कास्की २ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ लडेर घाइते भएका छन् ।   उनी निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा ११ फूलबारीमा सिँढीबाट लडेका हुन् ।   ...

  पर्सा:    वीरगंज महानगरपालिका ११ श्रीपुरटोलस्थित सडकबाट रौतहट परोहा नगरपालिका(३ बस्ने ३२ वर्षीय बिटु दुवेदीलाई १ हजार दरको ६ थान नक्कली नोट सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।        विषेश सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरीले उक्त टोलमा दुवेदीलाई फेला पारी जाँच गर्दा उनको साथबाट उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको हो ।    उनी उपर मुद्रा सम्बन्धी (खोटा चलन) कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

  काठमाडौं:   कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ बस्ने भोजपुर खार्ताम्छाकी ४३ वर्षीया गिता गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।      जिल्ला अदालत चितवनको २०७७ माघ १२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा जन्म कैद सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको  हो ।     उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

  काठमाडौँ:   ४४औँ बुद्धिचाल ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको छ ।      भारतको चेन्नईमा यही साउन १२ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुने बुद्धिचाल खेलाडी टोलीलाई आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले उच्च मनोबलका साथ सहभागी हुँदै विजय हासिल गर्नका लागि शुभकामना दिनुभएको हो ।  सन् २००४ मा स्पेनमा सम्पन्न ३६औँ बुद्धिचाल ओलम्पियाडदेखि लगातार सहभागी नेपालको पुरुष टोलीमा पुरुषोतम चौलागाईं, रुपेश जयसवाल, क्षितीज भण्डारी, विवेक थिङ र मिलन लामा रहेका छन् । धनबहादुर बोगटीले नेपाली टोलीको नेतृत्व गर्नेछन् ।      त्यसैगरी सन् २०१४ मा नर्वेमा सम्पन्न ४१औँ बुद्धिचाल ओलम्पियाडबाट यात्रा थालनी गरेको नेपाली महिला टोलीमा सुजना लोहनी, कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति धिमाल छन् । महिला टोलीको जिम्मेवारी भने भुपेन्द्र निरौलाले पाएका छन् । टोली व्यवस्थापक रुपमा नेपाल बुद्धिचाल सङ्घका महासचिव धरमबहादुर लामा रहेका छन् । सङ्घका सचिवद्वय उमेश केसी र मोनालिशा खम्बु ४४औँ बुद्धिचाल ओलम्पियाडमा आर्विटरका रुपमा सहभागी हुँदैछन् ।        त्यसैगरी यही साउन १५ देखि २४ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय बुद्धिचाल महासङ्घ (फिडे) को ९३औँ फिडे कंग्रेसमा नेपालका तर्फबाट नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष विदुरप्रसाद गौतमले प्रतिनिधित्व गर्नेछन् । कांग्रेसले फिडेको नयाँ कार्यसमितिसमेत निर्वाचित गर्नेछ । कंग्रेसअन्तर्गत आयोजना हुने विभिन्न बैठकमा सहभागिताका लागि नेपाल बुद्धिचाल सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद रिजाल, उपाध्यक्ष नारायणदास गमाल, कोषाध्यक्ष ज्ञानेन्द्र महर्जनसहितको टोली बुधबार चेन्नई प्रस्थान गर्नेछ ।

  बाँके:   बाँकेको कोहलपुर नगरपालिका १४ स्थित पार्वतीपुर निवासी दम्पतीको हत्या योजना दाजुले नै बनाएको खुलेको छ।   जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भाइ बुहारी २२ वर्षीय कृष्ण गडरिया र २१ वर्षीया अञ्जली गडरियाको हत्या योजना दाजु विजय गडरियाले बनाएको खुलेको हो।    मंगलबार बिहान घरमै दम्पती मृत फेला परेपछि प्रहरीले अनुसन्धानका क्रममा विजयमाथि शंका गरेको थियो। भाइ(बुहारीको हत्याको समयमा उनी घरमै रहेको खुलेको छ। उनलाई घरबाटै पक्राउ गरेर सोधपुछ गर्दा आफूले एक लाख रुपैयाँ दिएर हत्या गर्न लगाएको तथ्य स्वीकारेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए।   विजयले भाइ बुहारीको हत्याका लागि एक लाख दिएर भाडामा प्रयोग गरेका अभियुक्तहरूबारे प्रहरीले विस्तृत खुलाइसकेको छैन।    घटनाबारेमा अहिले अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले बताएका छन्। 

काठमाडौँ:     धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आइतबार र सोमबार लगातार उकालो लागेको नेप्से परिसूचक आज भने उच्च अङ्कले ओरालो लाग्यो ।    नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.८० अङ्कले ओरालो लागेर दुई हजार ८८.१६ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९९ अङ्कले घटेर ३९८.३९ मा ओर्लिएको छ । कूल २२२ कम्पनीको ८७ लाख ४० हजार ५५७ कित्ता शेयर रु तीन अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ मूल्यमा खरिद बिक्री भए ।     नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य नै ओरालो लागेको छ । बैंकिङ २५.२८, व्यापार ५०.५७, होटल तथा पर्यटन ७८.८७, विकास बैंक ११४.४१, जलविद्युत् ४८.३१, वित्त ५३.३४, निर्जीवन बीमा १०३.५१, उत्पादन ९४.१६, अन्य ५७.४९, लघुवित्त ११०.४९, जीवन बीमा १३३.७१, सामूहिक लगानी कोष ०.१९ र लगानी १.७७ अङ्कले ओरालो लागेको छ ।      मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ८१ अर्ब ७६ करोड ३९ लाख २० हजार १६ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको रु १९ करोड ३६ लाख ६७ हजार २६० बराबरको कारोबार भयो । यस्तै, अरुण काबेली पावर कम्पनी रु १५ करोड ५७ लाख आठ हजार ४०३, अरुण भ्याली हाइड्रो पावर रु १० करोड २४ लाख ५० हजार, हिमालयन डिस्टिलरी रु नौ करोड ८० लाख ५९ हजार १९६ र राधी विद्युत् कम्पनी रु आठ करोड ३५ लाख २९ हजार ९५७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।      नेप्सेका अनुसार मल्टीप्रपोज फाइनान्स कम्पनी ९.३२, सूर्योदय बोमी लघुवित्त ६.७२, युनाइटेड मोदी हाइड्रोपावर ६.१९, समृद्धि फाइनान्स कम्पनी ३.२३, बलेफी हाइड्रोपावरका लगानीकर्ताले ३.१५ प्रतिशतले कमाए । त्यस्तै, गणपति लघुवित्त ६.८२, रिभर फल्स पावर ५.९९, सप्तकोसी लघुवित्त ५।१३, पोखरा फाइनान्स ५.१० र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ५.०३ प्रतिशतले गुमाए । 

काठमाण्डौं: मोडिफाई गरी चर्को आवाज निकाल्ने रोयल इन्फिल्डको बुलेट मोटरसाइकलमाथि ट्राफिक प्रहरीले निरन्तर निगरानी गरिरहेको छ । हिजोमात्रै ३७ बुलेट नियन्त्रणमा लिएर कारवाही गरेको प्रहरीले आज थप ७९ बुलेटचालकलाई काठमाण्डौंमा कारवाही गरिएको छ ।    उपत्यका ट्राफिक प्रहरीले आफुखुशी मोडिफाई गरेका मोटरसाइकललाई नियन्त्रणमा लिई चालकलाई कारवाही गरेको जनाएको छ । नियन्त्रणमा लिइएको मोटरसाइकलले ध्वनी प्रदुषण बढाउनुकासाथै अन्य प्रदुषणसमेत बढाएको ट्राफिक प्रहरीले जनाएको हो ।    ‘रोयल इनफिल्ड  (बुलेट) मोटरसाइकलको  साइलेन्सरको पछाडी  पातामा रबर  राखी  ठूलो अवाज निकाल्ने  ८९ जना मोटरसाइकल  चालकहरुलाई कारवाही गरिएको छ’ उपत्यका ट्राफिकले भनेको छ ।    नियन्त्रणपछि उक्त मोटरसाइकलबाट साइलेन्सर पाइप झिकिएको छ भने चालकलाई जरिवाना गरिएको छ । साथै, आइन्दा मोडिफाइ नगर्न चेतावनीसमेत दिइएको छ । 

  काठमाडौं:   यु-१७ राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् ।   ए डिभिजन क्लब थ्री स्टारका प्रमुख प्रशिक्षक रहेका उर्जनलाई यु-१७ राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव किरण राईले जानकारी दिए । एन्फाले यु–१७ टोली निर्माणका लागि खुल्ला छनोट मार्फत खेलाडी छनोट गरिरहेको छ । खेलाडी छनोट साउन २० गतेसम्ममा सकिने राईले जानकारी दिए ।   श्रेष्ठले २०१६ मा प्रशिक्षणमा ‘ए’ लाइसन्स् प्राप्त गरेका थिए । उनले २०२१ मा थ्री स्टार क्लबको जिम्मेवारी लिएका थिए । उनले जिम्मेवारी लिएपछि थ्री स्टारले बाग्मती गोल्डकप फुटबलको उपाधि जितेको थियो ।

  गुल्मी:    गुल्मीको कालीगण्डकी गाउँपालिका–७ की ३७ वर्षीया छविकला थापा गत वैशाख १८ गते घरबाट हिँड्नुभयो । उहाँ आफू मात्रै हिँड्नुभएन, ८ वर्षीया छोरी पूजालाई पनि सँगै लिएर जानुभयो । छविकला आउने आशामा परिवारले झन्डै १५ दिनसम्म धेरै ठाउँमा खोजतलास गरेपनि फेला पारेनन् । जेठ ४ गते देवर भीम बहादुरले जिल्ला प्रहरी कार्यालयमा भाउजू हराएकाले खोजिदिन निवेदन दिनुभयो । भाउजू आफूखुसी भागेर हिँडेको पीडकको निवेदनमा उल्लेख थियो । छविकलालाई परिवार, स्थानीयवासिन्दा एवम् प्रहरीले हराएको सूचीमा राखेर खोजी गरिरहे पनि अहिलेसम्म उहाँ फेला पर्नुभएको छैन ।       रेसुङ्गा नगरपालिका–८ की ईश्वरी कार्की पनि गत जेठ ८ गते घरबाट हिँड्नुभयो । चौँतीस वर्षीया उहाँले पनि दुई वर्षीया छोरीलाई सँगै लिएर जानुभयो । सोही दिन नै श्रीमान् नारायण कार्कीले जिल्ला प्रहरी कार्यालयमा श्रीमतीको खोजी गरिदिन आग्रह गर्दै उजुरी दिनुभयो । ईश्वरी हराएको दुई महिना हुँदा पनि अहिलेसम्म अत्तोपत्तो छैन । उहाँलाई प्रहरी र आफन्तले खोजिरहेका छन् ।       थापा र कार्की त हराएर नभेटिनेमध्येका केही प्रतिनिधिमूलक पात्र मात्रै हुन् । पछिल्लो तीन वर्षको अवधिमा जिल्लामा ३३९ जना हराएका थिए । आर्थिक वर्ष २०७६/७७ देखि ०७८/७९ सम्म उक्त सङ्ख्यामा महिला, बालक, बालिका र वृद्ध हराएका हुन् । हराएकामध्ये पनि २२ जना अझै भेटिएका छैनन् । बाँकी ३२४  जना सम्पर्कमा आएका थिए । आर्थिक वर्ष ०७६/७७ मा ६९ महिला, सात बालक, २१ बालिका र वृद्ध गरी कुल १०८ जना हराएका थिए । हराएकामध्ये सबै सम्पर्कमा आएका थिए।      आर्थिक वर्ष ०७७/७८ मा ७३ महिला, पाँच बालक, १० बालिका र चार वृद्ध गरी कूल ९२ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये चार महिला, एक बालक र दुई वृद्ध गरी सातजना अझैसम्म पनि नभेटिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै आव०७८/७९ मा ९५ महिला, ११ बालक, ३० बालिका र तीन वृद्ध गरी एक सय ३९ जना हराएका थिए । तीमध्ये १० महिला, नौ बालक र तीन बालिका गरी १५ जना अझैसम्म पनि नभेटिएको उक्त कार्यालयका सूचना अधिकारी (डिएसपी) माधवराज खरेलले जानकारी दिनुभयो । हराएकामध्ये अधिकांश १७ देखि ४० वर्षसम्मका महिला थिए ।       श्रीमान् वैदेशिक रोजगारीमा गएका कारण श्रीमती परपुरुषसँग लागेर भागेको घटना धेरै हुने गरेको उहाँले  बताउनुभयो । त्यसका साथै घरेलु हिंसा, उमेर नपुग्दै प्रेम गर्ने र भागी विवाह गर्नेलगायत कारणले महिलाहरु हराउने गरेको पाइएको छ ।       यस्तो समस्या समाधानका लागि स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउनेलगायत कार्य गरिए मानिस हराउने सङ्ख्यामा कमी आउने सूचना अधिकारी खरेलको भनाइ थियो ।  । हराएका मानिसहरु पत्ता लगाउनका लागि उनीहरुको मोबाइल, फेसबुक, इन्टरनेटका साथै देशका अन्य ठाउँका प्रहरीलगायत स्रोतहरु परिचालन  गरिएको पनि उहाँले जानकारी दिनुभयो । 

काठमाडौँ:    नेपाल प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच स्वास्थ्योपचारलगायत विषयमा सम्झौता भएको छ ।सडकपेटी र सार्वजनिकस्थलमा बेवारिसे अवस्थाबाट उद्धार गरेर आश्रमको संरक्षणमा राखिएका व्यक्तिलाई अस्पतालले उपचार गर्ने सम्झौतामा उल्लेख छ  ।सम्झौतापत्रमा अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर प्रहरी अतिरीक्त महानिरीक्षक डा आशा सिंह र आश्रमका तर्फबाट संस्थाका संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गर्नुभएको हो ।   सम्झौता पश्चात् अस्पतालले विपन्न नागरिक उपचार कार्यविधि–२०७९ अन्तर्गत आश्रमको संरक्षणमा रहेका व्यक्तिलाई तीन शैय्या उपलब्ध गराउने भएको छ । उक्त सम्झौतापछि अब बेसहारा नागरिकलेसमेत निःशुल्क रुपमा उपचार प्राप्त गर्न सक्ने छन् ।साथै अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीका लागि भर्ना भइसकेपश्चात् औषधिलगायत सामग्री निःशुल्क उपलब्ध गराइने भएको छ । मेडिकल डाइरेक्टर सिंहले मानवीय सेवाको कार्यमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।    “जीवनरक्षाका लागि कार्य गर्दै आइरहेका थियौँ । यसमा थप सडकपेटी र सार्वजनिकस्थलमा बेवारिसे अवस्थामा रहेका व्यक्तिको जीवन पनि बचाउन पाउनु हाम्रा लागि पनि खुसीको कुरा हो । आगामी दिनमा उक्त आश्रमको सेवामा संस्थागत र व्यक्तिगत रुपमा मेरो तर्फबाट साथ रहने कुरामा प्रतिबद्ध छु ।,” उहाँले थप्नुभयो ।   अस्पतालसँगको सहकार्यले यस आश्रमको काममा सहजता हुने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । “सडकपेटीबाट उद्धार गरिएका व्यक्ति विभिन्न क्यान्सर, एचआइभी एड्स, हेपाटाइटिस, मिर्गौलाले काम नगर्नेजस्ता रोग लागेका व्यक्ति छन् ।  अस्पतालको साथले हामीमा थप हौसला बढेको छ,” उहाँले भन्नुभयो,   “यो सम्झौता एक वर्षका लागि रहेको र  दुवै पक्षको सहमतिमा  नवीकरण गर्न सकिने छ ।”आश्रमले हाल सातै प्रदेशको १९ जिल्लाको २३ स्थानमा शाखा स्थापना गरी सहयोगापेक्षी सडकआश्रित व्यक्तिको उद्धार एवं संरक्षण गरिरहेको छ । अहिले आश्रमको संरक्षणमा करिब एक हजार ५०० आश्रित छन् भने संस्थाको स्थापनादेखि १० वर्षको अवधिसम्म आइपुग्दा सातहजार २०० बढीको उद्धार भइसकेको छ ।