आचारसंहिता उल्लंघन  गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन्।   आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो। त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैन...

  गण्डकी:  कास्कीको पोखरा महानगरपालिका वडा नं ३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौडाबाट तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ को सेराबेंसी अहिले भने सवारी साधनबाट पाँच/सात मिनेटमा पुग्न सकिन्छ ।      गगनगौँडाबाट सेराबेंसी पुग्न खुदी खोला र गुबे खोला तर्नुपर्ने बाध्यता छ । यिनै दुई खोलामा पुलकै अभावमा राजमार्गबाट नजिक भएर पनि सेराबेंसी विगतमा तनहुँकै दुर्गमस्थल जस्तै बनेको थियो । लामो समयको प्रतिक्षापछि दुवै खोलामा पक्की मोटरेवल पुल बनेसँगै यतिखेर सेराबेंसीका स्थानीय निकै खुसी छन् ।          पुलकै अभावमा विगतमा लामो समयसम्म ओझेलमा परेको सेराबेंसीसहित समग्र थप्रेक क्षेत्रका स्थानीवासीमा पुल बनेसँगै यतिखेर समृद्धि र विकासको आशा जगाएको समाजसेवी एवं हंशबाहिनी मावि एक्लेखेत तनहुँका सहायक प्रधानाध्यापक ठाकुरप्रसाद खनालले बताउनुभयो ।          “गुबे खोला र खुदी खोलामा पुल नबन्दा सेराबेंसी र आसपासको क्षेत्र सम्भावना भएर पनि ओझेलमा परेका थिए”, उहाँले भन्नुभयो, “अहिले भने दुवै खोलामा पुल बनेपछि आवतजावत गर्न निकै सहज भएको छ ।”          पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौँडा र तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नं २ जोड्ने गरी दोभानमा र गुबे खोलामाथि बनेका पुलले यहाँको समृद्धि र विकासको ढोका खोलेको स्थानीय बताउँछन् ।          कृषिजन्य उत्पादनमा अब्बल सेराबेंसी र त्यहाँ हुँदै पुगिने पर्यटकीय स्थान थप्रेकका साथै आसपासका अन्य रमणीय भूभागको समृद्धि र विकासमा पक्की पुलको अभाव मुख्य बाधक बनिरहेको थियो । यस्तो अवस्थामा गण्डकी प्रदेश सरकारको तीन करोड ७५ लाख १२ हजार रुपैयाँ लागतमा पक्की पुल निर्माण सम्पन्न भएको शुक्लागण्डकी नगरपालिका वडा नं १ का वडाध्यक्ष रविचन्द्र पौडेलले जानकारी दिनुभयो ।          त्यस्तै गुवे खोलाको पुल तटबन्धसहित करिब पौने तीन करोडको लागतमा सम्पन्न भएको उहाँले बताउनुभयो । “स्थानीयवासीको लामो समयदेखिको पुलको आशा निष्कर्षमा पुगेको छ”, उहाँले भन्नुभयो, “पुलसँगै अब उक्त मार्गको कालोपत्र गर्ने योजना अघि बढाएका छौँ ।”          उक्त क्षेत्रमा पुल नहुँदा पौडिएर खोला तर्नुपर्ने विवशता २०५२ सालदेखि झोलुङ्गे पुलले अन्त्य गरिदिए पनि पक्की पुलको अभावमा राजमार्गबाट नजिक रहेर पनि सेराबेंसीसहित आसपासको क्षेत्र बत्तिमुनिको अँध्यारो जस्तै बनेको थियो ।           रुपातालबाट बगेर आउने खोला र देउरालीबाट आउने फुस्रे खोला मिसिएर बनेको खुदी खोलामा दुई दशकअघिसम्म झोलुङ्गे पुलसमेत नहुँदा धेरै मानिसले ज्यान गुमाइसकेका छन् । लामो समयपछि २०५२ सालमा स्थानीयवासीको सक्रियतामा झोलुङ्गे पुल निर्माण गरिएको तत्कालीन भोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष एवं नवनिर्मित मोटरेवल पुल निर्माण सहजीकरण समितिका अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।      उक्त समयमा मानिसको ज्यान बचाउन झोलुङ्गे पुल बहुउपयोगी बनेको बताउँदै उहाँले झोलुङ्गे पुलले हिँडेर आवतजावत गर्न केही सहज भए पनि मोटर गुड्ने पुल नहुँदा पृथ्वी राजमार्गको नजिकै रहेर पनि यो क्षेत्र लामो समयसम्म विकासमा पछि परेको बताउनुभयो ।          पक्की पुलको अभावमा सेराबेंसी र आसपासको क्षेत्र धेरै सम्भावना बोकेर पनि पछि परेको बताउँदै उहाँले यसको निर्माण सम्पन्न हुनुले स्थानीयमा आशा जगाएको उल्लेख गर्नुभयो । पुल निर्माणसँगै स्थानीयवासीको आवतजावत एवं कृषिजन्य उत्पादन बजारमा पु¥याउन सहज भएको छ ।     सेराबेंसी, नयाँगाउँ, थप्रेक, स्याम्घा, सिसाघाट, आरुस्वाहारा, तल्लोपोखरी, काठेपीपल, चोयाबिसौँना, राङ्दी, झुप्राङ, देउराली, दगामलगायत ठाउँका स्थानीयवासी पुल निर्माणसँगै लाभान्वित भएका छन् । यसले थप्रेकमा रहेका गलेखाम कोट, थप्रेकको थुम्का जस्ता पर्यटकीयस्थलको विकास एवं प्रवद्र्धन हुने र सेराबेंसीलगायत उर्वर भूभागका उत्पादनले बजार पाउने अपेक्षा गरिएको छ ।          गण्डकी प्रदेशको राजधानी पोखरासँग नजिक रहेर पनि पुलको अभावमा तनहुँको सेराबेंसीलगायत स्थानका वासिन्दाले लामो समयदेखि दुःख कष्ट भोग्दै आएको वास्तविकतामा नवनिर्मित पुल यस क्षेत्रका लागि बरदान सावित हुने शुक्ला गण्डकी –१ का वडाध्यक्ष पौडेलले बताउनुभयो ।          विगतमा पटकपटक पुल निर्माण चुनावी मुद्दा बनेपनि यसलाई निष्कर्षमा पुया{उन पाउँदा निकै खुसी लागेको यसअघि पनि वडाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका पौडेलले बताउनुभयो । “अघिल्लो पटक चुनावी दौरानमा पुल निर्माणको प्रतिबद्धता व्यक्त गरेका थियौँ”, उहाँले भन्नुभयो, “प्रतिबद्धतालाई सबैको साथ र सहयोगमा निष्कर्षमा पु¥याउन पाउँदा खुसी लागेको छ ।”          सहरी क्षेत्रमा बढ्दो बस्ती विकासको क्रमसँगै पुल नहुँदा राजमार्गको नजिकै रहेर पनि विगतमा सेराबेंसीलगायतका स्थान छोडी राजमार्ग आसपासमा बस्न आउने क्रम आगामी दिनमा रोकिने र उक्त क्षेत्रमा बस्ती विकास बढ्ने अपेक्षा गरिएको छ ।          लामेआहालमा निर्माण गर्ने भनिएको बसपार्क बनेका अवस्थामा राजमार्ग क्षेत्रमा सम्भाव्य सवारीसाधनको चापसमेतलाई कम गर्न यहाँ निर्मित पुलबाट रुपाकोट हुँदै पोखरा जोड्न सकिने वैकल्पिक मार्गका रुपमा विकास गर्न सकिने देखिएको छ भने  नजिकैको पुडिटारमा बन्ने भनिएको औद्योगिक क्षेत्रका लागि यसले महत्वपूर्ण अर्थ राख्दछ । पुलकै अभावमा पाँच÷सात मिनेटमा नै आवतजावत गर्न सकिने यस ठाउँमा तनहुँको कोत्रे हुँदै गाडीबाट घण्टाभन्दा बढी समय खर्चिनुपर्ने बाध्यता पनि अन्त्य भएको छ । तनह'Fको कोत्रे हुँदै थप्रेक जोडिने मार्गलाई २०१८ सालका सहिद लालध्वज गुरुङको सम्मानार्थ लालध्वज मार्ग नामकरण गरिएको थियो ।      त्यस्तै तनहुँको सदरमुकाम दमौलीबाट स्याम्घा हुँदै थप्रेक जोडिने मार्गलाई सिन्धु मार्ग नामकरण गरिएको थियो । पछिल्लो समयमा दमौलीबाट थप्रेक र थप्रेक हुँदै कोत्रेसम्म जोडिने भएकाले यो मार्ग दमौलीबाट पोखराका लागि वैकल्पिक मार्ग बन्न सक्ने पनि देखिन्छ । 

  काठमाडौं । कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् । यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताउनुभयो । शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिनुभएको थियो । शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो ।  शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोगमा गरेको आरोपमा दुई वर्ष छ महिना कैद सुनाएको थियो । साथै, पीडितलाई रु १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना अदालतले तोकेको छ । तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ ।

  जोमसोम । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वको मानिएको हो । पछिल्लो समय मुस्ताङ आन्तरिक पर्यटकको समेत प्रमुख गन्तव्य बनिरहेको छ । यहाँ सबैभन्दा बढी सार्क र तेस्रो मुलुकबाट पर्यटक आउने गर्दछन् । पछिल्लो समय आन्तरिक पर्यटकले मुस्ताङमा भीड लाग्ने गरेको छ । खासगरी मुस्ताङ मुक्तिनाथ मन्दिर हिन्दू, बौद्ध दुवै धर्ममा आस्था राख्नेहरूको साझा गन्तव्य बनेको जोमसोमस्थित होटल मुस्ताङ ताजका सञ्चालक योगेश शेरचनले बताउनुभयो । सदरमुकाम जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमान्थाङलगायतका दृश्यले पनि धेरैलाई लोभ्याउने गर्छ । पर्यटकको उल्लेख्य उपस्थितिले स्थानीय अर्थतन्त्रमा फाइदा पुगेको छ । मुस्ताङ नेपालका लागि मात्र नभएर विश्वकै लागि चर्चित बन्न पुगेको छ । विदेशी पर्यटक विशेषतः भिरैभिर पहाडैपहाडको बीचमा साइक्लिङ गर्न रुचाउँछन् ।  पोखरा–बागलुङ राजमार्गलाई मालढुङ्गामा छाडेर बेनी, तातोपानी, रुप्से हुँदै जोमसोम पुगिन्छ । कालीगण्डकी तर्दै पहाड चढ्दै बगर झर्दै जाँदा बाटोमा देखिने हरिया डाँडाका त्यसमाथिबाट बग्ने झरनाको प्रकृतिको मनमोहक सुन्दरताले सहजै मन भुलाउँछ । मुस्ताङ सदरमुकाम जोमसोम हो । यसको पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछ । अन्नपूर्ण हिमशृङ्खलाको उत्तरमा पर्ने भएकले यहाँ एकदमै कम पानी पर्दछ । यसको करिब–करिब बीच भाग भएर कालीगण्डकी नदी बग्दछ । प्रायः बस्ती यही नदीको किनारमा अवस्थित छन् । हरेक वैशाख र साउनमा जिल्लामा चौँरीको आलो रगत खाने पर्व पनि लाग्छ, नजिकका जिल्लाका बासिन्दाको यहाँ भीड लाग्छ । पोखरादेखि २० मिनेटको हवाई यात्रामा मुस्ताङ सदरमुकाम जोमसोम पुगिन्छ । त्यहाँबाट यातायातका साधनमार्फत करिब एक घण्टामा मुक्तिनाथ पुग्न सकिन्छ । पोखराबाट बसबाटै मुक्तिनाथ जाने हो भने १० घण्टाको यात्रा तय गर्नुपर्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मुस्ताङमा पछिल्लो समय भौतिक पूर्वाधार निर्माणले गति लिन थालेपछि मुस्ताङको मुहार थप उज्यालिँदै गएको होटल मुस्ताङ मोनालिसाका सञ्चालक विजय हिराचनले जानकारी दिनुभयो । धवलागिरि, नीलगिरिलगायतका हिमालको काखैमा रहेको मुस्ताङमा सडक कालोपत्र गरिएपछि यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । पक्की सडकले यात्रुलाई सुविधा हुनुका साथै मुस्ताङको सौन्दर्यलाई समेत थप टेवा पु¥याएको स्थानीयले बताएका छन् । जोमसोमबाट कागबेनीसम्मको सडकको रौनक फेरिएको छ । नयाँ–नयाँ डिजाइनका घर बन्ने क्रम बढेको छ भने नदी तथा खोलामा पुल बनिरहेका स्थानीय छेप्तेन गुरुङले बताउनुभयो । कागबेनीमा होटल चलाउँदै आएका गुरुङका अनुसार मुस्ताङमा याक गुम्बा, निलगिरि, धौलागिरिलगायत हिमाल, ताल, कागबेनी, मुक्तिनाथ मन्दिर, गुम्बा, उपल्लो मुस्ताङमा रहेका धुले पहाड, नेपाल र चीनबीचको सिमाना, स्याउबारीलगायत हेर्न पर्यटक आउने गरेका छन् । पछिल्लो समय होटल तथा लजको सङ्ख्या वृद्धि हुने क्रम बढेको छ । स्थानीय तहहरूले आ–आफ्नो पालिकामा विकास गर्ने प्रतिस्पर्धाका कारण मुस्ताङको मुहार फेरिँदै  गएको छ ।  

  महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल त्रितीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ । यसपालि तिथिको घटबढले आज तृतीया र चौथी तिथि दुवैको भोग पर्नाले मिथिलाको लोकपर्व छठ आज सुरु भएको हो । निरामिष (सात्विक) भोजन सुरु गरेर व्रत विधि सुरु हुने परम्परा छ । छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । यसअघिका दुई वर्ष कोराना (कोभिड–१९) सङ्क्रमण सन्त्रासले धक खोलेर पर्व मनाउन नपाइएको सम्झँदै यसपालि भने महाव्याधि नभएपछि पर्व मनाउन सहज भएको बर्तालु बताउँछन् । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । पर्वमा महिला–पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ । पर्व सुरु भएको मानिने आज कार्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको हो । पर्वले घर–घरमा व्यस्तता बढाएको छ । पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित देखिँदा छन् ।   श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउ (घ्यू)मा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो)सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् । आज शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले भोलि कार्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर नुहाएसँगै अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठपर्व सम्पन्न हुने परम्परा छ । मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडी अघिदेखि पानीमा चोबलिएर बर्तालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् । सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिन्छन् । मिथिलामा यसपालि पर्सी आइतबार छठ व्रत (सझुका अरख) र सोमबार बिहान पारन (समापन, भोरका अरख) सम्पन्न गरिनेछ । मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब राष्ट्रिय पर्व नै  बनिसकेको छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठपर्व अब साझा पर्व बन्दै गएको छ । यो पर्व मिथिला संस्कृतिको अभिन्न अङ्गका रूपमा स्थापित भएको छ । त्यसैले यसलाई लोकपर्व भनिएको मैथिल संस्कृतिविद् बताउँछन् ।

  गोरखा । गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार साँझ भाइटीकापछि उहाँको एक्कासी लडेर मृत्यु भएको हो ।  नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पु¥याइएको थियो । अस्पताल पुर्याउनु अघि नै उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ । राना एमालेबाट वडाध्यक्षमा निर्वाचत हुनुभएको थियो ।    वडाध्यक्ष रानाको आज अन्त्येष्टि गरिने सचिव रोकाले जानकारी दिनुभयो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राना गोरखा नगरपालिका–५ बाट बडाध्यक्षमा विजयी हुनुभएको थियो । उहाँ एमाले गोरखा जिल्ला कमिटी सदस्य तथा युवासङ्घको नेपालको केन्द्रीय सचिवालय सदस्यसमेत हुनुहुन्थ्यो ।

  चितवन । चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेङ्गु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवनका छन् । जसमा आठ सय २२ पुरुष र छ सय २९ महिला छन् । चार सय ५४ सङ्क्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । चितवनमा यो अवधिमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ । चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेङ्गु सङ्क्रमित भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ ।  यस्तै खैरहनी नगरपालिकामा एक सय २४, माडीमा २८, रत्ननगरमा एक सय ९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेङ्गु देखिएको केसीले बताउनुभयो । इच्छाकामना गाउँपालिकामा हालसम्म आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । अझै केही समय डेङ्गु सङ्क्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको छ ।

काठमाडौं । आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।  प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भू–भागमा साताको अन्त्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । विभागका अनुसार अधिकांश भू–भागमा अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २५ दशमलव शून्य डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव छ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस छ ।

  ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एउटा घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताउनुभयो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको तामाङले जाकारी दिनुभयो । प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको छ । आगलागीको कारण खुल्न नसकेको वडाध्यक्ष तामाङले बताउनुभयो ।

  कैलाली । कैलालीको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ । छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यानपर्ने बताए । छलफलमा भाग लिँदै सामाजिक अभियन्ता भीमराम चपाईँले पहिला धान बेचेर जग्गा किन्थे, अहिले जग्गा बेचेर धान किनेर खाने गर्नाले समस्या भएको बताउनुभयो । उहाँले टीकापुरमा सुरुको गुरुयोजना, त्यसपछिको आवधिक योजना हराएको गुनासो गर्दै यहाँ हरेक ठाउँमा आर्थिक अनियमितता भइरहेकाले नागरिकले जीवनस्तर वृद्धि गर्न नसकेको बताउनुभयो ।  “जनप्रतिनिधि संयमित हुनुपर्छ, हरेक कार्यमा निगरानी बढाउनुपर्छ”, उहाँ भन्नुहुन्छ, “विकासका सवालमा गुरुयोजनाअनुसार काम गरेमा गुणस्तरीय हुन्छ । यहाँ नागरिकले पनि हरेक काममा सवाल गर्न आवश्यक छ ।” मानिस अल्छी बन्दै गएकाले भएको जग्गाजमिन मासिँदै जान थालेको, अवसरवादी र सुविधाभोगी बन्न थालेका उहाँको भनाइ छ ।  टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशरबहादुर कुँवरले दिगो विकास उत्पादकत्व बढेपछि हुने भएकाले अनी मात्र आर्थिक विकास सम्भव भएको बताउनुभयो । उहाँले कृषि उत्पादन बढाउन जरुरी रहेको उल्लेख गर्दै राज्यले दिने कृषितर्फका सेवामा पनि नक्कली किसान तयार भएकाले समस्या भएको बताउनुभयो ।  “यहाँ सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कृषितर्फ लगानी गरेको छ । कृषितर्फ दिइने अनुदान खान नक्कली किसान बनेका छन्”, उहाँ भन्नुहुन्छ, “वास्तविक किसान मर्कामा परेका छन्, कृषिको लगानी सदुपयोग भएन, सदुपयोग नभए उत्पादन बढ्ने कुरा भएन, अनि कसरी समृद्धि हुन्छ ।” वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख हर्कबहादुर भण्डारीले विकास एकीकृत पाटोबाट सँगसँगै जानुपर्ने तर यहाँ फरक–फरक तरिकाले पटक–पटक संरचना बन्दा पनि स्थानीय सरकार हेरेर बस्ने गरेको आरोप लगाउनुभयो । उहाँले नगरपालिका बलियो हुनुका साथै विकासका कार्यमा कडाइ गर्न आवश्यक रहेको बताउनुभयो ।  “एउटै सडक पटक–पटक खनिन्छ, कहिले खानेपानी, कहिले टेलिकम, कहिले विद्युत्, कहिले कसैले, यसरी पटक–पटक किन बनाउनु ?”, भण्डारी भन्नुहुन्छ, “स्थानीय सरकारले एक खालको मापदण्ड बनाएर सबै संरचना एकैसाथ बनाएको भए विकास दिगो हुन्थ्यो । नागरिकलाई पनि कम सास्ती हुन्थ्यो ।” उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका संयोजक एकिन्द्र तिमिल्सिनाले टीकापुरमा भएको विकासजति यहाँकै स्रोतबाट बनेकाले सन्तोषजनक रहेको बताउनुभयो । उहाँले यहाँ तीन थरिका मानिस रहेका उल्लेख गर्दै गर्न चाहनेलाई सहयोग नभएको बताउनुभयो । “यहाँ बनेका क्याम्पस, विद्यालय, अस्पतालजस्ता संरचना यहाँकै जमिन बेचेर बनेका हुन् । अन्य सहयोग र लगानी भित्रिएको छैन, त्यो हिसाबले सन्तोषजनक छ”, उहाँ भन्नुहुन्छ, “यहाँ गर्न चाहनेसँग आर्थिक श्रोत छैन, भएकाहरूलाई पुगेकाले गर्ने इच्छाशक्ति छैन, यसले समस्या भइरहेको छ ।” महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शोभा शर्मा ज्ञवालीले आफूहरूले सहकारीमार्फत शुद्ध तोरीको तेल पेल्ने मेसिनसमेत सञ्चालनमा ल्याएको बताउनुभयो । “हामीले आफ्नै लगानीबाट उद्योग स्थापना गरेका छौँ, यसरी काम गरिरहेका हामीलाई सरकारले अनुदान, सहयोगजस्ता कार्यमा सघाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “लगानी गरिए हामी रोजगारीको वातावरण सिर्जना गर्न तयार छौँ ।”