काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको बताएका छन् । पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्वनेता रावलले भने, “आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव र भावनाका आधारमा अघि बढ्नेछु ।” एमाले सचिवालय बैठकले उनलाई यही पुस १० गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । एमालेमा रहँदा उहाँले सरकारको उपप्रधानमन्त्री, पर्यटन तथा नागरिक उड्डयन, गृह र रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसरसमेत प्राप्त गर्नुभएको थियो । पार्टीभित्र आफूलाई राष्ट्रवादी नेता भन्न रुचाउने डा रावल पार्टीको ११ औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी थिए । विसं २०३२ मा सदस्य लिएपछि देश, जनता, स्वाभिमान र सिद्धान्तप्रति इमान्दार भई पार्टीभित्र सम्हाल्दै आएको जिम्मेवारी र सामना गर्नुपरेका चुनौतीलगायत विषय उहाँले आज पत्रकार सम्मेलनमा सुनाए ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीले क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको छ । गत मङ्सिर २७ देखि यही पुस २ गतेसम्म कपिलवस्तुमा बसेको सो पार्टीको नवौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले तत्काल विचार मिल्ने राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बैठकले पार्टीका विचार र प्रस्तावलाई स्पष्ट गर्न देशव्यापी अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको महासचिव नेत्रविक्रम चन्दले जानकारी दिनुभयो । सो पार्टीले २०८४ को निर्वाचनलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा, विद्यार्थी र नेपाली विशेषतासहितको समाजवादको पक्षमा प्रयोग गर्ने निर्णय गरेको छ । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिह्न लिइने उहाँले जानकारी दिनुभयो । उक्त पार्टीले भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्बासी, मिटरब्याजलगायत समस्या समाधानमा सरकारलाई जवाफदेही बनाउन आगामी फागुन २१ गतेदेखि झापा–कञ्चनपुर जनपरिचालन गर्ने निर्णय गरेको छ । बैठकले सिङ्गो मुलुकलाई आत्मनिर्भरतासहित समृद्धितर्फ अघि बढ्न नयाँ आर्थिक मार्गको विचारलाई दृढताका साथ कार्यान्वयन गर्ने, कृषि उत्पादनसहित उद्योग सञ्चालनका लागि अध्ययन अघि बढाउने, उत्पादन वृद्धि गरी काठमाडौँ उपत्यकामा ‘सी व्यापार केन्द्र’ सञ्चालन गर्ने निर्णय गरेको महासचिव चन्दले जानकारी दिनुभयो ।
बाँके: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेलाई सबल राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेकपा (एमाले) नेपालगञ्ज उपमहानगरपालिका कमिटीले मङ्गलवार नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले समृद्धिका लागि बहुमतको सरकार आवश्यक पर्ने बताउनुभयो । महासचिव पोखरेलले ‘मिसन ८४’ अन्तर्गत एमालेलाई राष्ट्रिय शक्ति बनाउन सबै तहका नेता तथा कार्यकर्ताको सक्रिय भूमिका आवश्यक पर्नेमा जोड दिनुभयो । मिसन ८४ मा केन्द्रित भएर काम गर्न उहाँले निर्देशन पनि दिनुभयो । महासचिव पोखरेलले विश्वका अन्य देशमा एउटै राजनीतिक दल र नेताले दुई–तीन कार्यकाल सरकारको नेतृत्व गरिरहेको अवस्थामा हाम्रो देशमा पनि सरकारले पूर्ण कार्यकाल सेवा गर्न नपाउँदा प्रमुख दुई दलबीच सहकार्य हुनु असामान्य नभएको टिप्पणी गर्नुभयो । नेकपा (एमाले) नेपालगञ्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष मोहित शाहको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु शान्ति ढकाल, माहम्मदहारुन हलवाई, पशुपतिदयाल मिश्र, जिल्ला अध्यक्ष निरक गुरुङलगायत वक्ताले पार्टी सुदृढीकरणमा जोड दिनुभएको थियो ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज आयोजना गरेको पार्टीको सयदिने अभियानको समापन गर्दै उहाँले सबै नेपाली एकताबद्ध भएर गणतन्त्रलाई सुदृढ बनाउनु आजको आवश्यकता भएको बताउनुभयो । सभापति देउवाले राष्ट्रिय मेलमिलापको नीतिबाट प्रेरित भएर नेपाली कांग्रेस मात्र नभई सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर राष्ट्रनिर्माणका काममा अघि बढिरहेका भन्दै यो एकता सधैँ अक्षुण्ण रहनुपर्छ भन्नुभयो । पूर्वप्रधानमन्त्री देउवाले गणतन्त्रलाई सफल पार्न यसविरुद्धका गतिविधि निस्तेज पार्नुपर्ने बताउनुभयो । उहाँले हिमाल, तराई, पहाड जुनसुकै स्थानका नेपालीबीच एकता र मेलमिलाप हुनुपर्नेमा जोड दिनुभयो । पार्टीका नेता कृष्णप्रसाद सिटौलाले देशको आर्थिक प्रगति अहिलेको आवश्यकता भएको उल्लेख गर्दै भन्नुभयो, “आर्थिक रुपमा पछाडि परेका जनतालाई विकास मूल प्रवाहमा समाहित गर्नुपर्छ, दलित, महिलाका समस्या समाधान गरेर उनीहरुलाई पनि आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनु नेपाली कांग्रेसको दायित्व हो ।” नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप नीतिअनुरुप सबै राजनीतिक दललाई एकाकार गरेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । नेपाली कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँले पार्टीलाई गुट–उपगुटबाट मुक्त गर्नुपर्छ भन्नुभयो । पार्टीले काठमाडौँका एक सय ३८ वटै वडा, ११ वटै स्थानीय तह र १० वटै निर्वाचन क्षेत्रमा सयदिने अभियान सञ्चालन गरेको जानकारी उहाँले दिनुभयो ।
चितवन: नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा या आम निर्वाचनपछि गर्नु उपयुक्त हुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आम निर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “विसं २०८४ मा आम निर्वाचन हुनेछ । त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ ।” निर्धारित समयमा अधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जाने भन्दै उहाँले आम निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कोइराला परिवार एक होइन विचार एक हुनु प¥यो । विचार एक भए हुन्छ ।” महाधिवेशनका लागि आफ्नो स्पष्ट खाका रहेको बताउँदै उहाँले पार्टीलाई एक ढिक्का बनाउने, पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्नुपर्ने, भ्रातृ संस्थाहरुलाई दुरुस्त राख्ने र कसैलाई काखापाखा नगर्ने नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
झापा: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनताको भरोसा बढ्दै गएको बताउनुभएको छ । झापाको गौरीगञ्जमा माओवादी केन्द्रले ‘तमु ल्होसार’को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टीको दोस्रो गाउँ सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देश निर्माण गर्न नेपाली जनताले फेरि पनि माओवादी केन्द्रलाई साथ दिने विश्वास व्यक्त गर्नुभयो । तीनै तहको उपनिर्वाचनबाट सत्तारुढ दलको गठबन्धनलाई हराउँदै धेरै स्थानमा माओवादी केन्द्रले जितेर जनताको साथ प्राप्त गर्न सफल भएको उहाँले उल्लेख गर्नुभयो । पार्टीमा नवप्रवेशीलाई स्वागत गर्दैै अध्यक्ष दाहालले माओवादी केन्द्रमा काम गर्न आउने नेपाली जनताको उत्साहपूर्ण साथ र सहयोग प्राप्त हुँदै आएको दाबी गर्नुभयो । देशमा प्राप्त भएका राजनीतिकलगायतका सबै उपलब्धि आफ्नो पार्टीकै नेतृत्वदायी भूमिकाबाट सम्भव भएको तथा यसको रक्षा र समृद्धितर्फ लैजान पनि माओवादी केन्द्रले नै फेरि पनि अगुवाइ गर्ने उहाँको भनाइ थियो । नेपालको राजनीतिक इतिहासमा झापाले अगुवाइ गरिआएको चर्चा गर्दै उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा देशमा विकास र समृद्धि ल्याउन फेरि आन्दोलन गर्नुपर्ने खाँचो देखिँदै गएकाले यसमा नेपाली जनताको साथ र सहयोग प्राप्त हुनेमा विश्वस्त छौँ ।” राजनीतिक परिवर्तनले मात्र देश बलियो नहुने भएकाले अब आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्राप्त गर्न एकपटक आन्दोलन जरुरी भएको अध्यक्ष दाहालले बताउनुभयो । सो पार्टीका जिल्ला अध्यक्ष राजु आचार्यका अनुसार अध्यक्ष दाहालले निर्माणाधीन कनकाई पुल, कमलको आदिवासी रङ्गशालालगायतको स्थलगत अनुगमन गर्नुहुने कार्यक्रम छ ।
दाङ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थिरतासहित देश विकासका पक्षमा एमाले र नेपाली कांग्रेस जस्ता दुई ठूला राजनीतिक दल मिलेर सरकार गठन भएको बताउनुभएको छ । एमाले दाङको प्रचार तथा प्रकाशन विभागले नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय पार्षद्, प्रदेश पार्षद् तथा सदस्यहरूको सम्मानमा आज दाङको घोराहीमा आयोजना गरको कार्यक्रममा महासचिव पोखरेलले मुलुकमा राजनीतिक स्थिरता, अर्थतन्त्र सुधार र सुशासनका पक्षमा काम गरिरहेको सरकारलाई साथ दिन सबैसँग अनुरोध गर्नुभयो । देशमा अराजकता र बेथिति चाहनेहरूबाट सरकारको भविष्यका बारेमा अनावश्यक टीकाटिप्पणी हुनुलाई बेमौसमी बाजाको सङ्ज्ञा दिँदै उहाँले सरकारको विरोध गर्नुको सट्टा रचनात्मक सहयोग गरी देश र जनताको पक्षमा उभिन सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिक अस्थिरताका कारण मुलुकको विकास निर्माण तथा आर्थिक पक्ष प्रभावित भएको छ, यस अवस्थामा अपेक्षा गरिएअनुसारको परिणाम आउन केही समय लाग्छ, यो सरकार बनेपछि अहिले विकास निर्माणले लय लिन थालेको छ, धैर्य गरौँ, अर्थतन्त्रमा सुधार सहित विकास–निर्माणले गति लिनेछ ।” बैङ्कको ब्याजदर घटे पनि आर्थिक तरलता बढेको तथा लगानी गर्न व्यावसायी उत्साहित नभएको प्रसङ्ग उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभयो, “ढुक्कसँग लगानी गर्नुहोस्, व्यवसायी तथा उद्यमीको पक्षमा सहयोग गर्न एमाले र कांग्रेस मिलेर बनेको यो सरकार तयार छ ।” उहाँले भन्नुभयो, “देश विकास र सुशासनका लागि अब कुन–कुन विषयमा कानुन बनाउनुपर्ने हो त्यसको पहिचान गरी प्राथमिकताका साथ कानुन बनाइने छ । शासकीय सुधारका पक्षमा छ सदस्यीय कमिटीले काम गरिरहेको छ । आवश्यक संयन्त्रको व्यवस्थासहित ऐन, कानुन निर्माण गरी आर्थिक अपचलन तथा भ्रष्टाचार अन्त्य र सुशासनका पक्षमा काम गरिरहेको सरकारलाई सहयोग गर्ने दायित्व हामी सबैको हो ।” फरक प्रसङ्गमा पत्रकार महासङ्घको नयाँ नेतृत्वलाई शुभकामना दिँदै महासचिव पोखरेलले वर्तमान सरकारको भावना र ‘स्प्रिट’ लाई बुझेर सहयोग र सहकार्य गर्न पत्रकारजगत्को ध्यानाकर्षण गर्नुभयो । सो अवसरमा नेपाल पत्रकार महासङ्घ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, प्रकाशन विभाग प्रमुख सङ्गीता बस्याल, प्रेस चौतारी दाङका अध्यक्ष प्रमेबहादुर राम्जालगायत वक्ताले मुलुकको समसामयिक राजनीतिक गतिविधि र पत्रकार हकहितका विषयमा चर्चा गर्नुभयो ।
पर्सा: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सा, सखुवा प्रसौँनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाललगायतलाई आज एमालेमा प्रवेश गराउनुभएको छ । एमालेको पर्सा जिल्ला कमिटीद्वारा वडा नम्बर २, औराहा पञ्चगावामा आयोजित बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा जयसवालसहित करिब पाँच हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो । जयसवाल यसअघि जनता समाजवादी पार्टी नेपालमा हुनुहुन्थ्यो । साथै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य उर्मिला महतो, नेकपा (माओवादी केन्द्र) र नेपाली काङ्ग्रेसबाट पनि एमालेमा प्रवेश भएको थियो । त्यसअवसरमा पर्साबासीका तर्फबाट जिल्लाको क्षेत्र नम्बर ३ का सङ्घीय सांसद एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री ओलीको नागरिक अभिनन्दन गर्नुभएको थियो । कार्यक्रममा एमालेको मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, नेताहरु पुरुषोत्तम पौडेल, हरि उप्रेती, प्रभु हजारा, सुमनराज प्याकुरेल, ज्वालाकुमारी साह, मधेस प्रदेशको भौतिक पूर्वाधार मन्त्री सरोज यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाललगायत सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त ज्ञान प्रयोग गर्न आग्रह गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयको आज यहाँ आयोजित ५०औँ दीक्षान्त समारोहमा विश्वविद्यालयलका कुलपति प्रधानमन्त्री ओलीले समाजलाई लोकतान्त्रिक, सु–संस्कृत र इमानदारपूर्ण बनाउन र विद्यावान् हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले उपाधि प्राप्त भएपछि अध्ययन पूरा नहुने तर्क गर्दै प्राप्त ज्ञानलाई व्यावहारिक जीवनमा उतारेर परिस्कृत गर्न आग्रह गर्नुभयो । “आफैँसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्या काम लाग्दैन । ज्ञानलाई व्यावहारिक रुपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले मुलुकमा विद्यमान २० प्रतिशतको निरपेक्ष गरिबी अन्त्य गर्ने अभिभारा लिनुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ ।” प्रधानमन्त्री ओलीले हाम्रो मुलुक ज्ञान, ध्यान, योग र संस्कृतिको भूमि भएको उल्लेख गर्दै पुर्खाको ज्ञानप्रति कृतज्ञ भएर उहाँहरुबाट सिक्नुपर्नेमा जोड दिनुभयो । प्रमुख अतिथि अर्थशास्त्री डा रामप्रकाश यादवले विद्यार्थी जीवनको सङ्घर्ष र इमानदारीले लक्ष्यप्राप्तिमा जोकोहीलाई सफलता हासिल हुने बताउनुभयो । सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अध्ययन–अध्यापनमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले विश्वविद्यालय मातहतका क्याम्पसहरु गाभ्ने नीति लिइएको जानकारी दिनुभयो ।