आचारसंहिता उल्लंघन  गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन्।   आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो। त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैन...

  महोत्तरी । मुलुकभर तिहारको चहलपहल बढिरहेका बेला महोत्तरीमा भने डेङ्गुको जोखिम बढेको छ । महोत्तरीको बर्दिबास अस्पतालमा मात्रै कात्तिक लागेदेखि २० जना संक्रमित पुष्टि भएका छन् । साउनदेखि कात्तिकको पहिलो सातासम्म बर्दिबास नगरक्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १४० पुगेको नगर जनस्वास्थ्य शाखाका प्रमुख सुरेश पासवानले जानकारी दिनुभयो ।      “साउनमा पहिलो पटक दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो, हालसम्म यो सङ्ख्या १४० पुगेको छ”, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। कृष्णा महर्जनले भन्नुभयो । यो बर्दिबास अस्पतालमा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या मात्रै हो । बर्दिबासमा आधा दर्जनभन्दा बढी निजी अस्पतालले पनि डेङ्गु परीक्षण गर्दै आएका छन् ।      अस्पतालमा मात्रै गत साउनमा २६ जना, भदौमा १२४ जना, असोजमा २३९ जना र कात्तिकको सात गतेसम्म ४९ जनाको जाँच गरिएको थियो । जसमा साउनमा दुई जना, भदौमा २४ जना, असोजमा ९४ जना र जारी कात्तिक७ गतेसम्म २० जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालको भनाइ छ ।     चाडपर्वमा भिडभाड बढ्ने र सरसफाइमा उचित ध्यान नपुग्दा डेङ्गु फैलाउने ‘आडेस’ नामक लामखुट्टेको संख्या बढेकाले सङ्क्रमण फैलिएको अस्पतालको भनाइ छ । बर्दिबास विगत पाँच वर्षयता डेङ्गुको उच्च जोखिममा रहेको क्षेत्र हो ।      पछिल्ला चार वर्ष न्यून संख्यामा मात्र डेङ्गु सङ्क्रमित भेटिए पनि २०७४ मा डेङ्गुको आतङ्क नै फैलिएको थियो । २०७४ को साउनदेखि असोजमध्यसम्म बर्दिबास नगरक्षेत्रमा नै ८४७ जनामा सङ्क्रमण पुष्टि भएको नगर कार्यपालिका कार्यालय बर्दिबासको जनस्वास्थ्य शाखाले जानकारी दिएको छ ।      नगरक्षेत्रमा डेङ्गु सङ्क्रमितको संख्या बढ्दै गएपछि बर्दिबास नगरपालिकाले सरसफाइ अभियान सञ्चालन गरेको छ । नगरभित्रका सबै १४ वटा वडामा वडाअध्यक्षको संयोजकत्वमा डेङ्गु सार्ने ‘आडेस’ लामखुट्टेका बासस्थान सरसफाई गर्ने, लामखुट्टेका लार्भा नष्ट गर्ने र किटनासक औषधी छर्ने अभियान सञ्चालन गरिएको नगरप्रमुख प्रल्हादकुमार क्षत्रीले बताउनुभयो ।

  काठमाडौं । निर्वाचन आयोगले झुठ फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्देशन दिएको छ।  फेसबुक पेज तथा ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूलाई विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति दिने र भ्रामक सामग्री प्रकाशन गरेको भन्दै उक्त निर्देशन दिएको हो।  झुठ फेसबुक पेज र ग्रुपहरू सिर्जना गरी दलका नेताहरू विरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको देखिन्छ। उल्लेखित कसूर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठ फेसबुक पेज तथा ग्रुपहरू तत्काल हटाई उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ।  उक्त फेसबुक पेज तथा ग्रुपहरू तत्काल नहटाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ।

  काठमाडौं । मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दसैँ मौसमी हिसाबले केही प्रभावित बनेको थियो । असोज १८ गतेदेखि झण्डै डेढसाता निरन्तर देशैभर वर्षा भयो । यतिखेर तिहारको माहोल चलिरहेको छ । तर मनसुन सकिएसँगै मौसमले पनि साथ दिएकाले यो पटकको तिहार निकै उल्लासमय हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तिहारमा मौसम सफा रहने जनाएको हो । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले वर्षा गराउने कुनै मौसमी प्रणाली विकसित नभएकाले यो पटकको तिहारमा मौसम सफा रहने बताउनुभयो । वर्षाका कारण दसैँमा आफन्त मान्यजनकहाँ टीका लगाउन जाने र विभिन्न गन्तव्यमा पुग्नेलाई निकै सास्ती दियो । पाकेको धानबालीमा पनि क्षति पु¥यायो, बाढी, पहिरो र डुबानका घटना पनि भए । त्यतिमात्रै होइन, शरद ऋतुको मुख्य पर्यटकीय सिजन पनि चलिरहेकामा वर्षाले आन्तरिक तथा बाह्य पर्यटनलाई पनि असर पुग्यो । तिहार आउन एक साताअघिदेखिनै देशैभरको मौसम सफा रहेको छ । आज तिहारको तेस्रो दिन गाईपूजा गरी मनाइएको छ । सोमबार साँझ लक्ष्मीपूजा गरी धुमधामका साथ मनाइयो । महाशाखाको पछिल्लो विवरणमा अहिले देशका पहाडी भेगमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । वरिष्ठ मौसमविद् पौडेलका अनुसार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा छिटफुट र हल्का वर्षा हुने सम्भावना छ तर, सानो–सानो बादलको टुक्रा रहेकाले ठूलो प्रणाली देखिँदैन । “मनसुन पनि बाहिरियो, पश्चिमबाट पानी पार्ने प्रणाली आउनुपर्छ त्यो सम्भावना देखिँदैन स्थानीय वायु पनि सक्रिय छैन । त्यसैले तिहारमा मौसम सफा रहने देखिन्छ । चिसो क्रमिकरूपमा बढ्दैछ, बिहान–बेलुका बढी चिसो हुन्छ”, मौसमविद् पौडेलले भन्नुभयो ।

  पर्वत । कुनै समय सदरमुकाम कुश्मा बजारमा फराकिलो खेलमैदान थियो । हरेक हप्ता  विभिन्न खेलकुद प्रतियोगिता भइरहन्थे । सदरमुकाम कुश्माका युवा साँझबिहान खेल मैदानमा भेटिन्थे । उनीहरुको खेलकुदमा बेग्लै उत्साह र लगाव पनि थियो ।  तर माओवादी द्वन्द्वकालमा कुश्माको बडगाउँ खेलकुद मैदानको जिम्मा सशस्त्र प्रहरीले लियो । खेलमा भविष्य खोज्दै गरेका युवा खेल खेल्नबाट बञ्चित भए । खेलमैदान नहुँदा लामो समयसम्म यस क्षेत्रमा खेलकुदका गतिविधि ठप्प रहे । आज पनि सदरमुकाम कुश्मामा राम्रो खेल मैदान बन्न सकेको छैन ।  विसं २०५८ मा बडगाउँ खेलमैदानमा सशस्त्र प्रहरी बसेपछि पर्वतको खेलले गति लिन छाडेको खेलप्रेमीहरुको गुनासो छ । “मापदण्ड अनुसारको खेलमैदान नहुँदा एन्फाले दिने सेवा तथा सुविधाबाट फुटबल खेल र खेलाडी बञ्चित भएका छन्”, पूर्व फुटबल खेलाडी राजन गुरुङले भन्नुभयो, “पहिले हप्तैपिच्छे प्रतियोगिता भइरहन्थ्यो । तर अहिले त्यो हुन छाडेको छ ।” गुरुङसँग क्षेत्रीय तथा राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी भएका अनुभव छ । “२०५४ तिर बडगाउँ चौरमा पहिलो पटक अन्तर्राष्ट्रिय कराते प्रतियोगिता भएको थियो, मैले गोल्डमेडल जितेको थिएँ”, ४५ वर्षे खेलाडी नरेश श्रेष्ठले भन्नुभयो, “अन्य जिल्लामा पनि पर्वतका खेलाडीको सम्मान थियो तर खेलमैदानको अभावमा खेलाडी उत्पादन हुन सकेका छैनन ।”    विगतमा बडगाउँ खेल मैदानमा फुटबल, भलिबल, ह्याण्डबल, टेबलटेनिस, तेक्वान्दो, कराते, हाइजम्प, लङजम्प, दौडलगायत खेल नियमित भइरहन्थे ।  तर लामो समयपछि पर्वतमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको राष्ट्रिय कराते खेल सञ्चालन भएको थियो । यसले यहाँका खेलाडी, दर्शक तथा खेलप्रेमीमा नयाँ उत्साह थपेको छ । “द्वन्द्वकालीन अवस्था र खेलमैदानको अभावले गर्दा पर्वत खेलकुदमा लामो समयसम्म पछाडि रह्यो, यसबीचमा पर्वतले राष्ट्रिय स्तरका खेलाडी जन्माउन सकेन”, कराते प्रशिक्षक तथा कराते महासङ्घ पर्वतका संयोजक राम श्रेष्ठले भन्नुभयो ।  तर नवौँ राष्ट्रिय खेलकुदबाट पर्वतले पनि राष्ट्रिय खेल सम्पन्न गर्न सक्दोरहेछ भन्ने प्रमाणित भएको उहाँको भनाइ छ । धेरै वर्षपछि खेलाडी, अभिभावक र खेलप्रेमीमा हौसला र उत्साह जागेको उहाँको भनाइ छ ।  “राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु सहज थिएन । आवश्यक पूर्वधार बिना पनि छोटो समयमा बन्दोबस्त गर्न सफल भयौं”, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङले भन्नुभयो ।  पूर्वधार निर्माणका लागि भनेर राष्ट्रिय खेलकुदबाट कुनै पनि रकम उपलब्ध नभएको उहाँको भनाइ छ । उहाँका अनुसार रु पाँच लाखभन्दा बढी रकम जिल्ला खेलकुद विकास समिति आफैले ऋण खोजेर खर्च गरेको छ ।  कुश्मामा सम्पन्न राष्ट्रिय कराते खेलले समग्र पर्वतको पहिचानलाई देशभर चिनाउन भूमिका खेलेको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले बताउनुभयो । “हामीले पूर्वाधार निर्माणका लागि रु दश लाख उपलब्ध गराएका थियौँ”, उहाँले भन्नुभयो, “खेलकुदको विकासका लागि भोलिका दिनमा पनि सहयोग गर्न कुनै कन्जुस्याइ हुँदैन ।”

काठमाडौं । चारैतिर शरद्ऋतुको उल्लासमय वातावरण छ । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैंँ सिँगारिदिएका छन् । बिजुलीबत्तीको झिलिमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर, प्रकृतिसँंग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ ।  युवा पुस्ता आयातित संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएका संस्कृतिविद् बताउँछन् । नेपालीका लागि दसैँंपछिको दोस्रो ठूलो चाड तिहार पशुपंक्षी, प्रकृति र पुरुष (भाइ) पूजा गरिने चाड हो । हिन्दू संस्कृतिका अध्येता पं भीमनाथ पराजुलीका अनुसार तिहार प्रकृति, पुरुष र ऐश्वर्य (लक्ष्मी)लाई खुसी बनाउने चाड हो तर, पछिल्लो समय यो चाडमा विकृति भित्रिएकाले यसको सांस्कृतिक पहिचान  ओझेलमा पर्दै जान थालेको छ । “अरु बेला वास्ता नगरिने पशुपंक्षीलाई पनि तिहारमा पूजा गरिन्छ,” पराजुलीले भन्नुभयो,“यसले सबै प्राणीबीच सम–दृष्टिकोण राख्नुपर्दछ भन्ने सन्देश दिन्छ । काग, कुकुर, गाई, गोरु, लक्ष्मी र भाइ (दाजुभाइ) लाई तिहारमा पूजा गरेर सुख, शान्ति र ऐश्वर्यको कामना गरिने यो पर्व अहिले केवल औपचारिकतामा सीमित भएको छ ।” माटाको दियो र अमिलाको पातमा बत्ती बालेर फाल्ने चलन अहिले हराएको छ । घरको मूलढोका, सहायक ढोका, आँगनको डिल, तुलसीको मठ, धनसार, गोठ, जुठेल्नो जतातलै बत्ती बालेर जिम फाल्ने चलन थियो तर, अहिले  जतातलै बिजुली बत्ती बालेर उज्यालो बनाइन्छ । बेनी नगरपालिका–२ बगरफाँटका ८७ वर्षीय वेदप्रसाद शर्मा भन्नुहुन्छ,“यसबाट मनोरञ्जन त प्राप्त हुन्छ तर, जिम फाल्ने विधान र तिहारको मौलिकता हुँदैन ।” आजभोलि माटोको पाला पूजाकोठामा सीमित छ । माटोको दियोपछि मैनबत्ती र मैनबत्तीलाई उछिन्दै बिजुली बत्तीमा अहिलेको तिहार भुलेको छ । हराउँदैछ तेलको धार यमराजलाई बाटो छेक्न विशाल नदीको प्रतीकका रुपमा घरको मूल ढोकामा हालिने तेलको धारले प्रतीकात्मक अर्थ दिन्थ्यो ।  दाजुभाइलाई यमराजबाट सुरक्षित राख्न दिदीबहिनीले मूलढोकामा तेलको धार हालेर बाटो छेक्ने प्रचलन पछिल्लो समय हराउँदै गएको शर्माले बताउनुभयो । “ओखर फोरिन्थ्यो, तेलको धार हालिन्थ्यो, देउसी भैलो खेलिन्थ्यो, साथीभाइ एकै ठाउँमा भएर जुवातास खेली रमाइलो गरिन्थ्यो”, शर्माले भन्नुभयो,“अब ती सबै कुरा हराइसके । तिहार केवल औपचारिकतामा सीमित हुन थालिसकेको छ ।” भाइमसला बजारको  सूचना र प्रविधिले विश्वलाई नै साघुरो बनाइदिए पनि अपनत्व र सौहार्दतालाई भने निकै टाढा पुर्याइदिएको छ । मोबाइल र इन्टरनेटको बढ्दो प्रभाव र प्रयोगका कारण मानिस यति व्यस्त भएका छन् कि उनीहरुलाई आफ्नो नजिकैको मान्छेले के गर्दै छ र के भन्दै छ भन्ने कुराको समेत पत्तो हुँदैन । युवा पुस्ताका दिदीबहिनी पनि सूचना प्रविधिको यो प्रभावबाट मुक्त हुने कुरै भएन । सूचना प्रविधि र सामाजिक सञ्जालको प्रभावका कारण दिदीबहिनी पनि बेफुर्सदिला हुने गरेका छन् भने झण्झटिला कामप्रति उनीहरुको रुचि घट्दै गएको छ । फूल खोज्ने, माला गाँस्ने, भाइमसला बनाउने, खानाका परिकार तयार गर्ने र समग्रमा तिहारको रौनक बढाउने प्रमुख भूमिका दिदीबहिनीको नै हुने गर्छ । तर, उनीहरु पनि बेफुर्सदिला बनिदिँदा तिहारको मौलिकतामा पनि असर गरेको छ भन्नुहुन्छ अर्मनका खडानन्द सापकोटा । सापकोटाका अनुसार अहिले बजारमा प्याक गरेर राखिएका भाइमसलामै दिदीबहिनीले काम चलाउने गरेका छन् । सापकोटाको भनाइसँग सहमत हुनुहुन्छ अर्मनकै रसिला जैसी पनि ।“पहिला पहिला दिदीबहिनी भेला भएर तिहार सुरु हुनेवित्तिकै भाइमसलाको खोजी गथ्र्यौँं, ओखरदेखि लिएर सम्पूर्ण सामग्रीको जोहो गरेर भाइमसला बनाउँथ्यौँ,” ६३ वर्षीया जैसीले भन्नुभयो“अहिले त कसैलाई कामले फुर्सद छैन, कसैलाई मोबाइलले ।” देउसी, भौलो पैसामुखी तिहारको आकर्षणमध्येको एक मानिएको देउसी भैलो हिजोआज आशिष दिने, मनोरञ्जन लिने र साथीभाइसँग रमाउने माध्यम नभइ पैसा असुल्ने माध्यम बन्दै गएको आरोप लाग्न थालेको छ । केही सामाजिक सङ्घ संस्था र व्यक्तिले मेमोरीमा रेकर्ड गरिएका गीतको सहयोग लिई नृत्य देखाउँदै देउसी भैलोलाई पैसा असुल्ने माध्यम बनाइरहेका स्थानीय व्यापारीले बताएका छन् । हुन पनि हिजोआज गाइने देउसी भैलो र देखाइने नृत्यमा कुनै पनि मौलिकता देखिँदैन । अधिकांश भैली समूहले हिन्दी र नेपाली चलचित्रका गीत एवं एल्बममा राखिएका देउसी भैलो गीतमा नाच्छन् । न उनीहरुले मादल बोकेका हुन्छन् न मुरली र खैजडी नै । ठूलाठुला आवाजमा गीत घन्काउँदै हल्ला गर्दै देउसी भैलो समूह हिँडेका देखिएका छन् ।  बेनीका वयोवृद्ध नैनकुमार श्रेष्ठ भन्नुहुन्छ,“पहिलेका भैली आउँदा स्थानीय लोकबाजा र गीत देख्न सुन्न पाइन्थ्यो तर, आजभोलि आयातित गीत सुन्न पर्दा वाक्क लाग्छ । पहिले आफैं भट्याएर देउसी खेल्दा छुट्टै मज्जा आउथ्यो अनि हेर्नेलाई पनि रमाइलो लाग्थ्यो । आजभोलिका भैली खेल्ने उफ्रिने र कराउने मात्र गर्छन् ।” केही वर्षपछि लोकबाजा र भैलिकै मौलिकता हराउन सक्ने चिन्ता उनी व्यक्त गर्छन् । बेनीका ज्येष्ठ नागरिक डम्मरबहादुर कार्कीका अनुसार पहिला पहिला देउसी भैलो खेल्दा सबैले लोकगित आफैले गाउने, मुरली, मादल, खैजडी, झ्याली, ट्याम्कोलगायतका मौलिक बाजा बजाउने गर्थे  ।“अब ती सबै कुरा एकादेशका कथा भए,” उहाँले भन्नुभयो ।

  काठमाडौं । सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि विहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ ।       सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुल्ला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो ।  न्याय प्रशासन ऐन, २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था रहेको छ । अदालत पूर्णरुपमा भने तिहार र छठपछि मात्र खुल्नेछ ।

  काठमाडौँ । ठीक छ वर्षपहिले अर्थात् २०७३ सालमा हरेक साता विद्युत्भार कटौतीका सूचना सार्वजनिक हुन्थे । तिहार उज्यालोको पर्व । यसको आफ्नै गरिमा र महत्व छ । तर तिहारका अवसरमा समेत नेपालीले मैनबत्तीको भरमा आफ्नो खुसी साट्नु पर्दथ्यो । बिजुली उपलब्ध गराउने जिम्मा लिएको नेपाल विद्युत् प्राधिकरण हरेक साता सूचना प्रकाशित गरेर आनन्दसँग निदाउँथ्यो ।      समय बदलियो, अवस्थामा पनि परिवर्तन आयो । तत्कालीन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को संयुक्त गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले लिएको नीतिका कारण २०७३ सालको लक्षमी पूजाको दिनदेखि काठमाडौँ उपत्यकाबाट विद्युत्भार कटौती अन्त्य भयो । सरकारले जनताका सामु गरेको वाचालाई पूरा गर्यो । त्यो वाचा पूरा गराउन हालका अर्थमन्त्री एवम् तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको पहलकदमी पनि उत्तिकै महत्वपूर्ण थियो । प्राधिकरणको नेतृत्वमा रहेर कार्यकारी निर्देशक कुलमान घिसिङले निर्वाह गर्नुभएको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ ।      नेपालबाट अब विद्युत्भार कटौती इतिहास भएको छ । विद्युत्भार कटौती मात्रै इतिहास भएको छैन, तिहारमा भारतीय बजारबाट खरिद गरेर ल्याइने बिजुली पनि अब आयात हुन बन्द भएको छ । नेपाल र नेपाली क्रमशः ऊर्जामा आत्मनिर्भर बन्दैछन् भन्ने अवस्थामा पुगिएको छ ।      सोमबार देशैभर हर्ष उल्साहका साथ तिहारको महत्वपूर्ण दिन लक्ष्मी पूजा गरिएको छ । लक्ष्मी पूजा बत्ती बाल्ने दिन । लक्ष्मीको आराधना गर्ने दिन । त्यस दिन देशभर कूल एक हजार तीन सय पाँच मेगावाट बराबरको बिजुली खपत भएको प्राधिकरणले जनाएको छ । देशभर बिजुलीको के कति माग छ भन्ने कुराको खास मापन गर्ने दिनका रुपमा यस यस दिनलाई लिइन्छ । आन्तरिक रुपमा क्रमशः बिजुलीको मागमा वृत्ति हुँदै गएको छ । गत वर्षको तिहारमा अधिकतम बिजुली खपत एक हजार दुई सय मेगावाट बराबर थियो । यस आधारमा गत वर्षभन्दा एक सय पाँच मेगावाट थप बिजुली खपत भएको छ, यस वर्ष ।      यस्तै, गत असार २८ गते अधिकतम बिजुली खपत अर्थात् पिक लोड एक हजार सात सय  ४७ मेगावाट रहेको थियो । काठमाडौँ उपत्यकामा तीन सय ४२ मेगावाटको हाराहारीमा अधिकतम माग  देखिएको प्राधिकरणले जनाएको छ । लक्ष्मी पूजाको दिनसमेत प्राधिकरणले तीन सय ८० मेगावाट बिजुली भारत निर्यात गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार सोमबार निजी क्षेत्रका ऊर्जा उद्यमीका आयोजनाबाट प्रणालीमा सात सय ६७ दशमलव पाँच मेगावाट बिजुली प्रणालीमा उपलब्ध भएको थियो ।      यस्तै प्राधिकरणका सहायक कम्पनीका आयोजनाबाट कूल चार सय ८२ दशमलव दुई मेगावाट उपलब्ध भएको थियो । प्राधिकरणका अर्धजलाशयुक्त आयोजनाबाट चार सय ३५ मेगावाट बिजुली प्रणालीमा उपलब्ध भएको थियो । यस आधारमा भारतमा समेत निर्यात गरेको जोड्दा एक हजार छ सय ६८ मेगावाट बिजुली कूल खपत भएको देखिन्छ । लक्ष्मी पूजाको दिनसमेत कूल दुई सय मेगावाट बिजुली खेर गएको छ ।      विसं २०७३ को लक्ष्मी पूजाको दिनदेखि काठमाडौँ उपत्यका र २०७५ साल वैशाख ३१ ग्तेदेखि देशभर नै विद्युत्भार कटौती अन्त्य गरेको प्राधिकरणले पछिल्ला दिनमा गुणस्तरीय बिजुली उपलब्ध गराउने प्रयास गरिरहेको छ । बिजुलीको खपत बढाउने अभियान पनि निरन्तर जारी छ ।      यद्यपि अपेक्षित रुपमा बिजुलीको माग भने बढ्न नसकेको गुनासो पनि उत्तिकै आउने गरेको छ । सोमबार साँझ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोली स्युचाटारस्थित भार प्रेषण केन्द्रबाट लक्ष्मी पूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि खटिएको थियो । विनाअवरोध देशभरि विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ ।     विगतका वर्षहरुमा लक्ष्मी पूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकामा अब आन्तरिक उत्पादनले माग धान्ने मात्र हैन खपत हुन नसकेर बढी हुन थालेको छ । प्राधिकरणले यस वर्ष लक्ष्मी पूजाको पिक डिमान्ड धान्नको लागि कुलेखानी जलाशययुक्त जलविद्युत् केन्द्रसमेत सञ्चालन गरेन । कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।     यस वर्षको लक्ष्मी पूजाको पिक समयमै तीन सय ८० मेगावाट विद्युत् भारत निर्यात गरिएको र दुई सय मेगावाट विद्युत् खपत गर्न नसकिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आइएक्स०को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गरिरहेको छ । “विगतमा लोडसेडिङ हुँदा लक्ष्मी पूजाको दिनको विद्युत् खपतलाई पिक डिमान्ड मानिन्थ्यो भने अहिले त्यो अवस्था छैन, अरू बेला नै पिक डिमान्ड आउने गरेको छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।     तिहारमा उद्योगकलकारखानाहरु र कार्यालयहरु सबै बन्द छन्, फेरि तराइमा गर्मी छैन र काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रमा जाडो पनि सुरु भइनसकेकाले अहिले विद्युत् माग नआउने समयका रुपमा लिइन्छ ।  उहाँले आन्तरिक रुपमा विद्युत् खपत बढाउनु ठूलो चुनौती रहेको बताउनुभयो ।     प्राधिकरणले गत असार २८ गते देशभित्रको पिक डिमान्ड सबैभन्दा बढी रहेको थियो । देशभित्रको विद्युत् खपत र भारततर्फको निर्यातसहित लक्ष्मी पूजाको दिन प्रणालीको पिक डिमान्ड एक हजार छ सय ८५ मेगावाट रेकर्ड गरिएको छ । यस वर्ष सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमान्ड तीन सय ४२ मेगावाट छ । गत वर्ष तीन सय २० मेगावाट थियो ।     प्राधिकरणले पर्याप्त विद्युत् रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तलाई आग्रह गरेको थियो । प्राधिकरणले लक्ष्मी पूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत् गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो । 

पोखरा : तिहारमा देउसी भैलो, शहर होस् या गाउँ, विभिन्न उमेर समूहका देउसी भैलोले चोक र घरका आँगनी खाली छैनन् ।   तिहारको पहिलो दिनदेखि नै पोखराको विभिन्न चोक तथा घरहरुमा दिनानुदिन देउसी भैलो खेल्न आउँछन् । त्यही देउसी भैलोका समूहमा भेटिए पर्वतका ६८ वर्षीय कान्छा गुरुङ ।    पोखराको पृथ्वीचोकमा एक समूह देउसी भैलोको ब्यानरसहित नाचिरहेका थिए । यही मेसोमा उनले मुस्कुराउँदै सुनाए ‘उमेर अनुसार समय पनि परिवर्तन भएछ, मादलको तालमा नाच्ने हामीहरु । रेकर्ड गरेका गीतमा देउसी भैलो खेल्ने अचेलका युवाहरु ।’    कान्छा गुरुङ पोखरा बसाईसराई गरेको ४० वर्ष भयो । देउसी भैलो रिपोर्टिङकाक्रममा भेटिएका उनले अहिलेको देउसी भैलोको भन्दा आफ्नो पालाका देउसी भैलो फरक रहेको बताए ।    ‘हाम्रो पालामा यस्तो साउण्डसिस्टम थिएन’, उनले भने, ‘मादल दम्फु, खैजडीको तालमा देउसी रे, भैलो भन्दै खेल्थ्यौं । अचेल साथीहरु कहाँ होलान् ? बसाईसराईले गाउँमा भैलो खेल्ने मान्छे होला कि नहोला, त्यो दिनको झल्को आँखामा घुम्छन् ।’   उनले देउसी भैलो खेलेवापत आफुहरुलाई दानस्वरुप नगद हुनेले नगद, नहुनेले मकैको झुत्ता दक्षिणास्वरुप पाएको सुनाए  ।   ‘अहिले जस्तो देउसी भैलोमा दानमा नगद नै दिनुपर्छ भन्ने थिएन, हाम्रो पालामा नगद हुनेले नगद दिन्थे नहुनेले मकैको झुत्ता, अहिले जस्तो पैसा सबैको साथ थिएन, जे दिए पनि हामी खुशी हुन्थ्यौं’ कान्छा गुरुङले भने ।   पृथ्वीचोकमा पिपलको रुखको आड लगाएर देउसी भैलो हेरिरहेका उनले दिनभर खेतीपाती र गोठको धन्दा सकाएर मात्र आफुहरु  देउसी भैलो खेलेको अनुुभव सुनाए ।    ‘अहिले जस्तो समय थिएन दिनभर खेतीपाती गथ्थौं, वस्तुभाउलाई २ दिन पुग्ने घाँस काटे मात्र देउसी भैलो खेल्नी समय पाइथ्यो’ उनले भने, ‘समय अनुसार देउसी भैलो खेल्ने समय पनि परिवर्तन भएछ ।’  यता जिल्ला प्रशासन कार्यालय कास्कीले भने सुरक्षाको कारण देखाउँदै बेलुका ९ बजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध गरेको छ ।     

  कैलाली । तिहारमा घर झिलिमिली पारिएका छन् । कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन् । तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन् । दीपावलीको रमझमसँगै सबैतिर देउसीभैलो खेल्न सुरु भएको छ । तिहारका लागि किनमेलसँगै भाइटीकाको तयारी भइरहे पनि जिल्लाका किसान खेती स्याहार्नमा व्यस्त छन् ।      दीपावलीको चौथो दिन लागिसक्दा पनि अधिकांश किसान धान भित्र्याउनमा व्यस्त छन् । तयार भएको धान मौसम प्रतिकूलताका कारण काट्न नपाएका किसान यतिखेर मौसमले साथ दिएकाले धानखेतमै व्यस्त छन् । “दसैँमै धान बाली तयार थियो, मौसमको सूचनाले काट्न पाइएन, त्यसपछि मौसम सफा भएपछि काट्न थाल्यौँ, अहिले पनि मौसमको के भर त्यसैले हामी धान स्याहार्नमै व्यस्त छौँ”, किसान पल्टु चौधरीले भन्नुभयो, “खानका लागि धान, वस्तुभाउका लागि पराल पनि भण्डारण गर्नुप¥यो । अहिले तिहारमा भुलेमा खेतमै धान सकिन्छ ।”      उहाँ भाइटीकाको एक दिन मात्रै रमाइलो गर्नेगरी परिवार काममा जुटेका बताउनुहुन्छ । “चार बिघा खेत काटिसक्यौँ, अहिले धान दाउने ९थ्रेसिङ० गर्ने र धान र पराल भण्डारणको काम चलिरहेको छ”, उहाँले भन्नुभयो, “बढी भएको धान बिक्री गरेर हिउँदे खेतीका लागि आवश्यक मल, बीउको जोहोसमेत गर्न आवश्यक छ ।”     धान तयारी भएका बेला मौसम प्रतिकूलताले दसँैपछि मात्र धान कटानी थालेका किसानहरु अहिले दीपावलीमा धान कटाइसँगै भित्र्याउनमा व्यस्त रहेका छन् । दीपावली लागे पनि किसानलाई खासै नछोएको टीकापुर बनगाउँका किसान मानबहादुर चौधरीले बताउनुभयो । “धान भित्र्याउने कि तिहार मनाउने, अन्न भित्र्याउँदा वर्षभरि खान पाइएला”, उहाँले भन्नुभयो, “अहिले धान नभित्र्याए भोकमरी हुने जोखिम छ । अधिकांशको धानबाली बाढीले सक्यो, बचेका किसानहरु खेतमा छौँ ।”     गत वर्ष धान भित्र्याउने बेला आएको बाढीले किसानको धान बालीमा नोक्सानी गरेको हुनाले यस वर्ष किसानहरु दीपावली पर्व नमानेर खेतमा छन् । वर्षदिनका लागि आवश्यक अन्न भएकाले समयमा धान बाली भित्र्याउन नपाए खाद्यान्नको सङ्कट आउन सक्ने भएकाले दीपावलीमा पनि खेतमा काम गरिरहेको राजकुमारी चौधरीले  बताउनुभयो । “गत वर्ष बाढीले सबै धान बगायो, यस वर्ष पनि केही किसानको बाला छैन, हाम्रो जोगिएको धान स्याहार्न थालेका छौँ, यो मौसमको भर छैन”, उहाँले भन्नुभयो, “धान पनि काट्न ढिला भएकाले खेतमै झर्न थालेको छ ।”     चाडपर्व सबैका लागि रमाइलो र महत्वपूर्ण हुन्छ । वर्षदिनमा आउने पर्व र खेती उस्तै हुन्छ । तर पर्व लागे पनि मुख्य दिनबाहेक अन्य दिनमा खेतमा काम गर्दा केही फरक नपर्ने किसानको भनाइ छ । भाइटीकाको एक दिन दीपावली भव्यरुपमा मनाउने तयारी भइरहेको तर अन्य दिनमा खेतमा काम गर्नुपर्ने भएकाले काम गरिरहेका किसान सीता चौधरीले बताउनुभयो । “बल्लबल्ल बाढीबाट बच्यौँ, धान नस्याहारे के खानु, अब तिहारभन्दा पनि धान स्याहारेमा वर्षभरि पेट भोको रहँदैन”, उहाँले भन्नुभयो, “सबै परिवार, हाम्रा छिमेकीहरु पनि खेतमै छौँ, तिहारमा देउसीभैलो खेल्नेहरु आउँछन् भनी एक÷एकजना घरमा बस्ने अरू सबै खेतमा पस्ने गरेका छौँ ।”  गत असोजको अन्तिम बाढीले यहाँ धानबालीमा क्षति पुगाएको छ । बाढीले टीकापुरमा करिब २० प्रतिशत धानबाली नोक्सान भएको पालिकाले जनाएको छ ।