पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहने बताउनुभएको छ । निजामती कर्मचारी दिवस २०८१ को सन्दर्भ पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले वुधवार आयोजना गरेको प्रदेश निजामती सेवा, स्थानीय सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । ‘संघ, प्रदेश, स्थानीय जुनसुकै तहका कर्मचारी जसले जहाँ बसेर काम गरेपनि सबैले इमान्दारीताका साथ गर्नुपर्छ, जनतालाई सरल र सहज सेवा दिनुपर्छ’ उहाँले भन्नुभयो । सरकार असफल हुँदा त्यसको मुख्य जिम्मेवारी सरकारका प्रमुख र राजनीतिक व्यक्तिलाई दिने गरिएपनि सरकारको अंगको रुपमा रहेका कर्मचारीको कार्यशैली र क्षमतामापनि असफलता झल्किने उहाँले बताउनुभयो । मुख्यमन्त्री पाण्डेले भन्नुभयो ‘सरकारलाई सफल बनाउनु जनप्रतिनिधि र कर्मचारी सबैको ड्युटी हो, आफ्नो ड्युटी प्रति सबै प्रतिवद्ध हुनुपर्छ ।’ कर्मचारीको वृत्तिविकास, न्यायोचित र व्यवस्थित सरुवा लगायतका विषयमा अन्तरक्रियामा सहभागी कर्मचारी संघ, संगठनहरुले चासो राखेका थिए । संघीय निजामती ऐन नबन्दा प्रदेश निजामती ऐन कार्यन्वयनमा समस्या भएको गुनासो उनीहरुको थियो । जवाफमा मुख्यमन्त्री पाण्डेले प्रदेश निजामती सेवा ऐनमा देखिएका तत्काल संवोधन गर्नुपर्ने विषय प्रदेश सभाबाट तत्काल संशोधनको तयारी गरिएको बताउनुभयो । साथै उहाँले संघीय निजामती ऐन निर्माण भएपछि पनि छुटेका विषय औचित्य हेरी संशोधन सहित सम्बोधन गरिने बताउनुभयो । प्रदेश कर्मचारी कल्याणकारी कोष स्थापनाका लागि चालु वर्ष प्रदेश सरकारले १ करोड विनियोजन गरेको बताउँदै उहाँले प्रदेश भित्रका स्थानीय तहलाईपनी कोषमा सहभागी गराउने बताउनुभयो । कर्मचारी सरुवा र वृत्तीविकासका सन्र्दभमा उचित मापदण्ड बनाएर लागु गर्ने विषयमा सबै कर्मचारी ट्रेड युनियनलाई एकमत भएर सहयोग गर्नु उहाँले अनुरोध गर्नुभयो । प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी ट्रेड युनियनका प्रमुखहरु, जनप्रतिनिधिहरु, मन्त्रालयका सचिवहरु लगायतको उपस्थिति थियो ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्ने बताएका छन् । मन्त्रालयले मंगलबार तनहुँ जिल्लाको आबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले प्रदेश सरकार संस्कार सिकाउने शिक्षामा समेत केन्द्रित रहेको जानकारी गराए । उनले प्रदेशमा भएका विभिन्न जातजातिको भाषालाई संरक्षण गर्न मातृभाषा शिक्षालाई समेत प्राथामिकता राखेको उल्लेख गरे । “हामी नैतिक शिक्षालाई आत्मसात् गर्दै अगाडि बढीरहेका छौं । शिक्षामा आमुल परिवर्तन ल्याउनका लागि तीनै तहको सरकार एक भएर लाग्नुपर्ने आवश्यकता छ । स्थानीय तहलाई अझ बढी जिम्मेवार भई शिक्षामा सुधार ल्याउन सकिन्छ ।”, उनले भने । मन्त्री थापाले प्रदेश सरकारको नयाँ कार्यक्रम फ्राइडे फर फ्युचरले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान समेत उपलब्ध गराउने बताए । उनले मन्त्रालय मातहतका सम्पूर्ण कार्यालयहरुलाई समयमा काम थालनी गरी जिम्मेवारी पूर्वक सक्न निर्देशन दिएका छन् । मन्त्रालयका सचिव प्रकाश पौडेलले आधारभूत शिक्षा सुधार गर्न आवश्यक रहेको बताए । उनले मन्त्रालयले विद्यार्थीलाई मात्र केन्द्रित गरी कार्यक्रम राख्नुभन्दा पनि अभिभावक र शिक्षक सिकाईलाई समेत समेटेको जानकारी गराए । विद्यार्थीको लेखन सिपमा समेत दक्ष बनाउने गरी शिक्षामा बजेट विनियोजन भएको भनाई उनको छ । भुक्तानीका लागि मन्त्रालयले नै धाउनुपर्ने प्रवृतिको अन्त्य गरी सम्बन्धित कार्यालय मार्फत नै कार्यक्रम तथा योजनाको भुक्तानी लिन सकिने व्यवस्था मिलाइएको उनले उल्लेख गरे । आबुखैरनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शिक्षालाई प्रभावकारी बनाउन स्थानीय तहमा देखिएको दरबन्दीको समस्यालाई समाधान गर्नुपर्ने बताए । कर्मचारीलाई सर्भिस डेलिभरीमा ध्यान दिन उनको अनुरोध छ । नागरिकको काम अड्काउने गरी भइरहेको सेवा प्रवाहलाई चिर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । मन्त्रालयका उपसचिव तोयानाथ लम्सालले अभिमुखीकरण कार्यक्रम मंगलबार देखि विहिबारसम्म चल्ने जानकारी गराए । तीन दिन सम्म चल्ने कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई, तनहुँ, गोरखा, लमजुङ, नवलपुुर र मनाङ जिल्लाको सामाजिक विकास कार्यालय र स्थानीय तहको सहभागिता रहेको उनले बताए ।
पोखरा: गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बागलुङस्थित धौलागिरी उपप्रादेशिक अस्पताललाई कुनै विभागको शिक्षण अस्पताल बनाउन आफ्नो कार्यकालमा पहल गर्ने बताएका छन् । नेकपा एमाले बागलुङले मंगलबार आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै नवनियुक्त स्वास्थ्यमन्त्री पाठकले हाल अस्पतालमा रहेका समस्या समाधान गरेर नयाँ ढंगले अघि बढ्ने योजना सुनाएका हुन् । ‘अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गर्ने सोच छ । त्यही ढंगले लाग्ने छु । आयुर्वेद अस्पताल छन् प्रदेशअन्तर्गत । त्यसलाई पनि व्यवस्थापन गर्नुपर्ने छ’ उनले भने । बागलुङकै बुर्तिबाङ र गोरखाको अमलटारी स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न बनाउने काम पनि आफ्नो कार्यकालमा गर्ने उनले प्रतिबद्धता जनाए । जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नसर्ने रोगको पहिचान गर्ने र न्यूनीकरण गरेर अगाडि बढ्नपर्छ भनेर स्क्रिनिङको पहिलो निर्णय गरेको मन्त्री पाठकले बताए । मन्त्री पाठकले आन्दोलन र पार्टीमा निरन्तर लाग्दा अवसर पाइने भन्दै पार्टीसम्बद्ध कोही पनि निराश नहुन आग्रह गरे । ब्रिफिङ लिने काम सुरु भएको र त्यो सकेपछि नीतिगत हिसाबले गर्नपर्ने काममा सक्रिय हुने मन्त्री पाठकको भनाइ थियो । एमाले बागलुङ अध्यक्ष हिराबहादुर केसीले धौलागिरी क्याम्पस र धौलागिरी अस्पतालको विकास गर्न सके त्यससँग बागलुङको सुनौलो भविष्य जोडिने सुनाए । मन्त्री र बीचमा बाटो बिराउनुभएका पुरानाहरु एमालेमा फर्किनु एकैपटक हुनु बागलुङका लागि खुसीको विषय भएको अध्यक्ष केसीले बताए । आफूले जिल्ला अध्यक्ष जित्दा अध्यक्षका उम्मेदवार पाठकलाई व्यवस्थापन गर्नुपर्छ भनेर भनेको केसीले स्मरण गरे । ‘हामी दुई जना लड्यौँ । मैले जितेपछि प्रतिबद्धता जनाउँदा पाठक कमरेडको राजनीतिक व्यवस्थापन गरिनुपर्छ भनेर भनेको र पाठक मन्त्री बन्नु खुसीको विषय हो’, उनले भने । छिमेकी जिल्ला म्याग्दी, पर्वतका एमाले सांसदले यसअघि मन्त्री पाएको तर बागलुङले मन्त्री देख्न नपाउने अवस्था रहँदै आएकोमा अब त्यसको अन्त्य भएको अध्यक्ष केसीको भनाइ थियो । पाठक सफल भएमा एमाले बागलुङले भोलि फेरि अवसर पाउन सक्ने सम्भावना रहेकाले सबै मिलेर मन्त्रीलाई सफल बनाउनपर्ने उनले बताए ।
बागलुङ (ढोरपाटन): गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ । आज बागलुङ नगरपालिका–४ उपल्लाचौरमा आयोजित ‘आधुनिक बसपार्कसम्बन्धी’ कार्यक्रममा उहाँले सीमित स्रोतसाधनका बीच जनताको आवश्यकता र मागअनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । प्रदेश सरकारसँग ढुकुटी र स्रोतसाधन निकै कम भएकाले जनताको माग र आवश्यकतानुसार सबै ठाउँमा एकैपटक काम गर्न नसकेको उहाँको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले राजनीतिक अस्थिरताका कारण सरकार बन्ने र ढल्ने गरेकाले हाल संसद्का प्रमुख दुई पार्टीसहितको गठबन्धन सरकार बनेकाले सुशासन, विकास र समृद्धिका लागि काम हुने विश्वास दिलाउनुभयो । “एकातिर प्रदेश सरकारसँग स्रोतसाधनको कमी छ, अर्कोतिर राजनीतिक अस्थिरताका कारण छिटोछिटो सरकार बदलिने समस्या छ । यसकारण पनि जनताको इच्छा, आकाङ्क्षा र आवश्यकतानुसार काम हुनसकेको छैन”,उहाँले भन्नुभयो, “अहिले प्रदेशमा नयाँ सरकार बनेको छ, यो सरकारले नागरिकको निरासालाई चिर्नेगरी काम गर्नेछ । त्यसमा हामी एकताबद्ध भएर लागिरहेका छौँ ।” मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश पर्यटकीय केन्द्र भएको हुँदा पोखरासँग सबै जिल्लालाई जोडेर पर्यटनमार्फत समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभयो । प्रदेश सरकारले गण्डकीका ११ वटै जिल्लालाई पर्यटनसँग जोड्नका लागि गृहकार्य गरिरहेको उहाँले जानकारी दिनुभयो ।
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्व र विषेशताका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको हो । लो–घेकर दामोदरकुण्ड–३ घिलिङका वडाध्यक्ष झब्याङ तेन्जिङ गुरुङले चुङसी गुफामा पर्यटक भित्र्याउन पहल गरिएको बताउनुभयो । “गुफासम्म पुग्ने सडक र पदमार्ग तयार भएको छ”, उहाँले भन्नुभयो, “उपल्लो मुस्ताङ भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउनका लागि चुङसी गुफाको प्रवर्द्धनमा जोड दिएका हौँ ।” साङबोचेबाट दुई किलोमिटर कच्ची सडक र एक किलोमिटर पैदलयात्रा गरेपछि चुङसी गुफामा पुगिन्छ । भेनाखोलाको किनारबाट १० मिनेट उकालो पैदलयात्रा गरेपछि पहाडको बीचमा रहेका दुईवटा ठूला गुफामा पुगिन्छ । तीनवटा तला रहेको तल्लो चुङसी गुफाभित्र विभिन्न देवीदेवताका मूर्ति, जनावरका प्राकृतिक आकृति अवलोकन गर्न सकिन्छ । गुफाभित्र तपस्वी ध्यान बसेको आकृति देखिने शिला रहेको छ । गुफाभित्र नै गुम्बा रहेकाले यसको धार्मिक महत्व पनि छ । गुम्बामा लामा बस्छन् । भगवान् बुद्धको मूर्ति रहेको चुङसी गुफाभित्रको गुम्बामा बौद्ध धर्मावलम्बीहरूले यहाँ पूजाआजा गर्छन् । लामाहरूले ध्यान, तपस्या गर्छन् । तल्लो चुङसी गुफाबाट थप पाँच मिनेट उकालो पैदलयात्रा गरेपछि उपल्लो चुङसी गुफामा पुगिन्छ । करिब ५० मिटर लम्बाइ र २० मिटर चौडाइको यो गुफाभित्र पनि देवीदेवताका मूर्ति, जनावर र जनावरका अङ्गका आकृतिहरू देखिन्छ । उपल्लो र तल्लो चुङसी गुुफाको फेदीमा रहेको अर्को गुुफाभित्र पानी रसाउँछ । सो पानीलाई गुफा अवलोकन गर्न आउने भक्तजन र पर्यटकले प्रसादका रूपमा भाँडामा भरेर लैजाने गर्छन् । उपल्लो मुस्ताङवासीको भाषामा चुङसीको अर्थ प्राकृतिक हुन्छ । चुङसी गुफा अवलोकन गर्नुभएका म्याग्दीका सुरेन गुरुङले शान्त वातावरण, प्राकृतिक, अलौलिक र अनौठा दृष्यले मोहित बनाएको बताउनुभयो । “साङबोचेबाट चुङसी गुुफा जोड्ने सडकलाई स्तरोन्नति, महत्व र विशेषताको प्रचारप्रसार गर्न सकेमा यहाँ पर्यटकको आइरो लाग्छ”, उहाँले भन्नुभयो, “यस्तो अनौठो गुफा अन्यत्र देखेको थिइनँ ।” गुफाको वरपर अग्ला पहाड छन् । सुक्खा पहाडको खोँच एकान्त छ । हाल दैनिक आठ–दश जनाको अनुुपातमा पर्यटक चुङसी गुफा अवलोकन गर्न जाने गर्दछन् । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले भेनाखोलाको फेदीबाट चुङसी गुफा जोड्ने पहाडको उकालोमा रेलिङसहितको ढुङ्गाको सिँढी बनाएर पदमार्ग निर्माण गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो । केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । भेनाखोलाको किनारमा पदमार्ग संरक्षणका लागि तटबन्ध गरिएको छ । पदमार्ग निर्माणका लागि रु ३० लाख लगानी गरिसकेको र सडक स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको उहाँले बताउनुभयो । पैदलयात्रा गर्न चाहने पर्यटकका लागि समरबाट चुङसी गुफा हुँदै साङबोचे जोड्ने परम्परागत पदमार्गलाई स्तरोन्नति गरिएको छ । सडकमा सवारीसाधनमा यात्रा गर्न नरुचाउने विदेशी पर्यटकले यो पदमार्ग प्रयोग गर्छन् ।
पोखरा: गण्डकी प्रदेशमा नेकपा एमालेबाट नियुक्त भएका ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । नवलपुरकी पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी, बागलुङका कृष्ण पाठकले स्वास्थ्य, पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीका रुपमा शपथ लिएका छन् । गण्डकीमा ७ बाट बढाएर ९ मन्त्रालय बनाएपछि काँग्रेसले ५ र एमालेले ४ मन्त्रालय पाएको हो । सामाजिकबाट फुटाएर स्वास्थ्य बनाइएको हो भने एउटै मन्त्रालय रहेको उद्योग तथा पर्यटन र वन तथा वातावरणलाई दुई वटा बनाइएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङेको जिम्मेवारी हेरफेर गर्दै वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो । ४ मन्त्री नियुक्ति गरेर शपथ खुवाएसँगै गण्डकीको मन्त्रिपरिषदले पूर्णता पाएको छ । नेपाल समाजवादी पार्टीका फणीन्द्रको मन्त्रालय यथावत राखिएको छ भने कांग्रेसबाट मुख्यमन्त्री पाण्डेसँगै आर्थिक मामिलामा डा। टकराज गुरुङ र समाजिक विकासमा विन्दुकुमार थापा छन् । केन्द्रमा कांग्रेस–एमाले समीकरण बनेको २ महिनापछि गण्डकीको मन्त्रिपरिषदले पूर्णता पाएको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा परम्परागत रुपमा मनाइने फालो (भदौरे मेला) केही वर्षयता सञ्चालन गर्नै कठिनाइ भएको छ । रोजगारी, शिक्षा र अवसरको खोजीमा युवाहरु विदेश र सहर पसेपछि हरेक वर्ष भदौको मध्यमा तीन दिन मनाइने भदौरे मेलामा नाच्ने युवा नै पाउन छोडिएको हो । भदौरे मेला ठिनीवासीको प्रमुख पर्व हो । आइतबार सकिएको ठिनीको भदौरे मेलाका संयोजक सवी थकालीले युवा जनशक्ति नभएपछि तीन दिन मनाउने भदौरे मेला पछिल्लो केही वर्षयता दुई दिन मात्र सञ्चालन गर्नुपरेको जानकारी दिनुभयो । “ठिनीवासीले मनाउने सबैभन्दा ठूलो पर्व भदौरे मेला हो”, उहाँले भन्नुभयो, “मेलामा देखाउने नृत्यका लागि कलाकार जनशक्तिको कमी र गाउँमा भएकाहरुको कार्यव्यस्तताले मेला अवधि छोट्याइएको हो ।” विद्यालय पढ्ने उमेर समुहका किशोर किशोरी र ज्येष्ठ नागरिकको भरमा भदौरे मेलाको याक, झाँक्री, थकोर्चेन, योद्धा, ढोङग्रीलगायत नाचलाई निरन्तरता दिइएको थकालीले बताउनुभयो । पहिले युवा मात्र सहभागी हुने नाचमा पछिल्लो समय पाकाका साथै किशोरावस्थाका कलाकारहरु धेरै हुुने गरेका छन् । यहाँ खेतीबाली लगाएर सकिएपछि फुर्सदिला भएका गाउँलेलाई मनोरञ्जन र हिउँद सुरु भएको सन्देश दिन भदौरे पर्व मनाउने चलन छ । तल्लो मुस्ताङका थकाली समुदायको बसोबास रहेका यी बस्तीमा जनैपूर्णिमा पर्व पछि फरक फरक तिथिमा फालो मनाउने गर्छन् । भदौरे मेलामा थकाली संस्कृतिमा आधारित मौलिक नृत्यका साथै समाज र देशमा भइरहेका विकृति, विसङ्गतिलाई ब्यङग्यमार्फत खबरदारी गर्ने चलन रहेको ठिनीको जनमुुक्ति युवा क्लबका सचिव नीरज थकालीले बताउनुभयो । लामाहरुबाट गुम्बामा देवीदेवताको पूजाआजाका साथै संस्कार, संस्कृति, प्रकृति, वातावरण संरक्षणसँग सम्बन्धित सन्देशमूलक नाटक प्रर्दशन हुुन्छन् । भदौरे मेला र मौलिक नाचहरु लोप हुन नदिन पाका पुस्ताका कलाकारबाट किशोर किशोरीहरुलाई नृत्य कला र सीप हस्तान्तरण गराउने प्रयास भइरहेको घरपझोङ–५ ठिनीका वडा अध्यक्ष प्रदिप थकालीले बताउनुभयो । भदौरे मेला अवलोकनका लागि ठिनीमा देशका विभिन्न ठाउँका साथै विदेशी पर्यटकहरु पनि आउने गरेका छन् । पृथक भूगोल, ताल तलैया, गुम्बा, गुफालगायत प्राकृतिक, धार्मिकस्थल मुक्तिनाथ, दामोदरकुण्ड, कागबेनीबाहेक मौलिक कला, संस्कृति र मेला पर्वहरु पनि मुस्ताङमा पर्यटक भित्र्याउने माध्यम हुन् ।
पोखरा: नेकपा एमालेले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार नवलपुरकी पद्मा जिसी श्रेष्ठ, पर्वतका मित्रलाल बस्याल, कास्कीका प्रकाशबहादुर केसी, बागलुङका कृष्णप्रसाद पाठक मन्त्री बन्ने पक्कापक्की छ । एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले भने शपथको समयमै मन्त्रीबारे थाहा हुने बताए । सम्भावित मन्त्रीलाई शपथका लागि तयार रहन भनेर खबर गरिसकिएको छ । एक जना मन्त्रीका स्वकीयले पुष्टि गरे, ‘आजै शपथ गर्ने कुरा छ । १ बजे भन्ने आएको छ ।’ प्रदेश प्रमुखको निवासमा आज एक बजे नवनियुक्त मन्त्रीलाई शपथ गराउने तयारी छ ।
दमौली: तनहुँको व्यास नगरपालिका–३ सेतीमादी नदी किनारमा निर्माण गरिएको खुला व्यायामशालामा सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । वडावासीलाई स्वस्थ र तन्दुरुस्त बनाउन तथा व्यायाम गर्ने बानीको विकास गर्न वडा कार्यालयले सेतीमादी सामुदायिक वनभित्र खुला व्यायामशाला निर्माण गरेको हो । व्यायामशालामा दैनिक सर्वसाधारणको घुइँचो लाग्छ । स्वस्थ जीवनका लागि व्यायाम अतिआवश्यक रहेको र वडाले निर्माण गरेको खुला व्यायामशाला सर्वसाधारणको ध्यान खिच्न सफल भएको व्यास नगरपालिका–३ सिर्जनाटोलका त्रिभुवन श्रेष्ठले बताउनुभयो । स्थानीय प्रेमप्रसाद पौडेलले खुला व्यायामशालाको संरक्षण महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सर्वसाधारणको बाक्लो उपस्थितिले यसको संरक्षणमा चुनौती थपिएको छ । यहाँ टिकट प्रणाली लागू गरेर यसको संरक्षणमा ध्यान दिनुपर्छ ।” शारीरिक स्फूर्ति र शरीरका लागि आवश्यक व्यायामका लागि बनाइएको खुला व्यायामशाला वडावासीले निःशुल्क प्रयोग गर्न सक्ने वडाध्यक्ष अनुप रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरमा खुला व्यायामशालाको आवश्यकता थियो, त्यसका लागि कहाँ बनाउने भन्ने छलफलपछि यो ठाउँ उपयुक्त देखियो ।” उहाँका खुला व्यायामशालामा बालबालिका, युवा र वृद्धवृद्धा व्यायाम गर्न आउने गरेका छन् । जिम हाउसमा पैसा तिर्नपर्ने तर खुला व्यायामशाला निःशुल्क प्रयोग गर्न सकिने भएकाले यसतर्फ आकर्षण बढ्ने विश्वास गरिएको छ । रु १३ लाखको लागतमा खुला व्यायामशाला निर्माण गरिएको हो । यहाँ विभिन्न १६ प्रकारका व्यायाम सामग्री जडान गरिएका छन् । व्यायामशाला क्षेत्रलाई सुरक्षित बनाउन तारबारसहित सिसी क्यामेरा जडान गरिएको छ । व्यायामशालाको नजिकै प्रसिद्ध व्यास गुफा क्षेत्र रहेकाले धार्मिक तथा पर्यटकीय हिसाबले पनि यो ठाउँ उपयुक्त रहेको वडा सदस्य दधिराज घिमिरेले बताउनुभयो ।