काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

काठमाडौं:    नेकपा एमालेका अध्यक्ष एव् पुर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । अध्‍यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको बताएका हुन् । ओलीले फेसबुकमा लेखेका छन्, ‘ भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’ अस्वस्थताका कारण  बारा–२, चितवन–२ र तनहुँ–१ मा हुने उपनिर्वाचनको प्रचार प्रसारमा सहभागी हुन नसकेको भन्दै उनले स्वास्थ्य ठिक भएपछि उचित समयमा ती ठाउँका मतदाता भेट्न जाने बताएका छन् ।

कैलाली:    कैलालीको धनगढीस्थीत सेती प्रादेशिक अस्पतालमा एक कोरोना भाइरस (कोभिड) संक्रमित महिलाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको आज बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको उहाले बताउनुभयो । मुटुको बिरामी रहेकी ती महिलामा चैत २६ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

दमौली:   मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर सडक कालोपत्रको तयारी गरिएको छ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले आँबुखैरेनीतर्फबाट सात किलोमिटर सडक कालोपत्रको तयारी गरेको हो । सडक योजनाका पूर्वी खण्ड प्रमुख नरेन्द्र सुवेदीका अनुसार चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । “यो खण्डमा विद्युत् पोल स्थानान्तरण नहुँदा काममा केही समस्या आएको थियो, विद्युत् पोल हटाउँदै गइएको छ”, सुवेदीले भन्नुभयो, “सबै पोल स्थानान्तरण भइसकेको छैन तर हटाउने काम जारी छ ।” विविध कारणले सडक कालोपत्रको काम ढिलाइ भएको बताउँदै सुवेदीले १० दिनभित्र कालोपत्रको काम सुरु हुने जानकारी दिनुभयो । सुवेदीले भन्नुभयो, “ जहाँसम्म लाग्छ १० दिनभित्र काम सुरु हुन्छ ।” उहाँका अनुसार सडक कालोपत्रको परीक्षण भइसकेको छ । “कालोपत्रको ट्रायल भइसक्यो, कालोपत्र सडकलाई छुवाइसक्यौँ”, सुवेदीले भन्नुभयो ।  आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्डमा अहिले सडक विस्तार, पुल र कल्भर्ट निर्माणको काम भइरहेको छ । हालसम्मको उक्त खण्डको भौतिक प्रगति २२.५ प्रतिशत रहेको सुवेदीले बताउनुभयो । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । सडक चौडा पार्ने क्रममा निस्किएका निर्माण सामग्रीमा स्थानीय तहबाट रोयल्टी माग भएको साथै निर्माण सामग्री ढुवानी गर्दा प्रत्येक स्थानीय तहलाई ढुवानी शुल्क तिर्नुपर्ने अवस्था रहँदा आयोजनाको काममा केही समय ढिलाइ भएको थियो । तर अहिले उक्त समस्या समाधान भएको बताइएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजार रहेको योजनाले जनाएको छ ।

तनहुँः    वैशाख १० गते यहाँ हुने उपनिर्वाचन तीन वटा  मतदानस्थल ‘अति संवेदनशील’ छन् । मतदानस्थलको स्थलगत निरीक्षण गर्दा सो सङ्ख्यामा अति संवेदनशील रहेको पाइएको जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले जनाएको छ । समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, संवेदनशील र सामान्य केन्द्रका रुपमा वर्गीकरण गरेको छ ।  समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले ६९ मतदानस्थलमध्ये सुरक्षाका हिसाबले तीन अति संवेदनशील, २४  वटा संवेदनशील ४२ वटा सामान्य रहेको जानकारी दिए। विगतका निर्वाचनमा भएका घटना, दलको प्रतिस्पर्धा, भौगोलिक अवस्था लगायतलाई आधार बनाइ मतदानस्थलको वर्गीकरण गरिएको उनले जानकारी दिए ।  निर्वाचनमा मतदानस्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाइने समितिले जनाएको छ । ती मतदानस्थलबाट मतगणनास्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्न समेत आवश्यक सुरक्षा सजगता अपनाइने प्रजिअ रिजालले जानकारी दिए ।  संवेदनशील स्थलमा सुरक्षालगायत अन्य हिसाबले प्रबन्ध मिलाइएको उनले जानकारी दिए । स्वच्छ, शान्तिपूर्ण, भयरहित वातावरणमा मतदाताले मत खसाल्न पाउनेगरी सुरक्षाको उचित प्रबन्ध मिलाएका छौं’ प्रअिज रिजालले भने ।  मतदान स्थललाई वर्गीकरण गर्दा भूगोल, यातायात, जिल्लागत सीमालगायतका विषयलाई आधार मानेर वर्गीकरण गरिएको समितिले जनाएको छ । मतदान स्थलमा नेपाल प्रहरी, म्यादी प्रहरी र मोबाइल टोलीमा नेपाली सेना र शसस्त्र प्रहरी परिचालन गरिएको अर्यालले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय तनहुँमा प्रमुख अवदेश विष्टले दुई जनपथ प्रहरी परिचालन गरिने बताए ।  जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले ६९ मतदान स्थलका १५२ मतदान केन्द्रका लागि एक जना मतदान अधिकृत त्यति नै सङ्ख्यामा सहायक मतदान अधिकृत र दुईजना सहायक कर्मचारी गरी उपनिर्वाचनमा ७६० जना कर्मचारी परिचालन गरिने भएको छ । तनहुँ –१ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि वैशाख १० गते उपनिर्वाचन हुँदैछ । 

बागलुङ: बागलुङको काठेखोला गाउँपालिका –५ बिहुँको पर्यटकीय क्षेत्र घोडाबाँधे क्षेत्रमा संसारका १८८ देशका राष्ट्रिय झण्डा स्थापना गरिएको छ ।    आन्तरिक तथा बाह्य पर्यटनको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले विश्व सांस्कृतिक अभियान समूहको अगुवाइमा झण्डा स्थापना गरिएको हो ।    घोडाबाँधे काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सीमा क्षेत्र हो । झण्डा स्थापना गरिएको क्षेत्रबाट धौलागिरि, माछापुच्छ्रे , मानापाथीलगायतका दर्जनौँ हिमशृङखला अवलोकन गर्न सकिन्छ ।    घोडाबाँधे क्षेत्रलाई विश्व सांस्कृतिक गाउँको रूपमा विकास गर्ने लक्ष्यका साथ पर्यटकीय गतिविधि, कार्यक्रम तथा संरचना निर्माण गर्न थालिएको पर्यटन विकास अभियन्ताहरुले बताएका छन् ।

ढोरपाटन:   राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ जैमिनीअन्तर्गत जैदी–छिस्ती खण्डमा निर्माण थालिएको चौडीखोला पक्की पुल निर्माणले गति लिएको छ ।  विसं २०७७ असार २१ गते सम्झौता गरी काम थालेको निर्माण व्यवासायी कम्पनी राजेश्वरी कन्स्ट्रक्सनले पछिल्लो समय कामलाई तीव्रता दिएको हो । विसं २०८० असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि चौडीखोलामा रहेको बेली ब्रिज नेपाली सेनाले नहटाउँदा काम ढिलो सुरु भएको थियो । निर्माण कम्पनीले सम्झौता गरेको करिब एक वर्षपछि मात्र काम थालेको सुपरभाइजर केशव सुवेदीले बताउनुभयो । अहिले ११ मिटर चौडाइ र ३५ मिटर लम्बाइ रहेको पुल ढलान गर्ने तयारी गरिएको छ । हालसम्म चौडीखोलामा ग्याबिन भर्नेलगायत करिब ४० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । पुल रु तीन करोड ८० लाख ५४ हजार लागतमा निर्माण थालिएको हो । पुल निर्माण थालिएसँगै नेपाल, भारत र चीन जोड्ने रेशमी मार्गको रुपमा रहेको कालीगण्डकी करिडोरमा यात्रा गर्न सहज हुनेछ । कालीगण्डकी करिडोर जैमिनी खण्डमा पर्ने पालुङखोला, लौवाखोला र जैमिनी घाटमा पुल निर्माणको लागि प्रक्रिया अघि बढाउने तयारी थालिएको छ । पुल समयमै निर्माण नहुँदा जैमिनी नगरपालिका–७ र ८ का स्थानीयसहित कोरिडोरमा यात्रा गर्ने यात्रुले सास्ती भोग्नुपरेको उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।

काठमाडौं:   नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन निवासमा शुक्रबार राति गोली पड्केको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी दीपेन्द्र जिसीका अनुसार गोली नियतवश नभई अञ्जनमा पड्किएको जानकारी दिनुभयो ।  नेपाल प्रहरीका हवालदार प्रकाश पुन मगरले बोकेको पेस्तोलबाट गोली पड्किएको जिसीले जानकारी दिनुभयो । नयाँ वर्षको अवसरमा पारिवारिक भेटघाटका क्रममा वर्षमान निवास बालुवाटारमा हवालदार पुन पुगेका थिए । गोली पड्किदा नेता पुनका आमा ७४ वर्षीया तीर्थमाली पुनको खुट्टामा लागेको छ । उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको परिवार स्रोतले जानकारी दिए ।  प्रहरी हवालदार पुनको नाति नाता पर्ने परिवारले जनाएको छ । प्रहरी हवालदार कामु प्रधानन्यायाधीशको सुरक्षाका लागि हिँड्ने पछुवा गाडीमा कार्यरत हुनुहुन्थ्यो । प्रहरीले हवालदारलाई राती नै नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ । 

काठमाडौं:   आज मौसम सामान्यदेखि आंशिकरुपमा बदली भएको छ । स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम बदली भएको हो । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू(भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का  वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार कोशी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ भने तराईका केही ठाउँमा हावा(हुरीको सम्भावना रहेको छ । महाशाखाका अनुसार सोमबार पनि मौसम बदली हुनेछ । सोमबार पहाडी भू-भागका एक(दुई स्थानमा मेघ गर्जन सहित हल्का हुनेछ भने तराईमा हावा/हुरीको सम्भावना रहेको छ ।

पोखरा:   बानियाँ बन्धु समाज जिल्ला कार्य समिति कास्कीले बानियाँ समुदायबाट प्रतिनिधीत्व गर्ने राष्ट्रसेवामा कार्यरत उच्च पदस्त व्यक्तिहरुलाई सम्मान गरेको छ । नयाँवर्षको अवसरमा आयोजित भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमका बीच बानियाँ बन्धु समाज कास्कीले पश्चिम पृतना हेड क्वार्टर बिजयपुर ब्यारेकका उपरथी दिपक कुमार बानियाँ, सिद्धिदल गण बिजयपुर ब्यारेकका गणपति प्रमुख सेनानी जयराम बानियाँ, सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धन बहादुर बानियाँ र २६ वर्षदेखी फलफुल ब्यवशायमा लागेका ब्यवशायी अमर बानियाँलाई सम्मान गरेको हो । सो अवसरमा बोेल्दै पश्चिम पृतना हेड क्वार्टर विजयपुर ब्यारेकका उपरथी दिपक कुमार बानियाँले छरिएर रहेका बानियाँ समुदायलाई एकीकृत गर्न बानियाँ बन्धु समाजले खेलेको भुमिकाको प्रशंसा गरे । बानियाँहरु नेपालभर छरिएर रहेको र बानियाँ बन्धु समाजकै कारण आज एक ठांउमा हुन पाएको र यसरीनै आफ्नो समुदायको उत्थानको लागी सम्पूर्ण बानियाँ बन्धुहरु आ आफ्नो ठांउबाट लाग्नुपर्ने उनको भनाइ रहेको थियो । सिद्धिदल गण बिजयपुर ब्यारेकका गणपति प्रमुख सेनानी जयराम बानियाँले बानियाँ बन्धु समाजले आफुहरुलाई सम्मान गरी आफ्नो काम कर्तब्यमा अझ अगाडी वढ्न हौसला मिलेको वताए । त्यस्तै सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धन बहादुर बानियाँले आफु पूर्व नेपालको भएतापनि काम कर्तब्यको शिलशिलामा पोखरामा आज भन्दा २५ वर्ष अगाडि कार्यरत रहंदा पोखरामा बानियाँ बन्धुहरु रहेको स्मरण गर्दै पुन २५ वर्षपछि पोखरामानै आइपुग्दा आफ्नो समुदायबाट सम्मानित हुंदा आफ्नै दाजुभाइ संग प्रत्यक्ष भेट भएको महशुस गरे । आगामी दिनमा नेपाल भर रहेका बानियाँ बन्धुहरुलाई एक आपसमा सहयोग र सदभाव कायम गर्दै अगाडी वढ्ने समेत उनले प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै युवा व्यवसायी अमर बानियाँले बानियाँ समुदायलाई माथि उठाउनका लागी सम्पूर्ण बानियाँ बन्धुहरु एकजुट भएर अगाडी बढ्नुको विकल्प नरहेको वताउदै हरेक बानियाँहरुले आफ्नो समुदायलाई दह्रो बनाउन लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा वर्षा बानियाँले स्वागत मन्तब्य राखेकी थिइनभने बानियाँ बन्धु समाज कास्कीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बहादुर बानियाँले कार्यक्रम माथी प्रकाश पारेका थिए । कार्यक्रममा बानियाँ बन्धु समाजका संरक्षक चन्द्र प्रकाश बानियाँ, पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरण बहादुर बानियाँ, बानियाँ बन्धु समाजका केन्द्रीय सचिव दिपक बानिँया, केन्द्रीय सदस्य द्धय सूर्य बहादुर बानियाँ र इन्द्रमाया बानियाँ लगायतले शुभकामना मन्तब्य राखेका थिए । बानियाँ बन्धु समाज कास्कीका अध्यक्ष होम बहादुर बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला कमिटि सदस्य शंकर बानियाँले गरेका थिए ।