काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले  बडादसैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गर्नुभएको छ ।      दुर्गापक्षको पहिलो दिन आज राष्ट्रपतिले देशको प्रतिनिधित्व गर्दै शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरेर जमरा राख्ने परम्परा छ । सोही परम्परालाई निरन्तरता दिँदै उहाँले घटस्थापना गरेर जमरा राख्नुभएको हो ।       आज विधिपूर्वक जमरा राखिएको स्थानमा महानवमीसम्म दुर्गा सप्तशति पाठका साथै वैदिक नियमअनुसार नवदुर्गाको पूजाआराधना गरिन्छ । विजयादशमीका दिन देवी विसर्जन गरी घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी प्रसादस्वरुप टीका र समृद्धिको प्रतीक जमरा लगाइन्छ

काठमाडौं:    सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ ।  उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदखि ३ बजेसम्म खुला हुने भएको हो ।        सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको को रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने उल्लेख छ ।      न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिअन्तर्गत घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षकीकरणको रिट निवेदनमा सुनुवाइ हुने उल्लेख गरिएको हो ।   

काठमाडौं:     नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसका अवसरमा दक्षिणकाली नगरपालिका सतिदेवी स्थित फेन्दे उत्थान केन्द्र, बाल सेवाघरमा निःशुल्क आँखा परीक्षण सहित खाद्यान्न वितरण गरेको छ ।  यही असोज २४ गते अर्थात अक्टोबर १० तारिखका दिन परेको विश्व दृष्टि दिवसका अवसरमा बाल सेवाघरमा रहेका करिब ४०  बालबालिकाहरुको आँखा परीक्षण गरी चस्मा र आवश्यक औषधी बालबालिकाहरुलाई निःशुल्क उपलब्ध गराइएको छ ।  त्यस्तै सोही अवसरमा बाल सेवाघरका लागि आवश्यक खाद्यान्न सामाग्री समेत हस्तान्तरण गरिएको थियो ।       सो अवसरमा सङ्घका महासचिव भरतबहादुर चन्द यस वर्षको विश्व दृष्टि दिवसमा बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिइएकाले खाद्यान्न सहयोग सहित बाल सेवाघरमा आँखा परीक्षण गरिएको बताउनुभयो ।   उहाँले भन्नुभयो “अहिले विश्वमा नै बालबालिकाहरुको आँखा स्वास्थ्यलाई प्राथमिकता दिई विश्व दृष्टि दिवस मनाईदै छ त्यसैले हामिले नेपालमा पनि बढिभन्दा बढि बालबालिकाहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै उनिहरुको आँखा स्वास्थ्यका बारेमा सबैलाई जनचेतना अभिबृद्धि गर्ने गरी कार्यक्रम संचालन गरिरहेका छौ । ”       दक्षिणकाली – ५ का वडाध्यक्ष श्यामबहादुर खत्रीले सङ्घलाई धन्यवाद दिँदै बाल आँखा स्वास्थ सबैको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो ।  सो अवसरमा आँँखा परीक्षण तथा खाद्यान्न वितरण कार्यक्रममा सङ्घका कोषाध्यक्ष चिजकुमार मास्के सङ्घका सल्लाहकार एवं  पूर्व मुख्यसचिव लिलामणी पौडेल समेत सहभागि हुनुभएको थियो ।       सन् १९९८ को अक्टोवर ८ तारिखदेखि हरेक बर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवस मनाइन्छ ।   यस वर्षपनि यही असोज २४ गते(अक्टोबर १०) मा नेपालमा पनि ‘आँखालाई माया गरौं’ (बालबालिकाको आँखा उपचारलाई प्राथमिकतामा राखौँ) भन्ने नारा सहित विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ  ।

गोरखा:    गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९:१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।      परम्पराअनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह ९पूजाकोठा० मा पदस्थापना गराइ पानी घडा थापेर जमरा राखिएको उहाँले बताउनुभयो ।  “गोरखा दरबारको जमरा घरमा एक पाथी, कालिका मन्दिरमा र गोरखनाथ मन्दिरमा चाररचार मानाको दरले जौ को जमरा राखिएको छ”, उहाँले भन्नुभयो, “उपल्लो कोट, तल्लो कोटहरुमा पनि एकरएक मानाका दरले जमरा राख्ने गरिन्छ, गोरखा दरबारका सबै ठाउँमा कुल तीन पाथीको जमरा राखिएको छ ।”      यहाँ जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित कालो बोकाको बलि दिने प्रचलन छ ।      बडादसैँमा टीकासँगै जमरा लगाउँदा शुभ हुने धार्मिक विश्वास पाइन्छ । घटस्थापनाको दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउने गरिन्छ ।

पोखरा:     पोखरा र आसपासका शक्तिपीठमा नवदुुर्गा महोत्सव सुरु भएको छ । कास्कीकोट दरबारमा रहेको गुप्तकालीमा राष्ट्रशान्तिको कामना गर्दै महोत्सव आरम्भ भएको छ ।     गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिले महोत्सव आयोजना गरेको हो ।  नवरात्र प्रारम्भ भएसँगै यहाँका देवीस्थान र कोटहरूमा महोत्सव आयोजना भएका हुन् । परापूर्वकालदेखि तान्त्रिक तथा वैदिक विधिबाट पूजा हुँदै आएको गुप्तकालीमा  दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर पूजाआराधना गर्ने प्रचलन छ ।  विधिपूर्वक कोतघरमा प्रवेश गरी नवमीसम्म नित्य दुर्गा सप्तशती पाठ गरिन्छ । फूलपातीका दिन रामघाटबाट लगेको फूलको डोली विधिवत् गुप्तकालीमा प्रवेश गराएर नवपत्रिकाले पूजा गरिन्छ ।   फूलपातीकै दिन कुँवर जातिको लोपोन्मुख सैन्य अभ्यास सरुन खेल प्रदर्शन गरिनेछ । अष्टमीको मध्यरातमा कालरात्रि पूजा र नवमीमा पञ्चबलि दिइन्छ । यस अवसरमा नगरा बजाउने, सत्रौँ शताब्दीका ढाल, तरबार र तोप प्रदर्शन गरिन्छ ।  विन्ध्यावासिनी मन्दिरमा पनि महोत्सव सुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले २०६४ सालदेखि महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवभर देवीभागवत ज्ञान महायज्ञ पनि हुँदैछ 

सप्तरी:    सप्तरी र सुनसरीको सिमानामा रहेको कोशी नदीमा जलसतह घट्दै जाँदा चहलपहल बढेको छ ।      कोशी ब्यारेजको हुँदै आफ्नो गन्तव्यतर्फ जानेहरू निश्चिन्त भएर गरिरहेको देख्न सकिन्छ । केही दिनअघि अविरल वर्षाले कोशीमा पानीको बहाव बढेका कारण यहाँ व्यक्ति र यातायातका साधन आवतजावतमा रोक लगाइएको थियो ।  गर्मीयाम होस् या चाडपर्वका बेला सधैँजसो चहलपह हुने यस स्थानमा पुनः पुरानै अवस्था फर्किन थालेको स्थानीय भागवत मण्डलले बताउनुभयो ।  कोशी पुलमा दशैँ सुरु भएदेखि यहाँ विभिन्न ठाउँबाट वनभोज मनाउन आउनेको धेरै भीड लाग्ने गरेकामा यस वर्ष पनि सोही अवस्था कायमै रहने विश्वास जागेको उहाँको भनाइ छ ।  “विशेषगरी कात्तिक, मङ्सिर, पुस, माघ र फागुनमा आन्तरिक तथा बाह्य पर्यटक बढी आउने गरेको देखिन्छ”, उहाँले भन्नुभयो, “कोशी ब्यारेजको अवलोकन र भम्रण गर्न बढी भारतको विहारबाट आउने गर्दछ ।”  केही दिनअघि कोशी ब्यारेजमा भेटिनुभएका भारत विहार राज्यको सुपौलका भागवत मिस्त्रीले बाढीले यहाँको अवस्था त्रस्त रहे पनि विस्तारै सहज बन्दै गएको र भारतबाट पनि यहाँ अवलोकन गर्न आउनेको सङ्ख्या बढ्न थालेको सुनाउनुभयो ।  “म यहाँ पहिलोपटक आएको हो वास्तवमै राम्रो रहेछ । यहाँको हावापानी पनि निकै राम्रो छ । यसलाई पर्यटकीय रूपमा विकास गर्न सकेको भए यहाँ धेरै मान्छे आउँथे । यहाँका जनता र सरकारलाई फाइदा हुन्थ्यो”, उहाँले भन्नुभयो ।  सोही ठाउँका शम्भु यादवले कोशी ब्यारेजको अवलोकन गर्न सुपोलबाट धेरैजसो विद्यार्थी घुम्न आउने गरेको बताउनुभयो । नजिकै रहेको कोशी क्षेत्रमा उनीहरू वनभोज, घुम्नघाम र रमाइलोका लागि आउने गरेको उहाँको भनाइ छ ।  “वर्षाका कारण केही दिन पहिले निकै समस्या भयो । हामीले सोचेका थियौँ, अब त तहसनहसका अवस्था पो आउँछ कि तर त्यस्तो भएन । फेरि चहलपहल देख्दा खुसी लागेको छ”, उहाँको भनाइ थियो  ।

काठमाडौं:    केही दिनअघि परेको अविरल वर्षासँगैको बाढीपहिरोमा परेकाहरूको उद्धार गर्ने कर्तव्य पालनाको सिलसिलामा नेपाली सेनाका एक अधिकृतसहित तीन जनाको निधन भएको छ । प्रमुख सेनानी मिलन केसीको सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ मा पहिरोले पुरिएकाको उद्धारका क्रममा केही दिनअघि निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसैगरी अमलदार नरेन्द्रबहादुर पाल र प्युठ शङ्कर चन्दको दोलखा बिगु गाउँपालिका–१ लामा बगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरक्षार्थ तैनाथ रहेको अवस्थामा ज्यान गएको जनाइएको छ ।  वतन नखुलेका एक जना भूपू हवल्दारको समेत बाढीपहिरोमा परी निधन भएको जानकारी दिइएको छ । बाढीपहिरोबाट सेनाका केही व्यारेकमा क्षति भएको  जनाइएको छ ।  बाढीपहिरोका घटनालगत्तै नेपाली सेनाले प्रभावित क्षेत्रमा तत्कालै परिचालन भइ खोजी, उद्धार र राहत सामग्री वितरण कार्यमा सक्रियताका साथ काम गर्दैआएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बाँके:    चाडपर्वमा हुनसक्ने सम्भावित आपराधिक घटना नियन्त्रण र सुरक्षाका लागि बाँकेमा एक हजार प्रहरी परिचालन गरिएका छन् ।  भयरहित वातवरणमा दसैँ तिहारजस्ता ठूला पर्व मनाउन प्रहरीले बाँकेमा विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरी र तालिमप्राप्त कुकुर परिचालन गरिएको जनाएको छ ।  दसैँ, तिहार र छठलगायत चाडपर्वमा हुनसक्ने विभिन्न आपराधिक घटना रोक्ने र शान्ति सुरक्षा कायम गर्ने लक्ष्यसहित बाँकेमा चाडपर्व विशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।  “चाडपर्वको समयमा अपराध र गैरकानुनी कार्य रोक्न विशेष सुरक्षा योजना तयार गरेर लागू गरेका छौँ, जिल्लाको सुरक्षा व्यवस्थालाई ध्यान राखेर थप एक हजार प्रहरी परिचालन गरिएका छन्”, उहाँले भन्नुभयो । विशेष सुरक्षा योजनाअन्तर्गत एकजना प्रहरीले दैनिक कम्तीमा १६ घण्टा ड्युटी गर्नुपर्नेछ । यसअघि दैनिक आठदेखि १२ घण्टासम्म ड्युटी गर्दै आइरहेका प्रहरीलाई १६ घण्टा ड्युटीमा खटाइने योजना बनाइएको हो । चाडपर्वको बेला १५ प्रकारका अपराध हुनसक्ने प्रहरीको आकलन छ ।  बाँकेमा सबैभन्दा धेरै चोरीका घटना हुन्छन् । पाकेटमारी, ठगी, लुटपाट, स्न्याचिङ, कुटपिट, झैझगडा, गुण्डागर्दी, सवारीमा भाडा वृद्धि, कालोबजारी, खाद्य पदार्थको कृत्रिम अभाव, विस्फोटक पदार्थको अवैध कारोबार र घरेलु मदिराको प्रयोगबाट अपराधका घटना हुनसक्ने प्रहरीको विश्लेषण छ ।  त्यस्तै सवारी दुर्घटना, ध्वनि प्रदूषण र सार्वजनिक यातायातमा हुनसक्ने महिला हिंसाका घटनालाई कम गर्नेगरी सुरक्षा योजना तयार गरिएको प्रहरी उरीक्षक कार्कीेले बताउनुभयो ।  उहाँका अनुसार नेपालगञ्ज भन्सार जमुनाहा नाका, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्कमा सहायता कक्ष स्थापना गरिने छ । चाडपर्वमा सहरभन्दा गाउँघरमा मानिसको चहलपहल बढी हुने भएकाले गाउँमा समेत सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको छ ।  विशेष सुरक्षा योजनाअन्तर्गत अपराध बढी घटेका स्थान र घट्न सक्ने सम्भावित स्थानमा सादा पोशाकमा पनि प्रहरी परिचालन, सूचना सङ्कलन तथा उच्च निगरानी सुरु गरिएको कार्कीले जानकारी दिनुभयो ।  यसैबीच इलाका प्रहरी कार्यालय कोहलपुरले चाडपर्वका बेला लागुऔषध ओसारपसार बढ्ने आशङ्का भएकाले कोहलपुरमा तालिमप्राप्त कुकुर परिचालन गरेर जाँचमा तीव्रता दिइएको जनाएको छ ।  इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले चाडपर्वका मानिसको भीड बढी हुनेहुँदा लागुऔषधको ओसारपसार बढ्ने आशङ्का रहेकाले यस्ता कार्य नियन्त्रणका लागि तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको बताउनुभयो ।

काठमाडौं:    लामो गृहकार्य र छलफलपछि अन्तत: नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ ।  आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएपछि लामो छलफलपछिको प्रयास सफल हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी चटौतले जानकारी दिनुभयो । बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल भएको थियो । दुई देशका ऊर्जा सचिस्तरीय संयुक्त निर्देशक समितिको आज सम्पन्न छैटौँ बैठकले बिहीबार सम्झौता गर्ने निर्णय गरेको छ ।  सचिवस्तरीय संयन्त्रमा नेपालको तर्फबाट ऊर्जासचिव सुरेश आचार्य र जनगणतान्त्रिक बङ्गलादेश सरकारका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद हबिवुर रहमानको सहअध्यक्षता थियो । प्रवक्ता चटौतका अनुसार पहिलो चरणमा ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात हुनेछ । सम्झौतामा नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्र्ड र भारतीय नोडज एजेन्सी एनटिपीसी विद्युत् व्यापार निगमबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर हुनेछ ।  आज (बिहीबार) ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम तय भएको प्रवक्ता चटौतले जानकारी दिनुभयो ।  यस्तै, सुनकोशी तेस्रो जलविद्युत् आयोजना नेपाल, बङ्गलादेश र भारतबीच सहकार्यपूर्ण सहभागिताका आधारमा विकास गर्ने र सो आयोजना विकास गर्ने सम्बन्धमा प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी संयुक्त उपक्रम सम्झौता आगामी बैठकअगावै टुङ्गो लगाउने सहमति भएको छ । नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनको प्राविधिक र आर्थिक पक्षको अध्ययन गरिनेछ । नेपालको जलविद्युत् क्षेत्रमा लगानी प्रवर्द्धनका लागि बङ्गलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न व्यावसायिक सम्मेलन आयोजना गर्ने सम्बन्धमा सम्भावनाहरूको खोजी गरिनेछ ।  वैकल्पिक ऊर्जाको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र बङ्गलादेशको समान कार्य गर्ने संस्थाबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रलाई आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी अन्तिम रूप दिने र हस्ताक्षर गर्ने विषयमा पनि दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा सहमति भएको छ ।  यस्तै नेपाल, बङ्गलादेश र भारतबीच विद्युत् व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विद्युत् क्षेत्रमा सहकार्यका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ–आफ्नो तर्फबाट पहल गरिनेछ ।  माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् बङ्गलादेशले खरिद गर्ने सम्बन्धमा बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) बीच हुने विद्युत् व्यापार सम्झौताका सन्दर्भमा बङ्गलादेशले नेपाली अधिकारीलाई जानकारी गराएको थियो । विसं २०८० को जेठ १ गते नेपालका तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव चटौत तथा बङ्गलादेशको विद्युत् ऊर्जा तथा खनिज मन्त्रालयका अतिरिक्त सचिव डा साइद मासुम अहमद चौधरीको सहअध्यतामा बसेको संयुक्त कार्य समूहकोे छैटौँ बैठकले तय गरेको कार्यप्रगति पेस गरिएको थियो ।  त्यसमा अन्तरदेशीय विद्युत् प्रसारण लाइनको निर्माण तथा व्यवस्थापन गर्ने, सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको निर्माण तथा विकास प्रक्रिया अगाडि बढाउने, प्रसारण प्रणालीको विकास गर्नेलगायत विषयमा समावेश थिए । गत असारमा नै विद्युत् व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको थियो । दुई देशका ऊर्जा सचिवस्तरीय बैठकका अवसरमा सम्झौताको तयारी गरिए पनि अन्तिममा स्थगित भएको थियो ।  बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण नेपाल, भारत, बङ्गलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा सम्झौताको तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित भएको जनाइएको छ ।  बङ्गलादेशको अन्तरिम सरकारले बिजुली लैजाने विषयमा सघन छलफल गरिरहेको र आवश्यक पहल भइरहेको थियो । नेपालले भारतीय प्रसारण लाइनको प्रयोग गरी वर्षायाममा बङ्गलादेशमा विद्युत् निर्यात गर्नेछ ।  यस्तै, कुल छ सय ८० मेगावाटको सुनकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ । यो अर्को महत्त्वपूर्ण विषय हो ।  प्राधिकरणले पाँच वर्षसम्म वर्षायामका छ महिना ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गरिने जनाएको छ । प्रतियुनिट आठ रुपैयाँ १७ टाका (नौ रुपैयाँ ३० पैसा) मा प्राधिकरणले बिजुली बिक्री गर्नेछ । नेपाल र भारतबीच विद्युत् आयात निर्यातका लागि हाल सञ्चालनमा रहेको ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय लाइन हुँदै भारतीय भूमिमा रहेको बहरामपुर–भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै बिजुली बङ्गलादेश जानेछ ।  प्राधिकरणले तोकिएको मूल्य भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । प्रसारण लाइनको ढल्केबर–मुजफ्फरपुरबीचको प्राविधिक चुहावट भने प्राधिकरणले नै व्यहोर्ने छ । साङ्केतिक रूपमा नै भए पनि बङ्गलादेशमा बिजुली बिक्री हुनु नेपालको सफलताका रुपमा लिइएको छ । भारतपछि उपक्षेत्रीय रूपमा नेपालको बिजुली अन्यत्र पुग्नु आफैँमा महत्त्वपूर्ण हुने सरकारको बुझाइ छ ।  प्राधिकरणले भारतीय कम्पनी एनभिभीएनलाई बिजुली उपलब्ध गराउने छ । सोही कम्पनीले नेपाली बिजुली बङ्गलादेश पुर्याउने छ । प्राधिकरणले चिलिमे र त्रिशूली जलविद्युत् केन्द्रबाट उत्पादित बिजुली बङ्गलादेशमा निर्यात गर्ने बताउँदै आएको छ ।  बङ्गलादेश सरकारले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ ।  नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ । गत साउन १३ मा नेपाल, भारत र बङ्गलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा त्रिपक्षीय सम्झौताको तयारी गरिएको थियो ।  यस्तै, नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय बैठकको समेत आयोजना गरिएको थियो । बङ्गलादेशको राजनीतिक परिवर्तनले सो कार्यक्रम स्थगन हुन पुग्यो । यी दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीमा २०७५ सालमा नै हस्ताक्षर भइसकेको छ । सम्झौता कार्यान्वयन भएमा प्राधिकरणले वर्षायाममा बिजुली बिक्री गरेर रु एक अर्ब २३ करोड बराबर आम्दानी हुने प्रक्षेपण गरेको छ । बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव ९जिएमआर०ले निर्माण गर्न लागेको नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने पाँच सय मेगावाट बिजुली लैजान इच्छा व्यक्त गरेको छ । विद्युत् बिक्रीसम्बन्धी सम्झौताका विषयमा पटकपटक छलफल भए पनि अन्तिम निष्कर्ष भने निस्कन सकेको छैन । यस्तै सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण र विकासका लागि प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम निर्माण गर्ने समझदारी २०८० जेठ २ गते सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको पाँचौँ बैठकले गरिसकेको छ ।  सोही बैठकले दुई देशबीच विद्युत् व्यापारका लागि अन्तरदेशीय प्रसारण लाइनका सम्भाव्य विकल्पको अध्ययन गर्न प्राविधिक टोलीलाई निर्देशन दिने निर्णय गरेको थियो । दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको पहिलो बैठक २०७५ मङ्सिर १७ र १८ मा काठमाडौँमा सम्पन्न भएको थियो । सोही बैठकमा नेपालको बिजुली बङ्गलादेश लैजान सहजीकरण गर्ने विषयमा प्रारम्भिक छलफल भएको थियो ।  त्यसअघि २०७५ साउन २५ गते तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बङ्गलादेशका विद्युत् ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदबीच विद्युत् क्षेत्रमा द्विपक्षीय सहकार्य सुरुआत गर्ने प्रयोजनार्थ एक समझदारीमा हस्ताक्षर भएको थियो ।  सोही समझदारीपछि दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको बैठक नियमित बस्दै आएको छ । हाल प्राधिकरणले भारतलाई मात्रै बिजुली निर्यात गर्दै आएको छ ।