काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ४६औँ केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विकसित राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न थालेको बताउनुभयो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ः०० बजे बस्ने छ ।
काठमाडौं: सांसद डा स्वर्णिम वाग्लेले चेतनाको दियो बन्नुपर्ने विद्यार्थी राजनीतिक दलको गुटको स्वार्थमा लागेर क्याम्पसमा तालाबन्दी गर्ने अवस्था आउनु दुःखद् भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्नुहुँदै उहाँले एक सातादेखि एक हजारभन्दा बढी क्याम्पसमा गुटगत राजनीति देखिनु दुःखद् भएको बताउनुभएको हो । चेतनाको थलो क्याम्पसमा दलका स्वार्थको ताण्डव नृत्य हुनु लज्जाजनक भएको उहाँको भनाइ थियो । “बूढानीलकण्ठ स्कूलको गुणस्तर खस्कियो भन्दा मलाई दुःख लाग्छ, मैले पनि त्यही विद्यालयमा पढेको हुँ, बेलायतीले बनाइदिएको यो विद्यालयकै जस्तो शैक्षिक गुणस्तर अन्य विद्यालयको पनि बनाइनुपर्नेमा अहिले त्यसको पनि गुणस्तर खस्कन थालेको छ, नेपालमा स्ववियुको संरचना र भूमिका पुनःपरिभाषित गरिनुपर्छ”, उहाँले भन्नुभयो । क्याम्पसलाई पार्टीको खेलौना बनाएर राख्नु नहुने सांसद वाग्लेको विचार थियो । सांसद ज्ञानबहादुर शाहीले १६ वर्षमा १४ वटा सरकार फेरिएर कयौँले मन्त्री बन्ने अवसर पाएको उल्लेख गर्नुहुँदै अहिले संसद्मा भाषण गर्ने धेरैका छोराछोरी अमेरिका र युरोपमा पढिरहेको दाबी गर्नुभयो । जनताबाट निर्वाचित प्रत्यक्ष प्रधानमन्त्रीको आवश्यकता रहेकामा उहाँले जोड दिनुभयो । “मदन भण्डारीको हत्या कसले गरेको हो किन पत्ता नलगाएको ? भण्डारीका हत्यारा पत्ता लगाउँछु भन्ने नेता अहिले र पटकपटक प्रधानमन्त्री बन्नुभयो तर हत्यारा किन पत्ता लागेन ? । पैतृक सम्पत्तिमा लाभकर लिने यो कस्तो व्यवस्था हो ?”, सांसद शाहीले प्रश्न गर्नुभयो । सांसद प्रेमबहादुर आलेले सेती लोकमार्गको डोटी खण्डमा वन मन्त्रालयका कारण सडकको काम हुन नसकेको बताउनुभयो । वन मन्त्रालयको रवैयाका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रगति कमजोर रहेको उहाँको दाबी थियो । गत मङ्सिर ६ गते मन्त्रिपरिषद्ले गरेको सेती लोकमार्गसम्बन्धी निर्णय कार्यान्वयन हुनुपर्ने सांसद आलेको माग थियो ।
ललितपुर: समाजवादी मोर्चा नेपालले यही चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । आज ललितपुरमा आयोजित कार्यक्रममा मोर्चाको सचिवालयका सचिव खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पछिल्लो समय देखिएको अन्योलता र नेपाली जनताका अधिकार कुण्ठित हुने अवस्थाविरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यले जनप्रदर्शन गर्ने निर्णय भएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समावेशी र समानुपातिक व्यवस्थाका पक्षधरले आमजनतालाई आफ्नो कुरा भन्नका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । “पछिल्लो पटक सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध केही राम्रो काम गरेकै हो । पहिले सरकारमा थियौँ, अहिले जनताका घरदैलोमा छौँ । विगतमा हामीबाट केही त्रुटि भएकै हो, हाम्रा मुद्दा छुट्न गएकै हुन् । यसलाई मनन गरेका छौँ”, उहाँले भन्नुभयो । अध्यक्ष दाहालले जनभावना, धर्मसंस्कृतिविरुद्ध नभई लामो सङ्घर्ष र बलिदानीमार्फत प्राप्त उपलब्धि र गणतन्त्रमाथि समस्या सिर्जना नहोस् भन्ने अभिप्राय रहेको बताउनुभयो । उहाँले देशको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताविरुद्ध जनतालाई सुसूचित गराउनु आफ्नो दायित्व भएको बताउनुभयो । अध्यक्ष दाहालले समाजवादी मोर्चाको अन्तिम लक्ष्य समाजवादी गणतन्त्र भएको बताउँदै अहिले उद्योग–व्यवसायमा आधारित रहेर जनतालाई आर्थिक समृद्धि दिने, ग्रामीण अर्थतन्त्रको विकास गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने तत्कालीन लक्ष्य रहेको बताउनुभयो । उहाँले संविधान जारी भएको दश वर्ष हुन लागेकाले संशोधनको विषयमा छलफल आवश्यक रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री दाहालले राजतन्त्रलाई लक्षित गरेर हिजो मात्रै बोलेका धारणा नयाँ नभई भूमिगतकालदेखि नै उठाइएको बताउनुभयो । “भूमिगत हुँदा पनि यही कुरा बोलेको थिए, अहिले पनि यही कुरा बोलेको छु । आमनेपाली जनताका मनमा भएको कुरा मैले बोलेको हुँ”, अध्यक्ष दाहालले भन्नुभयो,“यसका साथै हामीले समाजवादी मोर्चा गठन गरेका छौँ, त्यसको उद्देश्यअनुरुप नै अगाडि बढिरहेका छौँ । समावेशी, समानुपातिक गणतन्त्र ल्याउन नेपाली जनताको धेरै ठूलो योगदान र परिश्रम रहेको छ । यसको संरक्षण गर्नु हाम्रो दायित्व हो ।” नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली विशेषताको समाजवादी गणतन्त्र अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले वंशका आधारमा शासन गर्नेहरूले नेपालको इज्जत, प्रतिष्ठा कायम राख्न नसक्ने भन्दै परिवर्तन चाहनेहरूले अग्रगमनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । नेता नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले नेपालका माओवादीलाई एकधारमा ल्याउने अभियान र छलफल चलिरहेको बताउनुभयो ।
पाल्पा: उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई सङ्कटबाट जोगाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गठबन्धन सरकार निर्माण गरेका स्पष्ट गर्दै त्यो तत्कालीन परिस्थितिको उपज भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटमा उहाँले आर्थिक उन्नयनलगायत राष्ट्र निर्माणका गतिविधि शून्यप्रायः भएपछि गठबन्धन सरकार बनेको वास्तविकता सुनाउँदै उहाँले त्यो परिस्थितिको उपज भएको बताउनुभयो । देश सङ्कटोन्मुख हुँदा सधैँ नेपाली कांग्रेसले अग्रपङ्तिमा रहेर काम गरेकोे उल्लेख गर्दै उहाँले सङ्कटबाट देशलाई जोगाउन एमालेसँग गठबन्धन गर्नुपरेको हो भन्नुभयो । जनताले परिणामको अपेक्षा गरिरहेकाले सोहीअनुसार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले कम बोल्ने र अधिक काम गर्ने समय भएको बताउनुभयो । फरक प्रसङ्गमा उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको स्पष्ट गर्नुभयो । राजावादीका गतिविधि बढे पनि राजतन्त्रका बारेमा कुरा गर्नुको कुनै औचित्य नभएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन सबै राजनीतिक दलहरूबीच एकता हुनुपर्नेमा उहाँको जोड थियो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले यही चैत ४ गते सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो । सचिव डा अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।
काठमाडौं: समाजवादी मोर्चा नेपालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा शनिबार नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको मोर्चाको १२ औँ केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । मोर्चाले शनिबार नै पत्रकारसँग पनि अन्तरक्र्रिया गर्ने भएको छ । संसदवादी दल र संसद् बाहिर रहेका राजनीतिक दल र नेतृत्वसँग राजनीतिक संवाद अघि बढाउने मोर्चाको निर्णय छ । “राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षा एवं समाजवादतर्फको यात्रालाई दृढतापूर्वक अघि बढाउने वातावरण बनाउन बृहत् राजनीतिक पहल लिने निर्णय गरेको छ”, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले भन्नुभयो । बैठकले यही चैत १५ गतेका लागि तय भएको विरोधसभा र जनप्रदर्शनलाई सफल बनाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठकमा देशको राजनीतिक परिस्थितिका बारेमा छलफल गरेको जानकारी दिँदै उहाँले राजतन्त्र पक्षधरको प्रदर्शनले मुलुकको राजनीतिक परिस्थिति झन् जटिल बन्दै गएको निष्कर्ष निकालेको बताउनुभयो । उहाँले प्रतिगामी कदमलाई असफल बनाउने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत नेताहरु सहभागी हुनुहुन्थ्यो ।
लुम्बिनी: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्टाउन खोज्नेलाई छुट नदिइने बताउनुभएको छ । उहाँले त्यस्ता विरुद्ध सडकबाट भण्डाफोर अभियान चलाउनेसमेत बताउनुभयो । आज बुटवलमा आयोजित मगर मुक्तिमोर्चाको छैटौँं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले विगतमा नागरिकसँगका सम्बन्ध केही कमजोर भएकाले त्यसलाई सुधारेर जाने प्रतिबद्धता जनाउनुभयो । उहाँले विगतका निर्वाचनमा एमाले र कांग्रेससँग गठबन्धन गर्दा गल्ती गरिएको स्वीकार गर्दै जनतासँग माफी माग्न मैदानमा आएको बताउनुभयो । “माओवादीले अब पहिले गरेका गल्ती कमजोरी दोहो¥याउँदैन”, उहाँले भन्नुभयो, “जनतासँग माफी मागेर सरकारका गलत कामको खबरदारी गरिरहने हो ।” अध्यक्ष दाहालले अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी ‘एजेन्डा’मा जानु उचित रहेको उल्लेख गर्दै कसैले पनि प्रतिगमनबारे नसोच्न चेतावनी दिनुभयो । पार्टीले गरेको जनयुद्ध उत्पीडित समुदायको मोर्चाबाटै सफल भएको बताउँदै उहाँले ती समुदायप्रति उच्च सम्मान व्यक्त गर्नुभयो । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकारले कार्यशैलीका कारण निरङ्कुशतन्त्रले प्रहार गर्न खोजेको बताउनुभयो । उहाँले हालका सबै परिवर्तनको आधार माओवादी जनयुद्ध रहेको जिकिर गर्नुभयो । कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनालले राजतन्त्रले टाउको उठाउन खोजेकाले सबै क्रान्तिकारी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
पोखरा: नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस)मा स्ववियु निर्वाचनका उम्मेद्वार टुंगो लगाएको छ । आगामी ५ चैतमा हुने निर्वाचनका लागि अनेरास्ववियुले आइतबार अनुप न्यौपानेको नेतृत्वको टिम तयार गरेको हो । प्रत्यक्षतर्फ निर्वाचन हुने सचिवमा विनायक भुवाँजी, कोषाध्यक्षमा रोहितकुमार शाहलाई उम्मेद्वार बनाउने निर्णय भएको अनेरास्ववियु कास्की जिल्ला सचिव रवि क्षेत्रीले जानकारी दिए । प्रत्यक्ष सदस्यमा अमृत बस्नेत, रुपेश पौडेल, अंकित गैरे, अश्रान्त पहारी, सुशान्त गौतम, पूर्णिमा अछामी, त्रिदेव ढकाल(सुरज)उम्मेद्वार रहेका छन् । समानुपातिक उम्मेदवार भने टुंगो लाग्न बाँकी छ । अध्यक्षका उम्मेद्वार न्यौपानेले इन्जिनियरिङ अध्ययन क्षेत्रका समस्या आफूले प्रत्यक्ष देखेको र त्यसलाई समाधान गर्न स्ववियुमार्फत क्रियाशील रहने प्रतिबद्धता जनाए । विगतमा हुन नपाएको निर्वाचन योपटक पनि नभएमा विद्यार्थीका मुद्दा झनै ओझेलमा पर्ने उनले बताए । ‘कसले जित्छ–हार्छ भन्ने भन्दा पनि सबै विद्यार्थी संगठन मिलेर कसरी स्ववियु चुनाव गर्ने भन्ने हुनुपर्छ,’ उनले भने, ‘योपटक स्ववियु निर्वाचन हुन्छ ।’ इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस)मा स्ववियु निर्वाचनका लागि २ हजार ४१ जना मतदाता छन् । उक्त क्याम्पसमा २०७३ सालमा निर्वाचन भएको र त्यसपछि हुन नसकेको अनेरास्ववियु गण्डकी प्रदेश कमिटी सदस्य विकल्प सापकोटाले जानकारी दिए । त्यतिबेला अनेरास्ववियुका उम्मेदवार इन्द्र पौडेल सभापतिमा विजयी भएका थिए । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका देशभरका क्याम्पसमा स्ववियु निर्वाचनका लागि आगामी मंगलबार मनोनयन दर्ता हुँदैछ । यसअघि जनप्रिय बहुमुखी क्याम्पसमा अनेरास्ववियुले आविष्कार केसीलाई अध्यक्षको उम्मेद्वार बनाउने सार्वजनिक गरिसकेको छ । अनेरास्ववियुले सोमबार साँझसम्म सबै क्याम्पसमा उम्मेद्वार टुंग्याउने अनेरास्ववियु कास्की सचिव रवि क्षेत्रीले जानकारी दिए । इन्जिनियरिङ, जनप्रियसहित त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका पोखराको पृथ्वीनारायण क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, पोखरा नर्सिङ क्याम्पस आगामी ५ चैतमा स्ववियु निर्वाचनअन्तर्गत मतदानको कार्यतालिका छ । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको विन्दुवासिनी संस्कृति विद्यापीठमा भने १० चैतमा निर्वाचन हुने कार्यतालिका छ ।
सुदूरपश्चिम: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताउनुभएको छ । आज धनगढी विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्नुहुँदै देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने स्पष्ट पार्नुभयो । अर्को एक प्रश्नमा देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन ।” कांग्रेस सभापति देउवा सहितका नेता पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आज धनगढी पुग्नुभएको छ ।

