काठमाडौं:  नेपाली कांग्रेसले संविधान संशोधनलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने निर्णय गरेको छ । कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट नेकपा एमालेसँग भएको सहमतिअनुसार संविधान संशोध...

अर्थमन्त्री डा.प्रकाशशरण महत र बेलायतका ट्रेजरी लर्ड्स मन्त्री बारोनेस पेनबीच लण्डनमा रहेको अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ ।   हिजो भएको भेटका क्रममा अर्थमन्त्री डा महतले बेलायतका तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह गर्नुभयो । उहाँले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको स्मरण गर्दै हरित ऊर्जामा दीर्घकालीन वित्तीय स्रोत उपलब्ध गराउनसमेत आग्रह गर्नुभयो ।   त्यसैगरी उहाँले बेलायतको तर्फबाट जलवायु परिवर्तनको न्यूनीकरणका लागि गरिँदै आएको लगानी नेपालमा थप वृद्धि गर्न पनि अनुरोध गर्नुभएको अर्थमन्त्री डा महतको सचिवालयले एक विज्ञप्ति प्रकाशन गरी जनाएको छ ।   ट्रेजरीमन्त्री पेनले नेपालको आर्थिक विकासमा बेलायतले सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने बताउनुभयो । उहाँले ‘ग्रीन फाइनान्स’ क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बेलायतको निजी क्षेत्रलाई नेपालको हरित ऊर्जाको क्षेत्रमा लगानी बढाउन प्रोत्साहन गर्ने बताउनुभयो । भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र नियोग उपप्रमुख रोशन खनालको पनि सहभागिता थियो ।   लण्डनमा रहेको नेपाली राजदूतावासले गर्न लागेको लगानीसम्बन्धी उच्चस्तरीय सम्मेलनमा भाग लिन लण्डन आउनुभएका मन्त्री डा महतले नेपाली राजदूतावासको आयोजना र डोल्मा फाउण्डेशनको सहकार्यमा सोमवार भएको नेपालको नवीकरणीय ऊर्जाको विकासमा दीर्घकालीन वित्तीय विकल्प विषयक अन्तरक्रियामा सहभागी हुनुभएको थियो ।   मन्त्री डा महतले नेपाल सरकारले विदेशी लगानीको सुरक्षाको प्रत्याभूति गर्ने बताउँदै वैदेशिक लगानीकर्ताले लाभांश फिर्ता लैजाने प्रक्रियालाई सरल बनाउनेतर्फ नेपाल सरकार लागेको जानकारी दिनुभयो । उहाँले लगानीको वातावरण सुधार गर्न देशको कन्ट्री क्रेटिड रेटिङ्गको प्रक्रिया शुरु भइसकेको पनि जानकारी दिनुभयो । डोल्मा फाउण्डेशनका टिम गोचर र जापनिज बैंक एमयूएफजीका क्रिस्टोफर मार्कसले कर्पोरेट ग्रीन बन्डको बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।   यसैगरी स्टाण्डर्ड चार्टर्ड बैंकका आदिल अन्सारीले सोभरियन बन्ड र नवनिर्वाचित लर्ड मेयर प्रो माइकल मेनिलीले पोलिसी पर्फमेन्स बन्डका बारेमा धारणा राख्नुभएको थियो । राजदूत आचार्यले लगानीका लागि नेपाल उर्बरभूमि रहेकाले लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उहाँ यहाँ  आइपुग्नुभएको हो । महासचिव अन्नपूर्ण बेसक्याम्पबाट भैरहवा हुँदै लुम्बिनी आउँदै हुनुहुन्छ ।     लुम्बिनीमा प्रधानमन्त्री दाहाललाई लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटनमन्त्री सुदन किराती, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामालगायतले स्वागत गर्नुभएको छ ।     महासचिव गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसङ्घका छैटौँ महासचिव हुनुहुन्छ  । रासस

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ जानु भएको छ ।   हिजो पोखरामा बास बसेका उहाँ जलवायु परिवर्तन र हिमालयले भोगेको समस्या बुझ्न अन्नपूर्ण आधार शिविरतर्फ लाग्नु भएको छ । त्यहाँ गुटेरेसले स्थानीय बासिन्दासँग केहीबेर अन्तर्क्रिया गर्नुहुनेछ । उहाँको भ्रमणले अन्नपूर्ण आधार शिविर जोगाउन सरोकारवालाले चासो दिनेमा स्थानीय बासिन्दा आशावादी छन् । उनीहरुले जलवायु परिवर्तनले पारेको असरबारे महासचिव गुटेरेसको ध्यानाकर्षण गराउने छन् ।   हिजो गुटेरेसले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले जनजीवनमा पारेको प्रभावका बारेमा छलफल गर्नुभएको थियो । नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।   अन्नपूर्ण आधारशिविरबाट फर्किएपछि अहिले बिहान ८ बजे पोखरा विमानस्थलमा पत्रकारसँग कुराकानी गरेर त्यसपछि उहाँले लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम छ । गुटेरेसको लुम्बिनी भ्रमणका लागि लुम्बिनी विकास कोषले भ्रमणको सम्पूर्ण तयारी पूरा गरेको छ । गुटेरेसलाई लुम्बिनीमा भव्य रुपमा स्वागत गर्ने तयारी छ ।   गुटेरेसलाई सबैभन्दा पहिले शान्ति दीपमा लगिने र शान्ति दीपबाट मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, अशोक स्तम्भहरूको निरीक्षण गर्नुहुनेछ । लुम्बिनीमा डेढ घण्टा बिताएपछि गुटेरेस काठमाण्डौ फर्किने कार्यक्रम रहेको छ । दिउँसो ४ बजे सङ्घीय संसद्का दुवै सदनलाई उहाँले सम्बोधन गर्ने कार्यक्रम छ ।

काठमाडौं:    नेकपा (एमाले)ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ ।  पार्टीले सबै  जिल्ला र पालिका तहलाई माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउनसमेत निर्देशन दिएको उहाँले बताउनुभयो । पार्टीका जनसङ्गठनको प्रदेश तथा जिल्ला तहका अधिवेशन आगामाी मङ्सिर र वडा कमिटीको अधिवेशन चैत मसान्तभित्र आयोजना गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।  पार्टीले वडा कमिटीको अधिवेशनसँगै पुनः फागुन र चैत्रमा पार्टी सदस्यता नवीकरण अभियान सञ्चालन गर्ने भएको छ । गत साउनमा गरिएको पार्टी सदस्यता अभियान र नवीकरणमा करिब पाँच लाख ५० हजार पार्टी सदस्यता पुगेका छन् । केन्द्रीय सङ्गठन विभागबाट प्रमाणीकरण गरिएको नवीकृत सदस्यहरूको सूचीमा रहेका पार्टी सदस्यले मात्र स्थानीय पार्टी अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउने छन् ।  यस्तै साउनदेखि रोकिएको सदस्यता स्थानान्तरण कार्यलाई पनि खुला गर्ने निर्णय गरेको विभागका सचिव ढुङ्गेलले जानकारी दिनुभयो । सदस्यता स्थानान्तरण गर्न चाहने सदस्यले सम्बन्धित जिल्लाको अधिवेशनको मिति नतोकिँदासम्म आफ्नो सदस्यता स्थानान्तरण गर्न पाउने छन् । पार्टीले विभिन्न कारणले कारबाहीमा परेकालाई लिखितरुपमा आत्मालोचना गरेको अवस्थामा पार्टी काममा फर्काउने समेत निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

पोखरा:   नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषदका सदस्य दलबहादुर गुरुङ नेकपा एमाले प्रवेश गरेका छन् ।  नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित कमिटीको शपथ ग्रहण समारोहमा एसका केन्द्रीय सल्लाकार परिषद्का सदस्य गुरुङ सहित ८५ जना एमालेमा प्रवेश गरेका हुन् ।  सोही कार्यक्रममा नेकपा एसका कास्की जिल्ला सचिवालय सदस्य पदम गुरुङ,बाबुराम भण्डारी,युवा संघ कास्कीका अध्यक्ष असिम गुरुङलगायत विभिन्न पार्टीका ८५ जना कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

पोखरा:   नेकपा एमालेका अध्यक्ष केपी ओलीले २०८४ को निर्वाचनमा हरेक वडामा एमालेको ५१ प्रतिशत मत ल्याउने गरी काम गर्न नवनिर्वाचित गण्डकी प्रदेश कमिटीलाई निर्देशन दिएका छन् ।  नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित कमिटिको शपथ ग्रहण कार्यक्रममलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले एमालेको सरकार निर्माण गर्न स्वच्छ र निष्पक्ष ढङ्गले चुनाव जित्न हरेक वडामा एमालेको ५१ प्रतिशत मत ल्याउने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिए ।     ‘हामीले बुट कब्जा गरेर चुनाव जित्दैनौ, जनताको मन जितेर चुनाव जित्ने हो’, अध्यक्ष ओलीले भने, ‘२०८४ को चुनावमा हरेक वडामा एमालेको ५१ प्रतिशत मत आउने गरी काम गर्नुहोला ।’ उनले मिसन ०८४ मा एमालेको बहुमतसहित सरकार बनाउन कार्यकर्ता, नेताले इमान्दार भएर काम गरे सम्भव भएको उल्लेख गरे । ‘हामी चुनाव जित्न नेता कार्यकर्ता इमान्दार हुनुपर्छ, चुनाव जित्नका लागि एकता चाहिन्छ’, उनले भने, ‘जनताको मन जित्न अनुशासित, इमान्दार र सक्रिय भएर लागे मात्र हामी सफल हुन्छौ ।’ अध्यक्ष ओलीले कम्युनिष्ट एकता नचाहेकाहरुले दुईतिहाइको सरकार ढालेर कांग्रेसको करेसाबारीमा बास मागेको समेत आरोप लगाएका छन् ।  उनले दुईतिहाइको सरकार ढालेर नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नेकपाको दुईतिहाईको सरकार ढालेको आरोप लगाएका थिए ।  

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक दिनको २ः३० बजे पार्टी कार्यालय बालकुमारीमा बस्दै छ ।    मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा आजको बैठकमा छलफल हुने पार्टी सचिवालयले जनाएको छ । बिन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो ।    साथै बैठकमा पार्टीको सङ्गठन विस्तार तथा सुदृढीकरण सम्बन्धी ३ महिने अभियानबारे समेत समीक्षा हुने एजेन्डा रहेको जनाएको छ ।

काठमाडौं:     नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरूप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताउनुभएको छ । बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “दलहरूप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु ।” राजनीतिक दलहरूले आफूलाई जनताका बिचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “ राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन ।” कांग्रेस पार्टीभित्र बेमेल भइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले पार्टीभित्र बेमेल रहेको कुरा सत्य होइन भन्नुभयो । उहाँले भन्नुभयो, “दलभित्रको फरक मत हुन सक्लान्,यसलाई हामीले व्यवस्थापन गरिरहेका छौँ ।” सो अवसरमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्कटका बेला दल हातेमालो गर्दै अगाडि बढेको विगतका घटना स्मरण गर्दै अबका चुनौतीलाई हल गर्न पनि दल एक हुनुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दलबिच सद्भाव बाँड्ने परम्पराका रूपमा चियापान कार्यक्रम हुँदै आएको उल्लेख गर्दै चियापानले दलहरूप्रति संवाद आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभयो । शुभकामना आदानप्रदान कार्यक्रममा सभामुख देवराज घिमिरे, पूर्वसभामुखद्वय दमननाथ ढुङ्गाना र अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत चेन सङलगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ । बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले नेपाली जनताको आवश्यकता सम्बोधन गर्न उक्त भ्रमणबाट महत्त्वपूर्ण सहयोग मिल्ने छ भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले राष्ट्र सङ्घका महासचिवले नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तन, शान्ति प्रक्रिया र नेपालको आर्थिक विकासको लक्ष्यबारे सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । महासचिवको भ्रमणलगत्तै कतारका राजा पनि नेपाल भ्रमणमा आउन लाग्नुभएको जानकारी दिँदै उहाँले नेपालको कूटनीतिक सफलताको परिणामस्वरूप उच्चस्तरीय भ्रमण हुन लागेको बताउनुभयो । “यसबिचमा मैले भारत, अमेरिका र चीनको भ्रमणको सन्दर्भमा जुन कूटनीतिक पहल भए त्यसैको परिणामस्वरूप संयुक्त राष्ट्र सङ्घका महासचिव र कतारका राजा नेपाल आउँदै हुनुहुन्छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । चाडपर्वमा हुने चियापान कार्यक्रमले आपसी एकता अभिवृद्धि गर्न मात्रै नभई देशको राष्ट्रिय राजनीतिलाई पनि स्थिरतातर्फ लैजान सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । “मुलुकलाई सहमति र समझदारीको बाटोमा लैजाने तथा जनताको अपेक्षाअनुसार विकास निर्माण र समृद्धिलाई अघि बढाउन चियापानले कुनै न कुनैरुपले सहयोग गर्दै आएको छ”, उहाँले भन्नुभयो । आफूले प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेदेखि नै राजनीतिक दलहरूका बिचमा समझदारी बनाउन प्रयास गर्दै आएको उहाँको भनाइ छ । मुलुकमा अराजकता सृष्टि गर्ने उद्देश्यका साथ राजनीतिक दलहरूमाथि प्रश्न उठाउने गरिएको उल्लेख गर्दै उहाँले सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएर त्यस्ता प्रवृत्तिलाई गतिलो जवाफ दिने तयारी भइरहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता तथा कार्यकर्तामा शुभकामना व्यक्त गर्न गर्नुभयो । चियापान संस्कृति बिपी कोइराला जीवितै हुँदा उहाँले नै सुरु गर्नुभएको स्मरण गर्दै उहाँले आपसी एकता र सद्भाव वृद्धि गर्न चियापान संस्कृतिले भूमिका खेल्दै आएको बताउनुभयो ।