नेकपा माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका दुई मन्त्रीले मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा बुझाएपछि नेकपा एमाले यहाँ कमजोर भएको छ । माओवादी मन्त्रीहरु बाहिरिएपछि अब ठूलो दलको हिसाबले नेपाली कांग्रेस प्रदेशको सरकारमा दाबी गर्दैछ । सरकार धरापमा परेपछि बहिर्गमनको बाटो रोज्नुपर्ने भएपनि मुख्यमन्त्री खगराज अधिकारी हार मानिहाल्ने मुडमा छैनन् । मुख्यमन्त्री अधिकारी निकटकाअनुसार एमालेले अझैपनि माओवादीसँग सत्ता समीकरण गर्न चाहिरेको छ । निकटस्थ भन्छन् ‘अधिकारीको चाहना माओवादीलाई मुख्यमन्त्री दिएर भएपनि प्रदेश सरकारमा रहनेछ ।’ उक्त योजनालाई मूर्तरुप दिन मुख्यमन्त्री अधिकारी पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सम्वादमा छन् । स्रोतका अनुसार माओवादीलाई मुख्यमन्त्री दिएर सत्ता टिकाउने एमालेको बलियो अस्त्र हो । ‘माओवादी कांग्रेससँग मिले पनि पाउने भनेको हालकै पोर्टफोलियो हो’ स्रोत भन्छ ‘उसले कुनैपनि हालतमा मुख्यमन्त्री पाउँदैन, तर हाम्रो अफर माओवादीलाई झनै फाइदामूलक हुनेछ ।’ एमालेले यस्तो योजना बनाएपनि यसको निर्णय केन्द्रबाटै हुने बताइन्छ । यता माओवादीलाई भने एमालेको प्रस्ताव स्वीकार्न सहज छैन । प्रदेशसभाका एक सांसदले भने ‘जहाँसम्म एमालेले त्यस्तो प्रस्ताव नराख्ला तर राखेपनि यहीबाट निर्णय गर्ने सम्भावना छैन ।’ उनका अनुसार आगामी सरकारमा को–कहाँ हुने भन्ने निर्णय प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्र्णयमा निर्भर छ । यद्यपि, एमालेले मुख्यमन्त्री दिने प्रस्ताव भने माओवादीलाई लाभदायक हुने उनले उल्लेख गरे । एमालेको यो योजना सफल नभएपनि सत्ता छाडिहाल्नेतर्फ मुख्यमन्त्री अधिकारीले सोच बनाइसकेका छैनन् । ‘उहाँ अविश्वासको प्रस्तावको सामना गर्ने तयारीमा हुनुहुन्छ’ उनले भने । गण्डकी नेपाली कांग्रेसका २७, एमालेको २२, माओवादी केन्द्रको ७ (सभामुखबाहेक), राप्रपाको २ र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका एक सांसद छन् । ६० सदस्य रहेको गण्डकीमा बहुमतका लागि ३१ सांसद चाहिन्छ ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । रास्वपाको शुक्रबार बसेको केन्द्रीय समिती बैठकले उपनिर्वाचनमा गठबन्धन नगर्ने र तीनवटै क्षेत्रमा चुनाव लड्ने निर्णय गरेको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए । आगामी बैशाख १० गते चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । बैठकले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । जसमा चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र बारामा गणेश कार्की संयोजक तोकिएका छन् ।
काठमाडौं : प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकताको घोषणा गरिएको हो । एकतापछि पार्टीको नाम आम जनता पार्टी नै रहेको छ । एकता घोषणा कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष साहले मुलुक अप्ठेरो अवस्थामा पुगेका कारण विभिन्न शक्तिहरू एकीकृत हुनुपरेको बताए। अर्थतन्त्रको भ्रष्ट नीतिका कारण मुलुकको अर्थतन्त्र धरासयी बनेको भन्दै उनले यसमा नीति निर्माण तहमा पुगेका व्यक्तिहरू गम्भीर हुनुपर्ने धारणा राखे। अब सरकार गम्भीर भएर मुलुकमा देखिएका समस्या समाधान गर्न ध्यान केन्द्रीत गर्नुपर्ने उनको भनाइ छ। अहिले नेताहरू कुर्सीको व्यापारी बनेकाले जनताहरू निराश हुनुपरेको उनको भनाइ छ । एकता कार्यक्रममा आम जनता पार्टीको दोस्रो संशोधित अन्तरिम विधान सार्वजनिक गरिएको थियो ।
पोखरा: आगामी बैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि देशको तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुदैछ । रिक्त रहेको बाराको निर्वाचन क्षेत्र नम्बर २, चितवनको क्षेत्र नम्बर २ र तनहुँको निर्वाचन क्षेत्र नम्बर १ मा एकसाथ उपनिर्वाचन हुनेछ । सोही दिन तनहुँमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट विभिन्न नेताहरुले आकांक्षा व्यक्त गरेका छन् । जसमा जिल्ला स्तरीय नेतादेखि हेभीवेटका केन्द्रीय नेताहरुसम्मको चर्चा छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीसमेत भइसकेका ‘हेभीवेट’ किरण गुरुङ, नेपाल प्रहरीका पूर्व (महानिरीक्षक) आइजिपी सर्वेन्द्र खनाल, चार पटक हार व्यहोरेका एक बहादुर राना, गण्डकी प्रदेशका पूर्व सांसद राम बहादुर गुरुङ र तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष मोहन बहादुर सुनार उपनिर्वाचनका लागि अघि सरेका छन् । यद्यपी अन्तिम नाम भने पार्टीको बैठकले सार्वजनिक गर्नेछ । उपनिर्वाचन नजिकिदै गर्दा स्थानीयहरुको आंकाक्षा अनुसार उपचुनावमा आफु अघि सर्ने मनस्थितीमा पुगेको किरण गुरुङले बताए । स्थानीयहरुले हेभीवेट नेताको चाहना गरे अनुसार आफु उपचुनावमा अघि बढने संकेत गरे । ‘त्यहाँका स्थानीयहरुमा हेभीवेटले उपचुनाव लड्नुपर्छ भन्ने आशय आएकाले मैले पनि अघि बढ्ने मनस्थिती बनाएको हुँ’ गुरुङले सुनगाभा न्यूजसँग भने । यस्तै नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजिपी) तनहुँ चुँदी स्थायी घर भएका सर्वेन्द्र खनाल पनि उपचुनावमा उम्मेदवारको आकांक्षी रहेको स्रोतले बतायो । ‘उपचुनावमा पार्टीले अघि सारेको खण्डमा तनहुँ नै स्थायी घर भएकै कारण पनि होला पछि नहट्ने कुरा छ’ स्रोतले भन्यो । यस्तै अर्का आकांक्षी मोहन सुनारले पनि उपचुनावमा आफ्नो चर्चा चलेको स्वीकार गरे । उनले गत निर्वाचनमा पार्टीले टिकट नदिलाएपनि उपचुनावमा भने पार्टीले न्याय दिने धारणा राखे । ‘पार्टीको विभिन्न तहमा बसेर धेरै काम गरियो । अघिल्लो निर्वाचनमै आशा थियो तरपनि पार्टीले फरक निर्णय गर्याे, उनले भने, ‘अहिले फेरि उपनिर्वाचन आएको छ । त्यसैले मैले पनि इच्छा जाहेर गरेको छु । यसमा पार्टीले उपयुक्त ठहर गरेर जिम्मेवारी दिएको खण्डमा कसरतमा लाग्ने विचार गरेको छु ।’ उनले आफु फरक समुदायबाट प्रतिनिधित्व गरेको बताउदै टिकट पाउने आशा रहेको सुनाए । ‘यो क्षेत्रमा दलित समुदायको ठुलो बस्ती छ । अहिलेसम्म हाम्रो समुदायले प्रत्यक्ष टिकट पाएको भन्ने इतिहास छैन, उनले भने, ‘त्यसैले पार्टीले यो विषयलाई ध्यान पुर्याएर जिम्मेवारी दिन्छ कि भन्ने आशा लागेको छ ।’ यस अघि सो क्षेत्रमा एमालेका एक बहादुर रानाले चौथो पटक हार व्यहोरेका थिए । यद्यपी फेरि पनि उनी उनै क्षेत्रबाट उपचुनाव लड्न आकांक्षा व्यक्त गरेको बताइएको छ । सो क्षेत्रबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेलले एक बहादुर रानालाई हराएका थिए । हालैमात्र पौडेल राष्ट्रपतीमा निर्वाचित भएपछि सो क्षेत्र रिक्त भएको हो । तनहुँसँगै सोही दिन चितवनको निर्वाचन क्षेत्र नम्बर २ र बाराको निर्वाचन क्षेत्र नम्बर २ मा पनि उपचुनाव हुनेछ । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लाई सर्वाेच्च अदालतले अयोग्य रहेको आदेश गरेपछि सो क्षेत्र रिक्त भएको थियो भने बाराको क्षेत्र नम्बर २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त भएको हो । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आगामी चैतको १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेछ भने २० गते मनोनयन दर्ता हुनेछ ।
पोखरा: वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियको निर्वाचन चैत १२ गते हुने कार्यतालिका अनुसार ५ विद्यार्थी संगठनहरुले नाम दर्ता गरेका छन् । क्याम्पसको स्ववियु निर्वाचन कार्यतालिका अनुसार (हिजो बुधबार )फागुन ८ गते ५ विद्यार्थी संगठनहरुले नाम दर्ता गरेका हुन् । निर्वाचन कार्यतालिका अनुसार नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियु समाजवादी र अखिल क्रान्तिकारी ‘विप्लव’ले संगठन दर्ता गरेको स्ववियु निर्वाचन अधिकृत डा. लिला पुरीले जानकारी दिए । निर्वाचन अधिकृत डा. पुरीका अनुसार क्याम्पसमा ४ सय ८० जना मतदाता रहेका छन् । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको नामावली सार्वजनिक नभएको भन्दै फागनु २५ गते केही विद्यार्थी संगठनहरुले निर्वाचन कार्यालयमा तालाबन्दी गर्दा त्रिविको कार्यतालिका अनुसार निर्वाचन हुन नसकेको हो । त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार अनुसार चैत ५ गते स्ववियु निर्वाचन हुने भएपनि कास्कीको ६ क्याम्पसमा आन्तरिक विवादका कारण निर्वाचन हुन सकेको थिएन ।
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। बिहीबार उपसभापति खड्का निवासमा भेटवार्ता भएको हो। उनीहरूबीच नेपाल र चीनबीच आपसी हित र चासोको विषयमा छलफल भएको खड्काको सचिवालयले जनाएको छ। राजदूत सोङ बुधबारमात्रै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।
काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन् । बिहीवार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन् । उनले प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताए । उनले प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना हुनु जनतामा नैराश्यता रहेको बताए । उनले भने, ‘म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक पटक भनेको छु, नागरिकलाई नतर्साउनुस् । तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ । एक्लै बिहान बेलुका बस्दै गर्दा डराउनुपर्ने बेला भएको छ ।’ महामन्त्री थापाले प्रधानमन्त्रीले अनावश्यक भेटघाटलाई बन्द गर्नुपर्ने सुझाव पनि दिए । उनले भने, ‘दिनमा कम्तिमा आधा घण्टा समय निकाल्नुहोस्, भेटघाट बन्द गर्नुहोस् र एक पटक सोच्नुहोस् । मसँग भएको एकएक क्षणको समयको कसरी प्रयोग गर्ने ? डराउनुस् । कुर्सीमा बसेको प्रधानमन्त्री डराउनुपर्ने बेला भएको छ । प्रधानमन्त्री डराउनुपर्छ । प्रधानमन्त्री डरायो भने बल्ल नागरिक डरबाट मुक्त हुने अवस्था हुन्छ ।’ महामन्त्री थापाले प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नरहेको बताए । उनले आफूले अहिलेसम्म जनतामा यस्तो किसिमको नैराश्यता नदेखेको भन्दै सरकारलाई काम नगर्ने छुट नरहेको बताए । उनले अहिलेसम्म यति धेरै मानिस निराश भएको नदेखेको बताउँदै भने, ‘प्रधानमन्त्रीले दायाँ हरेपनि भोट, बायाँ हरेपनि भोट मसँग १७२ छ, १७३ छ ढुक्क छ भन्दै गयो भने टाउको टाउको मात्रै बाँकी रहन्छ, हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ । मैले यत्ति धेरै तन्नेरीहरु आत्तिएको कहिल्यै देखेको थिइन । यतिधेरै मानिस निरास भएको देखेको थिएन ।’ महामन्त्री थापाले सामुदायिक रेडियोको उन्नयनका लागि आफूले सबै किसिमले सहयोग गर्ने प्रतिवद्धता जनाए । भ्रामक समाचारको प्रवाह रोक्न र समुदायलाई गलत सूचनाबाट जोगाउन सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण हुने स्पष्ट पारे ।
काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले स्वदेशी उत्पादनको वृद्धि गर्न आग्रह गरेका छन् । आज सामुदायिक रेडियो प्रसारक सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालीहरू स्वदेशी उत्पादन भन्दा विदेशी उत्पादनलाई प्राथमिकता दिने गरेको भन्दै सामुदायिक रेडियोहरूले स्वदेशी उत्पादनमा जोड दिने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले विदेशी उत्पादनलाई प्राथमिकता राख्दा अर्बौँ व्यापार घाटा भइरहेको उल्लेख गर्दै सबै नेपालीहरूले स्वदेशमा नै उत्पादित सामग्रीहरूको प्रयोग बढाउनुपर्ने बताए । उनले नेपालीहरूले आफ्नै देशमा उत्पादित सामग्रीहरूको प्रयोग गर्ने हो भने व्यापार घाटा नियन्त्रणमा आउने दाबी गरे । उपाध्यक्ष पाण्डेले रेडियोसँग सम्बन्धित ऐन बनाउँदा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता जनाए ।
झापा : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदैछन्। जिल्लामा तीन दर्जन बढि आवास भवनको उद्घाटन गर्न अध्यक्ष ओली झापा आउन लागेका हुन्। उनी दिउँसो १ बजे झापा आउने कार्यक्रम तय भएको छ। उनले भोलि मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेका ४३ वटा आवास भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। भोलि नेकपा एमाले झापाले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी भएर अध्यक्ष ओली काठमाडौं फर्किनेछन्।