काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

काठमाडौं : ८ हजार बढी अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ परेका छन्।   सोमबार साँझ दुबई जान लागेका उनीहरूलाई त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको त्रिअबि प्रहरीले जनाएको छ।   पक्राउ परेकामध्ये ८ जना दुबई हुँदै क्रोयसिया र रोमानिया जाने तयारीमा थिए। अर्का एक जन भने ती आठ जनालाई पठाउन विमानस्थल पुगेका थिए।   उनीहरूको साथबाट ८ हजार ४०४ अमेरिकी डलर र ९१६ युरो बरामद भएको प्रहरीको भनाइ छ। प्रहरी स्रोतका अनुसार उक्त रकम दुबई हुँदै क्रोयसिया, रोमानियाजस्ता मुलुकहरूमा पुर्‍याउने गरिएको छ।     मंगलबार पनि त्रिअबि प्रहरीले २० हजार अमेरिक डलरसहित दुई जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। 

काठमाडौं:  कोरोना भाइरस सङ्क्रमित एक व्यक्तिको आज (मङ्गलबार) मृत्यु भएको छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छ जनामा सङ्क्रमण देखिएको छ । यस्तै, आज ४८ जना उपचारपछि घर फर्किएका छन् ।   मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्ने देखिएको जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ६९ पुगेको छ । काठमाडौं उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र पाँच जना भेन्टिलेटरमा उपचाररत छन् ।   नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ ।

सिन्धुपाल्चोक:  एक साताका लागि तातोपानी नाका बन्द भएको छ । आंशिक रुपमा सञ्चालन भइरहेको उक्त नाकाबाट मालबाहक कन्टेनर आउन ठप्प भएपछि तातोपानी नाका सुनसान भएको छ ।   प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले चिनियाँ सुरक्षा अधिकारीको भनाइ उद्धत गर्नुहुँदै चिनियाँ क्षेत्रमा भौतिक पूर्वाधारका काम गरिरहेकाले चीनले तातोपानी नाका ठप्प गराएको जानकारी दिनुभयो । ‘‘तातोपानी नाका सात दिन बन्द हुने खबर आएको छ,’’ प्रजिअ न्यौपानेले बताउनुभयो ।   चीनको स्वाशासित क्षेत्र खासा, न्यालम लगायतका क्षेत्रमा भौतिक पूर्वाधारका अत्याधुनिक भवन, सडक र अन्य संरचना पुनः निर्माण भइरहेको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आगामी वैशाख १८ गतेदेखि उक्त नाका खुल्ने तयारीका कारण चिनियाँ पक्षले पुनः निमार्ण गरिरहेको हुन सक्ने अनुमान छ ।

काठमाडौं : मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित ४ जनाविरूद्ध भ्रष्टाचार कसूरमा आरोपपत्र दायर गरेको छ।   अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्काली कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल,गमबहादुर विश्वकर्मा,नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध ९३ लाख ६६ हजार २०९ रुपैयाँ भ्रष्टाचार कसूरमा मंगलबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।   आर्थिक वर्ष २०७२/०७३ मा जग्गा किनबेचका क्रममा विभिन्न लिखितबाट उठेको राजश्व रकम दाखिला नगरी हिनामिना गरेको देखिएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम सजाय माग गर्दै आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।   उनका अनुसार जग्गा किनबेचका क्रममा रकम हिनामिना गरेको उजुरी निवदेनका आधारमा अनुसन्धान गर्दा उनीहरू भ्रष्टाचारजन्य कसूरमा संलग्न रहेको पाइएको हो।   उनीहरूबिरुद्ध  हिनामिना रकमको दोब्बर रकम बीगोसहित सजाय माग गरिएको छ।

पोखरा:    भरतपोखरी विश्वकर्मा समाजको अध्यक्षमा डिलबहादुर लामगादे सर्वसम्मत चयन भएका छन् ।  भरत पोखरी बिश्वकर्मा समाज पोखरा महानगरपालिका ३३ को तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशनले डिलबहादुरको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको हो ।    . समाजको उपाध्यक्षमा  शिव प्रतेल,सचिवमा गणेश प्रतेल र कोषाध्यक्षमा प्रेम लामगादे चयन भएका हुन् ।  समाजको सदस्यहरुमा शेर बहादुर घताने ,राम बहादुर घताने, शान्ति घताने ,सरस्वती घिमिरे ,प्रतिमा घिमिरे,काजीमान लामगादे र रम बहादुर लामगादे चयन भएका हुन् ।   कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका ३३ का वडाध्यक्ष रामचन्द्र आचार्यले वडाले समाजको लागि सक्दो सहयोग गर्ने बताए । ‘समाजले वडाको विकास र यस समुदायको विकासका लागि वडाले सहयोग गनै सधै तयार छ, उनले भने, ‘समाजको विकासका लागि सहकार्य गर्न वडा सधै तयार नै छ ।’ चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनारले सीप मुलक तालिम प्रदान गर्ने प्रतिवद्धता जनाए । ‘विभिन्न सीप मूलक तालिम अहिलेको आवश्यकता हो, सीप मुलक तालिमले व्यक्तिको मात्र नभएर समाज परिवर्तनका लागि सीप मुलक तालिम आवश्यकता हो, उनले भने, ‘समाज र समुदायको लागि सीप मुलक तालिम सञ्चालन गर्न प्रतिवद्ध छु ।’ भरत पोखरी बिश्वकर्मा समाजको  भवनमा सम्पन्न भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन दिल बहादुरको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

काठमाडौं:  मङ्गलबार पुँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २७ दशमलव ३१ अङ्कले बढेर एक हजार आठ सय ७१ दशमलव ३३ अङ्कमा कायम भएको हो ।   आजको कारोबारमा दुई सय ६२ वटा कम्पनीको ३३ लाख १५ हजार सात सय २० कित्ता शेयर ३५ हजार दुई सय ३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रु ९४ करोड ५२ लाख ४९ हजारमा खुम्चिएको छ । सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक एक सय ३९ दशमलव ९१ र जीवन बीमा समूहको उपसूचक ८६ दशमलव १० अङ्कले बढेको छ । बैंकिङ समूह १६ दशमलव ७७, विकास बैंक समूह ७९ दशमलव १८, वित्त समूह ३७ दशमलव ४८, होटल तथा पर्यटन समूह ५३ दशमलव २२ र जलविद्युत् समूह ३७ दशमलव ९४ अङ्कले बढेको छ ।   त्यस्तै, लगानी समूह शून्य दशमलव ७६, लघुवित्त समूह ४९ दशमलव ७५, म्युचुअल फन्ड समूह शून्य दशमलव १६, निजीवन बीमा समूह ६२ दशमलव ९२, अन्य समूह १७ दशमलव ४६ र व्यापार समूह २१ दशमलव ९८ अङ्कले बढेको छ ।   पछिल्ला दिनहरुमा लगातार सकारात्मक सर्किट लाग्दै आएको कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ६९ प्रतिशतले बढेको छ । असानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको शेयर मूल्य तीन दशमलव ५४ प्रतिशतले घटेको छ ।   आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु सात करोड १० लाख ९३ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको एक लाख ८७ हजार पाँच सय ९४ कित्ता शेयर किनबेच भएको छ । 

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० हजार अमेरिकी डलरसहित दुई जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।   पक्राउ पर्नेमा मोफिजुल इस्लाम र देवसिस कुमार साह रहेका छन्। उनीहरू विमान बंगलादेश ३७२ उडानबाट बंगलादेशको राजधानी ढाका जान लागेका थिए। उनीहरूलाई त्रिअबि प्रहरीले अन्तिम सुरक्षा जाँचका क्रममा मंगलबार बिहान पक्राउ गरेको स्रोतले जनाएको छ।   विमानस्थल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लालमणि आचार्यले अमेरिकी डलरसहित बंगलादेशी नागरिक पक्राउ परेको पुष्टि गरे।   प्रारम्भिक बयानका क्रममा उनीहरूले उक्त रकमको स्रोतको बारेमा केही बताउन नसकेको प्रहरीको भनाइ छ। उनीहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको छ।

काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूमा कसले ब्याजदर निर्धारण गर्छ भन्ने विषयमा जवाफ दिएका छन्। मंगलबार आयोजित पत्रकारहरूको जिज्ञासामा उनले ब्याजदर निर्धारणबारे जवाफ दिएका हुन्।    उनले विसं २०४६ देखि नै बैंक तथा वित्तीय संस्थाको ब्याजदर निर्धारण बजारलाई दिएको बताए। उनले त्यो प्रथा हालसम्म निरन्तरता पाएको स्पष्ट पारे। उनले बजारले नै बैंक तथा वित्तीय संस्थाहरूमा ब्याजदर निर्धारण गरिरहेको बताए।   'नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारण गर्ने जिम्मा बजारलाई दिएको २०४६ देखि हो। त्यो अहिलेसम्म निरन्तर छ। बजारमा तरलता सहज छ भने ब्याजदर तल झर्छ। यदि तरलता क्रन्च भयो भने ब्याजदर माथि जान्छ,' उनले भने, 'राष्ट्र बैंकले त्यसको मोनिटर भने गर्छ।'   ब्याजदरको अन्तिम लाभग्राही सर्वसाधारण हुनुपर्ने आफूहरूको हुनुपर्ने गर्भनर अधिकारीको भनाइ छ। त्यसैले निक्षेप र कर्जाको अन्तर ४.४ प्रतिशतको सीमा तोकेको उनले बताए। 'निक्षेप र कर्जाको अन्तर ४.४ प्रतिशत हामीले राखेका छौं। बैंकले पाउने भनेको ४.४ प्रतिशत नै हो। घटे बढेको खण्डमा कुनै बेला डिपोजिट गर्नेले पाउँछन्, कुनै बेला ऋणीले पाउँछन्,' उनले भेन।   उनले ब्याजरबाट पीडित धेरै जनाले यसबारे प्रश्न उठाएको भन्दै उनले कर्जाको सही सदुपयोग भयो भएन भन्ने मुख्य कुरा भएको बताए। 'बैंकको ब्याजदरका कारण धेरै जना बिरक्तिनुभएको छ। ब्याज बेसी भएर हो कि अरु आर्थिक गतिविधि नभएर हो? व्यवसाय ऋण र ब्याजको कुरा त मात्र नहोला। एउटा उत्पादनको कम्पोनेन्टभित्र ब्याजको हिस्सा कति हुन्छ?,' गर्भनर अधिकारीले प्रश्न गरे, 'कर्जाको सही प्रयोग भयो कि भएन? कर्जाको मिस्युज भयो भन्ने पनि छ। मिस्युज भएकाहरूलाई कारबाही पनि गरिरहेका छौं।'   उनले कर्जा मिस्युज गर्नेहरूलाई फौजदार कानुन लगाउनुपर्ने सुझाव आएको भन्दै बैंकिङ कसुरको डिग्री हेरेर कारबाही भइरहेको बताए। 

भैरहवा:  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताउनुभएको छ ।   प्रेस सेन्टर रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकाहरूलाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने बताउनुभएको हो ।   “मैले गृहमन्त्रीका रूपमा कार्यभार सम्हालेदेखि नै भनेको छु यो देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न सकिन्न, नागरिकताविहीन भएको पीडा हामीले बोध गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “संविधान अनुसार नागरिकता पाउने गरी बनाइएको विधेयक अगाडि बढाउँछौँ ।”   उहाँले नागरिकता सम्बन्धित केही विषयमा भने राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभयो । त्यसबारेमा सबै राजनीतिक पार्टी एवम् राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तित्वसँग छलफल गरिने उहाँको भनाइ छ ।   उहाँले सङ्क्रमणकालीन न्यायसम्बन्धी काम अझै पनि बाँकी रहेकाले यसलाई पूरा गरिनुपर्ने बताउनुभयो । यो पूरा भए मात्रै शान्ति प्रक्रिया समग्रमा पूरा हुने मन्त्री श्रेष्ठको भनाइ छ ।   “यसका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पूरा गर्नुपर्छ”, श्रेष्ठले भन्नुभयो, “यसका लागि हामी फेरि पनि संसद्मा प्रवेश गरेका छौँ, यो कामलाई पूर्णता दिन्छौँ ”   उहाँले अर्थतन्त्रमा तत्काल देखा परेका समस्यालाई समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन सके मात्र समृद्धि हासिल हुने भन्दै अर्थतन्त्रको समस्या पहिचान गर्न र यसको समाधानको उपायबारे विज्ञहरूसहित बैठक बस्ने तयारी भइरहेको जानकारी दिनुभयो ।   “अर्थतन्त्र सुधारमा प्रधानमन्त्री आफै अग्रसर हुनुहुन्छ, मन्त्रिपरिषद्ले मूलभूत रूपमा पूर्णता पाएको अवस्थामा अब हामी समृद्धिको लक्ष्य पूरा गर्न समर्पित रूपमा लाग्नेछौँ”, उहाँले भन्नुभयो ।   उहाँले आफूले गृहमन्त्रालय सम्हालेदेखि नै सुशासनमा जोड दिएको भन्दै प्रशासनिक र सुरक्षा निकायमा कतै पनि राजनीतिक दबाब र अन्य दबाबले भूमिका खेल्न नपाओस् भनी आफू सतर्क रहेको बताउनुभयो ।   “जनतालाई सहज ढङ्गले सेवा दिने र शान्ति सुरक्षा सुनिश्चित गर्दै शान्तिपूर्ण वातावरणमा जीवन गुजार्न पाउने अधिकारको सुनिश्चित गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो “यससँगै कालोबजारी, अपराध नियन्त्रण गर्ने काम गछौँ ।”