चितवन: चितवनको भरतपुर महानगरपालिका–२९ गाइघाटमा दुईवटा ट्रक एकआपसमा ठोक्किंदा सात जना घाइते भएका छन् । आज बिहान समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्वरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्वरको ट्रक एक आपसमा ठक्कर खाँदा सात जना घाइते भएका हुन् । दुर्घटनामा दुवै ट्रकमा क्षति पुगेको छ । घाइतेको भरतपुरका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनाले जानकारी दिनुभयो ।
धनगढी: महिला प्रहरी जवान चन्द्रिका देउवालाई जिल्ला प्रहरी कार्यालय कैलालीले नगद र प्रशंसापत्रसहित सम्मान गरेको छ । गोदावरी नगरपालीका-१ चैतनेपुरस्थित सडकमै बेवारिसे अवस्थामा एकजना आमाले बच्चा पाउँदै गरेको बेला सहयोग र उद्धार गरेकी देउवालालाई सम्मान गरिएको हो । गोदावरी नगरपालिका–१ वसन्तपुरमा कोठा भाडामा बस्दै आएकी ती २४ वर्षीय चन्द्रा आचार्यको उद्धार गरेर शिशुको पनि ज्यान बचाएएपछि देउवालाई सम्मान गरिएको हो । बाध्यात्मक अवस्थामा सडकै बच्चा पाइरहेकी आमालाई सहयोग गरेर देउवाले प्रशंसा पाएकी छन् । अहिले आमा र बच्चा पद्मा अस्पताल अत्तरियामा छन् । ‘स्थानीयले प्रहरीलाई खबर गरेपछि हामी हतार हतार गयौँ, कसैले छुन मानेनन् । मैले उनको पीडा सहन नसकेर बर्दीमै रहेको बेला पनि सघाएकी हुँ ।’ त्यसपछि स्वास्थ्यकर्मीलाई खबर गरिएको उनले बताइन् । ‘तर उहाँहरू आउन समय लाग्ने भयो । स्वास्थ्यकर्मी आउँदासम्म आमाले बाटोमा बच्चा जन्माइन्’, उनले भनिन्, ‘ती महिलाको पीडा देखेर सुडेनीको काम आफैँले अघि सरेर गरेँ ।’ चन्द्रिका इलाका प्रहरी कार्यलय मालाखेतीअन्तर्गत अस्थायी प्रहरी पोष्ट खैराना प्रहरी बिटमा कार्यरत छिन् । ती सुत्केरी आमाको मानसिक स्वास्थ्यमा समस्या हुँदा बेवारिस अवस्थामा रहेको खुलेको छ । बझाङको थलारा गाउँपालिकाकी आचार्यका श्रीमान् रोजगारीका लागि भारतमा छन् । सडकमै सुत्केरी व्यथा लागेर छटपटाइरहेकी महिलाको नजिकको घरमा लगेर सुत्केरी गराइएको थियो । सुत्केरी भएको ठाउँमा पुगेको पद्मा अस्पतालबाट एमडीजीपी गणेश फुलारासहितको टोली पुगेको थियो । महिलाको साल अड्किएर अवस्था जटिल भएपछि अस्पताल लगेर उपचार गरिएको छ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा ‘हेर्दाहेदै’ राखिएको भए पनि आज सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मङ्गलबार सुनुुवाइ प्रारम्भ भएर नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार आज संवैधानिक इजलासमा न्यायाधीश डा। सुवेदी बस्नुपर्ने भएकाले उक्त इजलास बस्न नसकेको जानकारी दिनुभयो । सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रूपन्देहीमा पुर्पक्षमा थुनामा रहेका पूर्वगृहमन्त्री समेत रहेका लामिछाने तर्फबाट दायर भएको उक्त रिट निवेदन बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार हेर्न नमिल्ने सूचीमा परेको थियो ।
काठमाडौं: नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्व पौडेलले पदभार ग्रहण गरेका छन् । बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष सपथ लिएपछि नवनियुक्त गभर्नर पौडेल बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै गभर्नर पौडेलले सरकारले ल्याउने बजेट कार्यान्वयनका लागि सोही अनुरूप मौद्रिक नीति तर्जुमा गर्ने बताए । मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि सबैसँग समन्वय गरेरै आफू अघि बढ्ने उनले बताए । पौडेलले बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा आन्तरिक विषय भएको उल्लेख गरे । पदभारपछि गभर्नर पौडेलले पाँच सय र एक हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर समेत गरे । सरकारले मङ्गलवार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा। विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो ।
चितवन: चितवनमा पौडी पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मङ्गलबार राति इच्छाकामना गाउँपालिका– ७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुबेर भरतपुर महानगरपालिका– २२ का २५ वर्षीय लोकेश महतोको मृत्यु भएको हो । प्रहरीले उनीसँगै पौडी खेल्न गएका आठ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–२२ का २२ वर्षीय सिमन थापा, प्रवीण घिमिरे, ५७ वर्षीय मेघलाल चुडाल, २६ वर्षीय दिपेश महतो, १९ वर्षीय शुबु खत्री र महानगरपालिका–१३ का २६ वर्षीय आदेश सुवेदी, १४ का २९ वर्षीय आशिष शर्मा र लमजुङ सुन्दरबजारका २६ वर्षीय नारायण बस्नेतलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ ।
काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान र देशका बाँकी भूभागको एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ । महाशाखाले आज राति कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४९ मिनेटमा हुनेछ ।
काठमाडौं: राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दिउँसो साढे चार घण्टा बन्द हुने भएको छ। निर्माण कार्यका लागि सडक बन्द गर्न लागिएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए। यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो। आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उनले जानकारी दिए। “निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक निर्माणका लागि यसअघि राति भत्काउने काम भएको र अब निर्माण दिउँसो गर्नुपर्ने भनेर प्रस्ताव आएको थियो। प्राविधिक रुपमा निर्माण दिउँसो नै गर्नुपर्ने भनेपछि, त्यसका लागि अनुमति दिइएको हो”, प्रजिअ तिवारीले भने। नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आज सूचना गरी काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ। बन्दको समयमा धार्के–सितापाइला तथा टोखा-छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ।
काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चारकर्मीलाई जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग उनले भने,“माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको सिफारिस समितिको सिफारिसका आधारमा तीन जनामध्येबाट डा. विश्वनाथ पौडेललाई गर्भर नियुक्त गर्ने निर्णय भएको छ ।” उनले सिफारिस समितिले डा. विश्वनाथ पौडेल, राष्ट्र बैङ्कका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा. दिनेश भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेकामा डा. पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरिएको बताए ।
मकवानपुर: मकवानपुरको भीमफेदी गाउँपालिकामा ब्रेक फेल भइ विङ्गर गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । मङ्गलबार दिउँसो चित्लाङबाट बाराको लालबन्दी आउँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ को गाडी सडकदेखि करिब २० मिटर तल खसेर भीमफेदी गाउँपालिकास्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठी मोडमा दुर्घटनामा परेको हो । गाडी रुखमा अड्किएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भैंसे र सिमभञ्ज्याङ्गबाट खटिएको २५ जना प्रहरी टोलीले घाइतेको उद्धार गरी हेटौंडा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । गाडीमा सवार १४ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ