काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसदबाट निलम्बित भएका छन्। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले लामिछाने सांसदबाट निलम्बित भएको जनाएका छन्। संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना जारी गरी लामिछाने सांसदबाट निलम्बित भएको जानकारी दिएका हुन्।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई तोकिएको छ । रास्वपाको आज बसेको सचिवालयको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय गरेको हो । पार्टी सभापति रवि लामिछानेद्वारा उपसभापति अर्याललाई कार्यवाहक सभापति तोकिएको व्यहोरा आजको सचिवालयको बैठकमा जानकारी गराइएको थियो । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले भन्नुभयो, “सभापति लामिछानेले आफ्नो अनुपस्थितिमा सम्पूर्ण पार्टी पंक्तिलाई देश निर्माण गर्ने महाअभियानमा सशक्त राख्न कार्यवाहक सभापतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न अपेक्षा सहित अर्याललाई शुभकामना दिनुभएको छ ।” पार्टी सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो । आइतबार नै सभापति लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न कास्की प्रहरीले सङ्घीय संसद् सचिवालयलाई पत्र पठाइसकेको छ ।
नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिका ७ वडा कमिटीको दोस्रो वडा अधिवेशनबाट विष्णु चापागाई अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न वडा कमिटीको अधिवेशनले चापागाईको नेतृत्वमा १५ सदस्सीय वडा कमिटी निर्वाचित गरेको हो । उक्त कमिटीको उपाध्यक्षमा शिवराम भण्डारी, सचिवमा कमल गुरुङ , उपसचिवमा खुशीमान आले र लिला थापा मगर चयन भए । यसअघि उद्घाटन सत्रमा प्रमुख अतिथिसमेत रहेका पार्टीका गण्डकी प्रदेश कमिटी सदस्य एवं अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले सामाजिक न्याय , विकास र समृद्धिको लागि सबै जना एमालेको झण्डा मुनी गोलबन्द हुनुपर्ने बताएका थिए । कार्यक्रममा प्रदेश कमिटी सदस्य एवं अन्नपूर्ण इन्चार्ज भरत मान गुरुङ, जिल्ला कमिटी सदस्य नविन गिरी, जिल्ला सदस्य एवं वडा इन्चार्ज प्रदिप गुरुङ , अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, पार्टी अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष चुडामणी अधिकारी, एमाले नेता श्याम गुरुङ, पुर्व वडा अध्यक्ष घनश्याम चापागाईं, नेपाली कांग्रेस वडा समिति सचिव परित्याग गरि एमाले प्रवेश गरेका ओम बहादुर गुरुङ लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसैबीच कार्यक्रममा नेकपा(एमाले) अन्नपूर्णका युवा नेता सन्तोष गुरुङको विशेष पहलमा नेपाली काँग्रेस क्षत्रीय समिति सदस्य केशवराज दुरा , अन्नपूर्ण –७ वडा इकाई सचिव ओम बहादुर गुरुङ र गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस बाट वडा सदस्य उम्मेदवार होम बहादुर थापाको नेतृत्वमा १३ जना भन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका थिए । कमिटीका कार्यबहाक अध्यक्ष महेश कुलुङ राइको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा सदस्य राम गुरुङले गर्नुभएको थियो ।
काठमाडौं: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको व्यवस्थापन नै कांग्रेसका लागि मूल चूनौती रहेको बताउनुभएको छ । नेपाली कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत कांग्रेस काठमाडौंँ महानगर समितिले क्षेत्रपार्टीमा आज आयोजना गरेको महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अहिले कांग्रेसका लागि पार्टीलाई व्यवस्थापन गर्न सक्ने कि नसक्ने भन्ने मुख्य सवाल हो, क्रियाशील सदस्यको सङ्ख्या धेरै छ । तर, क्रियाशील सदस्यलाई सदस्यताको महत्व बुझाउन जरुरी छ ।” हरेक क्रियाशील सदस्यलाई पार्टीको गतिविधिमा संलग्न गराउनुपर्नेमा नेता सिंहले जोड दिनुभयो । देशमा प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य मान्यता ल्याउन धेरै सङ्घर्ष गरेको र जनताको पटक–पटक विश्वास जितेको कांग्रेस पार्टीको क्रियाशील सदस्यता सामान्य विषय नभएको उहाँले बताउनुभयो । पार्टीभित्र समस्या भए बसेर समाधान गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।काठमाडौंवासीले भोगेका पीर मर्का र समस्या समाधान गर्नतर्फ लाग्न नेता सिंहले काठमाडौँ महानगर समितिलाई आग्रह गर्नुभयो । १ सय दिने विशेष अभियानले पार्टी सङ्गठन सुदृढीकरण गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । काठमाडौँ कांग्रेसको सय दिने विशेष अभियानका लागि नेता कृष्णप्रसाद सिटौला खटिनुभएको छ ।
दाङ: तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारको प्रयास प्रारम्भ भएको छ । सत्ता साझेदार दलका नेताहरुले विमानस्थल विस्तारको प्रयास थालेका हुन् । आइतबार लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल र नेपाली कांग्रेसका नेता पूर्वसिँचाईमन्त्री एवं दाङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य दीपक गिरीले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर टरीगाउँ विमानस्थल धावन मार्गको स्तरोन्नतिका लागि छलफल गर्नुभएको हो । उहाँहरूले धावनमार्ग विस्तारका लागि बजेटका साथै जग्गा व्यवस्था गर्न अनुरोध गर्दै विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) पनि प्रस्तुत गर्नुभएको थियो । पूर्वमन्त्री गिरीका अनुसार विमानस्थल विस्तारका लागि रु तीन अर्ब, ४२ करोड २८ लाख लाग्ने अनुमानसहित मन्त्री पाण्डेयसमक्ष डिपीआर प्रस्तुत गरिएको हो । सात सय ५० मिटर लामो धावनमार्गलाई एक हजार पाँच सय मिटरमा विस्तार गर्ने प्रस्ताव डिपीआरमा भएको छ ।
काठमाडौं: प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयमा देखिएका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज करिब तीन घन्टा भएको अनौपचारिक सिनेट बैठकमा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पसलगायत क्षेत्रका प्रतिनिधिले क्षेत्रगत समस्या र समाधानका उपाय सुझाएका छन् । प्रधानमन्त्री ओलीले सबै क्षेत्रका समस्या र मागलाई समेटेर सरोकारवाला पक्षसँग थप छलफल गरी समाधानका उपायसहित निर्णय गर्नुपर्ने विषयहरु प्रस्तावका रुपमा ल्याउन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिनुभयो । गत मङ्सिर २७ गते कीर्तिपुरमा भएको विश्वविद्यालयको सिनेट बैठकमा प्रस्तुत कार्यसूचीमा पदाधिकारी र सिनेट सदस्यबीचको दूरी बढेको महसुस भएपछि कुलपति ओलीले विस्तृत छलफल गर्न आजका लागि समय निर्धारण गर्नुभएको थियो । सिनेट सदस्यहरुले कुलपतिस्तरबाट यस प्रकारको बैठक पहिलो पटक राखिएको र आफ्ना कुराहरु खुलेर राख्न पाइएको बताएकामा धन्यवाद दिएका थिए ।सिनेट सदस्यका सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले पर्याप्त गृहकार्य र एक प्रकारको सहमति भएपछि औपचारिक बैठकमा प्रस्ताव ल्याउन आग्रह गर्नुभयो । गत मङ्सिर २७ गतेको सिनेट बैठकका छलफललाई बङ्ग्याएर सामाजिक सञ्जालमा प्रस्तुत गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सिनेटरहरु सार्वजनिक खपतका लागि नभई समस्या समाधान र सुधारको मुख्य मुद्दामा तर्कपूर्णरुपमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले आफूलाई विश्वविद्यालयबाट व्यक्तिगतरुपमा लिनुदिनु ९लाभहानी० केही नभएको स्पष्ट गर्दै त्रिविको विकास, रक्षा, प्रवद्र्धन र प्रगति नै साझा चिन्ता हुने भएकाले यसको मर्यादा, गरिमा र साखलाई जोगाउन आग्रह सबैलाई गर्नुभयो । कुलपति ओलीले त्रिविको वेवसाइटमा यसका जनशक्ति, गरिएका काम र लक्ष्यहरुलाई सार्वजनिक गर्न आग्रह गर्दै यस खालको पवित्र संस्थामा पारदर्शीता कायम गर्न स्मरण गराउनुभयो । “विश्वविद्यालयको शैक्षिक क्यालेण्डर पालना हुनुपर्छ । अनौपचारिक बैठक भएपनि यसलाई निर्देशन नै मान्दा हुन्छ । विश्वविद्यालयमा पारदर्शीता हुनुपर्छ । मेरिटोक्रेसी कायम हुनुपर्छ । उत्कृष्ट भएकालाई उत्कृष्ट नम्बर दिइनुपर्छ । फेल भएकालाई फेल गराइनुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “मेरो भनाइ साँच्चैको मेरिटोक्रेसी होस् भन्ने हो । मलाई कुन डीनको कति मेरिटोक्रेसी छ मलाई थाहा छैन । को नियुक्त हुन्छ, त्यो मेरो रुचिको विषय होइन, मेरो रुचिको विषय यो विश्वविद्यालय सबल होस्, सक्षम जनशक्ति उत्पादन हुन् भन्ने हो । नियुक्तिहरुमा मेरो कुनै हस्तक्षेप हुँदैन । निर्णय गर्ने पदाधिकारीले हो, त्यसकारण सफलता र असफलताको जस तपाईँहरुले लिनुपर्छ । कुलपतिका हैसियतले राम्रो गर्नुस् भन्ने मात्रै मेरो चासो हो । यसलाई पनि हस्तक्षेप मानिए त आश्चर्यबाहेक अरु के मान्न सकिन्छ र रु” उहाँले त्रिविको चल–अचल सम्पति खोजबिन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयनका लागि कार्यदल बनाउनुपर्ने र प्रतिवेदन पर्याप्त नभएकाले थप अध्ययन गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले त्रिवि सेवा आयोगले नियमित परीक्षा लिने काम नगर्ने हो भने यसको औचित्यमा पुनः विचार गर्न आग्रह गर्नुभयो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई, उपकुलपति प्रा डा केशरजङ्ग बराल, शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायतको सहभागिता रहेको थियो ।
कैलाली: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधन, स्थायित्व, आर्थिक अवस्था सुधार, विकास र सुशासनका लक्ष्यसहित सरकार बनेको बताउनुभयो । नेता डा कोइरालाले सो लक्ष्यअनुसार सरकारले जुनसुकै अवस्थामा पनि काम गर्नुपर्ने सुझाव दिनुभयो । “यो अन्तिम विकल्पको सरकार हो । संसदका दुई ठूला दल मिलेर बनेको सरकारले पनि काम गर्न नसके देशमा अराजकता निम्तिन्छ भनेर धेरै विद्वानहरूले सचेत गराइराखेका छन् । हामीले पनि आफ्नो तर्फबाट यही कुरा भनिराखेका छौँ । अहिलेको सरकारलाई असफल हुने छुट छैन”,उहाँले जोड दिएर भन्नुभयो,“कुनै पनि हालतमा अहिलेको सरकार अगाडि जानुपर्छ । आफ्नो म्यान्डेड पूरा गर्नुपर्छ ।” नेता डा कोइरालाले कांग्रेस र एमाले मिलेर मात्र संविधान संशोधन नहुने भएकाले अन्य सबै राजनीतिक दलबीच बृहत् समझदारी गरेर निष्कर्षमा पुग्नुपर्नेमा जोड दिनुभयो । नेता डा कोइरालाले गेटा मेडिकल कलेजका भौतिक संरचनालाई सदुपयोग गर्दै स्थापनाको लक्ष्यअनुसार तत्काल काम अगाडि बढाउनुपर्ने र त्यसमा आफूहरूले कोसिस गरिरहेका बताउनुभयो । यसैगरी उहाँले १ वर्षभित्र पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने दायित्व रहेकाले सोअनुसार आफ्नो जिम्मेवारीमा जुट्न सबैलाई आह्वान गर्नुभयो ।
पोखरा: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी कागजात देशभित्रै छापिने उल्लेख गर्नुभएको छ । मन्त्री गुरुङले राहदानीलगायतका सरकारी कागजात देशभित्रै छाप्ने तयारीमा सरकार रहेको जानकारी दिनुभयो । वराह माध्यमिक विद्यालय माछापुच्छे ६, कास्कीमा आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय सुरक्षा र खर्च कटौतीका लागि पनि यसो गर्नु जरुरी रहेको औँल्याउनुभयो । “धेरैजसो सरकारी कागजात र परिचयपत्र विदेशमा छापिने गरेका छन् । अबको एक वर्षभित्रै पासपोर्ट ९राहदानी० नेपालमै छाप्छौँ,” उहाँले भन्नुभयो, “नोट पनि देशमै छापिने अवस्था निर्माण गर्छौं ।” उहाँले देशमा अराजकता, अस्तव्यस्तता बढ्दै जाँदा त्यसलाई रोक्न दुई ठुला दल मिल्नुपरेको बताउनुभयो । सरकार गठन भएको ५ महिनामा देखिने गरी ठुलो परिवर्तन नभएको भए पनि समस्या पहिचान गरी समृद्धिको यात्रा थालिएको उहाँको भनाइ छ । “देश भित्रभित्रै मक्किएको, अर्थतन्त्र कमजोर बनेको अवस्था थियो । अराजकतावादी, उग्र वामपन्थी र विदेशी हस्तक्षेपबाट देशलाई असफल हुनबाट बचाउन एमाले र कांग्रेस मिलेका हुन्,” उहाँले भन्नुभयो । देशमा प्रमुख राजनीतिक दलहरूले ठुला ठुला आन्दोलन, क्रान्तिहरूको सफल नेतृत्व गरेको स्मरण गर्दै उहाँले आर्थिक, सामाजिक रूपान्तरण गर्दै समाजवादतर्फको यात्रा अब जरुरी भएको औंल्याउनुभयो । सरकारले काम गरिरहेको भए पनि सन्तुष्ट हुने अवस्था नभएको जनाउँदै उहाँले बाँकी अवधिमा देखिने गरी केही काम हुने दाबी गर्नुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले ३० प्रतिशत हाराहारीको विकास बजेटको पनि आधा मात्र खर्च हुने परिपाटी रहेको जनाउँदै यसलाई नबदली जनअपेक्षा पूरा नहुने प्रस्ट पार्नुभयो । “ऐन, कानुन, नीतिहरू बदल्दै अघि बढ्नु पर्छ । राजा महेन्द्रको पालाका ऐन, कानुनबाट गणतन्त्रको विकास र समृद्धि सम्भव छैन,” मन्त्री गुरुङले भन्नुभयो । मन्त्री गुरुङले सञ्चार मन्त्रालय देशभर गुणस्तरीय इन्टरनेट, नेपाल टेलिभिजन र रेडियो नेपालको पहुँच पु¥याउन लागिपरेकोसमेत जनाउनुभयो । पहिले लहडका भरमा विद्यालयहरू खोलिँदा अहिले अनेक समस्या आएको उहाँको भनाइ छ । “अध्ययन नगरी, पछि आउन सक्ने बसाइँसराइबारे नसोची स्कुल खोलिए, अहिले पूर्वाधार छन्, विद्यार्थी छैनन्,” उहाँले थप्नुभयो, “अब सरकारी विद्यालयहरूले पनि स्कुल बसको सुविधा र छात्रावास सुरु गर्नु पर्छ । हरेक गाउँमा स्कुल चल्ने अवस्था नहुँदा छात्रावास र बस अनिवार्य हुँदै गएको छ ।” नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधारसहित सबैजसो क्षेत्रमा समस्या रहेको औँल्याउँदै उहाँले ती समस्या सुल्झाउँदै विकास र प्रगतिको पथ पहिल्याउन लागिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा आमूल परिवर्तन गर्नैपर्ने छ । अब शिक्षित बेरोजगार उत्पादन गर्ने होइन, सिप भएको, क्षमतावान र प्रतिस्पर्धी जनशक्ति तयार गर्न लाग्नु पर्छ ।” २०२४ सालमा स्थापना भएको वराह माविले कक्षा ११–१२ मा भेटेरिनरी अध्यापन गराउने गरेको छ । विद्यालयका अध्यक्ष आशमान रोकाले ग्रामीण क्षेत्रका विद्यालयलाई टिकाउन सरकार र अभिभावकको बलियो साथ चाहिनेमा जोड दिनुभयो । यहाँ सञ्चालित भेटेरिनरी शिक्षालयको रजत महोत्सवसमेत शनिबारै सुरुवात गरिएको छ ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्माओली युद्ध र अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताएका छन् । विश्व ध्यान दिवस, २०८१ का अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज सैनिक मञ्च–टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हतियारको बदला हतियारकै प्रयोगबाट विश्वमा शान्ति कायम नहुने भएकाले सकारात्मक चिन्तनका साथ ध्यान र योगलाई अपनाउन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले सभ्य संस्कृति र सकारात्मक चिन्तनका साथ शारीरिक र मानसिक ध्यानलाई नियमित रुपमा गर्नुपर्ने र यसप्रकारको ज्ञानलाई विद्यालय र नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने बताए । ध्यान प्राकृतिक ढङ्गले सचेत मानव जातिले प्रयोग गरेको र सभ्यताको मुहान भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई निरोगी नेपाल बनाउने सरकारको सङ्कल्प पूरा गर्न पनि ध्यान र योगलाई नियमितता दिन आवश्यक भएको बताए । “नियमित सही आहारविहार गरेर हामीले आरोग्य जीवन बिताउनुपर्छ । सकभर बिरामी परेर उपचारका लागि अस्पताल जानु नपरोस् भन्ने सोच राख्नुपर्छ । स्वस्थ्य र शान्तिमय विश्व निर्माणमा हामी सबै लाग्नुपर्नेछ”, प्रधानमन्त्री ओलीले भने, “सरकारका तर्फबाट ध्यान र योगका लागि गर्नुपर्ने काममा मेरो ध्यान पुगेको छ । स्वार्थीपन त्यागेर एकाग्रतामा ध्यान गर्नु हरेक समस्याको समाधानको उपाय पनि हो ।” त्यसअवसरमा स्वामी आनन्द अरुण, सन्तोष केडिया र एलपी भानु शर्माले ध्यानका विभिन्न अभ्यास गराएका थिए ।