काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको क्षेत्रगत मापदण्डसहितको अन्तरपार्टी निर्देशन जारी भएपछि मातहतका कमिटी र सङ्गठनले आवश्यक तयारी सुरु ...

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पक्राउ परेसँगै वर्तमान सरकारलाई निरंकुश सरकार भएको बताएका छन् ।   प्रहरी नियन्त्रणमा रहेको क्रममा मिडियाकर्मीहरुसँग बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।   पक्राउ परेपछि सोही प्रसंगमा मिडियाकर्मीले के भन्न चाहनुहुन्छ ­?  भन्ने प्रश्नमा उनले जवाफिदै भने–‘निरंकुश सरकारले गर्ने काम भनेकै यही हो । यसमा हामीले अचम्म मान्नुपर्ने कारण नै छैन । जे पनि भोग्न तयार छौ ।’   सिंहदरबार भित्रै विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेपछि अध्यक्ष लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं:  राप्रपाका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।   तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।   राप्रपाले आज बिजुलीबजार क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको थियो ।   राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु भने, सिंहदरबारस्थित पार्टी दलको कार्यालयमा थिए ।   प्रहरीले उनीहरुलाई त्यहीँ रोक्ने प्रयास गरेको थियो । त्यसपछि उनीहरुले सरकारविरोधी नारा लेखिएका पम्प्लेट बोकेर दक्षिण गेटबाट बाहिर निस्किन खोजेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ।   आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् ।   आईतवार राप्रपाका नेता तथा कार्यकर्ताहरुले भेला भएर व्यवस्था परिवर्तनको माग गर्दै प्रदर्शन गरेका हुन् ।   उहाँहरुले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवलसमशेर जबरालाई निःशर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।      उहाँहरुले 'राजा आउ देश बचाउ, हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ', लगायत नाराहरु लगाएका छन् ।   पार्टीका नेताहरुलाई रिहाइ नगरेको भन्दै राप्रपाले आज निषेधित क्षेत्रमा आन्दोलन गर्ने घोषणा गरेबमोजिम माईतीघर क्षेत्रबाट निषेधित क्षेत्रमा प्रवेश गरी आन्दोलन गर्ने तयारी गरेको थियो ।    आन्दोलनलाई मध्यनजर गरी सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कसाथ विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।   चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका ठूला दलहरु एकसाथ मिलेर यो सरकार बनेकाले सरकार आफ्नो लक्ष्य र गन्तव्यमा सुस्पष्ट रहेको बताउनुभयो ।   प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन हामी पूर्ण रुपमा लागेका छौँ । तपाईंहरु पनि ढुक्कका साथ यस अभियानमा लाग्नुुस् । सबै मिलेर देश बनाऔँ ।” उहाँले नयाँ भवनबाट गाउँपालिकाको सुशासन र सेवा प्रवाहका काममा सहजता आउने विश्वास पनि व्यक्त गर्नुभयो ।   कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटालगायत सहभागी हुनुहुन्थ्यो ।   

गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ ।        गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उहाँले पूर्वराजावादी या अरु कुनै पनि नाममा हुने संविधानविरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनै पनि हालतमा क्षम्य नहुने बताउनुभयो ।       मन्त्री लेखकले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त वर्तमान संविधानको रक्षाका लागि सबै तयार हुनुपर्ने बताउनुभयो ।   नेपालमा सात दशकको अन्तरालमा सात वटा संविधान बनेको उल्लेख गर्दै उहाँले वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएकाले यसैमार्फत हरेक समस्याको समाधान सम्भव भएको धारणा राख्नुभयो ।          “संविधानभित्र रही आलोचना, समालोचना तथा विभिन्न गतिविधि गर्न पाइन्छ । संविधानविरोधी गतिविधिका माध्यमबाट हत्याहिंसालाई प्रश्रय दिने, संविधान फाल्छु भन्नेजस्ता अराजक गतिविधि गर्न पाइँदैन । गरिएमा कानुनअनुसार कारबाही हुन्छ”, मन्त्री लेखकको भनाइ थियो,“संविधानको रक्षा आजको आवश्यकता हो । वर्तमान संविधान निर्माणको १० वर्षे हुँदैछ । यस अवधिको आवश्यक समीक्षासहित सम्बद्ध सबैसँग सहमति कायम गरेर आवश्यकताका आधारमा संशोधन गर्दै थप सुधारको प्रयास गरिने छ ।”                पछिल्ला वर्षमा लागुऔषधको बढ्दो प्रयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध, प्राकृतिक विपद् आदि चुनौतीका रूपमा देखापरेकाले यी सबै चुनौतीको समाधान गर्नेतर्फ सरकार निरन्तर क्रियाशील उहाँले बताउनुभयो । साथै, सेवा प्रवाहलाई प्रभावकारी बनाउनु अपरिहार्य भएको उल्लेख गर्दै मन्त्री लेखकले जनतालाई सेवा दिने कुरामा कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभयो ।          उहाँले जिल्लामा प्रमुख जिल्ला अधिकारीलगायतको रूपमा सङ्घी सरकारका प्रतिनिधि रहेकाले यस कार्यालयले सङ्घ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । सेवालाई नागरिकमैत्री तथा प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने पनि उहाँको भनाइ थियो ।       ग​ण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश प्राकृतिक विपत्तिका दृष्टिबाट पनि जोखिमपूर्ण रहेका भन्दै जोखिमलाई समाधान गर्नेतर्फ सरकार निरन्तर लागिपरेको बताउनुभयो । बाढी, पहिरा, भूकम्पलगायत विपद् प्रतिकार्यमा सरकार निरन्तर लागिपरेको उहाँले बताउनुुभयो ।   मुख्यमन्त्री पाण्डेले प्रदेशमा सम्भाव्य प्राकृतिक विपत्तिलाई लक्षित गरी रु १० करोडमा नघट्ने गरी कोषसमेत विनियोजन गर्दै प्रतिकार्यका लागि आवश्यक उपकरणलगायतमा सहयोग गरिँदै आएको बताउनुुभयो । गत वर्ष कोरला नाका सञ्चालनसमेत गरिएको बताउँदै उहाँले त्यसलाई थप व्यवस्थित गर्दैै अघि लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।         सुरक्षा गोष्ठीमा प्रदेशअन्तर्गत सबै जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति छ । मन्त्री लेखकले आजै सङ्घ मातहत रहेको आपतकालीन गोदामघर गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुभएको थियो । एक समारोहका बीच मन्त्री लेखकले प्रदेशका मुख्यमन्त्री पाण्डेलाई आपत्कालीन गोदामघर हस्तान्तरण गर्नुभएको हो ।           गण्डकी प्रदेशमा आपत्कालीन बन्दोबस्ती क्षमता अभिवृद्धि गर्न निर्माण गरिएको आपत्कालीन गोदामघरले सङ्कटका समयमा तत्काल प्रभावकारी बन्दोबस्ती सहायता सुनिश्चित गर्ने गृहमन्त्री लेखकले बताउनुभयो ।          गण्डकी प्रदेश प्राकृतिक जोखिमका दृष्टिबाट समेत जोखिमपूर्ण रहेको बताउँदै उहाँले गोदामघरले यहाँ हुने विभिन्न प्राकृतिक विपत्तिमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।   विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि केन्द्र, प्रदेश र स्थानीय तहबीचको सहकार्य आवश्यक भएको उहाँले बताउनुभयो ।    

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा अनावश्यक नबोल्न, नलेख्न आग्रह गरेको छ।   बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक सञ्जालमा देखिने अमर्यादित, अशिष्ट, अभद्र प्रवृत्तिलाई पार्टी पंक्तिबाट निरुत्साहित गर्न निर्देशन दिएका हुन्।   सामाजिक सञ्जालमा पार्टी समर्थकहरूको अराजक उपस्थितिप्रति ध्यानाकर्षण भएको पनि कार्यवाहक सभापति अर्यालले बताएका छन्।   त्यस्तो प्रवृत्ति पार्टीकै लागि घातक हुने बताउँदै कार्यवाहक सभापति अर्यालले सबै सदस्यहरूलाई समाजिक सञ्जाल प्रयोग आचारसंहिता अन्तर्गत अभ्यास गर्न र सभ्य रूपमा प्रस्तुत हुन, अनावश्यक रूपमा नबोल्न, नलेख्न अनुरोध गरेका हुन्।   केन्द्रीय समिति बैठकले महाधिवेशको नयाँ मिति तय गरेको छ भने सातै प्रदेशका लागि प्रदेश इन्चार्ज तोकेको छ।

काठमाडौं:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन सरेको छ । यही महिना हुनुपर्ने महाधिवेशन १० महिना पछि फागुनमा पुगेको हो ।   बिहीबार बसेको पार्टीको केन्द्रीय केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।   झाका अनुसार २०८२ आश्विनसम्ममा वडा अधिवेशन, कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ ।   २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने सर्वसम्मतले निर्णय गरेको उनले बताए ।   हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७०० वटा वडामा अधिवेशन सम्पन्न भएको छ ।   ७५३ पालिकामध्ये ४५८ वटा पालिकामा समिति गठन भएको झाले जानकारी दिएका छन् । ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भएको तथा सातवटै प्रदेशमा समिति बनेको उनले बताए ।   रास्वपाले सातै प्रदेशमा तोक्यो इन्चार्ज, को कहाँ ?   रास्वपाले सातै प्रदेशका इन्चार्ज तोकेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रदेशका इन्चार्जहरू तोकेको हो ।   जस अनुसार कोशी प्रदेशमा सन्तोष परियार, मधेश प्रदेशमा मनिष झा, बागमतीमा लिमा अधिकारी, गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सदूरपश्चिम हरि ढकाल रहेका छन् ।

काठमाडौं:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सुमना श्रेष्ठले पार्टी सभापति रवि लामिछानेसँगै छलफल गरेर सहमहामन्त्री पदबाट राजीनामा दिएको स्पष्टीकरण दिएकी छन् ।   बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भनिन्, ‘मैले पार्टीबाट राजीनामा दिएको होइन, मैले केन्द्रीय सदस्य र सहमहामन्त्री पदबाट राजीनामा दुई हप्ता अगाडि राजीनामा दिएको हुँ ।’   रवि लामिछाने सभापति पदमा फर्किएकै दिन भेटे गरेर आफूले राजीनामा बुझाएको उनले बताइन् ।   ‘उहाँ जिम्मेवारीमा आउनुभएपछि हामी एकदम एक्साइटेड थियौं, उहाँले त्यसबेला पार्टी महाधिवेशन त्यही समयमा हुन्छ भनेर भन्नु भएको थियो’, उनले थपिन्, ‘त्यस्तोमा एकैव्यक्ति दुई पदमा रहँदा काम गर्न गाह्रो हुन्छ भन्ने हिसाबले छलफल भएपछि मैले राजीनामा दिएको थिएँ ।’ यद्यपि, आफ्नो राजीनामा प्रक्रियामा अघि नबढेको उनले बताएकी छन् ।   सभापतिले समेत पछिल्लो बैठकमा पार्टीलाई ‘अब म्यासिभ रिफर्म’मा लैजानुपर्छ भनेको स्मरण गराउँदै उनले भनिन्, ‘उहाँले आफ्नो पदबाट डेलिभरी दिन सकिँदैन भने सोचौं है भनेर भन्नुभएको हो । त्यही स्पिरिटमा दुई हप्ता अगाडि दिएको मैले राजीनामा दिएको हो ।’   छलफलपछि लामिछानेकै सहमतिमा राजीनामा दिएको उनले बताइन् । बरु अहिले फरक परिस्थितिमा आफ्नो राजीनामाको विषय बाहिर ल्याइएको भन्दै उनले असन्तुष्टि जनाएकी छन् ।   सुमनाले पार्टीको निर्णय पद्दतिप्रति असन्तोष व्यक्त गर्दै राजीनामा दिएकी छन् । जनताले पार्टीमाथि ठूलो आशा राखेको तर, पार्टीले डेलिभरि दिने क्षमता शून्य रहेको उनको निष्कर्ष छ ।   उनले ‘एक व्यक्ति एक पद’ को अवधारणा लागू गर्न सह-महामन्त्री छोड्न लागेको बताए पनि आफ्ना असन्तुष्टिका विषयहरु लुकाउन सकेकी छैनन् ।   उनले लेखेकी छन्, ‘जसरी एक नयाँ पार्टीलाई अघिल्लो निर्वाचनमा अभूतपूर्व जनमत मिल्यो त्यसबाट जनताले देशलाई बेथितिबाट बाहिर निकाल्छ भनेर हामीमाथि ठूलो आशा राखेको स्पष्ट छ । मैले हालसालै गरेको देश यात्रामा पनि त्यो आशा बाँकी रहेको पाएँ, तर दलको प्रस्तुति सोचेजस्तो सशक्त नभएको गुनासोसँग मिश्रित । पुराना दलले लगाइदिएको सहकारी ठगीको लेबल चिर्न हामीले प्रतिसोध साँधेको नारा मात्र अघि बढायौँ ।’   पार्टी बैठकमा धेरै कर्मकाण्डी प्रक्रिया अपनाइएकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेकी छन् । वैकल्पिक राजनीतिक दलको रूपमा स्थापित हुन खोजेको रास्वपामा ‘फ्ल्याट हाइरार्की’ सबैभन्दा प्रभावकारी हुने उनको धारणा छ ।   यस्तो छ, राजीनामा पत्र   श्री सभापतिज्यू राष्ट्रिय स्वतन्त्र पार्टी बनस्थली, काठमाडौ।   विषयः सह महामन्त्री पदबाट राजीनामा बारेमा महोदय, मैले पार्टीमा एक व्यक्ति एक पद हुनु पर्छ भनेर वकालत गर्दै आएकी छु, यसैलाई आत्मसाथ गर्दै पार्टीको सह–महामन्त्री पदबाट आजैका मितिदेखि लागु हुने गरी राजीनामा गर्दैछु ।   अधिवेशनको मिति घोषणा भएको अवस्थामा अब पुस्तान्तरणको लागि ठाउँ खाली छ भन्ने सन्देश दिनुपर्छ भन्ने मलाई लाग्छ। देशको चौथो ठूलो दलको महत्वपूर्ण पद त्याग गर्दा अनावश्यक चर्चा नहोस् भनी राजीनामा गर्नुका पछाडिका कारण स्पष्ट पार्न चाहन्छु ।   एक व्यक्ति एक पद– पदको लालसा नेपालका पुराना पार्टी र अझ भन्नु पर्दा नेपाली समाजमै गढेको एक प्रथा हो। संघिय सांसद हुँदा मैले पार्टीको अर्को महत्वपूर्ण जिम्मेवारी लिदाँ पद नभई केही गर्न सकिन्न भन्ने सन्देश जान्छ जुनसँग मेरो गहिरो विमति छ । अन्य पार्टीभन्दा हामी भिन्न भन्ने तर रवैया उस्तै रहने मेरो लागि स्वीकार्य छैन ।   एक व्यक्तिले दुई पूर्णकालिन जिम्मेवारीलाई न्याय गर्न सक्दैन– संघिय सांसदले मूलभूत रुपमा पेश भएका विधेयकहरूको अध्ययन गर्ने, सरोकारवालाहरूसँग छलफल गर्ने, आवश्यक संशोधन पेश गर्ने, समसामियक विषयलाई सदनमा उठान गर्ने र समाजलाई उन्नत बनाउने भाष्य निर्माण र मुद्दाहरु स्थापित गर्नु पर्ने पर्ने हुन्छ। यसका बाहेक शिक्षा सूचना प्रविधि संसदीय समितिको भूमिका त छदैछ । पार्टीको सह–महामन्त्रीको रूपमा पार्टी संगठन निर्माण लगायत पार्टीको विधि निर्माण र कार्यान्वयन गर्न जति समय चाहिन्छ, त्यो सांसदका रूपमा काम गर्न मानवीय हिसाबले सम्भव छैन।   यी दुवै पूर्णकालिन पद हुन्। दुवै जिम्मेवारी एकै व्यक्तिलाई दिँदा दुवै तर्फको जिम्मेवारी पूरा गर्न नसक्ने मेरो अनुभवले बताउछ। संसदीय भूमिकामा नै मेरो सम्पूर्ण समय व्यतित हुन्छ, सह–महामन्त्रीले गर्न पर्ने काम प्रभावकारी हन नसकेको मेरो ठम्याइ छ ।   पार्टीमाथि जनताको ठूलो आस, डेलिभरि दिने क्षमता शुन्य– जसरी एक नयाँ पार्टीलाई अघिल्लो निर्वाचनमा अभूतपूर्व जनमत मिल्यो त्यसबाट जनताले देशलाई बेथितिबाट बाहिर निकाल्छ भनेर जनताले हामीमाथि ठूलो आशा राखेको स्पष्ट छ । मैले हालसालै गरेको देश यात्रामा पनि त्यो आशा बाँकी रहेको पाएँ, तर दलको प्रस्तुति सोचे जस्तो सशक्त नभएको गुनासोसँग मिश्रित ।   पुराना दलले हाम्रो पार्टीलाई सहकारी ठगीको लेबल चिर्न हामीले प्रतिसोध साँधेको नारा मात्र अघि बढायौँ। पार्टीका दुई प्रदेशका पालिका तहका पदाधिकारीहरू सबैलाई राखेर सामान्य तथ्याङ्क संकलनको काम दिँदा पनि कसैले सो काम शुरू नगरेकाले पनि स्पष्ट हुन्छ, हामीले पार्टी बन्नको लागि र डेलिभरी दिनको लागि कति लामो यात्रा तय गर्नुपर्ने छ। यसको एउटा कारण एकै व्यक्तिलाई धेरै जिम्मेवारी दिनु पनि हो कि भन्ने मेरो ठम्याई छ।   धेरै कर्मकाण्डी प्रक्रिया– बैठकमा बस्ने क्रम, बोल्ने क्रम आदिमा पदाधिकारीलाई चाहिने भन्दा बढी महत्व दिइन्छ। यस्तो संस्कारले innovation र काम गर्ने जाँगरलाई हतोत्साहित गर्ने रहेछ। व्यवस्थापन परामर्शदाताका रुपमा विभिन्न प्रकारको organization structure देखेको छु। वैकल्पिक राजनैतिक दलको रुपमा स्थापित हुन खोजेको हाम्रो पार्टीमा स्थापित खोजेको हाम्रो पार्टीमा flathierarchy सबैभन्दा प्रभावकारी हुने मेरो धारणा छ। जहाँ कसले बोल्यो भन्दा पनि के बोलियो, त्यसको गुण दोषको आधारमा छलफल हुन्छ। जहाँ उमेर वा ओहोदामा ठूलो सानो नहेरी सबैको विचारलाई उत्तिकै महत्व दिएर मनन गरिन्छ ।   पदाधिकारीसँग सल्लाह नगरी महत्वपूर्ण निर्णय पदाधिकारी भएर समेत पार्टी सम्बन्धी महत्त्वपूर्ण विषय तथा निर्णय आधिकारीक श्रोतबाट नभई अरुबाटै थाहा पाउनुपर्ने स्थिति भएकाले, पद दिएर पनि कुनै वजन नभएको महसुस गरें। कैयौं पटक विभिन्न विषयमा बैठक बसौं भन्दा समेत वास्ता नगरेको, संसदीय दलमा विद्यार्थीको विषयलाई लिएर सदन अवरुद्ध गरौं भन्दा पनि नसुनिने समेत अवस्था देखें। यसकारण यस्तो महत्त्वपूर्ण पद अब चाहीँ यसरी हलुका नालिदिनुहुन पनि आग्रह गर्छु।   पार्टीले ममाथि ठूलो आशा गरी दिएको पद त्याग गर्नुलाई मैले हल्का रुपमा पक्कै लिएकी छैन । यसले उब्जाउने थप केही प्रश्नको पनि म अग्रिम उत्तर दिएर स्पष्ट पार्न चाहान्छु –   रास्वपाप्रति मेरो प्रतिबद्धतामा केही हेरफर हुन दिने छैन । मलाई यो मञ्च र जनतामाझ पुग्ने मौका पार्टी र पूर्व सभापति रवि लामिछानेको प्रयासका कारण मात्र सम्भव भएकोमा कुनै दुई मत हुन सक्दैन । पार्टीको जिम्मेवारीबाट मुक्त भए पछि सांसद्को भूमिका अझ सशक्त रुपमा अघि बढाउने छु ।   मैले पार्टीमा अन्य कुनै पद ताकेर यो पद त्याग गरेकी हैन । म एक व्यक्ति एक पदलाई पूर्ण रुपमा अंगिकार गरी सांसद रहे सम्म केन्द्रिय सदस्य बाहेक पार्टीको अन्य पदमा दावेदारी पेश गर्ने छैन ।   पद त्याग गर्दै गर्दा पार्टीले ममाथि देखाएको विश्वासको लागि हृदयदेखि नै धन्यवाद दिन चाहान्छु । हाम्रो पार्टीमा मभन्दा सक्षम महिलाहरू हुनुहुन्छ, उहाँ मध्येबाट उपयुक्त पात्रलाई छनौट गरी रिक्त भएको सह–महामन्त्रीको पदमा नियुक्ति गरियोस् भनी अनुरोध गर्दछु । भवदीय सुमना श्रेष्ठ

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक भोलि बस्दै छ । कार्यवाहक सभापति डीपी अर्यालले बिहीबार दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्ने गरी बैठक आव्हान गरेका हुन् ।   बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए । उनका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङ हुने जनाइएको छ।