काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन गर्न सामान्य प्रशासनिक समिति बनाएर आफूहरुको माग बेवास्ता गरेको जनाउँदै प्रतिनिस...

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति  निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ।    राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आइतबार राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन्।    सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको संविधानको भाग २४ धारा २४६ मा संविधान र संघीय कानूनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेशसभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्नु आयोगको प्रमुख कार्य रहने व्यवस्थाबमोजिम आयोगले ती निर्वाचनहरू स्वच्छ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्णरूपमा कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिए।    उनले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले लोकतन्त्र परिपक्क हुँदै गएको उल्लेख गरे।   प्रमुख आयुक्त थपलियाले गत फागुन २५ मा निर्वाचित भई राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च र गरिमामय पदमा रही महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएकामा राष्ट्रपति पौडेलप्रति बधाइसहित सफल कार्यकालको शुभकामना व्यक्त गरे।    उनले यो वर्ष निर्वाचनमय वर्ष रहेको उल्लेख गर्दै गत वर्ष २०७८ माघ १२ गते राष्ट्रियसभाको रिक्त १९ पदको निर्वाचनबाट सुरु भएको यो शिलशिला यही चैत ३ मा उपराष्ट्रतिको निर्वाचन सम्पन्न भएसँगै पूरा भएको बताए।    यस कार्यमा नेपाल सरकार, सम्बन्धित निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता र सबै पक्षको सहयोगका लागि आयोगका तर्फबाट धन्यवाद व्यक्त गरे।   उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभार मध्ये उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादव ३० हजार ३२८ मतभार प्राप्त गरेका थिए।    नेपालको संविधानको धारा ६७ अनुसार नेपालमा एक उपराष्ट्रपति रहने र राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट सम्पादन गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने व्यवस्था छ।    राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी २०७९ माघ १६ गतेको आयोगको बैठकबाट २०७९ चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको थियो।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका छन्। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले भोलि दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम तय भएको जानकारी दिए।   पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले सोही महिनाको २६ गते विश्वासको मत लिएका थिए। त्यतिबेला प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नेकपा एमाले सरकारलाई दिएको समर्थनसहित  सरकारबाट बाहिरिएपछि प्रचण्ड पुन:विश्वासको मत लिन लागेका हुन्।   १० दलीय गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने समझदारी गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने समझदारी गरेको हो।    १० दलीय गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी छन्।

पोखरा: नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले रामराज्य भनेको नै प्रजातन्त्र भएको जानकारी गराएका छन् । शनिबार नेपाल शिक्षक संघको नवौं अधिवेशनको उद्घाटन कार्यक्रम सभामा प्रमुख अतिथिको मन्तब्य व्यक्त गर्दै सभापति शर्माले भगवान राम प्रजातन्त्रवादी भएको हुँदा नै प्रजातान्त्रिक सोंचका कारण नीतिवान र नैतिकवानले गर्दा रामराज्य सुखको राज्य भएको बताए । नैतिकवान मुखले मात्र बोलेर नहुने व्यवहारमा उतार्नुपर्ने बताउँदै उनले भने “जनतालाई सुखी र खुसी बनाउन भगवान रामले जुन अथाह मेहनत र प्रयास गरेर उपलब्धी प्राप्त गरेका थिए त्यो नै रामराज्य भएको र त्यसको लागि प्रजातन्त्रको बाटो हिड्नु आजको आवश्यकता हो ।”   उक्त कार्यक्रममा बोल्दै “शिक्षक भनेको समाजको अगुवा हो, समस्या देखाउने होइन समस्यालाई समाधानको नेतृत्व गरेर अगाडि बढ्न सक्नु पर्छ, साहस राखेर अगाडि बढ्ने हो, समस्याको समाधान गर्न सकिदैन भने त्यो कम्युनिष्ट हो । प्रजातन्त्रवादीहरुको समस्या पनि अनेकौं हुन्छन् र समाधान पनि अनेकौ किसिमबाट विकल्प निकाल्न सकिने हुन्छ । कम्युनिष्ट सँग समस्या हुँदै हुँदैन, समस्या आएभने समाधान गर्न सक्दैनन्, बरु टुक्रिन्छन् ।” उनले भने । समस्या सबैका हुने भएको हुँदा झन समस्या थप्ने होइन, समाधानका उपाय खोजेर अगाडि बढ्न आग्रह गर्दै शिक्षा सुधारको लागि शिक्षकहरुले आवश्यक ठानेमा जुनसुकै ठाउँमा उभिएर सहयोग गर्न तयार रहेको उनले बताएका थिए । शिक्षकले संस्कार र पद्धति सिकाउने भएको हुँदा अरुलाई दोष दिएर आफु चोखो नबनी विद्यार्थी मैत्री बन्नु पर्छ उनले भने, शिक्षकबाट सबैभन्दा बढी प्रभावित विद्यार्थी हुन्छन्, उनिहरुले सिकाएको शिक्षा स्तरीय भयो भने बल्ल प्रभावित बन्छ र विद्यार्थी प्रजातन्त्रवादी बन्छ त्यसैले शिक्षकहरुले चाहेको खण्डमा देशकै नेतृत्व गरेर अगाडि बढ्ने सक्ने भएको हुँदा समस्या समस्या भनेर पछाडि हट्न नहुने उनले बताए । साथै सभापति शर्माले विकशित मुलुकको तुलनामा भौतिक रुपमा हामी कमजोर भएपनि हाम्रो संस्कार, संस्कृति र भौगोलिक वनावटले सबैभन्दा उच्च भएको हुँदा हामीले आफ्नो शिक्षा नीतिलाई संस्कार सँगै अगाडि बढाएमा शिक्षा नीति विश्वमै अग्रस्थानमा आउने जानकारी गराए । उक्त कार्यक्रममा पूर्व मन्त्री यज्ञ बहादुर थापा, नेपाली कांग्रेस जिल्ला सभापति किशोरदत्त बराल, पूर्व सभापति कृष्ण केसी, उपसभापति युवराज कुँबर, निवर्तमान सचिव सुदिपमोहन भट्टराई, गण्डकी प्रदेश सदस्य एवम् प्रचार विभाग उपप्रमुख शिरोमणि बराल, नेपाल ट्रेड युनियन गण्डकी प्रदेश सभापति मुरारी शर्मा, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका सभापति शिरोमणि लामिछाने लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए । उद्घाटन सत्रको अवसरमा उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको थियो । रमेश मोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम सचिव राजु क्षेत्रीले कार्यक्रमको सञ्चालन गरेका थिए । 

काठमाडौं:  कृषि क्षेत्रमा दिइएको अनुदान कटौती गरी रासायनिक मल र दूधको मूल्यवृद्धि गरिएकोमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसद भानुभक्त जोशीले गत वर्षको बेमौसमी वर्षाले बझाङमा एकै परिवारका सात जनाको निधन भई प्रधानमन्त्री, गृहमन्त्रीलगायतले अवलोकन गरी बाढी प्रभावित क्षेत्र घोषणा गरे पनि अझै राहतलगायत व्यवस्था नभएकाले छिटो गर्न माग गर्नुभयो ।   सांसद महेश बर्तौलाले मलमा दिएको अनुदान कटौती गर्दा किसानमाथि ज्यादती भएको, सुकुम्वासीले लामो समयदेखि जग्गाधनी पुर्जा पाउन नसकेकाले सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।   सांसद माधव सापकोटाले सिन्धुपाल्चोक जिल्लाको जुरेमा २०७१ साउनमा गएको पहिरो पीडितलाई सङ्कलन भएको रु दुई करोडभन्दा बढी राहत वितरण नगरी राखिएकाले छिटो दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।   सांसद मङ्गलप्रसाद गुप्ताले जनताको रु १६ अर्बभन्दा बढी पैसा सहकारीमा डुबेकाले व्यवस्थापन गर्न माग गर्नुभयो । सांसद योगेशकुमार भट्टराईले ताप्लेजुङ जिल्लाको एकमात्र क्याम्पसमा अनेरास्ववियुका विद्यार्थीमाथि आक्रमण गरी धाँधली गरिएको बताउनुहुँदै फर्जी परिचयपत्र बनाएर गैर विद्यार्थीलाई मतदान गर्न लगाइएको कानुनी कारबाहीको माग गर्नुभयो ।   सांसद रघुजी पन्तले चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले बनाएको क्रिकेट मैदानलाई पूरा गर्न ध्यानाकर्षण गराउनुभयो । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पनि सुधार गर्न उहाँको माग थियो ।   सांसद रणकुमारी बलम्पाखीले सिन्धुलीको कमलामाई नदीले कटान गरी सयौँ घरमा क्षति पुगेकाले क्षतिपूर्ति दिन माग गर्नुभयो । सांसद रणेन्द्र बरालीले फागुनमा नेकपा (एमाले) बाट निर्वाचित स्थानीय सरकारका प्रमुख उग्रनारायण यादवले जातीय विभेद हुनेगरी भोज आयोजना गरेकाले कानुनी कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।   सांसद रमा कोइराला पौडेलले हालसम्म न्यून सङ्ख्यामा मात्र सामाजिक सुरक्षा कोषमा सहभागिता जनाइएकाले सबै उद्योग, प्रतिष्ठानलाई सूचीकृत गर्न माग गर्नुभयो । सांसद राजकिशोर यादवले नागरिकता विधेयक कहाँ अड्किएको छ र कहिले आउँछ भनी प्रश्न गर्नुभयो ।     सांसद राजेन्द्रकुमार केसीले आर्थिक अवस्थालाई लयमा फर्काउन विशेष कार्यक्रम ल्याउन माग गर्नुभयो । किसानले तरकारीको मूल्य नपाएर फालिरहेकाले राहत दिन माग गर्नुभयो ।    सांसद रामकुमार राईले खोटाङ जिल्लाका विभिन्न स्थानमा १५ वर्षअघि सुरु गरिएको सडक अझै सम्पन्न नभई अवरुद्ध भएकाले छिटो काम गर्न माग गर्नुभयो । सांसद रामहरि खतिवडाले राम्रो क्रिकेट मैदानको व्यवस्था गर्न माग गर्नुहुँदै सभामुखले पत्रकार बिक्रीमा छन् भनी दिनुभएको अभिव्यक्तिप्रति सञ्चार क्षेत्रको आलोचना आएकोप्रति सभामुखको ध्यान गएको छ कि छैन भनी प्रश्न राख्नुभयो ।   सांसद रामकृष्ण यादवले मल र दूधको मूल्यवृद्धि घटाउन सरकारसँग माग गर्नुभयो । सांसद रुपा चौधरीले कर्णाली नदी टीकापुर बस्तीमा छिर्नसक्ने सम्भावना भएकाले बेलैमा व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो ।   सांसद रोशन कार्कीले वित्तीय संस्थाको चर्को ब्याजदरका कारण लाखौँ नेपाली जनता सुकुम्वासी हुने अवस्थामा पुगेकाले सरकारको ध्यान जानुपर्ने बताउनुभयो । सांसद लीलानाथ श्रेष्ठले कृषि क्षेत्रमा दिएको अनुदानमा कटौती गरी मूल्यवृद्धि गरिएकाले ठोस काम गर्न माग गर्नुभयो ।

काठमाडौं : नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।    पार्टी कार्यालय तीनकुनेमा आइतबार बसेको समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेको हो । सरकारमा जाने नजाने विषया अहिले कुनै छलफल नभएपनि सत्तापक्षको बेञ्चमा बसेपछि सरकारमा जान सकारात्मक नै रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।   प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा भोलि विश्वासको मत लिने कार्यक्रम तय भएको छ।   त्यस्तै बैठकले पार्टी महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको छ भने घनश्याम भुसाललाई महासचिवमा मनोनयन गर्ने निर्णय गरेको खतिवडाले बताए।   यस्तै बैठकले पार्टीका ४ जना केन्द्रीय उपाध्यक्षहरू घनेन्द्र बस्नेत,केदार न्यौपाने, धर्मनाथ प्रसाद शाह र केशवलाल श्रेष्ठलाई पार्टीको केन्द्रीय सचिवालयमा सर्वसम्मत मनोनयन गरी केन्द्रीय सचिवालयको संख्या १९ पुगेको प्रवक्ता खतिवडाले जानकारी दिए।   महासचिवमा मनोनित भएका भुसाल केहि समय अघि मात्रै समाजवादीमा प्रवेश गरेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ।    आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। 

पोखरा:   अखिल क्रान्तिकारी विप्लव निकट विद्यार्थी नेता सचिन सीले पोखरास्थित पृथ्वीनारायण क्याम्पसलाई राजनीतिक दलहरुले भर्ती केन्द्र बनाएकोे आरोप लगाएका छन् ।  पोखरामा आज (आइतबार) पृथ्वीनारायण क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) विप्लव, अखिल छैठौं र अखिल क्रान्तिकारी संयुक्तले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता  सचिन सीले यस्तो आरोप लगाएका हुन् ।  ‘पिएन क्याम्पसमा झाडु लगाउने देखि क्याम्पस प्रमुखसम्म राजनीतिक दलबाट नियुक्त गर्ने प्रचलन छ, सचिनले भने, ‘त्रिविको कार्यतालिका अनुसार आज चैत ५ गते निर्वाचन हुनुपर्ने हो तर प्रशासन र स्ववियु निर्वाचन समितिले निर्वाचन गराउन सकेन ।’ उनले क्याम्पसका कर्मचारीले नै विद्यार्थीका सूचना चुहावत गरेपछि निष्पक्ष रुपमा निर्वाचन गर्न नसकेको बताए । ‘ त्रिविको कार्यतालिका अनुसार देशभरका आंगिक र सम्बन्धप्राप्त क्याम्पसमा निर्वाचन हुने पर्ने हो , उनले भने, ‘प्रशासनबाट नै सूचना चुहावट भएपछि निष्पक्ष रुपमा निर्वाचन गराउन नसकेपछि प्रशासन र स्ववियु निर्वाचन समिति पछि हटेको छ ।’ उनले क्याम्पस प्रशासनको त्रुटी प्रतिको आन्दोलनमा चार विद्यार्थीको एकवद्धता रहेपनि अखिल (क्रान्तिकारी) प्रचण्ड निकट विद्यार्थी नेताहरु आन्दोलनबाट पछि हटेको आरोप समेत लगाए ।  अखिल (क्रान्तिकारी) विप्लव सचिवालय सदस्य प्रकाश सीले क्याम्पस प्रशासनबाट चुहावट भएको विद्यार्थीहरुको व्यक्तिगत विवरणको विषयमा छानविन गर्नुपर्ने, क्याम्पस प्रशासन वा त्रिविबाट तलवभत्ता पाएका प्राध्यापक कर्मचारीहरुले स्ववियु निर्वाचनमा मतदान गर्न नपाउने माग राखेको बताए ।  सर्वोच्च अदालत पोखराले पृथ्वीनारायण क्याम्पसमा चैत्र ८ गतेसम्म निर्वाचन सम्बन्धी कुनैपनि गतिविधि नगर्न अन्तरिम आदेश जारी गरेको छ ।    क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) विप्लव, अखिल छैठौं र अखिल क्रान्तिकारी संयुक्तले प्रेस विज्ञप्ति निकाल्दै इतिहास बोकेको स्ववियुलाई विभिन्न ढंगले बदनाम बनाउने प्रयास भएको र आज चैत ५ गते देशभर हुने भनिएको स्ववियु निर्वाचन त्रिविका आंगिक र सम्बन्धप्राप्त क्याम्पसहरुमा एकैसाथ नहुने  अवस्था सृजना भएको उल्लेख गरेको छ ।   पृथ्वीनारायण क्याम्पसमा फागुन २५ गतेदेखि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिको कार्यालयमा ताला लागेपछि निर्वाचन अनिश्चित बनेको छ ।   

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ।   आइतबार संसद् भवन नयाँ बानेश्वर बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले मन्त्री छान्न चार वटा मापदण्डलाई आधार बनाएको छ।   पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले मन्त्रिपरिषदमा पठाउँदा योग्यता, योगदान, समावेशिता र प्रादेशिक सन्तुलनलाई आधार मानिने बताए।   आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो। संघीय संसद भवनको शंकर हलमा आइतबार बिहान कांग्रेस कार्यसम्पादन समितिको बैठक बसेको थियो।

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।   आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको हो।   बैठकपछि पार्टी प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने जानकारी दिए। संघीय संसद भवनको शंकर हलमा आइतबार बिहान कांग्रेस कार्यसम्पादन समितिको बैठक बसेको थियो । आजै केहीबेरमै कांग्रेस संसदीय दलको बैठक बसेर कार्यासम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्नेछ।   प्रधानमन्त्री प्रचण्‍डले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी छ।