झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मध्याह्नसम्म मतदाताको सहभागिता उत्साहपूर्ण नरहेको बताएका छन् । झापाको हल्दिबारी गाउँपालिका(१ को वडा कार्यालयमा मतदान गरेपछि उनले मतदाताको उत्साहपूर्ण सहभागीता नरहेको बताएका हुन् । अध्यक्ष लिङ्देनले भने, ‘१२ बजेसम्म मतदानको माहोल उत्साहपूर्ण छैन । अब बढ्दै जान्छ भन्ने अनुमान हो ।’ उनले नेपाली कांग्रेसका पूर्वमहानमन्त्री कृष्णप्रसाद सिटौलासँग चुनावमा प्रतिस्पर्धा गर्न पाउनु आफ्नो लागि ठूलो कुरा भएकोसमेत बताए । २०७४ को निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा सिटौलालाई हराएका लिङ्देन यसपटक पनि सिटौलासाग प्रतिस्पर्धामा छन् । दलका नेताहरुसँग असन्तुष्ट भएर धेरैजना स्वतन्त्र उम्मेदवार बनेको बताउँदै अध्यक्ष लिङ्देनले यस्तो हुनुको कारणबारे समीक्षा गर्ने बताए ।
गोरखा: नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेका छन् । पालुङटार नगरपालिका.१ खोप्लाङ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । मतदानका लागि आजै गोरखा आएका भट्टराईले बिहान ११ बजेर ५ मिनेटमा मतदान गरेका हुन् ।
हुम्ला: हुम्लाको सर्केगाड गाउँपालिका ३ को देवकोटा आधारभूत विद्यालय केन्द्रमा मतदान पुन:सुरु भएको छ । झडप भएपछि तनावपूर्ण बनेको उक्त केन्द्रमा मतदान सुचारु भएको हो । वारेसनामा विवादका कारण सत्ता गढबन्धनका उम्मेदवार कार्चेन लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताबीच झडप भएको थियो । त्यसक्रममा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेनाका हुद्दा अर्जुन उपरकोटी घाइते भएका थिए । उनीहरुको टाउकोमा चोट लागेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड हवाई फायर गरेको थियो ।
काठमाडौं: निर्वाचन आयोगले दिउँसो १२ः४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ । आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको गरेको जानकारी दिए । यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको उनले बताए । ‘चिसोका कारणले पनि होला विहान कम मत खसेको छ, काठमाडौंमा विहानको समयमा लाइन देखिएको छैन, १०र११ बजेपछि मात्र भिड बढेको छ’ प्रवक्ता पौडेलले भने ।
मनाङ: प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १२:३० बजेसम्म ५१ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२:३० बजेसम्म यहाँ ५१ प्रतिशत मतदान भएको हो । कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल छ हजार सात सय ७९ मतदाता छन् ।
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् । उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् । ओली झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन् । चुनाव प्रचारका लागि झापामा रहेका ओली मतदानका लागि बालकोट आएका हुन् । उनी बालकोटमा नै स्थायी रुपमा बस्दै आएका छन् ।
काठमाडौं: निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ । कतिपय जिल्लामा राजनीतिक दल, उम्मेदवार वा निर्वाचन बहिस्कार गर्ने पक्षका कारण मतदान स्थगित भइरहेको छ । तर आयोगले स्थगित भएको मतदान कार्य तत्काल सुरु गर्न र साँझ ५ गतेसम्म स्थगित भएको सूचना नटाँस्न निर्देशन दिएको आयोगले बताएको छ । आयोगले फेसबुकमा लेखेको छ, ‘‘साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । स्थगित गर्नैपर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनुपर्नेछ ।’
तनहुँ: प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँमा ११३ वर्षीया जेष्ठ नागरिकले मतदान गर्नुभएको छ। जिल्लाको भानु नगरपालिका ५ की गोपीमाया पोख्रेलले सोही वडाको सेपाबगैंचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । तनहुँका ३०५ वटै मतदान केन्द्रमा आइतबार बिहानदेखि मतदान सुरु भएको छ । तनहुँमा एक लाख १९ हजार ६५० जना पुरुष र एक लाख २८ हजार ८४५ जना महिला गरी कुल २ लाख ४८ हजार ४९५ मतदाता कायम भएका छन् । तनहुँमा प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चार सिटका लागि निर्वाचनमा गठबन्धन र एमालेसहित ५७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लाभर स्थायी मतदान केन्द्रको सङ्ख्या भने ३०५ छ । जिल्लामा मतदानस्थल १४२ वटा छन् ।
काठमाडौं: अभिनेत्री करिश्मा मानन्धरले महाराजगञ्जस्थित काठमाडौं महानगरपालिका ३ को वडा कार्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी छन् । उनले पति विनोद मानन्धरसँगै गएर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरिन् । मतदानपछि करिश्माले कलाकारले सक्रिय राजनीति गर्न आवश्यक रहेको बताइन् । ‘कलाकार पनि राजनीतिमा आउने लहर आएको छ, यो चुनावमा त्यो संकेत देखिएको छ । रेखा थापालगायत अरु उम्मेदवारहरुले यसपालि जित्नुपर्छ,’ उनले भनिन् । नेकपा एमालेमा आबद्ध रहेकी करिश्माले अर्को चुनावमा उम्मेदवार बन्ने इच्छा समेत व्यक्त गरिन् ।

