बागलुङ: निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत बागलुङ बजारबाट सिगानासम्मको सडक कालोपत्रका लागि काम थालिएको छ । बागलुङ क्षेत्र नं १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रका लागि निर्माण व्यवसायी छनोट भएर काममा आएको छ । साढे दुई वर्षभित्र पूर्वाधार निर्माणसहित सडक कालोपत्र गर्न सडक डिभिजन कार्यालयले गरेको ठेक्का आह्वानमार्फत कर्ण विल्डर्सले निर्माणको जिम्मा पाएर काममा आएको छ । अहिले सडक चौडा पार्न र सडक मिलाउनका लागि निर्वाण व्यवसायीको तर्फबाट सर्भेको काम भइरहेको सर्वेयर भाष्कर बरामले बताउनुभयो । “दशैँपछि निर्माणको काम हुनेछ, अहिले लागत अनुमानअनुसार सडकको डिजाइनको विषयमा निर्माण व्यवसायीको तर्फबाट सर्भेको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “दशैँ अघिसम्म सबै सर्भेको काम सकेर निर्माणमा जुट्ने योजना छ, सडक समयमै कालोपत्र सक्ने गरी ठेक्का सम्झौतालगत्तै निर्माण व्यवसायी काममा आएको हो ।” बागलुङ बजार हुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा १० किलोमिटर सडक कालोपत्र भइसक्ने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । उक्त सडक ३२ किलोमिटर लामो भए पनि अहिले सडकको सुरुबाट १० किमी सडक कालोपत्र गरिने छ । लामो समय बजेट अभावले कालोपत्रका लागि ठेक्कामा जान नसकेको सडक विभिन्न पहल र प्रयासका बाबजुद हाल आएर कालोपत्रको चरणमा प्रवेश गरेको हो । यो ठेक्काअन्तर्गत बागलुङ बजारबाट बोक्सेसम्म सडक कालोपत्र भइसकेका कारण बोक्सेबाट बौडैचौरको आलडाँडासम्म सडक कालोपत्र हुने भएको छ । निर्वाचन क्षेत्र एक रणनीतिक सडक सोही क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदहरूको सिफारिसमा छनोट हुने गरेको छ । अहिले सडक कालोपत्र नहुँदा सिगाना हुँदै बरेङ शान्तिपुर जाने सडकमा यात्रुले सास्ती खेप्दै आएका छन् ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद कृष्णकुमार श्रेष्ठले गठबन्धन दलबीचको सहमतिमै तनहुँ क्षेत्र नं १ मा उम्मेदवार तय हुने बताउनुभएको छ । मंगलबार आयोजित पत्रकार भेटघाटमा सांसद श्रेष्ठले तनहुँ क्षेत्र नं १ मा उम्मेदवारीका विषय धेरै चर्चा भएकाले सहमतिमै गठबन्धनबाट उम्मेदवार तय गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक दलबीच पहिला भएको सहमति अनुसार ज-जसले जहाँबाट जितेको छ त्यहीँबाट उम्मेदवारी दिने भनिएकाले तनहुँ-१ मा मेरो दाबी स्वभाविक हो ।” आफू पार्टीको इमानदार सिपाही भएकाले पार्टीले भनेको मान्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “पार्टीले कञ्चनपुर, बारा, झापा गएर निर्वाचन लड्न भने पनि तयार नै छु ।” उहाँले गठबन्धनलाई थप बलियो बनाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याउनुभयो । उहाँले भन्नुभयो, “धेरै त्याग तपस्या गरेर गठबन्धन बनायौँ, यसलाई निरन्तर अगाडि लैजानुछ ।
द्वन्द्व हुँदा ‘क्रिमिनल जष्टिस् सिष्टम’ ले काम गर्दैन, सङ्क्रमणकालीन न्याय नै चाहिन्छ: कानुनमन्त्री
काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले कुनै पनि मुलुकमा द्वन्द्व हुँदा ‘क्रिमिनल जष्टिस सिष्टम’ले काम नगर्ने भएकाले सङ्क्रमणकालीन न्याय प्रणाली नै आवश्यक हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि विरोधको सूचना प्रस्तुत गर्नुहुने सांसद प्रेम सुवालले उठाएका प्रश्नको जवाफमा कानुनमन्त्री शर्माले उक्त अभ्यास नेपालमा मात्रै नभइ विश्वमै रहेको पनि स्पष्ट गर्नुभयो । उहाँले सङ्क्रमणकालीन न्याय र अपराधसम्बन्धी न्यायको परिभाषा फरक हुने पनि बताउनुभयो । मन्त्री कोइरालाले भन्नुभयो, “सामन्य अपराधमा ‘क्रिमिनल जष्टिस् सिष्टम’ले नै सम्बोधन गर्छ, सत्य, न्याय, परिपुरण र संस्थागत सुधार यी चार पिल्लरको अधारमा सङ्क्रमणकालीन न्याय अघि बढाउनुपर्छ ।” उहाँले सत्य निरुपण आयोगले द्वन्द्व किन भयो भनी त्यसका कारण र उल्लङ्घनका घटना पत्ता लगाइसकेपछि केही गम्भीर प्रकृतिका मुद्दा ‘ट्रायल’मा लिएर जाने र अरु मुद्दामा मेलमिलाप गराउने कुरा संसारमै प्रचलनमा रहेको जानकारी सदनलाई गराउनुभयो । “यसमा सरकारक वा कानुनमन्त्री चुकेको होइन, यही संसद्मा उठेका विषय, शान्ति सम्झौतापछिको छलफल र ती चारै पिल्लरको आधारमा गम्भीर अपराधमा सजाय पनि हुनसक्ने र अन्य कुरा परिपुणै वा मेलमिलापको आधारमा टुङ्ग्याउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । सांसद सुवालको सातै प्रदेशबाट ल्याइएको छलफलको प्रतिवेदन सार्वजनिक नभएको भन्ने जिज्ञासाका सन्दर्भमा मन्त्री कोइरालाले केन्द्रस्तरमा कार्यक्रम गरेरै सार्वजनिक गरिएको जानकारी गराउनुभयो । त्यसैको आधारमा विधेयक ल्याइएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले सदनमा दफाबार छलफलमा जाँदा केही कुरा छलफल गर्न सकिने जानकारी गराउनुभयो । जबसम्म कानुन संशोधन हुँदैन तवसम्म सङ्क्रमणकालीन न्याय टुङ्गिदोरहेनछ भन्ने कुुरा देखिएको उहाँले अनुभव सुनाउनुभयो । सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिले मन्त्री कोइरालाले उक्त विधेयक सभासमपक्ष प्रस्तुत गर्नुभएको छ । त्यसअघि सांसद प्रेम सुवालले सदनमा उक्त विधेयकमाथि विरोधको प्रस्ताव प्रस्तुत गर्दै कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले प्रतिबद्धता जनाए पनि पीडितलाई न्याय दिनुको साटो पीडकलाई उन्मुक्ति दिने गरी विधेयक आएको भनी प्रश्न गर्नुभएको थियो । सङ्क्रमणकालीन न्याय विधेयकले मात्रै पूर्णता नपाउने उहाँको भनाइ थियो । उहाँले मानवअधिकारको गम्भीर उल्लङ्घनको विषयलाई सम्बोधन नगरिएको जिकिर गर्दै मानवअधिकार उल्लङ्घनमा मेलमिलाप हुनै नसक्ने बताउनुभयो । सुवालले भन्नुभयो, “सशस्त्र द्वन्द्वको लक्ष्य के हो, के का लागि भएको हो, अनुसूचीमा लेख्नुपर्ने जरुरी हुन्छ, त्यसका प्रमुख व्यक्ति कोको हुन्, के कति क्षति भएको हो, उल्लेख हुनुपर्छ ।” सांसद सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचना सदनको बहुमतले अस्विकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १३ गते सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।
नेकपा (एमाले) स्थायी कमिटीको बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश तहको निर्वाचनको ठोस् योजना बनाउन पार्टीले आजदेखि भदौ १२ गतेसम्म स्थायी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो । आज स्थायी कमिटी, भदौ ९ गते पोलिटब्यूरो, भदौ १० र ११ गते केन्द्रीय कमिटी तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक हुने सो पार्टीले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाइएको छ । कार्यालय सचिव डा अधिकारीका अनुसार बैठक आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश तहको निर्वाचनमा केन्द्रित रहनुका साथै समग्र पार्टी तथा मुलुकको राजनीतिक अवस्थाबारे छलफल हुने छ । यस्तै आगामी पोलिटब्यूरो र केन्द्रीय कमिटिको एजेण्डा पनि बैठकले तय गर्ने छ । पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्धय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको निर्वाचन घोषणपत्र मस्यौदा कमिटी गठन गरिएको थियो ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य स्वर्गीय प्रदीप गिरिको विचारलाई सबैले अनुशरण गर्नुपर्ने बताउनुभएको छ । स्वर्गीय गिरिलाई श्रद्धाञ्जली दिन केहीबेर अघि ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल पुग्नुभएका उहाँले नेपाली राजनीतिमा गिरि अध्ययनशील र तर्कशील नेताको रुपमा स्थापित हुनुभएको र उहाँको विचारलाई सबैले अनुशरण गर्नुपर्नेमा जोड दिनुभएको हो । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले स्वर्गीय गिरि नेपाली कांग्रेसका साथै कम्युनिष्ट पार्टीका समेत आदर्श व्यक्ति भएको बताउनुभयो । “प्रजातान्त्रिक शक्ति र बामपन्थीलाई मिलाएर लैजानुपर्छ भन्ने उहाँको भावना आत्मासात् गरिएका कारण अहिले मुलुकमा लोकतन्त्र सुदृढ भएको हो”, उहाँले भन्नुभयो । कांग्रेस नेता डा शेखर कोइरालाले विपी कोइरालाको प्रजातान्त्रिक समाजवादको बारेमा विश्लेषण गर्नसक्ने तर्कशील नेता गिरि भएको बताउनुभयो । “पार्टीभित्र र अन्य कार्यक्रममा समेत स्पष्ट कुरा राख्नसक्ने गिरिको क्षमता थियो”, उहाँले भन्नुभयो । नेता गिरिको शव नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिएको छ । गिरिप्रति श्रद्धाञ्जली दिन पूर्वराष्ट्रपति डा रामवरण यादव, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री बालकृष्ण खाण अहिले अस्पताल परिसरमा पुग्नुभएको छ । यस्तै स्वर्गीय गिरिलाई श्रद्धाञ्जली दिन कांग्रेस पार्टीका नेता तथा कार्यकर्ता, अन्य पार्टीका शुभचिन्तक, बुद्धिजीवी, पत्रकारलगायतको अस्पताल परिसरमा घुइँचो लागेको छ ।भारतको मुम्बईको अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएका नेता गिरिको अस्पतालमै शनिबार राती ९।३० बजे निधन भएको हो । गिरिको पार्थिव शरिरलाई विहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलीका लागि राखिएकामा त्यसपछि दिउँसो २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिने जनाइएकोे छ । पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेपछि उहाँको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने पार्टीले जनाएको छ । नेता गिरि प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित हुनुभएको हो ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट आफू मर्माहत भएको बताउनुभएको छ । अध्यक्ष ओलीले आज बिहान ट्वीट गर्दै “चिन्तनशील राजनीतिकर्मी मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु ।” प्रतिनिधिसभा सदस्य एवं समाजवादी चिन्तक गिरीको शनिबार राति ९:३० उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । समाजवादी चिन्तक गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९ः३० बजे निधन भएको हो । गिरीको पार्थिव शरीरलाई आज बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिने र बिहान ११।३० बजेदेखि दिउँसो २ः०० बजेसम्म कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यसपछि उहाँको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उहाँलाई गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक नेता गिरी विसं २०२१ पछि राजनीतिमा सक्रिय हुनुभएको हो । हाल प्रतिनिधिसभा सदस्य रहनुभएका उहाँ विसं २०२४ मा वनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित हुनुभएको थियो । उहाँ विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भई संविधान निर्माणको जिम्मेवारीमा संलग्न हुनुभएको थियो । यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन हुनुभएको थियो । नेता गिरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा–१ बाट निर्वाचित हुनुभएको हो । विसं २००४ मा सिरहाको वस्तीपुरमा पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्रका रूपमा उहाँको जन्मभएको थियो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । गृहजिल्ला तनहुँको दमौलीमा रहनभुएका पौडेलले शनिबार राति शोक वक्तव्य जारी गर्दै गिरीको निधनले अत्यन्त मर्माहत भएको उल्लेख गर्नुभएको छ । समाजवादी चिन्तक गिरीको दर्शन, विचार सदैव अमर रहने जनाउँदै वरिष्ठ नेता पौडेलले गिरीको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । नेता गिरीको उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको हो । प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका उहाँ लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपश्चात नेपाल फर्किनुभएको थियो । घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका उहाँ गत ९ साउनमा मेडिसिटी अस्पताल भर्ना हुनुभएको थियो ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः ३६ मा निधन भएको अस्पतालका एक अधिकारीले जानकारी दिएका छन् । काँग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरी लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए। घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । डा.पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको थियो ।

