कञ्चनपुर: पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५ नं को बस दुर्घटना हुँदा बसमा सवार ३१ जना घाइते भएका छन् र दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिनुभयो । घाइतेहरूको अत्तरिया र महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहनुभएका आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले जानकारी लिनुभएको उहाँले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ । सामाजिक सञ्जालमाफमा भनिएको छ, “बुबालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ, अहिले स्वास्थ्य स्थिति सामान्य छ ।”
गण्डकी: शल्यचिकित्सक समाज नेपालको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा जारी छ । ‘साउथ एसियन सर्जिकल केयर सोसाइटी’सँगको सहकार्यमा शुक्रबारदेखि सुरु भएको सम्मेलनमा आठ सय बढी सहभागी छन् । सम्मेलनमा दई सय जना अन्तर्राष्ट्रिय प्रतिनिधिले भाग लिएको समाजका महासचिव डा. शैल रुपाखेतीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा चार वटा समानान्तर सत्रसहित दुई सय बढी वैज्ञानिक तथा अनुसन्धानमुलक कार्यपत्रको प्रस्तुती रहनेछ । यस्तै २५ भन्दा बढी सर्जिकल भिडियो सम्मेलनमा प्रदर्शन गरिने उहाँले बताउनुभयो । कार्यपत्रमाथि विज्ञसहितले सामूहिक छलफल गर्ने कार्यक्रम रहेको उहाँको भनाय छ । सम्मेलनपूर्व बिहीबार स्तन क्यान्सर, ग्यास्ट्रेक्टोमीलगायत शल्यचिकित्साका विभिन्न विषयका कार्यशाला सञ्चालन गरिएको समाजले जनाएको छ । शनिबारसम्म चल्ने सम्मेलनमा शल्य चिकित्साका क्षेत्रमा भएका नयाँ वैज्ञानिक अनुसन्धान र खोजबारे गहन छलफल हुने जनाइएको छ । “देशविदेशका शल्यचिकित्सकबीच ज्ञान, सीप र अनुभवको आदानप्रदानका लागि यो सम्मेलन फलदायी हुने अपेक्षा लिइएको छ”, महासचिव डा. रुपाखेतीले भन्नुभयो, “सम्मेलनका अवसरमा शल्यचिकित्सका क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तित्वहरुलाई विभिन्न पुरस्कार तथा सम्मानसमेत प्रदान गरिनेछ ।” सम्मेलनमा अतिथिका रुपमा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मेलनले स्वास्थ्य सेवाका क्षेत्रमा साझेदारी, सहकार्य र नवप्रर्वद्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता गराउन सबैको सामूहिक प्रयत्न जरुरी रहेको बताउनुभयो । “सम्मेलनमा हुने अनुसन्धानमूलक कार्यपत्रको प्रस्तुतिले शल्यचिकित्सा क्षेत्रमा नयाँ प्रविधि र सीपको सुदृढीकरण गर्न मद्दत पुग्नेछ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “स्वास्थ्य क्षेत्र सुधारका लागि सामूहिक प्रयास र साझेदारीको खाँचो छ ।” अस्पतालहरुमा चिकित्सकमाथि हुने गरेका दुव्र्यवहारका घटना निन्दनीय रहेको भन्दै उहाँले त्यस प्रकृतिका कृयाकलाप हुन नदिन प्रदेश सरकार सचेत रहेको उल्लेख गर्नुभयो । प्रदेशका सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आधुनिक चिकित्सासँगै आयुर्वेद र प्राकृतिक चिकित्साको विकासमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रका सुधारका लागि कार्ययोजना बनाएर काम सुरु गरिएको उहाँको भनाइ छ । उहाँले शल्यचिकित्सालगायत स्वास्थ्य क्षेत्रका समस्याको पहिचान र समाधानको उपाय पहिल्याउन सम्मेलन सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा ‘साउन एसियन सर्जिकल केयर सोसाइटी’का अध्यक्ष डा. सुनिलकुमार शर्मा ढकाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटा, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीलगायतका वक्ताले सम्मेलनको महत्व र आयामबारे विचार व्यक्त गरेका थिए । सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, चीन, बङ्गलादेश, भूटान, जापान, कोरिया, अमेरिकालगायत मुलुकका शल्यचिकित्सक सहभागी छन् ।
नवलपरासी: पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरिएको छ । जिल्लाका प्रत्येक प्रहरीलाई अध्ययनशील बनाउन जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार प्रहरीले आफ्नो काम सकेपछि पुस्तकालयमा बसेर पढ्न, कोठामा लैजान सक्नेगरी अध्ययनको वातावरण बनाउन लागिएको हो । पुस्तकालयमा लुम्बिनी स्मारिका, मदरसा सन्देश, ज्ञान गङ्गा, जीउने मार्ग, आधुनिक ब्राहमण्ड, चौतारी, दरबाहिरकी महारानी, प्रज्ञा आधुनिक नेपाली गजललगायत तीन सयबढी किताब राखिएका छन् । प्रहरी उपरीक्षक फुयाँलले तीन हजार किताब थप गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । अहिले प्रहरीका लागि मात्र कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको भन्दै आगामी दिनमा सर्वसाधारण पनि कार्यालयभित्र आएर पढ्न पाउने वातावरण बनाइने फुयाँलले उल्लेख गर्नुभयो । पुस्तकालय गत कात्तिकमा स्थापना भएको थियो ।
काभ्रेपलाञ्चोक: गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेपलाञ्चोमा १३ हजार चार सय २७ वटा रुख क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको ‘वातावरण क्लस्टर’को प्रारम्भिक अध्ययन समितिद्वारा सार्वजनिक प्रतिवेदनमा ती सङ्ख्यामा रुख लडेको तथा बगाएको उल्लेख गरिएको छ । समितिका अनुसार जिल्लाका १३ स्थानीय तहका सामुदायिक, राष्ट्रिय तथा निजी वनका रुख लडेका हुन् । सरकारी वनमा रहेका पाटेसल्लो, ठिमुरे, उत्तिस, खयरलगायत रुखको करिब तीन सय क्युफिट काठ ढलेको प्रारम्भिक तथ्याङ्कले देखाएको हो । अग्लाअग्ला रुख भएका स्थानबाट पहिरो फुटेको, माटोको प्रकार बलौटे भएको, माटोले पानीलाई थेग्नसक्ने क्षमताभन्दा अत्यधिक पानी परेको र सो माटो आफैँ तरल बनी बग्दै जाँदा सोही स्थानको चट्टान ढल्काइ वनजङ्गलमा भएका रुख प्रजातिको जराको प्रकृति एवं जरामुनि रहेको चट्टान बग्न गई पहिरो गएको निष्कर्ष निकालिएको छ । प्रतिवेदनमा सामुदायिक वन व्यवस्थापन हुन नसक्दा बुढा रुख भिरमा आफैँमा भार थाप्न नसकी ढलेको, झाडी सफाइ नभएको, अग्नीरेखा निर्माण नभएको, आगलागी भई वनको क्षयीकरण र हरितगृह ग्यासको उत्सर्जन भई जलवायु परिवर्तनमा टेवा पुगेको जनाइएको छ । भारी वर्षाका कारण ठूलो, बाढीपहिरो आई भौतिक, जैविक तथा सामाजिक वातावरणमा ठूलो क्षति भएका सन्दर्भमा प्रमुख समस्याको पहिचान, त्यसका कारण र प्रभाव पहिचान गरी आगामी दिनमा यस्तो जलवायुजन्य विपद् आउन नदिन चाल्नुपर्ने कदमका सन्दर्भमा भूगर्भविद्, वातावरणविद्ले स्थलगत अध्ययन गरी प्रारम्भिक प्रतिवेदन तयार गरिएको वन अधिकृत, वातावरण निरीक्षक देवराज घिमिरेले बताउनुभयो । उहाँका अनुसार विपद्पछि जमिनको क्षयीकरण र भूक्षय भएको, पहिरो लडेको, नदीको धार परिवर्तन भएको, नदीको चौडाई ४ गुणासम्म बढेको, मानवीय, सामाजिक, आर्थिक र भौतिक पूर्वाधाको क्षति भएको पाइएको अध्ययन समितिको निष्कर्ष रहेको छ । अध्ययन समितिमा घिमिरेलगायत पुल्चोक इञ्जिनियरिङ क्याम्पसका भू–गर्भविद् प्रकाशचन्द्र घिमिरे र वातावरविद् निराजन श्रेष्ठ, तथा जिल्लास्थित सवडिभिजन वन कार्यालयका विज्ञ कर्मचारी, स्थानीय जनप्रतिनिधिको सहभागिता थियो । प्रतिवेदनमा बाढीपहिरोबाट क्षति हुनुका कारण उल्लेख गरिएको जनाइएको छ । “अब विस्तृत अध्ययन हुनेछ, त्यसपछि विशेषगरी वातावरणीय प्रभावबारे विस्तृत कारण पत्ता लाग्नेछ”, वन अधिकृत घिमिरेले भन्नुभयो । अध्ययन टोलीले गरेको पहिलो स्थलगत अध्ययनका आधारमा प्राविधिक, वातावरणीय, भौगोलिक, राजनीतिक, सामाजिक आर्थिक आयाम र जलवायुजन्य विपद् र समस्याले सृजना गरेका असर मुख्य कारण मानेको छ । यस्तै ग्रामीण सडक निर्माण गर्दा इञ्जिनियरिङ डिजाइन, वातावरणीय मूल्याङ्कन नगरी राजनीतिक दबाब र कार्यकर्ताको छनोटका आधारमा खनिनु प्रमुख कारण मानिएको प्रतिवेदनमा उल्लेख छ
काठमाडौं: परीक्षणका रूपमा नि:शुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेको थियो । उक्त प्रस्ताव स्वीकृत भएसँगै यही मङ्सिर ९ गतेदेखि धरहरा चढ्दा उल्लेखित शुल्क लाग्ने मन्त्रालयले जनाएको छ । स्वदेशी नागरिकको हकमा भने विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने छन् । यस्तै, धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेलाई प्रतिघण्टा रु २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ । यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न प्रतिघण्टा रु पाँच हजार, धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार शुल्क निर्धारण गरिएको छ ।
काठमाडौं: सभामुख देवराज घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपिटिपी)को एघारौँ बैठकमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडिया पुग्नुभएको छ । उहाँलाई कम्बोडियाको नोम पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको संसद्का उच्च अधिकारीले स्वागत गर्नुभएको सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो । सभामुख घिमिरे यही मङ्सिर ८ देखि ११ गतेसम्म कम्बोडियाको राजधानी नोम पेन्हमा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल नेतृत्व गर्दै शुक्रबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य ईश्वरबहादुर रिजाल, सभामुखका प्रमुख स्वकीय सचिव तेज प्रकाश भट्टराई र सङ्घीय संसद् सचिवालयका उपसचिव गोपाल सिग्देल हुनुहुन्छ । कम्बोडियामामा नै रहनुभएका प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल पनि बैठकमा सहभागी हुने कार्यक्रम छ । ‘शान्ति, मेलमिलाप र सहिष्णुताको खोज’ भन्ने मूल विषयसँगै शान्ति निर्माण, मेलमिलाप र सहिष्णुताको संरचना निर्माणमा सरकार, संसद् र नागरिक समाजबीचको समन्वय एवं सहअस्तित्व र समावेशी सम्बन्धका लागि बहुपक्षीयता र साझेदारीलाई सुदृढ बनाउने विषयमा आइपिटिपीमा छलफल हुने जनाइएको छ । सभामुख घिमिरेले बैठकमा नेपालको संसद्का तर्फबाट सम्बोधन गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । भ्रमणका अवसरमा सभामुखले कम्बोडिया, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया, भियतनाम र लाओसका प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुहुने कार्यक्रमसमेत रहेको छ । सभामुख नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।
नवलपुर: नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६, भण्डाराका ६५ वर्षीय नाथुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो । खेतमा आलु रोपिरहेको समयमा थारुलाई गैँडाले आक्रमण गरेको थियो ।
काठमाडौं: उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल छिमेकीसँगै अन्तर्राष्ट्रिय समुदायसँग मैत्रीपूर्ण सम्बन्ध राखेर अघि बढिरहेको स्पष्ट पार्नुभएको छ । काठमाडौँस्थिति चिनियाँ दूतावासले छत्रपाटी निःशुल्क चिकित्सालयलाई उपलब्ध गराएको विद्युतीय सवारी सधान हस्तान्तरण गर्न आज आयोजित कार्यक्रममा उहाँले दूतावासको सहयोग दुई देशबीचको सम्बन्धका कडीका रुपमा रहेको बताउनुभयो । उपप्रधानमन्त्री सिंहले विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असर बढ्दै गइरहेको अवस्थामा चिकित्सालयलाई विद्युतीय सवारी साधन उपलब्ध गराएकामा आभार प्रकट गर्नुभयो । समुदायलाई चिकित्सा सेवा उपलब्ध गराउन क्लिनिकका रुपमा स्थापना भएको सो चिकित्सालयले सुविधा सम्पन्न अस्पतालकै जस्तो सेवा उपलब्ध गराउँदै आएको उहाँको भनाइ थियो । नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपालको आर्थिक विकास र समृद्धिका लागि चीनले सहयोग गर्दै आएको उल्लेख गर्दै दुई देशबीच विविध क्षेत्रमा सहकार्यबाट महत्वपूर्ण नतिजा हासिल भइरहेको बताउनुभयो । उहाँले छत्रपाटी निःशुल्क चिकित्सालयले सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकामा खुसी व्यक्त गर्नुभयो । सो अवसरमा काठमाडौँस्थित चिनियाँ दूतावासले उपलब्ध गराएको विद्युतीय सवारी साधन हस्ताक्षरण गरिएको थियो ।

