पाल्पा : दुई दशकको समय धानखेतीमा बिताउनुभएका ज्यामबहादुर राना अहिले भने धानबालीबाट सन्तुष्ट हुनुहुन्न । रामपुर नगरपालिका कृषि शाखामा माग गरेबमोजिम १८ किलो सावित्री जातको धान करिब चार रोपनी जग्गामा लगाउनुभएका उहाँ सबै धानमा रोग लागेपछि चिन्तित हुनुहुन्छ । घर अगाडिको खेतमा लगाएको धानबाली बोटमै सुकेर नोक्सान हुँदा रामपुर नगरपालिका–५ स्थित भम्बक निवासी राना वर्षभरि के खाने भन्ने चिन्तामा हुनुहुन्छ । “लामो समय देखि धान लगाउँदै आएको हो, मलजल पनि राम्रै दिइएको भएपनि यो वर्ष धान राम्रो फलेन, परिवार कसरी धान्ने हो रु उहाँले भन्नुभयो, “केही फलेका बोट पनि सुक्दै गयो, यस्तो समस्या जीवनमा पहिलो पटक भोग्नुपरेको छ ।” चार रोपनी जग्गामा राम्रो फल्दा २० मुरीसम्म उत्पादन लिने उहाँ यसपटक आधा पनि उत्पादन लिन हम्मेहम्मे पर्ने राना बताउनुहुन्छ । खेतमा लगाइएका धानबाली पसाउन भन्दाअघिदेखि बोट पहेँलै भएर सुक्दै जाने समस्या विस्तारै खेतभरि लगाइएका धानमा फैलिँदै जाँदा बाला नै निस्कन नसकेको उहाँको गुनासो छ । सो विषयमा कृषि प्राविधिकसमक्ष क्षतिपूर्तिका लागि जानकारी गराएको रानाले बताउनुभयो । अम्बिका डोटेलले कृषि शाखा रामपुरबाट ल्याइएको धानको बीउमा समस्या देखिएको बताउनुुहुन्छ । उहाँले राम्रो बीउ पाइन्छ भन्ने आशाले शाखामा नाम टिपोट गरी ल्याइएको बीउ नै खराबीका कारण समस्या देखिएको बताउनुभयो । “धान स्याहार्नै नपाइने गरी बिग्रेको छ, धान कुहिने सुइरा मर्ने, भित्रभित्रै रातै हुने, डढ्ने जस्ता समस्या देखिएपछि महँगो मूल्य तिरेर रासायनिक मल प्रयोग गरियो, बाला लागे पनि दाना पोटिला छैन, कुनै बालामा कालो दाग लागेको अवस्था, किसान पनि बाँच्नुप¥यो, क्षतिपूर्ति हामीलाई चाहियो, मलजल, श्रम सबै खेर जाने भयो”, उहाँले भन्नुभयो । यस्तो समस्या रामपुरका विभिन्न ठाउँमा लगाइएका धानबालीमा देखिएको किसानले बताएका छन् । केही किसानले बीउकै खराबीले समस्या भएको दाबी गर्छन् । सोही ठाउँकै हरिमाया गौतमले रामपुर नगरपालिकाबाट ल्याइएको बीउमा रोग लागेपछि ठूलो नोक्सानी परेको गुनासो सुनाउनुभयो । करिब ९० मुरी धानको उत्पादन लिने उहाँ यस पटक दश मुरी धान उत्पादन लिन पाइएला या नपाइएला भन्ने दोधारमा हुनुहुन्छ । बालामा दाना राम्रोसँग पनि लागेको छैन भने केही बाला लागेका धान पनि सुकेर नोक्सान पुगेको छ । गौतमले सावित्री जातको दुई बोरा धान रामपुर नगरपालिकाबाट वितरित धान ल्याउनुभएको हो । सो बीउ लगाएका खेतभरि नै समस्या देखिएपछि सम्बन्धित निकायले क्षतिपूर्ति दिलाउनुपर्ने उहाँको माग छ । “धान खेती गरेरै बुढ्यौलीपन लाग्यो, कहिलेकाहीँ मौसम अनुकूल नहुँदा सामान्य रोग किराको समस्या देखिए पनि अहिलजस्तो खेतभरि नै लगाएको धान नै बिग्रने गरी समस्या जीवनमा कहिल्यै भोग्नु परेन, धान लगाउँदा लागेको ट्याक्टर भाडा, मल, गोडमेल गर्दा लगाइएको खेताला सबै खर्च यो वर्ष नउठ्ने हुदा हामी किसान मारमा परियो”, उहाँले गुनासो पोख्नुभयो । धान पसाउने बेलामा परेको निरन्तर अबिरल वर्षाले क्षति पु¥याएपछि यसवर्ष धान उत्पादनमा कमी आउने देखिएको छ । वर्ष दिन खाने अन्नबाली राम्रोसँग स्याहार्न नपाउँदा कसरी पेट पाल्ने समस्या उत्तिकै छ । किसानले माग गरेअनुसार रामपुर नगरपालिकाले बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन ललितपुरबाट तोकिएको धान बीउ स्रोत केन्द्रबाट बीउ ल्याएर रामपुरका किसानलाई वितरण गरिएको हो । रौतहट चन्द्रपुरस्थित प्रतीक कृषि तथा बीउबिजन सहकारी संस्थाबाट २० हजार ९२० किलो सावित्री, चितवनको किसान मातृभूमि कृषि कम्पनी प्रालिमार्फत चार हजार ५८० किलो ल्याइएको सावाँ मन्सुली जातको धानको बीउ किसानको मागको आधारमा रामपुरमा वितरण गरियो । बीउमा समस्या नभई धानबालीमा फड्के किराको प्रकोपका कारण यसपटक समस्या देखिएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो । “किसानको खेतबारीमा स्थलगत निरीक्षण गर्दा बीउमा समस्या देखिदैन, फड्के किराले धानको फेदबाट बालासम्म चुसेर सबै हरियो भाग खाइदिँदा यस्तो समस्या देखिएको हो, वर्षा धेरै भएकाले अहिले धानबालीमा रोग किराको समस्या निम्तियो”, शाखा प्रमुख पाण्डेयले भन्नुभयो । समस्या लिएर आउने किसानलाई स्थलगत बाली निरीक्षणपश्चात नगरपालिकाले निःशुल्क विषादी पनि वितरण गरेको उहाँको भनाइ छ । यसवर्ष रामपुरमा मात्र नभई अन्य छिमेकी पालिकामा पनि विभिन्न रोग किराको प्रकोपले धानमा असर पुगेको कृषि प्राविधिकहरु बताउँछन् । रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटलाई धान कम फलेपछि वर्ष दिनको गुजारा कसरी चलाउने चिन्ताले सताएको छ । फड्के किराले सखापै पार्ने गरी धानबालीलाई सतायो । दुःखँंग लगाइएको धान भकारी भरेर वर्षदिनलाई परिवार पालौला भन्ने आशामा रहनुभएका उहाँ बाली भित्र्याउनै नपर्ने गरी रोग लागेर धानमा असर पारेपछि चिन्तित हुनुहुन्छ । “परिवारको आयस्रोत केही छैन, धान लगाएर वर्ष दिन जिविका धान्ने हो, बीउ राखेदेखि गोडमेल गर्दासम्म धेरै दुःख गरियो”, उहाँले भावुक हुँदै भन्नुभयो । वर्षा सकिएपछि काटेको धान बालीमा पनि प्रकोप फैलिँदा स्याहार्नै नपर्ने अवस्था भएपछि खेतमै पाँजासहित आगोमा जलाएर नष्ट गर्नु परेको उहाँ बताउनुहुन्छ । करिब छ रोपनी क्षेत्रफलमा लगाइएको धान राम्रै फले पनि स्याहार्ने बेला रोगले सताउँदा ठूलो समस्या थपिएको छ । पाँच जनाको परिवारलाई वर्ष दिन खान पुग्ने सो जग्गामा लगाइएको धान यसपटक नोक्सान हुँदा परिवार कसरी पालिने भन्ने चिन्ताले उहाँलाई रातदिन सताएको छ । गतवर्ष काटेको धान वर्षाले डुबानमा परी ठूलै नोक्सानी उहाँले बेहोर्नुप¥यो । क्षतिपूर्तिका लागि रम्भा गाउँपालिकाले विवरण सङ्कलन गरेता पनि पहुँचवालालाई नै वितरण गरेर आफूलाई विभेद गरेको उहाँको गुनासो छ । सगाहाको नौसय मुरी खेतभरि नै महामारीको रुपमा किराले सताउँदा यो वर्ष धानको उत्पादन घट्ने अगुवा कृषक ऋषिराम अर्याल बताउनुुहन्छ । उहाँका अनुसार गतवर्ष यस क्षेत्रमा फ्याट्टफुट्ट रुपमा देखिदा खासै धानमा असर परेन तर यसपटक ठूलै क्षति हुने गरी फैलिएको छ । आफूले लामो समय देखि धान लगाउँदै आएको भएपनि यसपटक जस्तो महामारीको रुपमा फड्के किराको प्रकोप विगतका वर्षमा नरहेको अर्यालको भनाइ छ । पाल्पाको रामपुर, माडीफाँट, हँुगी, अगाहाखोलालगायतका क्षेत्रमा धानबालीमा विभिन्न समस्या देखिएको छ । ठूलै समस्या देखिएको ठाउँमा स्थलगत निरिक्षण गरी आकस्मिक बाली उपचार सेवा दिइएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारी बताउनुहुन्छ । रोग किराको पहिचान गरी कार्यालयबाट किसानलाई विषादी उपलब्ध तथा प्राविधिक सेवा दिइएको उहाँले बताउनुभयो । उहाँका अनुसार गत असोजको अन्ततिर परेको अबिरल वर्षाले धानमा रोगको समस्या देखिएको हो । पाल्पामा करिब आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धान रोपाई गरिदै आइएको छ । जिल्लाको माडीफाँट, अर्गली, रामपुरफाँट, हुँगी, हेक्लाङ्ग, पूर्वखोला, दोभानलगायतका क्षेत्र धान उत्पादको मुख्य पकेट क्षेत्र हुन् । साबित्री, हाइब्रिड, रामधान, सावाँ मन्सुलीलगायतका धानका जात जिल्लामा बढी चलनचल्तीमा छन् । रैथाने जात भने यहाँ हिजोआज कमै लगाउने गरिन्छ । उत्पादन बढी लिने उद्देश्यले कृषकहरु उन्नत प्रविधिका धानमा आकर्षित हुन थालेका छन् ।
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीपलामेछानेविरुद्ध जबर्जस्ती करणीको अभियोगपत्र दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो । सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले सोमबार काठमाडौं जिल्ला अदालतमा जबर्जस्ती करणीको अभियोगपत्र दायर गरिएको जानकारी दिए । अभियोगपत्र जिल्ला अदालत काठमाडौंमा पेस भएको छ । जबर्जस्ती करणी मुद्दाको माग दाबी छ । १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ, उनले भने, आज मुद्दा बुझायौं । भोलि गोलाप्रथाबाट कुन न्यायाधीशकोमा मुद्दा पर्ने थाहा हुन्छ । त्यसपछि प्रतिवादीको बयान हुन्छ र थुनछेक बहस सुरु हुन्छ ।’ लामिछानेले नाबालक युवतीलाई जबर्जस्ती करणी गरेको आरोप गत भदौमा लागेको थियो । उनीविरुद्ध भदौ २१ गते १७ वर्षीया एक नाबालिग किशोरीले जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्ट बुधबार प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार प्रहरीले पक्राउ गरी असोज २४ गते अदालतमा उपस्थित गराएको थियो । गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा उनले आफूलाई भदौ ५ मा गाडीमा राखेर नगरकोट पुर्याएको, त्यही साँझ अबेर फर्किएर तिलगंगाको एक होटलमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छन् । होटलमा बसेको भोलिपल्टै लामिछाने केन्यासँग ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए । केन्यासँग ट्वान्टी-२० पछि एकदिवसीय शृंखला पनि भएको थियो तर लामिछाने उक्त शृंखला नखेली क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न बेस्ट इन्डिज पुगेका थिए । लामिछाने वेस्ट इन्डिजमै रहँदा भदौ २२ मा उनीविरुद्ध प्रहरीमा बलात्कार आरोपमा जाहेरी दर्ता भएको थियो । त्यसको भोलिपल्ट काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको थियो ।
जाजरकोट : उपल्लो डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको माथिल्लो भागमा चौँरी, नाउर मरेको फेला परेका छन् । सेतक चिनी सङ्कलन कर्ताले चौँरी, नाउरलाई घाँस खाना नदिएर हिमालतिर लखेटेपछि आहाराको अभावमा चौँरी, नाउर मरेको शे फोक्सुण्डो गाउँपालिका –८ का पेम्बा गुरूङले जानकारी दिनुभयो । चरिचरणका लागि जङ्गलमा छाडिएका चौँरीलाई हिमालतिर लखेट्दा हिमालमा हिउँका कारण आहारा नपाएर चौँरी र नाउर मरेको उहाँको भनाइ छ । आफ्नो मात्र सात वटा चौँरी मरेको उहाँले बताउनुभयो । यहाँका स्थानीयवासीले पालन गर्दै आएका धेरै चौँरी मरेको उहाँले जानकारी दिनुभयो । चौँरी खोज्दै जाँदा शे फोक्सुण्डो गाउँपालिका–८ सागबारी ९मान्नागखिया०मा चौँरी मरेको फेला परेको पीडित किसानले बताएका छन् । घाँस पाइने ठाउँमा चरिचरण गर्न नदिने र हिमालमा हिउँका कारण घाँस नपाउने भएपछि चौपाया मरेको स्थानीयवासीले बताए । केहीले सेतक चिनी खाएर पनि मरेको बताएका छन् । जथाभावी सेतक चिनी सङ्कलन गरेर जनावरलाई चरिचरण क्षेत्र नै सखाप पार्ने अवस्था अन्त्य गर्नुपर्ने स्थानीय अनुगबहादुर लामाले बताउनुभयो । चरिचरण क्षेत्र मास्दै जाने हो भने चौपायपालनमै समस्य हुने उहाँको भनाइ छ । उपल्लो डोल्पामा ढुवानी र दूधका लागि चौँरीपालन गरिन्छ । मासु र कपडा निर्माणका लागि भेडाच्याङग्रापालन हुँदै आएको छ । नाउर हिउँ चितुवाको मुख्य आहारा हो ।
काठमाडौं : आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो । आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । आचारसंहिताबमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत् मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ । आचारसंहिताबमोजिम दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिनेछ । यस्तै कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने प्रावधान आचारसंहितामा रहेका सम्बन्धमा पनि आयोगले स्मरण गराएको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयन भएरनभएका सम्बन्धमा निर्वाचन आयोग र जिल्ला आचारसंहिता अनुगमन समितिबाट भएको अनुगमन, उल्लङ्घनका घटनाबारे प्राप्त उजुरी तथा जानकारीका आधारमा स्पष्टीकरण सोध्ने र जवाफ आउनेक्रम जारी छ । आचारसंहिताको प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न आयोगले राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षसँग आग्रहसमेत गर्दै आएको छ ।
झापा : झापाको दमकका एक बालकको छठ पूजास्थलमा छुरा प्रहारबाट ज्यान गएको छ । मोरङको उर्लाबारी– ७ स्थित मावा खोलामा आयोजित छठ पूजास्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापा दमक–१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको हो । हत्यामा संलग्नको खोजीका लागि प्रहरी परिचालन गरिसकेको र केही शङ्कास्पदको नाम प्राप्त भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले बताउनुभयो । छुरा प्रहारबाट घाइते श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी हस्पिटल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि झापाको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको हो । त्यस्तै सिटी सफारी दुर्घटनामा दमक–५ का रणबहादुर खड्काको मृत्यु भएको छ । आइतबार बेलुकी ७ बजे शिवसताक्षी– १ धरमपुरका कुशल लिम्बूको घरमा मे१ह ७२६० नम्बरको सिटी सफारीमा दमकबाट फर्निचरको सामान लिएर पुगेका खड्काले सामान झार्र्ने क्रममा एक्कासी सिटी सफारी गुडेर सफारी चालक खड्कालाई किचेको थियो । सिटीले किचेर बेहोस भएका ४८ वर्षीय खड्काको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा राति नै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ
काठमाडौं : काठमाडौँको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिनुभयो । घटनाको बारेमा प्रहरी वृत्त कमलपोखरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।
चितवन : चितवनमा यसवर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार गत वर्ष धानको औसत उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर रहेकोमा यस वर्ष सोभन्दा बढी हुने अनुमान गरिएको छ । केन्द्रका प्रमुख युवराज पाण्डेले यसबर्ष रोगव्यादीको प्रकोप कम भएको र पानीले पनि कम नोक्सान गरेका कारण उत्पादन बढ्ने अनुमान गरिएको बताउनुभयो । “सरकारले समयमा रासायनिक मल दिन नसके पनि किसानहरुले भारतसँगको खुला सिमानाका कारण विभिन्न माध्यामबाट मल ल्याउनुभयो”, उहाँले भन्नुभयो, “हाम्रो स्थलगत निरीक्षणमा पनि उत्पादन राम्रो देखिएको छ । चितवनमा गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन बढ्छ । चितवनलाई धान उत्पादनको भण्डार मानिन्छ । यहाँका अधिकांश किसानले यस वर्ष सावित्री, राम धान ९वार० र सावा धान लगाएका छन् । चितवनको इच्छाकामना गाउँपालिका बाहेकका सबै स्थानीय तहमा धानको उत्पादन राम्रो छ । पूर्वी चितवनको पिप्ले, कठार, कुमरोज, भण्डारा, बछौलीलगायतका क्षेत्रमा बढी धान उत्पादन हुनेमा पर्छन् । चितवनको पश्चिमी क्षेत्र शिवनगर, गीतानगर, जगतपुर, मेघौलीलगायतका क्षेत्रमा पनि पर्याप्त धान उत्पादन हुँदै आएको छ । यस्तै माडी क्षेत्रमा पनि धान उत्पादन राम्रो हुने गरेको छ । चितवनमा यस वर्ष मात्रै एक हजार चार सय हेक्टर जग्गामा डिप र स्यालो ट्युबेलमार्फत् सिँचाइ उपलब्ध गराइएको थियो । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको झण्डै दुई वर्षमा १४ सय हेक्टरमा सिँचाइ उपलब्ध गराइएको हो । आयोजना प्रमुख देवकुमार स्याङबोका अनुसार जिल्लामा सिँचाइका लागि ५७ वटा डिप ट्युबेल र एक सय १० वटा स्यालो ट्युबेल जडान गरिएको छ । यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध भएको उहाँले बताउनुभयो । चितवनमा ३० हजार पाँच सय हेक्टरमा धान खेती गरिएको छ । जसमध्ये २२ हजार नौ सय २७ हेक्टरमा बर्खे धान र सात हजार पाँच सय ७३ हेक्टरमा चैते धान लगाउने गरिएको छ । चैते धान पाँच दशमलव दुई मेट्रिकटन प्रतिहेक्टर उत्पादन हुने गरेको छ भने तीन दशमलव ७९ मेट्रिकटन प्रतिहेक्टर बर्खे धान उत्पादन हुने गरेको छ । चितवनमा १९ प्रतिशत जमिनमा मात्रै खेती हुने गरेको छ । पश्चिम चितवनको चनौलीका किसान सोमप्रसाद चालिसेले यस वर्ष समयमै मल नपाए पनि राम्रो धान फलेको बताउनुभयो । उहाँले एक विघा क्षेत्रफलमा फलेको धान दुई दिन लगाएर काटिसक्नु भएको छ भने अब धान उठाउने र थ्रेसर लगाउने तयारीमा हुनुहुन्छ । भरतपुर महानगरपालिका ११ का किसान गंगाप्रसाद आचार्यले गत वर्षभन्दा यस वर्ष खेतमा राम्रो धान फलेको बताउनुभयो । उहाँले आइतबार मात्रै आफ्नो सात कठ्ठा जमिनको धानमा थ्रेसर लगाउनुभयो । “गत वर्ष १८ बोरा धान भित्राएको थिएँ, यसबर्ष २२ बोरा धान उत्पादन भएको छ”, उहाँले भन्नुभयो ।
पर्वत : चिसो मौसमको सुरुआतसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन् । यही कात्तिक महिना सुरु भएदेखि नै उनीहरूले गाउँ छाडी विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार थालेका छन् । वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताउनुभयो । यसरी व्यापारमा निस्किएका मुस्ताङीले आफ्नै लगानीमा लत्ताकपडाका साथमा सियो, धागो, जिम्बु, सिद्रा, हिंग, माला, शिलाजितलगायतका सामग्रीको व्यापार गर्दै आएका छन् । चार महिना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले गत असोज अन्तिम हप्ताभित्र अन्नबाली थन्काएर सर्वसाधारण बेँसी झरेपछि गाउँ नै सुनसान बन्न थालेको छ । मुस्ताङको लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोन्हुपलगायतका गाउँबाट सर्वसाधारण जाडो छल्न तल बेँसी झर्ने गरेका हुन् । चिसोको मौसममा उपल्लो मुस्ताङमा सञ्चालित मावि तथा प्राविले पोखराको विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरेर पठनपाठन सञ्चालन गर्ने गरेका छन् । घरमा पालेका बस्तुभाउ बूढाबूढीको जिम्मा लगाएर परिवारका अन्य सदस्य कात्तिक पहिलो हप्तादेखि घरबाट निस्किएका छुसाङकी डग्मी शेरचनले जानकारी दिनुभयो । उहाँ अहिले पर्वतका विभिन्न बस्तीमा व्यापार गर्दै डुलिरहनुभएको छ । अहिले उपल्लो मुस्ताङका अधिकांश नागरिक बेँसी झरेको जनाउँदै उक्त क्षेत्र सुनसान रहेको बताउनुभयो । उक्त क्षेत्रमा विद्यालयसमेत बन्द भइसकेका छन् भने कर्मचारीसमेत फाट्टफुट्ट बस्ने गरेका छन् । “धेरैजसो गाउँ अहिले सुनसान बनेका छन्, यो अवस्था फागुनसम्म रहन्छ”, मुस्ताङमा अध्ययपनरत शिक्षक राजकुमार पोख्रेल भन्नुहुन्छ, “अन्नबाली पनि नहुने भएपछि उनीहरूले घुम्ती व्यापारबाटै जीविका चलाउनुपर्ने अवस्था छ ।” उपल्लो मुस्ताङमा फापर, आलु, जौ, गहुँजस्ता अन्नबाली केही मात्रामा खेती गर्ने गरिएको छ । यस मौसममा मुस्ताङीले घुम्ती व्यापारबाट कम्तीमा रु दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गरेर बर्खायामलाई पुग्ने गरी खाद्यान्न खरिद गरी लैजाने प्रचलन छ । मुस्ताङको उपल्लो क्षेत्रका बासिन्दा जिल्लाकै तल्लो क्षेत्रका साथै पर्वत, म्याग्दी, बागलुङ, कास्की, गोरखा, तनहुँलगायत देशका धेरैजसो जिल्लामा पुगेर घुम्ती व्यापार गर्ने गरेको स्थानीय समाजसेवी तिलक विकले सुनाउनुभयो । उपल्लो मुस्ताङका धेरैजसो बासिन्दा व्यापार व्यवसाय गर्न जाडो लाग्नासाथ बेँसी झर्न थाल्छन् । व्यापार गर्न नहिच्किचाउने र सानो ठूलो जुनसुकै व्यापार गरिरहने मुस्ताङीको विशेषता रहेको पाइन्छ ।
काठमाडौं : सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ । पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वासको चर्चा शास्त्रमा गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । सूर्यषष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजा आराधना गर्ने निर्देश शास्त्रमा गरिएको उहाँले जानकारी दिनुभयो । यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर, वधु प्राप्तिको कामनाका लागि गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो व्रतले मनले चिताएको पूरा हुने धेरै भक्तजनको विश्वास छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शुक्रबारदेखि सुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । कार्तिक शुक्ल सप्तमीका दिनअर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अघ्र्य दिएपछि यो पर्व सम्पन्न भएको हो । मनोकांक्षा पूरा हुने विश्वासमा विशेष गरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि रानीपोखरीमा भने छठ हुन छोडेको छ । पछिल्लो समय कमलपोखरीमा भने भव्यरुपमा छठ हुन थालेको छ । छठका लागि आइबार गुह्येश्वरी, कमलपोखरी, थापाथलीलगायत स्थानमा निर्माण भएको छठ घाटलाई बेहुलीझैँ सिँगारिएको थियो । आज बिहान यी स्थलमा उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ सम्पन्न भयो । आइतबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिन पनि बर्तालुमात्र राजधानीका छठ घाट गएका थिए । धेरै बर्तालु रातभर गुह्येश्वरी गौरीघाट क्षेत्रमा जाग्राम बसेको छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिनुभयो । सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डव मिथिलाको विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको भन्ने भनाइ छ । सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको जनविश्वास रहेको छ ।

