पोखरा:   थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...

कैलाली:   टीकापुर नगरपालिका–७ र ८ मा चितुवा त्रास फैलाएको छ । चितुवा बस्तीमा आएर घरपालुवा जनावर मार्नुका साथै मानिस पनि आक्रमणको सिकार भएका छन् । केही दिनअघि वडा नं ८ फाटाका २२ वर्षीय अरविन चौधरी भाग्यले बाँच्नुभयोे । उहाँको शरीरमा घाउ लागेको छ । यद्यपि उहाँ खतरामुक्त हुनुहुन्छ । उपचारपछि उहाँ तङ्ग्रिनु भएको छ ।   चार महिनादेखि राति बस्तीमा आउने चितुवाले भैँसी, बाख्रा, बङ्गुर र कुकुर मारेको छ ।  चितुवाको डरले राति घरबाहिर निस्कने आँट कसैको छैन । “राति शौचालय जान निस्केको थिए, नजिकै चितुवा देखेँ, अनि घरभित्र दौडिए”, टीकापुर–७ का शिवम चौधरीले भन्नुभयो, “त्यस दिनदेखि अँध्यारो भइसकेपछि बाहिर निस्कन डर लाग्छ । खाना खाइसकेपछि सरसफाइको काम पनि राति गर्दैनौँ ।” गाउँमा जङ्गली जनावरको जोखिम बढेपछि वन सबडिभिजन कार्यालयको सहयोगमा सत्ती कर्णाली सामुदायिक वनको तीन सय मिटर क्षेत्रमा तारजाली लगाइएको र अझै तारजाली आवश्यक रहेको वन अध्यक्ष जीतराम चौधरी बताउनुहुन्छ । “अझै तीन किलोमिटर वनक्षेत्रमा तारजाली आवश्यक छ”, उहाँ भन्नुहुन्छ, “जनावरलाई नियन्त्रण गर्न नसके बस्तीमा दिउँसो पनि जोखिम रहन्छ ।” यहाँ सत्ती कर्णाली र श्रीलङ्का सामुदायिक वन क्षेत्रको नजिक भारततर्फ पनि घना जङ्गल भएकाले जङ्गली जनावरको आक्रमण बढिरहेको वडा नंं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताउनुभयो ।  पारिबाट हात्ती, बाघ र चितुवा आउछन्, टीकापुरका वडा नं ७, ८, ५ र २ मा जङ्गल क्षेत्र जोडिएकाले यी वडामा जङ्गली जनावरको जोखिम छ । ” वडा नं ८ मा चितुवामात्र होइन हात्तीले समेत त्यत्तिकै सताउने गरेका छन् ।  हात्ती नियनत्रणका लागि तारजाली लगाउने, राति उज्यालो बनाउन बत्तीको व्यवस्था गरेको उहाँले बताउनुभयो । बर्दिया राष्ट्रिय निकुञ्जबाट पनि जङ्गली जनावर आउने भएकाले बस्ती असुरक्षित भएको उहाँको कथन छ ।   सत्ती कर्णाली सामुदायिक वन क्षेत्रसँग कर्णाली करिडोर क्षेत्र जोडिएकाले जङ्गली जनावरको ओहोरदोहोर हुने जोखिम रहेको वन सबडिभिजन कार्यालयका अधिकृत मोहम्मद ताहा हुसेन निकरानीले बताउनुभयो ।  “केही महिनादेखि जङ्गली जनावरको आक्रमण बढेको जानकारी आएको छ”, उहाँले भन्नुभयो, “त्यहाँ बर्दिया राष्ट्रिय निकुञ्जबाट बर्दिया हुँदै जङ्गली जनावर कैलालीका सामुदायिक वन प्रवेश गर्ने गरेका छन्, यसले पनि जोखिम बढेको छ ।” डिभिजन कार्यालयले सामुदायिक वनलाई तारजाली लगाउन सहयोग गरेको र त्यहाँका नागरिकलाई सुरक्षित रहन सचेत गराइएको उहाँले बताउनुभयो ।

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार सुशासन कायम गर्दै बेदाग सत्ताबाट बाहिरिएको यथार्थलाई जनताले बुझेका बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज यहाँ आयोजित स्मृतिसभामा उहाँले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिको पक्षमा माओवादी नेतृत्व सक्रियतापूर्वक लागेका बेला अपारदर्शी ढङ्गले सरकार परिवर्तन भएको बताउनुभयो । “मेरो नेतृत्वको सरकारले सुशासन र सामाजिक न्यायका पक्षमा गम्भीर पहल गर्दै थियो । स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने, सामान्तवादको अवशेषका रूपमा रहेका मिटरब्याज समस्याको कानुनी समाधान खोजिँदै थियो । सुशासनको पक्षमा पहिलोपटक सरकारका तर्फबाट दूरगामी पहल भएपछि सकारका काम भएनन्”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो । सरकारबाट देश र जनताको पक्षमा लिनुपर्ने पहललाई तीव्र बनाएर विजेताका रूपमा माओवादी बाहिर आएको बताउनुभयो ।       “राजनीतिक रूपमा माओवादीलाई राम्रो आधार बनेको छ, यसलाई सङ्गठनमा बदल्नुपर्छ, अब हामीलाई एउटा नकारात्मक परिघटनाबाट पार्टी पुनःनिर्माण, सङ्गठन सुदृढ  गर्ने अवसर प्राप्त भएको छ । पार्टीलाई एकताबद्ध गर्ने, नीति तथा योजनालाई जनमुखी बनाउनेछौँ”, अध्यक्ष दाहालले भन्नुभयो ।            माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीले मात्रै मुलुकको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार गर्न सक्ने बताउनुभयो । “माओवादीले नै त्यो ऐतिहासिक जिम्मेवारी लिनुपर्छ, माओवादीलाई रुपान्तरण गरेर एकताबद्ध, क्रान्तिकारी र शक्तिशाली पार्टी निर्माण गरेर मात्र राष्ट्रिय कार्यभार पूरा गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।       माओवादी पार्टी सरकारको नेतृत्वबाट प्रतिपक्षमा पुगेको अवस्थालाई सहजै लिइएको उल्लेख गर्दै उहाँले सरकारमा रहनु र बाहिर आउनु ठूलो कुरा नभएको बताउनुभयो । “यद्यपि, अहिलेको कार्यभार पूरा गर्न सरकारको भूमिका महत्त्वपूर्ण रहन्थ्यो, सङ्घ र प्रदेश सरकारमा नरहेसँगै संसद्मा मुख्य भूमिका रहन्छ । जनतालाई एकताबद्ध गरेर अघि बढ्नुपर्छ”, वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो ।       राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षा तथा प्राप्त उपलब्धिलाई सृदृढ बनाउनुपर्नेमा जोड दिँदै उहाँले सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र बनाएर आर्थिक समृद्धि हासिल गर्दै समाजवादको आधार तयार गर्नुपर्ने बताउनुभयो । 

काठमाडौँ:   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ ।   बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।   विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी , बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।   बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   विभागले कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ ।

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनः नवीकरण गर्नुपर्ने बताउनुभएको छ ।       प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसको महिला भलिबल टोलीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले दुई देशबीच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायातलगायत क्षेत्रमा सहयोग प्राप्त गरेको बताउनुभयो ।  उहाँले खेलकुदको क्षेत्रमा रुस अग्रपङ्क्तिमा रहेको बताउनुभयो । दुई देशको भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुनु सकारात्मक भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले  खेलका माध्यमबाट पनि आपसी सम्बन्ध विस्तारमा योगदान पुग्ने बताउनुभयो ।   प्रधानमन्त्रीले रुसको प्रसिद्ध ‘ ग्रेट मस्को सर्कस’ र नेपालको मौलिक नृत्य, ‘अर्केष्ट्रा’ संस्कृतिको आदानप्रदानमा निरन्तरता हुनुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

काठमाडौं:    नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा(तामाङ)ले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ ।       नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित नेता लामाले प्रदेशप्रमुख यादवचन्द्र शर्मासमक्ष दाबी पेस गर्नुभएको हो ।  कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाका साथ उहाँले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो । नेता लामालाई आजै प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्ने सम्भावना छ ।       मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै प्रदेशप्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि दलहरुलाई आज साँझ ५ बजेसम्ममा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।      यसैबीच कांग्रेसले मुख्यमन्त्रीसहित सात र एमालेले छ मन्त्रालय लिने सहमति भएको जनाइएको छ । 

काठमाडौं:    बागमती सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच मन्त्रालय बाँडफाँट भएको छ ।       कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले जानकारी दिनुभयो ।   नेकपा एमालेले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय लिने सहमति भएको उहाँले बताउनुभयो । 

ताप्लेजुङः     ताप्लेजुङमा एक सालकको उद्धार गरिएको छ । सोमबार  फुङ्लिङ नगरपालिका–७ ऐश्वर्या चोकको सडकबाट प्रहरीले सालकको उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार प्रहरी टोलीले सालकलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । सालकलाई उचित हेरचाह र स्थानान्तरण सुनिश्चित गर्न ताप्लेजुङस्थित डिभिजन वन कार्यालयलाई घटनाको बारेमा तुरुन्तै जानकारी गराइएको थियो । आज बिहान उप–डिभिजन वन कार्यालयका कर्मचारीलाई सालक हस्तान्तरण गरिएको लुङ्गेलीले बताउनुभयो । वन कार्यालयका कर्मचारीले सालकलाई उपयुक्त बासस्थानमा सुरक्षित फिर्ता गर्ने जनाएको छ ।  लोपोन्मुख मानिने सालकको अस्तित्व सुनिश्चित गर्नु सबैको कर्तव्य रहेको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ ।

काठमाडौं:    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको जीवन सुरक्षित हुनेगरी प्रभावकारी ढङ्गले मौसमका सूचना प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।  जल तथा मौसम विज्ञान विभागको निरीक्षणपछि उहाँले जनताको जिउधनको सुरक्षालाई  प्राथमिकतामा राखेर विभागले सेवा  प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको हो । “जलवायु परिवर्तनका कारण हिमाल, पहाड र तराई आ–आफ्ना समस्या छन्, यसको अध्ययन गरेर व्यवहारिक रुपमा जनजीवनमा असर नपर्ने गरी विभाग क्रियाशील हुनुपर्छ,”– मन्त्री खड्काले भन्नुभयो ।  उहाँले विकास निर्माणसँगसँगै जलवायु परिवर्तन र यसका असर न्यूनीकरणलाईसमेत ध्यानमा राखी जल तथा मौसम पूर्वानुमानलाई समयसापेक्षित रुपमा परिमार्जित गर्दै अगाडि लैजानुपर्ने उल्लेख गर्नुभयो ।  विकास निर्माणको कामलाई असर नपर्ने गरी विभागले खोज र अनुसन्धानलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो । मन्त्री खड्काले कर्मचारीको मूल्याङ्कन कार्यसम्पादनको आधारमा हुने भएकाले कर्मचारीलाई निर्भीक भएर काम गर्न निर्देशन दिनुभयो । उहाँले विभागका समस्या समाधानका लागि मन्त्रालय गम्भीर रहेको बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले जल तथा मौसमसम्बन्धी हालसम्म कुनैपनि नीति नबनेको बताउनुभयो । उहाँले जल तथा मौसम विज्ञान विभागको कार्य प्रकृति विशुद्ध प्राविधिक भएकाले रिक्त दरबन्दी पूर्ति गर्न प्रयास गर्ने बताउनुभयो । विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले स्थान र समय विशेषको मौसम पूर्वानुमानको माग जनस्तरबाट आए पनि त्यसलाई सम्बोधन गर्न नसकिएको बताउनुभयो । विसं २०१९ मा जलस्रोत सर्वेक्षण एकाइमार्फत देशको मौसमका बारेमा जनतालाई सुसूचित गर्न थालेको विभागले हाल हवाई मौसम पूर्वानुमान, तीन दिने मौसमी विवरण, प्रत्येक साता कृषि बुलेटिन, बाढी पूर्वानुमानका साथै प्रभावमा आधारित मौसम पूर्वानुमानसमेत गर्दै आएको छ ।

काठमाडौं:    नेपाली सेनाले विशिष्ट व्यक्ति एवं महत्त्वपूर्ण संरचना र प्रतिष्ठान गरी एक सय ५५ स्थानमा सेवा प्रवाह गर्दै आएको छ । गत आर्थिक वर्षमा सेनाको बम डिस्पोजल टोलीले एक सय ५८ शङ्कास्पद वस्तु निष्क्रिय पारेको जनाएको छ सेनाले राष्ट्रिय एकताको प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा सरोकारवाला निकायसँगको समन्वयमा सांस्कृतिक, धार्मिक, ऐतिहासिक महत्वका गढी र किल्लाको संरक्षण गर्दै आएको छ ।  राष्ट्रिय एकीकरणका बेला प्रयोग भएका ऐतिहासिक पदमार्गको पहिचान गरी तिनको सम्भार र संरक्षण पनि सेनाले गरिरहेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताउनुभयो ।   विपद् व्यवस्थापनमा पनि अग्रपङ्क्तिमा रहेर नेपाली सेनाले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको उहाँले सुनाउनुभयो ।  सङ्घ र प्रदेशमा अभ्यास हातेमालो र देशका सबै जिल्लामा सरोकारवाला र सुरक्षा निकायको समन्वयमा प्रत्येक वर्ष ‘अभ्यास मनसुन’ सञ्चालन गरिरहेको छ ।  त्यस सिलसिलामा एक सय २५ सामुदायिक विपद् प्रतिकार्य तालिम र अभ्यासमार्फत एक वर्षमा तीन हजार तीन सय ९० जनालाई प्रशिक्षण दिएको उहाँले बताउनुभयो । विपद् प्रतिकार्य योजनाअनुसार अत्याधुनिक स्रोत साधनसहित एक हजार एक सय २६ जनालाई विपद् व्यवस्थापनसम्बन्धी विशेष तालिमप्राप्त जनशक्ति मुलुकका २२ स्थानमा परिचालन भएका छन् ।  प्राकृतिक र मानव सिर्जित डढेलो, पहिरो, बाढी, डुबान र दुर्घटनाबाट हुनसक्ने जनधनको क्षति कम गर्न चार हजार चार सय ३८ जना परिचालन भएका छन् ।  एक सय ५४ सुत्केरीको उद्धार नेपाली सेनाको हवाई साधनबाट भएका उडानमध्ये ८५ प्रतिशत उद्धारमा प्रयोग भएका छन् गत आर्थिक वर्षमा गैरसैनिक नागरिक उद्धार एक सय ५४ वटा भएका थिए ।  सेनाले राष्ट्रिय सुरक्षासँगै विपद् व्यवस्थापन, राष्ट्रिय विकास, आन्तरिक सुरक्षा, अन्तर्राष्ट्रिय शान्ति कार्य, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकता प्रवर्द्धन र आपत्कालीन खोज तथा उद्धारमा आफूलाई समर्पित गर्दै आएको छ । मुलुकको प्रमुख राष्ट्रिय सुरक्षा सङ्गठन नेपाली सेनाले नागरिकलाई प्रत्यक्ष सेवा प्रदान गर्ने सिलसिलामा निःशुल्क स्वास्थ्य शिविर, सचेतानामूलक कक्षा, रक्तदान, सर्पदंश उपचार र श्रमदान कार्यमा समेत सहयोग पुर्याइरहेको छ ।  सेनाले वन तथा वन्यजन्तु संरक्षणका लागि आठ हजार एक सय ३६ फौज राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणको सुरक्षामा खटाएको छ । त्यसक्रममा हालसम्म एक सय १६ जनाले वीरगति प्राप्त गरेका छन् । १६ लाख वृक्षरोपण सेनाले वन तथा पर्यवारण संरक्षण गर्ने क्रममा हालसम्म १६ लाख १८ हजार पाँच सय ७५ विरुवा रोपिसकेको छ । देशको महत्त्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा रहेका हिमालको सौन्दर्य कायम राख्न सेनाले प्रत्येक वर्ष सफा हिमाल अभियान  सञ्चालन गरी त्यस क्षेत्रबाट फोहर सङ्कलन गर्दै आएको छ । पछिल्ला वर्षमा सेनाले ऐतिहासिक तालतलैयाको संरक्षण र संवर्द्धनमा पनि नागरिकसँग हातेमालो गर्दै आएको छ ।