आचारसंहिता उल्लंघन  गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन्।   आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो। त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैन...

काठमाडौं : छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ ।   कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।   सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठपर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।   संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।   साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठपर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।   यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । अर्थाभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व  मनाउने गर्छन् ।     व्रतविधि ​ कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।   यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठपूजा समिति गुह्येश्वरीका अनिल सिंहले बताउनुभयो ।   “षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ”, उहाँले भन्नुभयो ।   कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्म अर्थात् छालारोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेकामा विगतका केही वर्ष यो बिदा काटिएकामा गत वर्षदेखि फेरि सरकारले बिदा दिन सुरु गरेको छ ।   छठपर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागरपोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् ।

भक्तपुर : सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा छठपर्व मनाउन भक्तपुरका पोखरी एवं खोला सिङ्गारिएका छन् ।    छठपर्वको तयारीमा भक्तपुरका पोखरी र खोला सिङ्गारिएका हुन् । तराईबाट स्थायी तथा अस्थायीरूपमा भक्तपुरमा बसाइँ सरेर आएकाले भक्तपुरमा छठपर्व मनाउन पोखरी सिङ्गारेको कमलविनायक निवासी आत्मराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले छठपर्वका लागि यहाँका स्थानीय बासिन्दाले सघाउने गरेको बताउनुभयो ।   छठपर्वको अवसरमा आइतबार अस्ताउँदो सूर्य र सोमबार सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवतरूपमा समापन हुने छठपर्वका लागि भक्तपुर र मध्यपुरथिमिका पोखरी तथा मनोहरा खोला सिङ्गारिएका हुन् ।   सूर्यलाई अघ्र्य दिन भक्तपुरको कमलविनायकस्थित कमलपोखरी,  हनुमानघाटका त्रिवेणीको जलाशयको किनार, मध्यपुरथिमिको विष्णु कुण्ड र मनोहरा खोला किनारा सिङ्गारिएका पर्वको तयारीमा जुटेका सप्तरी स्थायी घर भई भक्तपुर व्यापार गरी बस्दै आएका यवती यादवले बताउनुभयो ।    तराईका बासिन्दाले यो पर्व मनाउने भए पनि पहाड एवं भक्तपुरका बासिन्दाले समेत छठपर्वलाई सहयोग गर्दै आएका छन् । छठको रौनकताले यहाँका पोखरी एवं खोला झिलीमिली भएका छन् ।

  तनहुँ । कोभिड–१९ को सङ्क्रमणले देशकै अवस्था प्रभावित हुँदा तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटनमा असर नपुग्ने कुरै भएन । कोभिड–१९ को सङ्क्रमणका कारण बन्दीपुरको पर्यटन व्यवसाय नराम्ररी प्रभावित बन्यो ।      विदेशी त परको कुरा, स्वदेशी पर्यटक पनि बन्दीपुरमा देखिन मुस्किल परे । कोभिड–१९ को सङ्क्रमण घट्दै गएपछि स्वदेशी पर्यटक फाट्टफुट्ट बन्दीपुरमा देखिन थाले । पर्यटन व्यवसायबाटै गुजारा चलाउँदै आएका यहाँका व्यवसायीमा केही राहतको महशुस हुन थाल्यो ।     बन्दीपुरको पर्यटन व्यवसाय पुनःपुरानै अवस्थामा फर्किने प्रयासमा छ । कोभिड–१९ पछि पहिलो पटक बन्दीपुरमा विदेशी तथा पर्यटकको चाप बढेको छ । तिहारको लामो बिदाका कारण बन्दीपुरमा कोभिडपछि पहिलो पटक पर्यटकको चाप बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधान बताउनुहुन्छ ।      “बन्दीपुरमा विदेशी पर्यटक देख्न मुस्किल भइसकेको थियो, शुक्रबार मात्रै एक सय विदेशी पर्यटक बन्दीपुर आइपुगेका छन्”, प्रधानले भन्नुभयो, “स्वदेशी पर्यटकको आगमन पनि उल्लेख्य छ ।” विदेशी पर्यटकको सहभागितामा आज बन्दीपुरमा दौड प्रतियोगिता आयोजना हुँदैछ ।     प्रधानका अनुसार शुक्रबार र शनिबार गरी बन्दीपुरमा पाँच हजारभन्दा बढी स्वदेशी पर्यटक आएका छन् । “तिहार र छठका कारण लामो बिदा परेकाले स्वदेशी पर्यटकमा घुम्ने संस्कृतिको विकास भएको छ”, उहाँले भन्नुभयो, “दसैँ बिदामा पनि स्वदेशी पर्यटकको बन्दीपुरमा आगमन भएको थियो ।”     जाडो मौसम सुरु भएसँगै बन्दीपुरमा पर्यटकको चहलपहल बढ्नेमा व्यवसायी आशावादी छन् । होटल व्यवसायी बसन्त पौडेलले अब बन्दीपुरमा पर्यटकको आगमन बढ्ने बताउनुभयो । यो मौसम विदेशीको घुम्ने समय भएकाले बन्दीपुर आउनेक्रम बढ्नेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।      बन्दीपुर आउने विदेशी पर्यटकमध्ये फ्रान्स, बेलायतका बढी छन् । चिनियाँ पर्यटक भने बन्दीपुरमा ठप्प छ । “पहिलापहिला बन्दीपुरमा सबैभन्दा बढी पर्यटक चिनियाँ हुन्थे, तर अहिले चिनियाँ पर्यटक ठप्प छन्, युरोपेली मुलुकका पर्यटक आउँछन्”, पौडेलले भन्नुभयो ।     “नेपाल आएका पर्यटक पोखरा, सौराहालगायतका ठाउँसम्म घुम्न निस्किने र त्यही बेला बन्दीपुर भ्रमणका लागि आउने गरेका छन्,” उहाँले भन्नुभयो, “यहाँको रीतिरिवाज, रहनसहन देखेर उनीहरु मख्ख पर्छन् ।”     सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रु, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।      भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । 

    ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संविधानको रक्षा र मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न आसन्न निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धन बनाइएको बताउनुभएको छ ।  ललितपुरमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आज उहाँले संविधानमा भएका कमी–कमजोरी सच्याउन परिमार्जनको आवश्यकता रहेको र आवश्यकताका आधारमा संविधानलाई परिमार्जन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । “राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्छौँ, तर संविधानको जग उखेल्न दिँदैनौँ”, प्रवक्ता महतले भन्नुभयो । उहाँले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन नेता–कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो । “ठूलो मेहेनतले बनाएको संविधानलाई ध्वस्त गर्ने चक्करमा नेकपा (एमाले) लागेको थियो, हामीले त्यसलाई रोक्यौँ, अहिले संविधानका विरुद्ध अनेकौँ प्रवृत्ति देखापरेका छन्”, उहाँले भन्नुभयो, “संविधानको उपलब्धिलाई खत्तम पार्न केही पक्ष लागिपरेका छन् । संविधानको रक्षा गर्न जरुरी छ ।” कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न गठबन्धन बनाइएको उल्लेख गर्दै प्रतिनिधिसभा र प्रदेशसभाका साझा उम्मेदवारलाई विजयी गराउन सबैको भूमिका आवश्यक रहेको बताउनुभयो । ललितपुर क्षेत्र नं ३ प्रदेशसभाका उम्मेदवार द्वय राजकाजी महर्जन र जितेन्द्रकुमार श्रेष्ठले राजनीतिक स्थायित्व र आर्थिक सामाजिक रुपान्तरणका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

  काठमाडौं । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा खाद्यान्न उत्पादकत्वमा वृद्धि गरी तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने लक्ष्यसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ ।           नेपालको कूल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय योगदान गर्ने कृषि क्षेत्रको प्रवद्र्धन गर्ने नीतिअनुरुप कांग्रेसले नगदेबाली र जडीबुटीको निर्यात दोब्बर बनाई खाद्य असुरक्षा सूचकाङ्कमा प्रगति गर्ने योजना अघि बढाएको छ ।           कांग्रेसले आगामी पाँच वर्षमा कृषिको थप आधुनिकीकरण तथा व्यवसायीकरण गर्दै प्रत्येक स्थानीय तहमा कृषि भूमिको क्लस्टर बनाइ खाद्य तत्वको परीक्षण र माटोको गुणस्तरको चित्र बनाएर उत्पादन योजना तयार गर्ने लक्ष्य लिएको छ ।      त्यस्तै नगदेबाली र जडीबुटीको निर्यात दोब्बर बनाई खाद्यान्न असुरक्षाका सूचकाङ्कमा प्रगति हासिल गर्ने नीति लिइएको छ । बढी उत्पादन दिने बाली तथा पशुपक्षीको विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानलाई प्राथमिकता दिइनेछ । उन्नत जातका बीउबिजनको उपलब्धतालाई सहज र सुलभ बनाउने व्यवस्था मिलाइनेछ । ठूला सिँचाइ प्रणालीको वैज्ञानिक व्यवस्थापन र साना तथा सौर्य सिँचाइको प्रयोग बढाइने सङ्कल्पपत्रमा भनिएको छ । 

  काठमाडौं । नेपाली कांग्रेसले प्रविधिको प्रयोगमार्फत विद्यार्थीलाई शिक्षण सेवा प्रदान गर्न आगामी पाँच वर्षमा देशभरका ८० प्रतिशत विद्यालयमा इन्टरनेट सेवा पुर्याउने सङ्कल्प गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आज सार्वजनिक गरेको पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र)मा गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि देशभरका ८० प्रतिशत विद्यालयमा इन्टरनेट सेवा पुर्याउने लक्ष्य लिएको हो । कांग्रेसले १५ देखि २४ वर्ष उमेर समूहका महिलाको साक्षरता दर ९२ प्रतिशत रहेकामा आगामी पाँच वर्षमा उक्त साक्षरता दर ९५ प्रतिशत पुर्याउने, कक्षा ११ मा भर्ना हुने दर कम्तीमा ५० प्रतिशत पुर्याउने, माध्यमिक तहको परीक्षा प्रणालीलाई एकीकृत बनाइने र शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै सङ्घीय शिक्षा ऐनमा उचित व्यवस्था गर्ने जनाएको छ । विद्यालय शिक्षाको संरचनालाई बालबालिकाको मनोविज्ञानको आधारमा परिवर्तन गर्न बालकक्षादेखि तीन कक्षासम्म पूर्वआधारभूत तहलाई पहिलो प्राथमिकतामा राखी कक्षा ४ देखि ८ सम्म आधारभूत तह र कक्षा ९ देखि १२ सम्म माध्यमिक तहको बनाइने तथा संविधानको मर्मअनुसार गुणस्तरीय शिक्षामा सबैको पहुँच पुर्याउने साथै प्राविधिक शिक्षालाई विशेष जोड दिने घोषणापत्रमा उल्लेख छ । यसैगरी आगामी पाँच वर्षमा कक्षा १२ सम्म अध्ययपन गराउने विद्यालयबाट आवश्यकताको आधारमा क्षेत्रगत सन्तुलन मिलाइ देशभर कम्तीमा एक तिहाइ विद्यालयमा प्राविधिक र व्यावसायिक धारमा परिणत गरिने र विश्वविद्यालयका प्रतिभाशाली स्नातकलाई विद्यालय शिक्षकमा आकर्षित गर्न विशेष प्याकेजको व्यवस्था गर्ने कांग्रेसले जनाएको छ । सीमान्तकृत, हलिया र मुक्तकमैया समुदाय अपाङ्गता एवं अशक्त र अभिभावकविहीन बालबालिका पहिचान गरी आवासीय सुविधासहित माध्यमिक तहसम्मको निःशुल्क शिक्षाको व्यवस्था गरिने, कानुनबमोजिम विद्यालय वर्गीकरणको आधारमा निजी विद्यालयले दिने शैक्षिक सेवा र लिने शुल्कलाई समन्यायिक बनाई अनुगमन गरिने घोषणापत्रमा उल्लेख छ । उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई सहुलियत ब्याजमा शैक्षिक ऋण उपलब्ध गराउने, सातवटै प्रदेशमा चिकित्सा शास्त्र सङ्कायका विभिन्न विद्याको पढाइ हुने गरी शिक्षण अस्पतालको स्थापना गरिने, नेपालका विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विदेशी विद्यार्थी भर्ना गर्न प्रेरित गरिने, संस्कृत विश्वविद्यालयमा पूर्वीय दर्शनको अध्ययन अनुसन्धान तथा अन्वेषणका लागि विशेष व्यवस्था गरिने कांग्रेसले जनाएको छ । विश्वविद्यालय अनुदान आयोगलाई स्रोतसाधन सम्पन्न, जिम्मेवार र जवाफदेही बनाउने, चिकित्सा शिक्षा आयोगलाई थप व्यवस्थित र प्रभावकारी बनाउने, प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था हटाउन तथा विश्वविद्यालयलाई स्वायत्त प्राज्ञिक संस्थाको रुपमा सुस्थापित गर्न आवश्यक कानुनी व्यवस्था गर्ने बताइएको छ । सङ्घीयताअनुरुपको राष्ट्रिय शिक्षा नीति तर्जुमा गरी कार्यान्वयन गरिने, सामुदायिक क्याम्पसलाई व्यवस्थापन गर्नका लागि आवश्यक नीति ल्याइने, ‘एक विद्यालय, एक दलित शिक्षक’ अवधारणा कार्यान्वयन गरिने, सङ्घीय शिक्षा ऐन एक वर्षभित्र ल्याउने कांग्रेसले जनाएको छ । 

  काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभाको पाँच वर्षको कार्यकाल पूरा गरी राजनीतिक स्थायित्व कायम गर्न पूर्ण प्रतिबद्ध रहेको जनाएको छ ।  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी सङ्कल्प पत्रमा दुई–दुई पटकसम्म विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापित भई पाँच वर्षको कार्यकाल पूरा गरेको घटनाको स्मरण गरिएको छ । कांग्रेसले आफ्नो ऐतिहासिक भूमिका र सङ्घर्षको कारणले नै प्रतिनिधिसभा पुनःस्थापना भएको दाबी गरेको छ ।   संविधानको रक्षाका लागि नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन बनाएको स्पष्ट पार्दै सर्वोच्च अदालतको फैसलाले संविधान, संवैधानिक सर्वोच्चता र संविधानवादको रक्षा गरेको घोषणापत्रमा उल्लेख छ । कांग्रेसले लोकतन्त्र र संविधानको रक्षार्थ तथा राजनीतिक स्थिरताका लागि निर्वाचनमा गठबन्धन गर्नुपरेको जनाएको छ ।   विगत पाँच वर्षदेखिको निरन्तर बहसका कारण नेपाली समाज नै तीव्ररुपमा ध्रुवीकृत भएको तथा तत्कालीन नेकपा सरकारले संसद्मा पेश गरेको तर निकास पाउन नसकेको अमेरिकी विकास परियोजना ९एमसिसी० सरकार र प्रतिपक्षमा रहेका अधिकांश राजनीतिक दलको सहमतिमा संसद्बाट पारित गरिएको घोषणापत्रमा उल्लेख छ । कांग्रेसले चीन सरकारसँग हस्ताक्षर भएको बीआरआइअन्तर्गतका परियोजना राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा लागू गर्न प्रतिबद्ध रहेको जनाएको छ ।   नागरिकता कसैले कसैलाई दिने वा लिनेभन्दा पनि नागरिकको शाश्वत अधिकार रहेको उल्लेख गर्दै कांग्रेसले पछिल्लो समय राजनीतिक आग्रह–पूर्वाग्रहका कारण जटिल बन्न पुगेको यो विषयलाई आगामी संसद्मा संविधानको प्रावधानअनुसार अधिकतम सहमति कायम गरी निरुपण गर्न दृढ र प्रस्ट रहेको जनाएको छ ।

  काठमाडौं । नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र वार्षिक २० लाख विदेशी पर्यटक पुर्याउने महत्वकाङ्क्षी लक्ष्यसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ । दिगो र समावेशी विकासका लागि पर्यटन भन्ने सोचसहित कांग्रेसले पाँच वर्षमा वार्षिक विदेशी पर्यटक आगमन सङ्ख्या १२ लाखबाट २० लाख पु¥याउने लक्ष्य लिएको हो । नेपालमा सन् २०१८ र २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएको सरकारी तथ्याङ्क छ । कोभिड–१९ महामारीका कारण विदेशी पर्यटक आगमनदर खुम्चियो । महामारीले सबैभन्दा बढी प्रभावित बनाएको यस क्षेत्रलाई पुरानै लयमा फर्काउने लक्ष्यसहित कांग्रेसले सङ्कल्पपत्र ल्याएको छ । नेपाल पर्यटन बोर्डको पछिल्लो विवरणमा आठ महिनामा  हवाई मार्ग भएर कूल तीन लाख २६ हजार ६७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।       कांग्रेसले महामारीका कारण मुलुकको पर्यटन क्षेत्रको खस्किएको मनोबल उकास्न पाँच वर्षे रणनीति बनाइने रणनीति अघि सारेको छ । कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान पाँच प्रतिशत पु¥याउने भनिएको छ । मुलुकको पर्यटन क्षेत्रको पुनरोत्थानका लागि सरकारले सन् २०२३ देखि २०३२ सम्मको अवधिलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने घोषणा गरिसकेको छ ।       नेपालमा हाल पर्यटकको औसत बसाई १३ दिन छ । पर्यटकको बसाई लम्ब्याएर खर्च बढाउने कांग्रेसले नीति लिएको छ । पर्यटकको बसाई अवधि १५ दिन पुर्याउने र प्रतिपर्यटक खर्च दैनिक ४८ डलरबाट १०० डलर पुर्याउने लक्ष्य लिइएको छ ।       कांग्रेसले प्राकृतिक विशिष्टता, सांस्कृतिक वैभवता, रुपान्तरणयोग्य आध्यात्मिकता, भू–बनोटीय सुन्दरता र रणनीतिक भौगोलिक अवस्थितिले गर्दा पर्यटनमा प्रचुर सम्भावना रहेकाले यसलाई दिगो आर्थिक विकासको एउटा आधार हो भनेको छ । नेपाललाई प्रकृतिमा आधारित पर्यटन र साहसिक पर्यटनको लागि अन्तर्राष्ट्रिय गन्तव्य वनाउन आवश्यक कार्य गरिनुका साथै निजी क्षेत्रसँगको सहकार्यमा होटल पूर्वाधार र जनशक्तिको विकास एवं गन्तव्यको प्रवद्र्धन गरिने सङ्कल्पपत्रमा भनिएको छ ।      पश्चिमी राष्ट्रहरू र मध्यम वर्गीय जनघनत्व भएका उदीयमान एशियाली राष्ट्रबाट पर्यटक भित्र्याउन व्यापक बजारीकरण गरिने छ भने हवाई यातायातको एकाधिकारलाई कम गर्दै प्रतिस्पर्धालाई प्रोत्साहित गर्ने नीति कांग्रेसले सङ्कल्पपत्रमा उल्लेख गरेको छ । स्थापित तथा उदीयमान गन्तव्यसम्मको सहज र सुलभ पहुँचका लागि पूर्वाधार विस्तार र स्तरोन्नति गरिने छ भने पर्यटकको धेरै चहलपहल हुने स्थान सुरक्षित र डिजिटल नक्सामा देखिने बनाइने छ ।   त्यसैगरी सरकारी र सार्वजनिक नयाँ पूर्वाधारको निर्माण गर्दा स्थानीय पहिचान झल्किने र पर्यटकका लागि आकर्षण बन्न सक्ने परम्परागत संस्कृतिलाई कलात्मकरुपमा सौन्र्दयकरण गरिने छ । वातावरणमैत्री व्यवसायका रुपमा पर्यटन प्रवद्र्धन गर्दै दिगो विकासको पदमार्गमा अघि बढ्न सामुदायिक वनको विस्तार र पुरातात्विक सम्पदास्थलको संरक्षण गरिने जनाइएको छ ।      पर्वतारोहण, पदयात्रा, जलयात्रा, जङ्गल सफारीजस्ता साहसिक गतिविधिमा पथ प्रदर्शक तथा भरियाका रुपमा काम गर्ने जनशक्तिका लागि दुर्घटना बिमा गरिने छ । विभिन्न स्थानमा रहेका तर प्रयोगमा नआएका विमानस्थल तथा अन्य खाली रहेका सार्वजनिक जग्गा पर्यटकीय गतिविधि विकासका लागि निजी क्षेत्रसँगको सहकार्यमा उपयोग गरिने नीति लिएको छ । नेपालको हवाई सेवालाई थप सुरक्षित र विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दै नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षासम्बन्धी सेफ्टी लिस्टबाट हटाउन पहल गर्ने प्रतिबद्धता जनाइएको छ ।

  काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ ।       पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि एक करोड १८ लाख प्रतिनिधिसभातर्फ ९८ हजार र प्रदेशसभातर्फ एक करोड १७ लाख ८२ हजार ५०० मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ ।       आयोगका अनुसार छपाइ भएका मतपत्रमध्ये कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुनेछ ।      प्रतिनिधिसभाका लागि एक सय ६५ र प्रदेशसभाका लागि तीन सय ३० निर्वाचन क्षेत्र छन् । उक्त निर्वाचन आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा हुँदैछ  ।     आगामी निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम छन् । आगामी निर्वाचनबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ एक सय १० र प्रदेशसभाको समानुपातिकतर्फ दुई सय २० सदस्य निर्वाचित हुनेछन् ।