काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

काठमाडौं:   नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ । तीन प्रतिस्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो । पहिलो चरणको निर्वाचनबाट रामचन्द्र संघई बाहिरिनुभएको छ । अब दोस्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जन श्रेष्ठले सबैभन्दा धेरै ३७ दशमलव ९९ प्रतिशत मत प्राप्त गर्नुभएको छ भने उमेशलाल श्रेष्ठले ३१ दशमलव ५१ मत प्राप्त गर्नुभएको छ । साथै रामचन्द्र संघईले ३० दशमलव ४६ मत प्राप्त गर्नुभएको छ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । महासङ्घको बुधबार भएको निर्वाचन भएको थियो । जसमध्ये वरिष्ठ उपाध्यक्षतर्फको मतगणना आज बिहान सकिएको हो । मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको एक हजार छ सय २० मतमध्ये संघईले ६१३ मत प्राप्त गर्नुभयो साथै अञ्जन श्रेष्ठले ५७३ मत र उमेशलाल श्रेष्ठले ४२६ मत प्राप्त गर्नुभयो । साथै ८ मत बदर भयो ।   जिल्ला नगरतर्फ कुल खसेको ११७ मतमध्ये अञ्जन श्रेष्ठले ४७, रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत प्राप्त गर्नुभयो । साथै ३ मत बदर भयो । वस्तुगततर्फ खसेको १२३ मतमध्ये उमेशलाल श्रेष्ठले ६९, अञ्जन श्रेष्ठले ४१ र रामचन्द्र संघईले १२ मत प्राप्त गर्नुभयो भने एक मत बदर भयो ।   महासङ्घको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनुहुनेछ । निर्वाचन आजै वरिष्ठ उपाध्यक्षका लागि आजै निर्वाचन हुनेछ । मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार वरिष्ठ उपाध्यक्षका लागि आज दिउँसो २ बजेदेखि ५ बजेसम्म निर्वाचन हुनेछ । 

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेमा नेपाली नयाँ वर्ष २०८० को पहिलो दिन बैशाख १ गते सुनाखरी पदयात्रा हुने भएको छ । पञ्चासेको पर्यापर्यटन प्रबर्द्धन, ग्रामीण होमस्टेको प्रचारप्रसार एबं सुनाखरी लगायत जैबिक विविधता संवर्धनको सन्देश दिने हेतुले उक्त पदयात्रा आयोजना हुन लागेको हो । पञ्चासे क्षेत्रको ५७०० हेक्टर बनजङ्गलमा पाईने १४७ प्रजातीको सुनाखरीलगायत जैबिक बिविधताको प्रचार र संरक्षणको सन्देश दिनु कार्यक्रमको मूल उद्देश्य रहने आयोजकले बताएको छ । पञ्चासेको पदमार्ग पर्यटन र ग्रामीण पर्यटनको महत्त्व उजागर गर्ने अभिप्रायले आयोजना गरिएको पञ्चासे सुनाखरी पदयात्रा कार्यक्रम भदौरे पञ्चासे पदमार्गको मूलद्वारबाट सुरुवात हुने जनाईएको छ। साथै पञ्चासे क्षेत्र पर्यावरण र पर्यापर्यटन अध्ययनको खुला बिश्वबिद्धालय रहेको सन्देश दिँदै पदयात्रा मार्फत हजारौं आन्तरिक पर्यटकलाई पञ्चासे अवलोकनका लागि आह्वान गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष आईन्दल गुरुङले बताए । सोही दिन प्रदेश सरकारको सहयोगमा निर्माण हुँदै गरेको पञ्चासेको छाँयाचित्रका रुपमा रहेको पञ्चासे जैबिक बिबिधता पार्क समुद्घाटन समेत गरिने कार्यक्रम आयोजक पञ्चासे ईको टुरिजम प्रालिले जनाएको छ। पर्यावरणमैत्री ढंगले निर्माण गरिएको सो पार्कको प्रारम्भिक काम सम्पन्न भएको र आगामी दिनमा ५० रोपनी क्षेत्रफलमा निर्माण कार्य सम्पन्न गरिने पार्क निर्माण समितिका अध्यक्ष नवराज पौडेलले जानकारी दिए ।

पोखरा:   पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा महानगरपालिका, नगर विकास कोष काठमाडौँ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) काठमाडौँ बिच बुधवार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  समझदारी पत्रमा पोखरा नगरपालिकाका प्रमुख धनराज आचार्य,  नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार पक्षहरूका बिचमा पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययन, लगानी, निर्माण, व्यवस्थापन एवं सञ्चालनका गतिविधिहरू संयुक्त रूपमा गरिनेछन् । स्थानीय तह अन्तर्गत रही आफ्नो अधिकार क्षेत्र भित्रको विषयगत कानुन बनाउने, बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने, त्यसको कार्यान्वयन गर्ने तथा स्थानीय सरकारले संविधान अनुसार प्रवाह गर्नु पर्ने सम्पूर्ण सेवा सुविधा प्रवाह गर्ने महानगरपालिकाको दायित्व हुनेछ भने, नगर विकास कोषले स्थानीय तहहरूबिच वित्तीय मध्यस्थता गर्नेछ । निफ्राले पूर्वाधार विकास सम्बन्धी परियोजनाहरूमा लगानी गर्ने सम्झौतामा उल्लेख छ ।  महानगरपालिका भित्र प्राविधिक र आर्थिक रूपमा सम्भावित पर्यटकीय पूर्वाधार परियोजनाहरूको पहिचान गरी सार्वजनिक–निजी साझेदारीको माध्यमबाट सोको एकीकृत विकासका लागि अध्ययन, सोको लागि लगानी व्यवस्थापन र सम्भाव्य परियोजनालाई एकीकृत संरचनामा निर्माण तथा सञ्चालन गर्नको लागि आपसी सहकार्य गर्ने उद्देश्यले समझदारी गरिएको महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।  समझदारी अनुसार पहिचान भएका सम्भाव्य पर्यटकीय पूर्वाधार परियोजनाहरूको एकीकृत विकास गर्न वित्तीय एवं प्राविधिक विश्लेषण, कानुनी, वातावरणीय, विकासकर्ता छनौट एवं निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउने र कोष एवं निफ्राको तर्फबाट वा अगुवाइमा स्वपुँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग (ज्ञान साझेदार÷विकास साझेदारहरू समेत) को लागि सहकार्य गरिनेछ । यस्तै समझदारीका आधारमा परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन, विश्लेषण, उपयुक्तता परीक्षण र परियोजनाको विकास, निर्माण र सञ्चालन गर्न छुट्टै कम्पनी समेत गठन गरिनेछ । महानगरपालिकाले प्रस्तावित परियोजनाहरूको पहिचान, विकास, एकीकरण तथा कार्यान्वयन गर्ने प्रयोजनका लागि विभिन्न निकायसँग आवश्यक समन्वय गर्नेछ । परियोजनाको लागि आवश्यक पर्ने जग्गा प्राप्तिमा निर्णायक भूमिका खेल्ने, एकीकृत योजनालाई स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँग स्वीकृत गरी परियोजनालाई अगाडि बढ्न सक्ने वातावरण सृजना गर्ने, परियोजना विकासको क्रममा सरोकारवालाहरूसँग हुन सक्ने विवाद समाधानका लागि आवश्यक सहजीकरण गरी विवाद साम्य पार्ने, परियोजना सुरुवात गर्ने क्रममा कोष तथा निफ्रालाई परियोजनाको वित्तीय तथा प्राविधिक अध्ययन, विश्लेषण र विकासकर्ता छनौटमा आवश्यकता अनुसार संलग्न ÷सहभागी गराउने कार्य पोखरा महानगरपालिकाले गर्नेछ ।  कोषले भने परियोजनालाई पूर्णता दिन आवश्यक पर्ने स्रोत सुनिश्चित गर्न परियोजनाको प्रारम्भिक अवस्था देखिनै आफै वा परामर्शदाता मार्फत परियोजनाहरूको सम्भाव्यता, वित्तीय तथा प्राविधिक विश्लेषण, र विकासकर्ता छनौटका लागि आवश्यक सहयोग प्रदान गर्ने कार्यमा संलग्न हुनेछ । साथै परियोजनामा सरकारी एवं विकास साझेदारहरूलाई आवश्यकता अनुसार भित्र्याई परियोजनाको दीर्घकालीन विकास सुनिश्चित गर्न  समन्वयकारी भूमिका निभाउनुका साथै परियोजना विकासका लागि आवश्यक पर्ने मापदण्डहरू कायम÷स्वीकृत गर्न नेपाल सरकार, सम्बन्धित मन्त्रालयरविभाग तथा नगरपालिकासँग समन्वय गर्नेछ ।  निफ्राले परियोजनाको सम्भाव्यता, वित्तीय तथा प्राविधिक विश्लेषण, र विकासकर्ता छनौटका लागि आवश्यक सहयोग प्रदान गर्नुका साथै परियोजना प्राविधिक तथा वित्तीय रूपमा सम्भाव्य देखिएमा उक्त परियोजनामा वित्तीय सल्लाहकार वा नेतृत्वको रूपमा सहभागी हुने र परियोजनाको लागि रणनीतिक साझेदार भित्राउन आवश्यक पहल गर्नेछ । समझदारी अनुसार परियोजनाको कार्यान्वयन अवधि दश (१०) वर्षको हुनेछ । 

काठमाडौं:     हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आज सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै गण्डकी, कोशी र बागमती प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

काठमाडौं:  मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले चुनावको मुखमा उक्त अडिओ सार्वजनिक हुनु पार्टीविरूद्धको षडयन्त्र भएको बताएका छन्।   बुधबार साँझ उनका बारेमा निर्णय गर्न रास्वपा केन्द्रीय समितिको बैठक बसिरहेका बेला रास्वपा मुख्यालयमा श्रेष्ठले पत्रकार सम्मेलन गरेका हुन्।   ‘जनवरीमा कुराकानी भएको अडिओ अहिले ल्याएर हाल्नु सुनियोजित हो, यो हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गर्न खोजेको हो। तीन वटै निर्वाचन क्षेत्रमा हराउन खोजेको हो,’ उनले भने,‘यो एउटा सुनियोजित योजना हो।’    उनले यो विषयमा आफू अदालत गइसकेको र छिट्टै क्लिनचिट ल्याएर आउने दाबी गरे।   उक्त अडिओ आफ्नो नभएको र एडिट गरेर बनाइएको पनि उनको दाबी छ।   पत्रकारले सोधेका प्रश्नको भने श्रेष्ठले जवाफ दिएनन्।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरू भएको छ ।    रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठको विषयमा निर्णय गर्ने जानकारी दिए।   पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो टेप प्रकरणसम्बन्धी प्रतिवेदन मंगलबार नै पार्टी सभापति रवि लामिछानेलाई बुझाएको थियो । बैठकपछि आज नै पत्रकारसम्मेलन गरी सांसद श्रेष्ठबारे पार्टीको निर्णय सुनाउने प्रमुख सचेतक परियारले जानकारी दिए।   रास्वपा  सांसद श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्नका लागि  व्यापारी दुर्गा प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएको छ।

काठमाडौं : कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप एक संक्रमितको मृत्यु भएको हो।   मंगलबार पनि तीन महिनापछि एक संक्रमितको मृत्यु भएको थियो। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ।    त्यस्तै पछिल्लो २४ घन्टामा थप १२१ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।    त्यस्तै ८१ जना कोरोनामुक्त भएका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ। 

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।   बुधबार गृह मन्त्रालयमा भएको भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को आसन्न भारत भ्रमण, नेपाल-भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षालगायतका विषयमा छलफल भएको छ।   उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम छिट्टै तय हुने र आफ्नो तथा वर्तमान सरकारको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप घनिष्ट हुने विश्वास व्यक्त गरे।     उनीहरूबीच सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रणजस्ता संवेदनशील विषयमा समेत खुला छलफल हुनुपर्ने धारणा उपप्रधानमन्त्री श्रेष्ठले राखेका थिए। भर्खरै रुपन्देही भ्रमण गर्दा एउटा 'बोर्डर आउटपोस्ट' निरीक्षण गरेको र सो क्रममा आफूले दुई देशका सुरक्षा निकायबीच राम्रो समन्वय र सहकार्य रहेको देखेको उनले बताए।   प्रधानमन्त्री प्रचण्डको प्रस्तावित भारत भ्रमणको कार्यक्रम मिलाउन आफू क्रियाशील रहेको राजदूत श्रीवास्तवले बताए। गृहमन्त्रीजस्तो चुनौतीपूर्ण जिम्मेवारी सफलताका लागि बधाई दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदाको सहकार्यका लागि उपप्रधानमन्त्री श्रेष्ठलाई धन्यवाद व्यक्त गरे।   भेटवार्तामा सीमामा नियमित वारपार गर्ने नागरिकले अपराधीजस्तै व्यवहारको सामना गर्नु नपरोस् भनेर दुबै पक्ष संवेदनशील हुनुपर्ने राजदुत श्रीवास्तवले बताए। नेपालगञ्ज- रुपेडिया, भैरहवा-सुनौली तथा दोधारा-चाँदनीमा 'इन्टेग्रेटेड चेकपोस्ट' बनाउने विषयमा समेत छलफल भएको थियो।    गत वर्ष भारतको नयाँ दिल्लीमा सम्पन्न 'ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट'को बैठकमा कतिपय सीमा नजिकका स्थानमा विकास निर्माणका सम्बन्धमा रहेको विवादलाई थप छलफल गरेर टुङ्ग्याउने सहमति भएको र त्यसका लागि भारतीय पक्ष तयार रहेको समेत राजदूत श्रीवास्तवले बताए।   भारतीय सहयोगमा बन्ने नयाँ पुलिस एकेडेमी उच्च गुणस्तरको हुने र निर्धारित समयमै सम्पन्न हुने बताउँदै राजदूत श्रीवास्तवले नेपाल प्रहरी, सशस्त्र प्रहरीजस्ता नेपाली सुरक्षाकर्मीको तालिम तथा क्षमता विकासको कार्यक्रमलाई भारतले सधैं प्राथमिकता दिएको बताए। 

काठमाडौं : वैदेशिक रोजगारीका लागि अमेरिका तथा दक्षिण कोरिया पठाइदिने भन्दै करोडौं रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ  गरेको  छ।   पक्राउ पर्नेमा  काठमाडौं महानगरपालिका वडा नम्बर १४ स्थायी घर भएका हाल बुढानिलकण्ठ बस्ने ४२ वर्षीय पवन राणा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।   सूचना अधिकृत प्रहरी उपरीक्षक  राठोरका अनुसार पक्राउ परेका राणाले सयौं व्यक्तिलाई वैदेशिक रोजगारीका  लागि सहजै अमेरिका र दक्षिण कोरिया पठाइ दिने भन्दै पीडितबाट करोडौं रकम लिइ सम्पर्कविहीन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।   उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।