काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।   मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेक...

भदौ १० गते प्रदर्शनका तयारीमा रहेको चलचित्र प्रकाशमा दिया मास्केले जुम्लाको एक विपन्न विवाहित महिलाको भूमिका निर्वाह गरेकी छन् । यसअघि सार्वजनिक फर्स्टलुक पोस्टर र टिजरमा उनको गेटअपले धेरैले आश्चर्य बनाएको थियो । बुधबार उनले फेसबुकमा आफू फिचर ‘प्रकाश’को एक पोस्टर सार्वजनिक गर्दै फिल्ममा आफू सीताको चरित्रमा रहेको जानकारी दिएकी छन् । यो पोस्टर शेयर गर्दा मन ढक्क फूलेको उल्लेख गरेकी छिन् ।    उनले लेखेकी छन्, ‘चलचित्रमा साहित्य चेत बढेसँगै चलचित्र अभिनयमा पनि गहिराई आउन थालेको छ । महिला पात्रहरु विस्तारै उपस्थिति जनाउने तत्वहरु मात्र नभएर, चलचित्र न्यारेटिभको अभिन्न अङ्ग बन्न थालेका छन्, जसको उदाहरण हो ‘प्रकाश’ चलचित्रको प्रतिनिधि पात्र ‘सिता’। उनले दीयाबाट सीता बनिरहँदा छायांकन स्थलमा रहेर जुम्लाको भाषा सिक्न र त्यहाँको रहनसहनसँग बानी पार्न सजिलो नभए पनि कठिन महशुस पनि नभएको उल्लेख गरेकी छन् ।   गरिरहेको कामप्रति इमान्दार नहुनु भनेको पात्रलाई गिज्याउनु रहेको उनको तर्क छ । अभिनेत्री मास्के अगाडि लेखेकी छन्, ‘कथा छनौट र त्यसको उठानमा नै मिहिनेत गर्न कन्जुस्याइँ गर्ने हामी, झनै पात्र छनौट र चरित्र निर्माणमा त पटक्कै ध्यान दिँदैनौ । कहिले काहीँ त झन्, हाम्रा चलचित्रहरुमा महिला पात्रहरु केवल कोटा भर्न उभ्याइएका सहभागी पात्रहरु जस्तो मात्र प्रतित हुन्छ । हामी उनीहरुको चारित्रिक विशेषता खोज्न तिर शून्य बराबर नै समय खर्चिने गर्छौँ ।’   फिल्ममा आफूले गरेको कामको बारेमा अहिले नै बोल्ने हतार हुने भए पनि एकपछि अर्को सशक्त भूमिकाद्वारा फिल्मलाई नै धान्ने शक्तिका रुपमा महिला पात्रहरुलाई आख्यानमा स्थापित गर्न थलिएकोमा खुशी व्यक्त गर्दै उनले अब नेपाली फिल्ममा कलाकारहरु बन्नका लागि राम्रो समय आएको बताएकी छन् । सार्वजनिक पोस्टरमा उनी जुम्लेली लुक्समा प्रस्तुत छिन् भने काँधमा हलो र जुवा बोकेर देखिएकी छन् । फिल्ममा उनी अभिनेता प्रदीप खड्काको आमाको भूमिकामा छिन् ।   यस फिल्ममा रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, लोकेन्द्र लेखक, निरज पन्थीलगायतको पनि अभिनय छ । भदौ १० गतेबाट प्रदर्शनमा आउने फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । दिनेश राउत निर्देशित फिल्ममा विकास सुवेदीको कथा, राजेश श्रेष्ठको छायांकन, जिवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।   

  जुम्ला :     जुम्लाको सिँजा क्षेत्रमा पर्ने तीन स्थानीय तहका नागरिकको सहजताका लागि सिँजा गाउँपालिकाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापना हुने भएको छ । हिमा, कनकासुन्दरी र सिँजा गाउँपालिकालाई समेट्न सो कार्यालय स्थापना गर्नका लागि पहल भइरहेको थियो ।    ती तीन गाउँपालिकाका सेवाग्राहीलाई सेवा लिन जिल्ला सदरमुकाममा जानुपर्ने अवस्था रहेको थियो ।  नराकोटमा मालपोत कार्यालय स्थापना गर्न निर्णय गरिएको सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो  ।    प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले सिँजाको नराकोट सुरक्षाको दृष्टिकोणले समेत ठिक भएको र नागरिकको लामो समयदेखि माग भएको बताउनुभयो । कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले नराकोटमा ठिक भए पनि हरेक पालिकामा मालपोत र नापी सेवा आवश्यक छ भन्नुभयो ।    जिल्ला समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले पदवहाली भएकै दिन जिल्लाका लागि सिँजामा मालमोत कार्यालयका लागि निर्णय गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

  काठमाण्डौँ :    बागमती प्रदेश सरकारले राष्ट्रिय समाचार समितिको कार्यालयसहित सरकारी सञ्चारमाध्यम तथा पत्रकार महासङ्घको प्रदेश कार्यालय राख्ने गरी सञ्चारग्राम भवन भनाउने भएकोे छ ।    आज प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले सरकारी सञ्चार संस्थाका प्रदेशस्तरीय कार्यालयलाई कार्यसम्पादनमा सहज होस् भन्नका लागि कार्यक्रम हलसहितको कार्यालय उपलब्ध गराउने जानकारी दिनुभयो ।    उहाँले पत्रकार महासङ्घको प्रदेश कार्यालय रहने गरी पनि कार्यालय स्थापना हुने र प्रेससँग सम्बन्धित अन्य सङ्घसङ्गठनको पनि उचित व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो । उहाँले नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समिति, पत्रकार सम्बद्ध संस्था प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, समाजवादी प्रेस सङ्गठन र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का प्रदेश समितिहरूलाई अनुदान उपलब्ध गराइने जानकारी दिनुभयो ।     उहाँले पत्रकार दुर्घटना बीमा, पुरस्कार, लोक कल्याणकारी विज्ञापनको रकम वृद्धि, लेखनवृत्ति, पत्रकारको क्षमता अभिवृद्धि, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाहरूको भवन निर्माण तथा स्तरीकरण, भ्रमणलगायत सञ्चार क्षेत्रका कार्यक्रम बजेटमा समेटिएको बताउनुभयो ।    सरकारले प्रस्तुत गरेको बजेटले पत्रकार महासङ्घ र सञ्चारसम्बद्ध संस्थाहरूलाई निकै राहत मिलेको नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगरले बताउनुभयो । “यद्यपि हामीले अपेक्षा गरेको र पटक–पटक छलफल गरेका धेरै विषय समेटिएको छैन, तर पाँचवटा आर्थिक वर्षको प्रदेश सरकारको बजेट तुलना गर्दा हालसम्म राम्रो सम्बोधन गरिएको बजेट आगामी आर्थिक वर्षको बजेट हो, हाम्रा कुरा सुनेर सञ्चार क्षेत्रलाई थोरै भए पनि प्राथमिकतामा राखिदिएकामा मुख्यमन्त्री राजेन्द्र पाण्डे, आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेल र आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालसहित प्रदेश सरकारप्रति हामी आभार व्यक्त गर्दछौँ”, उहाँले भन्नुभयो ।  

पोखरा :    सङ्घीय सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन नगरेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि गण्डकी प्रदेश सरकारले पहल गर्ने भएको छ । आगामी वर्षको बजेट तथा कार्यक्रममा उत्तरगङ्गा जलाशययुक्त आयोजना निर्माणका लागि प्रदेश सरकारले पहल गर्ने उल्लेख छ ।   नेपालकै नमूना आयोजना भएकाले यो आयोजना तत्काल सुरु गर्न नेपाल सरकारसँग पहल थालिने गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बताउनुभयो । उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना ८२८ मेगावाट विद्युत् उत्पादन गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार भएको आयोजना हो ।   प्रदेश सरकारले बुधबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दा बागलुङका केही महत्वपूर्ण आयोजनालाई सम्बोधन गर्दा उत्तरगङ्गा जलाशययुक्त आयोजना प्राथमिकतामा परेको हो । यसअघि सङ्घीय सरकारको नीति तथा कार्यक्रममा सम्बोधन हुने गरेको भए पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भने समावेश गरेको थिएन ।   प्रदेश सरकारले बागलुङमा रहेको धवलागिरि अस्पतालमा ‘सिटीस्क्यान’ सञ्चालनका लागि रु १० करोड विनियोजन गरेको छ । प्रदेशका सबै अस्पताललाई प्रविधियुक्त बनाउने अभियानअन्र्तगत धवलागिरि अस्पतालमा आगामी आर्थिक वर्षमा ‘सिटीस्क्यान’ सञ्चालनका लागि बजेटको व्यवस्था गरेको अर्थमन्त्री बरालले बताउनुभयो ।   प्रदेश सरकारले यस वर्षको नीति तथा कार्यक्रममा कृषि, सामाजिक सुरक्षा र स्वास्थ्यलाई जोड दिइएको छ । बागलुङको पञ्चकोटलाई पर्यटनको गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाएको छ । पञ्चकोटको विकासका लागि सङ्घीय सरकारले रु तीन करोड बजेट विनियोजन गरेको थियो ।   त्यस्तै बागलुङका हरेक स्थानीय तहमा पदमार्ग निर्माण गर्ने कार्यक्रम प्रदेश सरकारले ल्याएको छ । ‘एक स्थानीय तह एक पर्यटकीय पदमार्ग’ कार्यक्रमअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा पदमार्ग निर्माण हुनेछन् । पञ्चकोटबाट काठेखोला गाउँपालिका–३ धम्जामा पर्ने बेलढुङ्गासम्म पदमार्ग निर्माण गर्न अध्ययनका लागि सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको अर्थमन्त्री बरालले बताउनुभयो ।   बागलुङका अधिकारकर्मी नेता स्व भगत सर्वजित विश्वकर्माका नाममा प्रदेश सरकारले भगत सर्वजित सीप विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रमका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ । ढोरपाटन शिकार आरक्षबाट प्राप्त हुने आम्दानीलाई प्रदेश सरकारको सञ्चित कोषमा जम्मा गर्ने नीति लिइएको बजेट तथा कार्यक्रममा उल्लेख छ ।   चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा मध्यपहाडी लोकमार्गको बिहुँ खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरेको सरकारले आगामी आवमा भने कुनै पनि सुरुङमार्गको विषय उल्लेख गरेको छैन ।

काठमाण्डौँ  :      तीन दिनदेखि लगातार परेको वर्षासैँगै आएको बाढी पहिरोबाट  त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिकाको विभिन्न स्थानका ७५ घरपरिवार विस्थापित भएका छन् ।गङ्गाजमुना –६ बसेरीमा वर्षाका कारण २४ घर विस्थापित भएको छ । उनीहरूले गएरातिदेखि घर छाडेर अन्यत्र गएका छन्  ।   जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गङ्गाजमुना –६ बुढाथुममा १४, गङ्गाजमुना –५ फूलखर्कमा १४ घर, वडा नं २ रिमा १३  घर विस्थापित जनाइएको छ ।   विस्थापितका लागि त्रिपाल तथा टेन्टसमेत गाउँमा पुग्न नससकेको गाउँवासीले बताएका छन् । गङ्गाजमुना गाउँपालिका अध्यक्ष भक्त लामाले विपद् परेर विस्थापित भएकाहरूको सङ्ख्या धेरै रहेको जानकारी दिनुभयो ।  कच्ची सडक खन्दा ध्यान नदिएका कारण धेरै पहिरो आउँदा क्षति पुगेको नव निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले बताउनुभयो ।   शुक्रबार बस्ने विपद् व्यवस्थापन समितिको बैठकले पहिरो पीडितलाई राहत उपलब्ध गराउन निर्णय गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो । 

काठमाण्डौँ :    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारले ‘स्टेट पार्टनरसीप प्रोगाम’ (एसपिपी) सझौता नगर्ने प्रष्ट पार्नुभएको छ ।   २१औँ रितबहादुर खड्का स्मृति दिवसका अवसरमा आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उहाँले सरकार नेपालको राष्ट्रियता स्वाधिनताको पक्षमा दृढतापूर्वक उभिने र त्यस्तो खालको कुनै सम्झौता नगर्ने विश्वास दिलाउनुभयो ।   अध्यक्ष प्रचडले वर्तमान सरकार यो सम्झौता गर्नेतर्फ नलाग्ने बरु यस अघिको ओली सरकारले उक्त सम्झौताको कार्यान्वयन गर्ने काम गरेको तथ्य इतिहासमा भेटिने जिकीर गर्नुभयो । एसपिपीका विषयमा चर्चा गरेर राष्ट्रवादको झुठो प्रचार गर्ने काम भएको पनि उहाँले दाबी गर्नुभयो ।    उहाँले भन्नुभयो “बरु यो एसपिपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ मा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको तथ्य इतिहासमा छ, यो कुरा हामी सबैले बुझ्न जरुरी छ”, उहाँले भन्नुभयो ।   “एसपिपी सम्झौता हुँदैछ रे, भइ नै सक्यो रे भनेर जुन ढङ्गले प्रचार गरिएको छ, त्यो झुठो हो । प्रधानमन्त्री र गठबन्धनमा भएको छलफलअनुसार अहिलेसम्म त्यस्तो कुनै सम्झौता भएको छैन”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “त्यस्तो कुनै सैन्य सम्झौता हुने छैन भन्ने घोषणा म यहाँबाट गर्न चाहन्छु ।”   प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले कुनै पनि हालतमा त्यस्तो खालको सम्झौता गर्दिनँ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको जनाउँदै अध्यक्ष प्रचण्डले सरकारले सम्झौता गर्न लाग्यो भनेर कोही भ्रममा पर्न जरुरी नभएको बताउनुभयो ।    गठबन्धन सरकार एसपिपी सम्झौता गर्नेमा नलाग्ने विश्वास दिलाउँदै उहाँले  भन्नुभयो, “गठबन्धन त्यस्तो कुरामा लाग्दैन । हामी नेपालको राष्ट्रिय स्वाधिनता तथा नेपालको विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिन्छौँ ।”

भरतपुर :    निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई आज बिहान बाघले आक्रमण गरेको हो ।   स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकामध्ये उनलाई बाघले आक्रमण गरको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।    कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार बाघले जङ्गलतर्फ लगेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले खोजीकार्य जारी राखेको छ । हराइरहेका बस्नेतको खोजीका लागि निकुञ्जबाट हात्ती मगाइएको उहाँले जानकारी दिनुभयो ।

 तनहुँ :    पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा पुलबाट आज बिहान ४ः३० बजे टिपर खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ मनपाङ बस्ने ४७ वर्षीय रामबहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   मुग्लिनतर्फबाट आँबुखैरेनी आउँदै गरेको ग१क ४४६९ नंको मिनी टिपर पुलबाट अनियन्त्रित भई २०/२५ मिटर तल खस्दा घाइते दमैको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार क्रममा बिहान ६ः१० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । 

काठमाण्डौँ :     आर्थिक गतिविधिलाई चलायमान बनाउन एवं स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आजदेखि भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०२२’ सुरु हुँदैछ । पाँचौँ संस्करणका रूपमा रहेको कमर्स मेलाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । कोभिड–१९ सङ्क्रमण जोखिमका कारण अघिल्ला दुई संस्करण भने रोकिएको थियो ।   पाँचौँ संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणलाई जोड दिइएको चेम्बरले जनाएको छ । चेम्बर एक्सपोमा अन्तराष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न तथा नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोेग मिल्ने चेम्बरले बताएको छ ।   मेलामा गुणस्तरीय सामान प्रयोग गर्न एवं उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने अपेक्षा गरिएको छ । यस्तै निकासी अभिवृद्धि गर्नेमा पनि चेम्बर मेलाले सहयोग गर्ने विश्वास  गरिएको छ । मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जडीबुटीजन्य वस्तुहरू,  इलोक्ट्रोनिक सामान, गार्मेन्ट्स एवं टेक्स्टायल, छाला जन्य वस्तुहरु, कस्मेटिक, खाद्य तथा दुग्धजन्य सामग्रीहरूको प्रदर्शनी एवं बिक्री गरिने आयोजक चेम्बरले जनाएको छ ।   उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजित अन्तर्राष्ट्रिय मेलामा बङ्गलादेश पार्टनर कन्ट्रीको रूपमा रहेको छ । मेलामा नेपाल, भारत, पाकिस्तानलगायत अन्य राष्ट्रका उद्योगी व्यवसायीसमेत गरी १५० बढी स्टलहरू रहेका छन् । कोभिड–१९ बाट शिथिल अर्थतन्त्रलाई  क्रियाशील बनाउने उद्देश्यले विभिन्न राष्ट्रको सहभागितामा अन्तर्राष्ट्रिय एक्सपो आयोजना गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो ।    अन्तर्राष्ट्रिय मेलाले नेपाली उत्पादनको बजारीकरण गर्न तथा अन्तर्राष्ट्रिय व्यापारिक समुदायलाई सहभागी गराई गतिशील आर्थिक वातावरण निर्माण गर्ने मुख्य उद्देश्य रहेको छ ।