काठमाडौं: पुर्नगठित मन्त्रिपरिषद बिहीबार बसेको पहिलो बैठकले दुई वटा निर्णय गरेको छ । संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वुमन को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई स्वीकृति दिने एउटा निर्णय छ । साथै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय पनि भएको छ
काठमाडौं: मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मन्त्रीहरूको टुङ्गो लागेको र केही दलबाट औपचारिक पत्रसहितको नामावली आउनेक्रममा रहेको बताए । आजै अपराह्न ५ बजे मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराइने तयारी रहेको उनले बताए । नेकपा (माओवादी केन्द्रबाट) उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, ऊर्जामा शक्तिबहादुर बस्नेत, अर्थमा वर्षमान पुन र पर्यटनमा हितबहादुर तामाङको नाम टुङ्गो लागेको छ । मन्त्री भएका तामाङको शपथ भइसकेको छ । सोहीअनुसार सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा (एमाले) ले आठ जना मन्त्रीको टुङ्गो लगाएको छ । मन्त्री बन्नेमा केही नयाँ बाहेक यसअघि छोटो समय मन्त्रीको जिम्मेवारी पाउनुभएका पुरानै अनुहार रहेका छन् । नेकपा (एमाले) बाट रघुवीर महासेठको नेतृत्वमा पदम गिरी, ज्वालाकुमारी साह, दामोदर भण्डारी, भगवती चौधरी, हरि उप्रेती र राजेन्द्र राई मन्त्री बन्नुहुने नेता दामोदर भण्डारीले जानकारी दिए । एमालेलाई एक जना राज्यमन्त्री पनि दिने सहमति बनेको उनको भनाइ छ । महासेठलाई उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिने टुङ्गो लागे पनि अन्य मन्त्रीहरूको मन्त्रालय टुङ्गो लागिनसकेको उनले जानकारी दिए । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आफ्नो दलबाट मन्त्री हुने चार जनाको नाम टुङ्गो लगाएको छ । सो दलबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठलाई पठाउने निर्णय भएको सो दलका सहप्रवक्ता प्रतिभा रावलले बताए । शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयमा यो समाचार तयार गर्दासम्म औपचारिक पत्र भने पुगिनसकेको जानकारी प्राप्त भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्रीहरूको नाम भने आउन बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौं: नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् । महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।
दाङ: लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गरेका छन् ।मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका हुन् । केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण वर्तमान मन्त्रिपरिषदमा रहेका माओवादीबाट बनेका दुई मन्त्रीलाई बर्खास्ती गरिएको छ । मुख्यमन्त्रीले दुई वटा मन्त्रालय आफूसँगै राखेका छन् ।
पोखरा: नेकपा माओवादीले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र गण्डकी संसदीय दलका नेता हरिबहादुर चुमानले प्रदेशसभा सचिव हरिराज पोख्रेललाई समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् । यसअघि माओवादी केन्द्र गण्डकी संसदीय दलको बुधबार बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो । संसदीय दलको बैठक बसेर समर्थन फिर्ता लिने निर्णय गरेको नेता हरिबहादुर चुमानले बताए । ‘आजकै निर्णय अनुसार सुरेन्द्रराज पाण्डेलाई दिइएको समर्थन फिर्ता लिइएको छ,’ उनले भने । यसअघि नै मुख्यमन्त्री पाण्डेले माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई बर्खास्त गरिदिएका थिए । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा र भौतिक पूर्वाधार विकासमन्त्री रेशम जुग्जालीलाई बर्खास्त गरेका हुन् ।
काठमाडौं: नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्नेछ । बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा निर्णय हुनेछ । यसअघि मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालको घरमा पुगेर सत्ता गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।
काठमाडौं: नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले जानकारी दिए । उनले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, “हाम्रो कार्य सम्पादन समितिको बैठकमा विशेष गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जुन समर्थन गरेका थियौँ, विश्वासको मत दिएका थियौँ, आज यो बैठकबाट समर्थन फिर्ता लिएका छौँ।” प्रधानमन्त्रीलाई असहयोग भयो भन्ने जिज्ञासामा उनले मन्त्रीबाट असहयोग भएजस्तो नलागेको प्रतिक्रिया दिए । उनले भने, “समर्थन फिर्ताको कारणपट्टि नजाऔँ, धेरै कारण छन्। हामीले दिएको समर्थन फिर्ता लियौँ, धेरै भनिरहनु पर्दैन। मन्त्रीबाट असहयोग भयो जस्तो मलाई लाग्दैन। अनौपचारिक वार्ता पनि पटक–पटक भयो। मन्त्रीको कारणभन्दा पनि राजनीतिक चलखेल, नेपालको राजनीतिक प्रवृत्ति नै हो।”
काठमाडौं: आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा मन्त्रालय बाँडफाँट टुङ्गो लगाउने बारेमा निर्णय गर्ने बताइएको छ । मन्त्रीहरूको बाँडफाँडका लागि एमालेबाट महासचिव शङ्कर पोखरेल, नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ खटिएका छन् । यसअघि सोमबार बिना विभागीय मन्त्रीको रूपमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले मन्त्रीको शपथ ग्रहण गरेका छन् ।

