काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

मुस्ताङ:    बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्‍याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ । गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो ।  कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पुर्याएको थियो । जनशान्ति माविका शिक्षक मनवीर किसानका अनुसार  बाढीले विद्यालयको खेलमैदान, कक्षाकोठा र छात्राबास भवन क्षति गरेपछि गाउँपालिकासँग समन्वय गरी यही भदौ ८ गतेसम्मका लागि पठनपाठन बन्द गरिएको जानकारी दिनुभयो ।  “भवन र खेलमैदानमा बालुवा थुप्रिएको छ । बाटो पनि हिलाम्मे छ”, उहाँले भन्नुभयो, “आवासीयरूपमा सञ्चालन भएको विद्यालयमा खानेपानी, विद्युत्, खाद्यान्न र आवासको व्यवस्थापन नभएसम्म पठनपाठन सञ्चालन गर्न सम्भव छैन ।” बाढीले विद्यालयको साढे दुई रोपनी करेसाबारी र शिक्षकले आवासका रूपमा प्रयोग गरेको दुईकोठे भवन भत्काएको छ । दुई सय जना विद्यार्थी रहेको जनशान्ति माविको छात्राबासमा एक सय ४० जनाले आवासीय सुविधा लिएका छन् ।  कागबेनीमा क्षतिग्रस्त घर, भवन, होटलमा जमेको गेग्य्रान हटाउने, भत्केका होटल तथा घरबाट बहुमूल्य सामग्रीसहित सामान उत्खनन गर्ने र बाढीले पूरै पुरेका घर, संरचनाको पहिचान गर्ने र संरक्षण गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिनुभयो । “नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयवासी र छिमेकी गाउँबाट आएका सर्वसाधारणले बालुवा पन्छाउने काम गरिरहेका छन्”, उहाँले भन्नुभयो, “खानेपानी र विद्युत् आपूर्ति गराउने काम भइरहेको छ ।”   बाढीबाट विस्थापितलाई गाउँपालिकाको प्रशासकीय, सामुदायिक र जोमसोमको सामुदायिक भवनमा राखिएको छ । बाढीले पुल र सडक बगाएपछि अवरुद्ध बनेको जोमसोम–कोरला सडक मर्मत थालिएको छ । “मुस्ताङको उपल्लो भेग जाने सडक धेरै स्थानमा क्षतिग्रस्त हुँदा यातायात अवरुद्ध भएका छन् । जोमसोम–कोरोला सडक कम्तीमा तीन ठाउँ यातायात अवरुद्ध छ । तल्लो मुस्ताङको लेते–जोमसोम खण्डको पनि मार्फाखोलामा समय–समयमा यातायात अवरुद्ध हुने गरेको छ”, बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत् प्रजापतिले भन्नुभयोे, “तल्लो खण्डको पहिरो हटाएपछि उपल्लो खण्डमा काम सुरु गरेका छौँ ।”

हेटौँडा:   हेटौँडामा एक युवकले आफ्नै संवेदशील अङ्ग (लिङ्ग) काटेर हेटौँडा अस्पताल भर्ना भएका छन् । हेटौँडा उपमहानगरपालिका –१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बस्नुभएका २२ वर्षीय नवीन हुमागाइँले संवेदनशील अङ्ग (लिङ्ग) काटेर घाइते हुनुभएको हो ।  मकवानपुरगढी गाउँपालिका–७, नयाँगाउँ स्थायी ठेगाना भएका उहाँले बुधवार राति १० बजेको समयमा आफ्नै संवेदनशील अङ्ग काटेर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । संवेदनशील अङ्ग काटेर उपचारका लागि उहाँ हेटौँडा अस्पताल पुग्नुभएको छ ।  अस्पतालले थप उपचारका लागि राति १२ बजे चितवन रिफर गरिदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिसपी एवं प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो । प्रहरीलाई बयानको क्रममा उहाँले आफैँले आफ्नो लिङ्ग काटेको बताउनुभयो ।  उहाँको अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ । घटना कसरी भएको हो भन्ने बारेमा प्रहरीले अझै अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताउनुभयो ।

काठमाडौँ:     त्रिभुवन विमानस्थलबाट बरामद सुन प्रकरणमा थप चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार तस्करीको सुन प्रकरण अभियोगमा थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक एवम् केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले चिनियाँ नागरिक टीयान मी, वेन तोङ, डीङ सेग्फा र ली–नेङकाईलाई पक्राउ गरेको जानकारी दिनुभयो । प्रवक्ता कडायतका अनुसार चारै जनालाई सङ्गठित सुन तस्करीको अभियोगमा म्याद थप गरी अनुसन्धान भइरहेको छ । सीआईबीले चार जनालाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।  योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या २१ पुगेको छ ।

काठमाडौं:    यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो । तोकिएको भाडादर अनुसार अब यात्रुवाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको मूल्य ६.८३ प्रतिशतले बढेको हो । बढेको भाडादर आजैबाट लागू हुने विभागले जनाएको छ । विभागका अनुसार यो भाडा दुई वा सोभन्दा बढी प्रदेश अथवा राष्ट्रिय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा मात्र लागू हुने भएको छ । मङ्गलबारमात्र पेट्रोलमा प्रतिलिटर ५ रुपियाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १४ रुपियाँ बढाएको छ ।

काठमाडौं:     संसदीय समितिले दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद्, राष्ट्रियसभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिको आज मङ्गलवार बसेको बैठकले दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय नभएको निष्कर्ष निकाल्दै तत्काल तोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको हो । दलितसम्बन्धी विभेद र उत्पीडन हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन दिइएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिनुभयो ।  त्यसैगरी समितिले दलित समुदायको विभेद र उत्पीडनको अन्त्य गर्नका लागि समितिले तयार पारेको कार्ययोजना कार्यान्वयन गर्न पनि सरकारलाई सचेत गराएको छ । कार्यान्वयन भए, गरेका कामहरूको अनुगमन गरी त्यसको प्रतिवेदन नियमित रूपमा बुझाउन पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको समितिले जनाएको छ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोदप्रकाश सिंहले समितिले दिएको निर्देशन पालना गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले दलितलगायतका जातीय विभेद अन्त्यका लागि देशमा विद्यमान कानुन कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । सचिव सिंहले जातीय विभेद अन्त्यका लागि जनप्रतिनिधिको तर्फबाट पनि पहलकदमी लिने काममा कमी रहेको हो कि भन्ने आफूहरूलाई लागेको प्रतिक्रिया पनि दिनुभएको थियो ।

मनाङ:    हिमाली जिल्ला मनाङ आउने अवरुद्ध एकमात्र सडक चार दिनमा सञ्चालन भएको छ । सोमबारदेखि मौसममा सुधार आएपछि डुम्रे–बेँसीसहर–चामे सडक सुचारु भएको हो । यहाँको आवतजावत पूर्णरूपमा ठप्प हुँदा मनाङ आउने पर्यटक, मार्गदर्शक (गाइड), कर्मचारी बीचबाटोमै अलपत्रमा परेका थिए । सो सडकखण्डअन्तर्गत लमजुङको बेँसी सहर नगरपालिका-६ खरखरेस्थित सडक भासिएको थियो । सडक खुलेसंगै औषधिलगायतका अत्यावश्यक सामग्री लिएर सवारी साधन मनाङ आएको जिल्ला अस्पताल प्रमुख रहमत अन्सारीले जानकारी दिनुभयो । उहाँका अनुसार मौसमले धेरै प्रभाव पार्ने मनाङमा मनसुनको यात्रा सकस हुन्छ । यसले गर्दा सावधानी अपनाउनुपर्ने भए पनि अत्यावश्यक कामले हिँड्न बाध्य हुनुपर्ने उहाँको भनाइ छ । जिल्लाको स्वास्थ्यसँग जोडिएको व्यक्तिले यहाँका स्थानीय तथा पर्यटकलाई औषधिलगायतका सेवा प्रवाहलाई मध्यनजर गर्नुपर्ने उहाँले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले जोखिमकै बेलामा पनि दैनिक १४–१५ जनासम्म पर्यटक आउने गरेका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आन्तरिकजस्ता हुँदैनन्, विदेशी पर्यटक जोखिमलाई आत्मसाथ गर्ने भएकाले पहिराको जोखिम पार गर्दै पर्यटक आउने क्रम जारी रहेको छ ।” अब सिजन पनि सुरु हुने अवस्था भएकाले यहाँ पर्यटक आउन थालेको उहाँले बताउनुभयो ।  डुम्रे–बेँसी सहर–चामे सडक आयोजना कार्यालयका सब–इन्जिनियर सुमन अधिकारीले काम गर्न सहज हुनासाथ अवरुद्ध सडक खुलाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस सडकमार्फत यात्रा त अझै पनि जोखिम छ, तर हालका लागि सडक सञ्चालनमा ल्याएका छौँ ।” 

काठमाडौं:    मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुनको मात्रा ६० किलो सात सय ८९ ग्राम फेला परेको छ ।  ब्रेक शुबाट निकालेर जोख्दा ६० किलो सात सय ८९ ग्राम तौल रहेको र त्यसमा केही कालो पदार्थसमेत मिसिएकाले यो प्रारम्भिक तौल मात्रै भएको नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले राससलाई बताउनुभयो ।  उहाँका अनुसार भोलि बिहान १०:३० बजेदेखि भने गाल्ने काम सुरु हुनेछ । त्यसपछि आर्थिक परीक्षणको काम थालिने पनि उहाँले बताउनुभयो ।  महाशाखा प्रमुख आचार्यले एक दिन सुन गाल्न लाग्ने र त्यसपछि आर्थिक परीक्षणको काम कम्तीमा तीन दिन लाग्ने बताउनुभयो । उहाँले सबै सरोकारवाला प्रतिनिधिहरूको रोहवरमा गाल्ने प्रक्रिया सुरु भएको बताउनुभयो ।  राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक शु’ टक्सार महाशाखामा राखिएको थियो । उन्नाइस दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०लाई दिइएको थियो । सिआइबीको पत्रपछि आजदेखि सुन गाल्नेलगायतका प्रक्रिया थालिएको हो ।

गोरखा:     गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ ।  अलौलिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कुलदेवता मानेर पूजा गर्दै आएको र  गोर्खाली जनताले पनि यसलाई शक्तिको प्रतीकका रुपमा लिएकाले जिल्ला बाहिर नपठाउने निर्णय भएको नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले जानकारी दिनुभयो । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरसहित जनप्रतिनिधि तथा जिल्लाभित्रका १७ वटाभन्दा बढी सङ्घसंस्था, घरधनी र बुद्धिजीवीको आइतबार सर्वपक्षीय बैठक बसेर क्वार्ज किष्टललाई गोरखा दरबार परिसरभित्रै सुरक्षितसाथ भगवती शिलाका रुपमा विधिपूर्वक प्रतिस्थापन गर्ने निर्णय गरेको थियो ।  ‘औलौकिक शिला मन्दिरमा राखिएपछि यसले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनलाई समेत थप आकर्षण गराउँछ”, उपप्रमुख थोकरले भन्नुभयो, “गोरखाली जनताले पनि यसलाई शक्तिको प्रतिकका रुपमा लिएकाले बाहिर लैजान नहुने भन्दै सर्वपक्षीय बैठकले दरबार परिसरमै प्रतिस्थापन गर्ने निर्णय गरेको हो ।” बरामद गरिएको क्वार्ज किष्टल कहाँ राख्ने भन्ने विषयमा चर्चा चलिरहेका बेला गोर्खाली जनताको चाहना र भावनाअनुसार नै दरबार परिसरमा राख्न स्थानीय सरकारसहित सरोकारवाला सहमत भएको उहाँले बताउनुभयो ।  “खानी तथा भूगर्भ विभागमा राखे पनि पनि राज्यकै हुने र गोरखा दरबारमा राखे पनि पनि राज्यकै सम्पत्तिको हुने हो”, उपप्रमुख थोकरले भन्नुभयो, “राज्यले नै सुरक्षा दिएर राख्ने भएकाले क्वार्र्ज किष्टललाई जिल्ला बाहिर पठाउन नहुनेमा गोरखास्थित सङ्घसंस्था, बुद्धिजीवी, घरधनी, नागरिक समाजका अगुवाको पनि चाहना थियो ।”  आफ्नो घरबाट बरामद गरिएको उक्त क्वार्ज क्रिष्टललाई गोरखकाली मन्दिर परिसरभित्रै नै राख्नुपर्ने र समयसमयमा आफूहरुले पूजा गर्न पाउनुपर्ने घर धनीले पनि इच्छा व्यक्त गरेको उहाँले बताउनुभयो । सर्वपक्षीय बैठकमा अलौकिक शिला गोरखामा नै राख्ने निर्णय गरेपछि नगरपालिकाले आवश्यक प्रक्रियाका लागि नेपाल सरकार, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भूगर्भ विभाग र पुरातत्व विभागमा पत्राचार गर्ने निर्णय गरिएको थियोे ।  त्यस्तै जिल्ला प्रशासन कार्यालय, गोरखा, जिल्ला प्रहरी कार्यालयलाई समेत बैठकले गरेको निर्णय तत्काल जानकारी गराउन आवश्यक निर्देशन दिइएको उपप्रमुख थोकरले जानकारी दिनुभयो ।  जिल्ला प्रशासन कार्यालयको आग्रहमा प्रहरी कार्यालयमा विशेष सुरक्षाका साथ राखिएको टल्किने ढुङ्गाको अध्ययन गर्न गत सोमबार आएको खानी तथा भूगर्भ विभागका भूगर्भविद्को टोलीले उक्त ढुङ्गा ‘क्वार्ज किष्टल’ नै भएको पुष्टि गर्दै विभागमा पठाउन प्रशासनलाई सुझाव दिएको थियो ।  भूगर्भविद्को टोलीले दुई दिन लगाएर उक्त परीक्षण गरेको थियो । विभागको टोलीले खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन तथा सङ्कलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमार्फत आग्रह गरेको थियो ।  परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमूल्य पत्थर भएको र संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गर्ने गरिएकामा बरामद गरिएको ढुङ्गा सातौँ नम्बरमा पर्ने भूगर्भविद्ले जानकारी गराएका थिए ।  उक्त ढुङ्गा ५२ किलो तीन सय ३० ग्रामको छ । गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुङ्गा सतिपीपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो ।