरेक दिन गाडी विद्यार्थीको घरमै लिन जान्छ, दूरीका आधारमा यातायात सुविधा उपलब्ध गराउने निर्णयलाई कार्यान्वयन गर्ने पहिलो चरणमा छौँ, अहिलेसम्म बाहिरबाट पनि राम्रो ‘फिटब्याक’ पाइरहेका छौँ, आगामी वर्षदेखि अझै प्रभावकारी बनाउने योजना छ ।” नतिजा सुधारका लागि यस वर्षदेखि कक्षा ८ र १० को अर्धवार्षिक परीक्षासमेत नगरपालिकाले लिने उहाँले बताउनुभयो । शिक्षिका सुत्केरी बिदामा भएको बेला सट्टा शिक्षक राख्ने कार्यक्रमसमेत नगरपालिकाले ल्याएको सुनाउँदै, हरेक वर्ष गलकोट शिक्षा क्षेत्रमा ठूलो लगानी गर्दै आएको बताउनुहुन्छ ।
काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरुले धरौटी आवश्यक नहुने बताएका छन् । आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै परामर्श व्यवसायीले संघीय शिक्षा ऐनको दफा ६५ को उपदफा ५ (३) बुँदा प्रति आपत्ति जनाउँदै धरौटी लगायतको विषय खारेज गर्न माग गरेका हुन् । व्यवसायीले दफा नसच्याए चरणबद्ध बिरोधका कार्यक्रमहरू घोषणा गर्ने चेतावनी समेत दिएका छन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परामर्श क्षेत्रलाई व्यवस्थित तथा नियन्त्रण गर्ने बहानामा संघीय शिक्षा ऐनमा धरौटी लगायतको विषय समावेश गरेको आरोप व्यवसायीको छ । परामर्श व्यवसायीले अनुमतिपत्र प्राप्त शैक्षिक परामर्श दिने संस्थाले कुनै नेपाली नागरिकलाई वैदेशिक शैक्षिक संस्थामा अध्ययन गर्न पठाउन वा त्यस्ता शिक्षण संस्थामा भर्ना गर्न शैक्षिक परामर्श सेवा लिइसकेपछि निज भर्ना हुन नसकेको वा त्यस्तो शिक्षण संस्थाले सम्बन्धित मुलुकमा गुणस्तर सुनिश्चित प्रत्यायन प्राप्त नगरेको भएमा त्यस्तो संस्थालाई तोकिएको अधिकारी तोकिए बमोजिम कारवाही गरि उपदफा (५) बमोजिमको धरौटी रकम जफत गर्न सकिनेछ भन्ने माथि उल्लेखित उपदफा प्रति शैक्षिक परामर्श क्षेत्रका सम्पूर्ण संघ र महासंघको ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ । व्यवसायीले नेपालबाट वैदेशिक शिक्षामा अध्ययन गर्न जाने विद्यार्थीहरूको शैक्षिक र भाषाको योग्यताका आधारमा विभिन्न देशको विद्यालय, महाविद्यालय र विश्व विद्यालयले भर्ना लिई विद्यार्थीलाई अफर लेटर आउने भएकोले सो वमोजिम नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखा कार्यालयबाट पत्र लिई देश अनुसारको विदेशी मुद्रा सटहीको अनुमति लिई ’क’ वर्गको वाणिज्य वैँक खाताबाट प्रत्यक्ष रकम पैठारी हुने हुँदा राज्यले लिने ३ प्रतिशत शिक्षण सेवा कर प्यान कार्ड मार्फत लिई रकम पैठारी हुने र भिसा प्रक्रिया शुरु हुँने भएकाले यस व्यवसायमा धरौटी आवश्यक नपर्ने स्पष्ट पारेको छ । विद्यार्थी भिसा प्राप्त भएपछि सम्वन्धित शिक्षण संस्थामा अध्ययनका लागि जान सक्नेछन् र भिसा रिजेक्सन भएमा शिक्षण संस्थाको नियम वमोजिम अभिभावकको जुन बैंक खाताबाट रकम प्रेसित गरिएको हो सोहि बैंक खातामा रकम फिर्ता हुँने व्यवसायीले बताए । शैक्षिक परामर्श पेशा सेवामुखी व्यवसाय हुनुका साथै यसले शैक्षिक तथा भिसा परामर्श दिने भएकोले सेवा दिए वापत न्युनतम शुल्क लिने भएको हुँदा धरौटीको रकम आवश्यक नपर्ने भन्दै व्यवसायीले दफा ६५ उपदफा ५ र ६ खारेजीको माग गरेका छन् । युवाहरूले लगानी गरेको शैक्षिक परामर्श व्यवसायलाई धरासायी पार्ने गरी ऐन र नियमावली निर्माण भएको हुँदा २० औं अर्ब लगानी रहेको यस व्यवसायी क्षेत्रमा ३० औं हजार नेपालीहरूको रोजगारी जोखिममा परेको जारी विज्ञप्तिमा उल्लेख छ ।
पोखरा: कास्कीको मादी गाउँपालिका ६ वडा कार्यालयले २०७९ को एसइई परीक्षामा उत्तिर्ण भएका १४ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । मादी गाउँपालिका ६ स्थित महारुद्र माध्यमिक विद्यालयबाट ०७९ को एसइई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई वडा कार्यालयले एक कार्यक्रमका बीच सम्मान गरेको हो । कार्यक्रममा वडाध्यक्ष डिल बहादुर क्षेत्रीले अबको विद्यार्थीहरुले नैतिक शिक्षासँगै व्यवहारिक शिक्षालाई पनि जोड दिन आवश्यक रहेको बताए । ‘आजका विद्यार्थीहरु भोलिका कर्णधार हुन्, विद्यार्थीहरुले नैतिक शिक्षासँग व्यवहारिक शिक्षालाई जोड दिन आवश्यक छ’, उनले भने, ‘ समाज र देश विकासको लागि व्यवहारिक शिक्षा अनिवार्य छ ।’
स्याङ्जा: गुरुकुलीय शिक्षा प्रणाली हराउँदै गएको बेला यहाँको रामनदीधाम संस्कृत गुरुकुलमा भने विद्यार्थीको चाप बढेको छ । मागभन्दा धेरै भर्ना हुन आउँदा गल्याङ नगरपालिका–१, रामनदीधामको बिद्यार्थीको चाप बढेको हो । गुरुकुलमा संस्कृत, बेद, व्याकरण, कर्मकाण्ड मात्र नभएर आधुनिक विषय विज्ञान, अग्रेदी, गणित, कम्प्युटरको पठनपाठन हुने गरेको छ । गुरुकुलका आचार्य कृष्णप्रसाद बस्यालले माध्यमिक तह ६–१० कक्षासम्म आवासीय रुपमा पढाइ हुने गुरुकुलमा संस्कार संस्कृतिसहित आधुनिक विषयवस्तुलाई पाठ्यक्रममा समावेश गरिएकाले विद्यार्थीको आकर्षण बढेको बताउनुभयो । २०४२ सालमा स्वर्गीय योगी नरहरिनाथले एक महिना १०८ बाह्मणद्वारा गायत्री कोटी हवन गरेर करिब ६ महिना परम्परागत रुपमा गुरुकुल सञ्चालन गरिएको थियो । गुरुकुलीय पद्धतिमा सरकारको पूर्ण दायित्व नहुने भएकाले समुदायको सहयोगमा सञ्चालन हुदै आएको छ । गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष विष्णु देवानन्द सरस्वतीले गुरुकुलमा हाल ८८ बटुक अध्ययनरत रहेको र चार सरकारी दरबन्दीका र चार निजी स्रोतका शिक्षकले शिक्षण सिकाइ क्रियाकलाप गराउँदै आएको बताउनुभयो । गुरुकुलमा गुरुकुल पाठशाला, कार्यालय, आवास गृह, शौचालय रहेको छन् भने गुरुकुललाई गल्याङ नगरपालिकाले र विभिन्न दाताको सययोगमा संचालन हुदै आएको छ ।
पाेखरा: त्रिभुवन विश्वविद्यालयअन्तरगत आज बिए तेस्रो वर्षका विद्यार्थीलाई ‘टुरिज्म डेभलपमेन्ट’को प्रश्नपत्र बाँडिएपनि सोधिएका प्रश्नहरु सबै भारतीय इतिहासको परेको छ । त्रिवि अन्तरगत इलेक्टिभ पेपरको परीक्षामा विद्यार्थीहरुलाई पर्यटन विकासकै प्रश्न भनेर उल्लेख गरिएपनि समूह ‘क’ र ‘ख’ दुबैमा भारतीय राजनीति र इतिहासबारे सोधिएका १२ प्रश्न छन् । पृथ्वीनारायण क्याम्पसमा परीक्षा केन्द्र रहेका विद्यार्थीले पाएको प्रश्नपत्रको माथिल्लो भागमा ‘इतिहास’ लेखिएको छ भने त्यसपछि ‘पर्यटन विकासको परिचय’ उल्लेख छ । प्रश्नपत्र हात परेपछि पढ्दै जाँदा विद्यालय रनभुल्ल भएका छन् । उनीहरुले परीक्षा हलमा आधा घण्टा बिताएर निस्केका छन् । बाहिरिएर यसबारे जानकारी गराएपछि विषगत प्रश्नपत्र आउने र पुनः परीक्षामा बस्ने सहभागी विद्यार्थीले जनाएका छन् ।
पोखरा: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेका पोखरा नगरभित्रका ५ क्याम्पस खारेजीको प्रक्रियामा रहेका छन् । त्रिविले पटकपटक ताकेता गर्दा पनि नवीकरण नगरेपछि उल्लेखित क्याम्पसहरु खारेज गरिने जनाइएको छ । उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले यसअघि २०७९ पुस २० र चैत २८ गते क्याम्पस तथा कलेजहरूलाई सम्बन्धन नवीकरण गर्न सूचना निकालेको थियो । दुईपटक सूचना जारी गर्दा पनि नवीकरण गर्न नआएकाले त्रिवि सम्बन्धन समितिको निर्णयअनुसार ती क्याम्पसहरूलाई सम्बन्धन खारेजीको कारबाही प्रक्रिया अघि बढाइएको हो । खारेजीमा पर्न लागेका क्याम्पसहरुमा पोखराको फलेपाटनस्थित सिद्ध पब्लिक कलेज, नदीपुरस्थित माउण्ट अन्नपूर्ण क्याम्पस, विन्ध्यवासिनी क्याम्पस रहेका छन् । त्यस्तै, हिमाल क्याम्पस र माउण्ट भ्याली कलेज पनि खारेजीको प्रक्रियामा रहेका छन् । कुनै क्याम्पस नवीकरण प्रक्रियामा भएको भए यथासक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न विश्वविद्यालयले सूचित गरेको छ । त्रिविअन्तर्गत ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा तीन बर्षे वन विज्ञानको पढाई सञ्चालन गरिएको छ । गण्डकी बहुप्राविधिक शिक्षालयको सहकार्य र सिटिइभिटीको अनुमतिमा गत बर्षदेखि उक्त पढाईका कक्षा सञ्चालन गरिएको हो । पहिलो बर्षमा १६ जना विद्यार्थी र आठ जना शिक्षक शिक्षिक अध्ययन अध्यापन भई रहेको छ । उक्त बिषयमा पढाई सञ्चालन गर्ने जानकी जिल्लामा पहिलो भएको वन विज्ञान संयोजक शंकर भण्डारीले दावी छ । उहाँका अनुसार विद्यालयको नयाँ भवनमा सञ्चालन गरिएको प्रभावकारी र गुणस्तर बनाउनका लागि पोखरा महानगरपालिकाको २२ लाख ५० हजार रुपैयाको आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरि सञ्चालन गरिएको छ । तीन बर्षे डिप्लोमा तहको उक्त पढाईको लागि प्रति विद्यार्थीबाट एक लाख २५ हजार शुल्कको व्यवस्था गरिएको बताउँदै उहाँले भन्नुभयो, विद्यार्थीले उक्त रकम मध्ये पहिलो बर्ष ४० प्रतिशत र दोश्रो र तेश्रो बर्षमा ३०। ३० प्रतिशतका दरले शुल्क बुझाउनु पर्ने छ । विद्यालयले लिने प्रवेश परिक्षामा सर्वोत्कृष्ठ अंक ल्याउने एक जना विद्यार्थीलाई वहुप्राविधिक शिक्षालय एवम् पोखरा महानगर, सिटिभिटी र पोखरा १७ वडा कार्यालयबाट पनि छात्रबृत्तिको व्यवस्था भएको उहाँले जानकारी दिनुभयो । वन विज्ञान अध्ययनका लागि विद्यालयले प्रत्येक बर्ष ४० जना विद्यार्थी भर्ना गर्न पाउने अनुमति प्राप्त गरेको छ । वन विज्ञान बिषयलाई गुणस्तरीय र थप प्रभावकारी बनाउनका लागि सोही स्थानको भित्री गाउँमा रहेको खेल मैदानमा सुविधा सम्पन्न पक्कि भवन निर्माण भई रहेको विद्यालयका प्रधानाध्यापक अर्जुन कडेलले जानकारी दिनुभयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५० लाखको लागतमा निर्माणाधिन दुई तल्ले चारकोठे उक्त भवनमा वन विज्ञानका दोश्रो र तेश्रो बर्षका कक्षा सञ्चालन गर्ने कार्यक्रम रहेको उहाँको भनाई छ । विद्यालयमा हाल ३५० जना विद्यार्थी अध्ययनरत छन् । सामुदायिक विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तर कायम गर्दै प्राविधिक बिषयको पढाईलाई जोड दिदै आएका छन् । रुचि भएर पनि पाएक पर्ने स्थानमा कक्षा सञ्चालन नहुँदा प्राविधिक शिक्षाबाट बञ्चित विद्यार्थीका लागि सामुदायिक विद्यालयमा बिभिन्न बिषयका प्राविधिक कक्षा सञ्चालन भएपछि विद्यार्थीका लागि वरदान सावित भएको छ ।
गलकोट: एसइई परीक्षाफल प्रकाशनको नतिजाअनुसार बागलुङमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा अब्बल देखिएको छ । बिहीबार प्रकाशित एसइई परीक्षाफलअनुसार बागलुङमा चार जिपिए (शतप्रतिशत) अङ्क ल्याउने छ, विद्यार्थीमध्ये चार विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन् । जिल्लामा चार सामुदायिक र दुई निजी विद्यालयका विद्यार्थीले चार जिपिए ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको हो । गत वर्ष ५६ जनाले तीन दशमलव छ जिपिएभन्दा माथि अङ्क प्राप्त गरेकामा यस वर्ष बढेर तीन दशमलव छ जिपिएभन्दा माथि अङ्क प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या एक सय ३९ जना पुगेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिनुभयो । जिल्लामा चार जिपिए ल्याउने विद्यालयमा गणेश माविका दुई, चिल्डेन लाइफ बोर्डिङ स्कुललका दुई, रूद्रेपीपल माविका एक विद्यार्थी र भीमगिठे माविका एक विद्यार्थी छन् । जिल्लामा चार हजार सात सय ७४ विद्यार्थी परीक्षामा सम्मिलित भएका थिए । त्यसमध्ये दुई सय ३० प्राविधिक धारतर्फका विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बागलुङमा तीन दशमलव छदेखि चार जिपिए ल्याउने एक सय ३९, तीन दशमलव तीनदेखि तीन दशमलव ५५ जिपिए ल्याउने तीन सय १३ विद्यार्थी, दुई दशमलव आठदेखि तीन दशमलव १५ जिपिए ल्याउने चार सय ६७, दुई दशमलव चारदेखि दुई दशमलव ७५ जिपिए ल्याउने विद्यार्थी सात सय ४८, दुईदेखि दुई दशमलव ३५ जिपिए अङ्क ल्याउने विद्यार्थीको सङ्ख्या एक हजार एक सय ९२, एक दशमलव छदेखि एक दशमलव ९५ सम्म अङ्क ल्याउने एक हजार दुई सय ८३ र एक दशमलव दुईदेखि एक दशमलव ५५ जिपिए ल्याउने तीन सय ३६ तथा त्यसभन्दा कम अङ्क ल्याउने ६६ विद्यार्थी छन्
बेनी: म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण हुनुभएको छ । माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी हुनुभएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण हुनुभएको हो । विसं २०५८ मा एसएलसी परीक्षामा सामेल हुनुभएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ नै छाड्नुभएको थियो । एसएलसीमा फेल भएपछि उहाँले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा आठ वर्ष बिताउनुभएको थियो । उहाँ २०६९ सालमा घर फर्किनुभएको थियो । घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लबलगायतका सङ्घ संस्थामा आबद्ध हुनुभएको थियो । उहाँ गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पटक–पटक पढाइको आवश्यकताको महसुस भएपछि एसइई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ । यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा २०७९ (एसइई) को नतिजामा म्याग्दीका एक विद्यार्थीले ४ जिपिए ल्याउन सफल हुनुभएको छ । सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समीर सुवेदीले ४ जिपिए नतिजा ल्याउनुभएको हो । शिक्षा विकास तथा समन्वय एकाइका एकाइ प्रमुख दलबहादुर थापाले यस वर्षको एसइई परीक्षामा म्याग्दीबाट सहभागी विद्यार्थीमध्ये सुवेदीले ४ जिपिए ल्याएर सर्वोत्कृष्ट बन्न सफल भएको बताउनुभयो ।