काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

धनुषा:     धनुषामा कारले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ बस्ने करिब २५ वर्षका रामबाबु साह रहेका छन् । आज बिहान सवा ६ बजेतिर लक्ष्मीनियामा प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई बी.एल.१२ सी ०९४४ भारतीय नम्बरको कारले पछाडिबाट ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका साहको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमै उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रक्ता रञ्जन अवाले जानकारी दिए ।

म्याग्दी:   म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी(मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित आयोजनाले गति लिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–मालढुङ्गा खण्डका इन्जिनियर अच्युतविलास पन्तले चालु आर्थिक वर्षभित्र नै पाँच किलोमिटरमा अक्सफाल्ट प्रविधिको कालोपत्र र थप पाँच किलोमिटरमा ग्राभेल गरी आगामी २०८१ असोजसम्म पूरै १३ किलोमिटर कालोपत्र गरिसक्ने समय तालिका बनाएर निर्माणलाई तीव्रता दिएको जानकारी दिनुभयो । “नदीजन्य निर्माण सामग्रीको अभावले २०७९ कात्तिकदेखि करिब १५ महिना निर्माण सुस्ताएको थियो”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीलाई ताकेता र वैकल्पिक स्रोतबाट नदीजन्य सामग्रीको व्यवस्थापन गर्न सहजीकरण भएपछि निर्माणले तीव्रता पाएको छ ।” सडक फराकिलो, पानीको निकासका लागि नाली र पर्खाल निर्माण धमाधम भइरहेको तथा मालढुङ्गाबाट फर्सेसम्मको पाँच किलोमिटर दूरीमा कालोपत्र गर्न सबबेस बिछ्याउन थालिएको इन्जिनियर पन्तले बताउनुभयो । यो खण्डमा चालु आर्थिक वर्षभित्र नै कालोपत्र गरिसक्ने लक्ष्य छ । विभिन्न ठाउँमा करिब एक किलोमिटर ढलान र खोल्सामा कल्भर्ट निर्माण गरिएको छ । सडक फराकिलो बनाउने, नाली र पर्खाल निर्माण भइरहेको फर्सेबाट लामाखेत खण्डमा पनि यस वर्ष ग्राभेल गर्ने तयारी भएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् । सडकको छेउछाउमा रहेका घरटहरा भत्काउनका लागि केही दिनमा सूचना निकालेर क्षतिपूर्ति वितरण गरिने आयोजनाका प्रमुख ध्रुव झाले बताउनुभयो । तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । एपेक्स–खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुङ्गा, गिट्टी, बालुवा र रोडा अभाव भएको जनाउँदै २०७९ कात्तिकदेखि सुस्त गतिमा काम गरेको थियो । कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न २०७८ असारमा सर्वोच्च अदालतले रोक लगाएको थियो । विसं २०८० असोजमा म्याद सकिएको यस सडक योजनाको हालसम्मको भौतिक प्रगति २५ प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आगामी २०८१ असोजसम्मका लागि ठेक्काको म्याद थपिएको छ । सडक निर्माणमा ढिलाइ हुँदा यातायातका साधन सञ्चालन र यात्रुलाई आवतजावतमा समस्या भएको छ । खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । “सामान्य अवस्थामा २० मिनेटमा बेनीबाट मालढुङ्गा पुगिन्थ्यो, अहिले एक घण्टा लाग्छ”, उहाँले भन्नुभयो “धुलो, हिलो र साँघुरो भएकाले बेनी–बागलुङ–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गर्नुपर्दा गाडी र ढुवानी भाडा बढेको छ ।” यो सडकबाट म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । बेनी–मालढुङ्गा, बेनी–जोमसोमलगायत म्याग्दीका दूरगामी महत्वका सडक र विकास आयोजना निर्माणमा देखिएको समस्याका विषयमा सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, नागरिक समाजले सहजीकरण र माथिल्लो निकायमा समन्वय गरेका छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा खुलेको मालढुङ्गा–बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरलानाकाबाट दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर फराकिलो पारेर कालोपत्र गर्न लागिएको हो ।

काठमाडौं:    नेपाल प्रहरीका चार जना असइ (प्रहरी सहायक निरीक्षक)सहित २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । सूचना जारी गरी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयलले जनाएको छ । प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ । तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कार्बाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।  

काठमाडौंः    होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो ।  गएराति छाडिएकामा एक सय दुई पुरुष र तीन जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।    उनले भने, “फागुपूर्णिमाका दिन नियम विपरीत काम गर्ने उनीहरु नियन्त्रणमा लिएका थियौँ, उनीहरुको अवस्था हेरेर एक सय पाँच जनालाई गएराति  उनीहरुको परिवारको जिम्मा लगाइएको छ । राति थप केही पक्राउ परेका छन्, उनीहरु सबैको  हकमा छानबिन भइरहेको छ ।”   जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुई पाङ्ग्रे सवारी तीन सय वटा र चारपाङ्ग्रे्रे सात वटा सवारी साधनलई नियन्त्रणमा लिइ ट्राफिक प्रहरीको जिम्मा लगाइएको छ ।   लापसे, मापसे गरी सवारी साधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाएको अभियोगमा उनीहरुलाई सवारी साधन नियन्त्रणमा लिइएको हो ।    फागुपूर्णिमा अर्थात होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले हिजो आइतबार उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागू गरेको थियो । विभिन्न ठाउँमा ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो ।

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटामा आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो ।  चितवनको कालिका नगरपालिकामा शक्तिखोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि प्रयास भए पनि बन्न सकेको छैन । भेटमा सहभागी कालिका नगरप्रमुख रेग्मीले शक्तिखोर औद्योगिक क्षेत्र स्थापनाका साथै समग्र कालिकाको विकास र समृद्धि तथा समावेशी शिक्षालगायत विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराइएको बताउनुभयो ।  भेटमा प्रधानमन्त्री दाहालले औद्योगिक क्षेत्र स्थापनाको विषय आगामी बजेटमा सम्बोधन गर्ने आश्वासन दिँदै भेटघाटमा सहभागी हुनुभएका अर्थमन्त्री वर्षमान पुनलाई रोकिएको बजेट निकासका लागि निर्देशनसमेत दिनुभएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो ।   सो अवसरमा एमाले अध्यक्ष ओलीसहित अर्थमन्त्री पुन, नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, केन्द्रीय सदस्य कपिल पोखरेल, समावेशी शिक्षाविज्ञ तथा अभियन्ता डा बाबुराम ढुङ्गाना, बहिरा महासङ्घका निवर्तमान अध्यक्ष केपी अधिकारीलगायतको सहभागिता थियो । चितवनबाट प्रमुख रेग्मी नेतृत्वको प्रतिनिधिमण्डल आज काठमाडौँ आएको हो ।  भेटघाटका क्रममा त्रिशूली डाइभर्सन, सामान्नीकरण अनुदान, समावेशी स्कुल स्थापनालगायत समग्र नगरको विकासका विषयमा प्रधानमन्त्री दाहालसमक्ष पहलकदमीका लागि अनुरोध गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो ।

अछाम:    अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए । षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्र्याक्टर सुयडी नजिकै दुर्घटना भएको हो । दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएको प्रहरी निरीक्षक साउदले बताए । मृतक र घाइते एउटै वडाका बासिन्दा हुन् । घाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

ललितपुर:    ललितपुरको ढोलाहिटीमा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । होली खेल्ने क्रममा गएराति दुई समूहबीच झडप भएको थियो । मृत्यु हुनेमा पाँचथरका २८ वर्षीय रोबर्ट राई र सुनसरीका ३० वर्षीय पुजन राई रहेका छन् । उनीहरु दुवैजना ललितपुर महानगरपालिका– २६ ढोलाहिटीमा बस्दै आएका थिए । उनीहरूको शरीरका विभिन्न भागमा छुरा प्रहार भएको पाइएको छ । घटनामा संलग्न रहेको आशंकामा केहीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

डोटी:      डोटीमा नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर थप एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले आदर्श गाउँपालिका–२ का ६० वर्षीया भागादेवी ओझाको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आज मृत्यु भएको बताए । ओझासँगै ढिस्कोमा पुरिएका ५० वर्षीया पार्वती खड्काको उद्धार गरिएको प्रनाउ श्रीवास्तवले जानकारी दिए ।  खड्काको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । शनिबार मात्रै माटो खन्ने क्रममा ढिस्कोले पुरिएर शिखर नगरपालिका–९ का २१ वर्षीया निर्मला रोस्याराको मृत्यु भएको थियो । रोस्यारासँगै माटो लिन गएका अन्य तीन महिलालाई उद्धार गरिएको बताइएको छ । स्थानीयवासी नयाँ वर्ष नजिकिएसँगै घर लिपपोतका लागि रातो तथा कमेरो माटो वढी मात्रामा प्रयोग गर्दछन् ।