काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय सद्भाव कायम गर्न आज दरबारमार्गमा जागरणसभा आयोजना गर्दैछ । सभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायत अन्य वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । आज बिहान ११ बजे भद्रकालीबाट सुरु हुने ¥याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । सभामा एक लाख मानिस सहभागी गराउने लक्ष्य रहेको सो दलका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । पार्टीका जनवर्गीय सङ्गठनहरू युवा सङ्घ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगाय सबै जनसङ्गठनका सदस्य सभामा सहभागी हुने जनाइएको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ । विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी उक्त मुद्रालाई नेपालमा कारोबारका लागि थप गरिएको छ । हाल नेपालभर विभिन्न २१ वटा विदेशी मुद्राको खरिद बिक्री हुँदै आएको छ । ओमानी रियालको खरिद बिक्री सुरु भएपछि वैदेशिक रोजगारीका लागि ओमान पुगेको नेपाली नागरिकका लागि थप सहज हुने बताइएको छ ।
खोटाङ: हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा १७ टोली सहभागी हुने भएका छन् । लैङ्गिक हिङ्साविरुद्धको १६ दिने अभियानको अवसर पारेर नगरपालिकाले आयोजना गरेको महिला फुटबल प्रतियोगितामा सहभागी हुन विभिन्न जिल्लाका १७ टोलीले नाम दर्ता गरेका हुन् । ‘मेरो गोल, लैङ्गिक हिंसाविरुद्धको बोल’ भन्ने नारासहित नगरपालिकाले आयोजना गरेको महिला फुटबल प्रतियोगिताको पुरस्कार राशि रु एक लाख १० हजार एक सय ११ छ । जिल्लामा यसअघि आयोजना गरिएको महिला फुटबल प्रतियोगिताको पुरस्कार राशिभन्दा हलेसीमा आयोजना गरिएको प्रतियोगिताको पुरस्कार राशि सर्वाधिक हो । प्रतियोगिताका लागि जिल्लाका विभिन्न स्थानीयमा दर्ता भएका स्पोर्टस् क्लबका साथै छिमेकी जिल्ला ओखलढुङ्गा र भोजपुरका विभिन्न क्लबमा आबद्ध खेलाडीले नाम दर्ता गराएको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिनुभयो । नगरपालिकाले पहिलोपटक आयोजना गरेको महिला फुटबल प्रतियोगिताको खेलतालिका आज सार्वजनिक गर्ने तयारी गरिएको छ । मङ्सिर ८ गते शनिबारदेखि औपचारिक रूपमा सुुरु हुने फुटबल प्रतियोगिता त्रिधार्मिकस्थल हलेसीस्थित बसाहाथान खेलमैदानमा सञ्चालन गर्ने तयारी गरिएको छ । यही मङ्सिर १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले रु एक लाख १० हजार एक सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले रु ५५ हजार पाँच सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । सेमिफाइनलिस्ट दुई समूहलाई जनही नगद रु २२ हजार दुई सय २२ सहित प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ । यस्तै, विद्यागततर्फ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक हजार पाँच सय ५५ तथा विद्यागततर्फकै अन्य खेलाडीलाई जनही रु एक हजार एक सय ११ का दरले नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ । अभियानका अवसरमा नगरपालिकाले महिला फुटबलसँगै महिला जनप्रतिनिधिका लागि म्युजिकल चियर प्रतियोगिता पनि आयोजना गरेको जनाइएको छ । दुवै प्रतियोगिता समापनका अवसरमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको सहभागितामा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।
तनहुँ: मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेकोे छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो । मुग्लिन– पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यसअघि एक तहको कालोपत्र भइसकेको स्थानमा अन्तिम चरणको कालोपत्र थालिएको हो । हालसम्म दुई दशमलव चार किलोमिटर कालोपत्र सकिएको छ । पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर कालोपत्र भएको छ । त्यसमध्ये २९ किलोमिटर खण्डमा चार लेन र पाँच किलोमिटर खण्डमा दुई लेन कालोपत्र भएको छ । पूर्वी खण्डअन्तर्गत दमौलीको बुल्दीपुलदेखि घाँसीकुवा क्षेत्रमा पनि केही दिनमा कालोपत्र गरिने इञ्जिनियर पाण्डेले बताउनुभयो । दमौली बजारमा सडक विस्तार निर्माण भइरहेको छ । यो सडकको पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । यसमा १४ वटा साना पुल निर्माण भएका छन् । यो खण्ड रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारको लागतमा निर्माण हुँदैछ ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अन्तर्राष्ट्रिय उडान गर्ने ११ एयरलाइन्सले हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका छन् । अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी नागरिकलाई दुःख दिएको गुनासो बढेपछि पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र भाडादर उपलब्ध गराउन बुधबार निर्देशन दिएको थियो । सोही निर्देशनबमोजिम एयरलाइन्सले आज मन्त्रालयलाई भाडादरसहित विवरण बुझाएका हुन् । एघार एयरलाइन्सले भाडादरसहितको सूची बुझाएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछाने जानकारी दिनुभयो । विवरण बुझाउने एयरलाइन्समा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, फ्लाइ दुबई, इण्डिगो एयरलाइन्स, एयर अरेबिया, टर्किस एयरलाइन्स, कोरियन एयरलाइन्स, सिचुवान एयरलाइन्स, मलेसियन एयरलाइन्स र जजिरा एयर छन् ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतिकरण सुनेपछि प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र मानसिकतामा परिवर्तन गर्न निर्देश गर्नुभएको हो । प्रधानमन्त्री ओलीले देश विकास गर्ने प्रतिबद्धताका साथ लागेर स्वच्छ र पारदर्शीरुपमा काम गर्न आग्रह गर्दै सुशासन कायम, राजस्व चुहावट नियन्त्रण, गरिबी निवारण, मुलुकको छवि अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि र साधन स्रोतको उपयोग बढाउने गरी काम गर्न स्पष्ट निर्देशन दिनुभयो । “भोलिदेखि नै परिवर्तन आउने गरी काम गर्नुस् । बैठकहरुको औचित्य सिद्ध गर्नुस् । अर्को बैठकमा आउँदा यो यो परिवर्तन भयो भन्ने लिएर आउनुस् । सुशासन र विकासमा कुनै कानुनले व्यवधान खडा गरेको छ भने सरकार छिटो बाटोबाट कानुनको संशोधन गर्न पनि तयार छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो सम्पूर्ण प्रयास उत्पादन वृद्धिमा हुनुपर्छ । हाम्रो स्रोत साधन जति छन्, तिनीहरुको वैज्ञानिक ढङ्गले उपयोग गर्नुपर्छ । सूचना र प्रविधिको प्रयोग गरी विकासको गतिलाई तीव्रता दिनुपर्छ ।” बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल र सचिवहरु, मातहतका कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं: चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले दुई वर्षको काम आफूले ६ महिनाभित्रमा गर्ने बताउनुभएको छ । यसवर्षको बाँकी रहेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ आउँदो साताभित्र गर्ने तयारीमा रहेको जानकारी दिँदै अध्यक्ष डिसीले आफूलाई कुनै पनि बहाना बनाएर अलमल गर्ने र काम नगर्ने छुट नरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “बोर्डमा अध्यक्ष बन्नुभन्दा अगाडि मैले पनि स्वायतता चाहिन्छ भनेर धेरै पटक बोलेको छु । तर यहाँ काम गर्न कुनै रोकावट रहेनछ, स्वायतता छ । त्यसकारण मैले मेरो समूहसँग मिलेर यहाँ भएका सेवालाई चुस्तदुरुस्त बनाउने र आवश्यक सेवा थप्ने गरी काम गरिरहेको छु । मैले गरेका काम आगामी वर्षको वैशाख १ गतेसम्ममा देखिने छ, चलचित्रकर्मीले महसुस गर्ने गरी काम गरेर परिणाम देखाउने छु ।” अध्यक्ष डिसीले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसद्मा पेस गर्न, चलचित्र क्षेत्रको इतिहासलाई सङ्ग्रहित गर्न, पटकथालाई सङ्ग्रहित गर्न, आउँदो वर्ष २०८२ वैशाख १ गतेदेखि बक्सअफिसमा ‘रियल टाइम डाटा’ निर्मातालाई उपलब्ध गराउनेलगायतका काम गर्न आफ्नो समूहले अहोरात्र काम गरिरहेको बताउनुभयो । “चलचित्रकर्मीलाई अपनत्व महसुस गराउन बोर्डको सभाहललाई एकपटकको कार्यक्रम गर्न निःशुल्क उपलब्ध गराउनुका साथै केही चलचित्रकर्मीको हकमा निधन भएपछि अन्तिम संस्कार गर्न कठिनाइ देखिएका कारण अब त्यसको समन्वय बोर्डले गर्नेछ । यसैगरी बोर्डसहित बाँकी रहेका सम्पूर्ण चलचित्र भवनलाई अपाङ्तामैत्री ९ह्वीलचेयर पुग्ने० बनाउँछौँ”, अध्यक्ष डिसीले भन्नुभयो ।
दमौली: नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले जनप्रतिनिधिहरु जनताको काममा दिनरात खट्नुपर्ने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्यालयमा आज जनप्रतिनिधिसँगको भेटघाट एवं स्वागत कार्यक्रममा दाहालले जनताको सेवाका लागि जनप्रतिनिधिले दिनरात नभनी काम गर्नुपर्ने बताउनुभयो । दाहालले भन्नुभयो, “जनतालाई कसरी सेवा दिन सकिन्छ भन्नेतर्फ जनप्रतिनिधि जिम्मेवार बन्नुपर्छ । जनमुखी कामका लागि योजना बनाएर अगाडि बढ्नुपर्छ ।” आँबुखैरेनी गाउँपालिकाले गरेका कामकारबाहीबारे आफू जानकार रहेको भन्दै दाहालले आँबुखैरेनी गाउँपालिकाको सिको अन्य पालिकाले गर्नुपर्नेमा जोड दिनुभयो । दाहालले भन्नुभयो, “आँबुखैरेनीमा शुक्र चुमानले गरेजस्तै काम अन्य पालिकाले गर्नुपर्छ भनेर मैले भन्दै आएको छु । उहाँको कामबाट प्रभावित छु ।” उहाँले आँबुखैरेनी अस्पतालमा आवश्यक उपकरणको व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा उक्त अस्पतालको उद्घाटन भएको र केही प्रक्रियाका कारण उपकरणमा ढिलाइ भएको भन्दै उहाँले भन्नुभयो, “प्रक्रिया मिलाएर छिटो उपकरण व्यवस्थापन गर्नेतर्फ मेरो ध्यान जानेछ ।” त्यसक्रममा गाउँपालिकाका अध्यक्ष चुमानले अस्पतालले सञ्चालन गरेको अस्पताल, हाटबजारलगायत विकास निर्माणका कामबारे अध्यक्ष दाहाललाई जानकारी गराउनुभएको थियो ।
काठमाडौं: नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय गन्तव्यको भाडा दरमा छुट उपलब्ध गराएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनले भने , “दिल्ली, मुम्बई र वैङ्गलोर गन्तव्यको भाडादरमा रु दुई हजार पाँच सय सम्म र दोहा, दुवई, दमाम, क्वालालम्पुर, हङकङ, बैङ्कक र नारिताका लागि बजार भाडादरमा रु पाँच हजारसम्म छुट उपलब्ध गराइएको छ ।”

