पोखरा:   गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२०८३ को लागि ३१ अर्ब ५७ करोड ९९ लाख रुपैयाँ छुट्याएको छ।   गण्डकी प्रदेशसभामा अर्थमन्त्री टकराज गुरुङले आइतबार आगामी वर्षको आय–व्यय विवर...

 पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको पाखाथरमा होमस्टे (घरबास) सुरु भएको छ ।   गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा ढोरपाटनको पाखाथरमा घरबास सेवा सुरु र नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी पूर्वाधार तयार पारिएको हो ।   ढोरपाटन पर्यटन प्रवर्द्धन विकास संस्थाका सचिव जीवनकुमार पुनले ६ घरमा एक सय २० जना क्षमताको घरबास सुरु गर्नुका साथै पाखाथरबाट काडेकोडाँडा हँुदै किटेनीसम्म पदमार्ग निर्माण गरिएको जानकारी दिनुभयो ।   “ढोरपाटन घुम्न आउने पर्यटकको सुविधाका लागि नयाँ घरबास बनाएर क्षमता बढाएका छौँ”, उहाँले भन्नुभयो, “पर्यटकको बसाइ लम्बाउन नयाँ गन्तव्य पहिचान गरेर प्रवर्द्धनमा जुटेका छाैं ।”   गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक नमूना होमस्टे कार्यक्रममार्फत रु १२ लाख बजेटमा घरबासको क्षमता विस्तार र पर्यटकीय पूर्वाधार तयार पारिएको हो । अप्ठ्यारो ठाउँमा ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउनुका साथै पर्यटकीयस्थलको जानकारी र सूचनामूलक काठको बोर्ड राखिएको सचिव पुनले बताउनुभयो ।   काठैकाठले बनेका परम्परागत घरमा पाहुनाका लागि कोठा बनाइएका छन् ।   कोदो, फापरको ढिडो, आलु, च्याउ, टुसा, लोकल कुखुरा, खसीको मासु र दुग्धजन्य परिकारको स्वाद चाख्न पाइन्छ । ढोरपाटन सिकार आरक्षका अनुसार त्यहाँ रहेका २९ होटल र होमस्टेमा दैनिक तीन सय पाहुना बास बस्न सक्छन् ।   देशका विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकको चाप बढेपछि घरबासको क्षमता विस्तार गरिएको ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तीले बताउनुभयो । पाखाथरमा सञ्चालन हुनुअघि ढोरपाटनमा दुईवटा होमस्टे थिए ।   पाखाथर होमस्टेमा बास बस्ने पर्यटकका लागि समुद्री सतहबाट काडेधुरी, थारसिङ, गुराँस पार्क र किटीनी धुरीमा हाइकिङ गर्न पाउनु आकर्षण हो ।   पाखाथरबाट तीन घण्टा उकालो पैदलयात्रापछि पुगिने चार हजार मिटर एक सय १० मिटर उचाइमा रहेको किटीनी धुरीबाट ढोरपाटन उपत्यका, सिस्ने, पुथा, गुर्जा, धवलागिरि, चुरेन, निलगिरि, मानापाथी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खलाको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ ।   फराकिलो फाँट, बुकी, गाईभैँसी, भेडा, घोडाको गोठ, वन्यजन्तु, पक्षी, वनजङ्गलको दृष्यावलोकन गर्न पाउनु पनि यहाँको आकर्षण हो ।   एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षले पूर्वीरुकुमको ६०, बागलुङको २६ र म्याग्दीको १४ प्रतिशत भूगोल ओगटेको छ ।   आर्थिक वर्ष २०८०/८१ मा १५ हजार पाँच सय ७३ पर्यटकले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शीर्षकमा रु १९ लाख ३३ हजार राजस्व सङ्कलन भएको संरक्षण अधिकृत मण्डिप पङ्गेनीले बताउनुभयो ।   ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकको विवरण राख्ने र शुल्क लिने गरिन्छ ।   ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति रु एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति रु एक हजार पाँच सय र अन्य देशकाले रु तीन हजारका दरले शुल्क तिर्नुपर्छ ।

दमौली:     तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट परीक्षणको छ वर्षपछि व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ ।   विसं २०७५ चैतमा यहाँ प्याराग्लाइडिङ परीक्षण गरिएको थियो ।   तनहुँसुरबाट टेकअफगरी सोही वडाको बेलटारीमा अवतरण गर्ने गरी प्याराग्लाइडिङ सञ्चालनका लागि सिफारिस माग गरेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।   व्यास नगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि वडा कार्यालयबाट सिफारिस भई विज्ञहरुबाट अनुसन्धान भएको ठाउँमा प्याराग्लाइडिङ गर्न उपयुक्त हुने भनी प्रतिवेदन आएकाले उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनका लागि स्थानीयसहितको बैठकले निर्णय गर्न भनिएको गैरेले बताउनुभयो ।   व्यास नगरपालिका–११ का पूर्ववडाध्यक्ष निरबहादुर खड्काले लामो समयको प्रयासपछि अब यस ठाउँबाट व्यावसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन हुन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरै कार्यकालमा यहाँ परीक्षणका रुपमा प्याराग्लाइडिङ गरिएको थियो ।   अब दर्तागरी सञ्चालनको तयारीमा पुगेका छौँ ।” उहाँले स्थानीयवासीको भेलागरी प्याराग्लाइडिङ सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । वडाध्यक्ष दलबहादुर दुराले यस ठाउँमा प्याराग्लाइडिङ सञ्चालनले समग्र व्यास नगरपालिकाकै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।   छ वर्ष अगाडि पोखरास्थित ‘टिम फाइभ’ प्याराग्लाइडिङ कम्पनीका राजु आचार्य, शङ्कर पराजुली र नारायण पराजुलीले उक्त ठाउँबाट प्याराग्लाइडिङ परीक्षण गर्नुभएको थियो ।   तनहुँ सदरमुकाम दमौलीबाट पृथ्वीराजमार्गको घाँसीकुवाबाट पाँच किलोमिटर र त्यहाँबाट तीन/चार किमिको दूरीमा यस ठाउँ पर्छ । यस ठाउँमा केही घरमा घरबास सञ्चालन भइरहेको छ ।   घरबाससँग जोडेर प्याराग्लाइडिङलाई सञ्चालन गर्न सकिए यस ठाउँको विकासमा टेवा पुग्ने स्थानीयवासी सञ्जय श्रेष्ठको भनाइ छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ऐन, कानुनका माध्यमबाट सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउनेतर्फ सरकार लागेको बताउनुभएको छ ।   प्रेस चौतारी नेपाल गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले सञ्चार क्षेत्रसँग जोडिएका अधिकांश ऐन तथा विद्यमान कानुन पुराना भएका बताउँदै ती कानुनलाई समयसापेक्ष परिमार्जन गरी आवश्यकताका आधारमा नयाँ कानुन निर्माण गर्नेतर्फ सरकार अघि बढेको बताउनुभयो ।   सञ्चार क्षेत्र सम्बद्ध राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र, हुलाकलगायत संस्थाहरू पुरानै ऐन, कानुन अनुसार सञ्चालन भइरहेकाले यिनीहरूलाई आवश्यकता अनुसार संशोधन गर्ने कुरामा सरकार अघि बढेको उहाँले उल्लेख गर्नुभयो ।   सामाजिक सञ्जाल नियमनसम्बन्धी ऐन, साइबर अपराधसम्बन्धी ऐनको मस्यौदा भएर अन्तिम चरणमा रहेको जनाउँदै सञ्चारमन्त्री गुरुङले सार्वजनिक प्रसारण ऐन (पिएसबी), मिडिया काउन्सिल विधेयक छलफलका क्रममा रहेको बताउनुभयो ।   पिएसबी बनिसकेपछि नेपाल टेलिभिजन, रेडियो नेपाललाई केही मात्रामा स्वायत्त बनाउँदै थप व्यवस्थित र नागरिकमैत्री बनाउन सरकार प्रयासरत रहेको उहाँले उल्लेख गर्नुभयो । सरकारको आफ्नै स्टाटलाइट हुनुपर्ने बताउँदै सञ्चारमन्त्री गुरुङले यसमा आफ्नोपनका साथै स्वाभिमान पनि झल्किने उल्लेख गर्नुभयो ।   सुशासन, समृद्धि, सरकारको प्रभावकारितालगायत क्षेत्रमा थप उपलब्धि हासिल गर्न सरकार डिजिटल नेपालको अवधारणा अनुसार अघि बढेको उहाँले जानकारी दिनुभयो ।   सेक्युरिटी प्रेस सञ्चालनका माध्यमबाट देशभित्रै पार्सपोर्ट, सवारीचालक अनुमतिपत्र, अन्तःशुल्क स्टिकरलगायत छपाइको प्रयासमा सरकार लागेको उहाँको भनाइ छ ।   सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “यी काम एक वर्षभित्र गर्न सक्छु भनेर प्रतिबद्ध छु । बैंक नोट पनि मुलुक भित्रै छपाइ गर्नुपर्ने योजनामा सरकार छ ।”   चालु आर्थिक वर्षभित्र मुलुभर ‘फोर जी’ र मुख्य सहरहरुमा ‘फाइभ जी’ पुर्‍याउने मन्त्रालयको योजना रहेको सञ्चारमन्त्री गुरुङले जानकारी गराउनुभयो । नेपालका पर्यटकीय गन्तव्यको प्रवर्द्धन एवं पर्यटन क्षेत्रको विकासका लागि सरकारले योजना बनाएर कार्यान्वयनको ढाँचा बनाइरहेको उहाँले बताउनुभयो ।   सरकारले यसै वर्षभित्र सङ्घीय प्रहरी ऐन र सङ्घीय निजामति ऐन ल्याउन पहल गरिरहेको बताउँदै सञ्चारमन्त्री गुरुङले यी ऐन आएमा प्रभावकारी रुपमा सङ्घीयता कार्यान्वयन हुने धारणा राख्नुभयो ।   वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्म जाने जनाउँदै उहाँले पत्रकारिता जगतले समाजका नकारात्मक पक्षलाई भन्दा विकास, निर्माण, कृषिलाई प्रथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।   गण्डकी प्रदेशमा मुख्यमन्त्रीले लिइरहेको अडानका सम्बन्धमा सञ्चारमन्त्री गुरुङले सङ्घीय गठबन्धनको मर्मबमोजिम गण्डकीमा सरकार पुनःगठन हुनुपर्ने बताउनुभयो । गठबन्धनको संस्कार र राजनीति इमान्दारीपूर्वक निर्वाह हुनुपर्ने आवश्यकता औंँल्याउनुभयो । 

मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा खेलमैदान निर्माण भएको छ ।   गण्डकी प्रदेश सरकारको सहयोगमा कोवाङको धवलागिरि युवा क्लबले खेलमैदान निर्माण गरेको हो ।   प्रदेश सरकारको रु १७ लाख ५० हजार बजेटमा भलिबल खेलमैदान र प्यारापिट निर्माण गर्नुका साथै फराकिलो बनाएको उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार शेरचनले बताउनुभयो ।   “आरसिसी ढलान गरेर भलिबलको कोर्ट र एक सय मिटर लामो प्यारापिट बनाएका छौँ”, उहाँले भन्नुभयो, “यसअघि ५० मिटर लम्बाइ भएको खेलमैदानलाई विस्तार गरेर एक सय मिटर लामो बनाइएको छ ।”   खेलमैदान निर्माणपछि धुलो र हिलोमा खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने अवस्था हटेको धवलागिरि युवा क्लबका अध्यक्ष मनप्रसाद गौचनले बताउनुभयो ।   फुर्सदको समयमा युवायुवतीलाई खेल अभ्यास गर्न सजिलो भएको छ । प्रतियोगिता आयोजना गर्न पनि सहज हुने गौचनले बताउनुभयो ।   गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचनले व्यवस्थित खेलमैदान अभावमा खेल प्रतिभाले अभ्यास र प्रतिभा प्रस्फुटन गर्न नपाएकाले प्रदेश सरकारमा पहल गरेर गत आर्थिक वर्ष २०८०/८१ मा बजेट व्यवस्थापन गरी कोवाङमा खेलमैदान निर्माण गरेको बताउनुभयो ।   गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक खेलमैदान कार्यक्रममार्फत गत वर्ष जोमसोमको खेलमैदानको २५ वर्षपछि स्तरोन्नति गरिएको पनि सांसद गौचनले बताउनुभयो ।

पर्वत:    हाइड्रोपावरमा स्टोर गरिराखेको तामाको तार चोरी गरेको आरोपमा  जिल्ला प्रहरी कार्यालय कास्कीले तीनजनालाई पक्राउ गरेको छ।   पोखरा महानगरपालिका-१४ मझेरीपाटनमा बस्ने २९ वर्षीय सुजन परियार, सोही वडाको आर्मी प्लटिङ बस्ने ३७ वर्षीय विकास खवास र वडा नं. १५ खाल्टेमसिना बस्ने वर्ष २६ वर्षीय निशान दर्जी पक्राउ परेका हुन्।   जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माका अनुसार गत साउन १२ गते राति पोखरा महानगरपालिका–१४ मझेरीपाटन गोर्खा भिलेज स्थित सिभिल हाइड्रोपावर स्टोर्सबाट तार चोरी भएको थियो।    कम्पाउण्डमा स्टोर गरी राखेको ३३ के।भी। ट्रान्समिसन लाइनमा प्रयोग हुने अन्डरग्राउण्डर पावर केवलको लागि आवश्यक पर्ने तामाको तार, आल्मोनियम अन्डरग्राउण्ड पावर केवल र जेनरेटरको पार्टपुर्जा समेत गरी अन्दाजी छ लाख बराबरको सामान चोरी भएको थियो।   पोखरा महानगरपालिका-१४ चाउथेमा तारको बाहिरी पत्र फाली तामाको तार मात्र बोरामा राख्न लागेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पोखरा:     सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गण्डकी प्रदेश सरकारमा नौ मन्त्रालय बनाउने सहमति भएको छ । गण्डकी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहनुभएको हालको मन्त्रिपरिषद् सात सदस्यीय रहेको छ ।  नयाँ सत्ता समीकरण अनुसार एमाले पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालयको सङ्ख्या बढाउने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।  “कांग्रेसले मुख्यमन्त्रीसहित पाँच र एमालेले चार मन्त्रालय लिने सहमति भएको छ”, उहाँले भन्नुभयो, “आगामी आइतबारसम्ममा मन्त्रालयको बाँडफाँड टुङ्गाएर मन्त्रीहरुको शपथ गराउने तयारी भइरहेको छ ।” कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा अझै सहमति हुनसकेको छैन । मख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिने नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाईसमेत समेटेर सरकार पुनःगठन गर्ने कांग्रेसले जनाएको छ ।  यसअघि एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री हुँदा मन्त्रालय सङ्ख्या १२ बाट घटाएर सातमा पु¥याइएको थियो । अहिले दलहरुबीच मन्त्रालयको बाँडफाँड मिलाउन फेरि मन्त्रालय थप्ने सहमित भएको छ । मन्त्रालयको सङ्ख्या र बाँडफाँडमा सहमति नजुट्दा सङ्घीय सरकार बनेको दुई महिना बित्नलाग्दासमेत गण्डकीमा नयाँ समीकरण अनुसारको सरकार बन्न सकेको थिएन ।  गण्डकी प्रदेशसभामा एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले मन्त्रालय थप गर्दा त्यसको औचित्य पुष्टि गर्ने चुनौती भने दलसामु रहेको बताउनुभयो । उहाँले संविधानले दिएको अधिकार भन्दैमा धेरै मन्त्रालय बनाउनु उपयुक्त नहुने र त्यसलाई नागरिकले पनि नरुचाउने बताउनुभयो ।   प्रदेशसभा सदस्य देवकोटा र गुरुङको निर्णायक समर्थनमा मुख्यमन्त्री पाण्डेले गत जेठ २८ गते प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको थियो । मुख्यमन्त्री पाण्डे संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलका हैसियतमा गत जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।  उहाँले कांग्रेसका २७, राप्रपाका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ३१ प्रदेशसभा सदस्यको समर्थन पाउनुभएको थियो । एमालेका २२ र माओवादी केन्द्रका ६ प्रदेशसभा सदस्यले विश्वासको मतको विपक्षमा मत दिएका थिए । त्यसअघि मुख्यमन्त्री बन्नुभएका नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले प्रदेशसभाबाट प्राप्त गरेको विश्वासको मतलाई सर्वोच्च अदालतले असंवैधानिक रहेको फैसला गरेपछि पाण्डे पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।  अधिकारीले पाएको विश्वासको मतविरुद्ध दायर भएको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।  ६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेकपा (माआवादी केन्द्र) का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य हुनुहुन्छ ।

गण्डकी:    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजमा शान्तिसुरक्षा कायम गर्न र कानुनी राज्यको अनुभूति दिलाउन नागरिकको पनि महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।           मुस्ताङस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले सरकारसँगै नागरिक समाजसँगको सहकार्यमा शान्तिसुरक्षाका प्रभावकारितासँगै कानुनी राज्यको अनुभूति दिलाउन सकिने बताउनुभयो ।  भवन निर्माणसँगै धार्मिक पर्यटकीय तीर्थस्थल मुक्तिनाथ आउने पर्यटक र स्थानीयको शान्तिसुरक्षामा सेवा गर्न प्रहरीलाई सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।      संविधानअनुसार कानुन नबन्दा प्रहरी समायोजन हुन नसकेको बताउँदै उहाँले समायोजन नहुँदा चाहेर पनि प्रदेश सरकारले आवश्यकता र अपेक्षाअनुसार प्रहरीलाई सबै सहयोग गर्न नसकिएको उल्लेख गर्नुभयो ।       प्रदेशको शान्तिसुरक्षाका लागि सरकारले सुरक्षा निकायलाई भौतिक पूर्वाधार, उद्धार सामग्री, यन्त्र उपकरण, क्षमता विकासका कार्यक्रममा सीमित साधनस्रोतका बीच प्रदेश सरकारले निरन्तर सहयोग गर्दै आएको उहाँको भनाइ छ । प्रदेश सरकारको रु तीन करोड ६० लाख लगानीमा निर्माण भएको भवन छ रोपनी चार आना क्षेत्रफलमा रहेको छ । 

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले श्रीकृष्ण जन्माष्टमी पर्व तथा नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा मनाइने धार्मिक एवं सांस्कृतिक महत्वको गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको आज विश्वभर हिन्दू धर्मावलम्बीहरूले पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने जनाउँदै यस पर्वले बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिनुभएको छ ।   यस्तै, सांस्कृतिक चाड गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी एवं भाइचाराको भावना अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाजको निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गर्नुभएको छ ।   ‘गौरा पर्व सुदूरपश्चिममा भाद्र कृष्ण पक्ष, पञ्चमीदेखि अष्टमीसम्म परापूर्वकालदेखि नै मनाउँदै आएको विश्वास गरिन्छ ।   पार्वतीले कठोर तपस्यापछि भगवान शिवलाई पतिका रुपमा प्राप्त गरेको पौराणिक कथनअनुसार यस पर्वमा विशेष गरी गौरी अर्थात् पार्वतीको पूजाअर्चना गरिन्छ ।’ – प्रदेश प्रमुख भट्टले भन्नुभएको छ – ‘सदियौँदेखि मनार्इँदै आएको यो पर्वको आफ्नै ऐतिहासिक एवम् पौराणिक महत्व रहेको छ र यसले आफ्नो मौलिकता राख्न समेत सफल भएको छ ।’   यस प्रकारका लोक परम्परा तथा धार्मिक, सांस्कृतिक पर्वहरूले हाम्रो जस्तो विविधतायुक्त समाजमा सामाजिक र सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको उहाँको भनाई छ ।

म्याग्दी:   समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको धार्मिकस्थल दामोदरकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजाका लागि यही भदौ २ गते त्यहाँ पुग्नुभएकी गण्डकी प्रदेशसभा सदस्य विमला गौचन लेक लागेर (अक्सिजन अभाव भएर) बिरामी पर्नुभयो ।   टाउको दुुखिरहने, शरीर गल्ने, खाना अरुचि हुनेजस्ता लक्षणसँगै हिँडडुल गर्न नसक्ने भएर दामोदरकुण्डकै धर्मशालामा अन्य दुईजना साथी र सहयोगीसँग बस्नुभएकी गौचनको टोलीलाई नेपाली सेनाले भदौ ६ गते उद्धार गरेको थियो ।   “दामोदरकुण्डप्रतिको आस्थाका कारण नेपालसँगै भारतबाट धैरै तीर्थयात्री आउने यस स्थानमा सञ्चार र स्वास्थ्य सुविधाको अतिआवश्यकता महसुस भयो”, उहाँले भन्नुभयो, “मोबाइल फोन सेवा विस्तार हुँदा समयमै उद्धार र प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन सकेमा बिरामी तीर्थयात्रीले समयमा नै उपचार पाउने थिए ।”   प्रदेशसभा सदस्य गौचनको स्वास्थ्यमा सुधार भइरहेको छ । सञ्चार सुविधा अभावमा उद्धारका लागि चिठी लेखेर पठाउँदा ढिलाइ भएको उहाँले बताउनुभयो । धार्मिक पर्यटनका हिसाबले प्रशस्त सम्भावना भए पनि भौगोलिक विकटताका कारण दामोदरकुण्डमा राज्यको नजर पर्न नसकेको गौचनले बताउनुभयो ।   दामोदरकुण्डको समस्या र आवश्यकताका विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डे, सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई टेलिफोनबाट जानकारी गराएको प्रदेशसभा सदस्य गौचनले बताउनुभयो ।   कालीगण्डकी नदीको उद्गमस्थल दामोदरकुुण्ड मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको–४ को भूगोलमा पर्छ । यहाँ स्नान गर्नाले आध्यात्मिक सन्तुष्टि मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । कालीगण्डकीमा मात्र पाइने शालिग्राम शिलालाई हिन्दू धर्मावलम्बीले भगवान् विष्णुका रूपमा पुज्ने गर्दछन् ।   दामोदर हिमशृङ्खलाको फेदीमा रहेको यस स्थल धार्मिक र प्रकृतिको मनोरम सङ्गम हो । मौसम र वातावरणीय हिसाबले जेठदेखि साउनसम्म दामोदरकुण्ड जान उपयुक्त हुुन्छ ।   पाँचवटा कुण्ड रहेको दामोदरकुण्ड स्नानका लागि जनैपूर्णिमा र चैतेदसैँका दिन भक्तजन बढी सङ्ख्यामा जान्छन् । भक्तजनले दुईवटा ठूला कुण्डमा स्नान गर्ने गर्दछन् । कुण्ड वरिपरि कुशको हरियाली छ । उच्च भूभागमा पाइने यहाँको कुशको विशेष धार्मिक महत्व छ ।   कालीगण्डकी करिडोरको जोमसोम–कोरला सडक हुँदै अपर मुस्ताङको चराङसम्म पुगेपछि त्यहाँबाट दुई घण्टाको सवारीसाधनको यात्रापछि यारागाउँ पुग्न सकिन्छ । यारा गाउँबाट माथि झुमा ठाटीसम्म सडक पुगे पनि राम्रो नभएकाले भक्तजन याराबाट नै घोडाको यात्रा गर्दछन् ।   याराबाट करिब नौ घण्टा घोडाको यात्रापछि दामोदरकुण्ड पुग्न सकिन्छ ।   सडक यातायात, सञ्चार र बसोबासको राम्रो व्यवस्था नभएका कारण दामोदरकुण्डको यात्रा जोखिमयुक्त र कठिन भएको काठमाडौँबाट आउनुभएका धनीकुमार सापकोटाले बताउनुभयो । भक्तजनको सुविधाका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाले धर्मशाला र पिउने पानीको व्यवस्था मिलाएको छ ।   असारदेखि साउनसम्म धर्मशालामा निःशुल्क भोजनको व्यवस्था मिलाइएको हुन्छ । कठिन यात्रा गरेर दामोदरकुण्ड पुगेपछि यहाँको प्राकृतिक सुन्दरताले सबै दुःखकष्ट भुलाइदिने उहाँले बताउनुभयो । “दामोदरकुण्ड साँच्चिकै स्वर्गको टुक्राजस्तो लाग्यो”, उहाँले भन्नुभयो, “धार्मिक र प्रकृतिको सुन्दर सङ्गमस्थलको अनुभूति भयो ।”   दामोदरकुण्ड पुग्न र फर्किन प्रतिघोडा रु १० हजार खर्च लाग्ने हालै त्यहाँ गएर आउनुभएका बेनी नगरपालिका–३ का राम्जी सुवेदीले बताउनुभयो ।   पाँच हजार पाँच सय मिटरभन्दा अग्ला दुई पहाड उकालो र ओरालो भिरको बाटो भएर दामोदर पास पार गरेपछि दामोदरकुण्डको समथर भूभागमा पुगिने उहाँले बताउनुभयो ।   वरपरका सेता हिमचुचुराले घेरिएको दामोदरकुुण्डको उपत्यका सुन्दर र मनमोहक देखिने सुवेदीले बताउनुभयो ।