काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

काठमाडौं: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिने भएका छन्। प्रदेश सभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।   प्रदेशसभाका सचिव देवबहादुर बोगटीले आज अपराह्न बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूची रहेको जानकारी दिएका छन्।   ६३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमतका लागि  २७ मत आवश्यक पर्छ ।   नेकपा एमाले संसदीय दलका नेता रावललले पुसको २७ गते नेकपा एमालेका १० सांसद,माओवादी केन्द्रका ११ सांसद,नागरिक उन्मुक्ति पार्टीका ७ सांसद र राप्रपाका एक जना गरी २९ सांसदको बहुमतमा शपथ लिएका थिए।    सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने नदिनेबारे हालसम्म टुंगो लगाएको छैन।  नागरिक उन्मुक्ति पार्टीले आफूलाई विश्वासको मत दिनेमा मुख्यमन्त्री रावल विश्वस्त छन्। उन्मुक्तिले जेलमा रहेको पार्टीका संरक्षक रेशमलाल चौधरीको रिहाईको माग गर्दै आएको छ।     विश्वासको मत लिन नसकेकै कारण अहिलेसम्म प्रदेश सरकार विस्तार हुन सकेको थिएन।    रावलको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले आजसम्म पूर्णता पाउन सकेको छैन । बिनाविभागीय मन्त्री खगराज भट्ट र सन्तोषी थापा शर्माको मन्त्रालय पनि तोकिएको छैन ।     प्रदेशसभामा सत्तापक्षीय नेकपा एमालेका  १०,नेकपा माओवादी केन्द्रका सभामुखबाहेक १०,नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सदस्य छन् ।  विपक्षमा रहेको नेपाली कांग्रेसका १९,नेकपा एकीकृत समाजवादीका ४ र १ स्वतन्त्र सदस्य छन्।

काठमाडौं:  नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रतिनिधिसभाको प्रमुख विपक्षी दलको नेता नबनाउन माग गर्दै सर्वोच्च अदा्लतमा परेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ। सो रिट निवेदनको पेशी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा तोकिएको छ।   कांग्रेस संसदीय दलको नेता देउवा हुन नसक्ने दावीसहित मंगलबार रिट दर्ता भएको थियो। रिटमा उत्प्रेषणको आदेशद्वारा विपक्षी दलको नेता नबनाउन माग गरिएको छ। अधिवक्ता विमलप्रसाद पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा विश्वासको मत दिएकाले देउवा  प्रमुख विपक्षी दलको नेता बन्न नसक्ने भन्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए।   रिटमा संसद सचिवलाय,प्रतिनिधिसभा सभामुख,संवैधानिक परिषद र नेपाली कांग्रेस संसदीय दल सिंहदरबारलाई प्रतिवादी बनाइएको छ। नेमकिपाका नेता प्रेम सुवालले सरकारलाई समर्थन नगरेकाले प्रतिनिधिसभाको विपक्षी दलको नेता आफूलाई बनाउन माग गरेका छन्।

पोखरा:   नेपाल सुनचाँदी रत्न तथा आभुुषण महासंघको दशौं वाषिकोत्सव तथा नवौं वार्षिक साधारण चितवनमा हुने भएको छ ।  महासंघको दशौं वार्षिकोत्सव तथा नवौं वार्षिक साधारणसभा माघ २६ गते चितवनको पार्क सफारी रिसोर्टमा हुने महासंघका महासचिव किसान सुनारले जानकारी दिए ।  ‘संघीयता कार्यान्वयन भएसँगै पहिलो पटक महासंघको वार्षिकोत्सव तथा नवौं वार्षिक साधारणसभा राजधानी बाहिर गर्दै छौं, सुनारले भने, ‘राजधानी बाहिर पहिलो पटक हुन लागेको साधारणसभालाई विधान केन्द्रित महाधिवेशन भनेका छौं ।’ उनले विधान संशोधन गर्दै प्रदेश गठनलाई तिव्रता दिने बताए । ‘संघीयताको भावना अनुसार महासंघलाई अगाडी बढाउन साधारण सभाले पहिलो पटक संघीयताको मर्मअनुसार विधान संशोधन गर्दै छौं, विधान संशोधनसँगै साधारण सभाले चिवतन घोषणा पत्र समेत जारी गर्नेछ ।’ महासचिव सुनारले भने ।  ‘स्वच्द्ध व्यवसायः सम्मानित व्यवसायी’ मूख्य नारा लिएको नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघले कानूनहरुको पूर्ण पालन गर्दै व्यवसायलाई स्वच्छ र पाददर्शी बनाएर प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय प्रति गौरव गर्ने र सम्मानित व्यवसायी भएको अनुभुति गर्न सक्ने अवस्थाको सिर्जना गर्ने महासंघको अभियान छ ।  महासंघको दशौं वार्षिकोत्सव तथा नवौं वार्षिक साधारणको उद्घाटन बाग्मति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले गर्ने कार्यक्रम तय भएको आभुषण महासंघले जनाएको छ ।   साधारणसभामा भरतपुर महानगरपालिकाका प्रमुख रेनुका दाहाल, प्रमुख जिल्ला अधिकारी, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय अध्यक्ष, नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय अध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष लगायत अतिथिहरुको सहभागिता रहने छ भने, देशभरका २ सय बढी संस्थागत प्रतिनिधिहरुको सहभागिता रहने महासंघले जनाएको छ ।  २०६९ माघ २७ गते स्थापना भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ मुलुकभरका गहना व्यवसायीहरुको प्रतिनिधिमूलक अग्रज संघीय संस्थाको रुपमा स्थापित भएको छ । महासंघ स्थापना हुनु भन्दा अगाडी मुलुकमा गहना व्यवसायीहरुका समानस्तरका धेरै संघहरु भएकाले ती सबैको प्रतिनिधिमूलक संघीय संस्थाको आवश्यकता महशुस गर्दै महासंघको स्थापना गरिएको जनाइएको छ ।   

गुल्मी:  गुल्मीमा पहिलो पटक पशुको भिडियो एक्स–रे सेवा सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले यो सेवा सुरु गरेको हो ।   केन्द्रले पशुको भिडियो एक्स–रे सेवा सुरु गर्दा स्थानीय कृषकहरु निकै खुसी भएका छन् ।    लुम्बिनी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको सिफारिसमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले यहाँ भिडियो एक्स–रे मेसिन उपलब्ध गराएको हो ।   भिडियो एक्स–रेबाट पशुहरुको बाँझोपनको समस्या र गर्भ परीक्षण गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डा.भरत काफ्लेले जानकारी दिनुभयो ।    किसानका घर–घरमा पुगेर पशुहरुको भिडियो एक्सरे गर्न पालिकाका प्राविधिकमार्फत तथ्याङ्क सङ्कलन भइरहेको छ । इस्मा गाउँपालिकाको विभिन्न्न स्थानबाट यो सेवा सुरु गरिएको हो ।   किसानको मागअनुसार यो सेवालाई जिल्लाका सबै स्थानमा पु¥याइने डा. काफ्लेले बताउनुभयो ।   

काठमाडौं : अमेरिकी अन्तराष्ट्रिय विकाश नियोग(यूएसआईडी)की प्रमुख सामन्था पावर नेपाल आइपुगेकी छन् ।     यूएसआईडी प्रमुख पावर केहीबेर अघि काठमाडौं आइपुगेकी हुन् ।    नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल,परराष्ट्रमन्त्री बिमला राई पौड्याललगायत सरकारी अधिकारीहरू र नागरिक अगुवाहरूसँग भेटवार्ता गर्नेछिन्।

काठमाठौं : राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन्।   पदभार लिनुअघि उपाध्यक्ष अर्यालले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।   पदभार गरेलगत्तै उपाध्यक्ष अर्यालले संघीय संसदमा महिला सांसदहरूका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयमा हस्ताक्षर गरेको संघीय सचिवालयले जनाएको छ।   माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य रहेकी अर्याल सोमबार उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन्।

नवलपरासी:  पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको कामले तीव्रता पाएसँगै भेडाबारी सडकखण्डको एक किलोमिटर सडक परीक्षणका रूपमा कालोपत्रे गरिएको छ ।   कालोपत्रे गरिएको सो सडकको नमुना परीक्षणसमेत सफल भएको छ । अब सडक कालोपत्रेको काम अघि बढाइने बुटवल–नारायणगढ सडकखण्डको ठेकेदार कम्पनी चाइना कन्स्ट्रक्सनका इन्जिनियर रोकश झाले बताउनुभयो ।    राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो सडकको काम अहिले पनि तीव्र गतिमा भइरहेको दाबी गरिएको छ भने विभिन्न ठाउँको माटो भर्ने र सम्याउनेलगायतका काम सकिएको छ । ती ठाउँमा पनि तरुन्तै कालोपत्रे गरिनेछ ।    आगामी असार मसान्तसम्म ५० प्रतिशत काम सक्ने लक्ष्यका साथ काम अघि बढेको परियोजनाका इन्जिनियर झाले बताउनुभयो । चिनियाँ ठेकेदार कम्पनीले निकै चासोका साथ बुटवल–नारायणगढ सडकखण्ड निर्माण गरिरहेको बताइएको छ ।    चीनबाट समेत ठेकेदारले एक अर्ब ५४ करोड रकम ल्याएर यो सडक निर्माण कार्यलाई थप तीव्रता दिएको इन्जिनियर झाको भनाइ छ । ४८ महिनाअघि सम्झौता भई निर्माण कार्य अघि बढेको सो आयोजनाको ३० प्रतिशतभन्दा बढी काम सकिएको छ । सडकमा पर्ने रुख कटान, बिजुलीको पोल गाड्ने, राजमार्गमा रहेका ठूला पुल र साना कल्भर्ट निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ ।    कालोपत्रेको काम मात्रै बाँकी रहने र त्यो काम पनि सकिएको विभिन्न ठाउँमा कालोपत्रे गर्ने काम सुरु भइसकेको आयोजनाले जनाएको छ ।    निर्धारित मितिअनुसार ४२ महिनामा सम्पन्न हुन नसकेर पुनः एक वर्ष म्याद थपिए पछि बुटवल–नारायणगढ सडकखण्डको निर्माण कार्यले तीव्रता पाउन थालेको हो । सर्वसाधारणमा अब भने सो सडक निर्माण पूरा हुने आशा पलाएको छ । अहिले ३० प्रतिशत बढी काम सकिएको र छ महिनाअघि सरकारले ३८६ दिनका लागि पुनः म्याद थपेपछि सडक निर्माणले तीव्रता पाएको बुटवल–नारायणगढ सडकखण्डको सरकारी पक्षका प्रमुख इन्जिनियर रमेश दृष्टि बताउनुहुन्छ ।    सो सडकखण्डमा दिनरात निर्माण कार्य भइरहेको छ, ठेकेदार पक्षले धमाधम कामलाई तीव्रता दिइरहेको छ भने अहिले आयोजना सम्पन्न हुनेमा स्थानीयवासीमा समेत आशा पलाएको देवचुलीका राजन अधिकारीले बताउनुभयो ।  सो आयोजनाको गैँडाकोट दाउन्ने पहिलो खण्ड र दाउन्ने बुटवल दोस्रो खण्डका रूपमा स्वीकृत भई झन्डै १६ अर्ब ९९ करोडमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले ४२ महिनाअघि ठेक्का पाएको थियो । ठेक्का सुरु भएको एक हजार २७८ दिन अर्थात् ७ जुलाई २०२२ मा ११३ किलोमिटर बुटवल–नारायणगढ सडक निर्माण सक्ने सम्झौतामा उल्लेख भए पनि सुरुको ४२ महिनामा १८ प्रतिशत काम भएको थियो ।    एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा सुरु भएको यो आयोजना राष्ट्रिय गौरबका आयोजनका रूपमा रहे पनि कामले गति लिन नसक्दा सम्झौता अवधिभन्दा झन्डै दुई वर्ष आयोजना धकेलिने र सन् २०२४ सम्म आयोजना सम्पन्न हुने जनाइएको छ  ।   सो आयोजनाले सडकमा रहेका दुईतर्फी गरेर चार हजार ८३९ विद्युत्को पोल सार्ने काम भइरहेको, एक हजार २५ वटा टेलिफोनको पोल, २०२ सोलार पोलसमेत सार्ने कार्य भइरहेको आयोजनाका सरकारीस्तरका सडक विभागका प्रमुख इन्जिनियर रमेश दृष्टिले बताउनुभयो ।    यो आयोजनामा ४३ वटा ठूला पुल, ३९ वटा साना पुल ४६२ वटा कल्भर्ट पुल निर्माण अन्तिम चरणमा पुुगेको छ भने बजार क्षेत्रमा छ लेन, जङ्गल क्षेत्रमा चार लेन र दाउन्ने क्षेत्रमा तीन लेनको सडक निर्माण भइरहेको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनका इन्जिनियर रोकश झाले बताउनुभयो ।    अहिले यो सडकखण्डमा ६५ जना चिनियाँ र २६५ जना नेपाली प्राविधिकले काम गरिरहेको आयोजनाले जनाएको छ । आयोजनाको सरकारी पक्षको काम हेर्ने सडक डिभिजनल कार्यालय बुटवलले आयोजनाको काम र त्यसको निरूपण गर्ने निकाय ठेकेदार र मन्त्रालय भएकाले सडक डिभिजनले निरीक्षण गरी समयमा सडक निर्माणको काम अगाडि बढेको जनाएको छ ।    

 काठमाडौं:  राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।   उपाध्यक्ष अर्यालले शीलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिएकी हुन् ।   माओवादीबाट राष्ट्रिय सभा सदस्य रहेकी अर्याल सोमबार निर्विरोध रुपमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

भक्तपुर :भक्तपुरको सुर्यबिनायक नगरपालिका -९ पलासेमा दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।    बनेपाबाट भक्तपुरतर्फ आउँदै गरेको लु ८८ प ६२०८ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट जाँदै गरेको प्रदेश २–००१च ०४११ नम्बरको गाडीले  ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बनेपाका  १९ वर्षीय आयुष न्यौपानेको मृत्यु भएको हो ।   दुर्घटनामा घाइते भएका न्यौपानेलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमी लगेको थियो। त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए।   बस र बस चालक वृत्त जगातीको नियन्त्रणमा रहेको प्रहरीले जनाइएको छ ।