गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ । विदेशमा रहेका नेपालीहरुका लागि भने गएरातिदेखि नै अनलाइन भोटिङ खुला गरिएको छ । अनलाइनबाट चौबीस घण्टाभित्र मतदान गरिसक्नुपर्ने व्यवस्था छ । नेपालमा रहेका प्रतिनिधिहरुलाई भने बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म मतदानको समय तोकिएको छ । ४ हजार २ सय २७ प्रतिनिधिमध्ये झण्डै ९ सय प्रतिनिधिले नेपालबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । एनआरएनएको ११ औँ महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ । एनआरएनएले ९६ हजार संगठित सदस्य रहेको जनाएको छ । एनआरएनएमा ७४ पदका लागि एक सय २० जनाको उम्मेदवारी रहेको छ । अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुईजनाबीच प्रतिस्पर्धा हुँदैछ । दुई उपमहासचिवमा पाँच जनाले र ६ सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराए पनि रविना थापाले अध्यक्ष पदका अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ । अब अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्माबीच प्रतिष्पर्धा हुँदैछ । अध्यक्षका प्रत्याशी तीन जना प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको बताउनुभएको छ । बुधबार मुस्ताङमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । यसैगरी, प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा ९माओवादी केन्द्र० मुस्ताङ जिल्लाको भेलालाई सम्बोधन र विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्ने नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभएको छ । मुस्ताङमा १३५ नेता–कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । भेलामा प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गरिरहेको छ । यो देशमा सुशासन कायम गर्न, जनताको जीवनमा परिवर्तन ल्याउन, अर्थतन्त्रलाई गति दिन हामीले मात्रै सक्छौँ । त्यो इच्छाशक्ति, दृढता र योजना हामीसँग मात्रै छ । सरकार र पार्टीलाई जोडेर परिवर्तनको पक्षमा नयाँ वातावरण सिर्जना गर्न पार्टीले विशेष अभियान सञ्चालन गरिरहेको छ । यसपछि पनि अभियानले निरन्तरता पाउनेछ । हामीले शक्तिशाली पार्टी निर्माण गर्नेछौँ ।’’ उहाँले थप्नुभयो, “मेरो तेस्रो कार्यकाल सम्पूर्ण रूपले देश र जनताको हितमा अधिकतम सदुपयोग गर्न कोसिस गरिरहेको छु । मैले नेतृत्व सम्हाल्दै गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो, अहिले राम्रो सुधार आएको छ । सबै सूचकहरू सकारात्मक छन् । जनतामा अब केही हुन्छ भन्ने विश्वास जागेको छ । तसर्थ, सरकारले गरेका राम्रा काम जनतामा लैजान र सम्पूर्ण पार्टी जनसेवामा केन्द्रित हुन जरुरी छ । यसले हामी फेरि शक्तिशाली तुल्याउनेछ, जनताको भरोसाको मुख्य केन्द्रका रूपमा स्थापित गर्नेछ ।’’ प्रधानमन्त्रीले मुस्ताङको विकास र जलवायु परिवर्तनले ल्याएका नयाँ सङ्कट र जोखिमहरू न्यूनीकरण गर्न सरकार गम्भीर रूपमा लाग्नेसमेत बताउनुभयो । भेलामा विभिन्न पार्टी परित्याग र विभिन्न सामाजिक व्यक्तित्व गरी १३५ जना नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरूलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेल, केन्द्रीय सदस्य हरिराज अधिकारी, गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसँै तिहार, नेपाल संम्वत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका प्रमुख शुरेशबहादुर भट्टराईलगायत उपत्यकाभित्रका वितरण केन्द्र प्रमुखलाई उहाँले कुनै एउटा घरबाट पनि गुनासो नआउने गरी सहजरूपमा नागरिकले विद्युत् पाउने प्रबन्ध गर्न निर्देशन दिनुभएको हो । “ कुनै पनि नागरिकले गुनासो गर्ने अवस्था नआओस् । वर्षदिनभर राम्रो काम गरेपनि चाडपर्वको समयमा एकाध मिनेट समस्या आउँदा त्यसले राम्रो गर्दैन । काम नगरे सरह नै हुन्छ । त्यसकारण जिम्मेवार भएर २४ सै घण्टा सेवामा क्रियाशील हुनुस् ” मन्त्री बस्नेतले भन्नुभयो “पूर्णरूपमा जिम्मेवार भएर काम गर्नुस् ।”चाडपर्वको समयमा उद्योग प्रतिष्ठानलाई पनि बढी भन्दाबढी बिजुली उपलब्ध गराउन निर्देशन दिँदै उहाँले बढी भएको बिजुली खेर नजाने वातावरण बनाउनसमेत सुझाव दिनुभयो । चाडपर्वमा उद्योग प्रतिष्ठान, होटल, व्यवसाय तथा व्यापारिक प्रतिष्ठानमा बिजुलीको माग कम हुने भएकाले बिजुली खेर जाने अवस्था आउने प्राधिकरणका कर्मचारीले जानकारी दिएपछि मन्त्री बस्नेतले भन्नुभयो “सकेसम्म बिजुली खेर जान नदिनुस् ।” उहाँले प्राधिकरणका नो लाइट सेन्टरलाई थप जिम्मेवार बनाउन, ग्राहकले गुनासो गर्ने वित्तिकै फोन उठ्ने प्रबन्ध गर्न तथा कुनै समस्या आइहाले एकाध मिनेटमै उपभोक्ताको घरसम्म पुग्ने गरी द्रुर्त टोली व्यवस्थापन गर्न आग्रह गर्नुभयो । मन्त्री बस्नेत प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत हुनुहुन्छ । सो अवसरमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले उपभोक्तालाई केन्द्रमा राखेर सेवा उपलब्ध गराउन प्राधिकरणका कार्यकारी निर्देशकलगायतका कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले जिम्मेवार र चनाखो भएर सामान्य समयभन्दा चाडपर्वको समयमा कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले २४ सै घण्टा परिचालन हुने गरी काठमाडौँ उपत्यका र सहरी क्षेत्रमा जनशक्तिको व्यवस्थापन र परिचालन गरिएको बताउनुभयो । उहाँले चाडपर्वको समयमा आफै नियमित वितरण केन्द्रको अनुगमन रनिरीक्षणका लागि निस्कने जानकारी गराउँदै कुनै पनि उपभोक्ताले गुनासो नआउने गरी काम गरिने बताउनुभयो । चडपर्वको समयमा उद्योग प्रतिष्ठानमा पनि कम क्षमतामा विद्युत उपभोग हुने भएकाले बिजुलीको माग कम हुँदा केही बिजुली खेर जाने अवस्था रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ थियो । “सकेसम्म बिजुली खेर जान नदिन हामीले प्रयास गरेका छौँ । खेर जानसक्ने बिजुली भारतीय बजारमा पठाउने तयारी पनि छ तर अन्तिम सहमति आइसकेको छैन” उहाँले भन्नुभयो । प्राधिकरणले थप एक सय मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्ने तयारी गरेको छ । त्यसका लागि अनुमति आउन बाँकी छ । कार्यकारी निर्देशक घिसिङले सकेसम्म कुनै पनि स्थानमा समस्या आउन नदिने गरी प्राविधिक तयारी गरिएको जानकारी दिँदै देशैभरका कर्मचारीलाई चाडपर्व भनेर छुट नदिइएको बताउनुभयो । सो अवसरमा उपकार्यकारी निर्देशक सिलवाल, भार प्रेषण केन्द्रका प्रमुख भट्टराईले प्राधिकरणले गरेको तयारीका बारेमा जानकारी गराउनुभएको थियो । रासस
जोमसोम, कात्तिक १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिङ्गो विश्वको साझा दायित्व भएको बताउनुभएको छ । बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्रीले आफू अन्तर्राष्ट्रिय मञ्चहरूमा यसबारे गम्भीर रूपमा विषय राखेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘‘पछिल्लो समय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ । हिमालय क्षेत्रमा यसको गम्भीर देखिएको छ । मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष सुन्ने अवसर प्राप्त गरें । मैले संयुक्त राष्ट्रसङ्घको महासभा, रोममा आयोजित विश्व खाद्य सम्मेलनमा यसबारे गम्भीर रूपमा कुरा राखेको छु ।’’ ‘‘हिमालको संरक्षण भएन भने विकसित भनिएका मुलुकहरूसमेत सुरक्षित रहँदैनन् । जलवायु परिवर्तनको मुद्दा नेपालको मात्र नभएर विश्वको साझा मुद्दा हो,’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘कोप सम्मेलनमा पनि यस विषयमा नेपालको गम्भीरपूर्वक विषय राख्नेछ । विकसित मुलुकहरूको कारण नेपाल जस्ता देशहरूले बेहोरेको क्षतिवापत हामीले अनुदान पाउनुपर्छ ।’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मुस्ताङ जिल्ला बहुआयमिक विशेषता बोकेको जिल्ला हो । स्याउ उत्पादन र अन्य उत्पादनका दृष्टिले पनि यो महत्त्वपूर्ण छ, मुक्तिनाथ लगायत धार्मिक एवम् सांस्कृतिक पर्यटनका केन्द्रहरू पनि यहाँ छन् । कोरला नाकाको विशेष रणनीतिक महत्त्व छ । तसर्थ यहाँको जलवायु संरक्षण सरकारको प्राथमिकतामा छ ।’’
काठमाण्डौ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था सामान्य रहेको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले हिजो साँझ विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको अवस्था सामान्य रहेको जनाएको छ । स्वास्थ्य अवस्था सामान्य देखिएपछि उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । प्रधानमन्त्री दाहाल हिजो दिउँसो छातीमा केही असहजता महसुस भएकाले स्वास्थ्य जाँचका लागि अस्पताल जानुभएको थियो । अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री दाहालको रगत परीक्षण गर्दा ‘कार्डियाक इन्जाइम पोजेटिभ’ देखिएकाले उहाँको उपचारमा संलग्न चिकित्सकहरूद्वारा ‘एन्जियोग्राफी’ परीक्षण गरिएको र रिपोर्ट सामान्य रहेको छ ।’ प्रधानमन्त्री दाहालको उपाचारमा डा युवराज शर्मा, डा.यादव भट्ट र डा जेपी जयसवाल संलग्न रहेको अस्पतालले जनाएको छ ।
विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार (आज) विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । मंगलबार (हिजो) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको कार्यसूचीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपाली कांग्रेसको शेखर कोइराला समूहका कार्की नेकपा एमालेका प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई एमालेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन् । राप्रपा र जसपाले भने विश्वासको मत दिने कि नदिने भनेर निर्णय गर्न बाँकी छ । विश्वासको मत प्राप्त गरेपछि सरकार विस्तार गर्ने कार्कीको तयारी छ । उनले कति सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने र कुन(कुन दललाई सहभागी गराउने भन्ने टुंगो भने लागिसकेको छैन । कार्कीलाई मुख्यमन्त्री बनाउन सघाएको एमालेले पाँच मन्त्रालयमा दाबी गरेको छ । यसैगरी मन्त्रिपरिषदमा केन्द्रको सत्ता गठबन्धन सहभागी भए आफू बाहिरिने एमालेले जनाएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरक्षाकर्मीलाई साधन स्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभएको छ । ६८औँ वार्षिकोत्सवका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा आयोजित कार्यक्रममा उहाँले सीमित साधन स्रोतका बीच पनि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै उहाँले समयानुसार बढिरहेको सुरक्षा चुनौतीलाई सामना गर्ने गरी सधन स्रोत सम्पन्न बनाउनु जरुरी भएको बताउनुभयो । स्थापनाकालमा सात हजार पाँच सय जनशक्ति लिएर करिब ९७ लाख नागरिकको जीउधनको शान्ति सुरक्षाको जिम्मेवारीका साथ संगठित नेपाल प्रहरी हाल ८० हजार जनशक्ति लिएर तीन करोड नेपालीको सुरक्षा गरिहेको मुख्यमन्त्री पाण्डेले बताउनुुभयो । देशमा शान्तिसुरक्षा कायम राख्ने सवालमा मात्र नभई विपदका बेला पनि नेपालमा सुरक्षा संयन्त्रले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उहाँले बताउनुभयो । “भूकम्प, कोभिड, बाढी पहिरो, दुर्घटनालगायतका हरेक विपत्तिमा राज्यको पहिलो उपस्थितिको प्रतिनिधित्व सुरक्षाकर्मीले गर्दै आएका छन्”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । राज्य र आम नागरिकलाई शान्तिसुरक्षा दिनुपर्ने गहन जिम्मेवारी सुरक्षाकर्मीको रहेको उल्लेख गर्दै उहाँले सुरक्षाकर्मीसँग नागरिकको अपेक्षा धेरै रहेको बताउनुभयो । पीरमर्का लिएर आउने सेवाग्राहीको गुनासो वा विवरण राम्रोसँग सुनिदिने र कार्यान्वयनमा जटिलता तथा झन्झट पैदा नगर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले पटक–पटक कार्यालय धाइरहनुपर्ने वातावरणबाट मुक्तिका साथै नागरिकसँगको व्यवहार, आपतकालीन सहयोग आदिले संगठन भित्रको विश्वशनियता बढ्दै जाने बताउनुभयो । उक्त अवसरमा मुख्यमन्त्री पाण्डेले अमरत्व प्राप्त गर्ने प्रहरीहरुको सम्मानमा पुष्पार्पण गर्नुभएको थियो । कार्यक्रमका अवसरमा विभिन्न विधामा उत्कृष्टता हाँसिल गर्ने प्रहरी कर्मचारी, खेलकुदतर्फ उत्कृष्ट कर्मचारी, अमर तथा अशक्त प्रहरीका परिवारजलाई सम्मान गरिएको थियो । रासस
सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरू गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष बद्रि केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गरे। जिल्ला प्रशासन कार्यालय काठमाडौंले यही असोज २९ गते कार्यकारी अध्यक्ष केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा नागरिकता जारी गरेको थियो। ती नागरिकता दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए। नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ। विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको साविकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने संवैधानिक व्यवस्था छ। संविधान जारी भएको लामो समयपछि सरकारले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गरी गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था मिलाएको थियो। सतहत्तरवटै जिल्लाबाट गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था मिलाइएको गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए। गैरआवासीय नेपाली नागरिकताका लागि आजदेखि गैरआवासीय नेपालीले आवेदन दिन सक्नेछन्। आगामी कात्तिक १ गतेदेखि सबै जिल्ला प्रशासन कार्यालयबाट गैरआवासीय नागरिकता वितरण गरिने उनले बताए।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पर्सि बुधवार प्रदेशसभाबाट विश्वासको मत लिनु हुने भएको छ । अस्ति शनिवार नियुक्त भई हिजो आइतवार मात्रै शपथ लिनुभएका मुख्यमन्त्री कार्कीले हतार हतार आउँदो बुधवार नै विश्वासकाे मत लिन लाग्नुभएको हो । कार्की प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । यो धाराअनुसार नियुक्त हुँदा ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने व्यवस्था भए पनि कोशीमा देखिएको राजनीतिक उतारचढावका कारण उहाँले बुधवार नै विश्वासकाे मत लिन लाग्नुभएको हो । कांग्रेस नेता कार्कीले पार्टीमा विद्रोह गरेर एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । उहाँले एमालेका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई विनाविभागीय मन्त्री नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बुधवार कोशी प्रदेशसभा बैठक बोलाइएको छ । यसअघि असोज २० गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाएको बैठकमा उहाँले राजीनामा घोषणा गरेपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक अर्को मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि फेरि बोलाइएको हो । यदि कार्कीले विश्वासकाे मत लिन नसकेमा कोशी प्रदेशसभा मध्यावधि चुनावमा जाने छ ।