काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको नतिजाबाट आफ्नो पार्टीले अघि सारेका ‘एजेन्डा’ र अघि बढाउन खोजेको अभियानलाई जनअनुमोदन गरेको पुष्टि भएको बताएको छ । उपनिर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि आज वक्तव्य जारी गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचित जनप्रतिनिधिको सङ्ख्या र जनमतका हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताउनुभएको हो । आफ्नो नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई जनस्तरसम्म पु¥याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरका रुपमा उपनिर्वाचनलाई लिइएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई आफ्नो पार्टीले ‘आफ्नो एजेन्डा र आफ्नै एकल पहिचान’का साथ प्रतिस्पर्धा गर्न प्राप्त गरेको जनादेशका रुपमा लिएको बताउनुभएको छ । उहाँले जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । राजनीतिक उपलब्धिको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, फेरिएको व्यवस्थाअनुरुप जनताको अवस्था बदल्न र राज्यबाट हुने सेवा प्रवाहलाई सरल र सहज रुपमा जनताको घरदैलोमा पु¥याउने महत्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा रहेको जनाउँदै अध्यक्ष दाहालले माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई जनसेवामा परिचालन गरिने बताउनुभयो । “हाम्रो पार्टीले नेतृत्व गरेका स्थानीय तहले उत्कृष्ट कार्य सम्पादन गर्दै आएका छन्, आगामी दिनमा यसलाई बढाउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेन्डामा केन्द्रित रहेर सबै जनप्रतिनिधिलाई पूर्ण रुपमा जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध छ”, वक्तव्यमा उहाँले भन्नुभएको छ । अध्यक्ष दाहालले स्थानीय तह उपनिर्वाचनमा आफ्नो पार्टीलाई अमूल्य मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले निर्वाचित सबै जनप्रतिनिधिलाई बधाईज्ञापन गर्नुभएको छ । उहाँले निर्वाचनमा अहोरात्र खट्ने पार्टीका नेता कार्यकर्ता, आम जनसमुदाय तथा निर्वाचन आयोग, राष्ट्रसेवक, सुरक्षा निकाय र सञ्चार क्षेत्रलाई धन्यवादज्ञापन गर्नुभएको छ ।
काठमाडौँ: उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारमा काम गरिरहेका नेपाली श्रमिकलाई २४ घण्टा बीमाको व्यवस्था मिलाउन कतार सरकारसँग आग्रह गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा आज आफूसँग भेट गर्न आउनुभएका नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अली अल अन्सारीलाई उपराष्ट्रपतिले त्यहाँ मृत्यु वा घाइते भएका नेपाली श्रमिकको उद्धार र उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा विभिन्न अस्पताल, निर्वासन केन्द्र र जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग गरिदिन अनुरोध गर्नुभयो । “कतारमा ६७ जना नेपाली जेल सजाय भुक्तान गरिरहेका छन् र धेरै नेपाली कागजविहीन बसिरहेका छन्”, भेटमा उपराष्ट्रपतिले भन्नुभयो, “म महामहिमलाई आममाफी दिन वा जेलको समय घटाउन र कागजातविहीन नेपालीलाई नियमित काम गर्न वा उनीहरूलाई नेपाल फर्काउनमा सहयोग गर्न अनुरोध गर्दछु ।” उपराष्ट्रपति यादवले नेपाल र कतारले पारस्परिक हित र चासोका विषयमा बहुपक्षीय र क्षेत्रीय मञ्चमा नजिकबाट काम गर्दै र एकअर्कालाई समर्थन गर्दै आएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाली नागरिक विपीन जोशीलगायत अन्य बन्धकको रिहाइका लागि कतारले गरेको मध्यस्थताका लागि प्रशंसासमेत गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक दिनेश यादवले जानकारी दिनुभयो । भेटमा कतारका राजदूत अन्सारीले दुईबीचको सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिँदै नेपालमा लगानी प्रवद्र्धन तथा संरक्षणको पक्षमा रहेको बताउनुभयो । कतारमा हाल चार लाख नेपाली कामदार रहेको जानकारी दिँदै उहाँले नेपाली श्रमिकको हितलाई कार्यान्वयन आफूले प्रयास गर्ने बताउनुभयो ।
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको सूचना–प्रविधि (आइटी) क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गर्नुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा सामाजिक सञ्जाल टिकटकले आज यहाँ आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट’मा उहाँले नेपालमा लगानीको सुरक्षा रहेको तथा आइटी क्षेत्र आकर्षक लगानीको विधा भएकाले त्यसमा ढुक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरुलाई आह्वान गर्नुभएको हो । उहाँले वैदेशिक लगानी सुरक्षित गर्न सरकारले पर्याप्त नीतिगत व्यवस्था गरेको बताउनुभयो । टिकटकजस्ता अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनीहरुलाई नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार गरिएको जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले निजी क्षेत्र तथा बहुराष्ट्रिय कम्पनीहरुको लगानी सुरक्षा गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा डिजिटल टेक्नोलोजीमा लगानीको वातावरण छ, प्रतिफल पनि सुनिश्चित गरिएकाले निर्धक्क भएर लगानी गर्न सक्नुहुन्छ ।” सूचना–प्रविधिको क्षेत्रमा लगानी गर्ने कम्पनीहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रलायले समाजप्रतिको सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्ने सर्तहरु पनि राखेको जानकारी दिनुभयो । ती सर्त पालना गरेर नेपालमा टिकटक पुन: सञ्चालनमा आएको उहाँले बताउनुभयो । सरकारको डिजिटल नेपाल बनाउने उद्देश्य साकार पार्न नागरिक समाज, निजी क्षेत्र, सामाजिक सञ्जाल प्लेटफर्म प्रयोगकर्तालगायत व्यक्ति र संस्थाको साझा प्रयत्न आवश्यक छ भन्नुभयो । मन्त्री गुरुङले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका, २०८१ बमोजिम मन्त्रालयमा टिकटक सूचीकरण भएको बताउनुभयो । टिकटकले डिजिटल सुरक्षा अभियान, तालिम र कार्यशाला, स्थानीय सामग्री उत्पादनमार्फत डिजिटल साक्षरता बढाउन, शैक्षिक सामग्री तयार गर्न, छात्रवृत्ति प्रदान, शैक्षिक प्रतिष्ठानमा स्मार्ट कक्षाकोठा सञ्चालनका माध्यमबाट मुलुकको शैक्षिक प्रणालीको आधुनिकीकरणमा सघाउ पुर्याउनेमा आफू विश्वस्त रहेको मन्त्री गुरुङले बताउनुभयो । देशको पर्यटन प्रवद्र्धनमा सघाउने, आइटीको विकासमा योगदान गर्ने, सांस्कृतिक र शैक्षिक उन्नतिमा जोड दिनेलगायत सर्त सरकारले टिकटकसँग राखेको जानकारी मन्त्री गुरुङले दिनुभयो । सरकारले राखेका ती सर्त पालना गरेकाले टिकटक नेपालमा दर्ता भई पुनः सञ्चालनमा आएको बताउनुभयो । “टिकटकले सामाजिक आर्थिक विकासका साथै मर्यादित समाजिक सञ्जालको छवि कायम गर्छ भन्नेमा विश्वस्त छाैं”, उहाँले भन्नुभयो, “नेपाल सरकारले आगामी दशकलाई आइटी दशकका रूपमा घोषणा गरिसकेको तथा देशलाई सूचना– प्रविधिको हबका रूपमा विकास गर्ने लक्ष्य छ ।” उहाँले आइटीका माध्यमबाट पाँचदेखि १० लाख रोजगारीका अवसर सृजना गर्ने सरकारी लक्ष्य पनि सुनाउनुभयो । फरक प्रसङ्गमा सञ्चारमन्त्री गुरुङले सामाजिक सञ्जालहरू मुलुकको मौजुदा ऐन, कानुन र कार्यविधिअनुसार सञ्चालन हुुनुपर्नेमा जोड दिनुभयो । उहाँले बढ्दो ‘साइबर’ अपराध नियन्त्रणबाट नै सभ्य समाजको निर्माणमा सहयोग पुग्ने भएकाले साइबर सुरक्षाका निम्ति पनि सरकार प्रतिबद्ध रहेको दोहो¥याउनुभयो । महिला तथा बालबालिका यसबाट बढी प्रभावित भएकामा चिन्ता व्यक्त गर्दै मन्त्री गुरुङले सूचना प्रविधिको सही उपयोगमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सधैँ समता, न्याय र समावेशी लोकतन्त्रको पक्षमा वकालत गर्दै आएको उल्लेख गर्नुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई सुनिश्चित गर्दै उहाँहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वलाई अझ व्यापक बनाउन कांग्रेस सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ । सभापति देउवाले दिवसका अवसरमा सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरू, उहाँका परिवार तथा यस अभियानमा संलग्न सबैप्रति शुभकामना व्यक्त गर्नुभएको छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने यस वर्षको नाराले समावेशी समाज निर्माणमा अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई थप सशक्त र प्रेरणादायी बनाउने उहाँले उल्लेख गर्नुभएको छ । सभापति देउवाले समावेशी विकासको प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूको योगदानलाई सम्मान गर्दै उहाँहरूका लागि समान अवसर, पहुँच र सम्मानजनक जीवनयापनको सुनिश्चितता हाम्रो साझा दायित्व भएको बताउनुभएको छ । “अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकारका धारकको रूपमा स्वीकार गर्दै उनीहरूको क्षमता र सक्षमतामा भरपूर विश्वास राख्नुपर्छ”, सभापति देउवाले भन्नुभएको छ, “यस अवसरमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन, उहाँहरूको जीवनस्तर सुधार, शिक्षा, रोजगारी र स्वास्थ्य सेवामा समान पहुँचका लागि सबै तहका सरकार, नागरिक समाज र सरोकारवाला बीच एकता र सहकार्यको खाँचो छ ।” उहाँले कांग्रेसले अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि आवश्यक कानुनी, सामाजिक र संरचनागत सुधारमा निरन्तर योगदान गर्दै आइरहेको जनाउँदै आगामी दिनमा पनि यस्ता पहललाई थप प्रभावकारी बनाउने उल्लेख गर्नुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व र समावेशीतालाई समाजको मुख्य प्रवाहमा समेट्दै दिगो र समतामूलक विकासका लागि सहकार्य गर्न कांग्रेस सबैसँग आग्रह गर्ने उहाँको भनाइ छ ।
काठमाडौँ: स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडाैँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो । कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल पाँच हजार तीन सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शिवशरण महर्जनले चार हजार पाँच सय ५५ मत प्राप्त गर्नुभयो । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले चार हजार तीन सय २७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जनले दुई हजार ३६ मत प्राप्त गर्नुभयो । दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा विजयी हुनुभएको छ । उहाँले दुई हजार आठ सय पाँच मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार निम लेकी शेर्पाले दुई हजार छ सय मत प्राप्त गर्नुभयो । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार पासदिकी तामाङले एक हजार सात सय २७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनकुमारी श्रेष्ठले एक सय १८, राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा श्रेष्ठले एक सय, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का रविना खड्काले ९० मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमिल्सिना विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार तिमिल्सिनाले ४३ मत अन्तरले विजयी हुनुभएको हो । सर्केगाडमा छ हजार आठ सय १० मतदाता रहेकामध्ये चार हजार पाँच सय २४ मत खसेको थियो । तिमल्सिनाले एक हजार छ सय ३७ मत ल्याएर विजय हासिल गर्नुभएको हो । उहाँकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सविता बुढाले एक हजार पाँच सय ९४, नेकपा एमालेकी जाना शाहीले एक हजार एक सय ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सङ्गीता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टीकी बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले नौ मत प्राप्त गर्नुभयो । आयोगका अनुसार उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे पाँच सय ५९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी मोहन खड्काले पाँच सय २५, नेपाली कांग्रेसका नवराज बस्नेतले चार सय चार, जनता समाजवादी पार्टीका राजकुमार राईले दुई सय सात, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विश्वकर्माले एक सय २३ मत प्राप्त गर्नुभएको छ । मत परिणामअनुसार कांग्रेसले कीर्तिपुरको प्रमुखसहित १६ वडाध्यक्षमा जीत हासिल गरेको छ । यसैगरी एमाले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वटा वडामा विजयी भएको छ । माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सात वटा वडामा जीत हासिल गरेको छ । उपनिर्वाचनमा जसपा नेपाल दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एक/एक स्थानमा विजयी हुँदा एक स्वतन्त्र उम्मेदवारले पनि वडाध्यक्षमा स्थान बनाउनुभएको छ । कूल ४४ पदका लागि उपनिर्वाचनको कार्यतालिका रहे पनि आइतबार ४१ पदका लागि मात्रै मतदान भएको थियो । ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र रुकुमपूर्वको पुथा उत्तरगङ्गा–२ को वडाध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको थियो । आयोगका अनुसार नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडाध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका दुई सय ७४ जना र स्वतन्त्र एक सय दुई जना गरी जम्मा तीन सय ७६ उम्मेदवार थिए । कहाँ को निर्वाचित ? मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी छ हजार नौ सय ६९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत प्राप्त गर्नुभयो । दैलेखको महाबुँ गाउँपालिकाको अध्यक्षमा एमालेका जङ्गबहादुर शाही तीन हजार एक सय २७ मतसहित विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत ल्याउनुभयो । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीका देवका लामिछाने चार हजार दुई सय ७२ मत पाई निर्वाचित हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका इन्द्रा चन्द (सिंह) ले तीन सय एक सय ४७ मत प्राप्त गर्नुभएको छ । रुकुम (पूर्व भाग) को पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुर बुढा तीन हजार छ सय २७ मत ल्याएर विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार केशकुमारी तुलाचनले दुई हजार एक सय २८ मत मात्रै पाउनुभयो । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी हुनुभयो । उहाँले एक हजार सात सय ४० मत ल्याउँदा कांग्रेसका पुल्तीसरा शाहीले एक हजार चार सय ७४ मत पाउनुभयो । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ मा एमालेका कुमारी सावादेन तीन सय ५३ मतसहित विजयी हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बी साउदेनले दुई सय ५१ मत प्राप्त गर्नुभयो । झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली चार सय ९३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको प्रतिद्वन्द्वी एमालेका तुलाराम बस्नेतले तीन सय ५६ मत पाउनुभयो । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेसका नगेन्द्र लिम्बू चार सय ४० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँसँग एमालेका बुद्धबहादुर लिम्बू तीन सय ६० मत प्राप्त गरी पराजित हुनुभयो । सुनसरीको गढी गाउँपालिका–६ मा कांग्रेसका तेतर साहु आठ सय १६ मत प्राप्त गरी विजयी हुँदा माओवादी केन्द्रका कुशेश्वर खेरवार सात सय ९४ मत प्राप्त गरी पराजित हुनुभयो । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा एमालेका गङ्गाबहादुर तामाङ तीन सय ९९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका घनश्याम दाहाल एक सय ७७ मत पाएर पराजित हुनुभयो । उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई विजयी हुनुभयो । उहाँले नौ सय २३ मत पाउँदा एमालेका लक्ष्मीनारायण चौधरीले छ सय आठ मत प्राप्त गर्नुभयो । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह निर्वाचित हुनुभएको छ । उहाँसँग कांग्रेसका भूलियादेवी थरुनी पाँच सय ८७ मत मात्र प्राप्त गरी पराजित हुनुभयो । डाक्नेश्वरी–४ मा जनता समाजवादी पार्टी नेपालकै देवेन्द्रप्रसाद यादव तीन सय ७२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी कांग्रेसका जोगिन्द्रराय अमातले दुई सय ७७ मत पाउनुभयो । धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका सुनील कापर केवट छ सय ८४ मतसहित विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गर्नुभयो । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमालेका सकिवुल खाँ छ सय ३१ मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँको प्रतिस्पर्धी आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गर्नुभयो । रौतहटको ईशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक छ सय २७ मतसहित विजयी हुँदा एमालेका शेख अनवार पाँच सय ७५ मत प्राप्त गर्नुभएको थियो । गढीमाई नगरपालिका–८ एकीकृत समाजवादीका बजरङ्गी प्रसाद यादवले छ सय ५५ मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका जीउतीदेवी यादवले छ सय ३१ मत पाउनुभयो । रौटहटकै राजपुर नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम सात सय ४४ मतसहित विजयी हुँदा माओवादीका जिकरलाह चार सय ६३ मत पाई पराजित हुनुभयो । नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे एक हजार ८५ मत प्राप्त गरी विजयी हुनुभयो । कांग्रेसका सूर्य तामाङले पाँच सय ८७ मत प्राप्त गर्नुभयो । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले दुई हजार दुई सय २० मत प्राप्त गरी पराजित हुनुभयो । काठमाडौँका कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन पाँच सय ६२ मत पाई निर्वाचित हुनुभयो भने एमालेका हर्ष महर्जनले चार सय ९८ मत मात्रै पाउनुभयो । वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी हुनुभयो । उहाँले सात सय ४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी) ले चार सय ९५ मत पाउनुभयो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मतसहित विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी माओवादीका रविकुमार प्रधान एक हजार पाँच सय ६० मतसहित पराजित हुनुभयो । गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर चार सय ८६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी भाइकाजी आलेले चार सय दुई मत मात्र पाउनुभयो । गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका दलबहादुर थापाले नौ सय ३० मत पाउनुभयो । कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ मा एमालेका मोहमद ताहिर मुलसलमाले एक हजार एक सय ५० मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत पाउनुभयो । रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका भूपमणि पुनमगर छ सय ४३ मतसहित विजयी हुँदा एमालेका वेगम पुनले पाँच सय ३५ मत पाउनुभयो । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस उम्मेदवार अमिन थारु एक हजार ४३ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी शेरबहादुर थारुले छ सय ७८ मत पाउनुभयो । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री एक सय ६१ मतसहित निर्वाचित हुनुभयो । उहाँको प्रतिस्पर्धी नरबहादुर रोकाले एक सय १६ मत पाउनुभयो । कालिकोटको तिलागुफा नगरपालिका–४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही एक सय ४३ मतसहित विजयी हुँदा प्रतिस्पर्धी माओवादीका नौशोभा शाही एक सय १५ मतमा सीमित हुनुभयो । जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह तीन सय ४७ मत ल्याएर विजयी हुँदा माओवादीका गोरखबहादुर नेपालीले तीन सय ३२ मत पाउनुभयो । दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही पाँच सय ७४ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका रेशमबहादुर शाहीले पाँच सय ७१ मत पाउनुभयो । रुकुम (पश्चिम भाग) को सानीभेरी गाउँपालिका–५ मा कांग्रेसका मोतीराम खत्री पाँच सय ९० मतका साथ निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी माओवादीका जसीराम बस्नेतले पाँच सय ३७ मत पाउनुभयो । बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा छ सय ५७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका लखीचन्द्र बोहोरा चार सय ८७ मतमा सीमित हुनुभयो । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा चार सय ६८ मतका साथ निर्वाचित हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापाले तीन सय एक मत पाउनुभयो । दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका धनसिंह कुँवर तीन सय ७६ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका मानसिंह बडाल तीन सय ५८ मतमा सीमित हुनुभयो । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द एक हजार एक सय सात मतसहित निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका बहादुर चन्दले चार सय ८७ मत ल्याउनुभयो ।
चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली छ्याङ तथा चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । साथै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आजै शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’सहित प्रधानमन्त्री ओलीलाई चिनियाँ नेतृत्वले ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नेछ । परराष्ट्र मन्त्रालयका प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबिच आज नै द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि दुई देशबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ चीन भ्रमणमा जानु भएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुनेछ । त्यस्तै उहाँले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सबै कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कनेछ । चार दिवसीय चीन भ्रमणका क्रममा सोमबार उहाँ बेइजिङ पुग्नुभएको हो । उहाँलाई बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका उच्च सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायत हुनुहुन्छ ।
गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको पहिलो चौमासिकको वित्तीय प्रगति सन्तोषजनक देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल विनियोजित बजेटमध्ये एक अर्ब २७ करोड रुपैयाँ अर्थात् १०.०४ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा यो खर्च ७ प्रतिशत हाराहारीमात्र थियो । भौतिक मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १२ अर्ब ७० करोड १६ लाख रुपैयाँ विनियोजन भएको थियो । सोमबार चालु आर्थिक वर्षको मन्त्रालयस्तरीय विकास समाधान समितिको बैठक तथा प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै भौतिक मन्त्री केसीले फागुन मसान्तसम्म ५० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । ‘चालु आर्थिक वर्षको हालसम्मको भौतिक र वित्तीय प्रगति १० प्रतिशत रहनु सन्तोषजनक नै हो । धेरै योजना ठेक्काको प्रक्रियामा रहेकाले पनि यो न्यून हुनु स्वाभाविक हो,’ उनले भने, ‘दोस्रो चौमासिकको समीक्षामा आउँदा कम्तीमा ५० प्रतिशतसम्म खर्च गर्ने गरेर सक्रिय रहनुहुन अनुरोध गर्दछु ।’ योजनाहरुको दिगोपनका लागि अनुगमन मूल्यांकन समयसमयमा गर्न र गुणस्तरीय नतिजामा ध्यान दिन मन्त्री केसीले कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । रकम अभाव हुने बहुवर्षीय योजनाको समस्या समाधान गर्न दोस्रो चौमासिकपछि टुक्रे योजनाबाट बचत भएको रकम प्रयोग गर्न सकिने मन्त्री केसीले बताए । ‘प्रथम चौमासिक र दोस्रा चौमासिकमा टुक्रे योजनाको ठेक्का व्यवस्थापन भइसकेपछि बचत हुने रकमलाई नियमानुसार रकमान्तर गरेर त्यो समस्या समाधान गर्न सकिन्छ,’ उनले भने । संघबाट हस्तान्तरण भएका योजनाको बजेटका लागि प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयबाट संघ सरकारको अर्थ मन्त्रालयमा अनुरोध गर्ने तयारी रहेको मन्त्री केसीले बताए । पोखरास्थित यातायात कार्यालयमा सेवाग्राहीको चाप बढी भएकाले लेखनाथमा नयाँ कार्यालय खोल्न लागिएको उनले जानकारी दिए । आफ्नो निर्देशनपछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोतीस्थित यातायात कार्यालयले टोकन सिस्टमबाट सेवा प्रवाह गरेको र अन्य कार्यालयमा पनि त्यसैअनुसार गर्न मन्त्री केसीले निर्देशन दिए । ‘टोकन डिस्पेन्सर मेसिन खरिद गर्न सकिहाल्ने अवस्था छैन भने अरु विकल्प सोच्नुहोला,’ उनले भने, ‘कागजमा सेवाग्राहीको पालो आउने नम्बर लेखेर, कार्यालयको छाप हानेर कागजकै प्रयोग गर्न सकिन्छ । काठमा नम्बर खोपिएको टोकन पनि प्रयोग गर्न सकिन्छ ।’ आर्थिक मामिला मन्त्री टकराज गुरूङले योजनाको दोहोरोपनको समस्या पालिकासँगको समन्वयमा समाधान गर्न सकिने बताए । एउटा जिल्लाको योजना अर्को जिल्लामा परेको भए सम्बन्धित क्षेत्रका प्रदेश सांसद, पालिकाको जनप्रतिनिधिको मुचुल्का उठाएर मन्त्रालयमा पत्राचार गर्न उनले आग्रह गरे । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्त्रालयअन्तर्गतका पूर्वाधार कार्यालय, यातायात कार्यालय, शहरी विकास तथा भवन कार्यालयका प्रमुख सहभागी थिए । उनीहरुले कार्यालयको चौमासिक प्रगति, काम गर्ने क्रममा भोग्नुपरेका समस्या, मन्त्रालयबाट आवश्यक सहयोगलगायत विषयमा प्रस्तुति राखेका थिए ।
बेइजिङ: प्रधानमन्त्री केपी शर्मा ओली चार दिवसीय चीन भ्रमणका क्रममा आज बेइजिङ आइपुग्नुभएको छ । उहाँलाई यहाँस्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गर्नुभयो । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आज बेइजिङ आइपुग्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्नुहुनेछ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुने छ । त्यस्तै उहाँले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य रहनुहुनेछ । त्यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत हुनुुहुन्छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ ।
सुदूरपश्चिम प्रदेशमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस चार वडाध्यक्ष र नेकपा (एमाले) एक गाउँपालिका उपाध्यक्षमा विजयी भएको छ । कांग्रेस वडाध्यक्षबाहेक कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा विजयी भएको हो । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले) की सुलोचनाकुमारी भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले एक हजार चार सय ७४ मत पाउनुभयो । तेस्रो स्थानमा नेकपा (एकीकृत समाजवादी) की जवा शाहीले पाँच सय ५३ मत पाउनुभयो । दुई वर्षअघि भएको निर्वाचनमा यो गापाको उपाध्यक्षमा कांग्रेसकी मैना जोशी निर्वाचित हुनुभएको थियो । उहाँको निधनपछि उपनिर्वाचन भएको हो । विसं २०७४ मा भने सो गापामा एमाले नै विजयी भएको थियो । दुई वर्षअघिको निर्वाचनमा पराजय बेहोरेको कांग्रेस उपनिर्वाचनमा बझाङ जिल्ला, सुर्मा गापा–४ र दार्चुला जिल्ला, दुहु गापा–५ को वडाध्यक्ष पदमा निर्वाचित भएको छ । सुर्मा–४ मा कांग्रेसका धीरेन्द्र पुजारा छ सय ५७ मतसहित विजयी हुँदा उहाँको निकटतम प्रतिस्पर्धामा एमालेका लखिचन्द्र बोहराले चार सय ८७ मत पाउनुभयो । यसअघिको निर्वाचनमा एमालेका प्रत्यासी यो वडाको वडाध्यक्षमा विजयी हुनुभएको थियो । यसअघिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) विजयी भएको दार्चुला दुहु–५ को वडाध्यक्षमा कांग्रेसका धनसिंह कुँवर तीन सय ७६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धि एमालेका मानसिंह बडालले तीन सय ५८ मत पाउनुभयो । कांग्रेसले डोटीको पूर्वीचौकी गापा–६ र कञ्चनपुर भीमदत्तनगर नगरपालिका–६ को वडाध्यक्षमा पुनः विजय प्राप्तगरी बिरासत जोगाएको छ । पूर्वीचौकीमा कांग्रेसका मोहन थापा चार सय ६८ मत प्राप्त गरी वडाध्यक्षमा विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापा तीनसय एक मत पाउनुभयो । भीमदत्त नगरनगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द एक हजार एक सय सात मत प्राप्त गरी विजयी हुँदा एमालेका बहादुर चन्द चार सय ८७ मतमा सीमित हुनुभयो । उपनिर्वाचनअन्तर्गत नै कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसकी टीका चौधरीभूल निर्विरोध निर्वाचित भइसक्नुभएको छ । उपनिर्वाचनमा संसद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का साथै नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको नतिजा शून्य भएको छ । आइतबार भएको उपनिर्वाचनमा मतदान गर्न योग्य कूल मतदातामध्ये स्वामीकार्तिक खापर गाउँपालिकामा ५२, सुर्मा गापामा ७६, पूर्वीचौकी गापामा ५३, दुहुँ गापामा ६९ र भीमदत्तनगर नगरपालिकामा ५५ प्रतिशत मत खसेको थियो ।