जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

रुपन्देही:   रुपन्देहीमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि भएको निर्वाचनको मतगणना आजैदेखि सुरु गर्ने तयारी गरिएको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रवक्ता टेकराज पन्थीका अनुसार सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेपछि सर्वपक्षीय बैठक बसेर मतगणना सुरु हुनेछ । “समय तय भएको छैन तर, आजै रातिदेखि मतगणना सुरु हुन्छ”, उहाँले भन्नुभयो । जिल्लामा रहेका पाँच निर्वाचन क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुने उहाँले बताउनुभयो । क्षेत्र नं १ को देवदह नगरपालिकास्थित शीतलनगर देवदह आदर्श बहुमुखी क्याम्पसमा मतगणना हुनेछ । त्यसैगरी क्षेत्र नं २ को बुटवल उपमहानगरपालिका कार्यालय, ३ को भैरहवा उच्च मावि भैरहवामा, ४ को कोटहीमाई गाउँपालिकाको भवनमा र ५ को गैडहवा गाउँपालिकाको भवनमा मतगणना हुने प्रवक्ता पन्थीले बताउनुभयो । आज भएको निर्वाचनमा यस जिल्लामा करिब ६६ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

नवलपुरः   पूर्वी नवलपरासीको देबचुली नगरपालिका–४ मा मतपेटिका जलाएका कारण रद्द गरिएको निर्वाचन भोलि नै हुने भएको छ । मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज स्थगित भएको सो वडामा भोलि बिहान ७ देखि साँझा ५ बजेसम्म मतदान हुने जानकारी दिनुभयो । स्थानीय नारायण भण्डारीले शान्ति सृजना आधारभूत विद्यालय मतदान केन्द्रको समानुपातिक मतपेटिका जलाएपछि त्यहाँ पुनः निर्वाचन हुने भएको हो । त्यहाँका निर्वाचन अधिकृत माधवराज गौतमले निर्वाचन रद्द गरिएको प्रतिवेदन जिल्ला निर्वाचन अधिकृतलाई बुझाइएको जानकारी दिनुभयो । गौतमका अनुसार स्थानीय नारायण भण्डारीले प्रदेश समानुपातिकतर्फको मतपेटिका जलाएका थिए । अन्य तीनवटा मतपेटिकामा मत खसालेपछि भण्डारीले अन्तिम मतपेटिकामा बडिलोसन (शरीरमा दल्ने औषधी) हालेर आगजनी गरेका हुन । नौ सय ८० मतदाता रहेको यस निर्वाचन केन्द्रमा सात सय मत खसेको थियो छ । आगजनी गरेपछि भण्डारी भागेका थिए । उनलाई करिब दुई किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो । 

बाजुरा:  निर्वाचनको क्रममा बाजुरामा गोलीले एक जनाको मृत्यु भएको हो। त्रिवेणी नगरपालिका वडा ७ स्थित कोसेडी भन्ने ठाउँमा गोली लागेर स्थानीय सन्दीप ऐडीको मृत्यु भएको हो। प्रहरीको गोली लागेका २२ वर्षीय ऐडीको घटनास्थलमै मृत्यु भएको वडा नम्बर.७ का वडाध्यक्ष जुद्धबहादुर ऐडीले जानकारी दिए। प्रहरीको गोली लागेर अरू दुई जना पनि घाइते भएका छन्। घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट धनगढी ल्याइँदै छ। 

बाजुरा:  बाजुराको त्रिवेणी नगरपालिका ७ मा गोली चल्दा ३ जना घाइते भएका छन् । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ३ घाइते भएका बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी दिए । उनका अनुसार एक जनाको अवस्था गम्भीर छ भने घाइतेको पहिचान हुन सकेको छैन । घाइतेहरुको नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ ।

काठमाडौं:  प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि मतदानको पूर्वनिर्धारित समय सकिएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । देशका अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । यद्यपि ५ बजेसम्म मतदानस्थल भित्र प्रवेश गरिसकेका मतदाताहरुले केही अबेरसम्म पनि मतदान गर्न पाउने छन् । केही मतदानस्थलमा विवादका कारण रोकिएकाले ती स्थानमा मतदान गराउने प्रयास जारी छ । दोलखा, बाजुरा, सिरहा, नवलपरासी पूर्व लगायतका स्थानमा मतदान रोकिएको छ । ती स्थानमा मतदान सुरु गराउन प्रयास भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतपत्र फरक पर्दा केहीबेर रोकिएको दाङको तुलसीपुरस्थित पातु बनगाउँ मतदान केन्द्रमा बेलुका सात बजेसम्मै मतदानको समय तोकिएको छ । मतदान सम्पन्न भएका स्थानबाट मतपेटिका संकलनको काम जारी छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आजै बेलुकादेखि मतगणना सुरु गर्ने जानकारी दिए । दुर्गम हिमाली क्षेत्रका जिल्लाबाट भने मतपेटिका संकलन गर्न समय लाग्ने भएकाले सोमबारदेखि मात्रै मतदान गर्ने तयारी आयोगले गरेको छ । दुर्गम स्थानका जिल्लाहरुमा हेलिकोप्टरबाट मतपेटिका संकलनको व्यवस्था मिलाइएको छ ।  

स्याङ्जा: राजनीतिक दलका प्रतिनिधिबीच विवाद हुँदा स्थगित भएकोस्याङजाको चापाकोट नगरपालिका–१ आँधीचौधेरास्थित भानु माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा पुनः मतदान सुरु भएको छ । यहाँस्थित एमाले निकट वडा सदस्यले हातपात गरेपछि विवाद हुँदा मतदान स्थगित भएको थियो । कार्यकर्ताबीच विवाद चर्किदै जाँदा प्रहरीले सुरक्षाको लागि हवाइ फायर समेत गरेको जनाएको छ ।   सर्वदलीय बैठक बसेपछि विवाद मिलाएर मतदान सुरु गरिएको प्रहरीले जनाएको छ ।

नवलपुर:  नवलपरासी पूर्वको देवचुली नगरपालिका ४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ । स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो । आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ । उनले मतपेटिकामा बडीलोसन दलेर खसाएको बयान दिएका छन् । आग्जनी गरेपछि भण्डारी भागेका थिए । उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

चितवन:  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । आइतबार विभिन्न मतदान केन्द्रमा मतदाता भेट्न पुगेका उनले चितवनमा घण्टी बजिसकेको टिप्पणी गरे । बेसिक स्कुल कालिका नगरपालिका–२ मा उनले मतदातासामु भने, ‘किला गडिसक्यौं त, कहाँ छोड्छु म अब गर्ने हो, पालो हाम्रै त हो, मैले जित्ने भनेको तपाईहरुले जित्ने हो ।’ आफूले चुनाव जितेपछि पनि चुनाव अगाडि मत माग्न आएजसरी नै घरघरमा आउने लामिछानेले बताए ।

काठमाडौं:  आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ । राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद, मतपत्र प्रयोगमा विवाद लगायतका कारणले मतदान स्थगित भएका छन् ।