काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरोकारवालाहरूसँगको व्यापक छलफलपछि र संविधानसम्मत रूपमा विद्यालय शिक्षा विधेयक अगाडि बढाउनुपर्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा उहाँले विद्यालय शिक्षा विधेयक सरोकारवालासँगको परामर्शपछि मात्र अघि बढाउनुपर्ने बताउनुभयो । महरले भन्नुभयो, ‘‘नेपालको संविधानसँग बाझिने गरी विद्यालय शिक्षा विधेयक संसद्मा पेस भएको छ । सरकारले संविधान बाहिर गएर विधेयक ल्याउनुभएन ।’’ निजी विद्यालयको शुल्क निर्धारण स्थानीय तहलाई दिने प्रावधान संविधान विपरीत भएको उहाँको भनाइ छ । ‘‘हाम्रो संविधानले माध्यमिक तहसम्म शिक्षा निःशुल्क भनेको छ । तर विधेयकमा निजी स्कुलको शुल्क तोक्ने काम पनि स्थानीय सरकारबाटै हुने कुरा विरोधाभासपूर्ण भयो ।’’ उहाँले भन्नुभयो । शिक्षाबारे संविधानमा गरिएको प्रतिबद्धता कुन तहको सरकारले पूरा गर्ने भन्नेमा विद्यालय शिक्षा विधेयकमा अन्योल रहेको महरले बताउनुभयो । ‘‘संविधानमा अन्तर्राष्ट्रिय मापनको गुणस्तरीय शिक्षा बनाउने र २० प्रतिशतभन्दा बढी बजेट शिक्षा क्षेत्रमा बजेट छुट्याउने भनिएको छ । नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धी बनाउने भन्ने हाम्रो प्रतिबद्धता छ । यो प्रतिबद्धता कुरा गर्ने कुन तहको सरकारले गर्छ रु’’ उहाँको प्रश्न छ, ‘‘सरोकारवाला पक्षसँग कुनै छलफल नगरी ल्याएको विधेयकको स्वामित्व ग्रहण कसले गर्छ र ?’’ निश्चित केही व्यक्तिको इच्छामा आएको विधेयकलाई सरोकारवालासँग छलफल र विमर्शपछि मात्र अगाडि बढाउनुपर्ने महरको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘शिक्षा विधेयकमाथि पालिका महासङ्घ, शिक्षक, विद्यालय कर्मचारी लगायतको विरोध छ । विद्यार्थीले पढ्न नपाएपछि अभिभावक र विद्यार्थीको पनि विरोध हुने नै भयो । संविधानभित्रै रहेर सबैको माग सम्बोधन हुनुपर्छ ।’’ ‘‘शिक्षक साथीहरूले पनि विद्यार्थीको भविष्यमाथि जिम्मेवार हुनुपर्छ । विद्यालय शिक्षा विधेयकविरुद्धमा विद्यालय नै बन्द गरेर आन्दोलन भइरहेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘यसमा ७० लाख विद्यार्थीको भविष्य जोडिएको छ । विद्यार्थीको पढ्न पाउने अधिकार हनन् हुने कुरामा शिक्षक साथीहरू सहज हुनुपर्छ ।’’ शिक्षकका माग सम्बोधन गर्ने कुरामा पनि सरकार तयार भएर अगाडि आउनुपर्ने उहाँको भनाइ छ ।
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु नहुने बताएका छन् । बुधबार काठमाडौँको नक्सालस्थित नारायण चौरमा पार्टीले आयोजना गरेको ‘राष्ट्रिय झन्डासँग सेल्फी’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारले देखावटी रूपमा एउटा कुरा गर्ने र भित्रभित्र अर्को खालको व्यवहार देखाउनु नहुने बताएका हुन् । सरकारले सही क्रियाकलाप अघि नबढाउने लगायतका तौरतरिकाहरू सरकारले गर्नु नहुने भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले संविधान दिवस नेपाली जनताको साझा दिवस भएको पनि बताए । उनले उपलब्धिहरूलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलापहरू देखिने गरेको भन्दै त्यस्ता क्रियाकलापप्रति दुःख व्यक्त गरे । ‘संविधान दिवस सिङ्गो राष्ट्रको राष्ट्रिय दिवस हो । देशभित्र हाम्रो राष्ट्रिय भावना, हाम्रा राष्ट्रिय आकंक्षाहरु, समृद्ध नेपाल, सुखी नेपालीका राष्ट्रिय आकंक्षाहरु यस दिवसले समेटेको छ’, ओलीले भने, ‘कहीँ कतै हाम्रा उपलब्धिहरूलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलापबाट यस्ता प्रयासहरू छिटपुट रूपमा हुने गरेका देखिन्छन् । त्यस्ता क्रियाकलापप्रति म दुःख व्यक्त गर्न चाहन्छु ।’ राष्ट्रिय एकतालाई भङ्ग गर्ने खालका जुनसुकै काम, विचारहरू सकारात्मक कुरा हुन नसक्ने भन्दै ओलीले जनताको एकता, उन्नतिका लागि यस्ता विभाजनकारी प्रवृत्तिहरू, जनतामा खटपट ल्याउने प्रवृत्तिहरू, राष्ट्रिय एकतामा खलल पुर्याउने प्रवृत्तिहरू, क्षेत्रीय, साम्प्रदायिक, जातीयतावादी अथवा विभिन्न आस्थासँगका नाममा गरिएका उश्रृंखल खालका क्रियाकलापहरू राष्ट्रिय एकताको पक्षमा नभएको बताए । अध्यक्ष ओलीले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति सुव्यवस्था, सामाजिक न्याय समानता र राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
काठमाण्डौ: संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्युयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गर्नुभएको छ । मङ्गलवार राष्ट्रसङ्घका लागि अतिकम विकसित देशहरू तथा भूपरिवेष्टित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमाले प्रधानमन्त्री दाहालसँग भेट गर्नुभएको हो । न्युयोर्कमा रहेको नेपालको स्थायी नियोगले दिएको जानकारीअनुसार भेटका अवसरमा दुवैबीच सामूहिक चासोका विभिन्न विषय र अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
पोखरा: नेकपा एमाले गण्डकी प्रदेश कमिटीले यहि असोज १५ र १६गते पोखरामा आयोजना हुने प्रथम अधिवेशनको लोगो सार्वजनिक गरेको छ । प्रदेश कमिटी अधिबेशन प्रचार प्रसार समितिले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर लोगो सार्बजनिक गरेको हो। लोगो सार्बजनिक गर्दै एमाले सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले अधिबेसनलाइ ऎतिहासिक बनाउन भएका तयारीहरूको बारेमा जानकारी दिनुभयो । बैठकले अधिबेशनलाई सभ्य र भब्यरूपले सम्पन्न गर्न विभिन्न विभिन्न वटा उप समिति मार्फत ससक्त ढंगले तयारी अगाडि बढाइएको प्रचार तथा प्रसार उप समिति सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिनुभयो। अधिबेशनमा करिब ९०० जना प्रतिनिधि सहभागी हुने र असोज ९ गते प्रतिनिधि चयन हुने अध्यक्ष नबराज शर्माले जानकारी दिनुभयो । ने क पा (एमाले) गण्डकीको प्रथम अधिबेशनमको पार्टी अध्यक्ष के पि शर्मा ओलिले असोज १५ गते अमरसिंह चौरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
काठमाडौं: नापी कार्यालय लाहानमा कार्यरत अमिन (करार) दीपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग १० हजार घुस लिइसकेको अवस्थामा यादवलाई गत भदौ ६ गते नियन्त्रणमा लिएको थियो । सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवम् उजुरी निवेलनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिइ गएको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो । अख्तियारका प्रवक्ता भोला दाहालले यादवले सेवाग्राहीसँग घुस लिई भ्रष्टाचार निवारण एने अन्तर्गत कसुर गरेको पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार बिगो १० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को देहाय (क) बमोजिम कैद सजाय गरी सोही एनेको दफा ३ को उपदफा १ अनुसार बिगो बमोजिम जरिवानाको सजाय हुन मागदाबी लिइ आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने यतिबेला टिमसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा सक्रिय छन् । हालै रास्वपाले गोर्खाको गोर्खा नगरपालिका र पालुङटारमा सभाको आयोजना गरेको छ । सोही सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आगामी चुनावसम्म ठूला भनिएका दलमा केवल नेतामात्र रहने बताएका छन् । ‘सत्तामा रहेका र आफुलाई ठूला पार्टी भन्ने नेताहरु ०८४ सालसम्म कार्यकर्ताविहीन हुनेछन्’ लामिछानेले भने ‘उहाँका कार्यकर्ताहरु रास्वपामा आउनुहुनेछ, देशले पनि चाहेजस्तो रास्वपा देख्नुहुनेछ ।’ ‘नगर नगरमा रास्वपा’ भन्ने कार्यक्रम लिएर सभापति लामिछानेसहित नेताहरु स्वर्णिम वाग्ले, डा. तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी र रास्वपा गण्डकी सभापति राजन गौतमले गोर्खापछि लमजुङ्को राइनासमा भेला गरेका छन् । लमजुङपछि तनहुँको भानु र बन्दीपुरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरु रास्वपामा जोडिन चाहेको बताउँदै लामिछानेले सीप र ज्ञानसहित रास्वपा ८४ को निर्वाचनमा जनतासामु आउने बताए । गण्डकीका ३ जिल्लामा भेला समापनपछि केन्द्रीय जनसम्पर्क विभागका सदस्य उत्तमप्रसाद पौडेलले असोजको २२ देखि २८ गतेसम्म मुस्ताङ, बागलुङ्, पर्वत, म्याग्दी र स्याङजामा भेला आयोजना गर्न तयारी थालेको जानकारी दिए ।
काठमाण्डौ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अल्पविकसित देशहरुलाई सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेकाले विकसित देशहरुले आफ्नो प्रतिबद्धताअनुसारको वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्डले अल्पविकसित देशहरुको समूहको दिगो विकासका लक्ष्यसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । कोभिड–१९ महामारी, जलवायु परिवर्तन, भूराजनीतिक तनावजस्ता विभिन्न खालका सङ्कटको प्रभावले अल्पविकसित देशहरुलाई दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि समस्या भएको उहाँले बताउनुभयो । उहाँले अल्पविकसित राष्ट्रहरूलाई स्तरोन्नतिका लागि थप योजना ल्याइनुपर्ने प्रस्ताव सम्मेलनमा राख्नुभयो । विकसित देशहरूले प्रतिबद्धता जनाएअनुसार आफ्नो कूल राष्ट्रिय आयको शून्य दशमलव ७ प्रतिशत विकासोन्मुख देश र शून्य दशमलव १५ देखि शून्य दशमलव २० प्रतिशतसम्म अल्लविकसित देशहरुलाई विकास सहायताका रूपमा उपलब्ध गराउनुपर्नेमा प्रधानमन्त्रीको जोड छ । सन् २०२५ सम्ममा अल्पविकसित राष्ट्रहरूको ऋण सङ्कटलाई सम्बोधन गर्ने र समयमै त्यसको समाधान खोज्ने गरी प्राथमिकता निर्धारण गर्नुपर्ने अवस्था आइसकेको पनि उहाँले बताउनुभयो । दिगो विकास लक्ष्य प्राप्त गर्नु नेपालको पनि उच्च प्राथमिकताको विषय भएको र नेपालका नीति तथा योजनामा दिगो विकास लक्ष्य हासिल गर्नेगरी लक्ष्य तथा उद्देश्य निर्धारण गरिएको प्रधानमन्त्रीको भनाइ छ । त्यस्तै, नेपालले सन् २०२६ सम्ममा स्तरोन्नति भइसक्ने गरी काम गरिरहेको भन्दै उहाँले आन्तरिक स्रोत परिचालन गर्ने संस्थाको क्षमता बलियो बनाउन लागिरहेको उल्लेख गर्नुभयो । साथै उहाँले गरिबी उन्मूलन र असमानता घटाउनका लागि लागि परेको पनि बताउनुभएको छ ।
काठमाडौं: गएको मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित भएका एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि उक्त क्षेत्र रिक्त भएको छ । शुक्रबारको संसद बैठकमा सभामुख देवराज घिमिरेले संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त रहेको जानकारी सदनलाई गराए । निर्वाचित सदस्यको मृत्यु भएमा रिक्त भएको जानकारी सदनलाई जानकारी गराउनुपर्ने हुन्छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को (१) मा पनि सदनलाई जानकारी गराउनु पर्ने व्यवस्था छ । गत २६ भदौमा संविधानसभा अध्यक्ष एंव पूर्वसभामुख समेत रहेका नेम्वाङको निधन भएको थियो । रिक्त क्षेत्रमा उपनिर्वाचन रिक्त भएको ठाउँमा उपनिर्वाचन हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि भएमा निर्वाचन प्रणालीबाट पूर्ति गरिने भनिएको छ । ‘प्रतिनिधिसभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ,’ उक्त धारामा भनिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को धारा ६८ मा उपनिर्वाचनको व्यवस्था गरिएको छ । ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ,’ उक्त दफामा भनिएको छ ।
काठमाडौं: नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिको सभापतिको जिम्मेवारी काँग्रेस नेता जनक बहादुर धामीले पाएका छन् । नेपाली काँग्रेस अछाम सभापति पुष्पबहादुर शाहले काँग्रेसको विधान २०१७ को दशौं संशोधन २०७८ को परिच्छेद ११ धारा ४१ बमोजिम सम्पर्क समितिको सभापतिको जिम्मेवारी प्रदान गरेका हुन् । उक्त जिम्मेवारीप्रति आभार व्यक्त गर्दै धामीले पार्टीको हितमा र अछामको विकासमा आफूले सक्दो काम गर्ने प्रतिबद्धता जनाएका छन् । पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ अछाम स्थायी घर भएका धामी नेपालका सफल व्यवसायी तथा उद्यमी पनि हुन् । उनले अछामबाट काठमाडौंमा आएर बसेकाहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारका लागि सक्दो सहयोग गर्दै प्राथमिकता दिदै आइरहेका छन् । आफूले जहिले पनि काँग्रेसको संगठन बलियो बनाउनका लागि प्रतिबद्ध र सक्रिय रहँदै आइरहेको बताउँदै धामीले आगामी दिनमा पार्टीको सम्पर्क समितिलाई अझै बलियो बनाउँदै लग्ने र काँग्रेस अछामलाई पनि बलियो बनाउन लाग्ने प्रतिबद्धता गरेका छन् । नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि धामी उद्योग व्यापार विभागका पूर्व केन्द्रीय सदस्य हुन् ।