तनहुुँ ः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपीको सिद्धान्त कांग्रेसले नछाडेको बताउनुभएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको चालिसौँ स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङस्थित बुद्धसिं पार्कमा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सधैँ विपीको पथमा हिँडिरहेको बताउनुभयो । विपीले भनेका विषयलाई समय सापेक्ष परिवर्तन गरिए पनि विपीको आदर्श र सिद्धान्तलाई छाड्न नसकिने पौडेलको भनाइ थियो । वरिष्ठ नेता पौडेलले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताउनुभयो । गठबन्धनका विषयमा कुनै विवाद नरहेको भन्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्र बचाउन र संविधान रक्षाका लागि पनि गठबन्धन आवश्यक रहेको धारणा राख्नुभयो । वरिष्ठ नेता पौडेलले प्रत्येक गाउँमा पोखरी र चौतारी बनाउनुपर्ने बताउनुभयो । पोखरी र चौताराको सभ्यतालाई कायम गर्नुपर्ने बताउँदै पौडेलले भन्नुभयो, “पहिला पहिला सबै गाउँमा पोखरी र चौतारा हुन्थे, यसले गाउँको सुन्दरता थपेको थियो, आजभोलि हराउँदै जान थालेको छ । यसलाई संरक्षण गर्नुपर्छ ।” वरिष्ठ नेता पौडेलले तनहुँमा कांग्रेसको नेतृत्वमा धेरै काम सुरु भएकाले यसलाई सम्पन्न गराउने जिम्मेवारी पनि कांग्रेसको भएको बताउनुभयो । “मेरो नेतृत्वमा धेरै पूर्वाधारका काम भएका छन्, यसलाई सम्पन्न गराउनेतर्फ म तीव्र गतिमा लागिरहेको छु,” पौडेलले भन्नुभयो ।
सर्लाही: सर्लाहीका अधिकांश विद्यार्थीले नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना पुगिसक्दा पनि पाठ्यपुस्तक पाउन सकेका छैनन् । नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना भइसक्दा पनि जिल्लाका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका हुन् । जनक शिक्षा सामग्रीले समयमै पर्याप्त पाठ्यपुस्तक छाप्न नसक्दा सर्लाहीसहित देशैभर पाठ्यपुस्तकको अभाव भएको थियो । जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा अध्यायनरत विद्यार्थीले पुस्तक पाउन नसकेका जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख सुनिलकुमार कुशवाहले बताउनुभयो । उहाँका अनुसार जिल्लाका सामुदायिक विद्यालयहरुमा अहिले त्रैमासिक परीक्षा सञ्चालन भइहे पनि अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यार्थीहरु पाठ्यपुस्तक विना नै अध्ययन गरिरहेका सम्बद्ध विद्यालयका प्रधानाध्यापकहरुले बताए । कतिपय विद्यार्थीले पुरानो पुस्तक जुटाएर पढिरहेका नवजन जागरण नमूना मावि बागमती नगरपालिका–८ का प्रधानाध्यापक ध्रुव पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार कतिपय सामुदायिक विद्यालयले निजी विद्यालयले प्रयोग गर्ने पाठ्यपुस्तकको प्रयोग गरेर विद्यार्थीलाई पढाइरहेका छन् । त्यस्तै निजी विद्यालयमा समेत पूरै पाठ्यपुस्तक आइनपुगेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालले जनाएको छ । जिल्लाका सामुदायिक विद्यालयमा अझै पनि करिब ३० प्रतिशत विद्यार्थीले किताब पाउन नसकेको विद्यालयहरुले बताएका छन् । जिल्लामा ५५६ सामुदायिक विद्यालयमा ८६ हजार विद्यार्थी अध्ययनरत छन् । तीमध्ये करिब ३० प्रतिशत विद्यार्थीले किताब पाउन नसकेको उक्त इकाइले जनाएको छ । प्राथमिक तहका करिब सबै पाठ्यपुस्तक आए पनि आधारभूत तह र माध्यमिक तहको विभिन्न विषयका पाठ्यपुस्तकहरु नआएको उक्त इकाइका निमित्त प्रमुख कुशवाहले बताउनुभयो ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिकाले ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका मलामीका परिवारलाई जनही रु एक लाख रुपैयाँ दिने भएको छ । मलामी पुगेर फर्कंदै गरेको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका तीन जनाको परिवारलाई जनही रु एक लाख दिने निर्णय गरेको हो । नगरपालिकाको कार्यपालिका बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगरप्रमुख कृष्णकुमार तामाङले जानकारी दिनुभयो । गत असार २४ गते मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका –९ का ४६ वर्षीय केशव कार्की र ६६ वर्षीय खड्गबहादुर भण्डारीको मृत्यु भएको थियो भने ट्र्याक्टर दुर्घटनामा परेर ४२ जना मलामी घाइते भएका थिए । यस्तै बैठकले घाइतेमध्ये तीन जनालाई उपचार खर्चसमेत उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख तामाङले बताउनुभयो । गम्भीर घाइते चैनपुर–१० का दीपेश कटुवाल, चित्रबहादुर तामाङ र नरबहादुर कार्कीको सम्पूर्ण उपचार खर्च बेर्होने निर्णय भएको नगरप्रमुख तामाङले बताउनुभयो । ४४ जना मलामी बोकेर फर्किंदै गरेको को २ त ३९६१ ट्र्याक्टर खाँदबारी–लेगुवा सडक खण्डको दुम्कटामा दुर्घटनामा परेको थियो ।
काठमाडौँ: लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ । गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ । गत साल आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रमा यस वर्ष क्षति हुन थालेको छ । मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण भेगका कमजोर भूभागमा पहिरो जाँदा बस्ती जोखिममा परेका छन् । हेलम्बु गाउँपालिकाको सडक दिउँसो खुलाइए पनि रातिको पानीका कारण दिनहुँजसो बन्द हुँदा समस्या हुन थालेको छ । त्यस्तै हेलम्बुको मेलम्ची भ्याली क्याम्पस ग्याल्थुम उच्च जोखिममा छ । अहिले क्याम्पस नजिकैबाट खोला बगिरहेको छ । जुनसुकै बेला क्याम्पसमा क्षति हुनसक्ने स्थानीयले बताएका छन् । अहिले किउलदेखि मेलम्चीसम्मका नदी किनार आसपासका नागरिक ढुक्कले सत्न पाएका छैनन् । “बाढीले सडकलाई दैनिक क्षति गरिरहेको छ, हामी मर्मत गरिरहेका छौँ, केही समयमात्र यातायात सेवा अवरुद्ध भएको छ, हामी तत्काल बाटो खुलाउन र जोखिममा रहेका संरचना बचाउनका निम्ति लागि परेका छौँ”, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भन्नुभयो । मेलम्ची नगरपालिकाको राम्चेमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडक खुलाउन मेसिन पठाइसकिएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।
काठमाडौँ: लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौँ अधिवेशन अन्त्य गर्नुभएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गर्नुभएको हो । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ उपनियम (३) बमोजिम प्रदेशसभा सचिवालयले सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरेको सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिनुभयो ।
चितवन: चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पनि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्साङ्कन कार्य सुरु गरिएको छ । सङ्घीय सांसद कृष्णभक्त पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाको उपस्थितिमा वडा नं ७ भालुमाराबाट शुक्रबारदेखि जग्गा नाप नक्साङ्कन कार्य शुुभारम्भ गरिएको हो । भूमिसम्बन्धी सेवा केन्द्र इच्छाकामनाका संयोजक हरि देवकोटाका अनुसार सो गाउँपालिकामा तीन हजार ५३९ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिएका छन् । त्यसमध्ये ८३ जना भूमिहीन दलित, ७७१ भूमिहीन सुकुम्बासी र दुई हजार ६८५ अव्यवस्थित बसोबासी रहेको उहाँले बताउनुभयो । इच्छाकामनामा वडा नं ७ मा सबैभन्दा बढी एक हजार ६२७ ले निवेदन दिएका छन् । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा आगामी तीन महिनाभित्र नाप नक्साङ्कन कार्य सम्पन्न गरिने बताउनुभयो । छ महिनादेखि वर्ष दिनभित्र सबै प्रक्रिया पूरा गरी लालपुर्जासमेत वितरण गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।
ताप्लेजुङ: ताप्लेजुङमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो । घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा कुटपिटको क्रममा घटनास्थलमै मृत्यु भएको हो । खुर्पाको पछाडिको भागले प्रहार गर्दा श्रीमतीको मृत्यु भएको प्रहरीको अनुसन्धानले देखाएको छ । शरीरको बाहिरी भागमा कुनै पनि किसिमको ठूलो चोटपटक भने नरहेको प्रहरीको भनाइ छ । शव परीक्षणपछि थप विवरण प्राप्त हुनसक्ने प्रहरीले जनाएको छ । शवलाई जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पोखरा: शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले लगातार हुने विद्युत अवरुद्ध अब चाडै नै समाधान हुने बताएका छन् । मन्त्री श्रेष्ठले शुक्रबार देखि पोखरामा सुरु भएको वृत्ति परामर्श तथा रोजगार मेलामा विद्युत अवरुद्ध भएपछि रोजगार मेलामा दक्ष कर्मचारी आए सो समस्या हटेर जाने बताएका हुन् । विद्युत पटकपटक अवरुद्ध भएर मन्तव्य नै रोक्नुपर्नु पर्ने अवस्था आएपछि मन्त्री श्रेष्ठले भने, ‘अहिले वर्षाको समय भएका कारण विद्युत आउने जाने भएको छ । र यसको छिटै अन्त्य हुनेछ । मन्त्री श्रेष्ठका अनुसार आगामी ८ गतेसम्म सञ्चालन हुने मेलामा मेला अवधिभर सहभागीहरुले रोजगारीका सम्भावित क्षेत्रहरुका बारेमा जानकारी हासिल गर्नेछन् । ‘प्रविधिक शिक्षा र व्यवसायिक सीप हाँसिल गर्न चाहने विद्यार्थी र तिनका अभिभावकका लागि प्रदेशमा प्राविधिक शिक्षा अध्ययन गर्न सकिने र अध्ययनका लागि अवलम्बन गर्नुपर्ने प्रक्रियाका सम्वन्धमा जानकारी र स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी उपलब्ध गराउन सहजीकरण गर्नेछौं ।’ मन्त्री श्रेष्ठले भने । प्रदेशमा बेरोजगार र सीप क्षमताका भएका व्यक्तिहरुको अभिलेख नभएको भन्दै मन्त्री श्रेष्ठले भने, ‘प्रदेशले आगामी वर्षहरुको नीति तथा कार्यक्रममा कुनकुन योजना समावेश गर्ने भन्नेबारे यस मेलाले टेवा पुर्याउनेछ । सार्थ यस मेलाले तथ्याङ्क राख्न थप सघाउ पुर्याउछ ।’ मेलामा ३५ वटा स्थल निर्माण गरिएको छ । स्थलमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका विषयमा परामर्श लिनेछन् । तीन दिन सम्म सञ्चालन हुने मेलामा १० हजारले अवलोकन गर्ने अनुमान रहेपनि यो भन्दा धेरैले मेलाको अवलोकन गर्न सक्ने आयोजकले जनाएको छ । सो मेलालाई स्वीस सरकारको द्वीपक्षिय सहयोग, नेपाल व्यवसायिक योग्यता परियोजनाको प्राविधिक सहयोग, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान (जिटिइभिटीए), प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेश, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेश, रोजगारदाताहरु र राइट फर चिल्ड्रेनको समन्वयमा कार्यक्रम आयोजना भएको हो । जागिर खोज्ने र कर्मचारी रोज्ने ‘एप’ सामाजिक विकास मन्त्रालयले ‘तालिम तथा रोजगार व्यवस्थापन सुचना प्रणाली’ (टिइएमआइए) नामक एप्लिकेसनबाट जागिर खोज्न र कर्मचारी रोज्न सक्ने बताएको छ । उक्त एपमा ४ वटा विद्याका व्यक्तिहरुले आफ्नो बायोडाटा भर्नसक्ने छन् ।सो एपमा सीपमुलक तालिम लिन चाहने, रोजगारीको खोजीमा, रोजगारदाता र सीप परिक्षण गर्न चाहनेहरुको लागि छुट्टाछुट्टै अनलाइन फर्मको व्यवस्था गरिएको छ । यस एफले जागिर खोज्ने र रोजगारदाताले दक्ष कर्मचारी रोज्ने दरिलो माध्यम हुने अपेक्षा गरिएको छ ।
पोखरा: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिएका छ । मन्त्रालयको नीतिगत छलफल हुने समितिमा मेयर आचार्य देशभरका ७५३ वटै स्थानीय तहको तर्फबाट सदस्य तोकिएका हुन् । संघीय पर्यटन मन्त्रीको अध्यक्षता रहने समितिमा सात वटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ । पर्यटन मन्त्रालयका सहसचिव यसको सदस्य सचिवको रुपमा रहन्छन । पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयरीमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पोखराका मेयर आचार्यलाई विषयगत समिति सदस्य तोक्नुले पर्यटकीय सहर पोखरालाई महत्व दिएको मानिएको छ । मेयर आचार्यले देशभरका स्थानीय तह मध्येबाट पोखरा महानगरको मेयरलाई नियुक्त गरिनुले पर्यटकीय सहर पोखरा र पोखराबासीको अपनत्व लिएकोे प्रतिक्रिया दिएका छन् । उनले पर्यटन मन्त्रालय र मन्त्री प्रति आभार प्रकट गर्दै पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गरिने विश्वास समेत प्रकट गरेका छन् । ‘हामीले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि निर्णय गरेर ताकेता गरिरहेका छौं । मन्त्री ज्युले यसको प्रक्रिया आगाडि बढाएको र क्याविनेटमा लैजाने पनि जानकारी दिइसक्नुभएको छ । मन्त्रालयको विषयगत समितिमा पनि देशभरका स्थानीय तह मध्येवाट पोखरालाई प्राथमिकता दिनुले यहाँको पर्यटकीय महत्व उहाँले पक्कै बुझ्नुभएको छ भन्ने लाग्छ । यसका लागि म मन्त्रालय र मन्त्री ज्युप्रति आभार प्रकट गर्छु । पक्कैपनि पोखरालाई मन्त्रालयकै इनिसियसनमा छिट्टै पर्यकटकीय राजधानी घोषणा गराउनुहुनेछ भन्नेमा पनि विश्वस्त छु’ उनले भने ।

