नवलपरासी: पश्चिम नवलपरासीको सुस्ता गाविसको हरकपुरामा दुई नाबालक छोरासहित गण्डक नहरमा हामफालेकी आमा मृत भेटिएको छ । मंगलबार दुई छोरालाई साथै चुन्नीले बाँधेर नहरमा हाम्फालेका तीन जना मृत भेटिएका हुन् । सुस्ता गाउँपालिका वार्ड नम्बर २ सुकुम्वासी टोल निवासी २९ वर्षीया प्रतिमा थारुले ९ वर्षीय छोरा कृश र ७ वर्षीय सुमित थारु सहित गण्डक नहरमा हामफालेको प्रहरीले जनाएको छ । नहरमा बेपत्ता भएपछि प्रहरीले नहरको पानी बन्द गरेर खोजी गरी मृत अवस्थामा तीनै जनालाई मंगलबार बेलुकी फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव निरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । शवहरूको पोष्टमार्टम गरी घटनाको थप अनुसन्धान गरी रहेको जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकमत नहुँदा सत्ता साझेदारी नै संकटमा परेको छ । एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने माग राखे पनि प्रचण्ड माओवादी केन्द्र सहमत देखिएको छैन । माओवादी नेताहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस समेत छ । लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ । ठाकुरको नाममा राष्ट्रिय सहमति जुटाउन आग्रह गर्दै लोसपाका नेताहरुले आज कांग्रेस सभापति देउवासँग छलफलसमेत गरेका छन् । राष्ट्रपतिमा कांग्रेसले पनि दाबी गरेको छ । निर्वाचनको मिति नजिकिंदै गएकाले दलहरु राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले फागुन २५ गते निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दैछ ।
काठमाडौं: नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन् । प्रहरी प्रधान कार्यालय पुगेर बुधबार (आज) उनले राजीनामा बुझाउने तयारी गरेका हुन् । सिंहले राजीनामा दिएमा भावी आईजीपीको दौडमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन् । बढुवाका लागि रस्साकस्सी चलिरहेका बेला सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक-फरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो । जन्ममिति विवाद सार्वजनिक भएपछि सिंह राजीनामा दिने तयारीमा लागेको स्रोतले बताएको छ । जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो । प्रहरी प्रधान कार्यालयको विवरणमा उनको नागरिकता अनुसार जन्ममिति २२ जेठ २०२४ हुने उल्लेख छ ।
काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो । युएई र कतारमा यी पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति रोक्ने निर्णय गरेको हो । पछिल्लो समय मोटरसाइकल र ट्याक्सी चालक पदमा त्यहाँ जाने श्रमिकले स्वीकृति मागपत्रबमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए। उनका अनुसार सहजरूपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भइ बस्नुपरेको अवस्था रहेको र अधिकांश श्रमिक धेरैपटक ट्राफिक कारबाहीमा परी ठूलो जरिवाना बुझाउनुपरेको गुनासो आएकाले सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासनसम्बन्धी ज्ञान र अनुभवको कमीले गर्दा दुर्घटना बढेसँगै विभागले उक्त निर्णय लिएको हो । युएई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदमा श्रमिक पठाउनु सुरक्षित नदेखिएपछि विभागले पूर्वस्वीकृति रोक्ने निर्णय लिएको हो । विभागका अनुसार अर्को निर्णय नभएसम्म यो नियम कार्यान्वयनमा रहने छ । उक्त पदको मागपत्र प्रमाणीकरण नगर्न कतार र युएईस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरिएको विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।
काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोक जिल्ला र मकवानपुर जिल्लाको सिमाना सिक्रेदोभानस्थित बागमती नदीमा पुल निर्माण सुरु गरिएको छ वर्ष पूरा हुन लाग्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । बागमती नदीमा पक्की पुल निर्माण नहुँदा काभ्रेपलाञ्चोकको खानीखोला र महाभारत गाउँपालिकाका नागरिकले प्रदेश राजधानी हेटौँडा जानका लागि समस्या बेहोर्दै आएका छन् । काभ्रेपलाञ्चोक र मकवानपुरलाई सडक सञ्जालबाट जोड्न आर्थिक वर्ष २०७३/७४ मा तत्कालीन जिल्ला विकास समितिको कार्यालय मकवानपुरले बोलपत्र आह्वान गरेको थियो । दुई वर्षभित्र पुल निर्माण गर्न ११ करोड रुपियाँमा महादेव-शिखर-तामाकोसी जेभीसँग ठेक्का सम्झौता भएको थियो । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले सिक्रेदोभानस्थित बागमती नदीमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ वर्षसम्म पनि पुल निर्माणको काम सम्पन्न हुन नसकेको बताउनुभयो । उहाँले पुल निर्माणको ठेक्का पाएको कम्पनीले पुल निर्माणको काममा ढिलाइ गरेका कारण प्रदेश राजधानी हेटौँडा जान खानीखोला र महाभारत गाउँपालिकाका बासिन्दाले समस्या भोग्नु परेको बताउनुभयो । खानीखोला गाउँपालिका–५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले बागमती नदीमा पुल निर्माणमा ढिलाइ भएका कारण स्थानीय नागरिकले उत्पादन गरेका उपजहरू बिक्रीका लागि बजारसम्म लैजान नसकिएको बताउनुभयो । पुल निर्माणको ठेक्का पाएको महादेव-शिखर-तामाकोसी जेभीका ठेकेदार खड्ग गोपालीले तत्कालीन जिविसले सडक नै नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाएका कारण पुल निर्माणको काममा ढिलाइ भएको बताउनुभयो । “सडक नै नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाइयो । पुलसम्म पुग्न साढे पाँच किलोमिटर सडक खन्ने काम ग-यौँ । यसले गर्दा हाम्रो पुल बनाउने दुई वर्षको समय सडकको ट्र्याक खन्नमै सकियो र पछि कोभिड–१९ का कारण काम रोकियो,” उहाँले थप्नुभयो । गोपालीले मकवानपुरतर्फको पिल्लरमा पाइलिङको काम (खोलामुनि पिल्लरका लागि रड राख्ने) सकिएको बताउँदै नदीको बीच भागमा रहने पिल्लरको पाइलिङ गर्ने कामसमेत अघि बढेको बताउँदै एक महिनाभित्र तीनवटै पिल्लरको पाइलिङ गर्ने काम सकिने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्ष २०८०/८१ भित्र पुल निर्माणको काम सकिने बताउनुभयो । ११ करोड रुपियाँमा ठेक्का सम्झौता भएको पुल निर्माणका लागि दुई पटक म्याद थप गरिएको छ ।
काठमाडौं: राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा समेत विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन ‘इभीएम’)को प्रयोग नहुने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा थोरै सङ्ख्यामा मतदाता रहने हुँदा इभीएमको प्रयोग गर्न सकिने सम्भावना थियो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन २०७९ मा इभीएमको प्रयोगबारे राखिएको जिज्ञासामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, “पुरानो उपकरण काम लाग्ने अवस्थामा छैन, नेपालीले बनाएको प्रमाणीकरण भएको छैन, नयाँ खरिद गरेर प्रयोग गर्ने सम्भावना देखिन्न ।” राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ । गत वैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचन र मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आयोगले इभीएमको प्रयोगको सम्भाव्यताबारे अध्ययनसमेत गरेको थियो तर सम्भाव्यता अध्ययनका लागि गठन गरिएको समितिले कानुनी अड्चन रहेको जनाएपछि स्थानीय र प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा इभीएम प्रयोगको सम्भावना सकिएको थियो । दुवै निर्वाचनमा इभीएम प्रयोगका लागि ठूलो धनराशि खर्चिनुपर्ने हुन्थ्यो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा भने ८३१ मतदाता छन् । मतदान स्थलसमेत एउटै निर्धारण गरिएको छ । सीमित सङ्ख्यामा मतदाता रहने र एकै स्थानमा दुईवटा मतदान केन्द्र रहने हुँदा इभीएमको प्रयोग सम्भव देखिएको थियो । मत बदर नहुने, मतदान र गणना प्रक्रिया छिटोछरितो हुने हुनाले इभीएम खरिद महँगो भए पनि प्रयोग सहज हुन्छ ।
पोखरा: पोखरा महानगरपालिका ३३ ठूलढुंगा नजिक वनमा भेट्टाएको विस्फोटक पदार्थ खेलाउँदा पड्किएर दुई बालक घाइते भएका छन् । वनमा भेटाएको विस्फोटक पदार्थ घरमा ल्याएर खेलाउँदा विस्फोट हुँदा दुई जना बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए । ‘वनमा भेट्टाएको विस्फोटक पदार्थ घरमा लगेर किला ठोक्दा पड्किएको अनुसन्धानको क्रममा देखिएको छ, खड्काले भने, ‘विस्फोटक पदार्थ विस्फोट हुँदा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ घाइते भएका छन् ।’ उनका अनुसार घाइते भएका दुई बालकको हात र खुट्टामा चोट लागेको छ । अहिले उनीहरुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पतालमा उपचारका लागि लगिएको छ । वनमा उक्त विस्फोटक पदार्थ कसरी पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशकै पहिलो फोरके प्रविधियुक्त पब्लिक टेलिभिजनको नियमित प्रसारण सुरु भएको छ । आइतबार साँझ एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नियमित प्रसारणको उद्घाटन गरेका हुन् । नियमित प्रसारण उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले टिभीको नियमित प्रसारण सुरुआतसँगै गण्डकीको सञ्चार क्षेत्रमा नयाँ आयाम थपिएको बताए । ‘यसले आवाजविहीनहरुको आवाज बोल्ने मैले अपेक्षा राखेको छु,’ उनले भने, ‘पीँधमा रहेका वर्गलाई माथि ल्याउन भूमिका खेल्ने विश्वास छ ।’ राजनीतिकर्मी, उद्यमी, व्यवसायी तथा सञ्चारकर्मीहरुको बीचको एकता आजको आवश्यकता रहेको उनले औंल्याए । पोखरा महानगरका मेयर धनराज आचार्यले टिभीको आधिकारिक वेबसाइट उद्घाटन गर्दै सकारात्मक सहयोग र खबरदारी गर्ने प्लेटफर्मका रुपमा आएको बताए । ‘हाम्रा कामलाई सकारात्मक ढंगले सहयोग गर्ने, कहींकतै कमजोरी भयो भने खबरदारी गर्ने एउटा राम्रो प्लेटफर्म आएको छ,’ उनले भने, ‘अबका टिभीले दिनमा पछाडि फर्केर हेनुनपरोस् ।’ निर्देशक रुद्रप्रसाद अर्यालले स्वागत गरेको उद्घाटन कार्यक्रममा टिभीका अध्यक्ष प्रेमप्रसाद भट्टले संघीयताको मर्मअनुसार आम नागरिकले पाउनुपर्ने विश्वसनीय सूचना सामग्री पब्लिक टिभीको मुख्य ध्येय रहेको बताए । समुद्घाटन समारोहमा गण्डकीका दिवंगत श्रष्टाहरुको सम्मान र सम्झनामा सांगीतिक कार्यक्रम गरिएको थियो । जसमा गायक राज सिग्देल, विनोद बानिया, सन्तोष बस्याल र अजुदा थापाले प्रस्तुति राखेका थिए ।
काठमाडौं: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । पार्टीका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र अनिल झालाई पनि लिएर बालुवाटार पुगेका उनले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति उम्मेदवार बनाउन आग्रह गरेका छन् । ‘गणतन्त्र, संघीयताको पक्षमा आवाज उठाउने र १२ बुँदे सहमतिदेखि नै यस दिशामा काम गरेको मान्छे महन्थ ठाकुरजी हुनुहुन्छ’ ठाकुरसँगै बालुवाटार पुगेका नेता शुक्लले भने, ‘उहाँको स्वच्छ छवि छ । उहाँ यसको लागि उपयुक्त पात्र हुनुहुन्छ । त्यसैले उहाँलाई राष्ट्रिय सहमतिको पात्रका रुपमा अगाडि बढाइयोस् भन्न हामी गएका थियौं ।’ प्रधानमन्त्री प्रचण्डले यो प्रस्तावमा आफू सकरात्मक रहेको जवाफ दिएको शुक्लले बताए । ‘तपाईंहरुले नभनेको भए पनि मैले महन्थजीका बारेमा सोचेकै हो’, प्रचण्डको भनाइ उद्धृत गर्दै शुक्लले भने, ‘म सकारात्मक छु, अरु ठूलो दलसँग पनि कुरा गर्नुहोस् ।’ आफूहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन आग्रह गर्ने शुक्लले बताए । एमाले अध्यक्ष ओलीसँग मंगलबार नै र कांग्रेस सभापति देउवासँग बुधबार भेटघाट तय भएको उनको भनाइ छ ।

