सुनसरी: सशस्त्र प्रहरीले सुनसरीमा १६३ केजी ८४५ ग्राम गाँजा बरामद गरेको छ । मङ्गलबार राति १:३० बजे सुनसरी बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोशी नदिको किनारमा पाँच–छ जनाले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट सहप्रहरी निरीक्षक बिग बहादुर गोलेको कमाण्डमा खटि गएको ६ जनाको गस्ती टोलीलाई देखेपछि गाँजा छाडी डुङ्गा लिई फरार भएका प्रहरीले जनाइको छ । उक्त गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ । सशस्त्र प्रहरीले फागुन १ गतेदेखि हालसम्म एक एम्बुलेन्ससहित ५६४.४७५ केजि गाँजा बरामद गरेको शस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले बताए ।
मोरङ: मोरङको बेलबारी १ भेडाटोल बस्ने ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार मङ्गबार राति १ः४५ बजे बमबहादुरले ४५ वर्षीया श्रीमती गीता लिम्बूलाई धारिलो हतियार (दाउ)प्रयोग गरी हत्या गरेका हुन् । बेलबारी–१ कि शर्मिला राईको घरमा विगत चार वर्षदेखि भाडामा बस्दै आएका लिम्बूले श्रीमतीमाथि दाउ प्रहार गरेपछि स्थानीयले प्रहरीलाई सूचना गरेका थिए । नजिकै रहेको प्रहरी पुग्दा गीताको मृत्यु भइसकेको थियो । प्रहरीका अनुसार श्रीमतीको हत्यापछि सोही खुकुरीले आफ्नो घाँटीमा रेटेका बमबहादुर लिम्बु गम्भीर अवस्थामा घटनास्थलमा भेटिएका थिए । प्रहरीले तत्काल उद्धार गरी बमबहादुरलाई उपाचारका लागि नोबेल अस्पताल मेडिकल कलेज विराटनगर पठाइएको थियो । घाँटीमा गहिरो चोट लागेका लिम्बू घटनास्थलमा नै बोल्न नसक्ने अवस्थामा थिए । लिम्बूको उपचारका क्रममा बुधबार बिहान ३ः२० बजे मृत्यु भएको प्रहरीको भनाइ छ । स्थानीयका अनुसार श्रीमान श्रीमती बिच मनमुटाव भइरहने गरेको थियो । श्रीमतीलाई दाउ प्रहार गरेपछि बमबहादुरले छोरा योन्जन लिम्बूलाई दाउ प्रहार गरेका थिए । तर उनी भागेर बाँचेका थिए । दुबै शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ ।
पोखरा: पाेखरामा तेस्रो संस्करणको ‘स्टार्स समर क्याम्प २०८०’ हुने भएको छ । वार्षिक परीक्षापश्चात फूर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । यही चैत्र १९ गतेदेखि चैत्र २८ गतेसम्म पोखरामा सञ्चालन हुने क्याम्पले बालबालिकाको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने अवसरका साथै नयाँ साथीहरुसँग घुलमिल हुने र रमाउने अवसर प्राप्त गर्ने कार्यक्रम संयोजक जसमाया गुरुङ जसुले बताइन् । ‘समर क्याम्पमा बालबालिकाले व्यक्तिगत एवं सिर्जनात्मक सिकाईको बारेमा बुझन् पाउनेछन्, यसका अलावा शिक्षामुलक ज्ञान लिदैँ साथीहरुबीच आत्मियता तथा आत्मविश्वास बढाउदै आत्मनिर्भर बन्न सिक्नेछन्’ उनले भनिन् । बालबालिकामा सामाजिक सीप हस्तान्तरण गरि उनीहरुमा व्यक्तित्व एवं नेतृत्व विकास गराउने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा सिट सिमित हुने भएकोले सहभागी बन्न इच्छुकले नाम टिपाउन सक्ने आयोजक संस्थाकी अध्यक्ष समेत रहेकी गुरुङले जनाइन् । क्याम्पमा हुने नयाँ प्रतिभा पहिचान, सामुहिक कार्य, रमाइलो वातावरण तथा बाहिरी अनुभव लगायतले उनीहरुलाई आगामी दिनमा सफलता प्राप्त गर्न मद्दत गर्ने उनको विश्वास छ । क्याम्पमा सहभागी बालबालिकाले फेस पेन्टिङ, योगा, नाटक, गायन, नृत्य, संगीत, सेल्फ डिफेन्सको लागि तेक्वान्दो, कँराते, स्विमिङ सहित अन्य रमाइला इन्डोर तथा आउट डोर गेम खेल्न पाउनेछन् । स्टोरी टेलिङ, पब्लिक स्पिकिङ, कल्चरल फोटोसुट, बिबिक्यु नाइट, आर्ट काफ्ट ड्रइङ, मोमो बनाउने सिप मात्र नभएर विभिन्न पर्यटकिय ठाउँ घुम्न अवसर समेत उनीहरुलाई मिल्नेछ । १० दिने कार्यक्रममा आयोजकले यातायात, होस्टेल, खानाखाजा, स्वास्थ्यकर्मी एम्बुलेन्स तथा अवधिभर चाहिने सम्पूर्ण सामाग्रीको व्यवस्था मिलाएको आयोजकले जनाए । नेपाली तथा विदेशी प्रशिक्षकले बाबुनानीलाई रमाइलो माहोलमा ज्ञान हस्तान्तरण गर्ने उनीहरुको भनाई छ । यो कार्यक्रम यसअगाडि पोखरामा दुईपटक आयोजना भैसकेको छ । स्टार्स स्टुडियो नेपाल नेपाली मौलिक लोकसंस्कृति र सांस्कृतिक नृत्यहरुको संरक्षण र प्रर्वद्धनका लागि क्रियाशिल संस्था हो । यसको कार्यालय न्युरोड पोखरामा रहेको छ । लोक नृत्यको प्रशिक्षणका साथै विभिन्न जातजातीको मौलिक भेषभुषाको संरक्षण, फिल्म निर्माण, इभेन्ट मेनेजमेन्ट लगायतको क्षेत्रमा यसले काम गरिरहेको छ । यस्तै स्टार्स फाउन्डेसन नेपालले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । क्याम्प पोखरा लेकसाइड खहरेको स्ट्रिट नम्बर ‘२१ ए’ मा रहेको प्यासन नेपालमा सञ्चालन हुनेछ ।
काठमाडौं: सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । फागुन २९ गते पाँच राजनीतिक दलबीच नयाँ राजनीतिक समीकरण भएसँगै न्यूनतम कार्यक्रम तयार गर्न कार्यदल बनाएको थियो । पाँच दलबीच भएको सात बुँदे सहमतिका आधारमा कार्यदलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ तयार गरेको हो । नीति तथा कार्यक्रममा संविधानको मर्म र भावनाविपरीत राज्यसञ्चालनमा देखिएका विचलन रोकी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहीनता एवम् व्यावसायिक निराशालाई चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । विभिन्न १३ मुख्य क्षेत्रलाई प्राथमिकता राखिएको छ । सरकारले आर्थिक शिथिलता अन्त्य गर्ने, वित्तीय संस्थालाई विसङ्गती मुक्त बनाउने, सार्वजनिक संरचना सुधार गर्ने, छरितो सेवा प्रवाहसँगै सुशासन कायम गर्ने, काम–रोजगारी–उद्यमशीलता र स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई व्यवस्थित गर्ने, भौतिक पूर्वाधार विकास र अन्तर–निकाय समन्वयलाई प्रभावकारी तुल्याउने, ऊर्जा विकास एवम् सूचना र सञ्चार नीतिगत व्यवस्था गर्ने विषय न्यूनतम कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी भूमि व्यवस्था, वन–वातारण, जलवायु अनुकूलन र विपद् व्यवस्थापन, युवा र खेलकुद, पर्यटन, संस्कृति तथा सामाजिक सद्भाव, महिला सहभागिता, सशक्तिकरण र सामाजिक समावेशीता, सङ्क्रमणकालीन न्याय र दिगो शान्ति र राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीतिलगायत विषय समेटिएको छ । कार्यक्रममा पाँच राजनीतिक दलका शीर्ष नेताहरू प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको उपस्थिती रहेको छ ।
ढोरपाटन: “सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौँका लागि छुट्नुपर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो । साँझ पाँच बजेतिर निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र भइसकेको थियो । पहाडी बाटोमा तीव्र गतिकै कारण बस दुर्घटनामा पर्यो”, धौलागिरी अस्पतालको आकस्मिक कक्षमा उपचाररत घाइते दशरथ नेपालीले सुनाए। उनका अनुसार यात्रु कुर्दा रुकुममै ढिला भएपछि चालकले रानीकोटमा जाम छल्ने भन्दै गाडीको गति बढाएका थिए । “रुकुम र बागलुङको सीमाना पातीहाल्ने आइपुग्दा पनि गाडीको गति कम भएको थिएन । गाडी हुँइकिएपछि मैले सिट समातेर आफूलाई सम्हालिरहेको थिएँ”, उनले भने, “पातीहाल्नेबाट निसीखोलातर्फ लाग्ने सडक निकै घुमाउरो र ओरालो छ । यात्रुहरुले ओरालोमा अलिक सुस्त चलाउनु भन्दा पनि चालक अटेर गर्दै अघि बढेका थिए । ड्राइभरले घुम्तीमा मोड्न नसक्दा गाडी खस्यो ।” घाइते दशरथको नाक, मुख र टाउकोमा चोट लागेको छ । उहाँ अन्य घाइतेहरुसँगै अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन् । आकस्मिक कक्षमा केही घाइतेहरु पीडाले कराइरहेका छन् भने कही मलिन अनुहारमा शोक मनाइरहेका छन् । उनीहरुको उपचारमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटिएको छ । रुकुम पश्चिम मुसीकोट नगरपालिका–१ का नेपालीले आफू पसलका लागि सामान लिन र त्यही मेसोमा आफन्त भेट गर्न काठमाडौँका लागि गाडी चढेको बताए । उनले गाडी अनियन्त्रित भएपछि केही यात्रुले हामफाल्न खोजे पनि सफल नभएको सुनाए । “केही यात्रु गाडी पल्टिन्छ भन्ने लागेर हामफाल्ने प्रयास गरेका थिए । तर गाडी सडकबाट तल खसिहाल्यो”, उनले भने। बस खसेपछिको केही समयसम्म आफूले केही थाहा नपाएको उनले सुनाउनुभयो । “केही बेरपछि होस आउँदा वरिपरी यात्रुका शव र घाइते मात्रै थिए । एकैछिन हातै चलेन । जसोतसो उठेर रुख र ढुङ्गाले च्यापिएका घाइतेलाई निकाल्न सहयोग गरेँ ।” उनीसहितका घाइतेलाई प्रहरीले उद्धार गरी बुर्तिबाङमा सामान्य उपचारपछि रातिनै बागलुङ ल्याएको थियो । उनका अनुसार गाडीको अघिल्लो पट्टि बसेको धेरैको मृत्यु भएको छ । यो पनि पढ्नुहोस बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, २५ जना घाइते दुर्घटनाका घाइतेको उपचार गर्न सरकारलाई ओलीको आग्रह दशरथसँगै आकस्मिक कक्षमा उपचार गराइरहेका रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१ का हेमराज केसीको टाउको र नाकमा चोट लागेको छ भने बाँया हात राम्रोसँग चलेको छैन । उनी पनि चालकको लापरबाहीले दुर्घटना भएको बताउछन् । “म गाडीको पछिल्लो सिटमा थिएँ । गाडी अनियन्त्रित भएपछि म हालफाल्न ढोकासम्म पुगेको थिए । तर ढोका खोल्न नपाउँदै बस खस्यो”, नले सुनाए । उनले बस पल्टिएपछि आफूले केही थाहा नपाएको बताए । “म होसमा आउँदा शरीर रुखले च्यापिको थियो । साथीले उद्धार नगरेको भए सायद त्यहीँ मर्थे हुँला”, उनले भने । उनका अनुसार होस्मा आउँदा केही काल्नामा अड्किएका थिए त केही घाइतेहरु चिच्चाइरहेका थिए । दुर्घटनामा परी घाइते भएकाहरुले धौलागिरी अस्पतालले विपद् व्यवस्थापन टिममार्फत उपचार गराइरहेको छ । सो अस्पतालका सूचना अधिकारी शान्ति भण्डारीले अहिले अस्पतालमा दुर्घटनाका २१ घाइतेको उपचार भइरहेको बताए । उनका अनुसार सात जनालाई भने पोखरा रेफर गरिएको छ । घाइतेमध्येका धेरैको स्वास्थ्यमा सुधार हुँदै गएको उनको भनाइ छ । पोखरा पठाइएका घाइतेहरुको अवस्था भने गम्भीर रहेको भण्डारीले बताए। बागमती प्रदेश ०१–००६ ख ३८७९ बस दुर्घटनामा परी मृत्यु हुनेमा दाङका १८ वर्षीय लक्की पुन मगर, रुकुम पश्चिम मुसिकोट–१ का २७ वर्षिया बिनिता केसी, रुकुम पश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टिका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवाष गौतम भनिने मानसिंह विक, गोरखा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । बस सडकदेखि अन्दाजी एक सय ५० मिटर तल खसेको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुने अधिकांश रुकुमका छन् । घटनास्थलमै मृत्यु भएका सात जनाको शव सङ्कलन गरी सोमबार रातिनै रुकुम पठाइएको उहाँको भनाइ छ । दुई जनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ । बसमा ३७ जना यात्रु सवार थिए ।
चितवन: चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन वटा भाले गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । पश्चिममा गैँडाको सङ्ख्या बढी भएपछि पूर्वतर्फ स्थानान्तरण गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासी (बर्दघाट(सुस्तापूर्व)को दिव्यपुरी क्षेत्रबाट दुई वटा गैँडालाई पूर्व ल्याइएको छ । अन्दाजी आठ र १७ वर्षका गैँडालाई नियन्त्रणमा लिएर पूर्वी चितवनको खैरहनी नगरपालिका अन्तर्गत कुचकुचे मध्यवर्ती सामुदायिक वन नजिक निकुञ्जको भित्री भागमा छाडिएको छ । यस्तै कावासोती क्षेत्रबाट एक गैँडा नियन्त्रणमा लिएर पूर्व ल्याइएको छ । अन्दाजी २८ वर्ष हाराहारीको सो भाले गैँडालाई कसरादेखि पूर्वी क्षेत्रमा छोडिएको हो । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको हो । निकुञ्जका हात्ती, हात्ती सारे, प्राबिधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना र अन्य कर्मचारी गरी ६० जना जनशक्ति गैँडा स्थानान्तरणमा परिचालन भएका छन् । निकुञ्जले अहिले छ वटा गैँडालाई आन्तरिक स्थानान्तरण गर्ने तयारी गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदन अनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । स्थानान्तरण गर्दा आठ वर्षदेखिमाथिका गैँडालाई गरिने छ । पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा गैँडा छन् । जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा छन् । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैँडा छन् । एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम समेत बढ्दो गर्दछ । पूर्वी क्षेत्रमा घाँसे मैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा स्थानान्तरण थालिएको हो । केही वर्षअघि आएको बाढीले पूर्वका गैँडा बगाएर भारतसम्म पुर्याएको थियो । बगेका कतिपय गैँडा निकुञ्जकै पश्चिमी क्षेत्रमा समेत पुगेका थिए ।।
काठमाडौ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बागलुङमा सोमबार भएको बस दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न सरकारसँग आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा घाइते भएका सबैको छिटो उपचारको प्रबन्ध गर्न सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले दुर्घटनामा ज्यान गुमाउने यात्रुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । हिजो पूर्वीरुकुमबाट काठमाडौँतर्फ आउँदै गरेको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा नौ जनाको ज्यान जानुका साथै २८ जना घाइते भएका छन् । यो पनि पढ्नुहोस बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, २५ जना घाइते
पर्वत: पर्वतको पैयुँ गाउँपालिकामा बाँदर धपाउन कर्मचारी नियुक्त गरिने भएको छ । गाउँपालिकाका सातवटै वडामा बाँदरको आतंक बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो । पैयुँ गाउँपालिकाको सोमबार सम्पन्न १३औँ गाउँसभाले सातवटै वडामा बाँदर हेरालु कर्मचारी नियुक्त गर्ने निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिए । उनका अनुसार, अहिलेलाई यति नै संख्यामा कर्मचारी नियुक्त गर्ने भन्ने निर्णय गरिएको छैन । तर, न्यूनतम पाँचरपाँचजनाका दरले कर्मचारी राख्ने तयारी गरिएको छ । हरेक वडामा पाँचजनाका दरले ३५ कर्मचारी नियुक्त गर्ने, उनीहरूलाई सेवासुविधा के–कति निर्धारण गर्ने भन्ने विषयमा कार्यपालिकाको बैठकबाट निर्णय गरिनेछ । बाँदर नियन्त्रण योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा पालिकाले सात लाख रुपैयाँ विनियोजन गरेको छ । १३औँ गाउँसभाले बाँदर नियन्त्रणसँगै राँगा पाल्ने किसानलाई जनही २० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । पछिल्लो समय रैथाने जातका लिमे र पाराकोटे भैँसी लोप हुँदै गएपछि राँगा पाल्न प्रेरित गर्ने उद्देश्यले अनुदान दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताए । यस्तै, सरकारले कक्षा–५ सम्म दिने दिवा खाजा कार्यक्रमलाई पैयुँ गाउँपालिकाले कक्षा–६ सम्म विस्तार गर्ने निर्णय गरेको छ । पालिकास्तरीय चिस्यान केन्द्र सञ्चालन गरिने भएको छ । कक्षा–८ को पालिकास्तरीय परीक्षालाई एसईई ढाँचामा सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।
काठमाडौँ: सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी उपभोक्तालाई बाह्रै महिना वितरण गर्ने गरी अध्ययन सुरु गरेको छ । जसअनुसार सिन्धुपाल्चोकको हेलम्बुस्थित आयोजनाको ‘हेडवर्क्स’ नै स्थानान्तरण गर्ने तयारी गरिएको हो । वर्षायाममा आउने बाढीबाट आयोजनाको हेडवर्क्स जोगाउन मुस्किल हुने भएपछि आयोजना नै बन्द हुने अहिलेको समस्या समाधानका लागि हेडवर्क्स स्थानान्तरण आवश्यक भएको मेलम्ची खानेपानी विकास समितिको भनाइ छ । हाल सोही समस्याका कारण आयोजना हिउँदमा सञ्चालन हुने र वर्षामा बन्द गर्नुपर्ने अवस्था छ । समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना उपत्यकावासीको धारामा पानी वितरण गर्न हेडवर्क्स नै स्थानान्तरणको विकल्प नभएको बताउनुभयो । “मेलम्ची आयोजनालाई स्थायी नबनाएसम्म सम्भावित मौसमजन्य विपत्तिको घटनाबाट बचाउन वर्षा सुरुवात भएसँगै बन्द गर्नुपर्ने अवस्था रहन्छ”, उहाँले भन्नुभयो, “यसकारण हामीले कुन स्थानमा आयोजनाको हेडवर्क्स सार्नुपर्न उपयुक्त हुन्छ रु लागत कति लाग्छ रु भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ । अध्ययनका लागि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकलाई जिम्मा दिएका छौँ ।” उहाँले अध्ययन प्रतिवेदनका आधारमा अनुमानित लागत निकाल्ने र आवश्यक स्रोत व्यवस्थापन गर्नका लागि पहल गरिने बताउनुभयो । “एसियाली विकास बैंक (एडिबी)ले गरेको अध्ययन प्रतिवेदनमा पनि हेडवर्क्सलाई स्थानान्तरण गर्नुपर्ने उल्लेख छ । अझै हामी थप अध्ययन गरिरहेका छौँ”, अन्सारीले थप्नुभयो, “अध्ययन प्रतिवेदन आएपछि थप प्रक्रिया अगाडि बढाइनेछ ।” उहाँले आयोजना निर्माणका क्रममा विगतमा भएका गल्ती कमजोरीलाई सच्चाउदै आयोजनालाई स्थायित्व दिन छलफल चलिरहेको बताउनुभयो । आयोजना स्थायी भएपछि वर्षायामसँगै मेलम्ची आयोजना बन्द गर्नुपर्ने बाध्यताको पनि अन्त्य हुने उहाँको भनाइ छ । मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पनि पन्तले विभिन्न अध्ययनबाट अब हेडवर्क्सको संरचना निर्माणस्थल नै सारेर त्यसभन्दा माथि सुरक्षित स्थानमा लैजान आवश्यक देखिएको बताउनुभयो ।

